Thursday, July 20, 2023

शुक्रबारे लघुकथा छलफल कार्यक्रम- पं.ज्यो.तोयनाथ सुवेदी–२०८०–०४–०५ श्रृङ्खला–६४०-धनराज गिरी-लोकनाथ पुडासैनी-निशा केसी-कुञ्जदेवी उपाध्याय

शुक्रबारे लघुकथा छलफल कार्यक्रमका संयोजक पं.ज्यो.तोयनाथ सुवेदी, मिति–२०८०–०४–०५ श्रृङ्खला–६४० 

शुक्रबार– (लघुकथा छलफल कार्यक्रम) संयोजक तथा प्रस्तोता– पं.ज्यो.तोयनाथ सुवेदी+प्रशिक्षक- खेमराज पोखरेल (मिति–२०८०–०४–०५ श्रृङ्खला–६४०) समय–७ः३०-८ः३० बेलुकी।।
+++


१. लघुकथा : चमत्कार # धनराज गिरी
२. लघुकथा : पापी # लोकनाथ पुडासैनी
३. लघुकथा- डम्फु # निशा केसी
४. लघुकथा -मनको मैला # कुञ्जदेवी उपाध्याय

+++
१. लघुकथा : चमत्कार # धनराज गिरी

गाउँमा हैकम चलाएर बसेका हुन् पण्डित वेदप्रसाद उपाध्याय | धनी हुन्- जग्गा जमिन प्रशस्त,तर पुत्र नास्ति | लगातार ७ छोरी, सबै ‘मेड इन जापान ‘जस्ता | जन्मिए, हुर्किए, पढ़े, बढे, गए …आमाबाउको व्यवस्थापन अनुसार | तर कान्छी छोरी अलि फरक, जे गर्न हुन्न भन्यो त्यही गर्ने | पढाइ त अति अब्बल, तर वागी | केही पनि भनेको नमान्ने |

“दलितहरूको घर न जा न कान्छी !” भन्ने आमाले, तर परियार र विश्वकर्मा ५ केटीसित मितिनी पो लाई | आजित भएर बनारस पठाए पढ्न, संस्कृतमा आचार्य गरेर फर्की, गोल्ड मैडलसहित र पढाउन थाली एउटा कलेजमा नेपाली | सोही कलेजमा “लौह पुरुष गणेशमान विकेका सुपुत्र पनि प्राध्यापक, अंग्रेजीको… अति सुन्दर युवक | मन मिल्यो । शिव मन्दिरमा गएर, कर्मकाण्ड आधाघन्टामा पूरा | यता पण्डितको घरमा “लक डाउन ” हंगामा !! निषेध माइती, ६ दिदीहरूद्वारा बहिनी बहिष्कार | त्यही भयो, जे हुने गरेको थियो | तर कान्छी छोरी – बिन्दास !! प्रभाव शून्य |
११ महिनापछि पुत्र लाभ | ऊ पनि अति सुन्दर | हेर्दाहेर्दै ५ वर्षको भयो |५ वर्षको बालकलाई गीता कन्ठ, अर्थसहित |अंग्रेजी पनि | यता अनेक लीला |उसको, बालकको बारेमा सुनेर राष्ट्रिय पत्रिकाको वरिष्ट पत्रकार “रिया नेपाली” आइन् | उनले बालकको मुखबाट गीता सुनिन् | अनेक प्रश्न गरेको, सबको जवाफ – तुरुन्त |

” आमाको नाम ?” बालकसित | रियाको प्रश्न |

“प्रतिभा उपाध्याय !” बालक बोल्यो |

“पिताको नाम ?”

“अवसर विश्वकर्मा !” उत्तर सुनेर रियाको मनमा अनेक भाव आए | उनको दिमागमा “उपाध्याय +विश्वकर्मा” चक्कर लगाउन थाल्यो |

“तिम्रो नाम नि बाबू ?”

“चमत्कार !!” बालकको अनुहारको आभा प्रदीप्त | रिया फेरि पनि कल्पनाको दुनियाँमा | तीन नामले उनको मनमा एउटा कालजयी वाक्य जन्मायो, “प्रतिभाले अवसर पाएपछि चमत्कार हुन्छ !”
+++
२. लघुकथा : पापी # लोकनाथ पुडासैनी

“हेलो …!”

“अङ्कल, दर्शन !”

“भाग्यमानी बाबु ।”

“हजुरहरू कैले आइस्यो ?”

“अस्ति !”

“स्वागत छ हजुरहरूलाई ।”

“धन्यवाद ।”

“आज त ह्यारी नि घरमै होला, डे अफ हो क्यारे !”

“ह्या …ह्या …री …, … के अफ ? राम्रो सुनिन त !” कानमा कुइकुई गर्दै सोधेँ ।

“हजुरको ठट्टा गर्ने बानी छँदै छ हगि ?” भाइवरमा कृष्ण बोल्यो ।

“ठट्टा …? बुझिन बाबु ।” मैले आश्चर्य प्रकट गरेँ ।

“अङ्कल पनि ! हजुरको छोरा क्या !”

“ए …, छोरालाई पो सोधेको ? अनि हरि खै नभनी लेग्रो तान्दै असजिलाे गरी के भनेको त त्यस्तो ?”

“ठाउँ अनुसारको भेष, टाउको अनुसारको केस ! ह्वाँदेखि आएर पनि त्यही हरि, राम, कृष्ण जपिरहिन्छ त ? मै त ख्रिष भइसकेँ  !”

“अँ, विकसित मुलुक ! भाषाको विकाश पनि हुने नै भयो । त्यै भएर होला, यहाँ आमाहरू मामी/मामा, बाहरू पापा हुँदै अझ अघि बढेर पापी भइसकेका रहेछन् ।”
+++

३. लघुकथा- डम्फु # निशा केसी

म पानी लिन जाँदा मसँगै कुवासम्म गएर फर्केको थियो । अचानक के भएछ ? बेलुका खाना नखाइकन लल्याकलुलुक्क परेको डम्फु देखेर मनमा कुरा खेल्यो । दूधसम्म पनि खान सकेन । डम्फु बिरामी भएको कुरा घरभरि फैलियो । रातिहुँदो जँचाउन लग्ने कुरा पनि भएन । हामी डम्फुलाई घेरेर बस्यौँ ।

“पक्कै यसले विष खाएको हुनुपर्छ, नत्र एकाएक यस्तो के हुन्थ्यो ?” सासूको कुरा ।

“प्लाष्टिक खायो कि ?” वहाँको कुरा ।

“जुका पर्‍यो कि !” हजुरआमाको कुरा ।

“हेर.. पानी लिन जाँदा संगसगै कुवासम्म जान्थ्यो के भको होला हगि भाउजू ..!” नन्दको कुरा ।

“इत्रो… सानोमा ल्याएर भाउजूले कति माया गरेर हुर्काउनु भएको… !” देवरको कुरा ।

“माइतीको कुकुर पनि प्यारो भन्थे हो रैछ… लौ यिनी त रुन पो लागिन् नरौ !” जेठानीका कुरा ।

कुरैकुरा सुनेर भक्कानिदै म एकोहोरो डम्फुलाई नै हेरिरहेको थिएँ । हे भगवान केही नहोस् डम्फुलाई । मनमनै भगवान सम्झिरहेथेँ । हेर्दाहेर्दै उसले एकचोट जीउ तनक्क तन्कायो र प्राणविहीन भयो ।

“ए लौ मर्‍यो..! मर्‍यो..! तुलसीमठमा लगेर सुताइदेओ । भोलि बिहानै धोबी खोलामा लगेर गाड्नु !” सासूले भन्नु भयो । त्यै अनुसार गरियो पनि । सबै आ-आफ्ना कोठातिर लागे । “हिँड भित्र जौँ!” वहाँले मलाई अंकमाल गरेर भित्र लग्नुभयो । “पीर नगर भोलि म यो भन्दा राम्रो मोती कुकुर ल्याइदिन्छु ।” वहाँले आँशु पुछिदिँदै भन्नु भयो ।

मेरो डम्फुको रिक्तता कुनै अरु कुकुरले भर्न सक्ने थिएन । मैले त आफ्नो सन्तान जस्तै सम्झेर पालेकी थिएँ । चम्चाले दूध खुवाएर हुर्काएकी थिएँ । एउटा सन्तान गुम्नुको पीडा कस्तो हुन्छ ? मैले मन फुकाएर रुन पनि सकिनँ । भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । रात धेरै छिप्पियो । निद्रा लागेन । एउटा बोरा लगेर डम्फुलाई ओडाइदिएँ । र फेरि भित्तापट्टि फर्केर आँशु बगाइरहेँ । कति खेर निदाएछु ।

सपनामा देखेँ, तुलसीको मठबाट डम्फु उठेर आएछ । म सुतेको पलङनजिकै आएर जिब्रो निकालेर स्याँ स्याँ स्याँ गरेर तातो स्वास फालिरहेको थियो । म खुशीले चिच्याउँदै उँठे ।

“के भयो ?” वहाँले भन्नुभयो ।

“डम्फु जिउँदै छ !” मैले भनेँ ।

“सुत भर्खर ४ बज्यो !” वहाँले मेरो अनुहार मायाले मुसार्नु भयो र ब्ल्याङकेट ओडाइदिनु भयो, फेरि निदाएछु ।

“नाना .. ! नाना..!” वहाँले मलाई घचघच्याइरहनु भएको थियो । केही नबोली आधी आँखा खोलेर हेरेँ । “हेर त यो को हो ?” मैले पुरै आँखा खोलेँ । पलङ छेउमा डम्फु सपनामा जस्तै पुच्छर हल्लाएर मलाई मायालाग्दो अनुहारले हेरिरहेको थियो ।
+++

४. लघुकथा -मनको मैला # कुञ्जदेवी उपाध्याय
डल्लिको घमन्डी स्वभाव राम्रो थाहा थियो निर्मललाई। जीतेर शान्त हुने कारण निर्मल धेरै पटक नबोली कुरा टार्ने गर्दछन्।
आज पनि फेरी दोहोर्याएर भनिन् हुनेछ त्यो पल्लो छतमा हेर। नयाँ आएको त्यो परिवार कत्ति फोहोरी रैछ। सधैँ लुगा धोएर सुकाउने तर कहिल्यै सफा हुँदैन।
पुलुक्क हेरे तर केही बोलेनन् निर्मल
आफ्नी पत्नीको स्वभाव सुध्रिने नामै नलिएको देखेर बिरक्त हुन्छन् उनी।
भोलिपल्ट बिदा थियो अफिस। एउटा बाल्टीमा सर्फ पानी लिएर घरका झ्याल सबै धोएर सफा गरे।
नास्ता गरि सकेर सधैँ जस्तै डल्ला त्यो झ्यालका छेउमा पुगिन् अनि छिमेकीको छतमा आँखा डुलाएर कह्राएर भनिन् यता हेर्नोस् त शुरुका बाबा त्यो घरकी आइमाई बल्ल लुगा धुन जान्ने भइछे।आज सबै लुगा सुकिला छन्।
    मौकामा चौका हान्दै निर्मल भन्छन् त्यो त लुगा धुन जान्ने भइछे तर तिमी चै कहिले आफ्नो घरको साफ सफाई जान्ने हुन्छेउ डल्लि !
पहिले मनको मैलो धुन सिक। सबैतिर सफा देखिन्छ।
शिवसागर, असम
+++













































































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...