बुधबार– (लघुकथा साक्षात्कार कार्यक्रम) सह-संयोजक तथा प्रस्तोता– एन्जेल निलु (मीना साह), राजविराज+संयोजक– खगेन्द्र बस्याल (मिति–२०८०–०४–१० श्रृङ्खला– ६४५) समय– ७ः३०–८ः३० बेलुकी ।।
बुधबारे लघुकथा साक्षात्कार कार्यक्रम–एन्जेल निलु–खगेन्द्र बस्याल-उमानाथ दाहाल-दिप मंग्राती-लक्ष्मी रिजाल–२०८०–०४–१० श्रृ.– ६४५
+++
आजको लघुकथा साक्षात्कारमा तीन सवाल-
१. नयाँनौलो लघुकथा गान सुनाइदिनुहुन्छ कि ?
२. लघुकथा लेखन सीप बारे हजुरको अनुभूति बताइदिनुहुन्छ कि ?
३. लघुकथाको उन्नयनमा लघुकथा प्रतिष्ठानले थप के सुधार गर्नुपर्ला ?
(कृपया लघुकथाको चर्चापश्चात् जवाफ पस्कन अनुरोध छ ।)
+++
१. लघुकथा- किसान -उमानाथ दाहाल
२. लघुकथा- आवरण -दिप मंग्राती
३. लघुकथा- झट्केलो छोरो -लक्ष्मी रिजाल
+++
१. लघुकथा -- किसान -उमानाथ दाहाल
शिवसताक्षी नगर पालिका झापा
भजन सकिएपछि पण्डितजीले व्यासासनबाट प्रवचन शुरु गरे । प्रवचनमा उनले अनुशासन, मर्यादा, कर्तव्य, आय आर्जनका विभिन्न कर्महरूको बारेमा चर्चा गरे । उनी बोलिरहेकै बेला एकजना श्रोता उठ्यो। पण्डितजीको ध्यान त्यता तर्फ तानियो । उनले सोधे " केही भन्न खोज्नु भएको हो कि ?"
श्रोताले एउटा प्रश्न राख्यो
" पण्डितजी ! कर्महरू अनेक छन् तर सबैभन्दा राम्रो कर्म चैँ कुन होला?"
श्रोताको जिज्ञासा सुनेर पण्डितजी मुस्कुराए र भने " कति राम्रो प्रश्न राख्नु भयो सबैले ध्यान दिएर सुन्नुहोला । हामीले आय आर्जनका निम्ति गर्ने अनेक कर्महरू मध्ये सबै भन्दा उत्तम ,निश्छल र पवित्र कर्म किसानी कर्म हो " ।
श्रोताले यताउति आँखा डुलायो र फेरि उठेर भन्यो" यस्तो घाम-पानी, हिलो- धूलो, जाडो- गर्मी केही भन्न नपाउँने दुःखी कर्म पनि कसरी उत्तम कर्म हुन्छ?"
श्रोताको विचार सुनेर पण्डितजी हाँसे । उनले श्रोतालाई बुझाउँदै भने " मेरो प्यारो भाइ ! खै कुरा बुझेको ? हामी सबैको प्राणको आधार उत्पादन गर्ने किसानी कर्म उत्तम नभएर कुन चैँ उत्तम हुन्छ त ?"
श्रोताबाट अर्को प्रश्न आएन । आजको निर्धारित प्रवचन सकियो । सबै आआफ्ना घर लागे । पण्डितजी पनि साइकल चढेर घर तर्फ हानिए।
घर जाने क्रममा पण्डितजीले बाटाकै छेउमा खेतमा काम गरिरहेको एउटा किसानलाई देखे । उनी साइकलबाट ओर्लिए । साइकल अड्याए र हात जोड्दै ति किसिनलाई भने " नमस्कार "
आश्चर्यको नजरले ति किसानले पण्डितजीलाई हेरे,नमस्कार फर्काए र भने " मैले त चिन्न सकिँन "
पण्डितजीले मिठो आवाजमा भने " तपाईं भगवान् हो । भगवान्ले सबैलाई चिन्नु हुन्न तर हामी चिन्छौँ " ।
+++
२. लघुकथा : " आवरण" -दिप मंग्राती
"खोई मेरो नेपाल बाट ल्याएको ज्याकेट कता राखी दिएउ...?"ज्याकेट राखेको ठाउँमा नभेटे पछि श्रीमतीलाई सोधे। म लामो समयको नेपाल बसाई पछि भखर नेपालबाट युके आएको थिएँ। उनिहरु यहीँ युके मा नै बसिरहेका थिए।
"सुट्केश्मा राखी दिएको छु। नेपालको लुगा पनि यहाँ लगाउछ...? छोराको "सुपर ड्राई" को ज्याकेट निकाली दिएको छु , अहिलेलाई तेहि लगाउनु।अहिले बजारमा किन्नु पर्छ।"
श्रीमतीको निर्णय ।
"बाहुला लामो हुन्छ, कसरी लगाउनु ?"
"ब्रान्डेड हो .....! केहि फरक पर्दैन ," "बाउला मोडेर लगाए हुन्छ।" उनको आज्ञा ,
"मेरो घोसेमुन्टो...!" मौन असहमति...! बिबाद गरेर हिड्ने बेलामा किन मुड खराब गरिदिने, बाटो भरी गन गन सुन्न भन्दा घोसेमुन्टो लगाउनै उत्तम ठाने
फलत ....लगाएँ.....र ऐना मा हेरेँ, अर्काको लगाएको प्रष्टै बुझिन्थ्यो....!
तर म "कलमजीवी" जन्तुलाई आवरण ले खासै फरक पर्दैन थ्यो।
म उनिहरुको पछि पछि दोकानै दोकान चहार्दै थिएँ।
"ह्युगो बोस" "डन हिल" सबै ब्रान्डेड, सबै उनिहरुको छनोट, म त लगाएर देखाउने मात्रै , फिट छ कि छैन भनेर।
लुगा आफुलाई सुहाउने र मन परेको हुनु पर्छ, चाहे सस्तै किन नहोस, मेरो आफ्नो मान्यता.....! तर यहाँ बिपरित छ।जस्तो होस ब्रान्डेड हुनु पर्यो।
"यत्रो महँगो किन किनेको....? मलाई "ब्लड प्रेसर" नाप्ने मिसिन किनौ भन्दा चाहिँ फाल्तु खर्च भन्छौ , यो चाहिँ फाल्तो खर्च भएन..?" बाहिर निस्केर असन्तुष्टी जनाएँ ।
था छ मेरो असन्तुष्टीको तुरुन्तै हत्या हुन्छ भनेर...! र पनि ...!
सोचे जस्तै आक्रमण ....!
"हामी संग हिड्दा लगाउने लुगा चाहिएन....? "
बेल्बारी -3 ,मोरङ्ग
हाल यु. के.
+++
३. लघुकथा- झट्केलो छोरो
- लक्ष्मी रिजाल
"दस वर्षपछि पनि कुच्चिएको अनुहार देखाउन रित्तो हात के आएको त ?" बखतबहादुरले पहिलेकै रवाफ दोहर्यायो तर यस पटक भने मतानेले गहभरि आँसु पारेन । बरु उसको मन बखतबहादुरको टिठलाग्दो अवस्था देखेर मुस्कुरायो ।
"निर्लज्ज भतुवा; अर्धनग्न शरीरमा गाग्रो फुटाएर भागिथिस् । त्यस्तै रूपमा फेरि के बिगार गर्न आइस् ?" बखतबहादुरले अर्को वाण चलाउँदा पनि मताने मूर्ति भइरह्यो ।
"नैनसिंह पुलामी संसारलाई खुशी तुल्याउने छोरो जन्माएँ भनेर नाक घोक्य्राउँथ्यो । ऊ त बेला नपुगीकनै मास छर्न गयो । तेरी आमालाई गृहलक्ष्मी बनाएथेँ । तैंले सुइकुच्चा ठोकेपछि तेरै नाम जप्दै पागल भएकी कता गएर मरी !" विगत सम्झँदै बखतबहादुरले इतिवृति बताउँदा भने मतानेका आँखा रसाए ।
"आमा नै नभएपछि कुन मुखले यस सिकुवामा टुसुक्क बस्छ ए भातका काल । जुन बाटो आएको थिइस्, त्यही बाटो मुन्टी !" बखतबहादुरले तल्लो स्तरमा उत्रेर शब्द छादेको सुनेर मताने रातोपिरो भयो ।
तत्कालै मताने शरीरका थोत्रा कपडा फुकालेर नाङ्गेझार भयो । थोत्रे बोराबाट नयाँ झोला निकाल्यो र सुटबुट लगायो । अब ऊ राजकुमारजस्तो देखियो । पच्चीस हजारको बिटो बखतबहादुरतिर हुइक्याइदियो र भन्यो- एक समय दुई गाँस खान दियौ । मेरी आमाको पोइ बन्यौ । आजदेखि हिसाब चुक्ता !"
मतानेले सिठी बजायो । चिल्लो कार देखा पर्यो । ऊ कारभित्र पस्यो ।
"छोरा, दबाई गरेर मलाई निको पारिस् । अब तेरो सौतेनी बाउसँग पुनर्मिलन गराइदे । तँलाई धर्म हुने छ बाबू ।" आमाको आँखामा छचल्किएका आँसुले मतानेको क्रोधाग्नि शान्त हुँदै गयो ।
२०८०-०४-०५
कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
+++
No comments:
Post a Comment