बिहीबार– (लघुकथा छलफल कार्यक्रम) संयोजक तथा प्रस्तोता– पूनम पोखरेल+प्रशिक्षक-पुण्य कार्की (मिति–२०८०–०४–११ श्रृङ्खला–६४६) समय– ७ः३०–८ः३० बेलुकी ।।
+++
बिहीबारे लघुकथा छलफल कार्यक्रम– पूनम पोखरेल+पुण्य कार्की २०८०–०४–११ श्रृ.–६४६ तोयनाथ-श्रीप्रसाद-बाेधराज प्याकुरेल
+++
आजको लघुकथा छलफलमा तीन सवाल
१. लघुकथा के हो के होइन ?
२. लघुकथामा पात्रको भूमिका कस्तो रहन्छ ?
३. लघुकथाको उन्नयनमा लघुकथा प्रतिष्ठानले थप के सुधार गर्नुपर्ला ?
(कृपया लघुकथाको चर्चापश्चात् जवाफ पस्कन अनुरोध छ ।)
आजका तीन लघुकथाक्रम
१. लघुकथा- मेरो देश -पं. ज्यो. तोयनाथ सुवेदी
२. लघुकथा- बिदाको दिन —श्रीप्रसाद पोखरेल
३. लघुकथा- शङ्का -बाेधराज प्याकुरेल
+++
१. लघुकथा- मेरो देश -पं. ज्यो. तोयनाथ सुवेदी (ओखल्ढुङ्गा )
हाल:हेटौंडा -८,कमाने, मकवानपुर।
"बुवा! मेरो देश किन रोइरहेको छ?" छोराले सोध्यो।
"बाबू!मेरो देश त मन हुनेहरूको नभएर रोइरहेको छ।"
"साँच्चै धन सहितको मनमा मेरो देश हराउन सक्छ ; किनकी
धन भित्र त मन हुन्न; महलमा भन्दा त यो छाती मै निर्धक्कसँग
बस्नसक्छ।" आमाले थपिन् ।
दिदीले मुठ्ठी बटार्दै भनिन् ," मेरो देशलाई नचेप्ट्याओ,
नकुच्याओ अनि नखुम्च्याओ धनका लोभमा।यदि यसो गरेमा
हामी वीर कि स्त्रिलिङ्ग भएर जन्मनेछौं।"
वास्तवमा मेरो देश खोज्न अब मेची -देखि महाकालीसम्म मन
खोज्नुपर्छ।मन शहरबजारमा मुस्किलले पाइन्छ।त्यसैले अब गाउँ फर्कनु पर्छ; पटुकी कसेका शरीरभरि मेरो देश छाम्नुपर्छ;
भोकाएकामा पढ्नु -पर्छ; झापडीभित्रका पवित्र मनमा
धड्किरहेको छ मेरो देश; नियाल्नुपर्छ।
।।। समाप्त।।।
+++
२. लघुकथा- बिदाको दिन —श्रीप्रसाद पोखरेल
सधैँ झैँ आज पनि विदाको दिन चट्टोपाध्याय कार्पेट ओछ्याएर बसे । तासको गड्डी लिएर एक्लै फिटिरहेका थिए । तासमा घरी पाउडर छर्थे, घरी कैँची मार्थे । तास खेल्न नपाएको दिन उनलाई राती राम्रो निद्रा पर्दैनथ्यो ।
कहिलेकाँही साथी नआएका दिन फोन गरेर बोलाउँथे । उनका पुराना साथी आज पनि आए । श्रीमतीलाई अह्राए “आज मिठो खाजा बनाउनु है ।”
श्रीमतीले आज्ञा सुचक मन्टो हल्लाइन् ।
खेल राम्रै चल्दै थियो । हेर्ने दर्शक पनि वरिपरि बसेका थिए । पैसा हुने खेल्न पाए हुन्थ्यो भन्नेमा थिए । नहुने बेलाबेला जितौरी थाप्थे ।
एक हुल प्रहरी आएर सबैलाई जस्तो अवस्थामा थिए त्यस्तै समातेर गाडीमा हाले । गाँउलेका अगाडी धुलो उडाउदै गाडी कुद्यो ।
बोल्न नसकेका गाँउलेहरुले खुशि व्यक्तगरे, ‘अब चैँ हाम्रा केटाकेटी सुध्रिन्छन् कि ?’
इटहरी, सुनसरी
२०७९ साल माघ १६ गते
++++
३. लघुकथा: शङ्का -बाेधराज प्याकुरेल
"अब म बुढी भए है,वास्तै गर्न छाेड्याै त ?" सानुकाे अप्रत्याशित भनाइले कपडा धुदै गरेका साेम हेरेकाे हेरै भए ।
"मशिन त हाेइन नि हाम्रो शरीर ,कहिलेकाहीँ काम सघाउँदा सानाे भइदैँन । नुहाएर फत्त कट्टु फ्याक्याे हिड्याे । कति सजिलो लाेग्ने मान्छेलाई । अाफूले लगाएको कट्टु त धुन सकिन्छ है ।" केही दिनअघि सानुले भनेकी थिइन ।
त्यसदिन साेमले गहिरिएर साेँचेका थिए । साँच्चै कति गार्हो छ सानुलाई । बिहान उठेदेखि साँझ नसुतेसम्म कामैकाम । न तलब न भत्ता न त कामको निश्चित समय नै ।
भाेलिपल्टैबाट साेमले अाफूले लगाउने कपडा अाफैँ धुन थालेका थिए। भ्याएसम्म घरका कामहरू बिहान बेलुका सघाउँथे । दिनभरिकाे थकाइले गर्दा उनी राति पनि छिट्टै सुत्न थालेका थिए । अरु काम सघाउन भ्याएनन् भनेपनि त्यस दिनदेखि राति नै भएपनि अफिस पाेसाकभने अाफै धुन्थे ।
" के भनेकी सानु ? कसले वास्ता गरेन भनेकी ?"
" वास्ता गर्ने भए पहिले नुहाएर कट्टुसम्म नधुने मान्छेले अफिसजाँदा लगाएका कपडा किन मसँग लुकाइ लुकाइ धाेएकाे त ?"
खजुरा,बाँके ।
+++

No comments:
Post a Comment