धनकुटेको घरनेर ठिङ्ग उभिएर टुलुटुलु हेर्दाहेर्दै आँखाभरि आँसु बनाए हजुरबाले ।
‘सस्तो ठानेर जताततै नखसाल्नुस् बा अनमोल अश्रु !’ मैले खबरदारी गर्ने सुरले भनेँ । उनी अझ गम्भीर भए र खुइय सुस्केरा हाले ।
धनकुटेको बारीमा फर्सीका मुन्टा लहरिरहेका थिए । काक्रा र घिरौला झुन्डिरहेका थिए । पाकेका आँप, मेवा र कटहरको मगमग बासना आइरहेको थियो । घरको पर्खालमा चढिरहेको एउटा घिरौलाको बोटले काखमा मज्जाको छोरो च्यापेको थियो । धेरै चिचिलाहरु पनि लगाएको थियो । फूलहरु फुलाइरहेको थियो । तर आज त्यो पूरै ओइलिएको थियो । माथिमाथि लम्किरहेका पातहरु तत्रिएका थिए । सुन्दर लहरो कुरुप भएको थियो ।
त्यही घिरौलालाई देखाउँदै र आँसु पुछ्दै हजुरबाले भने– देख्दैनस्, जवान नपसी मर्नुपरेको त्यस लहरालाई ।
‘जाबो घिरौला मर्दा पनि आँसु खसाल्ने हो त पिन्चे बुढा !’ मैले हेलैसित जवाफ फर्काउँदा उनी क्रोधले रातापिरा भएर भने– तँ पटमूर्खलाई के थाहा ! त्यसलाई पनि घरभरि लालाबाला बनाउने विचार थियो । आफन्त जनको फोस्रो ओठमा गुलाफ फुलाउने मन थियो तर.......!
‘बाइयात कुरो....’ मैले घृणित नजर फ्याक्तै भन्नासाथ उनले थपे, ‘भर्खरै दाम्पत्य जीवन सुरुआत गरेको मेरो नातिलाई पापीले सडकमै क्षतविक्षत पारेझैं त्यस लहराको हबिगत पारेछन्... ।’
२०८०–०४–१२ सिद्धार्थटोल, उदयपुर । हाल– सिर्जनाकुटी, सिरहा ।
No comments:
Post a Comment