६. शुक्रबार– (लघुकथा छलफल कार्यक्रम) संयोजक तथा प्रस्तोता– पं.ज्यो.तोयनाथ सुवेदी+प्रशिक्षक- खेमराज पोखरेल (मिति–२०८०–०४–१२ श्रृङ्खला– ६४७) समय– ६ः३०–७ः३० बेलुकी खेमराज सरसँग मात्र ।।
शुक्रबारे लघुकथा छलफल–६४७-तोयनाथ सुवेदी+खेमराज पोखरेल-कुमार काफ्ले-कात्यायन–नन्दलाल आचार्य (मिति–२०८०–०४–१२ श्रृङ्खला–६४७)
+++
आजका लघुकथाक्रम-
१. लघुकथा : मेरा बा जस्तै -कुमार काफ्ले
२. लघुकथा : उज्यालो -कात्यायन
३. लघुकथा– कुरो –नन्दलाल आचार्य
आजका लघुकथा छलफलका विषयसन्दर्भ-
१. बाललघुकथा नभनेर बालविषयक लघुकथा भनिएको पाइन्छ । त्यस्तै बुढ्यौली लघुकथा भनेर लेख्ने चलन छैन । यद्यपि बुढ्यौली लघुकथा लेखन तरिका बारे बताइदिनुहोला ।
२. पर्यालघुकथा बारे आफ्नो बुझाइ सेयर गरेर हाम्रा पाठक तथा स्रोता गणलाई आभारी तुल्याउन अनुरोध छ ।
(आजका तीन लघुकथा विमर्शपश्चात् यी माथिका दुई प्रश्नको जवाफ पस्कन अनु्रोध छ ।)
+++
१. लघुकथा : मेरा बा जस्तै -कुमार काफ्ले
"आमा मलाई गणित र विज्ञान सारै गार्हो लाग्यो । ट्यूशन पढ्छु नि है ?" प्रभाले आमालाई भनी ।
"मलाई भनेर के गर्छेस् त ! भरे बा आएपछि भन् न ।"
"बा त के मान्नु होला र ! आठ कक्षा पास भएपछि त अब नपढ् भन्नुहुन्थ्यो । तैपनि तपाईं नै एकपल्ट भनिदिनू न है आमा, ल ?"
साँझ बा घर आए । आमाले दिउँसोको कुरा निकालिन्, "छोरी ट्यूशन .... ।"
"त्यसले पढेर के गर्छे र ? अर्काको घर जानुपरिहाल्छ, आ हुन्दे ।" बाले आमालाई भनेको उसले सुनिरहेकी थिई ।
भोलिपल्ट बिहान बाले पनि सुन्ने गरि प्रभाले आमालाई भनी, "आमा हाम्रो दाइ त कति सोझा छन् है ? स्कूलमा पनि सबैले लाटालाटा भनेर जिस्क्याउँछन् ।"
"त्यही त नानी, यसले कसरी गरि खाला ! हाम्लाई त त्यसैको पीर छ । अँ, तँ छेस् नि बाठी ..... ।"
"म त अर्काको घर जाने जात होइन र आमा ?" उसको कुरा सुनेर आमाको बोली बन्द भो, बा झल्यास्स भए ।
"बुहारी कस्ती आउने हो ! अलि पढे लेखेकी परे त हुन्थ्यो .... ।" आमाले सुस्केरा हाल्दै भनिन् ।
प्रभाले तप्प आँसु चुहाउँदै भनी, "उसका बा पनि मेरै जस्तै त होलान् नि आमा ।"
+++
२. लघुकथा : उज्यालो -कात्यायन
- "तँ अब फर्किन्छस् कि बाबू ?"
आमाको काखमा पल्टिँदै मैले भनें, "अब म फर्किन्न आमा ।"
आमाले मेरो कपाल मुसार्दै र सानोबेलामा झैँ ठुङ्ग मार्दै भन्नुभयो, "हो, अब तँजस्तै सबै विदेशिनेहरू फर्किनु पर्छ !"
धेरैवर्षको प्रवास वासपछि, म केहीदिनअघि मात्र घर फर्केको थिएँ । करिब अठाह्र वर्षअघिको कुरा हो । आमाको कोमल स्पर्शहरू मेरा कपालहरूमा सलबलाई रहेका थिए । मेरा आँखाहरू लोलाउँदै जाँदै थिए । आमाले भन्दै हुनुहुन्थ्यो, "केही अत्याचारीहरूको विरुध्दमा, अनेकौँ आतंकबादीहरू बढिरहेका छन् । समाधान र उज्यालो ल्याउने, तिमीहरू कै हातमा छ अब !"
आमाको कुराले म झसङ्ग ब्युँझे र जुरुक्क काखबाट शिर उठाएँ र अगाडि पलेँटी कसेर बस्दै, आमाको अनुहार नियालेँ ।
प्रसङ्ग बदल्दै आमाले भन्नू भयो, "तँ भोकाए जस्तो छ । तँलाई मनपर्ने खानेकुरा बनाउँछु ।"
आमा खाना बनाउन जानुभयो । मैले सोच्दै थिएँ कि, के होला त मलाई मनपर्ने खाना ?
आमाले भान्छाबाट बोलाउनु भयो, "ए, बाबू ! तँलाई मनपर्ने गुन्द्रुकमा भटमास र मस्यौरा हालेर बनाएको छु । छिटो आइज !"
आमाले अझैसम्म पनि बिर्सनु भएको रहेनछ मेरो सानोबेलाको रुचाई !
***
मनभित्रकी आमा !... सत्ताको रूपपरिवर्तन भएको छ; सार उस्तै ! फेरि पनि राष्ट्रियता, शक्ति र वैभवहरू; घोडाका तवेलाबाट उछिट्टिएर, हात्तीसारमा सारिएका छन्, सेता हात्तीहरूको क्रूर-पञ्जामा !... हामीले बिर्सेका छैनौँ; तपाईले चाहेको उज्यालो ! अक्षरहरूका हतियार बन्ने नै छन्, कुनैदिन आमा !
*** *** ***
चाबहिल, काठमाडौं - ७
२०८०/०४/०९
+++
३. लघुकथा– कुरो –नन्दलाल आचार्य
‘उदारताको आवरणभित्र अनुदार सल्बलाइरहेको थाहा पाएर आएँ ।’ सधैं योगभवनमा आएर चुपचाप योग गर्न थाल्ने श्यामविलासले सुरुआतमै मुख खोले ।
‘महायोगीले मात्र कसैको मनको बात बुझ्छ । प्रसंगबिनाको तपाईंको कुराले मलाई कुहिरोभित्रको काग बनायो ।’ श्यामविलासको कुरो बुझ्न नसकेको आभास दिँदै रामकृपालले भने ।
‘जिज्ञासु मान्छे भेटे मनपेट दिन सकिन्छ ।’ श्यामविलासले उल्टै नाक घोक्र्याए ।
‘बोल्नु अर्काको लागि हो, अरुले नबुझ्ने हो भने आफूले बोल्नुको कुनै अर्थ रहँदैन ।’ रामकृपालले अर्को झटारो हानेँ ।
योगभवनमा डा. मनोज कुसल प्रशिक्षक कहलिन्थे । उनी आँखामा राखे पनि नबिझाउने खालका थिए । श्यामविलासका आँखाले उनलाई दोषी देख्यो । मनको पोको खोल्ने विचार गर्दै थपे- डाक्टरले आफ्नो ग्राहकलाई गलत ओखती खुवाएर बेहोस पारी छाडेर भागे रे ।
श्यामविलासका कुरा सुनेर योगार्थीहरुका कान ठाडा भए । बोल्न त कोही बोलेन । वातावरणमा मूर्दाशान्ति छायो ।
योगगुरु जुरुक्क उठेर भने; ‘अल्पज्ञान हानिकारक हुन्छ त्यसै भनेको हैन । हावा चलेको पक्कै हो ।’
रामकृपालले नै थपे, ‘डा. मनोजले बेहोस बिरामीलाई आफ्नो क्लिनिकमा उपचार गराएनन् । बरु आफैँले लगेर सरकारी अस्पताल भर्ना गराई बिरामीको धनजन जोगाइदिए ।’
रामकृपालका कुराले स्पष्ट भएपछि श्यामविलासले लज्जालु मुहारमा गल्ती स्विकार्दै भने, ‘हामीले कानले सुनेको हैन मनले गुनेको कुरो मात्रै मुखबाट बाहिर ल्याउनुपर्ने रहेछ ।’
०००






.jpg)
.jpg)






No comments:
Post a Comment