Wednesday, July 12, 2023

असार २८ जन्मोत्सव विशेष बिहीबारे लघुकथा प्रशिक्षण-६३२ पुण्य कार्की-तोयनाथ-नन्दलाल-शुक्रराज-तुलसी

असार २८ जन्मोत्सव विशेष बिहीबारे लघुकथा प्रशिक्षण-६३२ पुण्य कार्की-तोयनाथ-नन्दलाल-शुक्रराज-तुलसी
असार महिनाको हरेक बिहीबार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रशिक्षक– पुण्य कार्की, संयोजक तथा प्रस्तोता– पं.ज्यो. तोयनाथ सुवेदी (मिति– २०८०–०३–२८ ।। श्रृङ्खला– ६३२) (समय– ७ः३० बेलुका)
+++
लघुकथाक्रम-

१. असार २८ जन्मोत्सव विशेष लघुकथा- चेतना  -नन्दलाल आचार्य 
२. लघुकथा : कामवासना  -शुक्रराज कुँवर
३. लघुकथा : मन -तुलसी पण्डित

+++
१. असार २८ जन्मोत्सव विशेष लघुकथा- चेतना  -नन्दलाल आचार्य 

"पक्कै कतै गल्ती भएको हाे ।" कालोनीलो मुहार लगाउँदै चन्द्रबहादुर सरले मन खाेले ।
"मत र मतदाता सामुमा छन् । मत परिणाममा चित्त नबुझे मत पुनः गणना गर्न सकिन्छ ।" प्रधानाध्यापकले पनि सहज रूपमा चन्द्रबहादुरकाे मुख थुन्ने काम गरे । 
दुई शिक्षकका यस्ता कुरा सुनेर विद्यार्थीहरू कानेखुसी गर्न थाले । 
"हामी मन खाेलाखाेलकाे अवस्थामा छाैँ । खुलेर आफ्ना कुरा राख्न मिल्छ ।" प्रअका यस्ता कुराले कक्षाकाे पहिलो विद्यार्थीले उत्साहित हुँदै भन्यो; "पचास मतमा दस मत 
चन्द्रबहादुर सरकाे पक्षमा गयो । अल्पमतकाे पनि सम्मान गर्ने संस्कार बस्नुपर्छ ।"
"हरेक खालका अभिमतकाे सम्मान गर्दै कक्षा चल्नुपर्छ तर उत्तम मत मात्रै व्यावहारमा लागू हुनुपर्छ ।" प्रअको स्वर सुनियो ।
चन्द्रबहादुर सर कक्षामा पढ्थे; जाेडताेडले पढाउँथे । आफू बाेल्थे र बाेलिरहन्थे ।  विद्यार्थीकाे मनाेभावना बुझ्दैनथे । सुन्ने सुनाउने कार्यकलापले मलजल पाएकाे थिएन । अर्का विज्ञान शिक्षक  व्याख्या कम गर्थे । विद्यार्थीका कुरा बढी सुन्थे र सम्बाेधन गर्थे । यी दुई मत कुन प्रिय भनी कक्षाभित्र गाेप्य मतदान भएको थियोे ।
"शिक्षणमा भाषणको जमाना सकियो । प्रयोग गरी सिद्ध गर्नुपर्ने युग आयो ।" प्रअको निष्कर्ष तर्क सुनियो ।
"बहुमत सामु घुँडा टेक्न तत्पर भएँ ।"  
चन्द्रबहादुर सरले यसाे भनेपछि विवाद किनारा लाग्यो ।
+++
२०७९-१०-२९       ११ फरबरी । सिद्धार्थटाेल, उदयपुर
 हाल- सिर्जनाकुटी, सिरहा ।
+++
२. लघुकथा : कामवासना  -शुक्रराज कुँवर
           एउटा नौ वर्षिय बालकलाई बलात्कारको आरोपमा पक्रेर चौकीमा ल्याइएको थियो । उसका बाबुआमा पनि साथै थिए ।
- " यो त घोर कलियुग भयो यार ।"
- " खास कुरो चाहिँ के रहेछ ?
- " सात वर्षिय बालिकालाई बलात्कार गरेको रे !"
- " राम राम राम के सुन्नु देख्नु पर्यो ! अचम्म लाग्दो "
- " ह न त्यो दूधमुखे बच्चामा कसरी कामवासना जाग्छ हो ?" कलियुगमा अनेकथोक देख्न सुन्न पाइन्छ भन्थे हो रहेछ ।"
           चौकीमा उपस्थित मानिसहरु बिचको संवाद थियो यो । अनेक थरी मानिसहरुले अनेक थरी कुरा काट्दै थिए ।
           एउटा नौ वर्षिय बालकले कसरी यस्तो गर्न सक्छ ? उसमा कामवासना कसरी जागृत भयो ? त्यस पछाड़िका कारण के हुन सक्छन् ? प्रहरीहरुले मिहिन ढङगले जाँचबुछ गर्न थाले । उसले खेलाउने गरेको मोबाइल, सङ्गै खेल्ने साथी सङ्गत , पाठ्य सामाग्री आदि कुनैबाट पनि अश्लिल प्रभाव परेको देखिएन , पाइएन ।
          प्रहरीले बाबुआमालाई पनि केरकार गरे । बाबुआमा आफै सर्मले मरिसकेका थिए ।
          अन्तमा प्रहरीले बालकलाई नै फकाइ फुलाइ गरेर त्यसो गर्नुको कारण बारे सोधे । बालकको उत्तरले त्यहाँ उपस्थित सबैको होसहवास उड़यो ।
           बालकले भन्यो कि " सधैँ सुत्नेबेला मेरो बाबाआमाले पनि त्यसो गरेको देख्छु , अनि !"
बलभद्रपथ,धरान १० सुनसरी, नेपाल
२०८०/०३/२६

+++
३. लघुकथा : मन -तुलसी पण्डित 
 चतुरे दाइ मैले खान पाइन । "ल लैजाउँ तन्न खानु पर्छ ।" अर्को आयो । "श्रीमती बिरामी छ । तर उसलाई अस्पताल लैजाने पैसा छैन ।" " तिमी उनलाई अस्पताल लैजादै गर । म पैसा लिएर आउँछु । " गाउँको हरेक दुखमा चतुरे अगाडि सर्थ्यो । ऊ भन्ने गर्थ्यो । "दुख परे मलाई सम्झनु । "
सबैको हृदयमा बसेको चतुरेको आज हृदयघातका कारण मृत्यु भयो । उसको मृत्युले गाउँले सबै रोए । घरघरबाट मलामी गएँ । असंङ्ख्य मान्छेको भिड थियो ।
मन्सरेको पनि आज हृदयघातबाट मृत्यु भयो । उसलाई घाटमा लगियो । "खैं ! मान्छे ? चतुरेको पालामा त्यति धेरै मलामी थिए । यसको पालामा भने मान्छे औलामा गन्न सकिन्छ । "
"हेर नृपते जसले समाजको लागि केही गर्छ । हो त्यसैको इष्ट धेरै हुदा रहेछन् । अनि थाहा पाएपछि मान्छे हतारिदै आउँछन् । "
"यो आज मर्ने मन्सरे ठूलो मान्छे त होला । तर दुर्घन्दित गनाएको ।" 
 "होइन के गर्यो र यसले ?"
"उसले के गरेन । चुनाव जिताएर पठाइदियौं । केही गर्छ कि भन्ने आस थियो । तर आफै बन्यो । देशको सारा ढुकुटी कुम्ल्यायो ।"
 होइन त्यसले त राम्रो काम गर्छु भनेर कसम खाएको थियो ?"
" हो सबै त्यसै भन्छन् । तर त्यहाँ पुगेपछि त्यस्तो हुदा रहेछ । हुनत संगत बिनाको फल भन्छन् । त्यहाँ सबै त्यस्तै भएपछि उसले पो मन कसरी थामोस् । "
एकजना व्यक्ति आए । उसले यी दुईको जनाको गफ सुनि रहेको थियो । ऊ त्यहाँ आएर रिसाउँदै भन्यो । 
"मन्सरे ठिक थियो ।"
"देखियो नि ठिक भएको । अहिले मलामी बीस जना पनि छैनन् । "

+++
(समय रहे जन्मोत्सव विशेष रचना वाचन सरासरी गर्नुहोला । विश्लेषण गर्न समय हुन्न । अपेक्षा पनि छैन । समय नरहे वाचनको वाध्यता पनि छैन । १, २, ३ मात्रै अनिवार्य ।)+++
४. लघुकथा-  हात -नन्दलाल आचार्य
"गुरु, यहीँ बल्झने कि अघि बढ्ने ?" कक्षा ११ काे विद्यार्थी दिनेशले प्रश्न तेर्स्याउँदा पढाउँदै गरेका ताेयनाथ गुरु क्राेधले आगाे बने । त्यतिबेला भने मुख भने खाेलेनन् ।
"हावा जता बहन्छ उतै लाग्दा जित हात पार्ने अवस्था रहन्छ । विपरीत दिशा ताके भन्न सकिन्न गुरु !" दीपकले पनि दिनेशकै कुरालाई मलजल गरे ।
यस पटक भने गुरुले सहन गर्न सकेनन्; "म तालिमको सिलसिलामा आएको भए पनि शिक्षक हुँ । म रुक्ने वा अघि बढ्ने कुरामा मेरै हात छ; अरूमा हाेइन ।"
विद्यार्थीहरू शान्त रहे । त्यसलाई आफ्नो विजय ठाने गुरुले । उनलेे चुनाैती दिए; "अहिले तालिममा आएको छु । तिमीहरू जस्ता धेरैलाई तह लगाएको छु । मैले क्राेधी खेलाडी बन्न नपराेस् ।"
गुरुले छाती फुलाउँदै सिंह गर्जन गरेकाे देख्दा सबै विद्यार्थी डराए । यद्यपि हिम्मत गरेर दीपकले गुरुका कानमा फुस्फुसायाे ।
एकाएक गुरु ओइलिएकाे साग बने । अघि शिर झुकाइरहेका विद्यार्थीहरूले एकाएक शिर ठाडो पारे । कान चनाखा बनाए । मानमा जे भए पनि हाँसीहाँसी पढाएर गुरु कक्षाबाट निस्के ।
प्रश्नको थुप्रोसहित साथीहरूले दीपकलाई घेरे । गुरुका कानमा भनेको कुरा सुनाउँदै दीपककाे स्वर सुनियो; "सिकाएको कुरा हामीले भन्न सके शिक्षक पास नसके फेल हुने सिस्टम छ यहाँ ।"
२०७९-०९-१३  सिद्धार्थटाेल, उदयपुर ।  हाल- सिर्जनाकुटी, सिरहा ।
+++

५. लघुकथा- सजाय  -नन्दलाल आचार्य 
सबै जना कालानीला भएर उभिरहेको बेला हितनारायण भने मुस्कुराइरहेकाे थियोे ।
"हामी तिम्रै चिन्ताले जलेका छाैं । तिमी भने ओलम्पिक जितेको अनुभव गरिरहेका छाै । कसरी मन्द मुस्कान देखाउन सकेका ?" रामनाथकाे प्रश्न तेर्सियाे ।
यता अझै आगाे पुत्पुताइरहेकाे थियाे । उता भाइले अस्पतालमा बिल उठाइरहेको थियोे । खानलाई अन्नको दानो थिएन । लगाउनलाई वस्त्रकाे धराे  रहेन ।  खाकको  थुप्रो ठडिएको आँगनमा उभिएर वस्तुस्थिति नियाल्ने गाउँलेहरू थपिँदा थिए ।
"हितनारायणलाई सबै मिली उकास्नुपर्छ ।   भवितव्यकाे बाेध स्थानीय सरकारलाई गराउनुपर्छ ।" वडा सदस्य धनमायाले भनिन् ।
"मलाई त शंका लाग्छ ।" रामनाथले मन खुम्च्याए ।
"मेरो घर जल्याे  । मेरो अपाङ्ग भाइकाे दाहिने खुट्टाे डढ्यो । म  घरमा थिइनँ । आँखा सामुकाे सत्यमा शंका कहाँ छ ?" यस पटक भने हितनारायणले राेष निकाल्यो ।
"अनि  तिम्रो अनुहारमा मुस्कान किन नाचेकाे त ?" रामनाथले प्रश्न पुनरावृत्ति गरे ।
हितनारायणकाे जवाफमा सुनियो; "दु:खमनाउ गरेर गुमेको सर्वस्व फर्कँदैन । बरू मन बुझाएर खुशी रहे आउँदो सङ्कट टार्न मद्दत  पुग्छ भन्ने मलाई राम्ररी बाेध छ त्यसैले ।"
धनमायाले अरू थपिन्; "अर्कातिर डाहा गर्नेहरूलाई हितनारायणकाे धैर्य मिश्रित मुस्कानले ठूलो सजाय दिएकाे छ ।"
२०७९-०९-०७   सिर्जनाकुटी, सिरहा ।
+++



































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...