(१) लघुकथा प्रतिष्ठानका लागि उत्कृष्ट दर्जन लघुकथाहरू
१. लघुकथा- गोसाईं -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया ,सुनसरी ।
"बुहारी ! एक गिलास तातो पानी देऊ न ।" पीडायुक्त आवाजमा भित्रबाट आवाज आयो ।
"एकछिन थाम्नु है ! म गोसाईं घर लिप्तैछु ।" यति भनेर बुहारी गोसाई घर लिप्न थाली ।
केही क्षणमा ससुराको आवाज आयो -"बुहारी ! चिया खान मन लाग्यो । देऊ न ।"
" एकछिन थाम्नु न । म गोसाईको पूजा गर्दैछु । " उनले भनिन् ।
र गुनगुनाइन -"कति कराउँछन् यी बुढाबुढी ?"
अनि पूजा गर्न थालिन । पूजा गर्दा ऊनी कुनै भजन गुनगुनाउँदै थिइन् -"देव हे देव ! तिमी नै छौ अपार । तिमी नै हौ संसार । "
त्यतिखेरै बिहानको कक्षा सकेर लोग्ने आईपुग्यो र भित्र पस्नेबित्तिकै हल्ला गर्यो-" ए भाग्यवान ! एक गिलास चिसो पानी देऊ त । घाँटी सुकिसक्यो ।"
" एकछिन थाम्नु है म गोसाईंलाई पानी चढाउँदै छु ।" उनले भुइँ भिज्ने गरि पानी चढाइन् ।
अघिदेखि हेरिरहेकी जेठी छोरीले व्यङ्ग्य हानी -" जिंउदो गोसाईंलाई वास्ता छैन मूर्तिको गोसाईंलाई पूजा !"
०८०/२/२२
+++
रचना गर्भ : एकदिन स्थानीय एफ एममा गोसाइँलाई पूजा गरेर धर्म हुँदैन घरका बुढाबुढीको हेरविचार गर्नुपर्छ भन्ने प्रवचन दिइरहेको थियो । त्यसैबाट प्रेरणा मिलेर यो लघुकथा निर्माण भएको हो ।
+++
२. लघुकथा- हाइ -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
"मम्मी उता हेर्नू ! अब मेयरले हाइ गर्छन् ! " प्रमुख अतिथि मेयरलाई देखाउँदै रत्नले भन्यो ।
"हो र ! कसरी थाहा भयो तँलाई ?" रचना वाचनको पालो पर्खेकी रचनाले भनिन् ।
"अघिदेखि हेर्दै थिएँ । ऊ हेर्नू ,मुख बिगारे ! अब हाइ गर्छन् ।" नभन्दै मेयरले पुर्ण हाइ गरे र आनन्दको सास फेरे । दुबै मुख छोपेर हाँस्न थाले ।
रचनालाई अब वाचन भन्दा पनि हाइमा मजा लाग्न थाल्यो । जब मेयरले हाइ गर्न खोज्थे छोराले कोट्याइ हाल्थ्यो -"मम्मी हेर्नू अब मेयरले हाइ गर्छन् ।" र मेयरले हाइ गरिहाल्थे ।
यो क्रम निकै नै चल्यो ।
एक त मेयर ढिलो आए त्यसमाथि बसेदेखिनै हाइ गरेका गर्यै थिए । आमा छोराले मजाले हाइमा आनन्द लिए । उता मेयरलाई सुनाउन रचना वाचन जोड जोडले हुँदै थियो यता मेयरको हाइ रुक्ने नाम थिएन ।
एकछिनमा मेयरले हतार छ भन्दै रेडिमेट भाषण दिन शुरु गरे र अन्त्यमा भने-" आजका कविताहरूले समाजलाई अग्रगामीको बाटो देखाउँछन् । म कविहरूलाई सक्दो सहयोग गर्छु।"
त्यतिखेरै एक वृद्ध कवि गुनगुनाए -"रचना नसुनी हाइ हाइ गरेर निद्रा र थकाइ मेटाउने यस्ता जनप्रतिनिधिले छक्याएको धेरै देखेको छु ।"
०८०/२/१७
+++
रचना गर्भ -एउटा रचना वाचनमा प्रमुख अतिथि मेयर थिए।उनी ढिलो आए । कार्यक्रम शुरू थियो । उनी बस्ने बित्तिकै हाइ गर्न थाले ।यो कुरा रचना सुनाउन आएका आमा छोरा मध्ये युवा छोराले हेरिरहेको रहेछ । त्यो कुरा उनीहरूबाट सुनेपछि यो कथाको जन्म भयो ।
++++++
३. लघुकथा- पाण्डुलिपि -रमेन्द्र कोइराला
" हजुरका दराजमा यत्रा रचनाहरू थन्किएका छन् तर एउटै पुस्तक प्रकाशित छैनन् त काका ? " भतिजोले दराजतिर हेर्दै उत्सुकता देखायो ।
"त्यसको कारण छ बाबू !" उनले किताब पल्टाउँदै भने ।
"के कारण काका ? "
"सुन् ,मेरा यत्रा रचनाहरू पाण्डुलिपिको रूपमा छन नि ! यसलाई सङ्ग्रहको रुप दिएर पुस्तक निकाल्ने सोच मलाई नभएको होइन तर...." उनले बिचैमा भनाइ रोके ।
"तर के काका ?" उसलाई झन सुन्न मन लाग्यो ।
" तर मसँग एउटा किताब छाप्ने पैसा कहिले जम्मा भएन। "
"ओहो ! भतिजोले दुख प्रकट गर्यो -" तर तपाईंका छोराहरू विदेश छन् त । दिएनन् छाप्ने पैसा ? "
"साहित्यको रस सबैले कहाँ बुझ्छन् र बाबू।सक्नुहुन्छ भने आफै छाप्नु । किताब छापेर बरबाद पार्न पैसा दिंदैनौं भने ।"
" रिटायर हुँदा निकै पैसा आयो भन्ने सुनेको थिएं । त्यसैबाट छाप्नु नि त । "
" बल्ल बल्ल एउटा किताब छाप्न पैसा बचाएको थिएं । तर छाप्न सकिन । "
" किन ?" भतिजो झन् उत्सुक भयो ।
उनले पीडा पोखे-" किनभने तेरी काकीले जति पैसामा किताब छाप्छौ त्यति पैसाको मलाई पनि गहना बनाइ देऊ भनी ।"
इनरुवा -९ बबिया सुनसरी
०८०/२/७
+++
रचना गर्भ : एकजना सर,एकजना कर्मचारी रिटायर भइसकेर मृत्युको नजिक आइसकेका छन् । उनीहरूको दराजभरी पाण्डुलिपि थन्किएका छन् । छाप्ने नाम लिँदैनन । यस्तै अरू पनि छन् ।
+++
४. लघुकथा- एकल -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
" आमा आज औंसीमा तपाईंलाई के उपहार ल्याइदिउँ ? " दस वर्षे छोरीले पछाडिबाट अँगालो हाल्दै भनी।
के ल्याउँछेस् छोरी ? यत्री फुच्चीले ! " नाकको टुप्पो समाउँदै आमाले भनिन्। "
" कमाई छैन भनेर भन्नू भएको होला । छ नि बेला बेलामा जोगाएर राखेको ! "
" तँलाई जे मन छ त्यही ले न त ! "
" होइन, होइन तपाईं नै भन्नू न । के हातमा चुरा ल्याइदिउँ ?" ऊ उत्साहित भई ।
" असमयमै तेरो बुवालाई भगवानले लगिहाले । यो फुस्रो जीवनमा के गर्नु चुरा लाएर नानी ? " उनको अनुहारमा पीडा झल्कियो ।
" के रानीहार ल्याइदिउँ त ? " आमाको कुरा नसुनी मुस्कुराउँदै छोरीले भनी।
" भो ,भो नानी , नजिस्का यसरी ! " उनको आँखाबाट आँसु आयो ।
त्यसपछि छोरी निकैबेर हराई। आमाले सकेसम्म खोजिन् ।
दिन ढलेपछि छोरी कराउँदै भित्र पसी- "आमा, हेर्नू त तँपाईलाई के उपहार ल्याइदिएको छु ।"
उनले उत्सुकताका साथ ढोकातिर हेरिन।
उनका पूर्वप्रेमी जो एकल थिए, मुस्कुराउँदै अँगालो हाल्न हात फैलाइरहेका थिए ।
०८०/१/७
समाजमा धेरै एकल छन् ।ती पीडित छन् । तिनीहरु मिले ठूलो कल्याण हुनेथियो । यो अभियान स्वरूप कथाको रूपमा आएको हो ।
५. लघुकथा- "मासु" -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया सुनसरी
" बाबू सयरुपैया देउ न । आज माघे सङ्क्रान्ती हो । मीठो मसिनो खानुपर्छ । " बाटो हिंड्ने गाउँलेसंँग आमाले मागिन् ।
" एकसे एक छोराहरू छन् त्यही पनि माग्नु पर्छ ?" छिमेकीले मुख बिच्काउँदै सय रुपैयाँ दियो ।
"के गर्नु बाबू ? आ - आफ्नो भाग्य हो ।" उनको भित्र कतै पीडा लुकेको महसुस हुन्थ्यो ।
" केही नबनाउनु यतै हुन्छ । " त्यस्तो वार्तालाप सुनेर नजिकैको छोरो बाबुरामले भन्यो । उसलाई आमाले अरुतिर मागेको मन परेको थिएन ।
" हुन्छ छोरा । " भनेर आमा आफ्नो घर गइन् । तीन छोराहरू गाउँमा छेउछाउ मै बस्थे। त्यैपनि व्यवस्थापन नमिलेर आमा भिन्दै बस्थिन्। छोराहरूले केही रकम भाग लाएका थिए जसले आमालाई पुग्दैनथ्यो । र घरीघरी कुनैकुनै मनकारीसँग माग्न पुग्थिन् ।
बाबुरामकी श्रीमतीले चाड अनुसारको मीठो मसिनो खाना तयार पारी र लोग्नेलाई खान बोलाई । लोग्ने थाल लिएर बाहिर गयो।
त्यो देखेर स्वास्नी कराई -"भित्रै बसेर खानु नि । बाहिर अरुले देख्छन् । "
स्वास्नीलाई सम्झाउँदै बाबुरामले भन्यो - " तिमीले आमाले देख्नुहुन्छ भनेको होला । आमालाई नदिई लुकेर खानु भनेको मान्छेको मासु खाए सरह हुन्छ ।"
+++
रचना गर्भ : भिन्दै बसेका बुवा आमाबाट लुकाएर खाने छोरा बुहारी देखेर यो कथाको जन्म भएको हो ।
+++
६. लघुकथा- लाश -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
पुलिसले घोप्टो परेको लाशलाई उतानो पारिदियो । अगाडिको भाग हेर्नै नहुने गरि क्षतविक्षत भएको थियो । पहिचान हुन गाह्रो थियो । लक्षणले पन्द्र वर्षकी किशोरीको हो कि जस्तो लाग्थ्यो । घटना रहस्यमय भयो । भीड बढ्दै थियो । एउटाले भनिहाल्यो-" यो त निर्मला जस्तै बलात्कार गरेर फ्यालेको जस्तो छ । "
" हो ! हो ! ...."अरुहरु कराए-" त्यस्तै छ । बलात्कारी तथा हत्यारालाई छोड्नु हुँदैन । "
यो खबर डढेलो जस्तै चारैतिर फैलियो । सबैको नजर पुलिसतिर तेर्सियो । हत्यारा पता नलगाए पुलिसको मिलोमतो हुने देखियो ।अन्लाईन ,फेसबुक,युटुब सबै समाजिक संजालमा रंगियो । पुलिसलाई आच्छुआच्छु पार्यो ।
उसले अनुसन्धान तेज गर्यो । आफ्ना सबै सन्यत्रलाई प्रयोग गर्यो । आखिर चौबीस घन्टा पनि नबित्दै पुलिसले सत्यतथ्य पता लगाइ छाड्यो । उसले पत्रकार सम्मेलन गरेर रहस्य खोल्यो - "यो लास त्यो किशोरीको हो जसले हिजो दिउँसो मन्चमा मिटरब्याजको चर्को विरोध गरेकी थिइन् ।"
०७९/१२/२४
+++
रचना गर्भ - मिटर व्याजीको बिरोधमा आन्दोलन भएको थियो ।जस्मा एक किशोरी कुर्लिरहेकी थिइन् ।अनुमानको आधारमा लेखेको ।
+++
७. लघुकथा -घोषणा
पारिवारिक बैठक कोठाबाट जुरुक्क उठ्दै उसले दृढताका साथ भन्यो - " तिमीहरू मान कि नमान ,म एउटा काम गरेरै छाड्छु ।"
" के गर्नुहुन्छ ? " श्रीमतीले सोधिन् । अरूहरूले ऊतिर हेरे।
" पछि थाहा पाउछौं । " भन्दै ऊ फुत्त बाहिर निस्कियो । शहरमा एउटा साहित्यिक कार्यक्रममा चल्दै थियो। ऊ त्यहाँ पुग्यो । उसको पनि आसन ग्रहण भयो । त्यसपछि रचना वाचन तथा वक्तव्य कार्यक्रम शुरु भयो ।
आफ्नो पालामा उसले एउटा महत्त्वपूर्ण घोषणा गर्यो -" म आफ्नो लागि जे गर्छु ,जिउँदैमा गर्छु । आज मेरो नामबाट साहित्यिक पुरस्कारको लागि दसलाखको अक्षयकोषको घोषणा गर्दछु ।"
+++
रचना गर्भ : मरणोपरान्त सम्मान लिन परिवारका कोही गएन । मरेपछि उसका रचना सबै फ्यालिदिए ।यस्तो देखेर यो कथा जन्मियो ।
+++
८. लघुकथा- "पोको" -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
गायिकाले मन्चमा गाउन सुरु गरिन् । दर्शकहरू हेर्दै थिए । केही छिनमा पाँच जनाको एउटा समुहले घाँटी दुख्ने गरि चिच्याइ चिच्याइ गायिकालाई साथ दिएर गाउन थाले । शुरुमा त कसैले ध्यान दिएका थिएनन् तर केही छिनमै अरुले पनि सुर मिलाएर गाउन थाले । हेर्दाहेर्दै पुरै भीड गानामा झुम्मिन थाल्यो ।
ती पाँचजनाको समुहले त अगाडिको बाँसको बार नै भत्काउन आँटे । गाना लाइभ थियो । एकैछिनमा भाइरल भयो । गायिकाको खुसीको सिमा रहेन ।
कार्यक्रम सकिएपछि गायिकाले ती पाँच जनासँग गोप्य भेटघाट गरिन् ।
उनले तिनीहरुको हातमा खुसुक्क एउटा पोको थमाइ दिइन्।
+++
रचना गर्भ - केही दिन पहिले एउटी गायिकाको गाना "धोखेबाज हौ तिमी "सुनेर अगाडि बस्ने युवा युवती हरुले बेरा पनि भाँचेका थिए।त्यो गीत भाइरल भएको थियो । यो देखेर कथाको जन्म भएको हो ।
+++
९. लघुकथा- "ट्र्याक" -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया , सुनसरी
" मम्मी गाडी रोक्न लगाउनु न ! त्यो मुसाको बच्चालाई गाडीले किचिदिन्छ । " उसले कराएर भनी ।
" यत्रो दोहोरो लत्ती बस ओहोरदोहोर गर्दैछ । कसलाई रोकेर सक्नु ? " मम्मीले प्रतिवाद गरिन् ।
" मम्मी त्यो बच्चा पिचको न्यानोमा कति खुशी भएर उफ्री उफ्री खेल्दैछ । म ट्राफिकलाई भनेर त्यसलाई बचाउँछु । "
"सक्दिनस् नानी । न जा ।बचाउन गइस् भने तँलाई नै गाडिले किचिदिन्छ । फेरि त्यो मूल्यहीन बच्चालाई किन बचाउनु पर्यो आफ्नो ज्यान जोखिममा हालेर ।"
" मम्मी त्यसको ज्यान होइन र । कति माया लाग्दो छ ? "
हेर्दाहेर्दै एउटा गाडीले त्यसलाई पेलिदियो ।
उसले आँखा चिम्लेर चिच्याई -" मारो नि मारो । "
अघिदेखि हेरिरहेका छेउछाउकाले कस्ती पागल केटी भनेर हाँसो उडाए । एकछिनमा घट्ना सामसुम भयो । तर उसको दिमाग भने रन्थनिरहेको थियो ।
घर पुगेर उसले भनी -"मम्मी कसैले पनि आफ्नो ट्र्याक छोड्नु नहुने रहेछ । त्यो मुसोले पनि ट्र्याक छोडेकोले आफ्नो ज्यान फ्याल्नु पर्यो ।
+++
रचना गर्भ - आमा छोरी बसमा यात्रा गरिरहेको बेलामा देखिएको सत्य घटना
+++
१०. लघुकथा- होली -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया
ऊनी खेतमा भाग्दै थिइन् । ऊ हातमा रंग ,अबिर लिएर पछ्याउँदै थियो । ऊनी भाग्दा भाग्दै टाढा पुगिन् । केही दूरीमा ऊ पनि रंग दल्न लखेट्दै थियो । केही क्षणमा ऊसले भेटिकन छाड्यो । एकछिन दुबैले सास नियंत्रित गरे । भेट्न सकेकोमा दुबै एक अर्कालाई हेर्दै हाँस्न थाले ।
मौका पारेर उसले रंग अबिर दल्न थाल्यो । उनले पनि दल्न थालिन् । दुबैले इच्छा बमोजिम रंग अबिर दले । खुब मजा आयो । दुबै आनन्दित भए । साथै कहिले नछुट्टिने भनेर वाचा बन्धन पनि गरे ।
आज बिहानैदेखि त्यो दृश्य शूल बनेर उसको ह्र्दयमा गडेको थियो । किनभने त्यसैदिन बेलुका उनको कुरा अर्कैसँग छिनिएको रहेछ ।
कारण ऊ आफू तल्लो जातको थियो ।
+++
रचना गर्भ : साथीको युवावस्थामा भएको प्रेमसम्बन्ध सुनेर प्रेरणा जागेको । समापन भने काल्पनिक ।
+++
११.(विश्व क्यान्सर दिवसको उपलक्ष्यमा ) लघुकथा- छोरी -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
" छोरा ! नेपालमा नभएकोले दिल्ली ल्याइस् । तर यो क्यान्सर त झन्झन् बढ्दैछ । " पीडा खप्न नसकेर आमाले भनिन् ।
अन्तिम स्टेज थाहा पाएर पनि छोराले भन्यो- " निको भैहाल्छ नि आमा । डाक्टरले चिन्ता नलिनु भनेको छ । "
उनीहरू होटलमा बसेका थिए ।
आमाले भनिन् - "अरू छोराहरू विदेशमा छन् । एउटा तैं त छस् नि मेरो हेरविचार गर्ने ! "
"हुन्छ आमा, म छँदैछु नि । "
एकछिनपछि आमाले भनिन् - "बाबू म बाथरुम जान्छु है । "
"हुन्छ आमा । " छोराले उठाएर खुट्टा टेकायो ।
तर दुर्भाग्य उनी हिंड्न सकिनन् ।
छोराले त्यहीँ कोपरा राखिदियो र आफू एकछेउमा छेलिएर बस्यो । आमाले पैखाना त गरिन् तर जति प्रयास गरे पनि धुन भने सकिनन् अनि पीडाले कराइन् -" ए छोरा ! दिशा धुन सकिन त । "
आमाको यो बिजोक देखेर छोराले भक्कानु फुटाउँदै भन्यो-
" आमा के गर्नु अब ? "
आमाले मुटु मिचेर भनिन् - " छोरी जन्मेको भए यो बिजोग हुन्थेन ।अब लाज नमानी छोरी जस्तै भएर तँ नै मेरो दिसा धोइ दे ।"
+++
रचना गर्भ : आमालाई क्यान्सर लागेर दिल्ली लगी उपचारको क्रममा भएको घटना सुनेर ।
+++
१२. लघुकथा- थुक -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
सासुले थुकेको कफमिश्रित थुक आधा झ्यालबाहिर भुँइमा झर्यो र आधा र्याल र्याल हुँदै झ्यालको डन्डीमा लस्कियो । केही भित्र पनि झर्यो । परबाट हेरिरहेकी बुहारीलाई यो देखेर झन्डै उल्टी आएन ।
ऊनी यत्रा यत्रा आँखा पार्दै झ्यालनिर पुगिन् । कतिदिनदेखिको थुकले झ्यालमा टाटै टाटा पारेको थियो । थुक भित्रदेखि बाहिर तलसम्म लत्रिएको थियो । उनलेे एकपटक वाक्क गरिन् ।
खुट्टा बजार्दै लोग्ने छेउ पुगिन् र आक्रोस पोखिन् -"तपाईं केही हेर्नुहुन्न ? आमाले थुकेर झ्यालको डन्डीनै टुट्न आँटिसक्यो ।
" ए , त्यसोभए अब थुक्नलाई कोपरा किनिदिउँला न त "-लोग्नेले शान्त पार्दै भन्यो ।
" नाइँ !नाइँ ! आफैंले फ्याल्नुपर्छ । घिन लाग्छ ।"
लोग्नेले सोध्यो -" बुढाबुढीले कहाँ थुक्नु त त्यसोभए ?"
" बाहिर जाँदा हुदैन ? " स्वास्नीले कराएर भनी ।
लोग्नेले नम्र नै भएर निर्णय दियो -" आमा हिंड्डुल गर्न नसक्ने हुनाले त्यहीँ थुक्न देउ । बरु डण्डी भाँचिए अर्को हालौंला ।"
रचना गर्भ : छिमेकी साथीलाई घटेको घटनाको आधारमा निर्माण गरिएको लघुकथा ।
+++
१३. पहिलो लघुकथा- "डाक्टरी अक्षर " -रमेन्द्र कोइराला
इनरुवा ९ ,बबिया,सुनसरी
मदन बिरामी स्वास्नीलाई लिएर अस्पताल गयो । पूर्जी
काटेर लाइनमा बस्यो । मानिसको भीड थियो ।
बल्लबल्ल पालो आयो । थोरै समयमा धेरै रोगी हेर्नुपर्ने
डाक्टरले सर्सर्ती बिरामी जाँच्यो र पूर्जीमा औषधि लेखिदियो। मदनले यसो पूर्जी हेर्यो कुनै अक्षर पनि चिन्न सकेन । जेहोस् भनेर दोकानदारलाई पूर्जी देखायो । दोकानदारले पनि ग्राहकहरुको भीडैभीडबाट एक नजर पूर्जीमा लगायो र औषधि निकालेर दियो । ऋण गरेर ल्याएको पैसाबाट औषधिको रकम तिर्यो। स्वास्नीलाई घर लगेर एक खुराक औषधि ख्वायो ।
तर औषधि खान थालेपछि स्वास्नीको हालत झन् बिग्रन थाल्यो । हुँदाहुँदा दुई–तीन खुराक खाएपछि त बिरामीको अवस्था चिन्ताजनक पो हुन थालेछ । औषधिले काम गरेन छ झन् उल्टो पो काम गरेछ भन्ने सोचेर मदनले भोलि फेरि अस्पताल लैजाउँला भन्दाभन्दै राति नै स्वास्नीले जिब्रो टोकिछे।
दबाई खाएपछि मृत्यु। यस्तै हल्ला चल्यो । मानिसहरु जम्मा भए । पत्रिकाले सनसनीपूर्ण खबर छाप्यो । केही टाठाबाठाहरुले पूर्जी हेरे । पूर्जी र औषधि मिलान गरे । तर मिलेन । भरे कुरा बुझ्दा त डाक्टरको अक्षर नबुझेर दोकानदारले गलत औषधि दिएको रहेछ । यसमा को दोषी ? डाक्टर, दोकानदार वा मदन ? सर्वत्र यस्तै चर्चा चल्न थाल्यो ।
लेखन -२०४५ साल
( साभार : "शून्यमा बिलाएको जीवन " कथा सङ्ग्रह , ०७६/५/२१ , लेखक : रमेन्द्र कोइराला ,प्रकाशक : पल्लव साहित्य प्रतिष्ठान ,नारायणगढ,चितवन )
+++
(२) लघुकथा सम्बन्धि आफ्नो बुझाइ
लघुकथाको परिचय
१. लघुकथा नदी जस्तो छरिएर जाने होइन सिधा नदीमा मिल्न आतुर खहरे हो । खहरेको बाटो एउटै हुन्छ । नदीजस्तो ससाना उप बाटो हुँदैन । लघुकथा पनि एउटै उद्देश्यलाई प्रस्तुत गर्न तीब्र गतिमा अगाडि बढेको एउटै घटनाको विवरण हो । एउटा उद्देश्य ,एउटा घटना ,एउटा परिवेश ,एउटा प्रसंग ,एउटा लगातार समय जो टुट्नु हुँदैन यति लक्षण भएको लघुकथा हो
२. लघुकथाको उठान वाक्य सक्रिय , अस्थिर , चालू, गतिशील , मुर्त घटनाबाट शुरु हुनुपर्छ । घट्ना चालू रहेको भन्ने बुझ्नुपर्छ ,घटना सकिएको होइन ।
३. बिजबाक्य र समापन : जुन वाक्यले रहस्य खोल्छ, अर्थमूलक हुन्छ ,शीर्षक सार्थक हुन्छ ,उद्देश्य सार्थक बनाउँछ त्यो बिजवाक्य हो । र समापन त्यसै वाक्यमा हुनुपर्छ । दौडमा रिबन नजिक पुग्न लागेपछि फनक्क अर्कोतिर फर्केजस्तै कथाको समापन हुनुपर्छ ।
४. विकास भाग : उठान र समापन वाक्य बाहेकको बीचको भाग यो हो । लघुकथाको कथावस्तुमा विकास भाग महत्वपूर्ण हुन्छ । उद्देश्यलाई पुष्टि गर्ने घटनाहरूको व्यस्थित शृङ्खला यो भागमा हुन्छ । यसमा अनावश्यक वर्णन गर्नु हुँदैन । कुनै कुरालाई पुष्टि गर्न व्याख्या ,विशेषताको डङ्गुर लाउनु हुँदैन। अर्थात व्यक्ति ,वस्तु र स्थानको लामो विशेषण वर्जित हुन्छ ।यसमा व्यास शैली नभएर समास शैली हुनुपर्छ ।संक्षिप्तता अनिवार्य गुण हो । घट्नाहरू एउटै उद्देश्यतिर दौडेको हुनुपर्छ । खहरे खोला जस्तो एकै दिशातिर तिब्र गतिमा अघि बढ्नुपर्छ । नदीजस्तो यताउता छरिनु हुँदैन । एउटै घट्नाको केन्द्रमा अन्य घटना हुनुपर्छ । कथा जस्तो स साना उपकथाहरू राख्नु हुँदैन । त्यसो गरे कथा विस्तार हुन पुग्छ र मुख्य कथामा वाधा उत्पन्न हुन्छ ।
५.परिवेश :
समय,स्थान ,भेषभुषा,बानी,चालचलन ,सोच,वातावरण आदि परिवेश हुन् । यसले घटना कृत्रिम नभएर स्वाभाविक बनाउँछ । परिवेश भित्र पर्ने समय र स्थान हाम फाल्दै कुद्नु हुँदैन , घटना शुरु भएर लगातार एउटै समय र स्थानमा सकिनु पर्छ । लामु समय टाढाको स्थान देखाउनु छ भने वार्तामा ल्याउने । कथाकारले वर्णन गर्नु हुँदैन ।जस्तो उनी अमेरिकामा पाँच वर्ष बसिन्। मन लागेन अनि घर आइन् भन्यो भने यो वर्णन भयो ।यसले लामो समय देखाउँछ ।यसको साटो उनले भनिन् -"म पाँच वर्ष अमेरिकामा बसें तर मन नलागेर घर फर्किएं । "यो त घटना हुँदाहुँदैको बेलामा भनेको हुन्छ ।परिवेश अन्तर्गत समय र स्थानको ठूलो महत्व हुन्छ ।
६. संख्या : हुन त अहिलेसम्म तीनसय शब्दसम्मको कथालाई मानक लघुकथा मानिएको छ । तर कथा भन्दा थोरै त्यति कम शब्दको लघुकथा पनि पाठकले पढ्न रुचि नदेखाइरहेको अवस्थामा पचास साठी देखि एक डेढ सयसम्म शब्दको कथा पनि उत्कृष्ट र रोचक देखिएकाले लघुकथाको मानक शब्द संख्या अझ घटाउनु पर्ने देखिन्छ ।
(३) लघुकथाको मौलिक परिभाषा :
लघुकथा नदी जस्तो छरिएर जाने होइन सिधा नदीमा मिल्न आतुर खहरे हो । खहरेको बाटो एउटै हुन्छ । नदीजस्तो ससाना उप बाटो हुँदैन । लघुकथा पनि एउटै उद्देश्यलाई प्रस्तुत गर्न तीब्र गतिमा अगाडि बढेको एउटै घटनाको विवरण हो । एउटा उद्देश्य ,एउटा घटना ,एउटा परिवेश ,एउटा प्रसंग ,एउटा लगातार समय जो टुट्नु हुँदैन यति लक्षण भएको लघुकथा हो
(४) लघुकथाको भविष्यवाणी : समयको अभावमा ठूलाठूला रचना पढ्ने फुर्सद पाठकहरूलाई नभएको आजको युगमा चट्नी जस्तो लघुकथाले मानिसहरूलाई पक्कै पनि आकर्षित गर्नेछ ।
(५) बायो डाटा
१. नाम: रमेन्द्र कोइराला
जन्म :२०२१/३/२१
प्रमाणपत्रमा : २०१९/२/४
जन्म र बसोवास: इनरुवा -९ ,बबिया ,सुनसरी
२.बाबुआमा :कपिलमुनि ,दिव्यमाया,हरिमाया (जेठीआमा)
३.शिक्षा : MED,MA,BL
४.पहिलो रचना प्रकाशित :
- " सन्देश "कविता ,२०४०/१२/१९
समाचार जगत साप्ताहिक , इनरुवा
- पहिलो लघुकथा : डाक्टरी अक्षर -२०४५
- लघुकथा लेखन आरम्भ (निरन्तर): २०७६ देखि
५. कृति सूची :
प्रकाशित :
१.बीस करोड रुपैयाँ -२०६१ (उपन्यास )
२.slc नेपाली व्याकरण -२०६४
३.अन्तर्मनका तरंगहरु-२०७० (कविता संग्रह )
४. शून्यमा विलाएको जीवन -२०७६ (कथा संग्रह )
५. छोडी जानेलाई (गजल संग्रह): २०७८
६. फाटेको चप्पल (लघुकथा संग्रह):०७८
प्रकाशोन्मूख
१. मृत्युको ढिस्को(उपन्यास )
२. स्वास्निको हत्यारा ( " " )
३. "एकल" लघुकथा सङ्ग्रह
६. साहित्यिक कार्य :
१.सदस्य -महानन्द स्मृति साहित्य , प्रतिष्ठान ,इनरुवा
२.सम्पादक -किरण भित्ते पत्रीका ,सरस्वती मा बि
, इनरुवा
३.सम्पादक -स्मारिका ,कोइराला, सेवा समाज,सुनसरी
४.आजिवन सदस्य :पल्लव साहित्य प्रतिष्ठान, चितवन
५. " " " : प्रश्रीत प्रतिस्ठान नेपाल ,
सिद्धार्थ नगर ,रुपन्देही
६. " " " :अच्छा राई रसिक साहित्य
.प्रतिस्ठान ,इटहरी
७. " " ": साहित्य कला संगम ,दमक
८. विशिस्ट सदस्य : सप्तरङ्गी साहित्य समाज
,काठमाडौं
९.मेम्बर : लायन्स क्लब अफ चितवन वाङ्गमय
१०. अध्यक्ष : सप्तरङ्गी साहित्य समाज ,कोशी
११. साहित्यिक अन्तर्वार्ता : पपुलर एफ एम ,इनरुवा /रेडियो नागरिक ,बिराटनगर /रेडियो सारङ्गी ,बिराटचोक
१२.आजीवन सदस्य: बिराट साहित्य संगम
१३.कार्यकारिणी सदस्य : विश्व नेपाली साहित्य महासंघ प्रदेश नं १
१४.कार्यकारिणी सदस्य : लघुकथा समाज प्रदेश नं १
१५. सचिव : सिर्जनामा इनरुवा
१६. लघुकथा विश्लेषण : हाम्रो लघुकथा केन्द्र ,
लघुकथा प्रतिष्ठान
७. सम्मान तथा प्रसंसा पत्र :
१.सृजनशील नेपाली साहित्य संस्थान-इनरुवा
१२१ औं मोति जयन्ती समारोह -२०४३
२.संविधान दिवस समारोह समिति सुनसरी-२०४४
३.सुनसरी क्याम्पस -२५३२ औं बुद्ध जयन्ती -२०४५
४. साहित्य प्रभात प्रकाशन समिति - भानु जयन्ती, समारोह -२०४९
५.स्वर्णिम साहित्य समाज -२०७२ ,भरोल-३ सुनसरी
६. नेपाल शिक्षक संघ सुनसरी -२०७२
७. जिल्ला खोप समन्वय समिति ,सुनसरी -२०७३
८. सप्तरङ्गी साहित्य प्रतिस्ठान -२०७५
९.श्री मद भागवत सप्ताह ज्ञान महायज्ञ ,इनरुवा
१०. पल्लव राष्ट्रिय साहित्य सम्मान -२०७५
११.श्री भगवती मन्दिर इनरुवा -९
१२. बेलवारी साहित्य विकास समिति ,मोरङ २०७४
१३. जनजागरण पुस्तकालय ,इटहरी -०७६
१४. प्रश्रीत प्रतिस्ठान नेपाल ,भैरहवा -०७६
१५. कोइराला सेवा समाज ,सुनसरी - ०७७
१६.सप्तरङ्गी साहित्य समाज ,काठमाडौं -०७८
१७.मकालु साहित्यिक समाज,
खाँदवारी,संखुवासभा-०७८
१८.लायन्स क्लब ओफ चितवन वाङ्गमय -०७८
१९.नवयुग बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र
इनरुवा ५ बलाहा २०७९
२०.इनरुवा उत्सव,चलचित्र महाउत्सव प्रदेश नं १-२०७९
२१. कवीर जीवन ज्योति मठ इनरुवा -२०८०
८.सामाजिक कार्य :
१.आजिवन सदस्य :रेडक्रस
२.उपाध्यक्ष :भगवती मन्दिर इनरुवा -९ बबिया
३.सचिव :ओशो ध्यान केन्द्र इनरुवा
४सचिव:बालबालिका हित केन्द्र " "
५.सदस्य :कोइराला से.स.सुनसरी
६सचिव :मातृभुमी पुस्तकालय बबिया
७.उपाध्यक्ष :शिक्षक संघ ,नगर समिति ,इनरुवा
८. सल्लाहकार : भगवती मन्दिर इनरुवा -९ बबिया
९.आजिवन सदस्य : " " "
१०.मा बि प्र अ - ०७१-०७३
९.पेशा :शिक्षण (सुनसरी क्याम्पस,इनरुवा )
सरस्वती मा बि इनरुवा ९ बबिया (मावी नेपाली) ( रिटायर ०७९/२/४ )
१०.मो.नं.: ९८४२१२४१७७/9817376238








No comments:
Post a Comment