समाजका निधि- दाहाल यज्ञनिधि
–नन्दलाल आचार्य
साहित्यले मानव मनलाई मीठो स्वाद दिन्छ । साहित्यले कहिले नचाउँछ, कहिले हँसाउँछ, कहिले हौँस्याउँछ त कहिले होसियार बनाउँछ । साहित्य पनि नशा नै हो । यसको लत बसेपछि मानिसले आराम गर्न भुल्छ, अल्छीपन लत्याउन जान्दछ । पैसाको पछि लाग्न भुल्दछ ।यसले मानव शरीर भने नष्ट पार्दैन । बरू तन र मन दुबैलाई पृष्ठपोषण दिएर परिपुष्ट पार्छ ।
त्यसबेला साहित्यको ‘स’ पनि नबुझेको म फुच्चेलाई मधुर स्वरले ‘जदौ’ भनेको सुन्दा हर्दम अनौठो लाग्थ्यो । म त्यस बेला श्री जनता बेलका माध्यमिक विद्यालय, पुरन्दह, उदयपुरमा पढ्थेँ । हामीलाई दिनेश भुजेलले नेपाली पढाउँथे । उनको शिक्षणकला पनि त्यही रेडियोमा भनेको ‘जदौ’ झैँ मधुर र मीठासयुक्त हुन्थ्यो ।
शिक्षकले नै कविता यस्तो हुन्छ, कथा उस्तो हुन्छ, निबन्ध त्यस्तो हुन्छ भनेर सोहोदाहरण प्रस्तुत गरेर बुझाउँथे । उता घरमा रेडियोमा दाहाल यज्ञनिधिले लय, गति र यति मिलाएर विविध रचना वाचन गरेर सुनाउँथे । कक्षामा शिक्षकले सुनाएभन्दा बढता मन्त्रमुग्ध पार्ने काम रेडियोले गथ्र्यो । रेडियो अघि हुन्थ्यो तर बोल्ने मान्छे सामु हुन्नथ्यो । कक्षामा शिक्षक सामुन्नेमा रहन्थे तर नबुझेको कुरा सोध्ने आफैँमा सामथ्र्य रहन्नथ्यो । यसको अर्थ त्यस बखत रेडियो र शिक्षक मेरा नजरमा एकै थिए ।
उनको रेडियो कार्यक्रमको सुरुआत ‘जदौ’ बाट हुन्थ्यो र अन्त पनि ‘जदौ’ बाट नै हुन्थ्यो । यसको खास अर्थ के हुन्थ्यो कुन्नि ? मनमा जान्ने चाहना बढेर गएको थियो तर मलाई त्यसबेला केही थाहा थिएन । समकालीन साथीहरू पुष्पराज कार्की, रमेश ढकाल, अशोक अधिकारी, इन्द्र राई, दुर्गा न्यौपानेहरूलाई सोधिहेरेँ ।
‘सुन्न त कतै सुनेको हो । त्यो खुकुरी, हँसिया र लताकपडाहरू लिएर आउने बाजेहरूले ‘मुखिनी बज्यै जदौ !’ भनेर आमाहरूलाई निहुरिएर ढोगेको देखेको छु ।’ उनीहरूले भनेको कुराले मैले पनि सम्झेँ । जे होस्, ‘जदौ’ एक प्रकारको ‘नमस्कार’ रहेछ भन्ने मोटामोटी अनुमान लगाएर शान्त भएँ ।
नेपाली वृहत कोशले ‘जदौ’ शब्दको अर्थ यसरी लगाएको रहेछ– जदौ (सं. जयन्त) १. पहिले पहिले दलित भनिएका जातका व्यक्तिहरूले उच्त जातका भनिएका व्यक्तिहरूलाई गर्ने अभिवादन । २. दाहिने हातको हत्केला आफ्नो मुखतिर फर्काई हल्लाएर गरिने अभिवादन, नमस्ते, नमस्कार, ढोग ।
माथिको अर्थलाई मध्यनजर राख्ता ‘जदौ’ शब्दको उच्चारण गैह्रदलित भनाउँदाले नभन्नुपर्ने रहेछ । यद्यपि यज्ञनिधिलाई समाजको त्यो नीति अस्विकार्य थियो । उनी जातिय भेदभाव र उचनिचको भावना जरैदेखि निर्मूल होस् भन्ने चाहन्थे । त्यसै हुनाले उनले परिवर्तनआफैँबाट हुनुपर्छ भन्ठानेर ‘जदौ’ शब्दलाई नेपाली भाषाका पाठक र श्रोताका बीच स्थापित गरे । शब्द कसैको पेवा पनि हुन्न र बपौती पनि रहन्न भन्ने कुरालाई व्यवहारमै सिद्ध गरेर देखाइदिए ।
भलै उनी खोटाङ जिल्लाको दुर्गम भेगमा जन्मी, हुर्की गरेका र पहाडी गाउँले संस्कार भेटेका भए पनि उनमा ऊध्र्वगामी सांस्कृतिक चेत थियो । उनी समाज नबरालिओस्, फजुल खर्चप्रेमी नबनोस्भन्ने चाहन्थे । उनले गरेका कामकुरा र सोचविचारले हामी नयाँ पुस्ताले बेकाममा भौतारिनुहुन्न भन्ने सोचसमझ पाउँछौँ।
समय अनमोल छ, यसको उपयोग गर्न सके जीवन ओजनदार बन्छ । सही उपयोग गर्न भुले यही जीवन नरक बन्छ । यज्ञनिधि दर्शनले हामीलाई जीवन असल कर्ममा लगाई पलपलको स्वाद लिन सक्नुपर्छ रआत्तिने, मात्तिने, पात्तिने तीनै थरी रोगले गाँजेसम्म हामी मक्किएका विचारभन्दा माथि उठ्न सक्तैनौँ भन्ने पाठ सिकाउँछ ।
उत्तिबेलै दाहाल यज्ञनिधि उमेरले, ज्ञानले र साधनाले परिपक्व थिए । म त उनको एउटा श्रोता मात्रै थिएँ । म साहित्य सुन्न लालायित असल श्रोता मात्रै रहेको अवस्थामा उनीसँग साक्षात्कार हुने सम्भावना नै भएन । त्यसमा पनि उनी सङ्घीय राजधानीमा बस्थे । म उदयपुरको बेलका तरीमा बाँदर र स्यालसँग झुत्ती खेल्दै रहन्थेँ । एसएलसीपछि राजविराज पुगियो । बोर्डिङे स्कूलको माष्टर भइयो । रेडियो साहित्य चटक्कै भुलियो ।
धेरैपछि खोटाङे रामविक्रम थापाले भेटमा भनेका थिए, ‘मेरो कविता यज्ञनिधिले रेडियोमा वाचन गरेका थिए । तपाईंले सुन्नुभयो, आचार्यजी ?’
उनको प्रश्न मेरा लागि अप्रत्याशित थियो । मैले सुन्नै छाडेको थिएँ । घरमा रेडियो नै थिएन । ठूल्दिदीको घरमा रेडियो थियो । फुर्सद भयो कि ठूला भिनाजु कृष्णप्रसाद भट्टराई हर्दम रेडियो सुन्नुहुन्थ्यो । म पनि छेवैमा टुसुक्क बसेर सुन्थेँ । मलाई मन पर्ने ‘लोक तथा दोहोरी गीत’ र ‘साहित्य संसार’ कार्यक्रम नै थिए ।
घर पुगेको बेला भने म पुनः सुन्न थालेँ । राजविराज बसेको बेला प्रायः असम्भव नै हुन्थ्यो । आफूसँग रेडियो हुने कुरा आएन । घरपट्टी वा छिमेकीहरू पनि रेडियो नेपाल लगाउनुपर्दा पहिरो नै खस्लाजस्तो गर्थे । खालि अल इन्डिया, आकाशवाणी वा त्यस्तै इन्डियाका रेडियो च्यानलहरू मात्रै लगाउँथे । तिनीहरूमा मेरो चाख पनि थिएन । म बुझ्दा पनि बुझ्दिनथेँ ।
रामविक्रमका अतिरिक्त ओखलढुङ्गे इन्द्रकुमार श्रेष्ठसँग पनि मेरो पत्राचार हुन्थ्यो । पत्रमा साहित्यिक गतिविधि र आ–आफ्ना प्रगतिका एकएक विवरण समेटिएका हुन्थे । मेरो साहित्यिक खुबी देखाउने प्लेटफर्म राजविराजबाट प्रकाशित हुने ‘सत्यापन’, ‘राजविराज दैनिक’, ‘न्यूज टुडे’, ‘सगरमाथा’, ‘आजको वातावरण’ जस्ता दैनिक र साप्ताहिक पत्रपत्रिकाहरू मात्रै हुन्थे । उनीहरूका भने आ–आफ्ना जिल्लाका अतिरिक्त राजधानीका प्रकाशन र प्रशारण माध्यमहरू पनि हुन्थे ।
‘यस पटक खोटाङका दाहाल बाजेले यस ओखलढुङ्गे नेवारको कवितालाई पनि रेडियोमा ठाउँ दिएछन् ।’ इन्द्रकुमारले चिठीको एक ठाउँमा लेखेका थिए । कुरा सुनेरम निकैबेर घोरिएँथेँ ।
‘को रहेछ त्यो दाहाल बाजे भनेको ?’ मनले मनसँग प्रश्न सोधिरह्यो । चिठीको सुुरुदेखि अन्तसम्मै जवाफ भेटिनँ ।
‘कुरा पनि खुलस्त पो राख्नुपर्छ नि, कि साहित्यकार भएपछि अल्प–अल्प राख्ता पनि जोकोहीले बुझ्छ ?’ मनले मनसँगै अर्को प्रश्न सोध्यो । प्रश्न मात्र सोध्ने तर जवाफ नभेट्ने हुँदा मनोगन्थनले कुनै निकास निकाल्ने सम्भावना कमै थियो ।
खोटाङको प्रसङ्ग आएकोले रामविक्रम थापाले पठाएका पुराना चिठी चपेटाहरू नियाल्न थालेँ । उनको पत्रमा एक ठाउँमा राम्रै ढङ्गले दाहाल यज्ञनिधिको प्रसङ्ग आएको रहेछ ।
‘नेपाली साहित्यमा यज्ञनिधि मौलिकता बोकेर रमेका र जमेका सर्जक हुन् । जिल्लाबासी भनेर हैन, प्रतिभाशाली भनेर मलाई पनि बेलाबेलामा ठाउँ दिइरहन्छ । उनको मुखबाट आफ्ना सिर्जना वाचन भएको सुन्न पाउँदा सगरमाथा विजय गर्दाको भन्दा बढता गौरववोध हुन्छ ।’ रामविक्रमले चिठीको एक प्रसङ्गमा लेखेका थिए ।
उनले मलाई पनि कविता, मुक्तक पठाउन उक्साउँथे । आफैँलाई आफ्ना काव्यात्मक रचना उपयुक्त लाग्दैनथे । झन दाहाल यज्ञनिधिलाई के पो मन पर्ला भनेर कान ठाडो पारिनँ । कथिकुथी लेख्नेको कलम यज्ञनिधिकहाँ पनि बिक्तैन भन्ने मलाई लाग्यो किनभने यिनकहाँ वाचनाका लागि पुराना र नयाँ सर्जकका सिर्जनाको लामै लाइन होला भनेर रहर हुँदाहुँदै पनि मैले चाहिँ कहिल्यै कुनै रचना प्रेषण गरिनँ । यद्यपि मनोयोगले कार्यक्रम सुन्ने असल श्रोता भने बनिरहेकै थिएँ ।
धेरै पछि उपन्यासको एक अंश नरनाथ लुइँटेललाई पठाएको थिएँ । यसरी उपन्यास लेख्ता पाठक मन तान्छ कि तान्दैन भनेर जान्न र प्रतिक्रिया पाउन भनेर उनकहाँ पठाएको थिएँ । उनी पनि काठमाडौँको कुनै एफएममा साहित्यिक कार्यक्रम चलाउँदा रहेछन् । उनले हाँस्यप्रधान ‘फित्कौली’ पत्रिका निकाल्ने गरेको मात्र थाहा थियो । म पनि रचना पठाउँथे । उपयुक्त लागे छाप्थे, नलागे सुझावसहित फर्काउँथे । ‘मात्र बिजुली हुलाक प्रयोग गर्नू, कागजी हुलाक बन्द गर्नू’ भनेर सुझाव दिइरहन्थे । उनलाई मैले पठाएको उपन्यास अंश वाचन गर्न मन लागेछ र पुरै कार्यक्रम भरि मैरै उपन्यास अंश भट्याएछन् ।
उनले फोनमा मसँग भनेथे, ‘कुरा राम्रा नराम्रा त्यस्तै हुन् । मैले भाव र विचार पक्षलाईभन्दा वाचन पक्षलाई ध्यान दिएर रेडियोमा स्थान दिएको हुँ । तपाईंका रचना वाचनका दृष्टिले पनि सशक्त छन् । लोभलाग्दो लय छ । कस्तो छ र भयो भनेर प्रश्न सोध्नु र उत्तर खोज्नुभन्दा आफैँले आफूलाई खार्नु जरुरी छ ।’
उनको सल्लाह पनि सान्दर्भिक लाग्यो । लेखनले पहिले आफ्नो मन तान्नुपर्छ । आफ्नो ताने पाठकको सजिलै तान्छ । किनकी लेखक पनि असल पाठक हो । असल पाठक नभई कोही पनि असल लेखक बन्दैन ।
हो, त्यस्तै दाहाल यज्ञनिधि रेडियो वाचनका लागि असल लेखक छान्दैनथे । असल सिर्जना छान्थे । मौलिक र यथार्थवादी रचनामा उनको रुचि थियो । आफूले वाचन गरेका रचनाले पाठकको मनलाई कुतिकुती लगाओस् र कहिले खित्का छाडेर हँसाओस् । कहिले भने गहभरि आँसु बनाएर सचेत रहन सिकाओस् । साहित्य सुन्नेले नयाँ जीवनको नवीन मार्ग खोतल्ने प्रेरणा पाओस् । यस्ता कालजयी रचना वाचनमा उनको रुचि थियो ।
एक समय साझा प्रकाशनको ‘गरिमा’ मासिक पत्रिकाले उनका निबन्धहरू धारावाहिकरूपमा प्रकाशन गरेको थियो । ती निबन्धहरू म जस्तो तराई मधेसमा जन्मेर, हुर्केको र नेपाली भाषा पढेको मान्छेले पनि पर्गेल्न सकिनँ ।
‘ब्राह्मणमा कूलमा जन्मेर पनि ‘जदौ साहित्य’ बुझ्न सकिनँ भन्दा त लाजै लाग्छ है !’ रामजानकी मावि, मोतिगडा, उदयपुरमा पढाउने अभित कुमार चौधरीले मलाई व्यङ्ग्य गर्न समेत भ्याएका थिए ।
उनका निबन्धमा प्रयुक्त कतिपय शब्द खोज्दा खोज्दा म हैरान हुन्थेँ । ‘नेपाली वृहत् शब्दकोश’ समेत फेल हुन्थ्यो । अर्थ न बर्थ के लेखेको होला भनेर मनमा गुनेँ । लक्ष्मीप्रसाद देवकोटाले लेखेका कतिपय शब्दहरू पनि खोज्दाखोज्दा हार खाएको घटना सम्झेर चित्त बुझाएथेँ ।
‘यज्ञनिधिको लेखनमा नेपाली माटोको सुवास आउँछ । उनको साहित्य मूल रसाएर बगेको कञ्चन झरना हो । उनको साहित्य मनको भित्री मर्मलाई स्पर्श गरेर ंंंंंंंंंंंंंंंंंंंंजन्मेको हुन्छ ।’ त्यसबेला यिनै कुरा मनमा खेले ।
.खासमा उनी अधिक झर्रा शब्दहरू प्रयोग गर्थे । उनको लेखनमा पहाड पवर्तको जीवनशैलीबाट खारिएर जन्मेका शब्दहरू हुन्थे । ती शब्दहरू अरू कमै सर्जकले प्रयोग गर्थे । लेखनमा कसिलो भाव हुन्थ्यो ।
पछि उनी बिरामी भए । विमार निको हुनुको साटो बढ्दै गयो । साहित्यिक संघ, संस्थाहरू सचेत भए । आ–आफ्नो तर्फबाट सक्तो सहानुभूति राखे । सर्जकहरूकै सल्लाहनुरूप सरकारले पनि आर्थिक सहयोग ग¥यो । सारा साहित्य संसार नै उनको सुस्वास्थ्यको चाहना र कामना गरिरहेको थियो । उनी विमारलाई विस्तारै जित्दै उठे । साहित्य संसार पनि जुर्मुराएर उठ्यो ।
यद्यपि प्रकृतिको चक्रमा नघुमीकन हुन्नथ्यो ।साहित्य जगत्लाई भारी गुण लगाएर उनी हामी माझ सदाको लागि अस्ताए । उनको ‘जदौ’ भने कहिल्यै अस्ताएको छैन । दिनानुदिन ‘जदौ’ सर्वत्र फैलिरहेकै छ । हरेकको मुखमुखमा ‘जदौ’ झुण्डिएकै छ ।
साझा प्रकाशनले उनका फुटकर रचना संकलन गरेर कृतिको रूपमा प्रकाशन गरिदियो । उनको सलल बगेको शैली रहन्थ्यो । आफैँ उत्तम वाचक भएका कारण उनका रचना समेत वाचनका दृष्टिले उत्तम कहलिन्थे । उनी कसैलाई झटारो हान्नु परे, आँखा चिम्लेर हान्थे । आफ्नोे र अर्काको भनेर छुट्याउने काम रत्तिभर गर्दैनथे ।
जसलाई शब्दवाण प्रहार गर्नुपर्ने हो त्यसलाई नै ताकेर मर्मभेद हुने गरी निष्पक्षरूपले हान्थे । त्यसैले उनी सबैका थिए । सबैका भए । र, सधैँ नेपाली समाज, नेपाली साहित्यका पाठक र श्रोताका मनमा सदा विराजमान रहिरहने छन् । यस्ता विराट कल्पवृक्षलाई मेरो शतशत नमन !!!
हाल– शिक्षक, श्री जनता मावि, गोलबजार–४, सिरहा ।
सम्पर्क ः मो.नं. ९८४२८२९२०६
nandalalacharya@gmail.com
No comments:
Post a Comment