साहित्यकार अनुग्रह राना मगर 'पुष्प'को रोजाइका पाँच लघुकथा-शान्ता, कुमुद, कुञ्जदेवी, सत्या, डा. शेखर & पुष्प+++
+++
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथाको कार्यक्रम । आजको प्रस्तोता म लक्ष्मी रिजाल उपस्थित भइसकेकी छु ।
यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।
आज साहित्यकार अनुग्रह राना मगर पुष्पको रोजाइका पाँच लघुकथा प्रस्तुत हुनेछ । आज २०८० असार ५ गते हो । लघुकथा प्रतिष्ठानको नियमित वाचनको ६०९ भागमा हामी भेला भएका छौँ । आजका संयोजक खगेन्द्र बस्याल, प्रस्तोता लक्ष्मी रिजाल, सहजकर्ता नन्दलाल आचार्य, व्यवस्थापन सक्रियतामा मनोहर पोखरेल र प्रविधिमा गरिमा आचार्य सक्रिय हुनुहुन्छ।
आज विशेष अप्ठ्यारामा परेर छ वटा लघुकथा वाचन हुँदै छ । यस वाचन पछि सटीक प्रतिक्रिया दिन संयोजक- खगेन्द्र बस्याललाई डाक्दै नन्दलाल आचार्य आउँदै हुनुहुन्छ ।
समस्त उपस्थित र अनुपस्थित महानुभावहरुलाई स्वागत गर्दै अहिले भने म ६ थान लघुकथा वाचन गर्न अनुमति चाहन्छु ।
+++
अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा परेका पाँच लघुकथाहरु र रोजाइमा पर्नुका कारणहरू यस प्रकार रहेको छ।
+++
१. अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा परेको पहिलो लघुकथा - तागत -शान्ता शाक्य
धापाखेल, ललितपुर
"उसको इज्जतलाई पातालमा नपु-याइकन त कहाँ छोड्छु र ?"
" हा ! त्यस्तो भन्नुहुँदैन बाबु।शुद्धचित्त भएको मान्छेको इज्जतमा हाँक नदे ।इमानदार छ ।परोपकारी भावना राखी जनताको सेवा गर्दै आइरहेको छ।त्यस्तो मान्छेलाई सबैले हाई हाई त गरिहाल्छन् नि।"
"उसको हाई हाईमा मेरो बाई बाई हुन्छ।यसपालि जसरी भए पनि उसलाई गिराउनु छ ।मलाई जित्नु छ,बुझ्नुभएन?"
"मनलाई नियन्त्रणमा राख्।धनको तुजुक नदेखा।जनताको मन जित्ने तर्फ लाग्।
हेर बाबै,अर्काको अहित गर्नेको कहिल्यै भलो हुँदैन ।समयको सदुपयोग गर्।सत्मार्गमा लाग्।सत्कर्म गर्।सत्फल त पाइहाल्छन् नि । पहिला ऐनामा आफूलाई हेर्।आफैलाई चिन्।नत्र धोका खालास् ।"
"तपाईं चुप लाग्नोस्,धेरै अर्ती नदिनोस्।मैले चाहेको कुरा गर्न दिनोस् ।"
म रिसाएर कोठाबाट बाहिरिन खोजें ।
उहाँले मलाई रोक्नुहुँदै झोंक्किदै भन्नुभयो -
"तँ नै पहिला चुप लाग् ।खुकुरीभन्दा कर्द लाग्ने भनेको यही रछ।ध्यान दिएर सुन् ,मेरो कुरा ।
तैंले ठूल्ठूला ढुङ्गालाई हावाले उडाएको कहिल्यै देखेको छस्?"
+++
अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा पर्नुका कारणहरू– तागतले केही हुन्न ? सोचेर बुद्धिले काम गर्नुपर्छ अनि मात्र माछा ढँडियामा पस्छ। ढँडियामा पसेकोलाई समाउन सजिलो हुन्छ । मीठो सन्देशमुलक छ।
+++
२. अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा परेको दोस्रो लघुकथा– तुरुप -कुमुदप्रसाद शर्मा
"अनि हजुरले हान्नु भएन, `तुरुप´ ?" स्वास्नी चाहिँले सोधी ।
"हानें नि, हान्न त.......! शेयरका चाङ, जग्गा धनी प्रमाण पुर्जाहरू, बैक स्टेटमेन्ट, मुद्दती रसिदको ठेली अनि घर मूल्याङ्कन प्रतिवेदन हेरिसकेपछि मान्दै मानेन । अझ सुन चाँदी, हिरा मोतीको पोको त फुकाउन भ्याएको पनि थिएन।" दबेको स्वरमा उसले भन्यो।
"किन नलाग्नु ? जतिपनि लाग्छ । खै........! अरूले फ्याट् फ्याट् लगाइराखेकाछन् त! हजुरमात्र `लागेन´ भन्नुहुन्छ.....।" उसले घुर्क्याई ।
"खुलाउनुस् श्रोत" भन्यो । अलिअलि भए पो, त्यत्तिकाको त कहाँ खुलाउन सक्नु ! भन्न त, "सुनको थालमा ज्युनार गरिबक्सन्थ्यो मेरा ससुरा । चुठाउन नोकरचाकरहरू चाँदीको करूवामा जल लिएर खडा हुन्थे । घरैमा थिए, हात्ती घोडा । कारोबार यति भनेर साँधी थिएन । त्यस्तो खानदानी पो त, मेरा ससुराली । यी सप्पै दाइजोमा आएका हुन्´ भनेको हुँ, नि ! खै, काम लागेन ।" लोग्ने चाहिँ बिलौना गर्न थाल्यो, ऊ सुन्दै गई।
फाइल पल्टाएर दुई चार वटा नाम देखायो । "यिनीहरूसँग तपाईंको श्रीमतीको के नाता पर्छ ?" भनेर सोध्यो । `गोरु सम्म बेचेको भए पनि बताउन हुन्थ्यो । "भ्रष्टाचारको नाता" भन्न भएन । त्यसपछि ऊ निकैबेर घोत्लियो र भन्यो, "सर ! मामाघर त जानैपर्ने भयो । हजुरको `तुरुप´ले काम गरेन ।"
बसुन्धरा, काठमाडौं ।
+++
अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा पर्नुका कारणहरू– जे छ त्यसैमा रमाए बेस्ट नकारात्मक कार्यको लेखा जोखा अबस्य हुन्छ । आफुले जति तुरुप लाएनी पर्दाफास भएर छाड्छ र अन्तमा त्यसको लेखा दिनैपर्छ भन्ने सन्देशमुलक रहेको छ ।
+++
३. अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा परेको तेस्रो लघुकथा–फैसला -कुञ्जदेवी उपाध्याय
गलत फैसला जज साहब। म कसै सँग बस्दिन । गाउँ जान्छु जहाँ हजुरबुबा हजुरआमा बस्नू हुन्छ।
किन नानी? तिमी आमा या बुबा जोसँग पनि बस्न सक्छौ आफ्नो इच्छा अनुसार। कसैको पनि डर मान्नु पर्दैन।नडराई भन....
मेरो विचार भनि सकेँ सर।अब मलाई गाउँ पुर्याउने व्यवस्था गर्नोस्।
मेरा आमा बुबा दुईजनै गलत छन्।म उनीहरूसँग बसेर त्यस्तै बन्न चाहन्नँ। बृद्ध आमा-बाबालाई साथ दिन त उनीहरूले सकेनन् आँफु पनि मिलेर बस्न सकेनन्।
अब उनीहरूको कर्तव्य म पालन गर्छु ।कक्षा नौँमा पढ्ने छोराको कुराले आमा बाबुको आँखा खोल्यो।
डिभोर्सको कागजात आफ्नै हातले च्यातेर फाले ।
असम,भारत
+++
अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा पर्नुका कारणहरू– सन्तान बंश अनुसार हुन्छन् भन्ने भ्रमलाई चिरफार गरिएको छ। छोराको निर्णयले आफ्नो बुवाआमाको आँखा खोलिएको छ । संसारमा जिउनु छ त एकसाथ मिलेर जिए। संसार जितिन्छ भन्ने मिठो सन्देश दिएको छ ।
+++
४. अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा परेको चौथो लघुकथा– भाग्यको खेल -डा. शेखर कुमार श्रेष्ठ, दक्षिणकाली
“काकीआमा ! किन उता फर्कनुभएको ? यता हेर्नुहोस् त ।”, उहाँ मतिर फर्कनुभएन । मभन्दा पछि आउनेले भनिन्, “अलि छिटो गर्नुहोस् न । यसरी रोकिएर गफ गर्न थालेपछि अरूको पालो कहिले आउँछ ?”
म वृद्धवृद्धालाई खानेकुरा दिँदै अघि बढेँ । उहाँ भने अर्कोतिर मुख फर्काएर उँधो घोप्टनुभयो । म अगाडि बढ्दै गएँ तर मन त्यहीँ थियो । म घरिघरि उहाँलाई हेर्दै थिएँ । म अर्को कोठामा पुगेँ ।
काम सकेपछि म मन सम्हाल्न चौतारीमा गएर थचक्क बसेँ । अरूहरू खानेकुरा र कपडा दिँदै थिए । लाग्यो, “यस्तो काम सबैले एकै दिन नगरी फरक फरक दिनमा गरेको भए खाना बासी हुने थिएन । तर के गर्नु ? यो नेपाल हो, यहाँ हरेक काम गर्न उत्सव कुर्नुपर्छ ।”
उहाँ मेरी छिमेकी काकी हुन् । म सानो छँदा उहाँ धन, जग्गा, परिवार, नातागोता र सन्तानमा गाउँकै धनी हुनुहुन्थ्यो । उहाँ मानइज्जतमा पनि त्यस्तै हुनुहुन्थ्यो । लाग्छ, उहाँले कसैको चित्त दुखाउनुभएकै छैन । ‘पूर्वजन्मका कारणले दुःख पर्ने हो, दुःखीलाई सहयोग गर्नुपर्छ । खाना खान नपाएर कोही नमरुन् ।’ भन्दै उहाँ सहयोग गर्नुहुन्थ्यो । मेरी आमाले कुनै दिन भन्नुभएको थियो, ‘आमा बिरामी भएर अस्पतालमा भर्ना हुँदा मैले चार दिनसम्म उहाँकै दुध खाएकी थिएँ रे ।’
मैले उठेर हेरेँ । मानिस कम भएछ । म फेरि उहाँ रहनुभएको कोठामा गएँ । उहाँलाई मैले देखिनँ । मैले नजिकै रहनुभएकी अर्की आमालाई सोधेँ, “कृपा काकीआमा कहाँ जानुभयो ?”
–उहाँले चिनेको मान्छे आएको थाहा पाएर अघि नै उठेर जानुभयो ।
–उहाँ त धेरै सम्पन्न मानिस तर किन यहाँ ?
उहाँले सम्झाउँदै भन्नुभयो," जग्गाजमिन बेचेर सन्तान सबै विदेश गएपछि कहाँ जाने त?"
++++
अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा पर्नुका कारणहरू– समय सँगै जीवन पनि डौडिरन्छ । गन्तव्यको बाटो अन्य कहिल्यै हुँदैन । अन्यमा आफ्नो भाग्यमा जे छ त्यही नै हुने हो। त्यसैमा रमाउनु जान्नु पर्छ भन्ने मीठो सन्देश बोकेको छ।
++++
५. अनुग्रह राना मगर 'पुष्प'को रोजाइमा परेको पाँचौँ लघुकथा– दृश्य -सत्या अधिकारी, सानेपा
मेरो बिरामीमा आएको सुधार र विद्यायमा देखिएको परिवर्तन उस्तै उस्तै लाग्यो ,आज मलाई ।
म स्कुले शिक्षक , बिरामी भएर दुई दिन बिदामा बसेको थिएँ । जब आज म स्कुल पुगेँ , त्यहाँको दृश्य हेर्ने लायकको थियो ।
जहिले ल्याङफ्याङ भएर आउने रमेश सर पुरै ठाँटिएका थिए । विद्यालयको प्रवेशद्वारदेखि माथिसम्म सफा र टिलिक्क थियो। अचम्म लाग्ने कुरा सबै विद्यार्थीहरु पोशाकमा थिए।
के हुँदै छ आज ? कुराको भेउ पाउन सकिनँ ।सरासर शिक्षकहरूको कोठामा गएँ। अरुबेला कहिल्यै समयमा नआउने शिक्षकहरू पनि सबै आएर आ-आफ्ना काममा व्यस्त थिए। खुशी पनि लाग्यो।
के , किन , कसरी ? जिज्ञासा सलबलाइरह्यो ।खुसुक्क एउटी साथीलाई सोधे , `` हैन एकाएक आएको परिवर्तनको राज के हो?।"
उनले आफ्नो कक्षामा जान हतार गर्दै भनिन् ,"आफ्नो कक्षामा छिटै गएर विद्यार्थीहरू सम्भाल्नुस् । अबदेखि हरेक हप्ता महानगरबाट अनुगमन आउने रे ! "
+++
रोजाइमा पर्नुका कारणहरू– मान्छेको चलाखी पनलाई मज्जाले उतारिएको छ । अरु बेला यस्तो उस्तो भन्दा नपत्याउने जब बाहिरको चेकजाँच भने दुरुस्त हुने गरेको , व्यबहार र समाजमा घटी रहने कुरालाई मज्जाले चित्रण गरिएको सुन्दर छ।
अन्तमा यो अबसर दिलाउनु हुने मलन लघुकथा प्रतिष्ठान परिवार प्रती हृदयदेखि नै हार्दिक आभार व्यक्त गर्दछु।
अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा
हाल- मलेसिया
लघुकथा - तमासा -अनुग्रह राना मगर 'पुष्प'
कार्यक्रम संचालन भै रहेको थियो । हल खचाखच थियो । सिलिङमा झुन्डिएको फ्यानलाई हम्मे हम्मे परि रहेको थियो । मन नलागी नलागी जस्तो गरेर घुमी रहेको थियो । मन लागोस् पनि कसरी चारजनाको ठाउँमा उ एक्लै थियो । मान्छेको भिड देखेर उसलाई नि यो के तमासा हो भन्ने झैं लाग्थ्यो।
अगाडि सोफामा कार्यक्रमका सभापतित्व गरेर बसीरहनु भएका सभादक्ष सहित प्रमुख , बिशिस्ट अथिती एकै सोफामा लहरै बसेका थिए । कुनै बेला कुरा नमिल्दा झगडा गरेकाहरु पनि मिलेर एउटै सोफामा बसेको देख्दा झनक बहादुर छक्क पर्यो । "हैन म के देख्दैछु साँच्ची होकि " मनमनै सोँच्दै आँखा मिचे र फेरि चियाउन थाले । "जति आँखा मिचे पनि आखिर देखिने कुरा एउटै थियो ।" फेरि नियाले । उहीँ देशलाई डुबाएर, कालो धन्दा गरि धन थुपार्न तँछाडमछाड गर्नेहरुनै छ। "होइन के तमासा हो यो , यहाँ त पुरै भद्र भलाद्मी भएर बसेकाछन् त ? अस्ति पारी डाँडाको कमिशन नमिल्दा खुब पाटिको खुलासा गर्दै कुर्लदै थियो त होइनर .. हर्के ? झनक बहादुरले भने ।
हर्केले पनि अघिदेखि छक्क परेर नियालि रहेको थियो। उसले पनि मनमनै यस्तो पनि हुँदो रहेछ भन्दै थियो ।
" आ...यस्तै होला जान्ने बुँझ्नेको तमासा। "हात्तिको त दुइवटा दाँत हुन्छरे , एउटा चपाउने एउटा देखाउने" भनेर जवाफ फर्कायो ।
त्यति साह्रो चाहिँ गर्नु हुन्थेन नि फेरि कुरा राखे झनकेले ।
" भो झनके नकराउ .. अस्ति पल्लो डाँडाको मुद्दामा तिमी पनि त मै हुँ भनेर दलालको पक्षमा उफ्रेको थियौ नि होइनर....?
पाँचखपन - ६ संखुवासभा
हाल मलेसिया
+++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यलाई प्रेम गर्नेहरुलाई हार्दिक धन्यवाद दिँदै अर्को पटकसम्मका लागि विदा चाहन्छु ।
1 comment:
हार्दिक आभार व्यक्त गर्दछु
Post a Comment