शनिबार– रमेन्द्र कोइरालासँग कृष्ण तिमिल्सिना सानोबाबु (लघुकथा प्रशिक्षण) जेठ २० गते भाग ७९२ (समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)
+++
शनिबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा-
१. लघुकथा श्रृङखला नम्बर- ७९२
२. मिति - २०८०/०२/२० शनिबार ।
३. समय- रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।
४. प्रस्तोता- कृष्ण तिमिल्सिना सानोबाबु
५. लघुकथा प्रशिक्षक- रमेन्द्र कोइराला
६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल
७. संस्थापक/व्यवस्थापक- मलन समूह
+++ मनोहर पोखरेल +++ लक्ष्मी रिजाल +++ नन्दलाल आचार्य
लघुकथाक्रम---
१. लघुकथा- राजनीति -लक्ष्मी रिजाल
२. लघुकथा:कीरा -नारायण कोइराला
३. लघुकथा- खेलौना -चूडामणि नेपाल अकिञ्चन
४. अतिरिक्त लघुकथा:बिचारा -प्रेम पुन मगर
+++
१. लघुकथा- राजनीति -लक्ष्मी रिजाल
"मान्छेले त हेरेनन्; भगवानले त हेर्नुपर्छ नि !" ललिता ठूलै स्वरले कड्की ।
मानौँ कसैले उसकै पिँडालुबारी फाडेको होस् । ऊ अरू फलाक्ने दाउमा थिई । उसका कुरामा उत्ति चासो दिने अरू नभएकोले ऊ मथ्थर हुँदै गई ।
कसलाई भनेको भनेर नजिकै रहेकाहरूले समेत भेउ पाएनन् । ऊ शक्ति, भक्ति, पहुँच, पैसा आदित्यादिका कुरा झिकेर फेरि बोल्न थाली ।
"म पावरमा पुगेकी हुन्थेँ भने यस्ती साधुलाई सुली चढाउनेलाई उल्टै चढाउँथेँ ।" यसपटक भने हिरामायाका लुला हातगोडा सुम्सुम्याउँदै उसले भनी ।
"ममाथि कसैले अन्याय थोपरेको छैन । पोलियोले हातगोडा अपाहिज हुनुमा दोषी कोही छैन ।" हिरामायाले दिएको स्पष्टीकरणलाई मान्ने पक्षमा देखिइन ललिता । एकोहोरो सहानुभूतिको खहरे उर्लाउँदै निस्की ।
अधिदेखि कुरामा कान लगाइरहेकी मीनाले भनी; "क्याम्पसमा चुनाव जित्न अनेक हतकन्डा अपनाउँछन् आजकलका यी फुच्चे नेतानेतृ ।"
२०८०/०२/०८ कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
+++
२. लघुकथा- कीरा -नारायण कोइराला
शालिकबाट आवाज आयो,"साथी मेरो अनुहार हेर न।" शालिकको अनुहार हेर्दा धुलोमाटोले लत्पतिएको थियो।शालिकको अनुहार गणतन्त्र जस्तै लाग्यो।
एकबाल्टी पानीले शालिकको अनुहार सफाई गरे। शालिक खिस्स हाँसीरहेको महसुस गरे।
अगाडि बढ्दै थिए।फेरि आवाज आयो। फन्नक फर्किएर हेरें।यति छिटै शालिकको अनुहार अँध्यारो। मैले शालिकको कुरो बुझे र भने,
"अनुहार सफा गरेझैं गणतन्त्रका कीरा सफागर्ने हैसियत हामी जनतामा रहेन।"
तानसेन,पाल्पा
++++
३. लघुकथा- खेलौना -चूडामणि नेपाल अकिञ्चन
"उफ् म के गरौं । कसरी सम्झाउँ तपाईंलाई । छोराछोरी के गर्दैछन् थाहा छ तपाईंलाई ? काम काम अनि काम । यो अमेरिका भए पनि हामी त नेपाली हौँ नि । हाम्रो चाल चलन संस्कार , भाषा खै के सिके यिनीहरुले ? कति समय दिनु भो यिनीहरूलाई ?"
"अनि प्रष्ट भनन के भयो ? छोरा छोरी पढदै छ्न । मेरो कमाइले पुगेकै छ । पढी सकेर काम गर्लान् । यहाँ सबैको आ -आफ्नो जीवन छ बुझन । यो नेपाल होइन अमेरिका हो । मलाई पनि चिन्ता छ तर के गर्ने ? यहाँ जन्मी हुर्की गरेकाहरुले अब सबै नेपाल कै संस्कार सिकेर भयो त ? उनीहरु यहीँ को परिवेश र वातावरण अनुसार बाँच्छन ।" ।"
"म नेपाली छोरी हुँ । मेरो शरीर नेपाली हावा पानीले भिजेको छ । आफ्नै छोराछोरीका कोठामा मैले पस्न नपाउने यो कहाँको चलन हो ? कस्तो संस्कार हो ।"
"विशेषता तिमी किन बुझ्दिनौ , यिनहरु ठूला भइसके उनीहरुको आफ्नो जीवन छ । "
"नेरिया र नेरु दाजु बहिनी भए पनि आ आफ्ना केटा र केटी साथीको निहुँमा झगडा गरेको दुई वर्ष भइसकेको छ सायद त्यो पनि तपाईंलाई थाहा नहोला ।"
" ल यहाँ आउनुहोस् यो डस्टविनमा हेर्नुहोस यी थरिथरिका महिला र पुरुष चिन्हका कस्ता खेलौना हुन् ? विशेषता हुन देउ उनीहरु जवान भईसके । नो म्याटर । दे आ र हङ्री अफ सेक्स "बाबु भएर तपाईं यो के बोल्दै हुनुहुन्छ ?"
तर एकैछिनमा विशेष झसङ्ग भए विशेषता नेपाल जाँदा " मैले राखेका खेलौना त यिनल भेटिनन् ?"
विराटनगर १
+++
४. अतिरिक्त लघुकथा- बिचारा -प्रेम पुन मगर
"कान्छा छिटो यता आइज त।"
जेठादाजुको कुरा सुनेर कान्छाले सोध्यो-
"किन दाजु?"
"त्यहाँ क्याप्टेनबा बेहोस भएका छन् रे जाम?" जेठाले भने।
कान्छा निकै अकमक्कियो।
"तगडा थिए त के भएछन् क्याप्टेन? हामीलाई गरिब भनेर कम्ता हेपेका छन् दाजु भुल्नुभयो? "
"-त्यसो नभन कान्छा ,छिमेकी भए कुनै कुरा भुल्न पनि पर्छ। यो कुरा बुझ।"
"- तर कसरी बेहोस ....?"
कान्छाको कुरा नभ्याउँदै जेठा बोले-
"धेरै ब्याजको लोभ देखाएछ। आठ करोड पैसा जम्मा गरेको सहकारी बन्द गरेर मालिक कता भागेछ।"
"तेत्रो पैसा कहाँबाट ल्यारैछन् दाजु?" कान्छाको जिज्ञासामा जेठो हतारिदै बोले-
--" चार पाँच भाइ छोराहरूले यु के, हङकङमा कमाएका उनको पनि पेन्सन छदैछ नि! कान्छा यो बहसको समय होइन छिटो हिड।"
दुबैभाइ क्याप्टेनबाको घरतिर डौँडिदै गर्दा कान्छो बोल्यो-
--"मान्छेलाई त नभए नि गाह्राे भए झन् गाह्राे पो रहेछ त बिचारा!"
१५/२/२०८०
+++
No comments:
Post a Comment