शुक्रबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा-
शुक्रबार– खेमराज पोखरेलसँग शारदा दहाल भण्डारी (लघुकथा प्रशिक्षण) जेठ १९ गते भाग ७९१ (समय– रातको ठीक ६ः३०–७ः३० बजेसम्म ।)
+++
शुक्रबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा-
१. लघुकथा श्रृङखला नम्बर- ७९१
२. मिति - २०८०/०२/१९ शुक्रबार ।
३. समय- रातको ठीक ६ः३०–७ः३० बजेसम्म ।
४. प्रस्तोता- शारदा दहाल भण्डारी
५. लघुकथा प्रशिक्षक- खेमराज पोखरेल
६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल
७. संस्थापक/व्यवस्थापक- मलन समूह
+++ मनोहर पोखरेल +++ लक्ष्मी रिजाल +++ नन्दलाल आचार्य
लघुकथाक्रम---
१. लघुकथा:- शिक्षक -कृष्ण तिमिल्सिना"सानो बाबु"
२. लघुकथा- लत -शेषमणि आचार्य
३. लघुकथा - परिवर्तन -बालकृष्ण गजुरेल
४. अतिरिक्त लघुकथा- हाइ -रमेन्द्र कोइराला
++++
१. लघुकथा:- शिक्षक -कृष्ण तिमिल्सिना"सानो बाबु"
"ठूलो छ।गहिरो पनि छैन।"एउटा शिक्षकलाई एउटा इन्जिनियरले आफ्नो पोखरी बेच्ने प्रस्ताव राख्यो।
शिक्षकले पनि पोखरी राम्रो लागेर माछा पाल्ने सोचेर पोखरी किन्ने निर्णय गर्यो।आफ्नो सम्पूर्ण कमाई खर्च गरेर भएपनि शिक्षकले उक्त पोखरी किन्यो र त्यसमा माछा पालन गर्न थाल्यो।
पोखरी बेचेको एकछिनपछि उक्त इन्जिनियर आफ्नो साथी वकिललाई लिएर आयो।
"हेर्नुस।मैले तपाईंलाई यो पोखरी बेचेको हो।तर यो पोखरीको पानी हैन।पानीको लागि छुट्टै पैसा तिर्नु पर्छ।"इन्जिनियरले थर्कायो।
"पानीको पैसा किन तिर्ने मैले?पोखरीमा त पानी नै हुने होनी।"शिक्षक नम्र हुँदै बोल्यो।
"कागजमा पोखरीको मात्र कुरा भएको छ।पानीको छैन।त्यसैले खुरुक्क पैसा दिनु नत्र मेरो यो साथीले कानुनी उपचार गर्न जानेको छ।"आफ्नो साथी वकिलतिर देखाउँदै इन्जिनियरले भन्यो।
वकिल भने आफ्नो साथीको बठ्याईमा गदगद हुँदै थियो।
शिक्षकले केहीसमय सोच्यो र भन्यो"यदि पानी मेरो हैन भने पोखरीबाट तुरुन्त लानुहोस् नत्र हिजो देखिको हर्जाना तिर्नु पर्छ।आखिर मपनि तपाईं डाक्टर इन्जिनियर पाइलट वकिलजस्तालाई पढाउने शिक्षक हुँ।"
कृष्ण तिमिल्सिना"सानो बाबु"
कंचनरुप नगरपालिका सप्तरी
+++
२. लघुकथा- लत -शेषमणि आचार्य
मैले अनेक किसिमका लतीहरु देखेको छु, कतिलाई त भोगेको पनि छु।तिनले गर्दा मलाई पटक पटक हैरान भएको छ।--मधुकरले भने।
हरिदासले जवाफ दिए,--गफ मात्र! तिम्रो त्यस्तो कोसँग संगत भयो होला र,!
मधुकर --तिमी असाध्यै नेगेटिभ मान्छे।
यस्तै गफ गर्दै उनीहरु चेसमा डुबिरहेका थिए।आज अहिलेसम्म पाँच राउण्ड खेल सकियो।कहिले कसको कहिले कसको जित।
मधुकरले फेरि कुरा कोट्याए--तिमीले त्यस्ता लतीहरूसित सङ्गत गरेनौ?कुवाको भ्यागुतो,घरको बाघ वनको स्याल! अनेक विभूषणको वर्षा भयो।
हरिदासलाई पनि झोकै चल्यो।उनले देशका राजनीतिज्ञहरू पनि यस्तै लती छन्,-भने।
कुरा यसरी चल्दै चेसको यो राउण्ड हरिदासको भागमा पर्यो,अर्कोको तयारी भयो।
चेस र राजनीति एकै हो!--हरिदास
मधुकरले सही थापे,एउटा घटना सुनाउँछु,-पनि भने।
हरिदासले मुन्टो हल्लाए।
मधुकर:-हेर ,जमानाको कुरा,ऊ र म साथी थियौं,बिचरा अहिले छैन,पोहोरको कोविदले उसलाई ठहरै पार्यो,उनले उसको
पनि बताए।ऊ नेतै हो,हामी पछौटे ह्वौँ।उसले कुनै सभा जुलुस छोडेन,न भोक न तिर्खा।एकदिन बिहान उसलाई शौचालय जानुपर्यो,माथि डाँडामा उक्ल्यो,लोहोटामा पानी लिएर।डाँडामा सिमलीको छेउ पारेर कन्न थाल्यो, कब्जियत थियो,टाइम लाग्थ्यो। एकछिनपछि एउटा मतियार उनलाई खोज्दै पुगे।उनले आफूँआउनाको कारण बताए। पार्टीको काममा सदरमुकाम जानुपर्यो।उनीहरु लोहोटा त्यतै छोडेर लागे।घरमा खबर न खाबर।
,उनको त्यस्तै बानी,कसैले खोजेन।हप्ता दिनपछि उनी डाँडाको बाटो घर फर्के,सिमलीको झ्याङमा अड्काएको लोहोटा सञ्चै रहेछ, त्यसलाई टिपेर घर ओरालो झरे।घरमा कसैले उनलाई सोधेन,खाना पाक्दै थियो,उनी केही थाकेका तर उस्तै हँसिला थिए,यो उनको लत थियो।
यसपटक पनि चेस सकियो,जितहार बराबर ।
२०७८/०२/१५
तनहूँ
+++
३. लघुकथा - परिवर्तन -बालकृष्ण गजुरेल
"हामी हेलम्बु ट्रेल तथा अाधुनिक बिकास चाहन्छौँ ।" हेलम्बु गाउँ पालिकाले सपना भर्यो । विभिन्न मिडियामा समाचार बजे । ती सपनामा सारा हेलम्बु वासी जोडिए । प्रगति र उन्नती नचाहने कोही पनि थिएन । सपना साकार पो गर्ने कसरी ? कार्ययोजना थियो कि नाई ? सबै अञ्जान थिए ।
मेलम्ची पीडितहरुको तालिका बनाउँदा वास्था गरिएन । बर्गिकरण नै गरिएन । करोडपतिका एकाध जग्गा बगाए पनि उही । जहाँ सामान्य असर पनि परेन । जसका सामान्य घर बनाउने जमिन समेत रहेन उनीहरुलाई पनि एउटै तहमा राखिएको थियो । उनीहरु बाँच्ने कसरी ? शरणार्थी बनाएर मानवअधिकार हनन गर्न त नपाइने थियो । कस्तो बिवेकहीन कार्य ? गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय, मेलम्ची खानेपानी अायोजना, नेपाल खानेपानी वोर्ड, काठमाण्डौ महानगर पालिका, अख्तियार दुरुपयोग अनुसन्धान अायोग अादीलाई चिठी लेखेपछि मैले अन्तमा मानव अधिकार अायोगमा निवेदन हालेको थिएँ । उही इमेल सिसि गरेर गाउँ पालिकालाई पनि पठाएँ ।
मानवअधिकार अायोगको चिठी देखेपछि गाउँ पालिकाका अधिकारी बाट कल अायो । " बालकृष्ण जी गाउँ पालिकालाई कुनै लिखित चिठी नै छैन त ! "
मैले उत्तर फर्काएँ, " इमेलबाट नै निवेदन पठाएको थिएँ । "
"इमेलमा छ । लिखित निवेदन खोइ ?" १२ शताब्दी को प्रश्न तेर्सिए ।
म सँग एक जना बिद्वान मित्र पनि साथमा थिए । उनले भने, " भन्ने बेला डिजिटल गभर्नेन्स तथा अाधुनिक यूगको बिषय उठान गर्ने । सरकारको को जस्तो पारा रह्यो । जो नोक्सानमा छन्, पीडामा छन् , तिनले इतिहासमा परिवर्तन गर्दछन् । यी फाइदामा रहेका लेन्डुपहरु मालिकका खल्ति हुन् । बाह्र बुँदे समझदारी तथा एमसिसि मार्फत मालिकलाई रिजाउँछन् मात्रै ।"
- हेलम्बु-६, सिन्धुपाल्चोक
४. अतिरिक्त लघुकथा- हाइ -रमेन्द्र कोइराला
इनरुवा -९ बबिया,सुनसरी
" मम्मी उता हेर्नू ! अब मेयरले हाइ गर्छन् ! " प्रमुख अतिथि मेयरलाई देखाउँदै रत्नले भन्यो ।
"हो र ! कसरी थाहा भयो तँलाई ?" रचना वाचनको पालो पर्खेकी रचनाले भनिन् ।
"अघिदेखि हेर्दै थिएँ । ऊ हेर्नू ,मुख बिगारे ! अब हाइ गर्छन् । "
नभन्दै मेयरले पुर्ण हाइ गरे र आनन्दको सास फेरे । दुबै मुख छोपेर हाँस्न थाले ।
रचनालाई अब वाचन भन्दा पनि हाइमा मजा लाग्न थाल्यो । जब मेयरले हाइ गर्न खोज्थे छोराले कोट्याइ हाल्थ्यो -"मम्मी हेर्नू अब मेयरले हाइ गर्छन् । "
र मेयरले हाइ गरिहाल्थे ।
यो क्रम निकै नै चल्यो ।
एक त मेयर ढिलो आए त्यसमाथि बसेदेखिनै हाइ गरेका गर्यै थिए । आमा छोराले मजाले हाइमा आनन्द लिए । उता मेयरलाई सुनाउन रचना वाचन जोड जोडले हुँदै थियो यता मेयरको हाइ रुक्ने नाम थिएन ।
एकछिनमा मेयरले हतार छ भन्दै रेडिमेट भाषण दिन शुरु गरे र अन्त्यमा भने-" आजका कविताहरूले समाजलाई अग्रगामीको बाटो देखाउँछन् । म कविहरूलाई सक्दो सहयोग गर्छु।"
त्यतिखेरै एक वृद्ध कवि गुनगुनाए -"रचना नसुनी हाइ हाइ गरेर निद्रा र थकाइ मेटाउने यस्ता जनप्रतिनिधिले छक्याएको धेरै देखेको छु ।"
०८०/२/१७
+++
No comments:
Post a Comment