Tuesday, June 6, 2023

बिहीबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा-तोयनाथ सुबेदी, पुण्य कार्की & निरज कोइराला



बिहीबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा-तोयनाथ सुबेदी, पुण्य कार्की & निरज कोइराला



बिहीबार– पुण्य कार्की & निरज कोइरालासँग पं.ज्यो. तोयनाथ सुबेदी (लघुकथा प्रशिक्षण) । जेठ ०४,११,१८,२५ र ३२ गते भाग क्रमशः ७७६, ७८३, ७९०, ७९७ र ८०४ (समय– रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।)

+++

बिहीबारे लघुकथा प्रशिक्षण कार्यक्रमको रूपरेखा -

१. लघुकथा श्रृङखला नम्बर- ७९७

२. मिति - २०८०/०२/२५ बिहीबार ।

३. समय- रातको ठीक ७ः३०–८ः३० बजेसम्म ।

४. प्रस्तोता- पं. ज्यो. तोयनाथ सुवेदी (हेटौंडा )

५. लघुकथा प्रशिक्षक- पुण्य कार्की (गाईघाट )

लघुकथा सह-प्रशिक्षक- निरज कोइराला (इटहरी)

६. फेसबुक लाइभ र युटुभ च्यानलको लागि आधिकारिक स्थान - लघुकथा प्रतिष्ठान, नेपाल

७. संस्थापक/व्यवस्थापक- मलन समूह

+++मनोहर पोखरेल +++लक्ष्मी रिजाल+++ नन्दलाल आचार्य

लघुकथाक्रम---

१. लघुकथा- अपराधी प्रशिक्षण केन्द्र -कृष्ण बजगाईं

२. लघुकथा- केटोको कथा -डा. खगेन्द्र दाहाल

३. लघुकथा-कथाको मृत्यु -ईगम खालिङ

४. लघुकथा- सञ्चय -गरिमा आचार्य

+++

१. लघुकथा- अपराधी प्रशिक्षण केन्द्र -कृष्ण बजगाईं


प्रशिक्षण केन्द्र संचालनको लागि आएको निवेदन पढेर हाकिम रन्थनिए । निवेदकलाई सोधे– ‘के हो यो ? अपराधी उत्पादन गर्न प्रशिक्षण केन्द्र खोल्ने तपाईको कत्रो हिम्मत ? अपराधीलाई भेट्नसाथ प्रहरीले सिधै पक्रिन्छ ।’ हाकिमले रवाफिलो स्वरमा बोले ।


‘विद्यालय र विश्वविद्यालयले अघोषितरुपमा भ्रष्ट्रचारी र अपराधी उत्पादन गर्दा हुने । हामीले घोषितरुपमा प्रशिक्षण केन्द्र संचालन गर्न नहुने ? खै विद्यालय र विश्वविद्यालयका संचालकहरुलाई प्रहरीले पक्रेको छैन त ?’ निवेदकले भन्यो ।


निवदकको कुरा सुनेर हाकिमको पारो चढ्यो । तर आफूलाई संयमित राख्दै हाकिमले भने–‘सम्बन्धित विषयको शिपका साथै नैतिक र आदर्शवान नागरिक हुने शिक्षा दिँदा कोही कोही भ्रष्टचारी, व्यभिचारी र अपराधी बन्छन् भने विद्यालय र विश्वविद्यालयको के दोष ?’


‘हाम्रो प्रशिक्षण केन्द्रमा पढेका विद्याथीहरुले अपराधको परिणाम पनि थाहा पाउने हुनाले डरका कारण सायद अपराध नगर्न पनि सक्छन् । असल प्रशिक्षार्थी पनि उत्पादन हुन सक्छन् ।’ निवेदकले तर्क गर्यो ।


उसको कुतर्क सुनेर हाकिमले जंगिदै भने ‘यो प्रशिक्षण केन्द्र कुनै हालमा दर्ता हुन सक्दैन ।’


‘यो धेरै पहिलेदेखि भूमिगतरुपमा संचालन भइरहेको व्यावसायिक प्रशिक्षण केन्द्र हो । अहिले यसलाई औपचारिकरुपमा दर्ता गर्न मात्र खोजेको हो । गणतन्त्र सबैका लागि आएको हो । गणतन्त्रमा पक्षपात गर्न पाइदैन । तपाईले दर्ता गर्नु भएन भने माथि कुरा गर्दछु ।’ निवेदकले धम्किको भाषा बोल्यो ।


माथि भन्ने शब्द सुनेपछि हाकिम हच्किए । अलिक नम्र हुँदै सोधे– ‘त्यहाँबाट उत्पादन भएका प्रशिक्षार्थीहरुले कहाँ रोजगारी पाउँछन् त ?’


‘भूमिगतरुपमा संचालित प्रशिक्षण केन्द्रमा राजनीतिक पार्टीहरुको पनि लगानी छ । हाम्रा प्रशिक्षार्थीहरुले सत्ता पक्ष, प्रतिपक्ष लगायत ठूलासाना सबै राजनीतिक पार्टीमा रोजगारी पाइरहेका छन् । भविष्यमा तिनले स्वदेशमा मात्र होइन विदेशमा पनि रोजगारी पाउने सम्भावना छ ।’ निवेदकले उत्तर दियो ।


निवेदकको उत्तर सुनेपछि हाकिमलाई चिट्चिट् पसिना आयो ।


बेलायत

+++

२. लघुकथा- केटोको कथा -डा. खगेन्द्र दाहाल


केटोको जुंगाको रेखी कोरिन थालेको थियो। कामकर्तव्य बुझ्ने बेला भएको थिएन। मिल्ने भए उसलाई बिहानभरि सुत्न मन थियो।


बाले झिसमिसेमै उठाए, अनि सोधे, “घुम्न जान्छस्?”


केटोले जान्न भनेर हुनेबाला थिएन।


हिंडेर तिनीहरू अनौठो ठांउमा पुगे। शान्त देखिने त्यो ठांउमा बेतमासको अशान्ती फैलिएको थियो। सडक किनारमा कमजोर मानिसहरू उभिएका थिए। तिनका हातखुट्टाभरि निलडाम थिए। कतिपय निलडाम निको हुंदै थियो, कति आलै।


केटोले नसोधि रहन सकेन। “यिनलाई के भएको हो, बुबा?”


बुढाले बिस्तार लगायो। “यिनीहरूका नेल भर्खरै मात्र काटिएका हुन। सयौंबर्ष नेलमा जकडिएको भएर यिनलाई खुला बस्न अभ्यस्त भएको छैन।”


केटो छक्क पर्यो। बुढाले थप्दै गयो, “अझै केही छन, जो सिकंजा नभै हिंड्न सक्दैनौ भनेर, उभिने-हिंड्ने अभ्यास नगरी बसेका छन्।”


“बिहानै कस्तो ठांउमा ल्याएका बुढाले!” मनमनै मुरमुरियो।


बुढोको हिंड्ने क्रम रोकिएन। अर्को गल्लीमा अर्काथरि मान्छेहरु सडक किनारमा बसेका थिए कालो चस्मा लाएर। पुरै उज्यालो भैसकेको थिएन।

“ति मानिसहरूले कालो चस्मा किन लगाएका?” केटोले आश्चर्यचकित हुंदै सोध्यो।


“यसको कथा लामो छ।” बुढाले सुरु गर्यो, “छोटकरीमा भन्नुपर्दा, धेरै युगसम्म यिनीहरू अध्यारोमा बसे, आंखामा कुनै उज्यालो परेन। चम्किलो प्रकाश यिनका आंखाले हेर्न सक्दैनन! त्यै भएर बिहान उज्यालो हुनु अघिदेखि घाम नअस्ताएसम्म यिनीहरू कालो चस्मा लाउंछन्।”


कुनै दार्शनिकले लेखेको निवन्ध भन्दा कम थिएन यो। केटोको दिमाग भाउन्न भयो। हिंड्न भने रोकिएन।


हिंड्दै जांदा, तिनीहरू अलिक डरलाग्दो ठांउमा पुगे। संधिग्ध देखिने बादल फैलिएको थियो। मान्छेको चालचुल थिएन तर मान्छे जस्ता आकृति सलबलाउंदै थिए।


छेउमा पुगेर देखियो, ति त अस्थीपंजर रहेछन। केटोको सातोपुत्लो गयो। “के हो यो, भागौं!” केटोको मुखबाट अरू केही निस्केन।


केटोलाई समाउंदै बुढोले भन्यो, “यिनले केही गर्दैनन्! यिनको शरिरमा प्राण छैन। मुर्दा खोतल्नेहरूले यहां ल्याएर छोडेका हुन।”


केटाको डर अलिक हरायो। बुढाले थप्यो, “यिनै मुर्दा उधेर्नेहरूले बोक्छन यि मुर्दा, अनि तिमी तर्सेझैं तर्साउन खोज्छन। यो मर्नु र तिमी जन्मनु एकै पल्ट थियो।”


केटोले कुरो बुझेझैं गर्यो। केटोलाई कहिले त्यंहाबाट हिंडौ भयो। अलिक पर पुग्दा उज्यालो देखियो। एउटा सुन्दर बस्तीमा मानिसहरू आफ्नो काममा लागेका थिए। त्यहां राम्रो चौतारो बनेको थियो। त्यो चौतारोमा बस्न ठेलमठेल थियो। बस्नेहरू सबैले श्रिपेच लगाएका थिए।


केटो छक्क पर्यो। बातिर हेर्यो मात्र। बुढोले कुरो बुझेर सम्झाउन सुरु गर्यो, “यिनलाई छोटे राजा भन्छन बाबु!”


“तिम्रो जन्मअघि एउटा मुख्य राजा हुन्थे, अनि ससाना रजौटाहरू। अहिले जो सुकैलाई राजा हुने अधिकार छ। ति मध्ये केहीलाई आफू सर्वेसर्वा हूं भन्ने छ। तिनैलाई भनिएको हो छोटे राजा!”


केटोले कुरा बुझेको भावले टाउको हल्लायो। बुढोले सम्झाउदैं भन्यो, “तिमीलाई धेरै खेलेर डुल्ने समय छैन। फटाफट ठूलो भएर राम्रो काम गरेर देखाउन पर्छ बाबु!”


बुढो रोकिएन, “तिमी जन्मिएर यत्रो भएको कतिलाई मन परेको छ, तर केहीलाई मन परेको छैन। त्यही भएर तिमीलाई धेरै रमाइलो नगर, काम चांडै सिक अनि खुट्टामा उभिहाल भनेको हो!”


केटोले बुझ्यो बा बुझेन थाहा भएन। तर बुझेको भावमा एकशव्द नबोली बुढोको पछि लुखुरलुखुर हिंडीरह्यो।

+++

३. लघुकथा-कथाको मृत्यु -ईगम खालिङ


संगमले एउटा कथा लेखिसकेपछि सन्तुष्टीको लामो सास तान्यो । कविता लेख्दा-लेख्दै त्यो कथा उसको मानसपटमा पट्ट आएको हो । कथा आफ्नो मर्मसित मिल्दो थियो । लेख्दा बीच-बीचमा उसका आँखाहरूभरि आँसु आउँथ्यो ।


बिहानै श्रीमतीसित अलिकति ठाकठुक परेको थियो । सधैँ त कविता लेखेर सबैभन्दा पहिले श्रीमतीलाई नै सुनाउँथ्यो तर त्यतिबेला कसलाई सुनाऊ सुनाऊ भयो । उसले त्यो कथा धेरैपल्ट पढ्यो । आखिरमा हद भएर उसले श्रीमतीलाई मनाउँदै कथा सुनिदिने आग्रह गर्‍यो ।


“कविता भए सुन्ने थिए तर कथा रहेछ, कथा त मलाई पटक्क मन पर्दैन !” रिसाउँदै श्रीमतीले उसको आग्रहलाई टारी दिई ।


त्यो एउटा दिनभरि उसलाई नरमाइलो लागिरह्यो । साँझमा घरको आँगनको डिलमा उभेर उसले त्यो कथा फेरि एकपल्ट पढ्यो अनि च्यातेर टुक्रा-टुक्रा बनाई तल घुरानतिर फाँक्यो । राति निदाउने बेलामा श्रीमती सम्झौतास्वरूप सानो स्वरमा बोली—


“औ ! अघिको कथा सुनाउन !”


संगम चुप लागेर निदाएको जस्तो गरेर पलङको एक छेउमा पल्टिरह्यो ।

+++

४. लघुकथा- सञ्चय -गरिमा आचार्य


"दिनेशजी, सुन्नुस् त !" एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो ।

ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियोे । कारण बुझ्न नसकेर दिनेश ह‌ैरान थियोे ।

दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो ।

यतिबेला भने उसको साथी भन्दै थियोे, "तिमीहरू बढता बाेलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।"

बिउँझदा त दिनेश रुखमुनि थियोे । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।


बेलका २, उदयपुर, हाल- गोलबजार ४, सिरहा

+++






















No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...