Monday, June 5, 2023

साहित्यकार शेषमणि आचार्यको रोजाइका पाँच लघुकथा- २०८० असार १२ गते, ६१६ भाग

७) साहित्यकार शेषमणि आचार्यको रोजाइका पाँच लघुकथा- २०८० असार १२ गते, ६१६ भाग ।

लघुकथा प्रतिष्ठानको यस गहिरो साँझमा सम्पूर्ण साहित्यप्रेमीहरूमा हार्दिक नमस्कार । घडीले रातको ७ः३० बजाइसकेको छ । सुसेधन्दाका कामधाम थाँती नै राखी म लक्ष्मी रिजाल प्रस्तोताका रुपमा यहाँहरु सामु उपस्थित छु । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ । यस कार्यक्रमका संयोजकमा खगेन्द्र बस्याल रहनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल रहनुभएको छ । आज भने पाँच वटै लघुकथामा सटीक पाठकीय अभिमत जनाउन लाइभमा खगेन्द्र बस्याल जोडिँदै हुनुहुन्छ र दोस्रो चरणको पाहुना संवाद र स्रोता, पाठक, दर्शक स्वागतका लागि नन्दलाल आचार्य आउनुहुनेछ । म विदा भएर जाने छु । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।

शेषमणि आचार्यको रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथाक्रम यस्तो छ–

पाँच लघुकथा- २०८० असार १२ गते, ६१६ भाग

१) पहिलो लघुकथा : सँघार ✍️गीताश्री शर्मा

२) दोश्रो लघुकथा- कालो टीका ✍️विद्या ढकाल, तनहुँ ।

३) तेस्रो लघुकथा : कर्मफल ✍️कुञ्जदेवी उपाध्याय

४) चौथो लघुकथा : जिम्मेवारी ✍️हिरनमयी आचार्य शर्मा

५) पाँचौ लघुकथा : समय ✍️शेषमणि आचार्य


१. शेषमणि आचार्यको रोजाइमा परेको लघुकथा-१. सँघार ✍️गीताश्री शर्मा


"कति रक्सी धोक्न सकेको ऋषि तिमीले ? तिम्रा निम्ति मैले आमा-बाबा छोडेँ । तिमीले रक्सी छोड्न सकेनौ...... !" भक्कानिँदै रत्नाले होश गुमाएको लोग्नेको लुगा फेरिदिँदै टोपी ,मोजा लगाइदिइन् र बाक्लो कम्बल ओढाइदिइन् । माघको महीना बाहिर कठ्याङ्ग्रिने जाडो छ ।

रक्सीले टन्न भएर खुट्टा लरबराउँदै पसेको ऋषि बेहोसीमै बरबराउन लाग्यो, "नकरा ए लोदरे! बाँझी छस्, एउटा नानीसम्म पाउन सक्तिनस्, खूब ठूला-ठूला कुरा गर्छेस् ! साथी-भाइलाई मुख देखाउन लाज भइसक्यो, कतै नभाकी नकचरी......।"

बिहे भएको छः वर्षसम्म जयजन्म नहुनुमा दोष कसलाई दिने ! पतिको वचनले असह्य भए पनि रत्नाले पचाउँथी । कल्पना गरी, स्वास्थ्य चौकी गएर जँचाउनु पर्ला..... । रातभर निन्द्रा परेन, आँसुले सिरानी भिज्यो ।

एक पटक डाक्टरको सल्लाह लिने परामर्श रत्नाले पतिदेवसित राखी तर बिहान भने ढुङ्गो बोल्ला ऋषि बोल्दैन । बेलुका बोलिनस्कनु हुन्छ । रत्नाको कुनै सल्लाह लिने दिने पनि आफ्नो पति बाहेक कोही थिएन, उसको कुरा खोलाको गीत हुन्थ्यो ।

गाउँमा स्वास्थ्य शिविर लाग्दैछ भन्ने कुराले रत्नाका मनमा कौतुहलता छायो । ऋषि अफिस गएको मौका पारेर रत्ना डाक्टरको परामर्श लिन स्वास्थ्य शिविर गई । डाक्टरले भिटामिन र आइरन चक्की दिँदै भने, "यहाँ जाँच गर्न सकिन्न ! दुवैजना अस्पताल गएर जँचाएको राम्रो" । घर फिर्दै गर्दा बाटामा मुसलधारे पानी परेर रोक्यो । केहीबेर पवित्राका घरमा ओत लागेर बसेपछि पानी थामियो ।

रात परेपछि घर आउने लोग्ने आज दिउँसै टिल्ल भएर आएका रहेछन् । रम्रिएर चिटिक्क परेर आएकी श्रीमतीलाई देखेर ऋषिका नेत्र बले, सीधै झम्टिन पुगे तर रत्ना तर्किने हुँदा भित्तामा बजारिए । ऋषि आउँदा सँघारमा लालटिन बालेर उज्यालो राखिदिने रत्नाले आज दिउँसै मातेर आएको लोग्नेलाई समाएर उठाउन पर्ने स्थिति आइपरेको थियो ।

भित्तामा बजारिएर लडेका पतिदेवलाई सकिनसकी उठाउँदै गरेकी श्रीमतीप्रति नानाभाँतीगर्दै भने, " दिनभरि भोकभोकै अफिसको काम गरेर आउँदा घरमा भात पकाउन छोडेर कहाँ गएकी थिइस् ए ! नकचरी !! यही हो तेरो चर्तिकला ? घरमा आगोसम्म जोरेको छैन, कुन आँटले पस्छेस् घरभित्र ! यो सँघार कसरी नाग्छेस् हेर्छु म पनि।"

जुन सँघारमा पूजा गर्दै भित्रेकी रत्ना, पतिदेव आउँछन् भनेर लालटिन बालेर उज्यालो पारेर राख्ने गरेको सँघार, आज उही सँघार रत्नाका निम्ति बाधक बन्दै थियो। काँडेतार भएको भान हुन्थ्यो ।

यता ऋषि गाउँ नै थर्काउने गरी कराइरहेको थियो, मानौँ आज ऊ अन्तिम पटक कराइरहेछ ।

गान्तोक, सिक्किम

***************

(शेषमणि आचार्यले यस लघुकथालाई रोज्नुको कारण यसरी खुलासा गर्नुभएको छ- कुलतको अम्मलले कसरी घरबार सबै ध्वस्त पार्न सक्छ,भन्ने कुराको उदाहरण कथाले दिन्छ, यसकारण मन पर्यो।)

+++


२. शेषमणि आचार्यको रोजाइमा परेको लघुकथा-२ कालो टीका ✍️विद्या ढकाल, तनहुँ ।

"सबैले हात पछाडि लैजाउ ।" - अनुसन्धान अधिकृतले आदेश गरे ।

चोरीको अभियोगमा दर्जनौँ मानिसहरूलाई चौरमा लहरै बसाइएको थियो । आदेश पछि आरोपितहरूले आआफ्ना गोडा अगाडि पसारे भने हातले पछि भुइँ टेके । पछाडि भएकाले आँफूले हात टेकेको ठाउँमा के छ उनीहरूले देख्ने कुरै भएन ।

"हामीले अनुसन्धानको विशेष नयाँ प्रविधि अपनाएका छौँ । जसबाट सत्य तथ्य सजिलै पत्ता लाग्नेछ ।" - अनुसन्धान अधिकृतले आरोपित अनि उपस्थित अन्य सबैलाई सम्बोधन गर्दै हातमा भएको डायरीमा केही कुरा टिपोट गरे ।

"सत्य तथ्य सजिलै पत्ता लाग्ने त्यस्तो के नयाँ प्रविधि छ सर ?" - आश्चर्य मान्दै उपस्थित मध्य कसैले प्रश्न गर्‍यो ।

अधिकृत सबैले सुन्ने गरी चर्को स्वरमा बोले - "अब तपाईँहरूले वास्तविक चोरको निधारमा कालो टीका देख्नुहुनेछ ।"

उनको बोली नसकिँदै भुण्टेले हत्तपत्त आफ्नो निधार पुछ्यो । उसको निधारमा पूरै कालो पोतिएको थियो ।

तनहुँ,नेपाल

*************

(शेषमणि आचार्यले यस लघुकथालाई रोज्नुको कारण यसरी खुलासा गर्नुभएको छ: नेपाली समाजको पुरानो भनाइलाई कथामा प्रस्तुत गरी घटनालाई रोचक बनाएको हुँदा। अपराधी सधैँ डराइरहन्छ भन्ने मनोविज्ञान रहेकोले)

********

३. शेषमणि आचार्यको रोजाइमा परेको लघुकथा-३ कर्मफल ✍️कुञ्जदेवी उपाध्याय


भयो यति धेरै बखान नगर। यो राम्रो कुरा होइन। छोराछोरी सामु झनै होइन।

के भयो तिमीलाई ,मेरो छ गर्छु।मेरा छोराछोरीलाई जे चाहिन्छ तै दिन्छु । तिमीले मन नपराए के हुन्छ!तिम्रो बाबाको केही थिएन र पो तिमीले नपाएको त।म मेरो स्टेट्स बचाएर चल्नु पर्छ ।

छ भन्दैमा जति पायो उति नदेऊ।दिनकाल राम्रो छैन।

पतिलाई सम्झाउने कोशिस गर्छिन् रमा।

ऊ झन् कड्किएर बोल्छन्

गरिवीको छोरी बिहे गर्नु हुने रहेनछ,बल्ल बुझ्दैछु आमाले किन बिरोध गर्नु भाको रैछ।

ठिकै भनेउ रमण।गरिबको आत्मसम्मान हुन्छ।संस्कार हुन्छ। तर तिमी जस्ता धनीको धन मात्र हुन्छ।

त्यसैले आमाको मुख हेर्न बाबाले बोलाउँदा पनि जान सकेनौं।

आज छोरा छोरीलाई जस्तो शीक्षा दिँदै छौं तिनीहरूले पनि त्यस्तै गर्छन्

भोलि कुन मुखले भन्छौं रक्सी पिउनु हुन्न भनेर!कसरी भन्छौं छोरी, डिस्को जानु हुन्न भनेर!

हो मेरा पिता गरिब थिए।त्यसैले आज छोरा बुहारी नाति सँग हाँसी हाँसी दिन बिताउँदै छन् ।तिम्रा धनी पिता झैं बृद्धाश्रममा जीवनको अन्तिम क्षण गन्नु परेको छैन।

आजै सोचि राखे कुन बाटो जाने हो।समय बिति हालेको छैन।

इस्वी सन् -4 Jun 2023

शिवसागर,असम

भारत

*************

[शेषमणि आचार्यले यस लघुकथालाई रोज्नुको कारण यसरी खुलासा गर्नुभएको छ--मानिसको आन्तरिक चहक भनेको उसको संस्कार हो।धनले ल्याउने उन्मादलाई नियन्त्रण गर्न नसक्दा परिणाम दु:खदायी हुन्छ,भन्ने सन्देश प्रवाह गरेकोले मन पर्यो।]

*********

४. शेषमणि आचार्यको रोजाइमा परेको लघुकथा-४ जिम्मेवारी ✍️हिरनमयी आचार्य शर्मा


पदम आफू मिहेनत गर्थ्यो । श्रीमती रुपा पनि उस्तै थिइन्, एकछिन् पनि नबस्ने । थोरै जेथा भएका उनीहरुलाई कुनै दःुख थिएन । घरभरि गोदाममा अन्न । गोठमा टन्न भैंसी । करेसा बारीमा तरकारी । फलफूलको ठूलो बगैँचा । सबै जिल्ल पर्थे उनीहरुको पौरखमा । गाउँलेहरु भन्ने गर्दथे, “तिमीहरुको त रमितै छ ।” उनीहरु भन्थे, “मिहेनत गर्नुपर्दछ । बिना मिहेनत के हुन्छ र ।”

जुनेली आफ्ना दुई छोराछोरीलाई काममा सरीक गराउन खोज्थिन् । तर छोराछोरी ‘पढ्नुछ, लेख्नुछ’ भन्दै बाबुआमाको कुरा टार्थे । बाबु भन्थे, “हेर छोराछोरी हो, आजैबाट घरको काम सिक । हरेक काममा हामीलाई सहयोग गर । पढाईलाई पनि प्राथमिकता देउ । जीवनमा हामीले सबै कुरा सिक्दै जानुपर्छ । आजैबाट काम गर्दै गयौ भने भोलि आफूलाई पर्दा सजिलो हुन्छ ।” तर छोराछोरीले कहिल्यै बाबुको कुरा खाएनन् । अनेक वहानामा टारिरहे । उनीहरु ठूला पनि भए । एकदिन रुपाले पदमलाई भनिन्, “हेर्नुहोस् यी छोराछोरी ठूला भए । घरको केही काम गर्दैनन् । न खेतबारीको काम गर्छन् । अहिले स्कुल एक महिनाको लागि बिदा छ । यिनीहरूलाई न चेताएमा पछि दुःख पाउँछन् । जाउँ हामी कतै बाहिर, महिना दिन घुम्न !”

उनीहरु तिर्थ गर्न जाने भनेर घरबाट हिडे । यता छोराछोरीले बाबुआमालाई विदा त दिए तर घरको काम गर्ने कसले ? दस–बाह्र ओटा गाईबाख्रा, धान काट्ने बेला । उता फलफूल तरकारी बेच्नुपर्ने । कुनै काममा बानी नपरेका । अब सबै काम गर्नुपर्यो । कहिले रोइकराई कहिले झगडा गर्दै काम पुरा गरे ।

बाबुआमा आए । छोरीले रुँदै भनिन्, “हामीलाई पहिलेदेखि नै काम नसिकाएर कति गाह्रो भयो ? तर समस्या परेपछि गरिदों रहेछ आमा । ”

असम,भारत,

*************

[शेषमणि आचार्यले यस लघुकथालाई रोज्नुको कारण यसरी खुलासा गर्नुभएको छ--जीवनको महत्वपूर्ण पाठशाला आफ्नै परिवार हो,परिवारले सन्तानलाई स्वावलम्बनको पाठ पहिल्यैदेखि सिकाउनुपर्छ।]

************

५. शेषमणि आचार्यको रोजाइमा परेको लघुकथा-५ समय ✍️शेषमणि आचार्य


अचेल समय धेरै परिवर्तन भैसक्यो-उनले भने। लोकतन्त्र आयो।सबै बराबर!कसले कसलाई हेप्ने,कसले कसलाई निल्ने!कसले धकेल्ने,कसलाई हेप्ने,लखेट्ने, यस्तै यस्तै प्रचार गर्दै हिँडेका थिए, निवर्तमान क्रान्तिकारी।अब कोही कसैसँग डराउन पर्दैन,आत्तिन पर्दैन।उनको यो अभियानले बस्तीमा आशाको सञ्चार भयो।नगिचैका वन्य,घरपालुवा जन्तुमा पनि यसको प्रभाव पर्यो।सबैले सल्लाह गरे,अब बाघ बाख्रा सँगै अङ्कमाल गर्ने,मूसा र बिरालो सँगै हातेमालो गर्ने।बाघ र बिराला उत्पातै खुसी भए,बाख्रा र मूसा सशङ्कित त भए,सबैले भनेपछि माने पनि।ठुलो समारोह भयो,भतेर गरियो,सबै नाचे,ठुलो पर्खालभित्र यो समागम थियो।खानपिनपछि मूसा र बाख्रा झकाउन थाले,बिराला र बाघ डुक्रिन थाले,बाख्रालाई कर्याप्प पारे बाघले,मूसालाई चपाउन थाले बिरालाहरूले।बाघ र बाख्रा ,मूसा र बिराला एउटै खोरमा बस्ने सपना चकनाचुर भयो‌।उता मानिसहरूको बस्तीमा पनि यो हल्ला फैलियो! लोकतन्त्रमा उज्यालो आयो कि अँध्यारो फैलियो,मेरो मन अलमल भयो फेरि।

२०८०/०१/०१

[शेषमणि आचार्यले यस लघुकथालाई रोज्नुको कारण यसरी खुलासा गर्नुभएको छ-आफ्नो कथा आफैँलाई मन पर्नु स्वाभाविक हो।यसमा अहिलेको

समाजलाई प्रहार गर्न खोजिएकोले समयको चित्रको रूपमा मन परेको।]

समाप्त

+++

अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने साहित्यलाई प्रेम गर्नेहरुलाई हार्दिक धन्यवाद दिँदै अर्को पटकसम्मका लागि विदा चाहन्छु । अब लाइभमा खगेन्द्र बस्याल जोडिँदै हुनुहुन्छ । दोस्रो चरणको पाहुना संवाद र स्रोता, पाठक, दर्शक स्वागतका लागि नन्दलाल आचार्य आउनुहुनेछ । धन्यवाद ।


+++




































































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...