साहित्यकार निर्मला बरालको रोजाइका पाँच लघुकथा २०८० असार २६ गते, ८३० भाग संयोजक- खगेन्द्र बस्याल
++++++
साहित्यकार निर्मला बरालको रोजाइका पाँच लघुकथा
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । आजको प्रस्तोता म हुँ– लक्ष्मी रिजाल । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ ।
यस कार्यक्रमको संयोजकमा खगेन्द्र बस्याल रहनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल र नन्दलाल आचार्य रहनुभएको छ । बेलाबेलामा लघुकथा विमर्शमा खगेन्द्र बस्याल, रमेन्द्र कोइराला, मनोहर पोखरेल, निरज कोइराला, ललिता झा, अम्बिका बास्तोला लगायतका महानुभाव हुनुहुन्छ । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।
निर्मला बरालको रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथाक्रम यस्तो छ–
१. पहिलो लघुकथा- लघुकथा- खुुशी -खगेन्द्र बस्याल
२. दोश्रो लघुकथा- गुरु -डाक्टर कुसुमाकर शर्मा गौतम
३. तेस्रो लघुकथा- चुँडिएको मुटु -मित्र 'उराठी'
४. चौथो लघुकथा- परिघटना -सुनिता निरौला पौडेल
५. पाँचौ लघुकथा- टोपीको ओज -निर्मला बराल
+++
१. साहित्यकार निर्मला बरालको रोजाइमा परेको पहिलो लघुकथा- खुुशी -खगेन्द्र बस्याल
जिल्लास्तरीय निबन्ध प्रतियोगितामा सान्त्वना पुरस्कारमा नाम आउँदा रमेशको खुशीको सिमा नैं थिएन ।
त्यो देखेका एकजना अर्को बिद्यालयका शिक्षकले उसलाई बोलाएर भने" तिमी गतसाल यस्तै प्रतियोगितामा द्वितीय भएका थियौ ।यसपटक प्रथम हुनुपर्ने पालो थियो ।नतिजा उल्टो आयो तर पनि यतिबिघ्न खुशी हुनुको कारण के हो?"
उसले भन्यो" गतसाल नतिजा घोषणा हुँदा मलाई कस्तो देख्नु भएको थियोे र?"
तिनले जवाफ दिए "अनुहारमा कुनै उज्यालो पना थिएन।""
उसले सोध्यो " यस्तो देख्दा अरुले के सोचेको पाउनु भएको थियोे नि!"
तिनले भने" प्रथम हुन नपाएको पीडा होला।"
उसले भन्यो " तपाईंले गलत सम्झनु भएको रहेछ।तर पीडित भने अवश्य थिएँ।"
तिनले अचम्म मान्दै सोधे " तपाईंले अनौठो कुरा गर्नु भयो ।मैले बिश्वास गर्ने किसिमले जवाफ दिन सक्नुहुन्छ!"
उसले एकान्तमा लगेर भन्यो" गत साल नेपाली बिषयका शिक्षकले लेखिएको थियो भने यसपटक म आफैे लेखेको थिएँ।आफ्नै पौरखको नतिजाको आनन्द बेग्लै हुँदोरहेछ सर!"
तिनी यो कुराले केही सोचमग्न थिए।तिनी बोल्न नभ्याउँदै उसले भन्यो " बिद्यार्थीको नाममा शिक्षकहरूबीचको प्रतियोगिताको नाटक कहिले सकिने होला,जसको कारण वास्तविक खुशी देख्न पाउनबाट कतै हामी बञ्चित हुनु परेको त छैन !"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८० जेठ २१
---------------------------------------------------
आदरणीय खगेन्द्र बस्यालज्युको "खुशी" लघुकथा निर्मला बराललाई मन पर्नुको कारण यस्तो छ-
आफुुले जीत हासिल गर्न सधैभरी अर्काले दौडाएर पुर्याएको भन्दा आफ्नो बाटो आफैले बिस्तारै हेडेर जीत्नसक्दा नै आत्मसन्तुष्टि हुन्छ।
त्यस्तै अर्काको भरमा अगाडि बढ्नुभन्दा आफ्नै बुद्धिले अगाडि बढेको राम्रो हुन्छ। आफ्नो भविष्यको भाग्य निर्माता आफै बन्न सकिन्छ, अर्काको श्रेय बन्नुपर्दैन भनेर बोलेको छ यस "खुशी" लघुकथाले । यसकारण मलाई यो लघुकथा मन परेको हो।
-----------------------------------------------‐-----------
२. साहित्यकार निर्मला बरालको रोजाइमा परेको दोश्रो लघुकथा- गुरु -डाक्टर कुसुमाकर शर्मा गौतम
क्यानडा को एडमन्ट शहर।
क्षितिज चन्द्रलाई आफूले सानोमा पढेको विद्यालयका गुरुहरू भेट्ने उत्कठ इच्छा थियो। धेरै वर्षपछि विद्यालयले आयोजना गरेको पुनर्मिलन समारोहमा भाग लिन उनी गाउँमा पुगे।
दशकौँपछि विद्यालय जाँदा त्यहाँको वातावरण अर्कै थियो। पुराना शिक्षकहरू रिटायर भइसकेका थिए। आफूले एस.एल.सी. परीक्षाको रिजल्ट कुरेको बेलामा सोही स्कूलमा पढाएका विद्यार्थीहरू नै शिक्षक रहेछन। समारोहमा केही पुराना विद्यार्थीहरूसँग भेट भयो। पुराना कुराको ताजा स्मरण भयो। सबै खुशी भए।
मञ्चमा क्षितिज चन्द्रलाई दुईचार शब्द बोलिदिन आग्रह गरियो। उनी मञ्चमा उक्लिनु अगाडि दर्शकपट्टी फर्केर हेरे। दर्शकदीर्घामा क्षितिज चन्द्रले उनलाई कखरा सिकाएका गुरुलाई देखे। क्षितिज चन्द्रले गुरुलाई देख्ने बित्तिकै गुरुको नजिक गए। गुरुलाई उनले सादर प्रणाम गरे र आफूसँग भएको दोसल्ला ओढाइदिए। गुरु र शिष्यका आँखामा आँसु थिए।
कार्यक्रम सकिएपछि पत्रकारले गुरुलाई सोधे, "क्षितिज चन्द्र जस्ता देशकै प्रतिष्ठित व्यक्तिले आज तपाईँलाई ढोग्दा कस्तो लाग्यो?"
सँधै शालीन गुरुले शान्त भावमा भन्नु भयो, "गुरुहरूले सिकाउने भनेको आचरण र संस्कार हो। त्यो सिकेका विद्यार्थीले गुरुको सम्झना गर्छन र सम्मान गर्न पनि अगाडि सर्छन। गुरुको चाहाना नै के हुन्छ र? जति नै ठूलो मान्छे भए पनि हामीले पढाएका विद्यार्थीले हामीलाई जिन्दगीभर सम्झिदिए हामी खुशी हुन्छौँ।"
----------‐---'-------------------------------
आदरणीय डाक्टर कुसुमाकर शर्मा गौतमज्युको "गुरु" शिर्षक लघुकथालाई निर्मला बरालले मन पराउनुको कारण यस्तो छ।
जीवनको पाईलासंगै सिडी चढ्दै गर्दा हामीलाई शिक्षा,दीक्षा दिएर जीवन उपयोगी सीप सिकाउनु हुने गुरुहरूलाई हामी जतिसुकै ठुलो अहोदामा पुगे पनि हामीहरूले वहाँहरूलाई सधै सम्मान गर्नुपर्दछ। गुरुको योगदानलाई कहिल्यै बिर्सनुहुन्न भन्ने सकारात्मक सन्देश दिएको छ । गुरुहरूको ज्ञानलांई भयसरी आउने पिढीहरुलाई गुरुलाई सधै ईज्जत र शिष्ट व्यवहार गर्नुपर्छ भनेर यस लघुकथाले बोलेको छ। त्यसैकारण मैले यो लघुकथालाई पराएकी हु।
----------------------------------------------------
३. साहित्यकार निर्मला बरालको रोजाइमा परेको तेस्रो लघुकथा- चुँडिएको मुटु -मित्र 'उराठी'
"छ्या के हेरेको त्यसरी ? अरुले देखे के भन्लान ?" निक्कीले लजाउँदै भनि।
"एकैछिन पर्ख न। यसरी नै घण्टौँ हेरिरहन देऊ, मलाई। जति हेर्दा पनि धित् मर्दैन त।" दिप्सनले आशक्ति भाव प्रकट गर्यो।
"धित्मरुञ्जेल हेर्न त त्यो बेला हिम्मत गर्नु पर्थ्यो नि ।अहिले पछुताएर के गर्छौ ? समय आउँछ पर्खदैन, बगेको खोला फर्कदैन त्यसै भनेको हो र ?´" सान्त्वना दिँदै सम्झाउन खोजी निक्कीले।
"म विवश थिएँ निक्की। जातिय कुरा उठाएर मलाई घरमा बोल्न नसक्ने बनाए। मैले आवेशमा आएर विद्रोह गर्न सकिन। एकातिर मेरा आमाबाबु, मेरो परिवार, समाज थियो। अर्कोतिर तिमी र तिम्रो निर्मल प्रेम।साँच्चै त्योबेला आत्महत्याको नजिक पुगेको थिएँ।" लाचारीपन प्रकट गर्यो दिप्सनले।
"जो नहुनु थियो भै सक्यो। अब तिमी तिम्रो बाटो लाग। राम्रोसँग घरजम गर, बस।म पनि समयको हुरीसँगै नियतिको जहाजमा जहाँ पुगिन्छ त्यतै जाने छु।अब चिन्ता गरेर केही हुँदैन, धैर्यता लेऊ।" ढाडस दिन खोजी निक्कीले।
"हैन् निक्की, तिमी बिना बेचैन हुन्छु म। तिमीलाई यही देउरालीमा भेट्न सधै आइरहन्छु। मलाई छोडेर कतै नजाऊ। तिमी बिना म बाँच्न सक्दिन।" जिद्दी बालक जस्तै बोलिरह्यो दिप्सन।
"भावनामा डुबेर संसार चल्दैन लाटा। तिमीलाई प्रश्न उठाउने समाजले मलाई छोड्छ त ?" निक्कीको भरिएको आँखासँगै बोल्न खोजेको वाक्य हिक्काले घाँटीबाट बाहिर निस्कन दिएन।
- मित्र 'उराठी' गौतम, तिलोत्तमा -२,
--------------------'-----------------------
आदरणीय, मित्र 'उराठी' गौतमज्यूको लघुकथा निर्मला बराललांई यस करणले मन परेको हो।
प्रेम भनेको एक पवित्र नदी हो। तर समाजमा जातीय विभेदले गर्दा ,सच्चा प्रेम गर्नेहरुलांई , प्रेममा कुण्ठित हुनुपरेको छ। यदि प्रेमी र प्रेमीकाले बिवाह गरेता पनि जात नमिलेकै कारण ,आफ्नो परिवार र समाज संग नाता तोड्नुपर्ने यथार्थ चित्रण ,"चुँडिएको मुटु" लघुकथामा चित्रण गरिंएको छ।
प्रेमीले आत्महत्या गर्ने सम्म सोचेको हुन्छ। तर प्रेमीकाले सम्झांउछिन। एक क्षणको आवेशमा आएर भावनामा डुबेर संसार चल्दैन। समाजले एउटालांई उठांउने पश्न अर्कोलाई पनि उठांउछ। जातिय विभेदको कारण ,परिवार र समाजको डरले निक्कीले आफ्नो आफ्नो बाटो लिऊ भन्ने बाध्यता हुन्छिन। मनका प्रेमील भावलाई बोल्न नसकेर कुण्ठित भंएका छन । कुण्ठित हुनु परेको पवित्र प्रेमले समाजलाइ प्रश्न, गरेको छ। यस लघुकथाले। त्यसैले यो "चुँडिएको मुटु" लघुकथा मन परेको हो।
-----------------------------------------------------
४. साहित्यकार निर्मला बरालको रोजाइमा परेको चौथो लघुकथा- परिघटना -सुनिता निरौला पौडेल
"ऐयाआमा ! कस्तो नराम्ररी लडेँ ।" म उठ्न खोजेँ,तर सकिनँ । सडक पेटीमा हिँड्दैगर्दा अचानक खुट्टा अल्झियो। फर्केर हेर्दा तारहरु पो भुइँमा छरपस्ट भएका थियो । घुँडा बेस्सरी बजारिएछ, धेरै दुख्यो । एकछिन् त उठ्न खोजेँ तर सकिनँ ।
पेटीमा हिँड्दै गरेकी एउटी बहिनीले मलाई उठाउँदै भनिन्,
" कति महिना भई सक्यो ,यो तार पेटीमा छरपस्ट भएको ।"
"अस्ति पनि एकजना बृद्धा आमा लडेर खुट्टा नै भाँचिएको थियोे ।" उनी आक्रोशित हुँदै "अहिले सम्म उठाउन सकेका छैनन् भन्दै गुनासो पोखिन् ।पोख्नु त कसमाथि थियो र ? गुनगुनाइन् । "कहिले सम्म यसरी हिँड्ने पेटीमा पासो बनाएर राखेका ! ।" उनी अगाडि बढिन्। म आफ्नो खुट्टालाई अलि सम्हाल्दै उठ्दै थिएँ ।
पछाडिबाट आवाज आयो ; " शिला "भनेर बोलाएको सुनेँ।
मैले फर्केर हेर्दा त बचपनकी साथी पारु पो रहिछन् ।
"अरे शिला ! तिमी यहाँ ?" भनी अचम्म हुँदै एक अर्कामा अँगालो हाल्यौँ।हामी साथी धेरै वर्षमा भेट भएको थियौं ।
मैले आफ्नो खुट्टामा भएको पिडा पनि बिर्सिएँ।एक आपसमा कुराकानी गर्दै गयौं । मैले उनको बारेमा सोधेँ। " तिमी के। काम गर्छ्यौ नि पारु ?"
" म त समाजसेवी ।" समाजमा सेवा गर्दै हिँड्छु। " उनलेे भनिन् ।
" तिम्रो श्रीमान् के गर्ने नि ?" मेरो श्रीमान् त नेता ,अलिक दिनमा उहाँ मंत्री बन्दै हुनुहुन्छ।" ए! ए! अनि घर कहाँ हो नि तिम्रो ?"भनेर फेरि प्रश्न तेर्स्याएँ।
" उ त्यो परको घर भनिन् ।" त्यसपछि मलाई आफ्नो परिचय पनि दिन मन लागेन।
उनले देखाएको घर अगाडि पो म लडेको रहेँछु । उनीसँग बिदा भएँ र खुट्टालाई अगाडि बढाउँदै मनमनै सोच्न थालेँ ;
सायद त्यो ठाउँमा पारु लडेको भए ; समस्या समाधान हुन्थ्यो होला ?
‐------------------------------------------------
निर्मला बराललाई सुनिता निरौला पौडैलको शिर्षक "परिघटना" लघुकथा मनपर्नुको कारण यस्तो छ।
जनताको अगाडि प्रण गरेेर जनताले नै चुनावमा जिताएर पठाएका मानिसहरू ओहोदाको कुर्सी मात्रै ओगट्छ। जनतालाई दिंएको वचन , गाउँ समाजको निर्माणको बिकाशमा ,बिग्रेको ,भताभुङ्ग भएको , बनांउने , सपार्ने नगरी आफ्नो कर्तव्यलाई वास्ता गर्दैनन। जस्तै बाटोभरी, बिजुलीका तारहरु आफ्नै आँखा छेउ छरपस्ट हुदा पनि त्यस्लांई ब्यवस्थापन नगर्दा , कसैको, हिडदा दुर्घटना हुन्छ। यदि आफ्नो मानिसको ,घरपरिवारको त्यस्तै घटना भएको भए , पक्कै त्यसको ब्यवस्थापनतिर जाने थिए होलान। अहिलेको समय सान्दर्भिक अवस्थालाई उठान गरेको छ ,यस लघुकथाले । ओहोदामा पुगेकाहरुलांई झक्झकांएको छ ,यस लघुकथाबाट। त्यसैले मलाई "परिघटना" लघुकथा मन परेको हो ।
-------------------------------------------------------------
५. साहित्यकार निर्मला बरालको रोजाइमा परेको पाँचौ लघुकथा- टोपीको ओज -निर्मला बराल
भक्तपुर सानोठिमी
टोपी दिवसको उपलक्ष्यमा आयोजित एउटा कार्यक्रममा उनले अतिथिको रुपमा उपस्थिति जनाउन पुग्नु पर्ने थियो । तर कसो कसो के ले के ले गर्दा उनलाई जान अबेला भैरहेको थियो । शिरमा ढाका टोपी मिलाउँदै मिलाउँदै उनी हस्याङफस्याङ गर्दै बल्लतल्ल कार्यक्रममा पुगे । त्यहाँ पुग्दा कार्यक्रम पहिले नै शुरु भैसकेको थियो ।
अतथिहरुको मन्तव्यको क्रम चल्दै थियो । एकैछिनमा उनकोपनि मन्तव्य राख्ने पालो आयो । उनी मञ्चमा उक्लिएर माइक समाते अनि बोल्न थाले ।
“नमस्कार ! सर्वप्रथम त माफी चाहान्छु ढिलो भएकोमा ! वास्तवमा म समयमै आउन चाहान्थे तर के गर्नु टोपी मिलाउँदा मिलाउँदै ढिलो भयो । टोपी लगायो, भुइँमा खसिहाल्ने ! फेरि लगायो, फेरि खसिहाल्ने ! यो क्रम धेरैबेरसम्म चलिरह्यो । आखिरमा, मैले शिरको टोपी हातले समाएरै बाटैभरी टोपीलाई वाचा गर्दै आएँ । मैले वाचा गरें–म इमानदार अनि कर्तव्यनिष्ठ रहनेछु । सबै जातजाति, भाषा, धर्म, पेशाको सम्मान गर्नेछु । देशको संस्कृति, परम्परा, पहिचान, मुल्य मान्यता, सम्पदाको जगेर्ना गर्नेछु, अत्मनिर्भर बन्नेछु, भौगोलिक अखण्डताकोलागि दिलोज्यान दिनेछु, देश र जनताको रक्षा गर्नेछु............।
खासमा भन्नुपर्दा हजुरहरुले मेरो शिरमा देखिरहनु भएको ढाका टोपी अहिले बल्ल गह्रौं भएर मेरो शिरमा ढल्किन सकेको छ............।”
‐----------------‐---------‐-‐--------------
निर्मला बराललाई आफ्नै लघुकथा शिर्षक "टोपीको ओज" मन पर्नुको कारण यस्तो छ।
आफ्नो राष्ट्रियता बिर्सदै गएको अवस्थामा कथाले भन्न खोजेको छ। शीरको टोपी भनेको नेपालीको पहिचान र राष्ट्रियता हो। पहिचान र राष्ट्रियता झल्काउन सकेन भने टोपी शिरमा लगांएर मात्र हुँदैन। राष्ट्रिय बिपरित काम गर्ने भष्टचारी गर्ने, देशद्रोहीले टोपीको ओज घट्छ। टोपी लगाउदा जति हल्का हुन्छ, त्यत्ति नै त्यस भित्रको ईमान्दार र कर्तव्यनिष्ठ भएर,देशको जातजाति भाषा धर्मको सम्मान बुझाउछ । देशको संस्कृति परम्परा पहिचानको मूल्य मान्यता र सम्पदाको जगेर्ना गर्दै आत्मनिर्भर पनि बन्नु हो। देश र जनताको रक्षा गर्नुपर्दछ , भनी प्रण गरेपछि मात्र, शिरमा टोपी भारी भ्एर अढिएको हुन्छ।
देखावटी मात्र बन्नु आफैंलाई तल पार्नु हो। हृदयबाट ,नै आफ्नो गाउँ , समाज, देश र राष्ट्रियतालांई मान्नुपर्छ भन्ने सन्देश दिएको छ। त्यसैले "टोपीको ओज" लघुकथा मलाई मन परेको हो।
धन्यवाद। प्रेषित - २०८०|२| २७ गते शनिबार।
+++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद दिन्छु । अब यस कार्यक्रमका संयोजक खगेन्द्र बस्याल र सहजकर्ता नन्दलाल आचार्य लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । अर्को पटकसम्मका लागि म विदा चाहन्छु । नमस्कार । धन्यवाद ।
+++
+++

No comments:
Post a Comment