साहित्यकार सुनिता निरौला पौडेलको रोजाइका पाँच लघुकथा
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । आजको प्रस्तोता म हुँ– लक्ष्मी रिजाल & विद्यानन्द वेदर्दी । त्यसै गरी अरु बेला यस कार्यक्रमलाई लक्ष्मी रिजाल, गजल आचार्य, प्रतिमा सिंह र कामना आचार्यहरुले सञ्चालन गर्दै आउनुभएको छ । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ ।
यस कार्यक्रमकी संयोजकमा लक्ष्मी रिजाल रहनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल रहनुभएको छ । बेलाबेलामा लघुकथा विमर्शमा खगेन्द्र बस्याल, रमेन्द्र कोइराला, मनोहर पोखरेल, निरज कोइराला, ललिता झा, अम्बिका बास्तोला लगायतका महानुभाव हुनुहुन्छ । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।
सुनिता निरौला पौडेलको रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथाक्रम यस्तो छ–
१. पहिलो लघुकथा : उस्तै फरिया –गुरुदत्त ज्ञवाली
२) दोश्रो लघुकथा- सदुपयोग -बिष्णु उप्रेती
३) तेस्रो लघुकथा : मन्दिर ✍️शान्ता तिम्सिना
४) चौथो लघुकथा : सिफनको सारी ✍️खेमराज पोखरेल
५) पाँचौ लघुकथा : मुल्याङ्कन : सुनिता निरौला पौडेल
१. सुनिता निरौला पौडेलको रोजाइमा परेको पहिलो लघुकथा :
लघुकथा- उस्तै फरिया –गुरुदत्त ज्ञवाली
दिनेश र उनका साथी, विशेष कामले बुटलवलबाट पोखरा गए । उनीहरूले आ– आफ्ना श्रीमतीलाई फोनबाटै जानकारी गराएका थिए । उनीहरू दुबैजना एउटै अफिसमा कर्मचारी थिए ।
पोखराको कार्यक्रम सकिने दिन, छोराछोरी र श्रीमतीलाई उपहार लगिदिने भनेर मेलामा गए । रमाइलो मेला चलेको रहेछ । अरु त के के किने, थाहा भएन । एकेकवटा सारी किने । संयोग होइन बरु घनिष्ट मित्रताको कारणले एउटै मुल्य र उस्तै डिजाइनको रोजे । उनीहरू आफैले पनि उस्तै उस्तै लुगा किने ।
दुबैजनाका श्रीमती, उनीहरु पनि कर्मचारी हुन् र मिल्ने साथी पनि । यद्यपि, कार्यालय र पद भने फरक हो । साँझ पतिहरू घरमा आए । उपहार भनेपछि खुल्दुली हुन्छ, तुरुन्तै खोलेर हेरे । सबै कुराले राम्रा थिए लुगा । छोराछोरी रमाए । श्रीमती मुस्कुराए । अनि दिनेशले भने, “साथीको पनि यस्तै हो । सेम टु सेम । हामी सल्लाह गरेर किनेको । आखिर तिमीहरू पनि त मिल्ने साथी हौ ।”
श्रीमतीको अनुहारमा भुनुनुनु कालो भमरो नाच्यो र उसैले भन्यो, " हुन्न हो हुन्न उस्तै फरिया त ! कहाँकी ऊ, कहाँकी म । यो पनि उसैलाई देउ ।"
तिलोत्तमा १, रुपन्देही
+++
सुनिता निरौला पौडेलको रोजाइमा पर्नुको कारण :
गुरुदत्त ज्ञवाली सरले लेख्नुभएको लघुकथा : "उस्तै फरिया "मेरो रोजाइमा पर्नुको कारण आफुँभन्दा ठुला पदले साना पदलाई जतिसुकै मित्र बनाए पनि आफ्नो औकातको बडप्पन लुकेको सामन्तवाद यो कथामा पाएँ।
+++
२) सुनिता निरौला पौडेलको रोजाइमा परेको दोश्रो लघुकथा- सदुपयोग -बिष्णु उप्रेती
हजुर बा ,अाज मलाई बीस रुपियाँ दिनुन ल ।स्कुलमा चट्पटे खान ।" स्कुल जान ठिक्क परेकी नातिनीले रबिकान्तक संग भनी।
" याे नातिनीले पनि मेराे बृद्धभत्ता अाएकाे थाहा पाईछे " भन्दै उनी उठेर काेठातिर लागे। गएर सिरानी पल्टाए ।त्याहाँ पैसा थिएन।छक्क परे। एकछिन सम्झे,। हैन मैले पैसा त यहि राखेकाे त कता गएछ,मनमनै भन्दै उनले छापछाप्ति खाेजे । अँहा काहिँ भेटिएन। अध्यारो अनुहार लाएर फर्केर हेरे ,नातिनी गैसकिछे।।
मनमा अनेक कुरा साेच्दै , बुहारीलाई बाेलाए
।ए ..बुहारी ... ए सुभद्रा ....।
" हजुर...बुबा, किन बाेलाउनु भयाे?" बुहारिकाे अावाज अायाे।
हेरन ,हिजाे मैले बृद्धभत्ताकाे पैसा ल्याएर यहि सिरानी मुनि राखेजस्ताे लाग्छ, ऐले खाेज्दा कतै छैन"।
"ए .... बुबा ,हजुरलाई मैले भन्नै बिर्सिएछु। ठिक्क उतिबेला बिजुलीको बिल उठाउने मानिस अाएछ ,मैले हजुरकै पैसा दिएर पठाएँ।घरभाडाकाे पैसा अाए पछि बुबाको पैसा फिर्ता गरिहाल्छु भन्ने लाग्यो अनि।"
रबिकान्त मज्जले हाँसे
किन मज्जाले हास्नु भयाे त बुबा।
खुसि लाग्यो ,याे बृद्धभत्ताकाे पैसापनि ब्यबहारमा सपुपयाेग भएकाे देखेर।
२०७९/११/१२
बिर्तामोड झापा ।
+++
सुनिता निरौला पौडेलको रोजाइमा पर्नुको कारण :
बिष्णु प्रसाद उप्रेती सरले लेख्नुभएको लघुकथा : "सदुपयोग "मेरो रोजाइमा पर्नुको कारण , आफ्नो जीवनको अन्तिम अन्तरालमा पनि परिवारले आफुलाई सदुपयोग गरेको भनी सुन्दर तरिकाले सामाजिक यथार्थ चटारो हानेको सन्देश छ।
++++
३) सुनिता निरौला पौडेलको रोजाईमा परेको तेस्रो लघुकथा :
लघुकथा: मन्दिर ✍️शान्ता तिम्सिना
``महारानी कोठामै बसिरहने , म भने एक्लै नोकरले जस्तो काम गरिरहनु पर्ने ? आजबाट म एक्लै बस्छु।" जेठी बुहारी हेपाइ सहन नसकेर कराइन् । हुन पनि कान्छी बुहारीलाई उनले टाउकोमा चढाएकाले त्यसको परिणाम आज सुन्नु पर्यो । जेठी बुहारीले अडान छाडिनन् । नुनदेखि सुनसम्म अंश भयो । ।बाबा आमाले कान्छासंगै बस्ने निधो गरे ।
एउटै परिवारमा जन्मिए पनि सबैको भाग्य कहाँ उस्तै हुन्छ र ? एकै ठाउँ बनेको इँटा पनि कुनै मन्दिरमा सजिन्छ , कुनै चर्पीमा । जेठाको परिवार मिहिनेती हुनाले निकै प्रगती गर्दै गए । घर , गाडी सबै जोडे तर कान्छोले बाबा आमाको जिउनी सहित बेचेर सपरिवार विदेश लाग्यो ।
बाबा आमाको अवस्था दयनीय भयो । लामो समयसम्म बोलचाल बन्द भए पनि जेठा छोरा बुहारीले त्यो दु:ख हेर्न सकेनन् ।आफ्नो घरमा लगे। कान्छाको आशमा बाँचेका बाआमालाई यसबेला लज्जाबोध भयो । बृद्धाश्रममा बस्ने इच्छा प्रकट गर्दै थिए तर जेठी बुहारीले कुरा काट्दै भनिन् , `` आज म धेरै खुसी छु। जिउदो भगवान् पाएको छु । अब , यो घर होइन, पवित्र मन्दिर हो, आमा ! ´´
भक्तपुर : सिर्जनानगर ।
+++
सुनिता निरौला पौडेलको रोजाइमा पर्नुको कारण :
शान्ता तिम्सिना बहिनीले लेख्नुभएको लघुकथा :" मंदिर "मेरो रोजाइमा पर्नुको कारण, हामी छोराछोरीको लागी मन्दिरको देवता समान आमाबाबा हुनुहुन्छ भन्ने सन्देश पाएँ।
+++
४) सुनिता निरौला पौडेलको रोजाइमा परेको चौथो लघुकथा :
लघुकथा : सिफनको सारी
✍️खेमराज पोखरेल
एक्लो छोराको एक्लो नाति थियो ऊ । लाडिएको थियो, हजुरआमा सधैं उसकै पक्षमा लिनुहुन्थ्यो।
"त्यो दूधको तर नातिलाई "
"नातिलाई धानको भात"
लाउन खानलाई सधैँ रोजाको वित्यो बाल्यकाल । हजुरआमा प्रायः हरेक महिना जस्तो नातिको चिनालिएर ज्योतिषीकामा जानुहुन्थ्यो।
यो बाबुको ग्रह साह्रै राम्रो छ धेरै पढ्छ ,ठुलो मान्छे हुन्छ, राजयोग परेको छ ।
राजाको भित्रिया हुन्छ ,कूलको नाम राख्छ ,ज्योतिष बाजे चामल र मालभोग केराको टपरी तथा रुपैयाँका ढ्याकहरु हेरेर मुस्कुराउँथे।जुनसुकै काम बिगारेपनी नातिलाई कसैले गाली गर्न हुन्नथ्यो।बेला बेलामा हजुरआमा नातिलाई काखमा लिएर श्लोक वाचन गर्नुहुन्थ्यो :
"यो छोरा बढ्ला ,कमाइ गर्ला ,दुधभात देला मलाई "
लोकसेवा पास गरेर जागिर खान घरबाट टाढा जानुपर्थ्यो।जागीरबाट आउँदा उहाँ हजुरआमालाई केही न केही खानेकुरा ल्याईदिन्थ्यो उसले ।
" एकदिन हजुरआमाले उसलाई भन्नुभयो : " म गए फागुनमा अस्सी बर्षको लागेँ।जीवनको के भर छ र?अब बिहे गर्नुपर्छ बाबू,तिम्रो बिहेमा राम्रो सिफनको सारी लाउने रहर छ।"
"अहिले के बितेको छ हजुरआमा?अलिकति पढाइ बाँकी छ,जागिर पनि अलि राम्रो हुन पर्यो नि "
" होला बाबु ,म नपढेकीले के थाहा पाउनु?"हजुरआमाको आँखा उदासी देखिन्थ्यो ।
जागीरमै एकाएक खबर आयो ।"हजुरआमा सिकिस्त हुनुहुन्छ।"
घर पुग्दा हजुरआमालाई बाहिर खाटमा राखिएको थियो।डाक्टरले फिर्ता पठायो भन्थे घरका मान्छेले ।क्लान्त देखिनुहुन्थ्यो।वर्किन फर्किन गाह्रो थियो , उ हजुरआमा नजिकै गयो।
" हजुरआमा म आएँ।"
"-------"उहाँले विसफारित नेत्रले हेर्नू मात्र भयो।
उसले झट्ट सम्झ्यो,हजुरआमाको रहर।उ भन्न चाहन्थ्यो :
" हजुरआमा पल्लो गाउँका गुरागाईकि छोरी दिईरहेका छन् ,म बिहे गरौं ?नातिको बिहेमा सिफनको सारी लाउने भनेको होइन " उसका आँखा रसाएका थिए।
हजुरआमाले बोल्न खोजे जस्तो देखिन्थ्यो।लामो लामो श्वास फेर्न थाल्नुभयो।एकैछिनमा श्वास रोकियो।सबै रुन कराउन थाले ।राम --- राम----हरे राम --- हरे राम -----।
बसुन्धरा ,काठमाडौ ।
हाल - अमेरिकामा बसाई ।
++++
सुनिता निरौला पौडेलको रोजाइमा पर्नुको कारण :
खेमराज पोखरेल सरको लघुकथा-"सिफनको सारी"मलाई मनपर्नाको कारण आमा बाबाले आफ्ना संतानलाई माया गर्दै आत्मनिर्भर र स्वावलम्बी बनाउनुपर्छ ,अनि मात्रै उ सक्षम बन्छ ,समयले कसैलाई पर्खँदैन भन्ने घतलाग्दो शिक्षा कथामा पाएँ।
+++
५) सुनिता निरौला पौडेलको रोजाइमा परेको पाँचौ लघुकथा :
लघुकथा :"" मुल्याङ्कन ""
लघुकथाकार : सुनिता निरौला पौडेल
" खै ? केही लेख्नलाई पनि मन लाग्न छाड्यो अब !" आफ्नो लेखाईलाई अगाडि बढाउन खोज्दा राम्रो छ भन्ने साथ र हौसला कसैबाट पाईँदैन, कहिले पनि !" खुईइय गर्दै उसले भन्यो।
"किन हरेस खाको माईला दाई " "राम्रो छ त तिम्रो साहित्य लेखन।निरन्तरता देउन ! अरूले औल्याएर देखाउनु, त आफ्नै लागि राम्रो हो नी!"
" सबै रचनाहरुको भाव राम्रो लाग्छ तिम्रो , मात्रै खारीन बाँकी छ !अभ्यास गर, बकुल्लाको दृष्टिले, सफलता मिल्नेछ एकदिन!हरेस खानु भनेको आफू हार्नु हो।तिमीमा धेरै प्रतिभा छ ! तर मेहनतले एकदिन अवश्य सफलता मिल्नेछ ।"
साथीको हौसलाले कलम अगाडि बड्यो मेरो ।
" मोबाइल र कापी कलम अगाडि राखेर मात्र हुन्छ ! घरमा कत्ति काम लथालिङ्ग छन् ।" अरु काम छैन छोरा तेरो , आमाको गनगन सुरु हुन्छ उताबाट ।" " गर्छु ,आमा सबै काम एकैछिनमा ।" उसले हाँसेर भन्यो ।"
" मैले एउटा रचना पोष्ट गरेको छु ! कस्तो परिणाम आउने हो!" साथीलाई सुनायो उसले !"
साथीले भन्यो: " हामी सबैले आफ्नो भाग्य लिएर जन्मिएका छौँ ।समय आएपछि चम्कन्छ एकदिन, चिन्ता नगर !"
एकाबिहानै फोन आउँछ,"कस्को फोन हो ?"भनी उठाए !माईला दाजुले ।
" अस्तिको, "हाम्रो साहित्यिक" कार्यक्रममा तपाईंको रचना उत्कृष्ट भयो। समयमा आएर पुरस्कार लिनुहोला ।"
भक्तपुर - राधे ,राधे निकोशेरा ।
++++
सुनिता निरौला पौडेलको रोजाइमा पर्नुको कारण :
सुनिता निरौला पौडेलको लघुकथा "- मुल्यांकन"मनपर्नाको कारण ,आफ्नो लगनशील र मेहनतले अवस्य एकदिन सफलताको सिखरमा पुगीन्छ ,पृथ्वी गोलो छ भन्ने सन्देश पाएँ ।
मिति - २०८० - ०२ - १२ गते ।
++++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यलाई प्रेम गर्नेहरुलाई हार्दिक धन्यवाद दिँदै अर्को पटकसम्मका लागि विदा चाहन्छु ।
2 comments:
बहुत खुब । बधाई छ ।
धन्यवाद छ ।
Post a Comment