लघुकथाक्रम–
१. लघुकथा– नमस्कार –लक्ष्मी रिजाल
२. लघुकथा– हित –लक्ष्मी रिजाल
३. लघुकथा– बा –लक्ष्मी रिजाल
४. लघुकथा– रुखपूजा –लक्ष्मी रिजाल
पाठकीय टिप्पणी- लक्ष्मी रिजालको लघुकथा ’रुखपूजा’ माथि एक नजर –लक्ष्मीप्रसाद पौडेल
५. लघुकथा– अघिपछि –लक्ष्मी रिजाल
६. लघुकथा– जिन्दावाद र मुर्दावाद –लक्ष्मी रिजाल
७. लघुकथा– प्रौढखेल –लक्ष्मी रिजाल
८. लघुकथा– राजनीति – लक्ष्मी रिजाल
९. लघुकथा– खाना –लक्ष्मी रिजाल
पाठकीय टिप्पणीसहित लक्ष्मी रिजालका उत्कृष्ट एक दर्जन लघुकथा
१. लघुकथा– नमस्कार
–लक्ष्मी रिजाल
विहान रमरम अध्यारामै डुल्न निस्कँदा शिव मन्दिर बाहिर कालो मुढो देखियो ।
सोचेँ– भित्र भगवान् बस्छन् । बाहिर मुढोलाई पाले बनाएछन् ।
नजिकै पुग्दा ‘नमस्कार हजुर’ भन्ने आवाज आयो । मैले टक्क अडिएर चारैतिर नजर लगाएँ । भित्र भगवान् जडबत थिए । बाहिर त्यही कालो मुढो टुक्रुक्क बसेको थियो । नजिकै नन्दी स्थिर रूपमा थिए ।
म छक्क पर्दै मन्दिर परिक्रमा गर्न थालेँ । मुढो नजिक पुगेपछि फेरि उही आवाज आयो– ‘नमस्कार हजुर ।’
कतै केही ठम्याइनँ । मेरो भक्तिबाट अति प्रसन्न भएर भगवानले पो आदरसूचक अभिवादन गरेको हो कि भन्ने भ्रममा एकै क्षण अल्झेँ । फेरि घुम्दा पनि उही आवाज आयो ।
नियालेर हेरेको त मच्छडबाट बच्न थोत्रो कालो कम्मल ओडेर सिल्भरको कचौरा थापिरहेका माग्ने बाजे पो रहेछन् जसलाई म कालो मुढो ठानिरहेकी रहेछु ।
२०७९–०३–०९ कञ्चनरूप नपा. १२ प्रगतिटोल, रूपनगर, सप्तरी ।
+++
२. लघुकथा– हित
लक्ष्मी रिजाल
‘तिमी लोभी त थिइनौ । के सारो लालची बनेकी । आफैँले नै कमाउनु पर्याजस्तो ।’ पतिदेवको कुराले मेरो अन्तस्करणलाई च्वास्स घोच्यो ।
मैले पनि अन्धाधुन्ध घुँयत्रो हान्दै जवाफ फर्काएँ; ‘कहिले लोभको जातै नभाकी भन्ने ! कहिले भने लोभले पुरिएकी ठान्ने ?’
‘ए बाबा, मेरो तलब बढेको छ । भुइँंतलाबाट माथिल्लो तलामा सरौँ न । खर्च बढ्दा आम्दानी पनि बढे त भइगयो नि ।’ अरू बेला पतिदेवको यस्तो भनाइ ठीकै लाग्थ्यो तर त्यस बेला मलाई पटक्कै मन परेन ।
अन्ततः हामी बीच अन्तरविरोध बढेर नाम्चेतिर लाग्यो । उनी आम्दानीका बलले मलाई झुकाउन चाहन्थे । म भने सुँगुरजस्तो शरीरलाई छरितो पार्न चाहन्थेँ । मनका सारा विकारलाई मिल्काउने डम्पिङसाइटको खोजीमा थिएँ । रोगरहित जीवनशैली बनाउन चाहन्थेँ । आफ्नो यस्तो मनोभावनामा कुठाराघात हुने आशयले टसमस भइनँ ।
हामी छुट्टिने मनसायमा पुग्यौँ । उनी ठूली छोरी च्यापेर दरबार जत्रो भव्य महलमा बस्ने भए । म सानी छोरीलाई मनाएर फुलबारीको झुपडीमै मुन्टो लुकाउने भएँ ।
केही घण्टापछि उनी लुरुक्क परेर मछेउ आए र प्रेमपूर्ण स्वरमा भने– आखिर किन तिमीलाई यिनै अर्काका बोटबिरुवा र सस्तो झुपडी मन परेको ?
मुसुक्क मुस्कुराएर एउटा लेख दिँदै भनेँ; ‘कारण सप्पै यसमै छ ।’
लेखिएको थियो– रुखबिरुवाले हाम्रो नेगेटिभ इनर्जी लिन्छन् र सधैँ हामीलाई पोजेटिभ इनर्जी दिन्छन् । नाङ्गो पैतालाले भुइँं स्पर्श मात्रैले पनि शरीरले अनगिन्ती फाइदा भेट्छ । अप्राकृतिक जीवनशैलीले मान्छे मोटाउँछ । मोटो शरीर रोगको घर हुन्छ । तसर्थ प्रकृतितिर फर्कनुमै सबैको कल्याण छ ।
२०७९–०५–०१ कञ्चनरुप–१२, रुपनगर, सप्तरी ।
+++
३. लघुकथा– बा
लक्ष्मी रिजाल
“छोरी, आइस् । माया गर्न सिकाइस् । माया पाउन सिकाइस् । अहिले आएर माया दर्साइस् । तैँले आफ्नो कर्तव्य जताइस् ।“ वृद्धाश्रममा मुन्टो लुकाइरहेका बाले बिबाह गरी पठाएकी छोरीसँग मन खोल्दै भने ।
“लोकाचार दर्साउन हैन । म त लिन आएकी ? अब म सधैँका लागि विदेसबाट फर्कें ।“ छोरीको यस्तो कुरालाई काट्दै बाले कटाक्ष गरे; “पुत्र र बधुहरू मिलेर मेरो चिहान खन्ने समेत खर्च दिएका छन् यहाँ । अब तँ गोत्र सरेकीलाई केही कर छैन ।“
“म पनि एउटै कोखमा बढेपलेकी हुँ । कोही विष निस्के । कतै अमृत निस्किन्छ ।“ छोरीले तर्क अघि सारिन् ।
“तँ अमृत होस् भने मेरा ती लठुवाहरूका सन्तानसँग टेक्ने, छेक्ने र परिआए सेक्ने लट्ठी मागिदे है ।“
बाका यस्ता कुरा सुनेर सकारात्मक जवाफका लागि मुन्टो हल्लाउँदै आजैका दिन निस्केकी छोरी वर्ष दिन भयो फिरेकी छैन । आज कुसेऔँशीका दिन कतै त्यसको अनुहार हेर्न पाउँछु कि भनी बा बाटो हेरिरहेका छन् ।
–कञ्चनरूप नपा १२, प्रगतिटोल, सप्तरी ।
+++
४. (सन्दर्भ– आमाको मुख हेर्ने दिन)
लघुकथा– रुखपूजा
–लक्ष्मी रिजाल
मेरी सँगिनी सरिता वरपरका रुखहरूमा पानी पटाउने मात्रै नभई पूजा समेत गरिरहेकी थिई ।’
‘मैले त्यसलाई चाखेँ । उसलाई छामेँ । सबै मतलबी पाएँ । बरू यसलाई पुज्न सके गाँस दिन्छ, बास दिन्छ, कपास दिन्छ, सास दिन्छ । हामीलाई यसभन्दा बढता अरू के चाहियो र ?’ रुखको फेदलाई अंकमाल गर्दै ऊ बरबराएको सुन्दा म छक्क परेँ ।
‘एई आज आमाको मुख हेर्ने दिन हो । आमाका कुरा गर् न । केको चुनावी कुरा गर्छेस् ?’ मैले दिक्क मान्दै प्रश्न थुपारेँ ।
‘म पनि आमाकै गुणगान गाउँदै छु । तैँले नबुझेको मात्रै हो ।’ उसको कथनले मेरो छातीमै मुक्का बज्रियो ।
‘लु त पुष्टि गर् त ?’ मैले चुनौती तेर्साएँ ।
उसले प्रष्ट्याउँदै भट्याई; ‘तँलाईं मेरो गोप्य रहस्य खोल्छु । म बिनाआमाकी छोरी हुँ । मेरा यी बाबुले होटलमा दूध पु¥याएर फर्कँदा सालनालसहित मलाई झाडीमा भेटेर घर ल्याएका रे । पछि बाबुले बिहे गरे । सन्तान भएनन् । कान्छी आमा ल्याए । मनको चाह पूरा भएन । नयाँ छउँजेल दुबै आमाले मलाई माया गरे । पुरानी हुँदै गएपछि मलाई कालो बिच्छी सम्झन थाले ।’
म छक्क परिरहेँ । ऊ थप्दी थिई; ‘तँ मेरी आँतकी साथी होस् । कसैलाई नभन नि !’
मैले टाउको हल्लाउना साथ मेरो बुद्धिको बिक्रो फुत्त खुल्ने गरी भनी; ‘हेर, मलाई त्यस रुख (झाडी)ले बाउ दियो, आमाको स्नेह र न्यानो दियो । अहिलेसम्म हर आवश्यकता पूरा गरिरहेको छ । त्यसैले आजदेखि मैले बुझेँ रुख नै मेरी आमा हो ।’
२०७९–०१–१७ कञ्चनरुप, सप्तरी ।
+++
पाठकीय टिप्पणी ः
लक्ष्मी रिजालको लघुकथा ’रुखपूजा’ माथि एक नजर
लक्ष्मीप्रसाद पौडेल
प्रारम्भ- कथाकार लक्ष्मी रिजालको बसोबास कञ्चनरूप – १२ सप्तरीमा रहेको छ । उनी लामो समय शिक्षण पेशामा आवद्ध रहेर शिक्षाको ज्योति फैलाएको बताउँछिन् । अहिले साहित्यिक गतिविधि र लघुकथा लेख्नमा उनको कलम निरन्तर चलिरहेको छ । फेसबुक पेजहरुमा पोस्ट भएका उनका लघुकथा हेर्दा, पढ्दा उनले रचना गरेका लघुकथा गहिरा छन् । सोझो बाटो घुमाएर दौडिएका छन्, भन्नु पर्दा साहित्यिक छन् । ’अहिलेको लघुकथा लेखनको ज्वलन्त समस्या र प्रवृति छोटोकथालाई लघुकथा भनिदिनु हो । ’ उनले आफ्ना लघुकथालाई छोटाकथा हुनबाट जोगाउन अथक प्रयास गरेको देखिन्छ ।
कथानक- आधुनिक नेपाली लघुकथा पेजमा ३० अप्रैलमा प्रेषित लघुकथा ’रुखपुजा ’ दुई युवती साथी, ’म पात्र’ (लेखक स्वयं) र सरिता बीचको रहस्यमयी वार्तालाप हो । जसको अन्त्य धेरैको कल्पना बाहिरको छ तर यो हाम्रो समाजको कटु यथार्थ बनेको छ । सरिता आफ्नो बगैंचा वरपरका रुखहरूमा पानी लगाउने क्रमसँगै पूजा गरेको भाव प्रदर्शन गरिरहेकी छे । मन्त्र उच्चारण यसरी गर्छे , ‘मैले त्यसलाई चाखेँ । उसलाई छामेँ । सबै मतलबी पाएँ । बरू यसलाई पुज्न सके गाँस दिन्छ, बास दिन्छ, कपास दिन्छ, सास दिन्छ । हामीलाई यसभन्दा बढता अरू के चाहियो र ?’ अनि रुखको फेदलाई अंकमाल (दण्डवत् ) गर्छे । उक्त दिन आमाको मुख हेर्ने दिन परेको छ । सबैले आफ्नी आमाको सम्झना, सम्मान गरेर दिवस मनाइरहेका छन् । तर साथी सरिता यसरी बहुरंगिएको देख्दा ’म’ पात्रलाई उदेक लाग्छ । तात्पर्य बुझ्न खोज्छे । सरिताले ऊ पनि आमाकै सम्झना र गुणगान गाइरहेको अर्थ्याउँदा कथानकले ’म’ पात्र सँगै पाठकलाई गम्भीर उत्सुकतातर्फ धकेल्छ । यहाँ कथ्यको रहस्यमयी गाँठो कस्न कथाकार अब्बल देखिएका छन् । म पात्रको उत्सुकता मेट्दै सरिता अगाडि बढ्छे । ’ ऊ एउटी बिना आमाकी छोरी हो ।’ बिना बाबुको छोराछोरीको कथा त धेरै भेटिन्छन् । तर ’बिना आमाकी छोरी’ पाठक थप कौतुहल हुन्छ । एउटा युवक जसलाई ऊ बाबु भन्छे , ले होटलमा दूध पु¥याएर फर्कँदा सालनालसहित उसलाई झाडीमा भेटाउँछ । घर ल्याउँछ । समयकालमा त्यो युवाले बिहे गर्छ । सन्तान नहुँदा दोस्रो बिहे गर्छ । स्वभावतः शुरुमा प्रेम पाउनु र पछि दुत्कारिनु यहाँ पनि देखिन्छ । दुईवटी आमाको कलहको बीउमा ऊ विरक्तिन्छे । म पात्र, स्तब्ध, उसका कथा सुनिरहेकी छे । ऊ उसको गोप्यता साथीले गोप्य नै राखिदिने विश्वास लिँदै कथाको रहस्य खोल्ने गरी बिट मार्छे , एउटी नारी झाडीमा आमा बनाइन्छे । झाडीहरुकै छेकवारमा मातृस्नेह मिल्क्याउछे । फालिएकी ऊ एउटा पुरुषलाई भेटिन्छे , भेट्ने पुरुषले आमाको स्नेह र न्यानो माया दिन्छ । हुर्काउँछ, बढाउँछ , पाल्छ । बाबुको कर्तव्य पूरा गर्छ । बाबुको चिनाउने आमा हुन्छिन् । झाडीको रुखले उसलाई आश्रय दियो । उसको बाबु दियो । त्यसैले ऊ रुखलाई आमा मान्छे र मातृदिवसको दिन रुखको पूजा अर्चना गर्दछे ।
लघुकथाले यहीँनेर विश्राम लिन्छ ।
लघुकथाको परिवेश र कथ्य - कथाकारले एउटा नारी पात्रको जन्म र जीवन भोगाईलाई संवादको माध्यमबाट छोटो परिवेशमा कलात्मक कथा कथेका छन् । कथाका दुई पात्र सानो समयको बसाइँमा एउटी नारीले भोग्न विवस प्रजनन कर्म र त्यसबाट उत्पन्न अर्की नारीको भोगाइ वार्तालाप सुन्छन् सुनाउँछन् । र एउटा कहिल्यै नमेटिने कालो दाग, कहिल्यै नपुरिने अपराधवोधको खाडल पाठकलाई जिम्मा लगाएर लघुकथा टुंगिन्छ ।
पात्र चयन- यहाँ दुई पात्र छन् । सरिता प्रथम पुरुष जो घटनाको मुख्य पात्र हो र व्याख्याता पनि, र दोस्रो लेखक स्वयं ’म’ पात्र द्वितीय पुरुष जो कथ्यलाई उत्सुकता तर्फ लैजान्छ । कथानकलाई तन्काउन , कलात्मक बनाउन सहयोगी रहन्छ । सहायक पात्रको रूपमा बगैंचामा रहेका रूख बिरुवालाई लिन सकिन्छ । जुन बिना कथा अधुरो हुन्छ । यो कथ्यलाई प्राण भर्न आवश्यक पात्र छनौटमा कथाकार अब्बल देखिएकी छन् ।
भाषा शैली - लघुकथा रूखपुजामा भाषा सरल हुँदाहुँदै पनि भाष्य अलि जटिल छ । कथ्य वक्ररेखामा दौडेको छ । प्रस्तुतिमा लेखकको निजत्व झल्किन्छ । पाठकलाई कथानक बुझ्न घोत्लिनु पर्छ । कथाकारले कथ्यलाई आकर्षक बनाउन भरमग्दुर मेहनत गरेकी छन् । कलात्मक पाराले द्वन्द्व सिर्जना गरेर पाठकलाई अन्त्यसम्म डोर्याउन सफल छिन् । दुईसय शब्द सीमाको परिधिभित्र रहेर तागतिला अक्षरहरू सम्याएर गम्भीर भाव सहज रूपमा उतार्न सफल छिन् भन्दा फरक पर्दैन । लघुकथा चुस्त छ , कौतुहलपूर्ण छ । समयलाई गजबको चड्कन दिन सफल छ ।
समापनः यहाँ पनि भन्दैछु, लघुकथाको समापनबाट पाठक उद्देलित हुनुपर्दछ । रन्थनिनु पर्दछ । बगेर आइरहेको कथ्य धार फरक्क मोडिनु पर्दछ । यहाँ यस्तै यस्तै भएको छ । तर अन्तिम अनुच्छेदभन्दा पहिले नै व्यक्त कथ्य ’ म बिनाआमाकी छोरी हुँ । मेरा यी बाबुले होटलमा दूध पु–याएर फर्कँदा सालनालसहित मलाई झाडीमा भेटेर घर ल्याएका रे !“ भन्ने हरफ पछिल्लो अनुच्छेदमा जोड्न पाएको भए कथ्यमा पछिसम्म द्वन्द्वात्मक कौतुहल सृजना गर्न सकिन्थ्यो । त्यहाँनेर नै कथा थोरै खोलखाल हुँदा समापन आंकलन गर्न सहज बनेको छ । कथाले एउटी नारीको पीडा , आमाको महत्व , बाबुको कर्तव्य र आत्मघुलनको परिवेश एकैसाथ प्रस्तुत गरेको छ । लक्ष्मी रिजालको ’रुखपूजा’ लघुकथाले मानवकृत ( नारी पुरुष दुवै उत्तिकै जिम्मेवार छन् ) कर्ममाथि तिखो प्रहार गरेको छ । यौन सामाजिक विकृतिबाट उत्पन्न परिस्थितिलाई उदाङ्गो पारेको छ ।
अन्त्यमा - लघुकथाको शीर्षक ’रुखपूजा’ कथ्यको भाव र निष्कर्षसंग मिल्ने खालको छ । रुखलाई नै आमा स्वीकार गरेपछि मातृदिवसको दिन आमारूपी रुखको सम्भार गर्नु , मलजल गर्नु पूजा गर्नुले शीर्षक ’ रुखपुजा ’ को सान्दर्भिकता पुष्टि हुन्छ । लघुकथामा भाष्य रूप मैले भेट्टाएसम्म शुद्ध छ । लघुकथाको शुरुआत आकर्षक छ , मध्य उत्कर्षमा छ र समापन पाठक रन्थानिने छ । लघुकथा सशक्त बनेको छ भन्दा हुन्छ ।
रुखपूजा मा खुल्ला समापन भए पनि केही रहस्यहरु यथावत् छन् । झाडीमा आमा बन्नु परेकी नारीको दोषी को हो ? उनी स्वयं कति जिम्मेवार छिन् वा कुनै पुरुष प्रवृतिको शिकार हुन् ? सरिता आफ्नो यो नियति थाहा पाएर पनि चुप छे । उसमा कुनै विद्रोही भावना छैन यो कुरुप समाजप्रति । लेखकले यस अर्थमा यथास्थितिलाई अगालेको बुझ्न सकिन्छ । कथाको शुरूमै “ मैले त्यसलाई चाखे, उसलाई छामे“ भन्ने कथ्यले के सरिता पनि उस्तै घटनाको पीडित बनिसकेकी हो ? धेरै प्रश्नहरू अनुत्तरित छन् । यसरी लघुकथालाई खुल्ला छोड्नु पनि एउटा कला हो । तसर्थ पाठक अनेक कोणबाट सोच्न स्वतन्त्र छ ।
लघुकथा रुखपूजा पठनीय छ । दुई तीन मिनेट खर्चे खेर जाँदैन ।
कथाकार लक्ष्मी रिजाल साहित्यमा कत्तिको कलम चलाउदै आएकी छन् , मैले अध्ययन गर्न पाएको छैन । तर यो लघुकथा लेखाइको स्तर र शब्द प्रस्तुतिको शैलीले उनमा प्रसस्त साहित्यिक ओज छ । साहित्यिक भविष्य उज्ज्वल छ । तेजिलो छ । उनको थोरै शब्दमा अधिक भाव व्यक्त गर्न सक्ने खुबी, पृथक शैली र लघुकथामा कलात्मक द्वन्द्व सिर्जना पठनीय छ ।
म, उहाँको उच्च साहित्यिक यात्राको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
धनगढी, कैलाली
२०७९÷०३÷१६
+++
५. लघुकथा– अघिपछि
–लक्ष्मी रिजाल
आमाले नेता छोरालाई सम्झाइन्– आज तँ टिकट नपाएर रुँदैछस् । टिकट पाउने गमक्क छन् । म मतदाता वाल्ल परेर जोखाना हेर्दै छु । मत खसेपछि मत नपाउने रुन्छन् । पहिले टिकट नपाउने गमक्क पर्छन् । त्यसपछि पाँच वर्षे रुने ठेक्का म मत दिनेको भागमा पर्छ । कसैको अघि कसैको पछि मात्रै हो ।
आमाका कुराले नेता छोरो खुशी भयो ।
२०७९.०१.१३
रमाइलो रुपनगर चौतारी, सप्तरी
++++
६. लघुकथा– जिन्दावाद र मुर्दावाद
–लक्ष्मी रिजाल
जहाजै डुब्ला भन्ठान्दै एक जोडी दम्पती ताकेको गन्तव्यतिर लम्कँदा थिए ।
“भोको पेट हामी कता जाँदै छौँ ?“ पत्नीको मलीन सवाल थियोे ।
“त्यही भोकको ओखती लिन ।“ पतिको सटीक जवाफ फर्कियो ।
“जे लिनुछ एक्लै लिँदा भइगो नि !“ पत्नीलाई वाक्क लागेको भाव सुनियो ।
“एक्लैले एउटा पेट मात्रै भरिन्छ । दोक्लै भए एक पेटमाथि अर्को थपिन्छ । फेरि महङ्गो समयमा सित्तैमा मासुभात हसुर्ने अवसर कसले गुमाउँछ र !“ पतिको कन्जुरी रोग छर्लङ्ग देखियो ।
“छोरो भोकायो होला । पेटभरि दूध चुसाउन पनि पाइनँ । पाखुरामा समाएर तानेको तान्यै गर्नुभयो । केके न होला भनेर सासूको काखमा छोरो राखेर तपाईंको पछि लागेकी त यसैका लागि पो रहेछ । म फर्कन्छु ।“ पत्नीको असन्तुष्टि सुनियो ।
“फर्कन नै आएका हौँ । क्षुधा मेटेर फर्कने ।“ पति कथन निस्कियो । पतिको करचापले पत्नीले खाना खाइन् । खाना हेर्दै स्वादिलो र बासनादार थियोे । सबैले उत्तम मानेर खाए । तर पत्नीको लागि स्वाद र सुवास हराएको खाना लाग्यो ।
खाएपछि विजय र्याली शुरुआत भयो । जिन्दावाद र मुर्दावादका नारा मासुभात सरह हाप र झाप गर्दै निस्कन थाले ।
काखे र दूधे भोको छोरो सम्झेर अघि खाएको मासुभात छादेर हिँडिदिऊँ जस्तो लाग्यो पत्नीलाई भने ।
२०७९÷०१÷३० रूपनगर, सप्तरी ।
++++
७. लघुकथा– प्रौढखेल
लेखक– लक्ष्मी रिजाल
– हजुरबा ! हजुरलाई एउटा प्रश्न गरूँ ?
– किन अनुमति मागेकी प्यारी नातिनी !
– म प्रतिपक्ष हो । हजुर अहिले सत्तापक्ष हो त्यसैले ।
– ए । कसले भनेको ?
– कलमले सत्तालाई खबरदारी गर्नेगर्छ । कलम जहिले पनि प्रतिपक्षको कित्तामा उभिन्छ । म सत्तापट्टी हैन कलमपट्टीकी मान्छे हुँ त्यसैले ।
–ए । ( उहाँ बडबडाउँदै हुनुहुन्थ्यो । मैले बुझिनँ । सायद भन्दै हुनुहुन्थ्यो– नुन खाने मेरो गुन गाउने प्रतिपक्षको ?)
– अनुमति लिएपछि त अरूलाई जस्तो मलाई नहकार्नुस् है हजुरबा ?
– ए बाबा ! त्यो दिन रिसाको प्रश्नले हैन । सत्ता नपाएको झोकले हो ।
–उसो भा, हजुरको केस सेतो र बोली अबुझ किन भाको ?
– यो सब राजनीति शक्ति र सत्ताले नै हो ।
– शक्ति र सत्तामा बल्ल पुग्नुभो । अब के गर्नुहुन्छ ?
– राजनीतिलाई सोझो बाटोमा हिँडाउँछु र देशलाई उँघो जानबाट जोगाई उँभो लग्छु ।
– अनि थरीथरीका काण्ड मच्चाएर जनताको नजरमा घिनाएका र कानुनले दण्डनीय ठानेका मान्छेलाई किन आफ्नो मेरुदण्ड ठान्नुहुन्छ ?
(फेरि एक पटक उहाँ रिसाएको स्पष्ट झलक देखियो । शुरुमा त शक्ति र सत्ताको संरक्षणमा नबोली नबोली जित्ने प्रयासमा लाग्नुभयो । केहीबेर पछि म नजिक आएर खुसुक्क भन्नुभयो । र; मेरै मुख खुलेको खुल्यै पार्नुभयो ।)
– सप्पै कुरा खेल हो । तिमी बुझ्दिनौ नानी । जे बोल्यो त्यही गर्ने बालखेल हैन । एक थरी बोलेर अर्को थरी गर्ने प्रौढखेल हो यो ।
+++
–रूपनगर; सप्तरी । २०७८.०४.०४.०२
+++
८. लघुकथा– राजनीति
– लक्ष्मी रिजाल
“मान्छेले त हेरेनन्; भगवानले त हेर्नुपर्छ नि !“ ललिता ठूलै स्वरले कड्की ।
मानौँ कसैले उसकै पिँडालुबारी फाडेको होस् । ऊ अरू फलाक्ने दाउमा थिई । उसका कुरामा उत्ति चासो दिने अरू नभएकोले ऊ मथ्थर हुँदै गई ।
कसलाई भनेको भनेर नजिकै रहेकाहरूले समेत भेउ पाएनन् । ऊ शक्ति, भक्ति, पहुँच, पैसा आदित्यादिका कुरा झिकेर फेरि बोल्न थाली ।
“म पावरमा पुगेकी हुन्थेँ भने यस्ती साधुलाई सुली चढाउनेलाई उल्टै चढाउँथेँ ।“ यसपटक भने हिरामायाका लुला हातगोडा सुम्सुम्याउँदै उसले भनी ।
“ममाथि कसैले अन्याय थोपरेको छैन । पोलियोले हातगोडा अपाहिज हुनुमा दोषी कोही छैन ।“ हिरामायाले दिएको स्पष्टीकरणलाई मान्ने पक्षमा देखिइन ललिता । एकोहोरो सहानुभूतिको खहरे उर्लाउँदै निस्की ।
अधिदेखि कुरामा कान लगाइरहेकी मीनाले भनी; “क्याम्पसमा चुनाव जित्न अनेक हतकन्डा अपनाउँछन् आजकलका यी फुच्चे नेतानेतृ ।“
२०८०÷०२÷०८ कञ्चनरूप–१२, प्रगतिटोल, रूपनगर, सप्तरी ।
+++
९. लघुकथा– खाना
–लक्ष्मी रिजाल
‘मलाई किन भोकी मान्छे भन्छेस् ?’ राधिकाको यस प्रश्नले मलाई रणभुल्लमा पार्यो ।
फलफूल खाएर र पेय पदार्थ पिएर मात्र उसलाई उपवास बस्न सुझाएकी थिएँ । नत्र कमजोर भएर आफैँलाई घात गर्ने बताएकी थिएँ । ऊ भने हरपल खाएको र खाइरहेको जिकिर गर्थी । खासमा छिमेकी भएकीले उसका बारेमा मलाई ‘क’ देखि ‘ज्ञ’ सम्म कण्ठस्थ थियो । किनभने मलाई उसको राखनधरन भएको ठाउँमा आफू खुशी चहार्ने छुट थियो ।
‘म त हर्दम टन्न हुन्छु; मग्नमस्त रहन्छु । बरु तँ आफैँ पो पतिसँग सिंगौरीमा हारेर भोकी होलिस् ।’ उसको यस्तो उत्तरबाट मेरो मन सन्तुष्ट हुन्नथ्यो । उसप्रतिको स्नेहले म झन् भित्रभित्रै पग्लन्थेँ ।
उच्च रक्तचाप र चिनी रोगले गाँजेको प्रमाणित हुनासाथ विहान ४ बजे नै ऊ योगमा जान्थी । ६ बजे अनुहारमा मुस्कान नचाउँदै फर्कन्थी । हरेक मंगलबार र शुक्रबार उपवास बस्थी । आज शुक्रबार पनि ऊ उपवासमा बसेकीले मैले प्रेमबस् मन खोलेकी थिएँ । उसको सन्तोषी मनका सामु म कहिल्यै सन्तुष्ट हुन सकेकी थिइनँ ।
मेरो मन पढेर होला उसैले मुख खोली; ‘विहान २ घण्टा भस्त्रिका, कपालभाती र अनुलोम–विलोममार्फत् भरपेट ताजा अक्सिजनले अघाउँदा मलाई दिनभरलाई पुग्छ ।’
२०८०.०२.०५ शुक्रबार, कञ्चनरुप– १२, प्रगतिटोल, रुपनगर, सप्तरी ।
+++
१०. लघुकथा– हिस्स बुढी हरिया दाँत
–लक्ष्मी रिजाल
‘नामकुमारीजी ! हजुरलाई बधाई छ ।’
भरखरै सपथ लिएका नवनियुक्त प्रधानमन्त्री गुट निकटस्थ नेताको मुखबाट बधाईका शब्द निस्कँदा पहिले त उनी उमङ्गले उम्लिइन् । कुरा हुँदै जाँदा राजनीतिमा बगाएको पसिनाको उच्च मूल्याङ्कन गर्दै महिला तथा बालबालिका मन्त्री बनाउन लागेको थाहा पाइन् । मोबाइलमा सुनेको त्यस ध्वनिलाई आकार दिएर शिरदेखि पाउसम्म चुम्बन गर्ने मन भयो उनलाई । कल्पनामा डुब्दाडुब्दै आफैँले बोलिरहेको मोबाइल पटकपटक चुम्न पुगेकी थिइन् ।
‘नामकुमारीजी ! बढता खुशी नहुनुस् । आधिकारिक पत्र हातमा नपरुन्जेल चुपचाप नै रहनुहोला नि ! मिडियाबाजी बन्दै नगर्नुहोला । प्रधानमन्त्रीको निजी सचिवालयबाट पत्र र फोनमार्फत् सूचना आएअनुसार सपथ समारोहमा पाल्नुहोला । मैले अन्त पनि कुरा गर्नुछ !’
प्रतिक्रिया नसुनी नेताले मोबाइल राखेपछि भने उनी झसङ्ग भएकी थिइन् । चार घण्टा वितेपछि मनको बेचैनी शान्त पार्न निजी सचिवालयमा फोन गरिन् । खुलस्त जवाफ आएन ।
प्रधानमन्त्रीलाई सोझै सोध्छु भनेर मन बलियो बनाएर फोन लाइन् ।
‘नामकुमारी ! तिमीलाई चाँडै खबर गर्छु । त्यो महिला मन्त्रालय महिलाले नै समाल्नुपर्छ भन्ने हाम्रो ठहर रही आएको छ ।’ अभिभावकीय भूमिका निर्वाह गर्दै प्रधानमन्त्रीले बोलेको प्रेमपूर्ण स्वरले आफू मन्त्री बन्ने निश्चिन्त भएको बुझिन् उनले ।
सपथ समारोहको मिति तय भएको खबर सञ्ंचार माध्यमबाट सुनिन् । घडीको सुई नै निदाउन लागेझैँ लागिरह्यो । घडीतिर समय हेर्दाहेर्र्दै दिन वित्यो । रात छर्लङ्गै भयो । उनी निकटका पत्रकारले स्थानीय अखबार र अनलाइनमा समाचार लेख्न समेत भ्याए । बधाईको ओइरो लाग्यो तर प्रधानमन्त्रीबाट खबर आएन ।
राष्ट्रिय अखबारमा छापिएको मन्त्रीको सपथ लिने सूची हात पर्यो । सिरानदेखि पुछारसम्म आफ्नो नाम कतै भेटिनन् । महिला मन्त्रीको ठाउँमा नाम थियो– हामकुमार !
२०७८–०३–३० रुपनगर, सप्तरी ।
+++
११. लघुकथा– श्रमिक
–लक्ष्मी रिजाल
‘आज चाहिँ सास फेर्न पाइयो है ।’ चोक्टाकाजीले लामो सास फेर्दै भने ।
नाम त उनको काजी थियो । अझै पनि उनका बाबुआमाले ‘काजी’ भनेर नै बोलाउँछन् । श्रीरामकहाँ हली बस्न थालेदेखि उनलाई ‘पाजी’ भनेर बोलाउन थाले । बहुदलकालसम्म उनी मन खुम्च्याएर बसेका थिए । गणतन्त्र भित्रेपछि भने असन्तोषी मन देखाइदिए । उनलाई ‘पाजी’ भन्न छाडियो । धनीका दिन सकिए र गरिबका दिन आए भनियो ।
गाह्रो लागे पनि नबोलाई नहुनेले उनलाई ‘काजी’ भनेर बोलाउन थाले । दरिद्रनायकलाई ‘काजी’ भन्न प¥यो भन्न थाले ।
एक दिन खै के घटना भयो । श्रीरामका दलानमा पञ्चायती बस्यो । छोराले लगाएको सुनको टप काजीले नै चोरेको आरोप लगाए । परिबन्दमा पारेर आरोप सत्यमा परिणत गर्न खोजियो । त्यस घटनापछि उनलाई ‘चोरकाजी’ भन्न थालियो । पछिपछि अपभ्रंस गरेर ‘चोक्टाकाजी’ भन्न थालियो ।
उनी जस्तै गाउँठाउँका मजदुरहरूले गोष्ठी गरे । ८÷८ घण्टा काम, मनोरञ्जन र आरामको सिद्धान्त बारे भोगाइहरू सुने र सुनाए । मालिकहरू मजदुर एकताबाट डराए । फलतः अन्तर्राष्ट्रिय मजदुर कानुन लागू गरे र गराए । आज मे १ का दिन सबै मजदुरले छुट्टी पाए ।
अचेल उनलाई ‘काजी’ शब्दसँग हैन ‘श्रमिक’ शब्दसँग प्रेम परेको छ । त्यसैले चोक्टाकाजी भन्ने गर्छन्; ‘गरेर खान पाए पुग्यो । दुनियाँको खुनपसिना चुसेर पापको भारी बोक्न नपरोस् ।’
२०७९–०१–१८ कञ्चनरूप–१२, सप्तरी ।
+++
१२. लघुकथा– शान्ति
–लक्ष्मी रिजाल
‘बोलीमै आगो बल्नुपर्छ । अनि मात्रै परिवर्तन सम्भव छ ।’ सानुमायाले टड्कारो आवाज निकाल्दा हर्की तर्सेर भनी; ‘आगोको साम्राज्य स्वीकार्न सक्तिनँ ।’
कायरहरूलाई समाजमा मुन्टो ठड्याउने अधिकार नभएको सानुमायाले जिकिर गरी । अरू सबै लाटा र आफू मात्रै बाठो सम्झेर आत्मरतिमा रमाउनेहरूसँग हात मिलाउन नसकिने तर्क अघि सारी हर्कीले । सानुमाया झट्टै परिवर्तन हुनुपर्छ भन्थी । हर्की भने जानिबुझी गरिएको परिवर्तन दीर्घकालीन हुन्छ भन्थी । तातै खाँदा जल्नुपर्छ; सेलाएर खाँदा पोषण मिल्छ भन्थी ।
दुबै समकालीन सखी थिए । दुबैको बोली बीच आकाशपातालको फरक थियो । कामकाजमा भने दुबै सँगै हुन्थे । कहिल्यै आपसमा छुट्टिँदैनथे । एकापसमा छुट्टिँदा दुबैलाई असजिलो अनुभूत हुन्थ्यो ।
एक दिन सानीमायाले भनी; ‘तँ पूर्व फर्के म पश्चिम फर्कन्छु । तापनि तँ मसँगै हुन्छेस् । म पनि तँसँगै हुन रमाउँछु । किन ?’
क्रान्ति र शान्तिलाई सन्तुलन पार्न सके मात्र जित हात पर्ने बताउँदै हर्कीले थपी; ‘किनभने तेरो मनको क्रान्तिको आगोलाई मेरो मनको शान्तिले मथ्थर पार्छ ।’
कञ्चनरुप नगरपालिका–१२, प्रगतिटोल, रुपनगर, सप्तरी ।
No comments:
Post a Comment