Monday, May 22, 2023

साहित्यकार लता के सीको रोजाइका पाँच लघुकथा- नन्दलाल आचार्य

साहित्यकार लता के सीको रोजाइका पाँच लघुकथा-

सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । आजको प्रस्तोता म हुँ– कामना आचार्य । त्यसै गरी अरु बेला यस कार्यक्रमलाई लक्ष्मी रिजाल, विद्यानन्द वेदर्दी, गजल आचार्य, प्रतिमा सिंहहरुले सञ्चालन गर्दै आउनुभएको छ ।

यस कार्यक्रमकी संयोजकमा लक्ष्मी रिजाल रहनुभएको छ । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ । व्यवस्थापकीय सक्रियता मनोहर पोखरेल रहनुभएको छ । बेलाबेलामा लघुकथा विमर्शमा खगेन्द्र बस्याल, रमेन्द्र कोइराला, मनोहर पोखरेल, निरज कोइराला, ललिता झा, अम्बिका बास्तोला लगायतका महानुभाव हुनुहुन्छ । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।

+++

लता केसीका रोजाइका पाँच लघुकथाक्रम यस्तो छ-

१. लघुकथा : भाले -प्रा.डा. कपिल लामिछाने (टिप्पणीकार- खगेन्द्र बस्याल, समय ७ मि.)

२. लघुकथा : भीड -लक्ष्मण अर्याल (टिप्पणीकार ललिता झा, समय ७ मि.)

३. लघुकथा : इच्छा -लता के सी (टिप्पणीकार रमेन्द्र कोइराला, समय ७ मि.)

४. लघुकथा -शङ्का -राजु क्षत्री 'अपुरो' (टिप्पणीकार- मनोहर पोखरेल, समय ७ मि.)

५. लघुकथा : राष्ट्रियता -श्रीओम श्रेष्ठ रोदन (पाठकीय अभिमत- अम्बिका बास्तोला, समय ७ मि.)

+++++

आज २०८० जेठ ०९ गते हो । नियमित वाचनको भाग ७८१ मा अब क्रमशः पाँच थान लघुकथाहरू सुन्नुहोस् ।

++++

१. अब म कामना आचार्य यी लघुकथा क्रमशः प्रस्तुत गर्ने अनुमति चाहन्छु । आजको वाचनमा परेको पहिलो लघुकथाको शीर्षक छ– भाले । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– प्रा.डा. कपिल लामिछाने । लघुकथा यसरी अघि बढेको छ–

*****

“कुखुरी काँ ऽऽ...” उज्याले नहुँदै भाले बास्यो ।

मान्छेहरू ब्युँझिए र काममा लागे । उज्यालो भयो । घाम लागे ।

भालेले भोलिपल्ट, पर्सिपल्ट पनि यस्तै भएको देख्यो ।

उसले सोच्यो, ‘ए, म बासेकाले पो मान्छे ब्युँझिने, उज्यालो हुने र घाम लाग्नेरहेछ ।’

एक रात उसले नबास्ने निधो ग¥यो । मध्य रात कट्यो । बास्ने बेला भयो, तर ऊ बासेन । ऊ आँखा चिम्लेर खोरमा बसिरह्यो ।

उसले सोच्यो, ‘आज उज्यालो नै हुन्न । अनि कसरी उठ्दो रहेछ मान्छे ?’ ऊ खोरमा झोक्राइरह्यो ।

तर मान्छे उठ्यो र काममा लाग्यो । घाम पनि लागे ।

मान्छेले खोरतिर नियाल्यो र सोच्यो, ‘के भो ? आज भालेको कुनै चालचुल छैन ।’

उसले खोरको ढोका खोल्यो । भाले आँखा चिम्लेर झोक्राइरहेको देख्यो ।

मान्छेले भालेलाई च्याप्प समात्यो । भाले ककक्क ककक्क ऽऽ.गरी करायो र छटपटायो ।

ऊ आँगनतिर लाग्यो अनि उसले श्रीमतीसित भन्यो, “यो भाले रोगाएजस्तो छ । खुकुरी ल्याऊ त, ठुन्क्याऊँ ।”

भैरहवा

०००

लघुकथाकार लता केसीलाई यो लघुकथा मन पर्नुको कारण यस्तो छ-

अरूप्रतिको डाहा र घमण्डको भावले भाले पात्रले आफ्नै विनाश गरेको परिदृश्यमा रचिएको यस लघुकथाको आकस्मिक उठानले पाठकको मन तान्छ । एकै साँसमा पढन सकिन्छ । लघुकथाको विषयवस्तु सशक्त छ । बिधाताले सृष्टि गर्दा हरेक प्राणीको भूमिका तय गरेको हुन्छ तर जो आफ्नो जिम्मेवारी र कर्तव्यप्रति विमुख हुन्छ , त्यसको हविगत प्रस्तुत लघुकथामा भाले पात्र सरह हुनेछ भनेर सचेत गराएको हुँदा सचेतनामूलक यो लघुकथा अति नै मन पर्यो ।

सर्जक लामिछानेको लघुकथा भन्दा हुर्केको रूख ´ शीर्षकको लघुकथा पनि मेरो मानसपटलमा बसेको छ । जसले गल्ती गरेको हुन्छ , उसलाई सजाय दिन उसैलाई खाल्डो खन्न लगाएर पुरेको दृश्यले आङ जिरिङ्ग बनाउँछ । मालिकले खाल्डो खन्न लगाएपछि नोकर फुर्तीले काम गरिरहेको हुन्छ । पाठकलाई समेत बढो कौतुहूल जाग्छ , आखिर खाल्डो खन्नु र खनाउनुको प्रयोजन के ? समापनमा गएर नोकरले मालिक बराबरको हैसियत खोजेर बैठकभित्र धाउने गरेको रहस्य खोलेको छ । रोचक र घोचक लघुकथा हो, हुर्केको रूख ! ´

+++++

२. आजको वाचनमा परेको अर्को लघुकथाको शीर्षक छ– भीड । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– लक्ष्मण अर्याल । लघुकथा यसरी अघि बढेको छ–

"चोर, चोर, चोर आयो चोर !" – ऊ करायो ।

मानिसहरू एकैछिनमा हुरुरु जम्मा भए र कराउनेकै पछिपछि दौडिए । उसको आत्मबल ह्वात्तै बढ्यो । उसले अझै च्याँठ्ठिएर नारा लगायो ।

मानिसहरूले ठाने – ऊ नकराएको भए कसैले सुन्दैनथ्यो अनि कसैले नसुनेको भए मान्छेहरू घरघरबाट यसरी हुरुरु निस्किँदैनथे । यसरी बकुन्द्रो मानिस जम्मा नभएको भए चाोरले ढुटिमाटी पार्थ्यो । यसरी चोरबाट ढुटिमाटी हुनबाट जोगाउने उसलाई मानिसहरूले भगवान् नै माने ।

लाजार्जुृनले हुरुरु निस्किएका मानिसहरूको ध्यानाकृष्ट गर्यो र भन्यो – "आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू नझुक्किनुस् । तपाईं ठगिँदै हुनुहुन्छ । यो च्याँठ्ठिएर कराउँदै तपाईंको समूहको नेतृत्व गर्ने नै चोर हो । यो मेरै घरका गर्गहना चोरी भाग्दैथ्यो । जब मैले यसका कठालामा समातेँ तब यो मैलाई लफन्ड्याउँदै हिँड्यो। भर्खरै सुनको थैलो कोठामैँ फालेर भागेको यसलाई म राम्रैसँग चिन्छु ।"

लाजार्जुनका कुराले एकरत्ति महत्व पाएन । भीडले जे ठान्यो त्यसैलाई सही पनि मान्यो । बरु उल्टै अन्धभक्त कार्यकर्ताकै शैलीमा भीड अभियन्ता चोरकै पछिपछि जयजयाकारको नारा लगाउँदै हिँड्न थाल्यो ।

चितवन

======

लघुकथाकार लता केसीलाई यो लघुकथा मन पर्नुको कारण यस्तो छ-

भीडतन्त्र र सामाजिक यथार्थलाई राम्रोसंग चित्रण गरेको छ , यो लघुकथाले । जो चोर उसको ठूलो स्वर भन्ने उखानलाई चरितार्थ गरेको छ । लघुकथाको मापनमा सजिएको प्रस्तुत लघुकथामा पात्रको नाम चयन असाध्यै मन पर्यो । लघुकथाले एउटा चोरले कसरी भीँडलाई वेबकुफ बनाउँछ भनेर चित्रण गर्दै झोलेतन्त्र र चाचुचा नीतिप्रति व्यङ्ग्य कसेको छ । अन्धभक्तहरू सत्य हेर्न र बुझ्न सक्दैनन् भन्ने कटुसत्य ओकलेको भछ , जो हाम्रो समाजमा व्याप्त छ त्यसैले यो लघुकथा मन पर्यो ।

=======

३.आजको वाचनमा परेको अर्को लघुकथाको शीर्षक छ– इच्छा । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– लता के सी । लघुकथा यसरी अघि बढेको छ–

एक जोडी परेवाहरु आफ्नै दुनियाँमा मस्त थिए । रमेश पनि त्यो दृश्य हेरेर रमाइरहेको थियो । अनायाश के छटपटी भयो कुन्नि ? उसले प्वाक्क ढुङ्गा फ्याल्यो । उनीहरू भुर्र उडे । उडाइको दौरानमै भालेले भन्दै थियो , `` कस्तो व्याधा रहेछ ? तिमीलाई कतै चोट त लागेन ? ´´

पोथी मसक्क मस्किई र भनी , `` कत्ति माया गर्छौ, है ? ´´

उनीहरू रङ्गीन उडान भर्दै थिए । भालेले करायो , `` ओहो , हेर त त्यो पारिको आकाशमा , कस्तो कालो धुँवा अनि आगोको मुस्लो ? ´´

पोथी आत्तिदै कराई , `` हामी अगाडि नबढौँ । गोला , बारूद जस्तै देखियो है । ´´

उनीहरूले ठूलो कोलाहल , मानवको चिच्याहट सुने । ``त्यो क्षेत्रमा अशान्ति र युद्ध मडारिएको जस्तो लाग्यो । हामीले कसै गरि ज्यान जोगाऔँ । ´´ भाले भन्दै थियो।

वायुयानहरू उनीहरूको वरिपरि देखिन थाले ।उनीहरू बेतोडले कावा खाँदै विपरीत दिशामा उडे । एउटा जङ्गलमा पुगेर एउटा रूखको टोडकोमा लुके । शान्तिको सास मात्र के फेर्दै थिए , अचानक ठूलो आवाज आयो । रूख गर्ल्याम्म ढल्यो । दनदनी आगो बल्यो । परेवाका जोडी मर्ने बेलामा चिच्याउँदै थिए , `` हे सृष्टिकर्ता , अर्को जुनिमा हामीलाई मानव भएर जन्मिन नपरोस् । तीनकुने, काठमाण्डौ

**********

लघुकथाकार लता केसीलाई यो लघुकथा मन पर्नुको कारण यस्तो छ-

आजको २१औँ शताब्दीमा मानवले विश्वमा साम्राज्य त कायम गर्यो तर आचरण र चरित्र बचाउन सकेन । सृष्टिकै एक मात्र विवेकशील प्राणी मानवद्वारा विश्व सभ्यताको विकासको लागि विज्ञानको प्रयोग हुनुपर्थ्यो तर विश्वका मै हुँ भन्ने मानव चरित्रको दुष्चारणले सम्पूर्ण मानव जातिलाई कलङ्कित बनाएको छ। मानवेतर प्राणी समेत पूनर्जन्ममा मान्छे हुन चाहदैन , यो भन्दा लज्जाजनक के होला? वर्तमान समयमा विश्वमा हुने गरेको आणविक युद्धले नै यो लघुकथाको सिर्जनामा विजारोपण गरेको हो । लघुकथाको आयाम छरितो हुनु ,मानव सभ्यताप्रति व्यङ्ग्य गर्नु , पात्रविधान र प्रयोजनको दृष्टिका आधारमा मलाई मेरो यो आफ्नै लघुकथा मन परेको हो ।

+++

४. आजको वाचनमा परेको अर्को लघुकथाको शीर्षक छ– शङ्का । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– राजु क्षत्री 'अपुरो'। लघुकथा यसरी अघि बढेको छ–

तीन दिनदेखि हनहन्ती ज्वरो आएर खानु न खुट्नु भएर लम्पसार परेकी अर्धाङ्गिनीलाई मनतातो पानी र दवाई खुवाउँदै भनें - "ल यो खाउ, भोलिसम्म केही बिसेक हुनेछ ।"

"काम लठपत्र छ ,यहि बेला फेरि मलाई ज्वरो आउनु परेको!, अनि हजुर आज कता जानू हुन्छ त नि?" - दवाइ खाँदै उनले मलाई सोधिन ।

"हैन हो बाबू !काम गर्दागर्दै मेरा त हातै रोकिए । त्यो झ्याल बनाउने काठ अझ आइ पुगेन ,किन ढिला हो ?- त्यसै समय काठको काम गर्ने सिकर्मी बा बाहिरबाट कराउन थाले ।

" ती अर्का सहायक सिकर्मी दाइ त आज देखिएनन् त ?"- सहायक सिकर्मी नदेखिएको आभास पाएपछी मैले भित्रैबाट आवाज लगाएँ ।

"ऊ छोरी बिरामी भएर अस्पताल गएको छ, लौन बाबू !त्यो बनमा राखेको काठ अहिले नै जसै ओराल्नु पर्यो । "- झ्याल ढोकाको जिम्मा पाएका उनी आफ्नो बाध्यता देखाउन थाले ।

"ल ल सिकर्मी बा हजुर ढुक्क हुनुस, दुई घण्टामा काठ हाजिर हुनेछ, त्यतिन्जेल सम्म अरु मसिना काम गर्दै गर्नु होला ।"

" ल म त्यो बनको काठ बोकेर आउँछु, यिनी काठ ताछेका लोप्रा लिएर आउछिन" -माइत देखि सघाउ पुर्याउन आएकी उनकी बैनीलाई डोको नाम्लो दिँदै मैले बाहिर बाटै भनेँ ।

"भोलि पर्सि ल्याए हुन्न र?" - उनले कोठाभित्रबाट आवाज लगाइन् ।

"लौ , काठ ल्याएपछि ती लोप्रा अरुले उठाएर लगिदिन्नन ? आजै नल्याए भोलि त देख्नै पाइन्न । मान्छेहरूलाई बाल्ने दाउराको कति स्यापस्याप्ती छ यो बेला , ल ल तिमी आराम गर "-त्यहाँको बस्तुस्थितिको जानकारी गराउँदै हामी आ आफ्नो सामान लिएर अलि पर पुग्दै थियौँ उनीपनि डोको बोकेर हाम्रो पछाडि पछाडि आइरहेको देखेर रोकिएँ अनि सोधें -" हैन ,यस्तो ज्वरो आएको बेलामा पनि तिमी ...?

उनले अलि नजिक आएर भनिन् - " ल ल हिड्नुस् भो ! मेरो ज्वरो सरो उत्रीयो अब ।" पोखरा

=====

लघुकथाकार लता केसीलाई यो लघुकथा मन पर्नुको कारण यस्तो छ-

यस लघुकथामा नारीको जुन शङ्कालु आचरण व्यक्त गरिएको छ , वास्तवमा यथार्थ छ। भिनाजु र साली अनि एकान्त वन , यो कल्पनाले दिदीलाई झस्काएको छ । त्यही झस्काइमा उग्र ज्वरोको पर्वाह नगरी काममा जाने श्रीमतीको मनोविज्ञानलाई चित्रण गरिएको छ । ग्रामिण परिवेश र परिवेशअनुरूपको भाषा शैली प्रयोगमा लेखक खप्पिस देखिन्छन् । उसो त अपुरोका लघुकथाहरूमा सजाय , दिमागको बिर्को , कोदाको ढिँडो , केराको थाम , ठुलै मान्छे जस्ता धेरै लघुकथाहरू अब्बल छन् तर एउटा छान्नु पर्ने बाध्यताभित्र शङ्का लघुकथा मन पर्यो भनिएको हो । यो लघुकथामा लघुकथालेखन शिल्प र कथ्यबुनोट सशक्त छ त्यसैले पनि मन परेको हो ।

+++++

५. आजको वाचनमा परेको अर्को लघुकथाको शीर्षक छ– राष्ट्रियता । यस लघुकथाका लघुकथाकार हुनुहुन्छ– श्रीओम श्रेष्ठ रोदन । लघुकथा यसरी अघि बढेको छ–

कार्यक्रममा राष्ट्रियगान बज्न थालेपछि सबैजना शान्त भए । कोही पनि नहल्लीकन उभिए । सेना, प्रहरीले हात निधारनिर पुर्याएर सलाम गरे । नेताहरू शान्त मुद्रामा देखिए । केहीले छातीमा हात राखे । धेरैले मुठी कसेर सिधा तल राखे । कसैले सस्वर गाए, कसैले ओठ मात्र चलाए । राष्ट्रियगानले सबैलाई एकै लयमा ल्याएको थियो । न फरक विचार न फरक पार्टी ।

आखिर एकता हुने भनेको पनि राष्ट्रियतामा नै त हो नि ।

‘राष्ट्र र राष्ट्रियता, हाम्रो पहिलो प्राथमिकता र प्रतिबद्धता ।’

राजनीतिक पार्टीहरूका घोषणापत्रमा लेखिएका समानता पनि यही त हो । अमेरिकी सहयोग एमसीसीको प्रस्तावसँगै देशमा ठूलो भूकम्प आयो । सम्झौतापत्रमा लेखिएका वाक्यहरू एउटै छन् । तर, अर्थ अनेक बनाइयो ।

केही पार्टीका नेताले भने– देश र जनताका लागि योे स्वीकार्नैपर्छ ।

अर्का पार्टीका नेताहरूले झन् ठूलो आवाजमा भने– यो राष्ट्रघाती छ । त्यसैले कुनै हालतमा स्वीकार्नु हुन्न।

एउटै सत्यमा दुईवटा सत्य भएको ठहर गरियो । पार्टीहरू बाँडिए । नेता र कार्यकर्ताहरू सडकमा उत्रिए । तर, उद्देश्य सबैको एउटै थियो– राष्ट्रियता र मात्र राष्ट्रियता ।

केही पार्टीले नेपाल बन्द गरे राष्ट्रियताकै लागि । प्रहरीले लाठी, अश्रुग्यास र गोली हान्यो, राष्ट्रियताकै लागि । राष्ट्रियताकै लागि आन्दोलन र दमन चलिरहयो महिनौँसम्म

एमसीसीको शक्ति नबुझेर म भने सडकमा टोलाइरहेको थिएँ ।

झन्डा हल्लाउँदै आएको एउटा गाडी पश्चिमी झन्डा भएको ठूलो घरभित्र प्रवेश गर्यो । केही समयपछि अर्को अगुवापछुवा भएका गाडीहरू उत्तरी झन्डा भएको घरभित्र पसे ।

त्यसपछि बल्ल मैले बुझेजस्तो लाग्यो ।

गणतन्त्रमा राष्ट्रियता आफ्नो देशको झन्डामुनि नहुँदो रहेछ ।

झम्सिखेल, ललितपुर

======

लघुकथाकार लता केसीलाई यो लघुकथा मन पर्नुको कारण यस्तो छ-

राष्ट्रियता जस्तो गम्भीर विषयलाई नेतृत्व तह र तप्काबाट खिल्ली

उडाइएको व्यङ्ग्यप्रदान लघुकथा असाध्यै मन पर्यो । राष्ट्रियतालाई भाषा र भाषणमा कैद गरेर व्यक्तिगत स्वार्थ पूरा गर्ने चरित्रको उजागर गरेको छ । राजनीतिक विकृतिको भण्डाफोर गरेको यो लघुकथा उदाहरणीय छ । समापन अति सशक्त लाग्यो । पश्चिमी र उत्तरी झण्डावाला घरको प्रसङ्गले राजनीतिक चरित्रको मात्र होइन , सिङ्गो गणतान्त्रिक व्यवस्थाको अस्तीत्वमाथि औँला उठाएको छ । वास्तवमा हाम्रो राजनैतिक चरित्र कति उदाङ्गो भएको छ ? सोचनीय र मननीय लाग्ने प्रसङ्ग अति मन पर्यो ।

+++++

अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यलाई प्रेम गर्नेहरुलाई हार्दिक धन्यवाद दिँदै अर्को पटकसम्मका लागि विदा चाहन्छु ।

+++



No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...