Sunday, May 28, 2023

साहित्यकार नानि भारद्वजको रोजाइका पाँच लघुकथा 2080.07.30 Bhag- 602

साहित्यकार नानि भारद्वजको रोजाइका पाँच लघुकथा

लघुकथा प्रतिष्ठानको यस आँगनीमा पाल्नुहुने सम्पूर्ण साहित्यप्रेमीहरूमा म लक्ष्मी रिजालको हार्दिक नमस्कार छ। अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरणको कार्यक्रम । आज मिति २०८० जेठ ३० गते मंगलबार हो । आजको कार्यक्रमको भाग ६०२ हो । यस कार्यक्रमका संयोजक हुनुहुन्छ- खगेन्द्र बस्याल र सहजीकरणमा सघाउँदै आउनुभएको छ नन्दलाल आचार्यले । हाम्रो लाइभ कार्यक्रमको अवलोकन गर्न पाल्नुहुने सबैसबै मित्रहरुमा एकमुस्ट अभिवादन गर्दछु । लघुकथा बारे खुलेर टिप्पणी गर्दै गर्नुहोला । 



हामीले प्रस्तुत गरेका हरेक कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ । यत्ति जानकारी पछि थोरै निवेदन गरिहाल्न मन लाग्यो । म लक्ष्मी रिजाल अहिले साहित्यकार नानि भारद्वजका रोजाइका पाँच लघुकथा छोटो टिप्पणीसहित लिएर आएकी छु । म पछि दोस्रो चरणको कार्यक्रम प्रस्तुत गर्न आजका संयोजक खगेन्द्र बस्याल र नन्दलाल आचार्य लघुकथामा विमर्श गर्न र आगन्तुक मित्रहरुलाई स्वागत गर्न आउनुहुनेछ ।



१. नानि भारद्वजको रोजाइमा परेको पहिलो लघुकथा : आस्था

✍️डा. पुष्करराज भट्ट

संकलन : प्रज्ञा आधुनिक नेपाली लघुकथा (२०७३) बाट

एक सहर अनेकन देवीदेवताका मन्दिर। नगरको एक कुनामा एउटा अनि अर्कोमा अर्कोको। एउटा मन्दिरमा एक समुदायको हालीमुहाली अर्कोमा अर्कोको।

आपसमा " तँभनदा म के कम" भन्ने प्रतिस्पर्धा ।

" तिम्रो देवता भन्दा मेरो देवता ठूलो" एक आवाजको कुर्लाई। " तिम्रो आस्थाभन्दा मेरो आस्था ठूलो" अर्को प्रतिकारमय ध्वनि। जुहारीको आदानप्रदानमा समय बगिरहन्थ्यो।

कृष्णाष्टमीका अवसरमा। -यालीको आयोजना।आ-आफ्नो -याली एवं झाँकी ठूलो देखाउने प्रयत्नमा क्रियाशीलता ।भिडभाड,ठेलमठेल,घेचघाच। झाँकी भएका सवारी साधन जुझ्न पुगे। मानिस के कम। दुवै पक्षमा क्रोधको मात्रामा अत्यधिक वृद्धि ।

एक पक्ष, " तिमीहरूले के खोजेको हँ ?"

अर्को पक्ष, तिमीहरूले चाहिँ के खोजेको ?"

" लड्ने विचार छ ?"

" छ"

"हेरौं न के गर्दा रहेछौ।"

"बदमास, फटाहा, आवारा,गुण्डा ।"

सडकभरि रगत छरिएको थियो। त्यहाँ कुनै जीवनको अंश थिएन।

समाप्त

+++

नानि भारद्वजलाइ रचना मनपर्नुको कारण :

यो कथाले नेपाली राजनीतिक आकासको यथार्थ बोलेको छ। जसरी एउटै आस्थाका धार्मिक संस्थाहरुमा बैमनश्यता बढेर फरक मठ मन्दिर बनाउछन् त्यसैगरी नेपाली राजनीतिक दलहरुमा पनि एउटै सिद्धान्त,विचार र दर्शन हुँदाहुँदैपनि आफ्नो गुटगत स्वार्थका निम्ति बेग्लै चुलो जलाउने अपसंस्कृति बढेर गएको छ। जसलेगर्दा समाजमा अशान्ति चुलिएको छ। लेखकले यही यथार्थप्रति लक्षितगरि चोटिलो ब्यङ्ग्य प्रस्तुत गर्नुभएको छ। यसरी वर्तमानमा देखापरेको विकृति प्रति गतिलो प्रहार भएकोहुनाले नै मैले पनि यो कथा मनपराएँ। धन्यवाद ।

+++

२) नानि भारद्वजको रोजाइमा परेको लघुकथा : नेपाल भाषाकर्मी

✍️ सुमनराज ताम्राकार

संकलन : प्रज्ञा आधुनिक नेपाली लघुकथाबाट

(नेवारी भाषामा फोनमा कुराकानी हुँदै)

"हेलो ! को रश्मी ? बुवा खै, फोन एकपटक दिनु त ।"

अङ्कल ड्याडी त मम्मी र आण्टीसंग सपिङको लागि

बाहिर जानुभएको छ। त्यसो त रश्मीका ड्याडी शेखर नेपाल भाषाका खाँटी समर्थक हुन् तर ....।

समाप्त

+++

नानि भारद्वजलाइ मनपर्ने कारण : यो कथाले मौलाउँदै गएको राष्ट्रिय भाषाको अपचलन र अंग्रेजी भाषाको अत्यधिक प्रचलनप्रति कसिलो ब्यङ्ग्य र कथाको शुक्ष्मता नै प्रमुख कारण हुन्।

+++

३) नानि भारद्वजको रोजाइमा परेको नारी हस्ताक्षरको लघुकथा-भाइचारा ✍️ईश्वरी रिसाल

साभार :










लघुकथा कुनो पेजबाट

एकदिन मोहन ले हरिमोहनलाइ देख्यो र मुख बङ्ग्यायो,कारण हरिमोहन नेवार थियो मोहन बाहुन।

अर्को दिन नकुल ले सहदेबलाइ देख्दा नास्ता खादाखादै उठ्यो,कारण नकुल छेत्री सहदेब दलित ।

त्यस्को केहीदिन पछी नवीन र नागेन्द्र बिच कुटाकुट पर्यो,कारण -नवीन पहाडी र नागेन्द्र मधेसी ।

जातीयताको नाममा देशमा आन्दोलन भो।एकाअर्कालाई झन देखि नसहने भए।त्यसपछि चुनाब भो,आ आफ्नो पार्टीको नेताको बखान गर्दै झोला बोके।

जित्ने ले जिते हार्ने ले हारे।तर उनिहरुको आस ले कहिले जितेन।बेरोजगार को समस्या धान्न पचास डिग्रीको घाममा माथी उल्लेखित सबै युवा खाडी मुलुक भासिए।

सन्जोग भनु कि के भनु!अघि पछी गरेर गएपनी उनीहरू एउटै कम्पनीमा परे।

एकले देख्दा अर्काको आँसु आयो।अंकमाल गरेर रोए।एकै क्वाटर मा बस्ने खाने सल्लाह गरे।त्यहा त्यति बेला कोही नेवार थिएन।कोही बाहुन या छेत्री थिएन,कोही दलित थिएन ।कोही मधेसी या पहाडी थिएन ।थिए त केवल नेपाली ...अनि थियो केवल भाइचाराको सम्बन्ध ।

समाप्त

+++

नानि भारद्वजलाइ मनपर्ने कारण :

यो कथाले साम्प्रदायिक भन्दा मानवीय सम्बन्धलाई दह्रो बनाउनुपर्छ भन्ने सन्देश बोकेको हुनाले मलाई मन प-यो।

+++

४) नानि भारद्वजको रोजाइमा परेको लघुकथा : फरक ✍️हेम पोखरेल

"छोरी पनि छोरा सरह हुन् ! छोरी लाई पनि शिक्षामा फरक गर्नु हुदैन । छोरा सरह शिक्षा दिनुपर्छ !" बुवाले भन्नुभयो ।

छोरालाई काख र छोरीलाई पाखा गर्ने हरूलाई मेरो बुवा सम्झाउनु हुन्थ्यो : छोरा छोरी बराबर हुन् ! छोरा भन्दा छोरी काम लाग्छन् ! छोरी ब्यबहारिक, ज्ञानी र आज्ञाकारी हुन्छन् ।

बुवाले त्यसो भन्दा मलाई खुशी लाग्थ्यो ।

मेरो बुवा जस्तै सवैका बुवा भए-----।

म र भाई एउटै स्कुल पढिउँ । हामीलाई पढाउँदा बुवा र ममीले छोरा र छोरीमा फरक गर्नु भएन, बिभेद गर्नु भएन । मलाई पनि भाइलाई जस्तै स्कुले झोला थियो, किताव थिए, कापी थिए, कलम थिए, पेन्सिल, जोमेट्री केही फरक थिएन ।

कपडा किन्दा भाइलाई जस्तै मलाई पनि रोजाएरै किन्नु हुन्थ्यो ।

बुवा ममीले हामीलाई अभाव र दु:ख सँग परिचय गराउनु भएन । घरायसी ब्यवहार छिचोलेर भाइ र मेरो पढाई खर्च जुटाउन बुवा र ममीले धेरै संघर्ष गर्नु हुन्थ्यो । अहिले बुवा भन्नु हुन्छ : नसम्झौं ती दु:खका दिन !

यतिधेरै संघर्ष गर्नु भयो कि बुवा अहिले ती दिन सम्झन पनि चाहानु हुन्न ।

भाई र म बुवाले सोचे जस्तै भयौँ । पढाई सकेपछि हामी जागीर गर्न थालिउँ । भाईको तलव लाई बुवाले घरायसी ब्यवहारमा प्रयोग गर्न थाल्नु भयो ।

एकदिन एउटा ठूलो काम परेछ ।त्यो काम गर्न अलिधेरै पैसा चाहिने भएछ ।

"यो महिना पैसाले भ्याएन अव अर्को दुई महिना पछि गरौंला !" पैसाको बन्दोवस्त नपुगेका कारण बुवाले काम पर सार्नुभयो ।

"बुवा ! पैसा म संग छ नि काम नरोक्नुस !" मैले भनें ।

बुवाले भन्नुभयो : छोराले कमाको पो यो घरको आफ्नु सम्पत्ति हो ! छोरीको पैसा पनि यो घर ब्यवहारमा चलाउँछु त ?

समाप्त

+++

नानि भारद्वजलाइ मनपर्नुको कारण : हाम्रो समाजमा समानताको कुरा भनाई र गराईमा अझै फरक रहेको कुरालाई उजागर गर्न यो कथा सफल भएको छ।

+++

+++

५) नानि भारद्वजको रोजाइमा परेको लघुकथा : जीवन र मृत्यु ✍️नानि भारद्वज

"किन यस्तो दुस्साहस गरेकी माया ?"

"मलाई अौंसीका रातहरुले चिथोरे प्रिय !"

"अौंसीका रातहरु भित्र पसेर चारैतिर हेर्दा अन्धकारै अन्धकार देखिन्छ त माया !"

"हो म तिनै अन्धकारहरुको लपेटामा परेर मेरो अस्मिता मात्र लुटिएन भौतिक शरीर पनि थिलथिलो भयो प्रिय !"

"तिमीमाथि भएको यत्रो अन्याय विरुद्ध आवाज उठाइनौ माया ?

"मैले भरिएको गह र पिल्सिएको बह लिएर कहाँ कहाँ गइन र प्यारा !"

"कहाँ कहाँ पुग्यौ माया ?"

"प्रहरी प्रशासन, अदालत र नेताहरु सबैको ढोका ढकढकाएँ प्रिय ! तर ....!"

"तर के माया ?"

"मैले कतै जुन भेटिन, भेटें त केवल अौंसी कै अन्धकार मात्र प्रिय !"

"यसरी हरेस खाएर अलप हुने विचार कसरी अायो प्यारी ?"

" म के गरौं त प्यारा ? मेरो ठाउँमा तिमी भए के गर्थ्यौ ?"

"चहकिलो जुन भेट्न त पूर्णिमा सम्म पर्खनै पर्छ माया !"

"कसरी सम्भव छ म जस्ती अभागिनीका निम्ति प्यारा ?"

त्यसपछि उस्का गह छचल्किन थाले, उस्का पीडाले उसलाई पिल्स्याउन थाले।

"यो गहमा छचल्केको आँशु र भित्रभित्रै पिल्सिएको मासुले पीडाको सार्थक उजागर गर्न सक्दैन माया !"

"म के गरौं त ! के गरौं " भन्दै ऊ पुन: भिर तर्फ लम्किन्छे।

जीवनले उसलाई पाखुरामा समातेर तान्छ। अब जीवन पनि हतोत्साहित भै रुन थाल्छ।

यो रुवाबासी सुनिरहेको समय टक्क अडिएर भन्छ," पीडाको सार्थक उजागर त जिउने कलाले गर्दछ नानी हो !"

दुवै समय तर्फ मुखारित हुँदै एउटै प्रश्न गर्छन," कसरी ?"

समयले दुवैलाई हौसला दिदै भन्यो," गहको छचल्किएको आँशुलाई सागरको ज्वारभाटा बनाउन सक्नुपर्छ,आफै भित्र मात्र पिल्सिएको घाउलाई समाजलाई नै पिल्स्याएर पोल्ने ज्वालामुखी बनाउन सक्नुपर्छ, म तिमीहरुको साथ छु।"

विराटनगर, मोरङ।

+++

नानि भारद्वजलाइ जीवन र मृत्युु लघुकथा मनपर्नुका कारण :

यस कथाले दुःख र पीडामा जेलिएको जीवनलाई कसरी सार्थक बनाउन सकिन्छ भन्ने भाव बोकेको हुनाले मैले यसलाई रोजेको हुँ।

+++

भर्खरै मैले पाँच लघुकथा प्रस्तुत गरिसकेँ । आजको कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने मित्रहरुलाई साधुवाद छ । युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्न समेत अनुरोध छ । अब दोस्रो चरणको कार्यक्रम प्रस्तुत गर्न आजका संयोजक खगेन्द्र बस्याल र सहजकर्ता नन्दलाल आचार्य आजका लघुकथा सेरोफेरोका कुरा गर्न र आगन्तुक मित्रहरुलाई स्वागत गर्न आउनुहुनेछ । धुन सुनेर प्रतिक्षा गर्दै गर्नुहोला । मलाई भने अर्को मंगलबारसम्मका लागि विदा दिनुहोस् । तपाई पनि पाँच लघुकथा रोजेर हाम्रो अभियानलाई सघाउन चाहनुहुन्छ भने स्वागत छ भन्दै विदा चाहन्छु । धन्यवाद । नमस्कार ।

+++






























No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...