Monday, May 29, 2023

लघुकथा सन्दर्भ– गणतन्त्र दिवस २०८० // १६ औँ गणतन्त्र दिवसको अवसरमा आधा दर्जन

१६ औँ गणतन्त्र दिवसको अवसरमा आधा दर्जन लघुकथा

लघुकथाः जुकाहरू -दिव्य गिरी

‘आज जुलुसमा जानु पर्दैन ?’ उसकी स्वास्नीले सोधी ।

‘किन जानु जुलुस सुलुसमा ?’ उसले रुखो आवाजमा प्रति प्रश्न गर्यो ।

‘लौ किन रे ! आज गणतन्त्र दिवस भन्ने बिर्सियौ ? पोहर परार त फुर्तिसाथ जान्थ्यौ त गणतन्त्र दिवस मनाउन ।’ स्वास्नीले सम्झाई ।

‘था छ । यो कुरा तैँले सम्झाउनु पर्दैन ।’

‘अनि किन त आज चुपचाप घरमै थच्चिएर बसेका छौ ?’ स्वास्नीले कटाक्ष गरी ।

‘त्यो गणतन्त्रल मलाई के दियो ? तँलाई के दियो ? न हाम्रो बेपत्ता भएको छोरो खोजिदियो न त ऊ नै फर्केर आयो । सन्तानको पीरलाई छातीमा उमालेर बाँच्नु पर्या छ । हरेक वर्षको गणतन्त्रमा घाँटीको नसा पनि छिन्ने गरी जिन्दावाद र मुर्दावादको नारा घन्काएँ । त्यो सबै व्यर्थ रहेछ । महङ्गीको खाडलमा जाकिएँ । पूर्खाले कमाएको वीरत्व र स्वाभिमान गुमाएँ । हिजो जुन सपना मैले देखेको थिएँ त्यो सपना सबै झरेको पातलाई आँधीले उडाएर लगेजस्तो कहाँ पुग्यो पुग्यो । एउटा राजा लखेटेर सयौं राजा बनाएँ । आज तिनै राजाहरूले देश लुटेको खबर पढिरहेछु । सत्ताको निम्ति ताण्डव नृत्य गरेको हेरिरहेछु । गणतन्त्र ठगतन्त्र बनाएपछि केको लागि जुलुसमा जानु ?’ उसले लामै भाषण सुनायो ।

‘भनेपछि तिम्रो आँखा बल्ल खुलेछ, होश पनि आएछ । मैले त हामी गरीबको लागि जुनसुकै व्यवस्था आए पनि आपैmले रगत पसिना नबगाई चुल्होमा आगो बल्दैन भनेकै थिएँ । बडो जान्ने भएर आफ्नो छोरालाई समेत उचाल्यौ । अहिले न छोरा भन्न पाइयो न त दुःख नै हट्यो ।’ उसकी स्वास्नीले भनी ।

‘हेर ! यि शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएकाछन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।

जेठ १५, २०८०

+++

 (सन्दर्भ– गणतन्त्र दिवस २०८०)

लघुकथा– भगवान्

–नन्दलाल आचार्य

तालुकराम एकाविहानै बैठक कोठामा पसेर पटकपटक एउटै वाक्य भट्याइरहेको थियो– ‘परमेश्वर र परमेश्वरी ! मप्रति सर्वदा कृपा वर्षाई बक्सियोस् ।’

‘जनतामाराले के भगवान्को नाम लिएको होला ?’ भैँसी दुहेर बजार पु¥याउने क्रममा सुनेर हर्कमानले मनमनै भने ।

‘अब हाम्रा नेता नम्र भए; धर्मकर्ममा लागे ।’ तालुकरामका अन्धसमर्थकहरूले प्रसंसाको गीत गुनगुनाए ।

एकाएक तालुकरामको फेरिएको जीवनशैली नजिकैबाट नियाल्न अढाई दर्जन सोझा गाउँले झिनो आशाका साथ आँगनमा खडा भए । तिनमा केही नेताकै चम्चे थिए । धेरैजसो नेताको दोहनमा परेका कंगालपति थिए । तिनीहरु जम्ला हातमा खडा थिए ।

लामो समय बैठक कोठामा विताएर मन्दमुस्कानका साथ तालुकराम बाहिरियो ।

‘अरूका भगवान् राम, कृष्ण, शिव, अल्लाह, दुर्गा, यशु केके नामका छन् । हाम्रो गाउँका भगवान् हजुर मात्रै हुनुहुन्छ । न्याय पाऊँ प्रभु !’ पीडित समूहले जम्ला हात गरी बिन्ती बिसायो ।

‘आफू त महादेव कसले देला वर ! म पनि रित्तो छु । मेरो सर्वस्व गुम्दै छ । खरबौँको बिगोदाबीका साथ अख्तियारले मेरो घाँटी दाब्दै छ । अब मुक्ति एकै ठाउँमा छ । हिँड सबैले एकसाथ प्रार्थना गरौँ ।’ यसो भन्दै तालुकरामले सबैलाई बैठक कोठामा पसायो ।

त्यहाँ पूजापाठ गर्ने सामग्री छँदै थिएनन् । देवीदेवताका मूर्ति वा फोटा कतै थिएनन् । थिए त केवल सत्तासिनहरूका ठूल्ठूला फ्रेमवाला तस्विर झुण्डिएका थिए । नजिकै अखबारको हेडलाइन असरल्ल अवस्था जिस्क्याइरहेको थियो– गणतन्त्र दिवसको अवसरमा खरबौँ घोटला गर्नेलाई आममाफी !

२०८०-०२-१५ सिद्धार्थटोल, उदयपुर ।

+++

 लघुकथाः– गणतन्त्र (१६औं गणतन्त्र दिवसको उपलक्ष्यमा)

नामः – कमला भट्टराई

चारैतिर लुटपाट, चोरी, हत्या, हिंसा जताततै कोलाहलै कोलाहल अह अब त अति नै भयो । एक हातमा पिल–पिल बल्ने लालटिन र अर्को हातमा लौरो टेकेर उ मध्यरातममा घरबाट निस्कियो । हिँडदाहिँड्दै उसले अनेक ठक्कर खायो । हातमा लालटिन र लौरो लिएर खोज्न हिडेको पन्ध्र वर्ष वितिसक्यो तर, अझै ऊ खोजेको खोज्यै छ ।

खोज्दा खोज्दै कयौं दिन उ बन्दमा परेर हिँडन पाएन । कयौं दिन खान नपाएर भोकभोकै बस्यो । कति दिन लालटिनमा हाल्ने तेल नपाएर अँध्यारैमा लर्बराउँदै हिड्यो । हिँड्दाहिँड्दै कसैले उसको लौरो नै खोसिदियो अँध्यारोको सहारा त्यहिँ एउटा लौरो थियो त्यो पनि खोसिएपछि अब उ बेसाहारा भयो । हार गुहार नमागेको पनि होइन तर, उसको हार गुहार सुन्दिने कोहि भएन । बल्लतल्ल संविधानसभाको चुनाव भयो । उ मख्ख पर्यो अब त मैले पक्कै भेट्छु भन्ने आशमा ।

तर, उसको लोकतन्त्र र गणतन्त्र हराएको हरायै छ कहिँ फेला परेन । बाटामा खेलिरहेका साना नानीहरुलाई सोध्छ –‘ए नानी हो तिमीहरुले गणतन्त्रलाई देख्यौं ?’ ‘खै बा....... !!! हामी त स्कूलबाट घर जाँदाजाँदै अपहरणमा परेका आफ्नै साथीलाई खोजीरहेका छौं’, नानीहरुले मलिन स्वरमा भने । बाटामा भेटेका जेष्ठ नागिरक, युवायुवती, कलाकार, चित्रकार, साहित्यकार, व्यापारी, उद्योगपति, समाजसेवि, सबै क्षेत्र तथा पेशामा सम्लग्न व्यक्तिहरु सबैलाई उसले सोध्दै हिँड्यो तर अह कसैले पनि गणतन्त्रलाई देखेको कुरा गरेनन् । ऊ हार मानेर घर फर्कियो । घरका सब आशाको दियो जलाएर संघारमा उभिएर बाटो हेरिरहेका थिए तर, उसको हातमा घरबाट लिएर गएको लालटिन र लौरोसमेत नदेखेर सबै निरास भए ।

मितीः २०८० साल जेठ १३ गते शनिबार,

स्थानः सूर्यविनायक नगरपालिका वडा नम्बर– ८, चुनदेवी (भक्तपुर) ।

+++

 गणतन्त्र दिवसको शुभकामनासहित

लघुकथा:- न्याय  -कृष्ण तिमिल्सिना"सानो बाबु"

"तेरीमा मोरा। पराई स्त्रिप्रती जबर्जस्ती करणी गर्न खोज्ने? ए डिठ्ठासाब यसलाई कानुन बमोजिमको सजाय सुनाउनु त।" श्री ३ सरकार जंगिए।

"होर सरकार?के भन्ने?कानुन त.."डिठ्ठा अलमल्ल परेको देखेर श्री ३ फेरि रिसाए"हैन!के अल्मलिएका ए डिठ्ठा?खुरुक्क सुनुवाई गरन।"

"यिनी त सरकारको उता साइँला भाइतिरका भतिज होइबक्सिन्छ।"डिठ्ठाले श्री ३ को कानमा साउती मारे।

"ए हो र?अघिनै भन्नु पर्थ्यो नित।लु त्यसो भए त्यो आइमाईलाई परपुरुषसँग लागेको भनेर जरिबाना तिराउ र अभियुक्तलाई ससम्मान रिहा गर।"

कृष्ण तिमिल्सिना"सानो बाबु"

कंचनरुप नगरपालिका सप्तरी

+++

 लघुकथा- आजको लक्ष्मण -श्याम गोपाल आशा

एकबिहानै दुई जना दाजुभाइ आफ्नो प्रहरी कार्यालयमा पुगे ।

एकले भन्यो, “लौ न, इन्स्पेक्टरसाब मेी श्रीमतीको खोजी गरिदिनु पर्यो । आज चार दिनदेखि उनी बेपत्ता भएकी छन् । उनी बस्ने सबै सम्भावित ठाउँहरूमा खोजीसकेँ, कहीँ कतै भेटिएन ।”

इन्स्पेक्टरले भन्यो, “आउनुस् तपाईंहरू यता आउनुस् । हिजै मात्र एउटा नारीको लास फेला परेको छ तर अनुहारबाट चिह्न गाह्रो छ । केही सरसामानहरू छन्, त्यसबाट सनाखत गर्नुहोस् । यो लाश कहीँ तपाईंहरूकै त होइन ?

दुवै दाजुभाइ इन्स्पेक्टरको पछिपछि लागे । एउटा लाशतिर पुगे र त्यहाँ भएका केही सरसामानहरू हेर्न थाले । दाजुले एउटा औँठी उठाउँदै भन्यो, “बाबू ! हेर त, यो औँठी तिम्रो भाउजूको हो जस्तो छ ।”

“होइन,” भाइले भन्यो ।

“ल, यो हेर त, यो पाउजु तिम्रो भाउजूको हो ?”

“होइन दाइ,” भाइले फेरि भन्यो ।

त्यसपछि दाइले लामो सास फेर्दै भन्यो, “ए, त्यसो भए यो लास तिम्रो भाउजूको होइन ।”

दाइले आफ्नो भनाइ पूरा गर्न नपाउँदै भाइले भन्यो, “दाइ, त्यो लाशनिर च्यात्तिएर फ्याँकिएको ब्रेसिएर चाहिं भाउजूको हो ।”

###

 लघुकथा -नमस्कार -नारायण पौडेल

सुब्बा हरिशंकर सेवा निवृत्त भएपछि मध्य पहाडको गाउँथलो छोडेर शहरमा बनिबनाउ घर किनेर बसे ।

जागिरमा हुँदा सेवाग्राहीको नमस्कार भेटेका उनी जागिर छोडेर बसाइँ सरेपछि भने आफैँ नमस्कार गर्ने अवस्थामा पुगे ।

अझ समाजसँग आफैँ घुस्रेर घुलमिल हुनुपर्ने बाध्यता थियो सुब्बा सापलाई ।

बिहानै उठेर घरको बरण्डामा चिया पिउँदै पत्रिका पढ्नु र समाचार सुन्नु सुब्बा सापको दैनिकी थियो ।

जब उनी बरण्डामा निस्कन्थे, ठीक उसैबेला उनको घर अगाडिको बाटोमा एउटा मान्छे हिँड्ने गर्थ्यो ।

उसले हातमा मोबाइल बोक्थ्यो र कानमा एयरफोन घुसारेको हुन्थ्यो ।

उसलाई देख्नासाथ सुब्बा सापले दिनहुँ नमस्कार गर्थे । बोलोस् भन्ने चाहन्थे । उसले नमस्कार फर्काउँथ्यो तर बोल्दै बोल्दैनथ्यो ।

महिनौँसम्म उस्तै उपक्रम चलिरह्यो । तैपनि सुब्बा साप र उसको बोलचाल भएन ।

“हैन मैले कस्तो मान्छेलाई दिनहुँ नमस्कार गरिरहेको छु हँ ?” सुब्बा सापले मनमनै आफैँलाई प्रश्न गरे र उसको बारेमा जान्ने निधो गरे ।

“हैन यी कस्ता मान्छे हुन् ?” कसैलाई सोधे ।

“ए त्यो ! त्यो त परार चुनाव हारेको नेता हो,” उसले भन्यो ।

भोलिपल्ट बिहान सुब्बा साप घरको गेटबाट बाहिर निस्कँदा ऊ आइपुग्यो ।

सुब्बा सापले बिहानै चर्को स्वरमा “सुब्बा साप नमस्कार !” भनेको सुनेँ । कहिल्यै हात नउठाउने मान्छेले आज कसरी नमस्कार गर्यो ? उनी रनभुल्लमा परे ।

बिहानै दुर्लभ नमस्कार भेटेका सुब्बा सापले त्यो दिन समाजमा आफ्नो सान र मान बढेको महसुस गरे ।

बेलुकी टिभी खोलेर हेरे । च्यानलहरुले ब्रेकिङ न्युज दिइरहेका थिए । सरकारले चुनाव घोषणा गरेको छ ।

###







No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...