Saturday, October 30, 2021

लघुकथा– लक्ष्मी–सरस्वती स्मरण –नन्दलाल आचार्य

२०७८ कार्तिक १८ गते पुण्य कार्की सरले सञ्चालन गर्ने लघुकथा लाइभ वाचन–१६ मा वाचनका निम्ति लेखिएको रचना–

लघुकथा– लक्ष्मी–सरस्वती स्मरण
–नन्दलाल आचार्य


‘भैलिनी आइन् आँगन; घुमीघुमी नाच        
सधैँ आउँछ आठ बजे लघुकथा वाचन ।
फूलैफूलको सुभाषले मनै अघाउला
हाँसीखुशी चाड माने श्री भित्र्याउँला ।
हे औँसी बार गाई तिहार भैलो ।’

आँगनभरि भैलिनीहरू नाच्दैगाउँदै रमाइलो गरेको देखेर उनीहरूको ध्यान खिच्न मैले पनि  भट्याएको थिएँ; 
‘नानीहरू आएछौ; धेरै बेर भैलिनी गाएछौ
घोक्रो पनि सुक्यो; आखिर के नै पाएछौ ।
बरु देओ आसिक; धनधान्य भइरहोस्
सधैँ यस्तै नाच्ने–हाँस्ने दिन आइरहोस् ।
हे औँसी बार गाई तिहार भैलो ।’

मेरो आशय बुझेर उनीहरूले आसिक दिँदा भनेका थिए; 
‘लक्ष्मी जयन्तीको यस पुनित घडीमा
धनसँगै बस्न यहाँ मनले समेत पाओस् ।
देउसेभैलेले दिएको आसिक लागिरहोस्
सदा सर्वदा यस घरबाट साहित्य जन्मिरहोस् ।
हे औँसी बार गाई तिहार भैलो ।
दिएको दक्षिणामध्ये उनीहरूले फूलको थुँगा र सेलरोटी मात्रै उठाएका थिए । अरू सबै आफ्नै काममा लगाउन आग्रह गरेका थिए । साँच्चै गज्जवले रमाएका थिए । 
उनीहरू जाँदाजाँदै सुनिएको थियो; ‘हामी आयौँ; पर्व मनायौँ; खुशी मन लिएर फर्कियाँै । फेरिफेरि आउन पाइयोस् । हरेकको मनमा अमनचयनले वास गरोस् । लक्ष्मीका मात्रै हैन सरस्वती भोका पनि बनियोस् । हरेक वर्ष घरघरबाट साहित्य फुलोस् र फलिरहोस् ।’

उनीहरू विदा हुनासाथ बाले मलाई हकादै सोध्नुभएको थियो; ‘पैसो चाइन्जो कम दिइस् क्यारे नलिई गए । क्या हो केटा । देउसीभैली गाएको पनि अर्कैअर्कै गाउँथे ।’

‘यिनरू रमाउन निस्केका हुन्, कमाउन होइन । हामीले देको फूल र खानेकुरा लिए त । आसिक दिइहाले ।’ मेरा कुरा सुनेर बा नाकनिक गर्न थाल्नुभयो । 
मैले पुनः भनेको थिएँ; ‘यत्तिमै उनरू सन्तुष्ट छन् । हामेरूले पनि सन्तोक गर्नुपर्छ ।’

वास्तवमा उनीहरू सांस्कृतिक पर्वसँगै महाकविको स्मरण गर्दै हिँडेका थिए ।

२०७८–०७–१४ सिद्धार्थटोल, उदयपुर ।


Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...