लघुकथा– थेत्तरो केटो
‘मेरो नाति ठूलो मान्छे बन्छ । जनताको आशा र भरोसाको नेता बन्छ । दुःख आफैँ पिउँछ र सुख अरूलाई बाँड्छ ।’
मेरा बाजे नथर साहूको यस्तो कथनले म मख्ख हुन्थेँ । गाउँघरतिर मेरो बढ्दो प्रभाव उहाँलाई मन परेको अनुभूत हुन्थ्यो । त्यस हरिरावा गाउँमा दिनानुदिन मेरो बोलबाला बढ्दै गएको गाउँलेहरू भने खासै मन पराउँदैनथे ।
वरपरका छरछिमेकी कसैले पनि आफ्ना बच्चाहरूले मसँग दौडधुप गरेको रुचाउँदैनथे । तसर्थ कसैलाई पनि मसँग खेलदौड गर्ने र हिँडडुल गर्ने छुट थिएन । आफ्ना आमाबाबुबाट पिटाइ खाएको बिर्सेर साथीहरू जम्मा हुन्थे । म उनीहरूको नेता हुन्थेँ । स्कुल जाने बहानामा दिनभरि हामी बरालिन्थ्यौँ । स्कुल छुट्टी भएपछि घर पुग्थ्यौँ ।
स्कुल छुट्दा साथीहरूको पढाइ कमजोर हुँदै गएछ । म भने दिनानुदिन तेज बन्दै थिएँ । कारण, घरमा बाजे मलाई कडाइका साथ पढाउनुहुन्थ्यो । अरू बेला उहाँले जति छुट दिए पनि पढ्ने बेला भने उहाँजस्तो खरो अनुशासन लाद्ने मान्छे विरलै थिए । म उहाँको स्वभावबाट भलिभाँती परिचित थिएँ ।
चारैतिर तिहारको रौनकता लागेको थियो । एक दिन विहानै उहाँले मलाई प्रेमले उठाउनुभयो । रागे कुकुरसँगै लगेर पोखरीमा नुहाइदिनुभयो । त्यत्तिउँजेल घरमा छरछिमेकी जम्मा भइसकेका थिए । मलाई रागेको जस्तै चारहात पाउ टेकाउनुभयो । त्यसैसँग टीकामाला लगाइदिँदै कुकुर तिहार मनाउनुभयो । एउटै थालमा खानेकुरा दिनुभयो । रागे खान थाल्यो । म हेरिरहेँ ।
बाजे भुत्भुताएको सुनिरहेको थिएँ, ‘तँ र रागेमा केही फरक छैन । रागेको उजुरी गर्न एकाविहानै यत्तिको मानवसागर कहिल्यै उर्लेन । मेरो नातिबाट बढुवा भएर तँ रागेको पिता भइस् ।’
२०७८–०७–१३ सिद्धार्थटोल, उदयपुर ।
No comments:
Post a Comment