Saturday, October 30, 2021

लघुकथा- ससुराप्रेम -नन्दलाल आचार्य

लघुकथा- ससुराप्रेम
-नन्दलाल आचार्य

हुनेबाला ससुरा मलाई सकी नसकी लखेटिरहन्छन् । कारण म बुझ्न सक्तिनँ । खालि म लखेटिन्छु । उनका आँखा नै कामुक देखिन्छन् । म शङ्कालु नजरले हेर्छु ।
म त्यस गाउँमा भित्रनासाथ उनकी पत्नी वितेकी थिइन् । लगातारको एक हप्ते ज्वरोले मेरा पतिले पनि परमधामको यात्रा तय गरेका थिए । उनी विधुर बनेका थिए; म विधुवा भएकी थिएँ ।
घाँसपात र मेलापात गर्न जाँदा वा फर्कंदा एकान्त भेट्यो कि मलाई एकोहोरो हेरेर र्याल चुहाउन थालिहाल्थे । उनी बोल्न खोज्थे । आइज मेरै बाहुपासमा सर्पझैं बेरिन आइज भनेजस्तो लाग्थ्यो ।
उनी सत्तरी कटेका म बीस वर्ष टेकेकी हामी बीचको अनमेल सम्बन्ध असम्भव थियो । म हुँदै हुन्न भनेर टाप कस्थेँ । उनी पर्ख र कुरा सुन भन्थे । मलाई भयले गाँज्थ्यो । म अन्धाधुन्ध दगुरेर क्षणभरमै अलप हुन्थेँ ।
म मेरो मनको भय अरूलाई सुनाउन सक्तिनथेँ । किनभने उनका छोरासँग मेरो दोश्रो विवाहको कुरा स्वयम् मेरा सासूसरुरा गरिरहेका थिए । अर्कातिर म अरूसँग भएको बेला भने उनी मलाई पुलुक्क पनि हेर्दैनथे ।
म उनका छोरासँग जोडा बाँधिन आतुर थिएँ । त्यसमाथि समाजमा नभएको काम हुँदै थियो- सासूसरुराले नै कन्यादान दिने ।
मेरा बाबामामूलाई साक्षी राखेर कन्यादान दिइसकेपछि सासूससुराले भनेका थिए; 'छोरो थियो त तिमी बुहारी थियौ । छोराले धर्ती नै त्यागेपछि तिमी छोरीमा परिणत भयौँ । आज हामीले रहर पुरा गर्यौँ । नयाँ दाम्पत्य जीवन शुभ बनोस् ।'
मेरो मनमा खुशी र सम्मानसँगै भयले घाँटी अठ्याइरहेको थियो । नयाँ घरमा भित्रिएको दुई घण्टापछि नै मेरो मनमा मात्रै हैन जीवनमै भुइँचालो गएको थियो ।
म एक्लै भएको मौका पारी उनै ससुरा मेरो कोठामा पसेर भनेका थिए; 'मैले अधर्म पचाउन सकिनँ । पैला नै भन्न खोज्या थेँ । मेरो छोरो एडस् पीडित छ । तिमी आफ्नो प्राण आफैँ जोगाऊ ।'
२०७८/०७/१२ उदयपुर । Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...