लघुकथा : त्यही दुष्ट बाउले हो
-नन्दलाल आचार्य
पारिवारिक गाँठाहरू फुकाउन मोबाइलमा ब्यस्त थिएँ । त्यसैबेला सुनेको वाक्यले अधकल्चो मनलाई अरू मरणासन्न पारेको छ ।
साउने झरी उघ्रेर घाम झुल्केको थियो । गाउँबाट पढ्न आउने आफन्तलाई आउन नदिन छोरीको कडा उर्दी थियो ममाथि । म पढ्ने मान्छेलाई वातावरण दिनु मेरो वाध्यता र समयको आवश्यकता हो भनी विवशता पोखिरहेको थिएँ । आमाछोरी पारिवारिक कुरामा फतफताउँदै सुसेधन्दामा लागेका थिए ।
त्यसैबेला आँगनमा भेटिएका पाँचवटा आँपका पात देखेर आमाले सोधेकी थिइन्; "रुखका पात टिपेर र यहाँ छरेर कसले काम बढाएको हो ?"
वास्तवमा सानो छोराको अनुनयलाई टार्न नसकेर अघिल्लो दिन मैले नै ती पात टिपेर दिएको थिएँ । खेलिसकेर पनि उसले ती पात आँगनमै छरेको रहेछ । ती कुरा अहिले आएर सम्झँदै छु ।
आफूले सोधेको प्रश्नको जवाफ नआएकोले आमाले प्रश्नको पुनरावृति गर्दै सोधेकी थिइन्; "किन कोही नबोलेको ? लुतेले कि; बिर्नीले कि; पिचिरीले कि वा बाउ साहेबले हो ?"
यसै बैकल्पिक प्रश्नको उत्तरस्वरूप छोरीको मुखबाट फुत्केको उत्तररूपी नयाँ पुस्ताको उग्रताको वाणले उठ्नै नसक्ने गरी थलिन पुगेँ ।
+++
-2078/04/03 विहान 9:33 बजे आइतबार शुभम् । अल इज ओएल ।

No comments:
Post a Comment