Saturday, July 17, 2021

कथा समालोचना ः कथाकार पुण्य कार्कीका कथामा पौरस्त्य नीतिचेतना –नन्दलाल आचार्य

 कथा समूहको आठौँ वर्ष प्रवेशको अवसरमा शुभकामनासहित प्रस्तुत छ विज्ञसमीक्षित लेख (पियर रिभ्यु आर्टिकल) अन्तर्गतको एक समालोचना । यो समालोचना २०७७ मा प्रकाशित ‘पुण्य कार्कीको कथाकारिता’ नामक कथा समालोचना कृतिमा समाविष्ट छ–

पुण्य कार्कीकाे कथाकारिता


कथा समालोचना ः कथाकार पुण्य कार्कीका कथामा पौरस्त्य नीतिचेतना


–नन्दलाल आचार्य



सारकथन


(प्रस्तुत अध्ययन कथाकार पुण्य कार्कीको ‘जून, जुने, जुनेली रात’ (२०७५) कथा सङ्ग्रहभित्रका १५ कथाहरूमध्ये पाँच कथा व्रmमशः ‘नन्दु सर’, ‘अतृप्ति’, ‘बँदेलप्रेम’, ‘योगीका सपना’ र ‘रामहरिको गुन’ कथाका पाइने पौरस्त्य सामाजिक सांस्कृतिक नीतिचेतनाकोे अध्ययन–विश्लेषणमा केन्द्रित छ । अध्ययनका व्रmममा प्रशिद्ध पौरस्त्य नीतिहरूको सामान्य परिचय दिई विवेच्य कथाको परिचयात्मक चर्चा गरिएको छ । साथै उपर्युक्त कथामा प्रयुक्त पौरस्त्य नीतिचेतनाको खोजी गरी त्यसको विश्लेषणबाट प्राप्त निष्कर्ष निकालेर ती कथामा नीतिचेतनाको औचित्यको निरूपण गरिएको छ । प्रस्तुत अध्ययन मूलतः व्याख्या–विश्लेषणात्मक अध्ययन विधिमा आधारित छ । कथाकार कार्कीको समग्र कथाकारिताको सामान्य विवेचना गरी विश्लेषित पाँच कथामा नीतिचेतनाको उचित प्रयोग गरिएको देखाइएको छ । पाँच कथाका माध्यमबाट नै कथाकारले युगिन वस्तुस्थिति, समयको नीतिचेतनात्मक पाठ, समाजप्रतिको हाम्रो दायित्वबोधको उद्घाटन गरेका छन् । कार्कीका कथामा आफ्नो मौलिक कथा लेखन कलाकौशलको सशक्त प्रस्तुतिकरण गर्नुका साथै समग्रमा नेपाली कथा साहित्यमा पौरस्त्य सांस्कृतिक नीतिचेतनाको परम्परालाई सशक्त ढङ्गले प्रयोग गरिएको निष्कर्ष निकालिएको छ ।)


विशेष शब्द– सभ्यता, वाङ्मय, सांस्कृतिक, मुक्तिमार्ग, एकाकार, मुर्दाशान्ति, सामञ्जस्यता ।


१. विषय प्रवेश


१.१ पौरस्त्य समाजको परिचय


बदलिँदो समयसँगै मानिसको मस्तिष्क विकसित भएर समाज विकसित भएको हो । मानव समाजको विकासको ठ्याक्कै तिथिमिति बताउन कठिन छ । यद्यपि मानिसले आर्जन गरेको भौतिक उपलब्धिबाट मानवको सामाजिक परिवेश निर्माण भएको ठहर गर्न सकिन्छ । इशापूर्व दशौँ शताब्दीमा युरोपमा दर्शनको प्रारम्भ भएको थियो । एसियामा पनि त्यति नै समयमा दर्शनको आविष्कार भएको थियो भनेर राहुल सांकृत्यायनले उल्लेख गरेका छन् । यसबाट मानव सभ्यताको विकास सबैतिर भएको भन्ने बुझिन्छ । पौरस्त्य र पाश्चात्य दुवैको सामाजिक जीवनको साइनो मानव चेतनासँगै छ ।


पौरस्त्य शब्दले पूर्वी अथवा पुरातन, प्राच्य, प्रथम, आद्य, प्रारम्भिक अर्थबोध गराउँछ । विश्व परिप्रेक्ष्यमा दुई किसिमका सामाजिक नीतिचेतना प्रचलित छन्– पूर्वीय अथवा पौरस्त्य सामाजिक नीतिचेतना र पश्चिमी अथवा पाश्चात्य सामाजिक नीतिचेतना । पौरस्त्य जगत्को नीतिचेतनालाई विश्वको पुरानो र उच्चतम ज्ञानको भण्डार मानिन्छ । पौरस्त्य अध्यात्मवादबाट र पाश्चात्य भौतिकवादबाट नीतिचेतना प्रभावित छ । यद्यपि दुबै क्षेत्रले समाजमा बेग्लाबेग्लै स्थान बनाएका छन् । आआफ्नै कोणबाट दुवै क्षेत्रले ब्रह्माण्ड, प्रकृति र मानव समाजको व्याख्या गर्नुका साथै सामाजिक–सांस्कृति नीतिचेतना अपनाएका छन् । ‘जब मानिसको सामाजिक जीवन निर्माण भयो; त्यसले नै उत्पादनका प्रविधिहरूको विकास, समुदायका बीचको परस्पर सम्बन्ध, आमोदप्रमोदका साधनहरू, परिवेशीय जीवन र जगत्लाई अथ्र्याउन सक्ने तर्कबुद्धि आदिको विकास भयो । यसै तर्कबुद्धिको परिणाम नै आदिकालीन समाजको दार्शनिक चेतना प्राकृतिक भौतिकवादी भयो । यो अवस्थाको चिन्तन एवं सामाजिक चेतनालाई देवीप्रसाद चट्टोपाध्यायले आदिकालीन भौतिकवाद भन्नुभएको छ भने राहुल सांकृत्यायनले प्राचीन भौतिकवाद भन्नुभएको छ ।’ (उपाध्याय, २०७० ः ६३÷६४) । यसरी मानिसले विकास गरेको प्राकृतिक भौतिकवादी चेतना मान्छेको भौतिक संसारसंँग नै आधारित रहेको पुष्टि हुन्छ ।


पौरस्त्य सामाजिक चिन्तनले संसारलाई अनित्य र परिवर्तनशील मानेको छ । संसारका कुनै पनि कुरा चिरस्थायी छैनन् । संसार ईश्वरको कल्पना वा इच्छाले उत्पन्न हुन्छ र उनकै इच्छाले विलय हुन्छ भनिएको छ । शंकराचार्यले केवल आधा श्लोकमा नै अनेकन ग्रन्थहरूमा वर्णित कुरा भन्दिन्छु भनेका छन् । त्यसको आधार थियो– ब्रह्म मात्र सत्य हो र जगत् मिथ्या हो तथा जीव पनि ब्रह्म नै हो ।


पौरस्त्य सामाजिक चिन्तन पनि एउटा आस्तिक चिन्तन अर्थात्् ईश्वरलाई सर्वश्रेष्ठ सत्ताको रूपमा स्वीकार्ने विचार वा धारणा वा सिद्धान्त हो भने अर्को नास्तिक चिन्तन अर्थात्् वेद र ईश्वरको अस्तित्वलाई नस्वीकार्ने वा नमान्ने भौतिकवादी धारणा हो । आस्तिक सामाजिक चिन्तन हिन्दूका वेद, शास्त्रहरू र मुस्लिमको कुरानहरूमा आधारित हुन्छ भने नास्तिक चिन्तन जैन, चार्वाक, बौद्ध दार्शनहरूमा आधारित रहन्छ । हिन्दूका अतिरिक्त कन्फ्युसियस, बौद्ध, मुस्लिम धर्मका कुराहरू समेत पौरस्त्य चिन्तनमै पर्न आउँछन् ।


पौरस्त्य चिन्तनले ईश्वर वा ब्रह्म, आत्मा, कर्म, कर्मफल, पुनर्जन्म, ईश्वरीय अवतार, वर्ण धर्म, आश्रम धर्मअनुसार कर्तव्य व्यवस्था आदिको व्याख्या गर्दछ । यस चिन्तनमा कर्मको सिद्धान्तलाई सम्पूर्ण सुख–दुःख, जय–पराजय, सम्पत्ति–विपत्ति, लाभ–हानीको कारणको रूपमा व्याख्या गरिन्छ । पुनर्जन्मलाई दृढ रूपमा समर्थन गरिएको हुन्छ । यसैबाट पौरस्त्य सामाजिक नीतिचेतनाको आधार, जन्मस्थान, विकास र मानवको सामाजिक जीवनमा पार्ने प्रभाव वारे आङ्कलन गर्न सकिन्छ ।


१.२ कथाकार परिचय


उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा जन्मेर त्रियुगा नगरपालिकाअन्तर्गत मोतीगडा टोलमा स्थायी बसोबास गर्दै आएका साहित्यकार पुण्य कार्की (२०२७) लेखन र शिक्षण कार्यमा संलग्न छन् ।  विविध विधामा कलम चलाई उच्च छवि बनाएका कार्कीका हालसम्म ‘बाघले घाँस खायो’ (२०५४, कविता सङ्ग्रह), ‘मखमली’ (२०५७, कथा सङ्ग्रह), ‘जीवनयात्रा’ (२०५७, लघुउपन्यास), ‘कविको छैटौँ इन्द्रिय’ (२०६०, निबन्ध सङ्ग्रह), ‘मध्यरातमा’ (२०६२, कथा सङ्ग्रह), ‘हर्कुलसको खोजी’ (२०६३, निबन्ध सङ्ग्रह), ‘आस्थाको अग्निपथ’ (२०६५, कविता सङ्ग्रह), ‘दुःख’ (२०६८, काव्य), ‘रातको सुन्दरता’ (२०६९, निबन्ध सङ्ग्रह), ‘जाग्रत आँखाहरू’ (२०७३, निबन्ध सङ्ग्रह), ‘जून, जुने जुनेली रात’ (२०७५, कथा सङ्ग्रह), बङलङ बङलङ (२०७६, निबन्ध सङ्ग्रह) ‘असल बन्छु’ (२०६३, बालकविता सङ्ग्रह), ‘बलभन्दा बुद्धि ठूलो’ (२०६३, बाललोककथा सङ्ग्रह), ‘घमण्डी भ्यागुतो’ (२०६३), ‘सानीको रहर’ (२०७३, बालकथा सङ्ग्रह), ‘बलिदानीका गाथाहरू’ (२०६४, सहिद जीवनी सङ्ग्रह), ‘महान् व्यक्तिका प्रेरक प्रसङ्गहरू’ (२०६४, भाग १–४, जीवनी सङ्ग्रह), ‘ओशोका कथाहरू’ (अनुवाद) ‘शिक्षामा व्रmान्ति’ (अनुवाद) आदि कृति प्रकाशित छन् ।


कार्कीले आफ्ना कृतिमा समाजका कुकर्मीले आहत र सोझासीधा जनताले राहत पाऊन् भन्ने मनसाय राखेका छन् । ‘उज्यालोको जयगान र अँध्यारोलाई मर्दनवाण ताकेर कालो रातको मुटु क्षतविक्षत पार्नु मेरो लक्ष्य हो । प्रकृतिमा उज्यालो दिन त चिरस्थायी थिएन; त्यसलाई कालो रातले लखेट्यो । झन् रात त अजम्बरी छँदै छैन; यो पनि उज्यालोको उषाको आगमनपछि विदा हुन्छ; धर्तीबाट’ (कार्की, २०६२ ः भूमिका) । यसबाट उनी समाजमा थिचोमिचो गर्ने र विभेदकारी चालचलन हटेर रामराज्य स्थापना हुनुपर्छ भन्ने कुरामा जोड दिने साहित्यकार हुन् भन्ने प्रष्ट हुन्छ ।


स्रष्टा कार्कीले कृतिमार्फत् पिछडिएका वर्गको मुक्तिमार्ग पहिल्याएका छन् । माओवादी सशस्त्र व्रmान्तिका व्रmममा देखे, भोगे र अनुभव गरेका कुराहरूलाई रिठ्ठो नबिराई प्रस्तुत गरेका छन् । यसरी बहुसङ्ख्यक निमुखा वर्गप्रतिको गम्भीर चासो, राष्ट्र र राष्ट्रियताप्रति गम्भीर संवेदनशीलता, समाजप्रतिको दायित्वबोध र प्रगतिशील राजनैतिक सचेतना जस्ता कुराहरू स्रष्टा कार्कीका प्रमुख साहित्यिक प्रवृत्ति हुन पुगेका छन् । ‘उनका कथाहरूले सामन्ती संस्कार, दासमनोवृत्ति र सामाजिक शोषणले लाटो पारिएका मनहरूमा विद्रोह सञ्चार गर्छन्; अज्ञानता र अशिक्षाले सुषुप्त मनहरूमा जागृति भर्छन् र मानवद्वोषीहरूद्वारा गरिएको असह्य अत्याचारले पलायन भएका मनहरूमा आँट र उत्साह छर्छन्’ (ज्ञवाली, २०६२ ः गाता) । यसरी स्रष्टा कार्कीले आफ्ना कथाहरू मार्फत समेत वर्तमानको जग बलियो पारेर भविष्य सपार्न खोजेका छन् । कथामा साहित्य, कला र संस्कृतिको जगेर्नाबाट समाज रूपान्तरण गरी नवीन अध्याय थप्न सकिने विचार पोखेका छन् ।


२०४७ सालमा ‘नवपालुवा’ पत्रिकामा ‘सुनिश्चित पाइलाहरू’ कथा प्रकाशन गराएका कथाकार कार्कीले आफ्ना कथामा समाजका विषमता, विसङ्गति र अन्योलग्रस्त परिस्थितिको चित्रण गरेका छन् । साथै समाजमा व्याप्त अन्याय, अत्याचार, शोषण, दमन आदिको विरोध गर्ने अभीष्ट बनाएका छन्् । ‘कार्कीका कथामा लोभलालच, कृपणता, वैयक्तिक स्वार्थ, नाफाखोरी प्रवृत्तिले मानिसको हित हुन नसक्ने भाव व्यक्त गरिएको छ । शोषित, पीडित, दुःखी र निम्नवर्गका पीडाप्रति कार्कीका कथा संवेदनशील बनेका छन् । यस्तो भावना लेखकीय मध्यस्वरको मान्यतासँग निकट छ’ (गिरी, २०७५ ः ३०८) । उनले देशको सामाजिक आर्थिक दुरावस्थाको चित्रण र वर्गीय दृष्टिकोणका साथै निम्न वर्गप्रतिको सहानुभूति, नेपाली समाजमा विद्यमान भोक, रोग, अशिक्षा, गरिबी, अभावजस्ता कुराहरू कथामा उतारेका छन्् ।


उनी समाजको सामाजिक जनजीवनलाई प्रगतिवादी चिन्तनबाट कथामा प्रयोग गर्न सिपालु छन् । कथामा राज्य आतङ्कको खुलेर भत्र्सना गरेका छन् । उनले लेखनीका माध्यमबाट राष्ट्रप्रेमी र राष्ट्र सुधारको स्वर गुञ्जाएका छन् । ‘जनता, जीवन र जमिनको मर्म छोइएन भने साहित्य सिर्जना अर्थहीन हुन्छ भन्ने मान्यताका हिमायती कार्कीका रचनाले जनताको बोली बोल्छन् । गरिबी र अभावको पीडाबाट घाइते बनेका जनताको समस्या सुल्झाउनुपर्ने आबश्यकता औँल्याउँछन् । अन्यायमा परेर थिचिएका जनतालाई जोस, जाँगरका साथ उठेर हक अधिकार उपयोग गर्दै स्वाभिमानी पूर्ण स्वाधीन जीवन जिउन सक्षम छौँ हामी भन्ने आत्मविश्वास दिलाउँछन्’ (न्यौपाने, २०६७ ः ५८१) । उनी कथामा श्रमजीविहरूको आवाज बुलन्द पार्दै विजय निश्चित रहेको आशावादी विचार समेत प्रेषण गर्छन् । यसरी समाजको वर्गीय विसंगतिलाई धेरै ठाउँमा केन्द्रीय र कतैकतै भने परिधीय स्थानमा राखेर कथाको कथ्य फेला पार्न सकिने कथा लेख्ने कार्की समसामयिक कथा जगत्मा सबल कथाकार ठहरिएका छन् ।


उनले कथाकृति मार्फत नेपालीहरू बीचको अखण्ड राष्ट्रिय एकता र मेलमिलापको प्रशंसा गरेका छन् । आमूल परिवर्तनको पक्षमा उभिएर जनचेतना छर्न सक्नुपर्छ भन्ने जस्ता प्रवृत्ति लिएर कार्की साहित्यमा देखिएका छन् । ‘आर्थिक असमानता र संवेदनाहीन राजनैतिक कार्यशैलीका कारण उत्पीडित वर्गीय पक्षधरता प्रस्तुत गरी पुण्य कार्कीका कथामा प्रगतिशील चिन्तनको पक्षपोषण भएको छ’ (शर्मा, २०७४ ः ३६) । यसरी सर्जक कार्कीले यथास्थितिवादी र पश्चगमनवादीहरूको झाँको झारी अग्रगमनको दिशामा लाग्न उक्साएका छन् ।


अहिलेको समकालीन यथार्थका बहुल पाटालाई रचनाकर्मका माध्यमबाट स्रष्टा कार्कीले आफ्नै ठाउँबाट सार्थक र उद्देश्यमूलक ढ्रङ्गले गरेका छन् । ‘नारीमाथि हुने गरेको हिंसा तथा शोषणको विरोध गरी समतामूलक समाजको अपेक्षा गरेका छन् । जनप्रतिनिधि भनाउँदाहरूको दुराचारको पर्दाफास गरेका छन्’ (श्रेष्ठ, २०७५ ः ३७०÷३७१) । उनी आफू साहित्य साधनामा निरन्तर लागेका छन् र अनुजवर्गलाई पनि समाजसापेक्ष अग्रगामी सोचयुक्त साहित्य लेख्न उत्प्रेरित गरिरहेका छन् ।


आफ्नो इमान्दार कर्मका अतिरिक्त साहित्यका माध्यमबाट समेत आगामी पुस्तालाई समाज रूपान्तरणको काम उत्प्रेरित गर्न सकिने विचार प्रेषण गरेका छन् । ‘कार्की यस परम्पराका निकै सवल कथाकार हुन् । उनका कथाले नेपाली जीवनका सबल बिम्बहरूलाई तीव्र आलोचनाका दृष्टिले हेर्ने काम गरेका छन् । मानवीय शाश्वतता संवेदनाका स्वरूप र त्यस्ता मूल्य माथि कुठाराघात गर्ने गरी नेपाली समाजमा जरो गाडेर बसेका सामन्ती चिन्तन र विकृतिहरू राम्ररी ठम्याउने काम कार्कीका कथामा भएको छ’ (सुवेदी, २०५९ ः ३२) । उनी सशस्त्र द्वन्द्वलाई कथामा सजीव तवरले उतार्ने उदयपुरका पहिलो कथाकार कहलिएका छन् । उनले राष्ट्रिय स्वाभिमानलाई आफ्नो आदर्शपुञ्ज ठान्ने गरेका छन् । आजका कमरेडहरूले सुविधाभोगी नभई निस्वार्थी मनले जनसेवामा समर्पित हुनुपर्ने आवाज उठाउने गरेका छन् । उनले कलमीकर्ममार्फत् लोक कल्याणमा शहादत हुनेहरूप्रति श्रद्धा र आस्था खन्याएका छन् । यसरी निरीह वर्गका मानिसहरूको दयनीय स्थितिको चित्रण, सरल, वर्णनात्मक शैली र प्रायः रैखिक ढाँचाको प्रयोग कथाकार कार्कीको परिचय र पहिचान बनेको छ ।


२. प्राज्ञिक जिज्ञासा वा उद्देश्य


यस आलेख कथाकार पुण्य कार्कीको ‘जून, जुने, जुनेली रात’ (२०७५) कथासङ्ग्रहभित्रका ‘नन्दु सर’, ‘अतृप्ति’, ‘बँदेलप्रेम’, ‘योगीका सपना’ र ‘रामहरिको गुन’ गरी पाँच कथाहरूको मात्रै पौरस्त्य सामाजिक–सांस्कृतिक नीतिचेतनाकोे आलोकमा अध्ययन–विश्लेषण गरिएको छ । यी पाँचै कथाहरूले तत्कालीन समाजको विद्रुप र सुन्दर दुबै यथार्थ देखाउनुका साथै पौरस्त्य नीतिचेतनाको लेखाजोखा गरेका छन् । यी कथामा पात्रको जीवन भोगाइले पौरस्त्य नीतिचेतनासँग के कस्तो सामञ्जस्यता राख्तछ ? नीतिचेतना बारे लेखकीय पक्षधरता के कस्तो छ ? यिनै जिज्ञासामा केन्द्रित भई ‘जून, जुने, जुनेली रात’ कथासङ्ग्रहका कथाहरू मध्ये उल्लेखित पाँच कथामा मात्रै पौरस्त्य नीतिचेतनाको खोजी गर्ने मनसायले अध्ययन गर्नु नै यस आलेखको मुख्य प्राज्ञिक जिज्ञासा वा उद्देश्य हो ।


३. विधि र सामग्री सङ्कलन


कथाकार पुण्य कार्कीका कथामा पौरस्त्य नीतिचेतनाको खोजी गर्नका लागि पुस्तकालय कार्यका माध्यमबाट प्राप्त भएका सान्दर्भिक पुस्तक, समालोचनात्मक लेखहरूबाट प्राप्त सूचनाको मद्दतले सामग्री सङ्कलन गरिएको छ । साथै सर्जकसँग साक्षात्कार गरेर समेत आवश्यक सूचना लिइएको छ । यो आलेख मूलतः गुणात्मक अनुसन्धान ढाँचामा संरचित छ । यसका लागि ‘जून, जुने, जुनेली रात’ कथासङ्ग्रहलाई नै सामग्रीको मूल आधार बनाइएको छ । यी कुराको अतिरिक्त द्वितीयक स्रोतका रूपमा अन्य आलेख, पुस्तक, अनुसन्धानात्मक लेख, प्रतिवेदन आदिको उपयोग गरिएको छ । प्राप्त तथ्यलाई व्याख्या र विश्लेषणका माध्यमबाट निष्कर्षमा पुग्ने प्रयास गरिएको छ ।


४. विश्लेषणको आधार


४.१ सामाजिक–सांस्कृतिक नीतिचेतनाको सामान्य परिचय


नीतिचेतना सामाजिक–सांस्कृतिक पक्षसँग जोडिएको विषय हो । ‘सामाजिक’ शब्दको शाब्दिक अर्थ ‘समाजसँग सम्बन्धित, समाजको । समाजमा पाइने, हुने वा रहेको (कुरीति, चलन, व्यवस्था, नीति आदि)’ (नेपाली बृहत् शब्दकोश एप, २०७६) भन्ने हुन्छ । संस्कृति भन्नासाथ कुनै राष्ट्र, जाति वा समुदायको भाषा, साहित्य, धर्म, कला, दर्शन, चाडपर्व, परम्परा, सामाजिक जीवन, आर्थिक व्यवस्था, राजनीति, चालचलन, खानपिन, जीवनशैली, पहिरन, चिन्तन आदि अनेकन कुराको समष्टि नाम भन्ने बुझिन्छ । ‘धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक, बैचारिक तथा परम्परागत धारणाको रूपमा विकसित हुँदै आएको र आचारविचार, रहनसहन आदिका माध्यमले कुनै राष्ट्र, समाज, जाति आदिको स्वरूप खुट्टिने यावत् मान्यता, भावना, चिन्तनमनन, भौतिक अभिव्यक्तिहरू समेतको समूह वा साधन’ (नेपाली बृहत् शब्दकोश एप, २०७६) नै संस्कृति हो । यसरी संस्कृतिले मानव समुदायको काम गर्ने तरिका, खाने तरिका, बोल्ने तरिका, सोच्ने तरिका, हिँड्ने तरिका, बस्ने तरिका आदिलाई समेत समेट्छ ।


मानव जीवनमा नीतिचेतनाको जन्म गराउने सांस्कृतिक पक्ष मानवको परिचय र पहिचान हो । सांस्कृतिकरूपले हामी मानव अघि भएकाले नै धरतीमा अस्तित्वमा आएका अनेकन प्राणीहरू मध्ये सर्वश्रेष्ठ कहलाउन सकेका छौँ । ‘कुनै समयको समाजले त्यति बेलाको सामाजिक अवस्थाको लागि बनाएको आचार व्यहोरा वा व्रिmयाकलापले निरन्तरता पाएपछि त्यो संस्कृति बन्दछ । संस्कृति कुनै पनि राष्ट्र, जाति वा समुदायलाई चिनाउने मुख्य आधार हो । संस्कृति समाजलाई एकताबद्ध गर्ने एउटा कडी पनि हो । व्यक्तिगतरूपमा मानिस भिन्न भए पनि सांस्कृतिक रूपमा त्यो एउटा समुदाय वा राष्ट्रको अङ्गका रूपमा रहेको हुन्छ’ (त्रिपाठी, सुवेदी, ज्ञवाली, २०७४ ः ८०–८४) । यसरी हेर्दा नीतिचेतना जन्माउने संस्कृति मानव समुदायको एक प्रकारको आचारसंहिता पनि हो । पौरस्त्य जगत्मा संस्कृतिरूपी आचारसंहिता पालन गराउनका निम्ति धर्मलाई नै संस्कृतिसँग एकाकार गराउने चलन चलेको पाइन्छ ।


अर्कातिर सामान्यतः नीति भन्नाले अपनाइएको मार्ग भन्ने बुझिन्छ । ‘आचरण, चालचलन, व्यवहार’ (आप्टे, १९६९ ः ५५०) नै नीति हो । यस शाब्दिक अर्थले समेत मानिसले अपनाउने आचरण, चालचलन, व्यवहारलाई नै नीति भनेर संकेत गरेको पाइन्छ । अर्कातिर मानवीय व्यवहारलाई सुदृढ ढंगले सञ्चालन गर्ने व्यवस्थित नियमलाई नीति भनिएको पाइन्छ । ‘विभिन्न जाति, वर्ण, आश्रम, धर्म सम्प्रदायहरू प्रवर्तकबाट लोकव्यवहारको सञ्चालनका लागि निर्धारित आचार, आचार पद्धति, आचारसंहिता । राज्यसञ्चालनका चार प्रमुख उपाय–साम, दाम, दण्ड र भेदमध्ये कुनै एक’ (नेपाली बृहत् शब्दकोश, २०४० ः ७४७) नै नीति हो । यसबाट नीति समाजसापेक्ष हुनुपर्छ भन्ने भाव झल्कन्छ ।


अर्कातिर मानव समाजले समात्नुपर्ने एक खाले कर्तव्य समेत नीतिभित्रै पर्छ । ‘लोकले लिनुपर्ने आचारव्यहारको सही बाटो, कर्तव्य, आचारण, विधि–मान्यता’ (अधिकारी, भट्टराई, २०७० ः ७९१) नीति हो । समाजले उन्नति र प्रगतिको बाटो समाउनका लागि असल नीतिको अपरिहार्यतालाई अस्विकार गर्न मिल्दैन ।


अर्कातिर प्राणीमा हुने ठीक–बेठीक छुट्याउने ज्ञान नै चेतना हो । ‘प्राणीमा रहने भित्री ज्ञान, चैतन्य, सत्–असत् छुट्याउन सक्ने बुद्धि, विवेक’ (नेपाली बृहत् शब्दकोश, २०४० ः ४२४) चेतना हो । चेतनाले नै मान्छेलाई अघि बढाउँछ । त्यसैले चेतना मानिसमा हुने होसियारपन पनि हो । ‘होस, चेत, बोध । बुद्धि, विवेक, अनुभूति (अधिकारी, भट्टराई, २०७० ः ४४७) नै चेतना हो ।’ मानिसको सोचाइ, बुझाइ र काम गराइ सबै चेतनाबाटै निर्देशित हुन्छ ।


पौरस्त्य सामाजिक जीवनमा पाइलापाइलामा सामाजिक तथा सांस्कृतिक नीतिचेतना प्राप्त गर्न सकिन्छ । केही श्रीमद्भागवत महापुराण गीता, गुणरत्नमाला, चाणक्य नीति, धौम्य नीति, शुक्रनीति, रामायण, वेद, महाभारत शान्ति पर्व, हिन्दू जीवन आदि ग्रन्थबाट लिइएका केही सारगर्भित जीवनोपयोगी सामाजिक सुक्तिहरू यस्ता छन्–


–बाघबाट एक, बकुल्लोबाट एक, कागबाट पाँच, कुकुरबाट छ र गधाबाट तीन कुरा सिक्नुपर्छ । गर्न चाहेको काम दिलदिमागले जब्बरजस्ती प्रयास गर्नुपर्छ भन्ने कुरो बाघबाट सिक्नुपर्छ । समयमा उठ्ने, निडर बनेर सधैँ जीवन मैदानमा काम गर्ने, आफन्त बीच सम्पत्तिको उचित बाँडफाँड गर्ने, आफ्नै प्रयत्नले रोजगारी प्राप्त गर्ने गुण कुखुराबाट सिक्नुपर्छ । आफ्नी पत्नीसँग मात्रै एकान्तमा प्रणय गर्ने, निडर हुने, उपयोगी वस्तुको सञ्चय गर्ने, सबैतिर दृष्टि घुमाउने, अरूलाई सजिलै विश्वास नगर्ने जस्ता गुण कागबाट सिक्नुपर्छ । धेरै भोकाएको बेला पनि खान नपाए वा थोरै पाए पनि सन्तुष्ट रहने, गहिरो निद्रामा भए पनि विपत्तिमा तुरुन्तै उठिहाल्ने, आफ्नो स्वामीप्रति सधैँ बफादार रहने, निडर हुनेजस्ता गुणहरू कुकुरबाट सिक्न सकिन्छ । आफ्नो भारी बोक्न नछाड्ने, गर्मी–सर्दीको वास्ता नगर्ने, सधैँ सन्तुष्ट रहने गुण गधाबाट सिक्न सकिन्छ ।


–आवश्यकता, दुर्घटना, अकाल परेको बेला, युद्ध आइलागेको बेला र श्मसान जानुपर्ने बेला असल र बुद्धिमान मित्रले साथ छोड्दैनन् । कर्तव्य पालन गरे नगरेको निरीक्षण गर्न कोही नभएकोे बेला नोकरको, आपत्मा छिमेकीको, प्रतिकूल अवस्थामा मित्रको परीक्षा लिनुपर्छ तर अनुकूल परिस्थिति रहेको बेला भने पत्नीको परीक्षा लिनुपर्छ ।


–दुष्ट पत्नी, झुट्टो मित्र, बदमास नोकर र सर्पका साथमा बस्नु साक्षात् मृत्यु समान हुन्छ । शास्त्रका सूत्रहरूको अभ्यास गरेर ज्ञान लिने व्यक्तिले वैभवशाली ज्ञानार्जन गर्छ । उसलाई ठीक र बेठीक कर्मको ज्ञान हुन्छ । अन्ततः उसैलाई सर्वोत्तम ज्ञान पनि प्राप्त हुन्छ ।


पौरस्त्य चिन्तनमा सामाजिक नीतिचेतना खोज्न विशेषतः संस्कृत वाङ्मयमा प्रवेश गर्नुपर्छ । ‘नेपाली साहित्यका विद्यार्थीलाई आफ्नो साहित्यिक परम्पराको जानकारी गर्ने इच्छा हुन्छ भने अथवा संस्कृत साहित्यकै परम्परामा रचित र रचना गरिने नेपाली साहित्यको समुचित अध्ययन, आस्वादन र मूल्याङ्कनका लागि कुनै सिद्धान्तको खाँचो पर्दछ भने त्यो संस्कृत साहित्य सिद्धान्त नै हुन्छ’ (उपाध्याय, २०५५ ः ३) । विनासंस्कृत साहित्य, लोकआहान, लोकव्यवहारका सुक्ति तथा नैतिक चेतना प्राप्त हुन सक्तैन ।  यस आलेखमा पनि कथाकार पुण्य कार्कीका कथाहरूमा पाइने पौरस्त्य चिन्तनमा आधारित सामाजिक नीतिचेतनाको अध्ययन विश्लेषण गर्न खोजिएको छ ।


४.२ कथामा प्रयुक्त नीतिचेतनाको विवेचना


पौरस्त्य दर्शनका शास्त्र–वेद पुराणहरू तथा रामायण, महाभारतको शान्ति पर्व, विदुर–नीति, चाणक्य–नीति, धौम्य–नीति, पञ्चतन्त्र, श्रीमद्भागवत गीता, गुणरत्नमाला जस्ता पुराना र पौराणिक ग्रन्थहरूले मानिसको सामाजिक दायित्व, कर्तव्य, सांस्कृतिक नीतिचेतना आदिको विवेचना गरेका छन् । तिनीहरूमा मानिसका लागि अर्थ, धर्म, काम र मोक्ष गरी चारवटा पुरुषार्थको धारणा राखिएको छ । मानिस बाहेक अरू जीवहरूलाई कर्म फल भोग्ने अधिकार मात्र भएको र मानिसलाई मात्रै कर्म फल भोग्दै नयाँ कर्म गर्ने र कर्म गर्दा गर्दै जन्ममरणको वृत्तवाट छुट्टिई मोक्ष प्राप्त गर्ने अधिकार रहेको उल्लेख गरेको छ । यसरी परिवारमा, समाजमा आफ्नो कर्तव्य निर्वहन गर्दै मोक्षका लागि समेत प्रयास गर्नका लागि विभिन्न साधन, साधना पद्धति, कर्म पद्धति आदिको प्रयोगात्मक उदाहरण साथ व्याख्या गरिएको छ । यस सिलसिलामा अनेकानेक उपासना पद्धति मध्ये योगलाई धेरै महत्त्व दिइएको छ । मानिसले जे जति कर्म गर्छन्; त्यसको फल उसले भोग्नुपर्ने हुन्छ र त्यसका लागि जन्ममरणको चक्करमा फँस्नैपर्ने हुन्छ । अहिलेसम्म हामी मानवले प्राप्त गरेका सामाजिक, सांस्कृतिक नीतिचेतनाका कुराहरू समेत यिनै ग्रन्थहरूबाट निर्देशित भइरहेका छन् ।


४.२.१ ‘नन्दु सर’ कथाको कथानकमा नीतिचेतना


‘नन्दु सर’ शैक्षिक क्षेत्रसँग जोडिएको मार्मिक कथा हो । निजी विद्यालयमा अध्यापन गरेर नन्दु सर दुई छोरीहरूसहित चार जनाको परिवार जेनतेन पालिरहेका हुन्छन् । त्यत्तिकैमा तराईका भूमिगत गिरोहले नन्दु सरसँग पचास हजार चन्दा माग गर्छन् । उनीसँग त्यत्रो रकम चन्दा दिने  सामथ्र्य विल्कुलै हुँदैन । ‘यो ठाउँको दानापानी सकिएको होला अब !’ (कार्की, २०७५ ः १०६) । उनको मन हारिसकेको हुन्छ किनभने चन्दा आतङ्क झेल्न नसकेकाले उनकै समकालीन अरू साथीहरूले रातारात तराई मधेसको त्यो सहर नै छाडिसकेका हुन्छन् ।


नन्दु सरले भने ज्याद्रो भएर केही काल विताए । ‘उहाँ भने त्यहीँ निजी स्कुलमा जीवनका स्वर्णिम आयुहरू ताछिरहनुभएको छ’ (कार्की, २०७५ ः १०६) । निजी विद्यालयकै लागि उनले जीवन अर्पण गरेका थिए । ‘नेपाली पुक्कै बोल्न नजान्ने नानीहरूलाई पढाउन कति गाह्रो भयो भने कुरा त उहाँलाई मात्रै थाह छ’ (कार्की, २०७५ ः १०८) । सामाजिक, भाषिक र अन्य व्यवहारिक झमेलाहरू सहँदै उनको शिक्षणयात्रा अघि बढिरहेको थियो । रातोदिनको धाकधम्की सहँदासहँदै पनि अघोरै भएपछि नन्दु सरको मनमा निराशाका वादल मडारिँन थालेको देखिन्छ । ‘जीवनका कुनै पनि कठोर क्षणहरूले गलाउन नसकेका नन्दु सर आज भोलि अलिअलि गर्दै गल्दै जानुभएको छ’ (कार्की, २०७५ ः १०६) । इमान र पसिनाको थोरै कमाइले उनलाई जीवन चलाउन धौधौ थियो । दिनभरि बोर्डिङ स्कुलमा हाड घोटेर जम्मा गरेको आनासुकी पैसा डेरा भाडा तिर्दा, चामल, दाल, तरकारी र छोरीको स्कुल फीमा ठीक्क’ (कार्की, २०७५ ः १०९) । यसरी जीवन चलाउनै गाह्रो महसुस गरिरहेकाहरूले भोग्नुपरेको कहालीलाग्दो जीवनशैलीलाई कथाले समेट्ने काम गरेको छ । थोरै तलबमा चित्त बुझाउन विवस नन्दु सरको मार्मिक कथानक छ ।


अन्ततः चन्दा आतङ्कसँग जुधिरहँदा उनको भाडाको घरमै बम पड्काइयो । वरपरका छिमेकीहरू पनि डरले बत्ती निभाएर सुते । आवाज सुनेर र बुझेर पनि सुरक्षाकर्मीहरू आइपुगेनन् । यसरी चौतर्फी असुरक्षा बढेपछि कुम्लोकुटुरो बोकेर नन्दु सरले सपरिवार त्यो सहर छाडेर गन्तव्यहीन यात्रामा निस्कनासाथ कथाको बिट मारिएको छ ।


अन्तरिम संविधान २०६३ प्रति असन्तोष जनाई सुरुआत भएको मधेसको आन्दोलनको इतिहासमा आफ्नै गहकिलो मूल्य र मान्यता छ । यद्यपि त्यस बखत पहाडेमूलमा जन्मेकै आधारमा तराई मधेसबाट पलायन हुनुपरेको दुःखद परिस्थिति चाहिँ दर्दनाक थियो र अद्यापि छँदै छ । ‘मधेस आन्दोलनका व्रmममा पहाडेमूलका मानिसलाई मधेसबाट लखेट्न भएका निन्दनीय हर्कत यस कथामा उल्लेख छ; त्यसैको दृष्टान्त हो ‘नन्दु सर’ शीर्षकको कथा’ (पौडेल, २०७५ ः १६) । यसरी कथाले आफ्नो कामप्रतिको निष्ठा, विद्यार्थीहरूप्रतिको जवाफदेहिता, अन्यायसँग नझुक्ने, चौतर्फी कमजोर अवस्था आइपरेको खण्डमा वा राज्यमा दण्डहिनता चुलीमा पुगेको अवस्थामा भने चलाखीपन देखाएर जीवनरक्षाको मार्ग रोज्ने काम गरेको कथानक समेटेर यस कथामार्फत पौरस्त्य सामाजिक–सांस्कृतिक नीतिगत चेतना सम्प्रेषण गर्न खोजेको छ ।


४.२.२ ‘अतृप्ति’ कथाको कथानकमा नीतिचेतना


लीलाधरले जागिर खाएर जसोतसो मनग्यै सम्पति जोडेका थिए । हरिवंश पुराण लगाएपछि छोरो सन्दिप र छोरी बन्दना जन्मिए । राम्रो शिक्षादीक्षा दिने मातापिताको कर्तव्यमा लीलाधर दम्पतीले कमी गरेनन् । फलतः छोरो अमेरिका र छोरी अष्ट्रेलिया पुगेर घरजम गर्ने हैसियतमा पुगे । पत्नी वितेपछि लीलाधर थला परे । उनलाई स्याहार्न मगर केटो तलवमा बसेको थियो । मर्ने बेलामा समेत उनले छोराछोरीको खोजी गरिरहे । उता खबर पाएर पनि सन्तानहरूले वेवास्था गरिरहे । उनको निधन भयो । सन्तानको मुहार हेर्ने र जीवनभरि जुटाएको सम्पत्ति जिम्मा लगाउने वृद्धको इच्छा अतृप्त नै रह्यो । ‘अहिलेका परिवारका सदस्यहरू समाजमुखी वा परिवारमुखी हुनुभन्दा पनि नितान्त व्यक्तिमुखी वा आफूमुखी बन्दै गएको समस्याको प्रस्तुति ‘अतृप्ति’ कथामा भएको छ’ (पौडेल, २०७५ ः १७) । यसरी कथाले आजका पुस्तामा मानवीय भावना हराउँदै जानाले र कर्तव्यच्युत बन्नाले अग्रज ज्येष्ठ नागरिकहरू मारमा परेको कथानक समेटेर यस कथामार्फत अग्रज ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने पौरस्त्य सामाजिक–सांस्कृतिक परम्परा कायम हुनुपर्छ भन्ने नीतिगत चेतना सम्प्रेषण गर्न खोजेको छ ।


४.२.३ ‘बँदेलप्रेम‘ कथाको कथानकमा नीतिचेतना


‘बँदेलप्रेम‘ कथामा रविकान्त मालिकले गोपे नोकरलाई बँदेलको खानेकुरा दिन अबेर भएको जनाउ दिँदै कथा सुरुआत भएको छ । बँदेलको अन्तिम प्राणपखेरु उडेपश्चात् कथानक समाप्त भएको छ । गोपे नोकर चाहिँ  गोरु, बा र बँदेल सबैको खानपिनमा हेक्का राख्न खोज्छ । बँदेलप्रति आशक्ति र आफ्ना देवतुल्य पिताप्रति वेवास्थाभाव राख्ने रविकान्तको रबैयाप्रति कटाक्ष गर्ने काम कथामा गरिएको छ । यिनै कुरा समेटेर बँदेलजस्तो सामान्य जन्तुलाई वेवास्ता गर्नुपर्नेमा आशक्ति देखाए पनि देवतुल्य पितालाई वास्ता गर्नुपर्नेमा वेवास्था गर्न नहुने पौरस्त्य सामाजिक–सांस्कृतिक नीतिगत चेतना यस कथामार्फत सम्प्रेषण गर्न खोजिएको छ ।


४.२.४ ‘योगीका सपना’ कथाको कथानकमा नीतिचेतना


‘योगीका सपना’ कथामा नरपतिराम नाम गरेको एक योगी निरञ्जना नदी किनारमा आश्रम बनाएर बसेको छ । उमेरले एकाउन्न वर्ष पुगे पनि उसको दमित यौन इच्छा सपनामा विष्फोट हुन्छ । अर्थात्् ऊ पटक पटक जवान अक्षत यौवाना युवतीसँग समागम गरेको सपनामा देख्तछ । स्खलित भएपछि बिउँझदा आफ्नो धर्म र कर्तव्य नष्ट, भ्रष्ट भएको ठान्दछ । ‘शरीर शुद्धिबाटै विचार शुद्धि र आत्मा शुद्धि हुन्छ भन्ने भ्रमले हो या त्यस खालका गुरुकुलमा दीक्षित भएर हो; बाल्टिनका बाल्टिन पानी नखन्याई उसलाई सन्तोष हुँदैन’ (कार्की, २०७५ ः १७५) । यसरी योगी पानीले आत्मा शुद्ध पार्ने भूल गरिरहन्थ्यो । सेम्पुले मन शुद्ध पार्ने प्रयास गथ्र्यो । योगीका नजरमा पटकपटक सपनामा दमित यौन चाहना पूर्ण गरे पनि विपनामा त्यस्तो जघन्य अपराधकर्म भने गरेको थिएन । 


एक प्राकृतिक घटनामा परेर जोगिएपछि उसले आफ्नै विधुवी भक्तिनीसँग सहवास गर्ने मौका पायो । त्यसपछिका दिनमा उसले त्यही भक्तिनीलाई शिक्षादीक्षा दिइरहनुप¥यो । गर्भ रह्यो वा रहला कि भन्ने त्रासले समेत उसलाई तर्साइरह्यो । ऊ गुरु बनेर तिनै भक्तभक्तिनीको नजरमा उभिन सकेन । र; अन्ततः उसले निरञ्जना नदीको काखमा सधैँका लागि जलसमाधि लियो ।


पश्चात्तापले जलेर योगीले त्यस्तो निर्णय लिएको कुरा अरू कसैलाई थाहा भएन । ‘आजभोलि योगी नरपतिरामले जलसमाधि लिएको थलोमा तीर्थालु भक्तगणको ओइरो लाग्न थालेको छ’ (कार्की, २०७५ ः १८२) । भ्रमवस चुत्थो काम गर्नेलाई पनि हामी उच्च दर्जा दिइराखेका छौँ भन्ने कुरालाई कोट्याएर व्यङ्ग्य गर्ने र नकामलाई तिरस्कार गर्नेुपर्ने पौरस्त्य सामाजिक–सांस्कृतिक नीतिगत चेतना कथाले व्यक्त गर्न खोजेको छ ।


४.२.५ ‘रामहरिको गुन’ कथाको कथानकमा नीतिचेतना


कथामा रामहरिले आपत्मा परेको कान्छो र उदयलाई सहरा दिएका छन् ?

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...