कथा समुहको सातौं वार्षिकोत्सव तथा आठौं वर्ष प्रवेशको शुभ उपलक्ष्यमा तमाम कथा सर्जक र पाठकहरुमा हार्दिक शुभकामना प्रकट गर्दै कथा- समय शल्यक्रिया
–नन्दलाल आचार्य
साँझको समय थियो । चैते रामनवमी पर्व नजिकिँदै थियो । यस बखत मध्य तराईको एक सदरमुकाम समेत धार्मिक भएको थियो । चारैतिरबाट आएको भजन–कीर्तन र प्रवचनको ठूल्ठूलो आवाजले कानै खाइरहेको थियो । नजिकै उभिएर बातचित गर्ने मान्छेको आवाज पनि अधुरै सुनिन्थ्यो । माइकको ठूलो आवाजले मानव कोलाहललाई खर्लप्पै निलेको थियो ।
प्रहरी कार्यालय परिसरभित्रको एउटा कोठामा दुई युवती खडा थिए । उनीहरू घरीघरी आफ्नै पेट मुसार्थे । घरीघरी भने माइकको आवाज सुन्न नसकेर कान थुन्न पुग्थे । आवाज अझ थपिँदै जान्थ्यो । त्यसमाथि नजिकैको मस्जिदबाट मुस्लिम समुदायको साँझको प्रार्थना सुरुआत भएको सङ्केतको आवाज पनि थपिन्थ्यो । र; आवाजै आवाजले सदरमुकाम नै ज¥याकजुरुक उचालिन थाल्थ्यो ।
ती युवतीहरू खडा भइरहन सक्दैनथे । केहीबेरमै थ्याच्चै बस्थे । र; निकैबेर दुबै कान थुनिरहन्थे । घरीघरी कान दाब्न खुकुलो पार्थे । बाहिरको आवाज कम भयो कि भनेर जाँच्थे । आवाज उस्तै एकनासे आइरहेको महसुस भए पछि भने कान बलियो गरी थुनिरहन्थे ।
रात छिप्पिँदै गएपछि सडक पनि निर्जनतामा परिणत हँुदै जान्थ्यो । माइकको आवाज समेत मधुरो हुँदै हराउन पुग्थ्यो । ती दुबै युवतीहरू पनि पेटपूजाका सामग्रीहरू जोहो गर्नतिर लाग्थे । काँचोकचिलो दुई–चार गाँस टिपेर दुबै विस्तरामा ढल्किन्थे । उनीहरू कहिले मैथिली त कहिले नेपालीमा कुरा गर्थे ।
एक पटक आफ्नो पेटमा केले हो लात हान्दै छ भनेर अकस्मात् जुनुले मुख खोली; “दिदी ! हम त छक्क पैरगेल छी । हमर पेटमे लात मारै जँका लाइगरहल छै । आब कथि हेतो ? तोरा केना हैछै ?
“चुप लाग् गे; यहेन बात करेते काहीँ ?” कानैनेर मुख लगेर शान्त स्वरमा मुनुले चुप रहन भनिन् ।
“चुप; केको चुप ! हामीले चुप लाग्नुपर्ने कुनै काम गरेका छैनौँ । मान्छेको अदालतमा त के ईश्वरको अदालतमा पनि म डुक्रिन्छु । केको लाज र शरम ! गल्ती गर्ने एउटा; लाज मान्नुपर्ने चाहिँ हामी निरीह युवतीले ?” जुनुले असन्तोषी मन खोलिन् ।
“बहिनी ! सुस्तरी बोल् न ! यहाँका ड्युटीका पुलिसले सुन्लान् । सारा इज्जत त गुम्यो; गुम्यो । बचेको थोरै इज्जत पनि यहाँ आएर लिलाम होला ! ठूला दर्जाका पुलिसलाई थाहा भए पनि हामी कस्ता किसिमका अपराधी हौँ भन्ने कुरा धेरैलाई थाहै छैन । तसर्थ मनका कुरा मनमै लुकाएर राख् ! जस्तो समय आउँछ; खेप्दै जानुपर्छ; सहँदै रहनुपर्छ । तर; नारी इज्जतको धज्जी उडाउनुहुन्न; कुरा बुझिस्; हैन ?” मुनुले मनको ऊहापोह पोखेर शान्त भइन् ।
जुनुले चित्त बुझाउनै सकिनन्; “जे भन् दिदी ! बैनी त तेरै हुँ । स्वभाव चैं तेरोजस्तो डरपोक छैन । म त भन्छु– आफूले कसैमाथि अन्याय गर्दै नगर्नू; कसैले आफैँलाई गर्छ भने त्यसलाई छाड्दै नछाड्नू !”
मुनुले दिक्कलाग्दो अनुहार बनाएर हेरिरहिन् । जुनु सकसमा परिन् । र; धिमा आवाजमा भनिन्; “तनाव नले दिदी ! जस्तो पर्छ; त्यस्तै टर्छ ! पेटमा एक–एक वटा भविष्य बोकेकै छौँ । तिनैलाई समालौँला । तिनीहरूले नै परिचय देलान् । समाजले हामीलाई बिर्से; बिर्सियोस् ! हाम्रै भविष्यलाई असल मनुष्य बनाऔँला । र; समाजका प्रतिष्ठित आमा कहलिऔँला । हुन्न; दिदी ?”
“कुरा त त्यसै ठानेको मैले पनि । तर; तँ अर्थोक केके भन्छेस्; भन्छेस् ! आपत्मा त धैर्यले काम लिनुपर्छ । बढी क्रान्तिकारी बनेर काम छैन । क्रान्तिको अध्याय हामीले सिध्याइसक्यौँ । अब मनमा शान्तिलाई स्थान दिनुपर्छ ।’ मुनुले अगाडि भपेकी थिइन्, ‘पेटको परिचयहीन भविष्यलाई शान्तिले हुर्कन दिनुपर्छ । मनमा क्रान्तिको ज्वाला दन्काएर अवोध बच्चालाई गर्भमै तड्पाउनु बुद्धिमान आमाको कर्तव्य विल्कुलै होइन ।”
मुनुका कुरा सुनेर जुनु प्रसन्न भइन् । एकाएक मनका सारा क्रोध र ग्लानिहरू रछ्यानमा मिल्काइदिइन् । ख्याक् गरिन््; झ्यालबाट बाहिर थुकिन् । र; बाहिरकै दृष्य नियाल्न खोजिन् । बाहिर निष्पट्ट अँध्यारो मात्रै देखिन्थ्यो । त्यही अँध्यारामा सुन्दरता खोज्ने प्रयास गरिरहिन् ।
“बहिन गे ! तुँ त चुप लागगेलिही ! कि खिस्या गेलिही ?” मुनुको मनमा जुनु रिसाइ कि भन्ने लाग्यो ।
“केको रिसाउनू ! ममतामयी आमा भने पनि, अभिन्न सँगिनी ठाने पनि तैँ एउटी त होस् नि ! तँसँग पनि रिसाएर म कोसँग खुसाउनू ! वास्तवमा तैँले भनेका कुराहरू जँचेर म चुप भएकी हुँ ।” धाराप्रवाह जुनुको आवाज सुनिँदै गयो; “तेरो सोच र समझ ऊध्र्वगामी रै’छ । हाम्रो विचार करिबकरिब मिलेकै रहेछ । म चैँ तत्कालै परिणाम खोज्दी रै’छु । तँ चैँ घटना गोप्य नै रहोस् भन्ने चाहँदिरहिछस् । तेरो जित भो । अब जे भन्छेस्; त्यही मान्छु । आखिरमा तेरै बैनी न परेँ ।”
मनको मैलो माझ्न पाउँदा दुबै खुशी देखिए । आ–आफ्ना विस्तरामा पल्टिए । केही बेरमै निद्रादेवीको काखमा लुट्पुटिन पुगे ।
+++++
खासमा मुनु र जुनु पूर्वी तराईमा रहने मध्यम परिवारका मैथिल समुदायका चेलीहरू हुन् । विद्यालयस्तरमा दुबै अब्बल विद्यार्थी गनिन्थे । एसएलसी परीक्षामा मात्रै नभई विज्ञान संकाय तर्फ १०+२ को परीक्षामा समेत दिदी–बहिनी क्रमशः जिल्ला प्रथम र दोस्रो भएका थिए । हरेक परीक्षामा उनीहरू ८÷१० अङ्कले मात्रै अघिपछि हुन्थे ।
सिर्जनशील क्षमता लोभलाग्दो भए पनि जुनुको हडबड गर्ने बानी थियो । त्यसैले उनी परीक्षामा प्रश्न छुटाउँथिन् वा एकाध प्रश्नको राम्रो उत्तर लेख्न समय भ्याउँदिनथी ।
परीक्षा हलबाट बाहिरिएर उनी केहीबेर आफ्नै बेहोसीपनलाई धिकार्थिन् । मुनुको मुहार देख्नासाथ भने सारा चिन्ताका बादलहरू एकाएक गायव हुन्थे । र; सोच्थिन्; “घिउ कहाँ पोखियो; आफ्नै भागमा” भनेझैँ आफ्नै दिदी त फस्ट हुने हो नि । केही प्रश्नको उत्तर कमजोर नहुँदो हो त कसलाई फस्ट पार्नु; कसलाई सेकेन्ड ! सरहरूलाई पनि द्विविधा पर्दो हो । फेरि सधैँ सबैलाई जितेकी दिदी; मसँग हारेर सेकेन्ड भई भने कालीनीली हुँदिहोली ।”
मुनुले भेट्दा जुनु मुस्कुराइरहेकी हुिन्थन् । मुनुको प्रश्नको जवाफ दिँदै जुनुको सदाबहार उत्तर हुन्थ्यो; “मैले कस्तो लेखेँ; तँ फिक्री नै नलिई न । रिजल्टको कुरो गर्न ! तँ फस्ट; म सेकेन्ड ! हेर्दै जा ! हामी दिदीबैनीलाई कसैले टप्न सक्दैनन् । कर्म गर्दै जा न, फलको लोभ नगर् । फल स्वतः हात पर्छ । टेन्सन बन्दै नले न !”
“भो; भो ! प्रवचन बन्द गर् । गीता दर्शन पनि नफलाक् । हामी कसैलाई जितेर विजयको माला पहिरिन जन्मेका हैनौँ । हामी त सबैलाई जिताएर खुशीको वर्षा गराउन आएका हौँ । हामीले अरू अघि बढे मात्र जित्न सकिन्छ भन्ने ठान्नुपर्छ । बरू पछि रहे कहिल्यै जित्न सकिन्न भन्ने मान्नुपर्छ ।”
जुनु वाल्ल परेर हेरिरहन्थिन् । मुनु अगाडि थप्दै जान्थिन्, “अहिलेसम्म हामीले जित्न सकेका छैनौँ किनकि हाम्रो छेउछाउमा कोही आउन सकेका छैनन् । शिक्षकहरूको मनमस्तिष्कमा हामी दुईले मात्र एकछत्र राज गरेका छौँ । भनौँ न; अरूको भाग खोसेर कप्ल्याककुप्लुक पारेका छौँ ।”
“अँ, पढ्ने बेलामा केटाहरू खोप्पी र गुच्छामा भुल्छन् कि बल्छी लिएर माछा मार्न खोलातिर दगुर्छन् । केटीहरू घरपरिवारको चुलोचौकोमा व्यस्त हुन्छन् । फुर्सद मिल्दा घाँसपात र मेलापात गर्नमै आफ्नो भविष्य देख्तछन् । अनि परीक्षा हलमा चिट र गाइडबाट लेख्न खोज्छन् ।” जुनु थप्दै गएकी थिइन्; “ त्यसो गर्दा कहाँ नम्बर पाइन्छ त ! हामीजस्तो पारिवारिक मर्यादा र आत्मानुशासनमा बस्ने हो भने मात्रै तेरो सिद्धान्त लागू हुन्छ । सबै लेखपढमा अब्बल हुन्छन् । विद्यार्थी जीवनको मूल्य र महत्त्व बुझ्छन् । अनि मात्रै तेरो सिद्धान्तले व्यवहारमा मूर्तरूप लिन पाउँछ ।”
उनीहरूका बीच यस्तै संवाद हुन्थे । विद्यालयीय शिक्षा सकेर दुबै राजधानी छिरे । इन्जिनियरिङ लाइनमा माष्टर डिग्री सिद्धयाए । नोकरीको खोजीमा तयारी कक्षा लिने विचारमा थिए । बर्दिबास–सिन्धुलीको छोटो बाटो हुँदै काठमाडौँ आवतजावत गर्ने क्रममा उनीहरू दुबै एकै पटक दुर्भाग्यको सिकार भए । त्यस घटनाले उनीहरूको जीवनको गति र वेग नै बदलियो ।
+++++
जुनूलाई चिठीमार्फत आफ्नो दुर्दशा छाद्ने मन भयो । उनी आँखा रसिला पार्दै लेख्न थालिन् । कलमले रुक्ने नामै लिएन–
ममतामयी मामू !
म झण्डै बहुलाएँ । समाजका आँखामा त अझ पनि बहुलाएकै छु । यद्यपि म स्वयम् भने भन्दै छु– म झन् सद्दे भएकी छु । म पहिलेभन्दा बढता नै सचेत भएकी छु । अचेल अझ गहिरिएर जीवनलाई बुझ्ने गरेकी छु । तीतो सत्य ओकल्न गाह्रो छ । माफ गर्नुहोला– अचेल तपाईंकै ब्याजलाई रातोदिन पोषण गर्न व्यस्त छु ।
मामू ! अचेल म रातको निष्पट्टतामा पनि सुन्दरी नर्तकीहरू नाचेको देख्छु । दिनको मानवीय कोलाहलमा समेत अनमोल ऊर्जा छरिएको भेट्छु । दिनको प्रचण्ड तापले तिर्खाएको प्रकृतिले जूनेली रातको शितलता पिएर प्यास मेटेको पाउँछु । साँझको झ्याउँकीरीको आवाजमा नौमती बाजाको धुन सुन्छु । रातको ओछ्यानको लामखुट्टे उर्दीमा चेतावनीको तुफान भेट्छु । अझ गल्लीका भुस्याहा कुकुरहरूको बेतुकको भुकाइमा उट्पट्याङ समाजलाई झापड देख्दछु । रात परेपछि छेउकै चौतारामा रात गुजार्न तेर्सिने रन्जिते बौलाहाको भोक र जाडोले काँपेको क्रन्दनले समाजको उछितो काढेको पाउँछु ।
आज जुनु अनर्गल कुरामा किन अल्झाउँदै छे नभन्नुहोला । तपाईंका दुबै छोरीहरू परिस्थिति र परिबन्दका दासी भयौँ । हामी दुबैले एक कोरी उमेर पार गरिसकेछौँ । नेपालको कानुनका हरेक हाँगाबिँगाका दृष्टिले वालिग भइसकेछौँ । अब आफ्नै खुट्टामा टेकेर अरूलाई छहारी दिनसक्ने अवस्थामा पुगेछौँ ।
मामू ! दुःख गरेर बढाउनुभयो । ठूल्ठूला सपना संगालेर काठमाडौँ ल्याएर पढाउनुभयो । देशको दक्ष इन्जिनियर पनि बनाउनुभयो । अब फल पाक्यो; परिवारका दुःखका दिन गए; सुखको सूर्योदय हुने अवस्था आयो भन्नुहुन्थ्यो होला । हामी समयको दासी बनेको चाल पाउँदा सम्मालिन गाह्रो पर्ला ।
मामू ! धेरै दिनलाई होइन । सिर्फ केही समयका लागि हामी बन्धनमा जाकियौँ । बन्धनमुक्त भए पछि हाम्रो पुनर्मिलन हुने नै छ । सत्य थाहा पाएर आँखाभरि आँसु नपार्नुहोला । शरीरलाई सुक्न र मनलाई रुग्ण हुन नदिनुहोला । शत्रुलाई हाँस्ने र पराईलाई कुरा काट्ने मौका बिल्कुलै नदिनुहोला ।
मामू ! हजुरहरूले मन बलियो बनाएर पढ्नुहोला । र; सोच्नुहोला– छोरीहरूले जे गरेछन्; हामीले दिएको संस्कार अनुरूप गरेछन् । मातृवात्सल्यमा मोहित भएछन् । समाजको लाञ्छनासँग जुध्न कम्मर कसेछन् ।
स्वावलम्बी शिक्षा आर्जनको वातावरण तयार हुँदै जाने हो भने समाजमा लैङ््गिक विभेद मक्किँदै जान्छ । महिला हिंसा न्यूनिकरण हुँदै जान्छ । महिलालाई सशक्त पार्दै हिँड्ने हो भने महिला स्वयम्ले नयाँ संस्कारयुक्त समाज निर्माण गर्न अवश्य सक्छन् । अझ अपराधीहरूलाई दण्डको दायरामा ल्याई पीडितलाई राहत दिलाउने हो भने दिनानुदिनु हिंसा घट्दै जान्छ । र; एक दिन नेपाल महिला हिंसामुक्त राष्ट्र घोषित हुन्छ ।
मामू ! तपाईंले भनेका यस्ता कुरा अहिले पनि मेरो मस्तिष्कमा ताजै छ । तपाईं अगाडि भन्नुहुन्थ्यो– मानव सृष्टिमा नारी माया र दयाको खानी हो । जगतैलाई उज्यालो पार्ने सौन्दर्यको रानी हो । सहनशिलताको प्रतिमूर्ति हो । आस्था र विश्वासको धरोहर हो । समाजका शब्दरूपी भालाले मुटु छियाछिया पारिदिए पनि मनको पीडा पिएर र पचाएर केवल मुस्कान ओकल्ने अद्भूत कलाकार हो । सृटिको संंरक्षक र समाजको अमूल्य गहना हो ।
हामी चुपचाप सुन्थ्यौँ । हजुर धाराप्रवाह अगाडि बगिरहनुहुन्थ्यो– हाम्रो समाजले नारीप्रति सामाजिक, आर्थिक, शारीरिक, मानसिक, सांस्कृतिक रूपले अमानवीय, अपाच्य, अनैतिक तथा अवैधानिक क्रियाकलापहरू गरिरहेको छ । दिनानुदिन समाजमा देखिएका र आमसञ्चारहरूमा समेटिएका बलात्कार, बोक्सी, दाइजोको नाममा गरिने कुटपिट तथा ज्याजतीका घटनाहरू दिनदिनै बढ्दा छन् । व्यथित मनको रोदन र भित्रभित्रै दबेको क्रन्दनबाट निस्केको आँसुले हरेक रात सिरानी भिजाउँने पनि नारी नै भएका छन् ।
मलाई लाग्थ्यो– यस्ता कुराहरू सुन्दर, शान्त, सुखी र समृद्धिको पथमा अग्रसर हाम्रोजस्तो राष्ट्रका लागि तगारो हो । अब व्यवहारमै नारी र पुरूष एक रथका दुई पाङ्ग्रा बन्नुपर्छ । देश विकासको यज्ञकुण्डमा पुरुष चरु बनेर र महिला सुरो भएर होम गर्नुपर्छ तब मात्र विकासको मूल फुट्न सक्तछ ।
तपाईं भन्दै जानुहुन्थ्यो– अझै पनि यो पितृसतात्मक समाजले महिलाको बोली, व्यवहार, भावना र सहभागितामाथि चोर औँलो उठाउँदै छ । जन्मँदै लैङ्गिक विभेदको रेखा कोर्दै छ । मानवता र नेपाली संस्कारलाई बिर्सिएर अवोध चेलीको इज्जत लुट्छ । चार वर्षीया बालिकालाई नरपशुहरूले बलात्कार गरेको घटना सेलाउन नपाउँदै पश्चिम नेपालमा रजस्वला हुँदा छाउपडी गोठमा निस्सासिएर मृत्यु भएका मखमलीहरूको घटना सुन्नुपर्छ । कतै देउकी बनेर त कतै झुमा भएर नारी अस्मिता गुमाउनुपर्छ ।
मामू ! अहिले म यस्तो ठहरमा पुगेकी छु– कानमा रुई कोचेर र हातमा दही जमाएर बसिरहे पीडितहरूको जीवनमा उज्याला दिन कदापि आउँदैनन् । पीडितमाथि परपीडकले राज गरिरहने छ । तसर्थ अब हामीले कान सफा गर्नु जरुरी छ । सधैँ सिर्जना र निर्माणमा रमाउने पाखुरीलाई विध्वंशमा उपयोग गर्नुपरे पनि खुट्टा कपाउनुहुन्न । देवीले अत्याचारी दैत्य संहार गरेर साधुजनको रक्षा गरेको पृष्ठभूमिमा महिला स्वयम्ले देवीझैँ बन्ने हिम्मत गर्नुपर्छ । अपराधीेलाई कानुनको कठघरामा उभ्याउनुपर्छ र सजायको भागिदार बनाउनुपर्छ । आफूले रचेको दृष्टान्तले अन्य मानिसहरूलाई पनि चेतनशील र सतर्क बनाउने काम गर्नुपर्छ ।
हो; मामू ! यसका लागि सर्वप्रथम लाखौँ नारीहरूको जीवन घर न घाटको बनाउने अपराधिक गिरोहको सूची तयार पार्नुपर्छ । हरेक न्यायालयका कुनाकाप्चामा थन्किएका महिला हिंसाका मुद्दाहरूका पोकापन्तेराको धुलोमैलो टक्टक्याउनुपर्छ । न्यायपालिकालाई नातावाद, कृपावाद राजनैतिक संरक्षण, भनसुनको हावाले छुन दिनुहुन्न । न्यायालयको निर्णयबाट रुष्ट बनेर ‘मेरो न्याय म¥यो, न्याय दे’ भनेर अर्को जुलुस थपिने काम विल्कुलै हुनुहुन्न । आफ्ना पीडित जनताका पक्षमा राज्य स्वयम् सचेत र सक्रिय रहनुपर्छ । शक्ति र जिम्मेवारीलाई विकेन्द्रीकरण गरी महिला हिंसाको पहिचान गर्नुपर्छ । परपीडकलाई दण्ड र पीडितलाई क्षतिपूर्तिसहित सम्मानजनक जीवन जिउने गरी समाजमा पुनस्र्थापना गर्नुपर्छ ।
हो; मामू ! यत्ति गर्न सके मात्र यो समाज नरनारी दुबैको हुन्थ्यो । कसैले चित्त दुखाएर गहभरि आँसु पारेर झोक्राउनु पर्दैनथ्यो । यहाँ मेरा कुरा सुन्ने दिदी खडा छे; घरमा सुनिदिने हजुर नै हुनुहुन्छ । तसर्थ म निर्धक्क मूल कुरो कोट्याउँदै छु–
मामू ! पाँचदिनदेखि हामी प्रहरी थानाको हिरासतमा छौँ । हाम्रो मुद्दा अदालतमा गइसकेको छ । शायद चाँडै फैसला हुन्छ । हामीले आफूहरूले गरेको अपराध कबुल गरेर कानुनको सम्मान गरेका छौँ । हिंसाको चक्रमा फँस्न विवस कहानीको सविस्तार फेहरिस्त सबैका सामु राखेका छौँ । र; उन्मुक्ति खोज्ने प्रक्रियागत भूल गरेको स्विकारोक्ति प्रकट गरिसकेका छौँ । आशा छ– कमै सजाय हुने छ ।
मामू ! भएको के हो भने हामी काठमाडौँ जाँदै गर्दा सिन्धुलीको बाटैमा गाडी बिग्रियो । तीन घण्टा पछि मात्रै गाडी बन्ने सूचना पाइयो । हामी दुई दिदी बहिनी प्रकृतिको अनुपम सौन्दर्यताको अवलोकन गर्दै तल्तिर झर्न थाल्यौँ । त्यहाँ भेटिएका वनस्पतिहरू हाम्रा लागि अनौठा थिए । खोलामा देखिएका स–सानादेखि भीमकाय ढुङ्गाहरू हाम्रा लागि अनौठा थिए ।
हामी रमाउँदै थियौँ । मालबाहक ट्रक आएर हाम्रो सामु रोकियो । टाउको उठाएर के हेरेका थियौँ; पुरुष स्वर सुनियो; “बैनीहरू ! तल्तिर जाने हो भने गाडीमा बस्नुस् । त्यहाँ विशाल पार्क छ । प्रशिद्ध मन्दिर पनि छ । त्यहाँको दृष्य साह्रै सुन्दर छ । हामी मास्तिर पुगेर फर्किहाल्छौँ । फेरि यही गाडीमा फिर्नुहोला । भाडा लाग्ने हैन । जाने मन भए बस्दा हुन्छ ।”
सुरुमा त एक्कासी आएको त्यस्तो प्रस्ताव मन भएर पनि स्विकार्न सकिएन । टाउको हल्लाएरै अस्विकार गरेपछि ड्राइभर गाडीबाट उत्रियो । र; हामी नजिक आयो । हामी अलिक पर स¥यौँ ।
अर्को खलासी चाहिँले भन्यो; “जाऔँ गुरुजी ! बैनीहरू नजाने रे ।”
ड्राइभरले फेरि कर ग¥यो । मैले नै मुनुलाई भने; “हिँड् न त; दिदी ! एक फेरा पुगेर आऔँ । नयाँ ठाउँको नयाँ अनुभव पनि लिई हालौँ । समय पनि छ । देवीको दर्शन पनि गरौँला ।”
बल्ल तल्ल दिदी तयार भई । गाडीमा बसियो । गाडी हिँड्न थाल्यो । हाम्रा बारेमा ड्र«ाइभरले सारा कुरा सोध्यो । बिनाहिच्किचाहट मैले नै बेलिविस्तार लगाएँ । केही बेरमा हामीलाई गन्तव्यमा उतारेर गाडी डाँडातिर लम्कियो । वरपर घुम्यौँ । पहाडी सुन्दर दृष्यमा केहीबेर हरायौँ । निकैबेर प्रकृतिको काखमा आफ्नो चञ्चलता बिसायौँ । समग्रमा हामी असाध्यै रमायौँ ।
केही बेरमै गाडी फर्कियो । हामी चढ्यौँ । पहिले आएको बाटो छाडेर गाडी अन्यत्रै जान थाल्यो । मैले स्मरण गराउँदा ड्राइभर भन्न थाल्यो; “पुग्छ; पुग्छ । पैलाकै ठाउँमा पुग्छ । आत्तिने काम छैन । हाम्रो साथ पाएपछि केहीको पिरलो मान्नुपर्दैन । एक क्षणपछि आनन्द बर्षन थाल्छ । त्यसमा नुहाउने हो; प्रेस बन्ने हो; अनि गन्तव्य पक्रने हो । कि कसो; बैकुण्ठे ?”
ड्राइभरका बदलिएका कुरा सुनेर र बैकुण्ठेले जुँगामा ताउ लगाएको देखेर हामी आत्तियौँ । हाम्रो अनुहार बदलिएको देखेर मेरो केशरासी मुसार्दै ड्राइभर फुस्फुसायो; “साह्रै कलिला तरुनी फेला परे । कसैले छुँदै नछोएका सुकुमारी मोरीहरू ! तिमरू एकैक्षण आफ्नो शरीर हामीलाई सुम्पिदेओ । र; आनन्दको महासागरमा डुबुल्की लगाओ ।”
भन्दाभन्दै जङ्गलको एक कुनामा गाडी रोकियो । दुबै राक्षस हामीमाथि आइलागे । सतित्व बचाउन भरमग्दुर प्रयास गर्दा गर्दै बैकुण्ठेको थप्पडले दिदीको नाथ्री नै फुट्यो । ऊ एउटा हातले नाक थुन्दै र अर्को हातले प्रतिकार गर्दै गई । आखिरमा उसले हार मानी बैकुण्ठे दिदीलाई निर्वस्त्र पार्न सफल हुन थाल्यो । मसँग जुधी रहेको ड्राइभरले त्यो दृष्य देखेछ ।
मलाई छाडेर दिदीतिर लम्किँदै भन्यो; “ए बैकुण्ठे ! तँ बहिनीलाई समाल् । म दिदीलाई समाल्छु । दिदी सजिली रहिछ, पग्री हाली । बहिनी ज्यादै ज्याद्री कोरली रहिछ । हात पार्नै मुस्किल !”
त्यही मौकामा मैले पनि लामो दम लिएँ । नजिकै चुच्चो परेको ढुङ्गो रहेछ; टिपेँ । र; दिदीतिर नियालेको त ऊ रक्तमुच्छेल भइसकिछ । ऊ चिच्याउन पनि नसक्ने अवस्थामा पुगिछ । ड्राइभरका तीखा दाह्रा दिदीको छातीमा गाडिएका थिए । उसका राक्षसी हातहरू दिदीको पाइण्ट खोल्न आतुर थिए ।
त्यसै बखत बैकुण्ठे ममाथि आइलाग्यो । खै; कहाँबाट तागत आयो; हिम्मत जाग्यो कुन्नि ! न्वारानदेखिको बल झिकेर बैकुण्ठेको शिरमा निक्कै पटक चुच्चे ढुङ्गो बजारेँ । ‘मारी है मोरीले ! मरेँ है आमा !’ भन्दै पर्तिर उछिट्टिएर ढल्यो । त्यसपछि त्यही ढुङ्गो लिएर ड्राइभरमाथि जाइलागेँ ।
ऊ दिदीलाई छाडेर प्रतिरक्षात्मक स्थितिमा आयो । मदिरा पिएकोले होला उसको नौनाडी गलिसकेका थिए । त्यसमाथि बैकुण्ठे ‘पानी ! पानी !!’ भनेर मुख बाइरहेको दृष्यले पनि उसको होस उडेको हुनुपर्छ । त्यही मौकामा मैले उसको अनुहारमा जताततै प्रहार गर्न थालेँ । ऊ आँखा छोप्दै ‘मारी है राँडीले, मारी !’ भन्दै भुइँमै तेर्सिएर घुम्न थाल्यो । मैले पनि तीन–चार ढुङ्गा त्यसको जननेन्द्रीयमा पर्ने गरी हानेँ । ऊ झन् कोकोहोलो गरेर चिच्याउन थाल्यो ।
मुनुले मलाई रोक्दै भनी; “छाडी दे ! यिनीहरूका लागि सजाय यत्ति नै हो । हिँड्; भागौँ । कसैले देखे भने हाम्रै गल्ती भन्छन् । उस्तै राक्षसको फेला परे...!”
कता जाने केही थाहा थिएन । पानी जता बगेको छ; त्यतै गइरहे अवश्य तराई पुगिन्छ र मामूको काखमा पीडा बिसाएर मन हलुका पार्न पाइन्छ भन्ने लाग्यो । मैले मुनुको हात पक्रिएँ र तुफानका साथ खोलैखोला पूर्वतिर दौडियौँ । अनकन्टार जङ्गल, बडेमानका ढुङ्गा र दायाबाँयामा बिशाल पहाडबाहेक अर्थोक केही थिएन । घरीघरी वन्यजन्तुको खस्य्राङखुस्सुङ आवाज सुनिन्थ्यो । चराहरूको चिरबिराहट भने पीडा बिर्साउने खालको थियो । दौडमा हामीले निक्कै समय व्यतित गरिसकेका थियौँ । थकाइको सीमा थिएन ।
खोला किनारकै ढुङ्गामा बिसायौँ । र; पछि फर्केर हे¥यौँ । मान्छेको चालचुल थिएन । आकाशतिर हेरेको त घाम अघि नै गायव भइसकेको रहेछ । यद्यपि अझै उज्यालै थियो । सायद डाँडाले छेलिएर होला घाम नदेखिएको ।
खोला छाडेर डाँडा उक्लियौँ । झयाम्म परेको झोक्री फेला प¥यो । त्यहीँ रात कटाउने निधो ग¥यौँ । मुनु मेरा खुट्टा पक्रेर भन्न थाली; “बैनी ! तँ मेरा लागि साक्षात् देवी होस् । तैँले मलाई जीवनकै दुर्भाग्यबाट बचाइस् । तेरोजस्तो आँट र सहास मसँग रत्तिभर छैन । बुद्धिले काम नगरे सहासले गर्नुपर्छ; सहासमा बुद्धि हुन पनि सक्छ; मुढेबल मात्रै रहन पनि सक्छ भनेको सत्य रहेछ ।”
“आखिरमा म तेरै बहिनी हुँ । तैँले जुठो पारेको मामूको लाम्टो नै चुसेर शक्ति जम्मा पारेकी हुँ । तेरै साथ र सहयोगले सहास बटुलेकी हुँ । तैँले सिकाएको ज्ञानकै बलले यत्तिको चनाखी भएकी हुँ । तसर्थ मेरो सफलता र पराक्रम जे देख्छेस्; त्यसमा आफ्नो पनि हिस्सा देख्ने गर् । तँ साथमा भए पछि म पहाड पनि फोर्न सक्छु, खोलाका यत्रा ढुङ्गा पनि पगाल्न सक्छु । तसर्थ; हिम्मतले अघि बढ् दिदी ! सबै प्रतिकूल परिस्थिति अनुकूल बन्दै जान्छ ।”
हामी दिदीबहिनी बीच यस्तै कुरा भइरहे । गफैगफमा कत्तिखेर आँखा लागे । विहान जङ्गली कुखुरा बास्दा पो आँखा खुले ।
छ्याङ्ग उज्यालो भए पछि हिँडन सुरु गरियो । केही बेरमै सडक देखा प¥यो । पैदल हिँड्नका लागि खोलोभन्दा सडक बेस होला भन्दै माथि उक्लियौँ । सडकमा कसैले गाडी रोकेर तराईसम्म पु¥याइदेला कि भनेको ! त्यस्तो कोही फेला परेन । हामी पैदलै ओरालो भर्न थाल्यौँ ।
अकस्मात् प्रहरीको बाइक देखाप¥यो । चालकसहित दुई जना मात्रै थिए । उही ड्राइभर र खलासीको दृष्य आँखा अघिल्तिर आयो । दुबै जना दौडियौँ । प्रहरी बाइक पछ्याउँदै आयो । ‘रुक ! रुक !! नभाग, नभाग !!’ भन्दै थियो । सुनेको नसुन्यै गरी हामीले सडक छाडिदियौँ र ओरालो खँदारियौँ ।
तल खोलामा पुगेर के श्वास मात्र फेरेका थियौँ; खै कताबाट अगिकै प्रहरीको सई टुप्लुक्क देखाप¥यो । फेरि हाम्रो होसहवास् उड्न थाल्यो । सईले आश्वस्त पार्दै थरीथरीका प्रश्न सोध्यो । दिदी त बोलिनँ । तर; मैले चाहिँ सोझो मनले अघिल्लो दिनको भिडन्तको लामै फेहरिस्त बताएँ ।
दिदी कालीनीली भई । मौका छोपेर सईले कपट मन देखायो; “कानुन हातमा लिने काम गरेछौ । केही छैन । तिमीहरू मेरो शरणमा आओ । शरण परेकालाई मरणमा पार्ने मेरो बानी छैन । म जे भन्छु । त्यही मान । यसमा तिमीहरूकै कल्याण छ ।”
उसले अगाडि थप्यो; “खलासीले त हिजै जिब्रो टोकेछ । ड्राइभरका भने दुबै आँखा फुटेका छन् रे ! टाउको र जननेन्द्रीयमा ठूलै चोट छ रे ! त्यो त बाँच्ला तर अन्धो भएर बाँच्छ । यस अपराधमा तिमीहरू दुबैलाई हदैसम्मको सजाय हुन्छ ।”
उसका कुरा सुनेर मन अतालियो । के भनौँ र कसो गरौँ भयो । चुपचाप हेरिरह्यौँ; सुनिरह्यौँ । मनले गुन्नसम्म सकिएको थिएन ।
“बँच्ने बिचार छ भने मेरो इरादा र इशारामा एकाध घण्टा नाच । ढुक्कले तराई पुग्ने छौँ । आफन्तसँग रमाउन भेट्ने छौँ । भन; मान्छौँ ?” उसले मुख मिठ्याउँदै अमूर्त प्रस्ताव तेर्सायो ।
एकान्तमा रोकेर राखेको प्रस्ताव सुन्दा हाम्रा ओठतालु सुके । धरती घुम्दै गएको अनुभव भयो । अब के गर्ने भनेर हामी आपसमा मौनसंवादमा अल्झिरह्यौँ । सईले हामीलाई डोहो¥याउँदै सुरक्षित स्थानमा पु¥यायो । ओठ भिजाओ भने मुखमा तीतो–टर्टो गन्हाउने झोल हालिदियो । निल्न सके शरीरमा फुर्ती आउने कुरा बतायो । निल्न नमान्दा पेस्तोल देखायो । र; भन्यो; “भनेको खुरुक्क मान । नत्र एकै गोलीमा दुबै ढलौला । अपराधी भाग्दाभाग्दै कारबाहीमा परेको व्यहोरा बनाएर कामकुरो सिद्धयाउनु नपरोस् नि !”
मुटुले ठाउँ छोड्यो । ऊ पियाउँदै गयो । हामी पिउँदै गयौँ । दिदी त पहिले नै अचेत भई । म भने अर्धचेत अवस्थामा थिएँ । सई ममाथि आइलाग्यो । मैले जोडले ठेल्दा उत्तानो टाङ लगाएर लड्यो । अनि दिदीको शरीरसँग खेल्न थाल्यो । म उठ्न खोज्थेँ; सक्तिनथेँ । चिच्याउन चाहन्थेँ; आवाज निस्कँदैनथ्यो ।
हेर्दा हेर्दै ऊ शिथिल भयो । र; अर्धवस्त्रमै मकहाँ आयो । मेरो अधरमा बेस्कन टोक्यो । म जोडले चिच्याएँ । उसले बोतल खोल्यो र घटघटी पिलायो । अनि के भयो र के ग¥यो; उही जानोस् । मेरो होस हरायो ।
बेलुकाको चार बजेको हुँदो हो मेरा आँखा खुले । दिदी घोप्टो परेर रोइरहेकी थिई । सई शान्तवना दिने प्रयासमा थियो । कपडा समेटेर लगाएँ । र; राताराता आँखा पारेर सई अगाडि उभिएँ । ऊ पनि हातमा पेस्तोल लिएर हान्ने पोजिसनमा उभियो । मैले ढुङ्गो टिपेँ । दिदी आएर रोकी ।
भनी, “हुन्दे बैनी ! खुन–खराब गरेर इज्जत फर्कँदैन । छाडिदे । अर्कालाई मार्नु भनेको आफैँ जेलमा सड्नु हो । बाँच्न सकुञ्जेल एक कुनामा गएर बाचौँला । बाँच्न नसक्ने अवस्था आएछ भने जय माता कि भनेर सप्तकौशिकामा यो देहलाई विश्राम दिऔँला ।”
उसकै जित भयो । मेरो हातबाट ढ्ङ्गो तल खस्यो । मेरो शिर लत्रियो । सईले पनि पेस्तोल थान्को लगायो । वातावरणमा सन्नाटा छायो ।
गोजीबाट निकालेर १÷१ गोली थम्याउँदै सईले मुख खोल्यो; “यो एकै खुराक ओखतीले गर्भमा केही अडिन दिँदैन । ढुक्कले खाओ । र; निश्चिन्त बन । मैले सयौँ जनामा प्रयोग गरेको छु । ओठमा हाँसो लिएर घर जाओ ।”
उसले दिएको गोली आँखा चिम्लेर खायौँ । घरको साटो काठमाडौँ नै फर्किने निधो ग¥यौँ । सईले नै गाडी चढाइदियो । मीन भवनस्थित कोठामा पुग्नासाथ झोलाहरू गेटभित्र राखिदिएको पायौँ । झोलाको गोजीमा आईडी कार्ड भएकाले गाडीवालाहरूले ल्याइदिएछन् ।
पहिले नै जँचाउन लाजले सकिएन । मिन्स हुन छाडेकाले दुई÷तीन महिनापछि जाँच गराएको त दुबैको गर्भ रहन गएछ । दुई–तीन ठाउँमा जचाउँदा पनि पोजेटिभ नै देखियो । फसाद प¥यो । निकै समय हामी विलखबन्दमा परिरह्यौँ । अन्ततः भु्रणको दोष नभएर परिबन्दमा पार्ने सईको दोष सम्झन पुग्यौँ । र; दुबैले एउटा नाटक रच्यौँ ।
हामी पुग्यौँ सईकहाँ । हाउभाउले उसलाई मोहित पारेर पहिलेकै ठाउँमा पु¥यायौँ । रक्सीले मतायौँ । र; दिदी अर्धनग्न भई पल्टिदिई । म सुरक्षाकर्मी बनेर ड्युटीमा बस्दी भएँ । जब सई पनि अर्धनग्न अवस्थामै दिदीको शरीरसँग जिस्कन थाल्यो । मेरो पालो चुच्चे ढुङ्गैढुङ्गाले खप्परै खप्परमा हानेँ । उसले पेस्तोल निकाल्ने कोसिस ग¥यो । हातैहातमा हानेँ ।
‘मरेँ है आमा !’ भन्दै ऊ रन्थनिँदै उठ्यो । र; पर्तिर पुगेर पसारियो । मैले ढुङ्गा प्रहार गरिरहेँ । केही बेरमै ऊ निष्प्राण भयो ।
हामीले नजिकैको प्रहरी चौकीमा गई अपराध कबुल ग¥यौँ । र; अहिले सदरमुकामस्थित प्रहरीको निरगानीमा हिरासतको जीवन भोगिरहेका छौँ ।
मामू; अरू कुरा स्वयम् गुनेर बुझ्नुहोला । अन्याय नसहने संस्कार पायौँ र समाजका कसिंगर मिल्काउने जमर्को ग¥यौँ । हामीले जे ग¥यौँ; रहरले नभई वाध्यताले ग¥यौँ । हामीजस्ता अरू धेरै जुनु र मुनु नबिटोलिऊन् भनेर यस्तो कदम चाल्न पुगेका हौँ ।
हजुरको मनमा भड्का दिन विवश हुनुपरेकोमा क्षमा चाहन्छौँ ।
०००
श्रद्धेय बाबा, म हजुरलाई पीडा थप्दै छु । सक्नु भए सहनुहोला । नसके दुईटी छोरी थिए; दुबै एकै पटक मरे भन्ठान्नुहोला । किनभने हामी दुबैले गर्भमा नाजायज सन्तान हुर्कारहेका छौँ ।
मातृवात्सल्यको भारले बेस्कन थिचिएका छौँ । न त्याग्न सक्छौँ; न हक्कीका साथ अपनाउन नै सक्छौँ किनभने समाजदेखि असाध्यै डराएका छौँ ।
अतः समाजले लादेको नियम र नीति कुल्चने निर्णय ग¥यौँ । अपराधीको जिउने हक छिन्यौँ । र; पेटको अवोध बच्चालाई उसको नैसर्गिक हक दिलाउन प्रतिबद्ध भयौँ । हामी पनि अपराधी हुन मञ्जुर भयौँ । किनभने निर्मलाका अपराधी अझै छाती फुलाएर हिँडेको सहन सकेनौँ । हाम्रो अवस्था पनि निर्मलाभन्दा एक इन्च तलमाथि नहुने देख्यौँ । र; हामीले आफ्नै मनको शास्त्र उल्टायौँ; त्यसले जे भन्यो; त्यही ग¥यौँ । कानुनको नजरमा अपराधी हौँ । तर; हजारौँ आर्तनाद गरिरहेका निर्मलाहरूका मनमस्तिष्कका अनमोल रत्न भयौँ ।
अघि नै भनेँ नि; छोरीहरूले पुर्खाको नाक काटे; समाजमा शिर ठाडो पार्न दिएनन् भन्ठान्नुहुन्छ भने हामीलाई मरेको ठान्नुस् । फर्केर आउँदैनौँ । ज्ञान छ; हातमा सीप छ; मनमा अझै हिम्मत छ । हामी दिदी–बहिनी मिलेपछि सारा प्रतिकूल परिस्थिति परिवर्तन भएर अनुकूल बन्छ र बन्नुपर्छ । अब हामी आफ्नो संसार आफैँ सजाउन सक्छौँ । हजुरहरूलाई भरथेग गर्ने मन चाहिँ मर्ने प¥यो । यद्यपि प्रत्यक्ष नमिले परोक्ष नै सही हाम्रो सेवाभाव जिउँदै रहने छ ।
बाबा ! अब हामीलाई पछुतो लाग्न छाड्यो । दुःख–पीडा पनि त्यसै हराएर गएको छ । आफ्नै पेट मुसार्छाैं; वात्सल्य भारले पग्लन्छौँ । अपूर्व आनन्द आउँछ । जीवनमा सानो साथी मिल्ने कल्पनामा मन त्यसैत्यसै रमाउँछ । सारा बन्धन तोडेर खुल्ला आकाशमुनि नाच्न मन लाग्छ । पाखाभित्तामा उफ्रीउफ्री तराईको लोकभाका सुसेल्न मन लाग्छ ।
अब रिस मरिसक्यो । अब सिर्जना र सद्भावको नीलो बादल लागिसक्यो । स्वास्थ्यकर्मीका साथ दिनदिनै जसो महिला अधिकारकर्मीहरू आउँछन् । हाम्रो स्वास्थ्य जाँच गर्छन् । खानपिनको व्यवस्था बुझ्छन् । समस्या भए खुलेर राख्न उक्साउँछन् । र; सबै कुरा शुभ नै शुभ हुने आश्वासन दिएर जान्छन

No comments:
Post a Comment