छोटो कथा- गोरु भर्सेज गुरु
-नन्दलाल आचार्य
‘भन्नलाई शिक्षक भन्छन् गोरु हो कि गुरु
निस्तो ढिँडो टोक्दै ऊ त रून्छ धुरू धुरू ।
लेख्तै, मेट्दै गरेपछि प्रतिफल के भो
माझी हो कि माली हो यो भनिदेऊ न के हो ?
खुकुरी त भुत्ते बुढे, लाग्ने हुन्छ कर्द
अक्षरका बीऊ छर्ने केको हुन्थ्यो मर्द ?
बस्नुपर्छ पर्खिएर गन्दै चार मैना
साहूजीको खाताभित्र पैल्यै हुन्छ बैना
फलानाको छोरो अचेल कता जागिर खान्छ
‘के को जागिर भेट्थ्यो त्यसले मास्टरी गर्छ’ भन्छ ।
समाज र सरकारले दोस्रो दर्जा दियो
बत्तीमुनि अँध्यारो भो मैन त्यसै खियो ।’
यसरी रन्जिताले लय मिलाएर कवि रामविक्रम थापा Ram Bikram Thapa Rambikram Thapa को कविता वाचन गरेको सुनेर म तीन छक्क परेको थिएँ । हत्त न पत्त मेरो मुखाराबृन्दबाट प्रश्नका ठेली निस्केका थिए ।
‘रन्जिता, कविता वाचनमा त बेजोड रहिछ्यौ । कहाँबाट सिक्यौ ? कसले सिकायो ? वाचन गरेपछि कस्तो अनुभूति ग¥यौ ?’
उनले मेरा कुरा सुनिरहिन् र जवाफमा मुसुक्क मुस्कुराएकी थिइन् । उनको मुस्कुराहटले दिएको अमूक उत्तर बुझ्न नसकेर म स्वयम् किंकर्तव्यविमूढ अवस्थामा थिए ।
+++
उनी बोर्डिङ स्कूलमा पढ्ने सात कक्षाकी छात्रा थिइन् । म उनलाई नेपाली विषय पढाउने गुरु थिएँ । उनी मसँग रत्तिएकी थिइन् । मैले पढाएको ध्यानले सुन्थिन् । अह्राएको खुरूखुरू गर्थिन् । यद्यपि कतिपय ठाउँमा सही सुन्दिनथिन् । र, नजानेको खण्डमा सही काम पनि गर्दिनथिन् । मात्र इमान्दार कोशिस गर्थिन् । म भने त्यत्तिमै पनि खुशी थिएँ किनभने उनी नेपाली विषयमा दिनानुदिन सुधारको खुट्किला उक्लिरहेकी थिइन् ।
रन्जिता र उनीजस्तै अरुलाई पढाइमा कमजोर भए भनेर अरु शिक्षकहरू नानाभाँतीका सजाय दिन्थे । कोही कुखुराको भाले बनाउँथे । कोही उठबस गर्न लगाउँथे । कोही भने कलिलो छाला फुट्ने गरी छडीले हान्थे । मुखबाट निकाल्ने शब्दहरू त सुनिनसक्नु हुन्थ्यो । शिक्षकको खाउँलाझैँ गर्ने हाउभाउ र धम्कीले विद्यार्थीहरूको सातो जान्थ्यो । पढाइमा चाखभन्दा त्रास बढता थियो ।
विद्यार्थीहरूको नजरमा अरू सबै ‘सर’ थिएँ । म मात्र ‘गुरु’ कहलिएको थिएँ । म बालसजायको सख्त विरोधी थिएँ । विस्तारै म कमजोर ठानिएका विद्यार्थीहरूको हितैषी भएँ । यद्यपि अन्य शिक्षकहरूको आँखामा कसिंगर बन्न पुगेँ । त्यसैले मैरै आनिबानी र शिक्षणीय क्रियाकलापलाई विशेष एजेन्डा बनाई स्टाफ मिटिङ डाकियो ।
‘हाम्रो विषय गाह्रो छ । नरटी हुँदैन । नेपाली गुरुको विषय सजिलो छ, हाँस्ताहाँस्तै–खेल्दाखेल्दै सिक्छन् । भुस्कोल विद्यार्थीहरू पनि त्यस्तै गर्न खोज्छन् ।’ मिटिङमा बोल्ने अधिकांशले विद्यार्थीहरूको शैक्षिक अवस्था नसुध्र्रनुमा मलाई ठाडै दोषी बनाउँदै थपेका थिए, ‘गुरुले भुस्कोल विद्यार्थीहरूलाई पनि त्यत्तिकै छाड्दै जाने हो भने हामीलाई तह लगाउन मुस्किल पर्छ ।’
‘गुरुको व्यवहार विद्यार्थीको साथी बन्ने छ । उहाँ विद्यार्थीहरूको वैयक्तिक र पारिवारिक कुरा बुझ्न खोज्नुहुन्छ ।’ एक थरीले प्याच्चै भने, ‘पढाउनुको साटो गफमा भुलेर समय समाप्त गरी निस्कनुहुन्छ । यसो गर्दा भुस्कोल विद्यार्थीहरूलाई मज्जा आउला तर पढ्न चाहने तेज विद्यार्थीलाई भने उहाँले मार्कामा पारिराख्नु भएको छ । त्यस्तो वातावरणले हामीलाई असर गरेको छ । र, हाम्रो विषयमा अधिकांश विद्यार्थीहरू कमजोर भएका हुन् ।’
प्रिन्सिपल सुन्नमै व्यस्त थिए । म भने मनमा कुरा गुन्नमै व्यस्त भएँ । शिक्षकहरूले आरोप लगाएर सके । वातावरणमा सन्नाटा छायो ।
‘बोल्ने सरहरूले बोल्नुभयो । खण्डन गर्नुपर्ने गुरु चुप हुनुहुन्छ ।’ कर्मचारी हीरा थापाले सन्नाटा चिर्दै भनेकी थिइन्, ‘मिटिङको हलो बीचमै अड्कियो ।’
‘तपैँको पनि आरोप छ कि भनी पर्खेको !’ मैले मन्द मुस्कानका साथ थपेको थिएँ, ‘सबैको दोषी म हुँ या कसैकसैको मात्र भनेर सोच्दै छु ।’
‘नेपाली गुरु ! अब बोल्ने पालो तपैँकै हो । स्कूलको वातावरण बिगार्नेमा तपैँ नै अगाडि देखिनुभयो ।’ अरुले सरह मलाई नै दोषको भारी बोकाउँदै प्रिन्सिपल कुर्लिएका थिए, ‘यसरी एक थरी विद्यार्थीलाई काखा गरेर अर्का थरीलाई पाखा गर्नुहुन्छ भने यो संस्था तपाईंलाई अटाइरहन वाध्य हुने छैन ।’
परिस्थिति मेरो प्रतिकूल हुँदै गयो । म एक्लो वृहस्पति ठहरिँदै गएँ ।
मुटु ढुकढुक गर्न थाल्यो । साह्रै अन्याय पो गरिएछ कि क्या हो भन्ने लाग्यो । नबोली रहे अझै दोष थुप्रने निश्चित थियो । प्रिन्सिपलको अन्तिम शब्दले महाप्रलय आउने संभावना देखिरहेको थिएँ ।
प्रिन्सिपलले जवाफ दिन संकेत गरे । नबोली धर पाइनँ ।
‘यहाँ मलाई लागेका कुनै पनि आरोप स्विकार्न सक्तिनँ । भित्ताले नस्विकार्दा हानेको बल आफैँतिर आएझैँ हुने भयो ।’ मैले स्पष्ट शब्दमा भनेको थिएँ, ‘आफ्नो बोली फिर्ता लिनुस्, फत्तुरको आरोप मलाई स्विकार्य छैन । चाहे म एक्लै परूँ तर सत्यको बाटो कदापि मोड्दिनँ ।’
+++
छलफल गम्भीर मोडमा पुगेको बेला मिटिङ हलमा लेखापालको प्रवेश भयो । उनले मतिर मुस्कुराउँदै हेरे । म अरु भयभित भएँ किनभने लेखापाल प्रिन्सिपलझैँ पावरमा थिए ।
‘गुरु ! तपैँले विद्यार्थीहरूलाई मोहनी लगाउनुभएको छ कि क्या हो !’ लेखापाल भन्दै गए, ‘फि तिर्न जो आए पनि तपैँकै कुरा गर्छ । अहिले पनि दुई जना अभिभावक तपैँलाई भेटेरै जाने भनेर अफिसमा कुरेर बसेका छन् ।’
सबैको कान ठाडा भए । मतिर नै ध्यान खिचियो । मन अझै निराश बन्यो ।
‘के हो गुरु ! सरहरू मात्रै हैन, अभिभावकलाई पनि स्कूल विरोधी पार्नुभएछ ।’ प्रिन्सिपल हीरा थापातिर फर्कंदै कुर्लिए, ‘जानुस्, ती अभिभावकलाई मिटिङमै बोलाएर ल्याउनुस् । गुरुको कम्प्लेन सबैका सामु सुनौँ । हामीलाई पनि निर्णय गर्न सजिलो पर्छ । किनभने अभिभावक हाम्रा देवता हुन् । देवता जोसँग रिसाउँछन्, त्यसको टिकट कट्छ । एउटा लाटो गए, अर्को बाठो आउँछ ।’
लेखापाल केही भन्न खोज्दै थिए । उनलाई रोक्तै बरिष्ठ शिक्षक मुरलीधरले प्याच्चै भनिहाले, ‘अब ‘गुरु’को ‘गोरु’ सावित हुने बेला आयो । ३०÷३० वर्ष पढाएको मजस्तो शिक्षकको शिक्षण विधि र प्रविधिमा प्रश्न चिन्ह लगाउने गुरुको हर्कत सबैको सामु उदाङ्गो हुने भयो ।’
बाहिरीरुपले म कालोनिलो भएको थिएँ । ओठतालु सुक्न थालेका थिए । मिटिङ छाडेरै निस्कूँजस्तो लागेको थियो ।
फेरि अर्को मनले भन्दै थियो– ए मास्टर ! कुन अपराधमा तँ स्वयम्लाई दण्डित गर्दै छस् । तँ त पुरस्कारको भागिदार छस् । तँ त मायालु वातावरण दिएर बच्चाको मन जित्ने मान्छे होस् । यी अरुहरू पो दण्डका भागिदार छन् । सन्त्रासमय वातावरण बनाएर कलिलो मनस्थितिमा आघात पार्ने अपराध गरेवापत यिनीहरूलाई पो दण्डित गर्नुपर्छ । तैँले त परिस्थितिसँग भाग्ने हैन, डटेर लड्ने हो । तेरो निर्दोष व्यवहारले तेरै जित हुन्छ । मुर्ख प्रिन्सिपलको पनि होस् खुल्छ । उदण्ड शिक्षकहरूको पनि शिर झुक्छ ।
मनमा यस्ता कुराहरू आएपछि मन दह्रो बनाएको थिएँ । अनुहारमा स्वभाविकपन ल्याएको थिएँ । र, अभिभावक प्रवेशको प्रतीक्षा गमक्क बनेर बसेको थिएँ ।
मेरो निडर अवस्था नियालेर प्रिन्सिपलका नाकका पोरा फुलेका थिए । सायद उनी सोच्दा हुन्, ‘यो नेपाली मास्टर विद्यार्थीमैत्री बनेर लोकप्रिय कहलाउँछु भन्दो हो । यो बोर्डिङमा विद्यार्थीमैत्री हैन, अभिभावकमैत्री शिक्षकको मात्रै लामो आयु हुन्छ ।’
‘आजका अभिभावक उधारो हैन, क्यासमा कारोबार गर्न रूचाउँछन् । विद्यार्थीको उत्तम नतिजा हेर्न चाहन्छन् । उत्तम...’ यत्ति कुरो भने प्रिन्सिपलको मुखबाट अनायासै फुत्किएको थियो । उनको यस खाले उग्र रुप साक्षात्कार गर्नुपर्दा अरु शिक्षकको मनमा समेत ढ्याङ्ग्रो बजेको थियो ।
हात जोड्दै दुई जना अभिभावक मिटिङ हलमा प्रवेश गरे । सबैको ध्यान उनीहरूको अनुहार पढ्नतिर गयो । उनीहरू रिसाएका थिएनन् । प्रसन्न चित्तमा थिए । उनीहरू मतिर फर्किए । मेरो बलियो मन तुरून्तै भाग्यो । म झन् डराउन पुगेको थिएँ ।
एक अभिभावकले मसँग हात मिलाउँदै भनेका थिए, ‘तपाईंजस्तो गुरु मैले जीवनमै कहिल्यै पाएको थिइनँ । यस स्कूलमा तीन÷तीन जना सन्तानलाई आठ वर्षदेखि पढाइरहेको छु । तर, तपाईंको जस्तो चर्चा कसैको सुनेको थिइनँ ।’
कुरा सुनेर म अझ कालोनिलो बन्न पुगेको थिएँ । मैले कहाँ गल्ती गरेँछु भनेर विद्यार्थीहरूसँगका हरेक कार्यकलापहरू सम्झन पुगेको थिएँ । कसै गर्दा पनि मरिकाट्टे अभद्र व्यवहार सम्झन सकेको थिइनँ । प्रिन्सिपल र अन्य शिक्षकको घृणित नजर मतिरै सोझिएको पाउँदा झन् भयभित बनेको थिएँ ।
‘तपाईं नेपाली गुरु मात्र हुनुहुन्न । तपाईं त सुपर से उपर हुनुहुन्छ ।’ अर्का अभिभावकले थपेका थिए, ‘तपाईंसँग भेट गर्न आउन हामी वाध्य भयौँ ।’
प्रसङ्ग मतिर मात्रै एकोहोरिएकोले अनाहकमा झमेलामा फँस्दै छु भन्ने लागिरह्यो । र, मेरो सातो उड्न थाल्यो । मतिर तेर्सिएको प्रिन्सिपलको कर्के नजर हटिरहेको थिएन ।
वातावरण केहीबेर शान्त भयो । सोचेँ– ‘जसै गरे पनि जेल जाने अपराध गरेको छैन । सुझबुझले भ्याएसम्म राम्रै होस् भन्ने इच्छाले काम गरेको छु । कमजोरी ठानेछन् भने पनि हटाउने न हुन् । नअटे हट्नु नै बेस हुन्छ । बोर्डिङे जागिरले नै सुखमय जीवन दिन्छ भन्ने छैन । सुख त नैतिकता र इमान्दारिताले दिन्छ । यहाँबाट मुक्ति पाएकै क्षण मेरो जीवनको नौलो अध्याय प्रारम्भ हुने छ । मलाई दोष थुपर्नेहरूलाई म सबक सिकाएरै छाड्ने छु ।’
‘म रन्जिताको बाबु हुँ । ऊ पढाइमा कमजोर थिई । खालि नेपाली विषय मात्रै पढ्न रूचाउँछे । अरु विषयमा पटक्कै चासो लिन्न ।’ पहिला अभिभावकले मनको पोको फुकाए, ‘होमवर्क नबनाए बनाइनस् भनेर र बनाए बेठीक बनाइस् भनेर अरु सबै शिक्षकले सजाय दिन्छन् पो भन्छे । गुरुजस्तो सबैजना शिक्षक भए कस्तो रमाइलो हुन्थ्यो, कत्ति धेरै पढ्न हुन्थ्यो पो भन्छे बा !’
‘मेरो छोरो पनि हजुरकै गुनगान गाएर अघाउँदैन । हजुरलाई असाध्यै आदर गर्छ ।’ अर्का अभिभावकले मतिर फर्केर कुराको गाँठो खोल्दै थपेका थिए, ‘अब हजुरले हाम्रो घरमा गएर टिउसन पढाइदिनु प¥यो । नानीबाबुकै लागि यत्रो सङ्घर्ष गरिएको छ । महंगो विद्यालयमा शिक्षा दिलाएको छ । र, पनि उनीहरूको होस फर्किएको थिएन । हजुरसँग के सूत्र छ कुन्नि उनीहरू मोहित छन् । नाइँ नभन्नुहोला । जे फि तिर्नुपर्छ हामी तयार छौँ ।’
प्रिन्सिपलतिर फर्केर भनेका थिए, ‘विद्यार्थी गोरु हैनन् । त्यस्तो व्यवहार गर्ने चैँ गोरुको दर्जामा आउँछन् । कुटेर हैन, असल गार्जिएन बनेर शिक्षकले पढाउनुप¥यो ।’
‘हाम्रा नानीबाबुलाई रिस पैदा गर्ने ज्ञान हैन प्रेम–सद्भाव पैदा गर्ने शिक्षा दिलाउनु प¥यो । यस कार्यमा नेपाली गुरु मात्रै अग्रसर भएको भेटेका छौँ ।’ अर्का अभिभावकले थपेका थिए, ‘त्रासको बाटोबाट दुर्गुणी मान्छे जन्मन्छ । यस विद्यालयबाट सद्गुणी बच्चा फिर्ता पाउने हाम्रो सदिक्षा कुठाराघात नहोस् है प्रिन्सिपल सर !’
अभिभावकका कुराले प्रिन्सिपल र अरु शिक्षकहरूको शिर झुकेको थियो । कर्के नजरले हेर्ने पालो मेरो आएको थियो ।
म भने यति होसियार अभिभावक पाएकीले रन्जितामा धेरै थरीको गुणको विकास भइरहेको रहेछ भन्ने ठान्न पुगेँ ।
+++
२०७६ असार २८

No comments:
Post a Comment