Sunday, December 29, 2024

🔴लघुकथा- कलमी यात्रा ✍️नन्दलाल आचार्य 🔴सन्दर्भ- कविशिरोमणि जयन्ती, पुस १५🔴

(सन्दर्भ- कविशिरोमणि जयन्ती, पुस १५)
🔴लघुकथा- कलमी यात्रा ✍️नन्दलाल आचार्य

"पातझरले रूखलाई नाङ्गो बनाए पनि, जराले माटो समात्न छोड्दैन ।" सूर्य किरणले सुनौला बनेका पानाहरू आँखा दौडाउँदै लेखनाथले भने । अर्घौंअर्चलेको धर्ती स्पर्श गर्दै देखिएको उनको जीवन पहाडबाट बगेको खोलाजस्तै जताततै पुगेको थियो ।
सुरुसुरुको काव्य अंकुरणमा उनका बाबुको कठोर स्वर बज्रियो- "हलो समात्न नपुगेर कलम समाउने सपना देख्छौ ?" ती शब्दहरूले उनका सपनामा कालो बादल ओढाइदिए । तर, मनको आकाश अझै उज्यालै थियो । स्रष्टा बन्ने अठोट जरा गाडेर बसेको थियो ।
सिउँदोमा सजिएको ज्ञानको सिंदूरजस्तै ठानेर तीनधाराको पाठशालामा उनी संस्कृत पढ्न थाले । तर बनारसको मध्यमामा फेल भएपछि थकित भए । "सपना भनेको बिहानको कुहिरो होइन, जुन घाम लाग्नासाथ हराउँछ ।" आफ्ना गुरुदेव दधिरामले दिएको साहसले उनका हरफहरू बग्न थाले ।
जीवनका बादलहरूबीच पनि उनले 'सुन्दरी' र 'चन्द्रिका' जस्ता पत्रिकाहरूमा कविताका झरना झार्न थाले । यद्यपि राणा शासन उनको लेखनीको सिमाना बनिरह्यो ।
जब 'कविशिरोमणि' पद पाएपछि देवकोटाले उनको हात छुँदै भने, "तपाईंको कविताले नेपाली साहित्यलाई भोकमरीको समयमा भण्डारण गरिएको बाली दिएको छ ।" त्यस क्षण उनका आँखा आँसुका दानाले पुरिए ।
जीवनको अन्तिम दिन, नारायणी किनारमा थला परेका लेखनाथले भने, "कलमको मसी त सुक्छ, तर हरफहरू कहिल्यै मर्दैनन् ।"
🔴
🔴🔴

२०८१ पुस १५ गते (लेखनाथ जयन्ती)
०००


No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...