Wednesday, January 31, 2024

अन्तिम चरणमा प्रवेश हुन सफल प्रतियोगी सहिद सन्दर्भ लघुकथा

 अन्तिम चरणमा प्रवेश हुन सफल प्रतियोगी सहिद सन्दर्भ लघुकथा सूची 

१७. लघुकथा (प्र)- सहिदको सपना  ✍️ललिता ‘दोषी’ 
१९. लघुकथा (प्र)- अमर  ✍️रुद्र अधिकारी ‘निर्दोषी’
२१. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
२३. लघुकथा (प्र)- सहिद ✍️सुनिता निरौला पौडेल
२४. लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई
२७. लघुकथा (प्र)- सहिद  ✍️बाँस्कोटा धनञ्जय 
२८. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी  ✍️प्रेम घिमिरे 'अग्निकवच’
२९. लघुकथा (प्र)- ताली र टिकट ✍️नारायण कोइराला
३०. लघुकथा (प्र)- शहीद  ✍️पदमप्रसाद दाहाल 
३२. लघुकथा (प्र)- स्मृति  ✍️नानि भारद्वज 
३३. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
३४. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
३६. लघुकथा (प्र)- अदृश्य सहिद  ✍️सोम कुमार सुब्बा
३७. लघुकथा (प्र)- शहीद बस्ती ✍️उमानाथ दाहाल 
३९. लघुकथा (प्र)- गर्व  ✍️रमेशचन्द्र घिमिरे 
४०. लघुकथा (प्र.)- सहिद   दिवस ✍️
४१. लघुकथा (प्र.)- बलिदानी  ✍️टीकाराम जाेशी
४६. लघुकथा (प्र) -सहिद सम्मेलन ✍️रोशन आपगाईं 
४९. लघुकथा (प)- सहिद ✍️शान्ता तिम्सिना 
५३. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
५७. लघुकथा (प्र) - विमर्श  -शारदा दहाल (भण्डारी )
६०. लघुकथा (प्र)- आत्मबोध -सीता रेग्मी
६१.  लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल
६३. लघुकथा (प्र)- शहीदको प्रश्न ✍️ प्रेम पुन मगर





१७. लघुकथा (प्र)- सहिदको सपना ✍️ललिता ‘दोषी’
हैन बाबा, हजुरलाई के भएको छ र हँ ? धेरै दिनदेखि नुन खाएको कुखुराजस्तै देख्छु । कलम चलेको पनि देख्दिनँ ।
आँसु झार्दै घनश्याम बोले —‘‘खोइ के भनौँ बाबू, धमिराहरूले देशको बचेखुचेको थोरै इज्जत पनि माटोमा मिलाए । यो पापी गणत्रन्त्र ल्याउन ज्यानको बाजी लगाएर लडेँ । मलाई गोली लागेको सुनेर तेरी आमा हृदयघात भएर सदाका लागि निदाई । म चाहिँ यही पापी दिन देख्न बाँचेको रहेछु । प्यारीलाई र यो हात गुमाउँदाको चोटले पलपल मरिरहेको छु । त्यसमाथि सारा नेपालीको शिर झुकेको सम्झिँदा मुटुमै बज्र लागेझैँ भएको छ बाबू ! त्यत्रा सम्पन्न नेताहरूले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनेर कुन मुटुले पैसा हसुर्न सके होला ? पैसा दिने पनि कस्ता हुन् ? यो खुल्लमखुल्ला मान्छेको व्यापार हैन त बाबू ? जताततै केवल अँध्यारो मात्र देख्छु । थुप्रैले बलि दिएर ल्याएको गणतन्त्रमा सुशासनको छनकसम्म छैन । न त सहिदको सपना साकार भयो । न त हामीजस्ताले केही पायौँ । त्यसैले मनमा तुफान उठेको छ ।’’
अमितले सम्झाए—‘‘उनीहरूको घृणित कर्म देख्दा सबैको मुटु चिरिएको छ नि ! यसरी हजुरले खान, सुत्न छोड्दैमा के देश बदलिँन्छ त बाबा ? व्यवस्था नराम्रो होइन, व्यक्ति भ्रष्ट हुन् । जसरी हजुरले गणतन्त्र ल्याउन कलम चलाएर केही भए पनि चेतना छर्नुभयो । होस्टेमा हैँसे भन्नुभयो । अब पनि भ्रष्टको दोहोलो काड्न बन्द कलम खोल्नुहोस् । अरू म के भनौँ र ?’’
धनश्यामले बगिरहेको आँसु पुच्दै एकोहोरो कलम चलाइरहे ।
तिम्रा तिखातिखा चुच्चा नच्यातेर हो नि !
पङ्ख फिँजाइ उडेका छौ पापी, भ्रष्ट, खुनी
उखल्नेछौँ पङ्ख सबै झाछौँ तललत
त्यसपछि बग्ला नदी गर्दै कलकल ।
लेखन मिति : २०८०।२।८ बुद्धनगर काठमाडौँ
०००००
१९. लघुकथा (प्र)- अमर ✍️रुद्र अधिकारी ‘निर्दोषी’
“तिमी को हौं ? किन यती चाडैं आएको ?” चित्र गुप्ताले लखनलाललाई सोधे।
लखनलालले जवाफ दिए “म मेरो खुशीले कहॉं आएको हो र प्रभु ? अझै के के गरौंला भन्ने थियो ! कालले उमेर नै नपुगि टपक्क टिपेर ल्याए पछि, के सिप लाग्दो रहेछ र?”
“काललाई किन दोष लगाउँछौं ? गोलि चल्न सक्छ भन्ने जान्दा जान्दै किन आन्दोलनमा गएको त?” चित्र गुप्ताले प्रश्न सोधे ।
लखनलालले जवाफ दिए “म आन्दोलनमा कहॉं गएको थिए र ? पसलमा चिया पिउँदै गर्दा गोली लाग्यो ? पुलिसले आन्दोलनकारीलाई, आन्दोलनकारीले पुलिसलाई दोष लगाए । त्यस पछि आन्दोलन झन चर्कियो । मेरो लासको आडमा राजनीति भयो । आन्दोलनकारीले मलाई सहिद घोषणा गर्न लगाएर सरकारलाई घुँडा टेकाएरै छाडियो भने। मेरो परिवारलाई दुई चार हजार दिएछन । यसरी म सहिद भएर आएको प्रभू “
चित्र गुप्ताले लामो सुस्केरा हाल्दै चिन्ता ब्यक्त गरे “खै पृथ्वी लोकमा, निर्दोषको ज्यान लिने र सहिदको नाममा गरिने राजनीतिको अन्त्य कहिले होला?”
ईटहरी, सुनसरी (हालः लन्डन)
बिहिबार, माघ ४, २०८०
*******************
२१. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
"मेरो छोरोले केहीछिन अघि मृत्युवरण गर्‍यो, अब यसलाई सहिद घोषणा गर्दिनु पर्‍यो हजुर !" उसले आफ्नो पार्टीको अध्यक्षलाई सुनायो ।
"मानसिक स्थिति गुमेको अपांग, त्यसैमाथी छारे रोगले लखतरान ! हिँड्दा हिँड्दै बाटोमा पल्टिएर मरेको तिम्रो यस्तो छोरोलाई सहिद घोषणा गर्ने ? देशको लागि के गर्‍यो यसले? सहिद घोषणा गर्दा पत्याउलान् र जनताले ?" अध्यक्ष कड्केर बोले ।
"देशको लागि नगरेर के भो त, तपाईंको लागि त धेरै गरेको छ नि यसले !" उसले ढुक्क भएर भन्यो ।
"के गर्‍यो र त्यस्तो साहसी काम ?" अध्यक्षले जिज्ञासा राखे ।
उसले यताउती हेर्‍यो र बिस्तारै भन्यो, "ल.., बिर्सनु भो ? त्यत्रा किशोरीहरूको बलात्कार , अपहरण र हत्या गरेको तपाईंको छोरोलाई यसैले बचाएको होइन ?"
२०८०/१०/०५
++++


२४.लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई 

"हाम्रा शहीद अमर रहुन।जिन्दाबाद ।जिन्दावाद।"सडकमा हिँडेको मानिसको हुल झ्यालबाट दस वर्षीय शुशिल हेरि रहेको थियो। ऊ दगुरेर आमानिर आयो र सोध्यो" आमा !शहीद भनेको के हो?
  आमाले शुशिल लाई नजिकै ल्याएर भित्तामा झुन्ड्याएको शहिदहरुको फोटो देखाउँदै भन्नुभयो।"हेर बाबु!आफ्नो देशको हक हितको लागि दिन रात न भन्ने अन्त्यमा देशकै लागि आफ्नो ज्यान समेत बलिदान गर्ने सुपुत्रलाई नै शहीद भनिन्छ।"बुझ्यो?हामीले सहिदलाई सधै सम्मान गर्नु पर्छ।
 केहीबेर पछि शुशिल आमा सँगै टुँडिखेल गयो।त्यहाँ शहीदको परिवारलाई सम्मान गरी केही नगद पुरस्कार सहयोग गर्ने कार्यक्रम थियो।
 केहीबेर पछि शहीद सम्मान भनेर नरेको परिवार लाई सम्मान गर्ने घोषणा गरियो। नरे आफ्नो गाउँको सब भन्दा बडमाश कुलतमा लागेको ,गैरकानुनी गर्ने व्यक्ति प्रहरी लाई आन्दोलनको बेला ढुङ्गा हानेर भाग्दा प्रतिकारमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। पछि शहीद घोषणा भएपछि मात्र उसको दाह संस्कार भएको थियो।
शुशिल छक्क पर्दै आमा तिर हेर्दै भन्छ।आमा यो पनि सहिद हो ?आमा निशब्द हुनुभयो।


+++


२७. लघुकथा (प्र)- सहिद  ✍️बाँस्कोटा धनञ्जय 
 
‘हामी यो सहरको सुन्दरतालाई अक्षुण राखेर यसलाई पर्यटकहरुको सहर बनाउन चाहन्छौं’, एउटा सानो कोणसभालाई सम्बोधन गर्दै सरकारी मन्त्रीले बाचा खाए, ‘यो सहरको ब्युटिफिकेसनका लागि भारतीय दुताबासले लगानी गर्दैछ ।’
उनी भन्दै गए, ‘त्यसका लागि सहरभित्रका अव्यवस्थित छाप्राहरु हटाइदै छ आजैबाट । यो चोकमा भएका अनावश्यक संरचनाहरु पनि हटाइने छ आजैबाट ।’
अपरान्ह तीन वटा डोजरहरु आए । एउटाले चोकका संरचनाहरु भत्काउन थाल्यो । त्यसमा एउटा शालिक पनि थियो । 
अरु दुईवटा डोजरले सहरका अन्यभागमा निर्माण भएका मापदण्ड विपरितका छाप्रा र टहराहरु भत्काउन थाले । 
त्यहाँका सबै टोलबासीहरु रुवाबासी गर्न थाले । तर डोजरले तिनका आँसु बुभ्mने कुरा पनि थिएन । 
यतिकैमा शिबशंकर आइपुगे घटनास्थलमा । उनी त्यस ठाउँका एक सचेत युवा, अनि पेशाले शिक्षक थिए । उनले तुरुन्तै नगरका नगरप्रमूखलाई फोन गरेर घटनास्थलमा बोलाए । 
‘मेयर साव, के हो यो सब ? यही रत्ने सहिद भएर तपैंहरुले सत्ता र शक्ति आर्जन गर्नुभो । राज्य कब्जा गर्न सफल हुनुभो । अनि आज उसैको शालिक तोडेर, इतिहास मेटेर कुन बाटोमा हिंडिरहनुभको छ तपैहरु ? शालिक त तोड्नु भो भो, उसका श्रीमती र दुईवटा नानीहरु बसेको टहरो समेत भत्काइदिनु भो । आज रत्ननका श्रीमती र छोरीहरु घर न घाटका भएका छन् । धिक्कार छ तपैहरुलाई ! अनि तपैहरुजस्तालाई भोट हाल्ने हामीहरुलाई !’
नगरप्रमूखको त्यो भत्काउने अभियान रोक्ने आदेश आउँदै थियो, तर अघिनै त्यो बस्ती उत्तानो परेको कंकाल करङ्ग जिङ्गरिङ्ग पल्टिसकेको थियो ।
‘मर्ने चाहिं ढुंगा, बालुवा, सिमेन्ट र गिटीको शालिक भएर पनि धूलो भयो । अनि 
मराउने चाहिं देशको अधिपति र मालिक भयो । हैट बिडम्बना!’, शिवशंकर भुतभुताउँदै थिए । 
दमक, झापा
+++


२८. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी  ✍️प्रेम घिमिरे 'अग्निकवच’

आफू हेपिएको अनुभूति हुँदा जसको पनि मन कुँडिन्छ। ‘काम परून्जेल भाँडो काम सकिएपछि ठाँडो’ भने जसरी कुनामा घोप्ट्याइएका कराही र कसौँडी पनि मूल्यहीन बन्नुपरेको बिलौना गर्दै थिए।
कराहीले भन्यो- “ ढिँडो ओडाल्न,तरकारी पकाउन,दुध तताउन म नभै हुँदैनथ्यो। पहिले-पहिले त मलाई  घोटीघोटी मस्काएर सफा पारेर प्रयोग गर्थे। हिजो आज त वास्तै गर्दैनन् बा!”
कसौँडीले भनी- “ हो त दाई! मलाई त झन् घरमुलीले खाने मिठो-मसिनो चामलको परिकारहरू, दाल, खिचडी पकाउन प्रयोग गर्थे। पिताम्बरीले  मस्काएर पहेँली बनाएर चौकोमा सजाउँथे। हिजो-आज त यही कुनामा घोप्ट्याएर राखेको दशकौं बितिसक्यो। वर्षमा एकदिन सुम्सुम्याउन आउँछन् बस त्यति हो।”
“ हेर बहिनी! अझै हामी चुपचाप सहेर बस्ने हो भने त एकदिन पत्रु बनाउलान् जस्तो छ। त्यसैले अब सहेर नबसौँ ” भन्दै कराही कसियो। कसौँडीले पनि सहमति जनाई। दुबै अधिकार खोज्न कुर्सी कहाँ गए।
सबै कुरा सुनिसकेपछि कुर्सी मुस्कुराउदै बोल्यो - “ हिजो पिर्का र गुन्द्रीमा बस्नेहरू आज सोफा र घुम्ने कुर्सीमा बस्छन्। ढिँडो र गुन्द्रुक खानेहरू भुजा ज्युनार गर्छन्। हिजो तिमीहरूसँग मिलेर सिंहासनको बिरोध गर्नेहरू आज त्यही सिंहासनमा विराजमान भएकाछन्। मैले गुन्द्री र पिर्कालाई शहीद बनाएँ। कुकर र फ्राइप्यानहरूले पनि तिमीहरूलाई शहीद बनाए।”
कुर्सीको कुरा सुनिसकेपछि कराही र कसौँडीको घैँटोमा घाम लाग्यो। आफूलाई वर्षमा एकदिन सुम्सुम्याउन आउनुको कारण थाहा पाएपछि आ-आफ्नो कुनामा गएर शहीद दिवस पर्खँदै बस्न थाले।
                            -0-
८ माघ,२०८०
बर्दिबास, महोत्तरी।
+++

२९. लघुकथा (प्र)- ताली र टिकट ✍️नारायण कोइराला

विवाद मिलाउन पुर्ण अधिकार भएको समितिमा मलाई अध्यक्ष बनाइयो। मृत्यु हुनेहरु दुबै मेरा गाउँले। दुबै आन्दोलनकारी।मलाई अप्ठारो पर्यो। एउटालाई सहिद बनाउन सिफारिस गर्दा पार्टी रिसाउने। अर्कोलाई सहिद बनाउन सिफारिस गर्दा कृषक।
कृषकको कुरा नमानौं चुनाव नजिक छ। पार्टीको कुरा नसुनौँ।टिकट नपाएँ कृषकको मतदानले चुनाव कसरी जित्ने?इतिहास पल्टाएर हेरेँ।सालिक धेरै जसो आन्दोलनमा गोली लागेर मृत्यु हुनेहरुको रहेछ।आन्दोलन दुइटैले गरेका थिए। गोली पनि दुईटैलाई लागेको थियो।पार्टी र कृषकहरुको दबाबमा थिएँ। 
समितिको निर्णय अनुसार,मैंले सिफारिस पढेर सुनाएँ।किसान आन्दोलनमा मृत्युहुनेको सालिक बन्नेछ। राजनीतिक आन्दोलनमा मृत्युहुनेलाई सहिदको दर्जा दिइने छ। गाउँलेले मलाई ताली दिए ।पार्टीले टिकट।
- नारायण कोइराला
तानसेन,पाल्पा


+++

३०. लघुकथा (प्र)- शहीद  ✍️पदमप्रसाद दाहाल 
(शिवसताक्षी ११ दुधे , झापा )
         " ए  साँल्दाइ ! सुन्नुभयो ? "   
" मैले केही सुनेको छैन । राम्रो कुरा हो कि खराब ? " साँल्दाइले प्रतिप्रश्न गरे । " ल ! त्यो हामीसँग पढ्दाको साथी नरेश  नि ! " 
" के त खुलस्त पार न ! " साँल्दाइ हतारिए । "अँ ! शहीद  दिवसको कार्यक्रम मनाउन जाँदै गर्दा बाटैमा गाडी दुर्घटनामा परेर सकिएछ । "    " ला ! अनि ?" 
          " त्यसपछि त  सारा गाउँलेहरू मिलेर आन्दोलन गरे । शहीदको कार्यक्रममा गएको मान्छेलाई सरकारले शहीद घोषणा गर्नैपर्छ नत्र यो बाटो खुल्न दिँदैनौं भनी सबै गाडी जाम गराए । सारा मानिसको जीवन सकसमा पर्यो ।सरकारले वाध्य भएर नरेशलाई शहीद घोषणा गर्यो । परिवारलाई दस लाख थमायो ।  " तर !!"
          "तर के ?"  साँल्दाइले चकित भएर सोधे । हर्कले लामो सुस्केरा फाल्दै भने,-" तर त्यो शहीद घोषणा गरिएको नरेशले स्वर्गको शहीद घरमा ठाउँ पाएनछ । उसको हंसले प्रत्येक आन्दोलनकारी र सरकारको कानमा भन्यो रे ! " स्वर्गमा शहीद हरूले हाम्रो अपमान गर्न आएको भनी खेदाए । मेरो आत्मा भड्किरहेको छ । हे ! मूर्ख सरकार ! दुर्घटनामा परेका , लुटपाटमा मारिएका जस्ता व्यक्तिलाई शहीद घोषणा नगर । शहीद हुनलाई त देश र जनताको भलाइका लागि काम गर्दै गर्दा मारिएका व्यक्ति पो हुनुपर्छ त ! "
     २०८०/१०/८

+++

३२. लघुकथा (प्र)- स्मृति  ✍️नानि भारद्वज 

  मोबाइलमा निकैबेर घण्टी बजेपछि फोन उठाएँ र सम्वाद यसरी भयो,
 "हेलो !"
" हेलो, मलाई चिन्नु भो ?"
" चिनिन त मैले !"
 " म क्या ,तपाईं सानो छँदा तपाईंको घरमा बुवालाई भेट्न  आइरहन्थें नि !"
" ए , कमरेड पो बोल्नु भाको हो ?"
 " हो त !"
  " हजुर त अहिले मन्त्री पो हुनुभाछ रे हो !"
  "हो !"
  " ए बधाई दिन पनि मेलो पाइन, ढिलै भएपनि बधाई छ हजुरलाई।"
     "धन्यवाद बाबू , तपाईंको बुवा क्रान्तिकारी विचार र  ब्यवहारको अति नै धनी हुनुहुन्थ्यो ।"
  " म त सानै थिएँ अलिक मेसो पाउँदिन हजुरलाई नै थाह होला, कति कामले पो फोन गर्नु भो ?"
 " तपाईं भोलि यहाँ आउनुपर्‍यो ।"
 " किन होला हजुर ?"
" हामीले शहीद परिवार सम्मान  कार्यक्रमको आयोजना गरेका छौं।"
" आउन त गाह्राे छ हजुर !"
 " जसरी पनि आउनु न ल !"
" भोलि नै आउन त असम्भव छ हजुर !"
" म मेरो गाडी पठाइदिन्छु आउनस् न ! "
" माफ गर्नुहोला हजुर, म यहाँ खाडीमा जान विमानस्थलको लाममा बसेको छु।"
बुधबार ३ माघ २०८०
विराटनगर , म‍ोरङ्ग।

+++

३३. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
          सहिद गेटमा झोक्राएर बसिरहेका चार सहिदहरुलाई सिरानमा रहेका राजा त्रिभुवनले भने - " के भयो तिमीहरुलाई ? आज सहिद दिवस, सहिद सप्ताह मनाइरहेका छन् । तिमीहरु भने घोसे मुन्टो लाएर बसिरहेका छौ ।"
          सहिद मध्ये एकले भने - " हाम्रो नूर गिरेको छ महाराज । हाम्रो अवमूल्यन भयो । एकपटक टुँडिखेल तिर नजर होस् ।"
          टुँडिखेलमा लहरै लाशहरु राखिएका थिए । एउटा अमुक पार्टीको राजनीतिक स्वार्थमा भएको कथित आन्दोलनमा उनीहरु सरकारी पक्षबाट मारिएका थिए । अमुक पार्टिले उनीहरुलाई सहिद घोषणा गर्न सदन र सडक दुबै तताइरहेका थिए ।
          टुँडिखेलमा राखिएका लाशहरु मध्ये एउटा लाशले अर्को लाशलाई भन्यो - "ओइ ? सुन् त ! हामीहरुलाई सहिद घोषणा गरे ?"
          दोस्रो लाशले भन्यो - " घोषणा त भइहालेको छैन तर घोषणा हुने पक्कापक्की छ ।"
          " अनि ? हाम्रो परिवारलाई दस लाख दिने भए त ? " पहिलो लाश झनै उत्सुक भयो ।
         " त्यसको लागि पनि नेताहरुले ' बार्गेनिङ ' गरिराछन् ।" दोस्रो लाशले आश्वस्त पार्दै भन्यो ।
          उनीहरुको वार्तालाप सुनिरहेको तेस्रो लाशले भन्यो - 
" दस लाख नदिने भए 'सहिद' घोषणा नगरे पनि हुन्छ । भनिदिनु नेताहरुलाई ।"
२०८०/१०/०५
बलभद्र पथ धरान १०

+++


३४. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी

स्वर्गमा नेपाली सहिदहरूकाे गाेष्ठी चलेकाे थियाे । गाेष्ठीकाे अध्यक्षता प्रथम सहिद लखन थापाले गरेका थिए । उक्त गाेष्ठीमा सहिद यज्ञबहादुर थापाले कार्यपत्र प्रस्तुत गरे -" अध्यक्ष महाेदय ! सहिदहरूकाे परिभाषा गर्नु चुनाैतिकाे विषय हाे । अनुसन्धान गर्दै जादा मैले दुई किसिमका सहिदहरू फेला पारें ती हुन -
१. आफू मर्छु भन्ने थाहा पाएरै देश र जनताका लागि जीवन बलिदान दिने ।
२. मर्छु भन्ने नलागी आन्दोलनमा लागेका तर अरूकाे लहलहैमा लागि आवेग वा उत्तेजनाबाट प्रेरित भई जीवन गुमाएका ।
यसबीचमा सहिद भीमदत्तले आफ्नाे विचार व्यक्त गरे - विशेष गरी नेपाल एकीकरण , अंग्रेजसँगकाे युद्द , निरङ्कुश राणाकाल ,प्रजातान्त्रिक आन्दाेलन हुँदै गणतन्त्रको लागि जीवन उत्सर्ग गर्नेहरू मुख्य रूपमा सहिद हुन् भन्ने मेरो बुझाइ हाे । "
दुर्गानन्द झालेले थपे - सहिद भीमदत्तले भन्नुभएकाे कुरा बिलकुल ठीक हाे । सरकारले जथाभावी सहिद घाेषणा गर्दा वास्तविक सहिदहरूकाे इतिहास नै ओझेल परिसक्याे ।"
पण्डित नारायण पाेखरेल जुरूक्क आसनबाट उठ्दै भने - साथीहरूले ठीक भन्नुभयाे । मेरै कुरा गर्नुपर्दा धार्मिक प्रवचन गरिरहेकाे बेला मलाई अज्ञात समूहले गाेली ठाेक्याे । पछि मलाई धार्मिक सहिद घाेषणा गरिएछ । मलाई याे पदवी भारी भइरहेकाे छ । "
टंक प्रसाद आचार्यलाई पनि अघिदेखि खसखस लागिरहेकाे थियाे । उनले भने - अध्यक्ष महाेदय ! मलाई पनि जिउँदै सहिद भन्ने गरिन्छ । यहाँहरूलाई थाहै छ । म त धर्मराज, शुक्रराज, दशरथचन्द र गंगालालजी सँगै मर्न चाहन्थें । तर मेराे भाग्यमा त्याे अवसर लेखेकाे रहेनछ ।आज सहिदलाई कित्ता कित्तामा विभाजन गरेकाे देख्दा चित्त दुःखेर आउँछ । "
सहिद रत्नकुमार बान्तबाले हात उठाउँदै आफ्ना कुरा राख्ने अनुमति मागे । उनले भने - " अरूले झुण्डाएका , आफै झुन्डिएका , ढुङ्गाले थिचेका , गाडीले मिचेका , गाेली लागेका र खाेलामा हाम फालेका सबै कसरी सहिद हुन सक्छन् ? "
अर्का एकजना सहिदले असहमति प्रकट गर्दै भने - " काे कसरी सहिद भयाे ? मुख्य विषय हाेइन । सरकारले घाेषणा गरेपछि सबै सहिद हुन् । सहिदहरूमाथि भेदभाव गर्न पाइदैन । भयाे भने यहाँ विद्राेह हुन्छ । "
कार्यक्रमकाे समापनमा गाेष्ठीकाे अध्यक्षता गरिरहेका लखन थापाले भने -" सबै साथीहरूका कुरा सुनियाे । उठेका विषयहरूका सम्बन्धमा गहिराे अनुसन्धानकाे आवश्यकता देखियाे । अहिले सहिद दिवसलाई भव्य रूपमा सफल पाराैं । यति भन्दै आजकाे गाेष्ठी यहीँ अन्त्य भएकाे घाेषणा गर्दछु । सहिद एकता जिन्दावाद । धन्यवाद ।"
२०८० । १०।०६
रेसुङ्गा नगरपालिका २, गुल्मी


+++
३६. लघुकथा (प्र)- अदृश्य सहिद  ✍️सोम कुमार सुब्बा

केहीदिनदेखि मुसलधारे पानी परिरहेथ्यो।आकाशमा भयानक गर्जनको साथ बिजुली चम्क्यो।टयाङ्ग चट्याङ पड्क्यो।हिमालको फेदीमा रहेको पोखरी पट्ट फुटे।पानीको भेल मान्द्रो बेरिए झैं लपेटिएर तराईतिर बग्न थाले।त्यसताका रातको साढे बारह्र बजेको थियो।
ट्ँवा,,, गरेर विद्युत कम्पनीको आपतकालिक साइरन बज्यो।रातको कर्तव्यमा खटिएको सुरक्षाकर्मी पासाङ जुरुक्क उठे।उनले छेवैमा सुतेको साथी निमालाइ उठाए।उनीहरु हत्तपत्त टर्चलाइट बालेर बाँधतर्फ दौडे।पानीको सतहले खतरनाक स्तर नाँघ्दै थियो।दुवै आत्तिए।
पासाङले हतारसाथ भने -
"लु,झट्ट बाँधको दूार खोल्नुपर्छ,नत्र सखाप हुन्छ!"
"होइन,यो बाँध कुनै क्षणपनि भत्कनु सक्छ, लौ भागौं,छिटो!"निमाले सल्लाह राखे।
"हुन्न!हामीले कुनै पनि हालले,गाउँबजार बचाँउनुपर्छ,यो हाम्रो ड्युटी हो!"भन्दै पासाङ दूारतर्फ बड्यो।निमाले सुइँकुच्चा ठोके।
केहीक्षणमा पानी खतरनाक स्तरबाट तल झरे।
बिहान भयो।गाउँलेहरु भेला भए।उनीहरुले बाँधको दूार खुल्ला देखें र निमाको प्रशंसा गरे।क्षणभरमैं उनी समाजिक सञ्जालमा छाए।सरकारले पुरस्कार दिने घोषणा गरे। तर असली सहिद पासाङको अत्तोपत्तो थिएन।
लिङ्दोक,पूर्व सिक्किम
२०८० माघ ६
+++


३७. लघुकथा (प्र)- शहीद बस्ती ✍️उमानाथ दाहाल 
 
- शिवसताक्षी ११ दूधे, झापा 
         "राम ! राम !! ए मीरा सुनन " एकाएक उठेर आँखा मिच्दै पर्शुराम श्रीमतीसंग बर्बराउन थाले " कस्तो सपना देखें !  मलाई सपनामा ४ जनाले घेरेर आफ्नो दुखेसो सुन्न वाध्य बनाए ।"
          " को हुन् ? के दुखेसो गरे  ?" 
          " भन्दै थिए हामी सत्तरी बर्षदेखि यतै बसिरहेका छौँ । शुरुको तीतो पछिको मिठो भनेझैँ पछिल्ला दिनमा मिठै जिन्दगी बिताउँदै थियौँ । सन्तानले राम्रै माया गर्दै थिए । टाढा भएकाले सम्झने गर्थे । गाउँ शान्त, सभ्य र भद्र थियो । समय समयमा गलामा फूलमाला पर्दै गर्थे "। 
          " अनि को रहेछन् त ती ? अरू के के भने ? "
          "सुनन अहिले उनीहरूको गाउँ पुरै दुषित भयो अरे ।भीड बढ्यो अरे ।म गाडीमा ठोकिएको, म झगडामा परेको, म प्रहरी आक्रमणमा परेको, मलाई गुन्डाले प्रहार गरेको, मलाई नेताले उक्साएर प्रहार गराइएको, म बैंक लुट्दा परेको भन्दै लस्कर का लस्कर आएर हाम्रा गाउँमा धमाधम घर बनाएर बस्न थाले पछि हामी पुरानाको अस्तित्व नै खतरामा पर्यो ।  मान सम्मान धेरै घट्यो ... भन्दा भन्दै उनीहरूको आवाज थर्थरायो " ।
           " हन को हुन् त उनीहरू? यत्रो कुरा हुँदा परिचय पाउनु भएन ? "
          " पाएँ नि , मैंले परिचय माग्दा उनीहरूले एकएक गरेर भने -
         "म गंगालाल श्रेष्ठ, म धर्मभक्त माथेमा, म शुक्रराज शास्त्री, म दशरथ चन्द ।"

+++
३९. लघुकथा (प्र)- गर्व  ✍️रमेशचन्द्र घिमिरे 
'मकै पिन्दा घुन पिसिए जस्ता भयौँ हामी । सत्तापक्षको कुटाइ खाने हामी, विद्रोहीबाट सास्ती झेल्ने पनि हामी ! आखिर हामीले के पायौँ ?'
भिआईपी गाडीमा सवार नेतालाई गाउँलेले घेरे । उनले सजिलै उत्तर दिए -'आन्दोलनमा यस्तै हो । इतिहासको एउटा कालखण्डमा मैले पनि केही योगदान गरेँ भन्ठान्नुस् र गर्व गर्नुस् ।'
गाडीको ढोका ढ्याम्म लाग्यो । उनी सरर्र अगाडि बढे, त्यहाँबाट ।
घाइतेहरूले रोके -'आन्दोलनमा हामी घाइते भयौँ । हिजो बुर्जुवा शिक्षा भनेर पढिएन । आन्दोलन छोडेर भाग्नेहरूले अहिले त्यही शिक्षा पढेर  ऐश-आरामको जिन्दगी बिताइरहेछन् । हामी मात्रै अलपत्रमा परियो ।'
उनले रेडिमेड उत्तर दिए -'आन्दोलनमा आफ्नो योगदानको स्मरण गर्नुहोस् र आफूलाई इतिहासको महत्त्वपूर्ण क्षणमा गरेको त्याग सम्झिएर गर्व गर्नुस् ।' गाडीको ढोका ढ्याम्म लगाएर उनी फेरि अगाडि बढे ।
सहिद परिवारले छेके -'तपाईंहरूको मस्तीका लागि हाम्रा भाइछोराहरू अकालमा मर्नुपर्‍यो । आखिर यही दिन देख्नका लागि हो हाम्रो परिवारको बलिदानी ?'
ढोका नखोली झ्यालको सिसा सरर्र झारे र उनी बोले -' वास्तवमा तपाईंहरू सबैभन्दा भाग्यमानी मान्छे हो । सहिद हुनु र सहिद परिवारको सदस्य हुनुभन्दा ठुलो उपलब्धि केही हुनै सक्दैन । आफ्नो भाग्य सम्झिएर गर्व गर्नुस् ।' 
सहिद प्रतिष्ठानको चिल्लो गाडीबाट झर्दै नझरी हतार हतार झ्यालको सिसा माथि सार्दै नेताजी  हुइँकिए, बिचमा कतै रोकिएनन् । 
------------------------------
२०८०/१०/१४
भोर्लेटार, लमजुङ
+++
४०. लघुकथा (प्र.)- सहिद   दिवस ✍️गौरी न्यौपाने
एकै साथ छाेरा -बुहारी गुमाएकाे पीडा  त छदैछ,  दुधे नातीकाे   रुवाइले मुटु छिया छिया हुन्थ्याे,पण्डित बा र पण्डित्नी आमैकाे।
  हुर्केका छाेरा छाेरी  गुमाएर बुढेस् कालमा काख रित्ताे हुदा जीवनकाे अवकस    खाेजीरहेका बेलामा नातिकाे  दूध चुस्ने  इच्छालाइ आफ्नाे ७०वर्षकाे  ओइलाएकाे छाती चुसाएर   पूरा गर्दिन्थिन,पण्डितनी आमै।
  छाेरा बुहारी एकै  साथ गाेली लागेर  डग्लङ्ग ढलेकाे बखत सहिद भए  ,भन्दा मातृवात्सल्य  छताछुल्ल भएकाे थियाे। 
 यस्तै सहिदकाे नाम बेचेर  नाम,पद र धनले सम्पन्न भएर  चिल्ला गाडी चढ्नेहरु प्रति    घृणाले सीमा नाघ्थ्याे। परन्तु जीवन र मरि सकेका आशा नातिकाे चिच्याइले उदाङ्गाे पारि दिन्थ्याे।
  त्यही नातिकाे मुख हेरेर भगवानले आयु थपेछन् ।  नब्बे वर्ष हुदासम्म  पनि थलिएर पिडी कुर्न परेकाे छैन। सहिद परिवार ,याे ,त्याे अनि राेजगार आदि आदि वुढी आमामा कसैकाे भराेसा मिलेन।  
त्याे टुहुराे २० वर्ष भयाे। वृध्द भगवानकाे रुप आमैलाइ छाडेर विदेशियाे ।   फेरि  सुरु भयाे जीवन अवकसकाे तिब्रता, भराेसा र आशाकाे त्यन्द्राे टुटाएर।
 माघ स्रेार रहेछ, नजिकैकाे चौताराेमा  सहिद  देशका सपुत ,देश भक्त भन्दै चर्काे स्वर वजिरहेकाे थियाे," सहिद सन्तानकाे लागि  याे, त्या अनि राेजगारकाे व्यवस्था गरिनेछ। " आदि आदि।
   मुजा परेकाे आमैकाे गालामा ढिक्का बनेर खसेकाे आँसु बिस्तारै छातीसम्म पुगेर विलायाे।
+++
४१. लघुकथा (प्र.)- बलिदानी  ✍️टीकाराम जाेशी
"राज ! ए राज! "मसिनाे स्वरमा कसैले बाहिरबाट बाेलाएकाे सुनियाे।  राजकाे आमाले झ्यालकाे खापबाट बाहिर चियाइन्। उन्ले अँध्यारोमा कसैलाई देखिनन्। बुटकाे आवाज भने उन्ले चिनी सकेकी थिईन्।  सरकारकाे विराेध गर्नेहरुलाई  प्रहरीले समातेर मार्छ भनेर उन्ले सुनेकी थिइन्।
"छाेरा! घर छैन  भन्दिन्छु।तेसै पनि आज तिम्रो अनुहार मलिन देखिरहेकिछु। गए राति मैले सपना पनि कस्ताे नराम्रो देखेकि थिएँ। भाे ,आज नजाऊ बाहिर ।  "आमाले राेक्न खाेजिन्।
 " कति सहनु अन्याय । कति खेप्नु दुख कष्ट। त्याे पनि  सीमित  मानिसहरुका लागि जसले हामीलाई दास ठान्दछन्। हाम्रो लडाइँ प्रजातन्त्रको लागि हाे,आमा।आज म लुकेर भागे भने  कायर ठहरिनेछु।
आमा ! म त परिवारकाे सिर गर्वले ठाडाे भएकाे देख्न  चाहन्छु न कि झुकेकाे  । "राजले भन्याे।
"भाे!म केही जान्दिन। परानी रहे दुख कष्ट गरेर भएपनि दुई गास खाऔँला।"आमाले छाेराकाे हात समात्दै भनिन्। 
   ढाेकाकाे पछाडि लुकेर आमा छाेराकाे वार्तालाप  सुनिरहेकि गाेमाकाे आँखाबाट  बरबर आँसु झर्दै थिए। उन्ले काखकाे दुधे बालककाे टाउकाे सुम्सुम्याउदै आफ्नाे ससुराकाे अनुहारमा हेरिन्।
हजुरले भने मान्थे कि ?  बाले भनेकाे कुरा  उहाँले कहिल्यै तल पर्न दिनुहुन्न। यसपटक त छाेरालाई नजाउ भने हुन्थ्यो। उन्ले मनमनै साेचिन् तर भनिनन्  । उन्लाई थाहा थियो ससुराबाले कहिल्यै राेक्ने छैनन् भनेर ।उनि मन दरिलाे बनाउँदै राज छेउ गइन्।
राजले बाबुलाई म्वाईं खाए । म्वाईं  खानेबेला  आफ्नाे  जिउमा राजकाे गालाले  हठात् हल्का स्पर्ष गरेकाे  गाेमाले महसुस गरिन्।
  "आफ्नाे ख्याल गर्नु। "  उन्ले आँखा जुधाउँदै भनिन्।।
"म फर्कि आएन भने .."  अगाडि राजले  बाेल्न चाहेनन् उनि  आमातिर  फुरुक्क फर्के। 
"आमा!  मलाई आशिर्वाद दिनुस्।  आज हजुरकाे छाेराकाे बलिदानले भाेलि  देशभरिका आमाहरुले सुखका दिन देख्न पाउनेछन्। "
उन्ले आफ्नाे पाउमा परेकाे राजकाे  सिरमा हात राखिन्।बाले राजकाे काननजिक मुख लगे।राजले टाउकाे हल्लाए।  जेभएपनि गाेप्यता भङ्ग नगर्ने  कुराकाे शपथमा ।  
अब ऊ एक्लै थिएन।उस्काे बलिदानीमा परिवारकाे पनि बलिदानकाे शक्ति सञ्चित  भएकाे थियो । 
आमाकाे मुखबाट कुनै आवाज निस्केन। तर  उनकाे अन्तर्आत्माबाट आवाज आउँदै थियो।
तिम्राे पैतालामा काँडा पनि नबिजाेस् !
इमाडोल
++++
४३. लघुकथा (प्र.)- शहिद ✍️कमला भट्टराई
 लौ न आमालाई के भयो !? आठ वर्षसम्म वेपत्ता भएको छोरो आउँदा खुशीले गद्गद् हुनुपर्नेमा मलाई देख्नेसाथ आमा त बेहोस भएर लड्नु पो भयो । बुबा लौन एम्बुलेन्स बोलाउनु पर्यो । 
 बुबा ग्लासमा पानी ल्याएर आमालाई छम्किदै छोराको मुखमा हेर्दै भन्छन्– “कस्तो सपना जस्तो भयो बाबु, यतिका वर्षसम्म कहाँ गएका थियौं तिमी ! ?”मलाई कसैले बन्धी बनाएको थियो बुबा, धन्न कसो–कसो फुत्केर आए ।” बुबाको प्रश्नको जवाफ दिँदादिदै भित्तामा अड्याएर राखिएको आफ्नै तस्विरमा माला लगाएको देख्छ र आश्चर्यपूर्वक सोेध्छ– “बुबा यो फोटो त मेरो होइन र ! !”  “हो बाबु । हामी भ्रममा परेछौं ।” कस्तो भ्रम बुबा ? आठ वर्षपहिले त्यो माइलोले ‘तपाइँको छोराको पारिगाउँको फिर्के डनको ग्याङ्गसँग फाइट परेको थियो । डनले तपाइँको छोरालाई गोली हानेर भेलमा बगाइदियो ।’ भन्दै आयो । त्यसपछि हामीले तिमीलाई कहाँ कहाँ खोजेनौं । प्रहरीमा रिपोर्ट पनि लेखायौं तर, तिम्रो कहि पत्तो लागेन । त्यतिमात्र कहाँ हो र ! तिमलाई शहिद घोषणा गर्नुपर्छ, क्षतिपूर्ति दिनुपर्छ भन्ने माग राख्दै त्यो माइलाले गाउँका युवाहरुलाई उचालेर आन्दोलन पनि गर्न लगाएको थियो ।
बुबाको कुरा सुनेपछि सोध्छ– ए ! ! अनि त्यो माइलो कहाँ छ त आजकल ? त्यसलाई अब के गर्नुपर्छ मलाई थाहा छ.....!! 
 सूर्यविनायक– ५, चुनदेवी (भक्तपुर)
    २०८०|१०|१४
+++
४६. लघुकथा (प्र) -सहिद सम्मेलन ✍️रोशन आपगाईं 
यमलोकमा आज नेपाल मण्डलका शहीदहरूको सम्मेलन हुने तय भएको थियो ।  सम्मेलनको पूर्व सूचना यमदूत मार्फत गराइएको थियो सम्मेलनमा सहभागिता जनाउन उपस्थित भएका 
सहिदहरूले यम भवन खचाखच भरिएको थियो । 
सम्मेलनमा उपस्थित भएका सहिदहरू निकै उत्साहित देखिन्थे। 
हलको पछिल्लो पङ्क्तिमा परिचित लाग्ने चारजना 
सहिदहरू अरुभन्दा भिन्न गम्भीर मुद्रामा लहरै बसेका थिए ।
हजारौँ सहिदहरूको उपस्थितिमा सम्मेलन सुरु भयो। 
नव सहिदहरूले  निकै उत्तेजक र जोसिलो भाषण गरे।व्यवस्था परिवर्तन क्रान्तिकारी शहीदहरूकै कारणले सम्भव भएको 
र सहिदहरू परिवर्तनको संवाहक भएको जिकिर गरे। शहीदहरूले खेलेको भूमिका र पुर्याएको योगदानको खुलेरै 
प्रशंसा गरे। कार्यक्रमको अन्त्यमा, उपस्थित अधिकांश 
सहभागीले सहिदहरूको हक र अधिकारका लागी यमलोकमा एउटा 'सहिद समिति' गठन गर्ने प्रस्ताव ल्याए ।समिति गठनको प्रक्रिया सँगै समितिमा बस्न सहभागीको हानाथाप,  
तँछाडमछाड सुरु भयो। केही गरी पनि सहमतिमा समिति गठन हुन सकेन ।एकले अर्कोको आलोचनाका साथै 
आरोप प्रत्यारोप चल्न थाल्यो।“तँ गुण्डागर्दी गर्दागर्दै 
पुलिसको गोली लागेर मरेको ! पछि पार्टीको 
सिफारिसमा बनेको नक्कली सहिद !” 
नेतृत्वको एक प्रत्याशीले अर्को प्रत्याशीलाई आरोप लगायो। “तँ गाडीले किचिएर मरेको थिइस् ! पछि तेरो पार्टीको सरकार बनेपछि घोषणा भाको ! त झन् कसरी सहिद ?”“तँ जेलमा कैदी सँगको झगडामा मरेको !”“तँ आत्महत्या गरी मरेको !”“तँ तस्करी गर्दागर्दै मारिएको !”एक अर्काबीच आरोप प्रत्यारोप सँगै धकेलाधकेल तथा कुटाकुट हुन थाल्यो।अब शहीदहरू राजनैतिक 
आस्थाका आधारमा विभाजित हुन थाले। आफू अनुकुल दर्जनौं समिति बनाए ।सबै समितिमा नेतृत्व चयन गरे ।
अघिदेखि पछाडिबाट टुलुटुलु रमिता  हेरेर बसेका चारै जना सहिदको आँखा आँसुले डम्म भरिएको  थियो ।उनीहरूको अनुहारमा गहिरा पीडाका धर्साहरू देखिन्थे । उनीहरू भावविह्ल  भएर सम्मेलनस्थल छाडेर हिँडे। त्यसपछि उनीहरू  कहिल्यै फर्केर आएनन्। 
- रोशन आपगाईं 
म्याङ्लुङ, तेह्रथुम ( हाल जापान )
+++
४९. लघुकथा (प)- सहिद ✍️शान्ता तिम्सिना 
           अघिल्लो क्रान्तिमा   आफ्नो बाबा र दाजु  गुमाएको ऊ यस पटक युद्धमा आफै होमिएको थियो   ।   देश र जनताको लागि मर्न र मार्न  तयार थियो ऊ । 
        मोर्चा सम्हाल्दै गर्दा उसले धेरै दुश्मनहरूलाई हताहत बनायो तर    एउटा गोलिले उसको जीवन समाप्त पारिदियो। घरमा  खवर आयो, सबैमा  मौनता छायो । द्वन्द्व  शान्त हुनासाथ सबै त्यतैतिर लागे  ।  त्यहाँको माहोल कारुणिक थियो ।  
         यस्तै हुन्छ भन्ने जान्दाजान्दै पनि आमाहरूले छोराहरूलाई युद्धमा नपठाउनु पर्ने ! अब कसरी मन बुझाउलान्  ?  यी बुढी आमाको  छोरा पनि  परेछ्न् नि !" भिडबाट  आवाज सुनियो । 
      " हरेक आमाहरूले  यस्तै सोच्ने हो भने क्रान्ति कहिल्यै सफल हुँदैन। कोही न कोही नलडि र  केहि नमरी क्रान्तिको युद्ध जित्न सकिँदैन । आज मेरो  छोरा सहिद भएको छ।" आमाले गर्व गर्दै भनिन् -
      उनको दरिलो भनाइले सबैको शिर निहुरियो।
भक्तपुर
+++
५३. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
 हेटौंडा -८,कमाने
   " नरोऊ,आँखाको आँसु पुछ्ने कोही छैन"आवाज आयो।
"पीडाका पहाडहरूलाई बाँधेर मनभित्र राख ;किनकि  अरूका
अगाडि  देखाएर केही हुँदैन ।यो स्वार्थी समाज हो,यहाँ निस्वार्थीले त मूकदर्शक भएर बस्नू बाहेक अरू केही छैन।"
उसले थप्यो।
"सिमारक्षा र राष्ट्रियताका विषयमा लड्नु पर्थ्यो,यहाँ त आफू
र आफ्ना लागि लड्ने पो सहिद भएका रहेछन्  त?" कुरा थपियो।
"छोड्दिनुस् ,सत्यसेवा सुरक्षणम् लेखिएका देवालहरूमा अडेस
लागि  गजबार भएर बस्ने पो देशभक्त रे त?" उनले थपिन्।
देशलाई छातीमा सजाउन खोजी, मेरो देशलाई आँखामा राखेर 
काम गर्ने,सौदाबाजी नगर्ने देशभक्तलाई ल्याइदिने अठोटले ऊ
माथेमा.. थापा.. चन्द ..श्रेष्ठ  भन्दै अलप भयो। समाप्त।।
                                                     २०८०/१०/१६
५७. लघुकथा (प्र) - विमर्श  -शारदा दहाल (भण्डारी )

"लासमाथि फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर ! ...." सहिद सप्ताह चलिरहेको बेला विरहको सारङ्गी  समेत बजाउँदै  केही सालिकहरु गाउन थाले ।
"यस्तो विरह नगाऔं न !यति कमजोर होइनौं क्या हामी । उपलब्धि छ नि!  एउटा बोल्यो।
"देख्यौ उपलब्धि ग्वाँठ हो ! सहिद दिवस भनेर सबैलाई बोध गराउन  एकदिन सार्वजनिक विदा त दिएनन्।" दोस्रो  आक्रोशित भयो।
"हो नि ,कुनै चाकडी गरेनन् क्यारे हाम्रा सन्तानले ! नत्र त सार्वजनिक विदा गरी सहिद सम्मान भनेर आइहाल्थ्यो नि राष्ट्रिय समाचारमा मात्रै नभएर मोफसलमा पनि ।"अर्कोले थप्यो।
"होइन साथी हो, हामी खुशी हुनुपर्छ नि! सुशासन र समानताको नारा घन्किएको छ। सार्वभौमिकता र स्वतन्त्रताको बिगुल बजेको छ।   ब्यबस्था परिवर्तन भएको छ। यो प्राप्ति  चाहिँ  मामुली हो र?"शिरको सालिकले भन्यो।
वास्तविकता त यही हो भन्ने मनन गर्दै  उनको कुरामा  सबैले समर्थन गरे। र  "देशले रगत मागे वलि मलाई चढाउनू .......!"  भन्ने गीत एकैसाथ  गाए।
                           २०८०/१०/१६ 
                             मोरङ।
+++

६०. लघुकथा (प्र)- आत्मबोध -सीता रेग्मी
"यो पङ्गतिमा भएका अरु खै त?" उसले पङ्गतिबद्धहरुलाई सोध्यो।
"खै हामीलाई थहा नै भएन, बेलुका सम्म सँगै थिए।" पङ्गतिवालाहरु विस्तारै बोले।
"तिमीहरुले केही गर्यौ की?" उसले शंका व्यक्त गर्यौ।
"हैन हामी विचरा के नै भन्न सक्थ्यौ र ! केही गर्ने भए त उहिले गरीहाल्थ्यो नि! हाम्रो पङ्गतिमा ल्याएर राख्दा पनि किन चुप लाग्थ्यौ र?" पङ्गतिको नेतृत्व गर्दै एउटाले बोल्ने हिम्मत गर्यो।
पङ्गतिवालाको कुरा पुरा नसुनी ऊ पछाडी दौडियो।केही पर गोलो घेरामा उभिएका मानिसहरु नजिक पुग्यो।"तिमीहरुले किन आफ्नो ठाउँ छाडेका ? तिमीहरुलाई त्यो ठाउँमा पुर्याउँन हामीले कति मेहनेत गर्नु परेको थियो थाह छैन?" ऊ कड्कियो।
"माफ गर्नुहोला हजुर, हामीलाई उहाहरुसँग उभिराख्दा ग्लानी भयो, उहाँहरुले देशको लागि गरेको त्याग र वलिदानले पाएको त्यो स्थान हामी आ-आफ्नै कारण आएकाहरुको लागि सोभनिय छैन।"
"चुप लाग तिमीहरु ! तिमीहरुले यसो गर्यौ भने हाम्रो राजनिती के हुन्छ?" उसले एक एक गरेर हात समातेर तान्न थाल्यो।
"हैन के गर्न लाग्या ?" श्रीमतीले उसको हात झड्कालेर पर पुर्याईदिईन्। डरले थर्थरी कप्दै उसले आँखा खोल्यो।
रचना मितिः२९८०/१०/१६
सुन्दरहरैचा मोरङ
+++
६१.  लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल
                                                                                                                'सहिद काे परिभाषा लेख।'                                                   एउटा प्रश्न याेपनि साेधिएकाे थियाे परीक्षामा।  उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा शिक्षक धर्मभक्तले यस प्रश्नमा परिक्षार्थीले भिन्नभिन्न उत्तर लेखेकाे पाए।                                                                                         ....."विभिन्न आन्दाेलनमा सुरक्षाकर्मीकाे गाेली लागेर मर्नेलाई सहिद भनिन्छ।"                                                            "आन्दाेलनकारीकाे आक्रमणबाट मर्ने सुरक्षाकर्मीलाई.....।"                           "दलहरुबीचकाे लुछाचुँडी र लडाइँमा ज्यान गुमाउनेलाई....।"                                             "न्याय खाेज्दा खाेज्दा न्याय नपाएर मृत्युुवरण गर्न बाध्य सर्वसाधारणलाई....।"                                                           "टिपर (ट्रक) ले हानेर मारिनेलाई...।"                                                                 "सडक र हवाई दुर्घटनामा ज्यान गुमाउनेलाई....।"  आदि आदि।                                  सबै परिक्षार्थीका उत्तर धर्मभक्तले गहिरिएर पढे र ती सबैलाई पाँचमा पाँच समान अंक दिए।                                                         परीक्षाफल प्रकाशित गर्ने क्रममा उनकाे परीक्षणमा ठूलाे प्रश्न उठ्याे।  अपव्याख्या गरेर परीक्षण गरि अनुचित अंक दिएकाेमा उनलाई शिक्षा कार्यालय बाेलाइयाे र स्पष्टीकरण साेधियाे।                                                उनले स्पष्टीकरण दिए।                                                       "महाेदय, प्रश्नले खाेजेकाे उत्तर अधिकांश  परिक्षार्थीहरुबाट भिन्नभिन्न र नयाँनयाँ आउँछ भने  मेराे विचारमा त्याे उत्तरमा हैन प्रश्नमै विचारविमर्श गरिनुपर्छ । त्यस परिस्थितिमा प्रश्न नै गलत छ या पाठ्यक्रम बाहिरकाे छ भन्ने मानेर परिक्षार्थीलाई पुरै अंक दिनु न्यायाेचित ठहर्छ। पच्चीस वर्षको मेराे अनुभवले मलाई यहि नै  सिकाएकाे छ। मेराे कुराे याे, बाँकि त यहाँहरुकाे कुरा! धन्यवाद! धर्मभक्त।"                                                                                   धिरज बराल, काैशलटार, भक्तपुर
+++
+++
६३. लघुकथा (प्र)- शहीदको प्रश्न ✍️ प्रेम पुन मगर
"तिमी को हौ?" एकदम अनजान व्यक्तिले सोध्यो।
"म फलानो बहादुर ..।"  जवाफमा उसले भन्यो।
तिमी के गर्छौ , कहाँ बस्छौ ? फेरि सोध्यो।
"म काम गरेर आफ्नो जीवन धानेको छु। मेरो देश नेपालमा बस्छु।" उसले जवाफ दिदै गयो।
"ज्यान त माटोमुनि बस्ने गड्यालोले पनि पालेको छ। देशको लागि के गर्यौ?" उसको प्रश्न रोकिएन।
 "तिमी पनि  को हौ र देशको लागि के गरेका छौ नि?" ऊ अलिक उग्र हुँदै प्रतिप्रश्नमा उत्रियो।
"हेर ठुला कुरा नगर। मैले बलिदान नदिएको भए तिमीले म नेपाली भन्न पाउने थिएनौ।"
माघ सोह्रको जाडोको रातमा पनि ऊ पसिनाले भिजेको थियो।  एक आमखोरा पानी घट घट पियो र अड्कल काट्यो। 
 "सपनामा  मसँग विवाद गर्ने व्यक्ति अवस्य शहीदको आत्मा हुनुपर्छ।"
 गहिरिएर अझै सोच्यो र स्वयंलाई प्रश्न गर्यो।
"हो त! के  मैले देशलाई केही दिन सकेको छु?"
१६/१०/२०८०

+++

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...