१. लघुकथा- अनुमति ✍️खगेन्द्र बस्याल
२. लघुकथा- मोल ✍️ स्वस्तिका सिम्खडा
३. लघुकथा: जस्तै लाग्याे ✍️टङ्कबहादुर आलेमगर (भूकम्प)
४. लघुकथा - भत्किएको घर ✍️ रामप्रसाद पन्थी (भू्कम्प)
५. लघुकथा- मुहार ✍️तुलसी पण्डित
६. उत्तरकथा~ जवाफ ✍️नन्दलाल आचार्य
७. लघुकथा- जिज्ञासा ✍️गजल आचार्य
८. लघुकथा- शङ्खघोष ✍️रञ्जना रिजाल
९. लघुकथा- बौलाई ✍️सुरेशकुमार पाण्डे
१०. लघुकथा- चामल ✍️तुलसी पण्डित (भूकम्प)
११. लघुकथा- माग ✍️लक्ष्मी रिजाल
१२. लघुकथा- झट्का ✍️कुञ्ज देवी उपाध्याय (भूकम्प)
१३. लघुकथा~ शोकशक्ति ✍️नन्दलाल आचार्य
१४. लघुकथा- सहिद ✍️ पी पी कोइराल
१५. लघुकथा- सहिद ✍️ मनोहर पोखरेल
१६. लघुकथा~ सराप ✍️नन्दलाल आचार्य
१७. लघुकथा (प्र)- सहिदको सपना ✍️ललिता ‘दोषी’
१८. लघुकथा- शहीद ✍️श्रीप्रसाद पोखरेल
१९. लघुकथा (प्र)- अमर ✍️रुद्र अधिकारी ‘निर्दोषी’
२०. लघुकथा- सहिद ✍️दुर्गा घिमिरे
२१. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
२२. लघुकथा: दुखेसो ✍️ ध्रुवराज थापा 'पुरूष'
२३. लघुकथा (प्र)- सहिद ✍️सुनिता निरौला पौडेल
२४. लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई
२५. लघुकथा- अमर शहीद ✍️प्रेम घिमिरे 'अग्निकवच’
२६. लघुकथा- सहिद ✍️गोपाल सङ्ग्रौला
२७. लघुकथा (प्र)- सहिद ✍️बाँस्कोटा धनञ्जय
२८. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी ✍️प्रेम घिमिरे 'अग्निकवच’
२९. लघुकथा (प्र)- ताली र टिकट ✍️नारायण कोइराला
३०. लघुकथा (प्र)- शहीद ✍️पदमप्रसाद दाहाल
३१. लघुकथा- हाेडबाजी ✍️नन्दलाल आचार्य
३२. लघुकथा (प्र)- स्मृति ✍️नानि भारद्वज
३३. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
३४. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
३५. लघुकथा- सहिदको परिभाषा ✍️लक्ष्मण ज्ञवाली
३६. लघुकथा (प्र)- अदृश्य सहिद ✍️सोम कुमार सुब्बा
३७. लघुकथा (प्र)- शहीद बस्ती ✍️उमानाथ दाहाल
३८. लघुकथा-- माघ तेह्र ✍️बिष्णु उप्रेती
३९. लघुकथा (प्र)- गर्व ✍️रमेशचन्द्र घिमिरे
४०. लघुकथा (प्र.)- सहिद दिवस ✍️
४१. लघुकथा (प्र.)- बलिदानी ✍️टीकाराम जाेशी
४२. लघुकथाः सहिद ✍️कल्याण पन्त
४४. लघुकथा- सहीद ✍️सुरेशकुमार पाण्डे
४५. लघुकथा- महान सहिद ✍️तुलसी पण्डित
४६. लघुकथा (प्र) -सहिद सम्मेलन ✍️रोशन आपगाईं
४७. लघुकथा:-वाल जिज्ञासा ✍️सुरेशकुमार पाण्डे
४८. लघुकथा - शहिदकाे माग ✍️टीकाराम जाेशी, इमाडाेल
४९. लघुकथा (प)- सहिद ✍️शान्ता तिम्सिना
५०. लघुकथा- सहिदको सम्मान ✍️शुक्रराज कुँवर
५१. लघुकथा--त्रिभेद ✍️ बिष्णु उप्रेती
५२. लघुकथा- नागरिक ✍️निर्मला बराल
५३. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
५४. लघुकथा- झोक्राएका सहिद ✍️ एलपी पराजुली
५५. लघुकथा- अमूक सहिद ✍️सोमकुमार सुब्बा
५६. लघुकथा- अनुत्तरीत सपना -राेशन पराजुली!
५७. लघुकथा (प्र) - विमर्श -शारदा दहाल (भण्डारी )
५८. लघुकथा- मर्का -प्रेम पुन मगर
५९. लघुकथा- शालिकको छोरो ✍️ प्रेम घिमिरे 'अग्निकवच’
६०. लघुकथा (प्र)- आत्मबोध -सीता रेग्मी
६१. लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल
६२. लघुकथा- सहिद ✍️गंगा खड्का
६३. लघुकथा (प्र)- शहीदको प्रश्न ✍️ प्रेम पुन मगर
~~~~~~~~~~~~
१. लघुकथा- अनुमति ✍️खगेन्द्र बस्याल
चुनाव नजिकै आइरहेको थियो ।
एक जना नेताजी कार्यकर्ताहरुको साथ नयाँ दलको झण्डा हल्लाउँदै सहिदको जीर्ण घरमा आएर भने " अरु ठूला भनिएका पार्टीले कार्यक्रमहरुमा एक मिनेट श्रद्धाञ्जली दिन बाहेक तपाईंहरुको लागि केही गरेनन् ।यसपटक सहीदका परिवारको भलाईका लागि हामी उदाएका छौँ । यसैले हाम्रो कुरा भन्ने अनुमति दिनु हुन्छ कि ! "
सहीदकी पत्नीले सोधिन् " हाम्रो समेत अमूल्य मत पाई विजयको माला पहिरिने सौभाग्य पाउनु भयो भने " तपाईंको के कार्यमा प्राथमिकता रहनेछ ? "
नेताजीले बताए " जसले देशको निम्ति ज्यान आहुदिई गणतन्त्र दिलाए उनैका परिवारलाई शिक्षा ,रोजगार र उचित आवासको लागि प्रवन्ध मिलाइने छ।आज सहीदका परिवारको हरिबिजोग देख्दा म राम्रोसँग निदाउन समेत पाएको छैन ।"
उनले फेरि सोधिन् " अनि अरु के गर्ने अठोट छ ?"
नेताजीले सुनाए " तपाईंका सहिद पतिको यही गाउँमा पूर्णकदको सालिक बनाई छाड्ने छु।"
नेताजीको गुलिया कुरा सुनेर उनलेे भनिन् " नेताजी तपाईंले बाटो बिराउनु भएछ,के सहिदले आफ्नो र परिवारको स्वार्थको लागि तातो गोली खाएका थिए र ! यसैले तपाईंलाई यहाँबाट तुरुन्तै फिर्ता हुन अनुमति दिन्छु ।"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८० माघ ४
०००००
२. लघुकथा- मोल ✍️ स्वस्तिका सिम्खडा
एकाविहानै मैलै ६,७ जनाले मुर्दा मसानघाट लग्दै गरेको देखेँ । उनीहरू प्रहरी बिट सामुबाट आएका थिए । सबै मलामी हतासमा थिए ।
बोकिएको मुर्दा कात्रोमा लपेटिएको थियोे । मलामीले शङ्ख बोकेका थिए तर बजाएका थिएनन् । घाटमा लास बिसाइयो । हत्तपत्त नाऊ आइपुग्यो । सेतो कपडामा लटपटिएको मुर्दा जुरुक्क उठ्यो । कात्रो मिल्कायो । नाऊमा चढ्यो र किनारमा उभिएकालाई बाईबाई गर्दै अलप भयो । म हेरेकी हेर्यै भएँ ।
भैंसी चराउँदै सबै दृश्य हेरिरहेका काकाले भने; "ती मुर्दा बनेका नेताको टाउकाको मोल ५० हजार मात्रै तोकिएको छ ।"
२०७८-१०-१३ बानडाँडा, उदयपुर ।
(स्वस्तिका सिम्खडाको डायरीमा समेटिएका लघुकथा मध्ये सन्दर्भ निकटस्थ ठानी यो प्रेषण गरिएको ।)
०००००
३. लघुकथा: जस्तै लाग्याे ✍️टङ्कबहादुर आलेमगर (भूकम्प)
श्रीमती : एउटा कुरा भनाैँ ।
श्रीमानः दुईवटा भन ।
श्रीमती : आज भूकम्प गए जस्तै भयाे ।
श्रीमान: छि के भनेकी ।
श्रीमती: साच्चै ।
श्रीमान: (यताउती हेर्दै ) माइतीघरकाे कुरा गरेकी ?
श्रीमती: हाे ।
श्रीमान: त्यो त दिनचर्या नै हाे । कसरी भूकम्प गए जस्तो भयाे ।
श्रीमती: (लाडे पल्टिँदै) भू. पू. बि. एफलाई भेट्दा ।
श्रीमान: (झर्किदै) अनि के भयाे ?
श्रीमती: हजुरले हलाे ओल्ड फ्रेन्ड भन्दा ......।
श्रीमान: (प्याच्च थुक्दै ) अनि के भाे त ?
श्रीमतीः (माटाे काेट्याउँदै) सुरक्षित भए छु, भन्ने लाग्यो ।
त्रियुगा नगरपालिका -११, हिमाली टाेल, उदयपुर
०००००
४. लघुकथा - भत्किएको घर ✍️ रामप्रसाद पन्थी (भू्कम्प)
भूकम्प जाँदा जाँदै सारा मानिसहरू सडकमा उत्रिसकेका थिए । भिंडहरूकै बीचमा उषा छाती पिटी पिटी राेइरहेकी थिइन् ।"लाैन गुहार मेराे छाेराे बचाइदिनु पर्याे । "
बिर्खेले भन्याे " यस्ता त आमा छन् । छाेराे लिएर निस्किनु पर्देन ? "
" के गर्नु बाबु हाेसै भएन । " उषा झनै भक्कानिएर रून थालिन् । "
" किन पाेलेकाे घाउमा नुन छर्किन्छाै बिर्खे ? यहीँ हाे तिम्राे मानवता ? " हिमालले बिर्खेलाई हप्क्यायाे ।
बिर्खे पनि कहाँ कम थियाे र ? हिमाललाई ठाडाे जवाफ दियाे " बडा आएछ मानवतावादी । हिम्मत छ भने उषाकाे छाेरालाई बचाएर देखा । "
हिमालले उषालाई साेध्याे " काकी राजु कहाँ छ ? "
" बाबु मेराे छाेराले भित्र काेठामा हाेमवर्क गर्दै थियाे । " उषा भत्किएको घर हेर्दै डाँकाे छाडिरहिन् ।
" हिम्मत नहार्नुहाेस् काकी ! म भित्र गएर खाेज्दछु । " यति भन्दै हिमाल उषाकाे भत्किएको घरभित्र दाैडी हाल्याे ।
हिमाल घरभित्र दाैडिएपछि बिर्खेले कुरा काट्याे " कस्ताे मूर्ख हाेला ? उषाकाे छाेराे खाेज्दा हिमालले ज्यानै फाल्ने भयाे ।"
२०८० माघ २ रेसुङ्गा न पा २ गुल्मी
०००००
५. लघुकथा- मुहार ✍️तुलसी पण्डित
( सहिद दिवसको उपलक्ष्यमा लेखिएको यसलाई स्रोतकथा मानेर माथि उत्तरकथा तयार पारेको हो ।)
एक महिला सहिदका मुर्ति अगाडि रोकिन् । आँखाबाट बर्ररर आँशु झारिन् । त्यहाँ भएका एक मुर्तिलाई सुम्सुमाइन् । एकछिन् पछि हावाहुरी चलेकोले उनी हिड्न पनि सकिनन् । उनी तिनै सहिदका मुर्तिहरुको ठेल परेर बसी रहिन् ।
एकछिन् पछि ठूलो पानी पर्यो । पानी आउँदाआउदै बडेमानका असिनाहरु पर्न थाले । उनले आफूले ल्याएको छत्री एक मुर्तिको टाउकोमा लगाइदिइन् । सारी फुकालिन् र मुर्तिको वरिपरि फेरो मारीन् । यति गर्न सकेकोमा उनको अनुहारमा मुस्कान छायो । एकछिन् पछि सोचिन् । कति गाह्रो भएको होला विचरालाई । हावापानी असिना घाम सबै सहनु पर्छ । सधैं भोकभोकै बस्नु परेको छ ।
यस्तै सोच्दै उनी पख म खाना लिएर आउँछु भन्दै हिडिन् ।
असिना पर्न छोड्यो । पानी रोकियो । मान्छेहरु फाट्टफुट्ट हिड्न थाले । त्यहाँ आएर उनीहरुले टक्क अडिएर मुर्ति हेर्न थाले । उनीहरु जिल्ल पर्दै नजिकको दिदीको घरमा गएर सोधे ।
"होइन दिदी भोलि सहिद दिवस छ । आज अनौठो भएछ ।" "होइन के भयो ?" " हेर्नू न सहिदको टाउको माथि छत्री छ । जीउ वरिपरि साडी बेरिएको छ ।"
"खै ! सधैं एकजना बहुलाही आउथे । कहिले भात खुवाउथे । कहिले छाता ओढाउथे । आज असिना आएर छत्री ओढाइछ । जिउमा पनि असिनाले हान्यो भनेर आफूले लगाएको साडी बेरेर गई ।"
"होइन तिनले त्यहाँ आएर के भन्छिन् त ?"
"छोरा तिमी हिजो म सँग हुदा तिम्रो मुहारमा केही खुशी थियो । तर अहिले यो मुहारमा किन अँध्यारो छाएको हो ।"
०००००
६. उत्तरकथा~ जवाफ ✍️नन्दलाल आचार्य
(प्रस्तुत छ~ तुलसी पण्डितको "मुहार" शीर्षकको स्रोतकथाको उत्तरकथा "जवाफ" ।)
"तपाईंको प्रश्नको जवाफ तपाईंसँगै छ ।" छोराको शालिकलाई बेरेको साडी र ओडाएको छाताले एकसाथ भने आमालाई ।
आमा अझै विक्षिप्त मनोदशामा शालिकरामको शालिकलाई अङ्कमाल गरिरहेकै थिइन् । एक दर्जन मानिस आए । छाता र सारीलाई हटाए । आमालाई ठेलठाल पारेर बारीका पाटामा पुर्याए । शालिकलाई माल्यार्पण गरेर अौपचारिकता निर्वाह निभाए ।
अघिअघि हिँड्ने सुकिलोमुकिलोले आफ्नो भाषणमा भन्यो; "हामी काममा विश्वास राख्छौं । सहिद शालिकरामको शालीन त्याग र समर्पणले हामीले स्वाधीनताको फल कुपुकुपु खान पाएका छौं । हामी कृतघ्न छैनौं । त्यसैले त चौबीसै घण्टा समाजलाई उकास्न जोतिएका छौं ।"
तालीको गडगडाहटसँगै सभा विसर्जन भयो । पुनः शालिक एक्लो भयो । आमा पनि जुरुक्क उठिन् र सारी आफैंले लगाइन् ।
आँखा लाललाल पारेर शालिक नजिक गइन् । र, बक्न थालिन्- "तेरा पाखुरीमा तागत, मनमा सहास र व्यवहारमा इमानदारी छउन्जेल सधैं तँलाई सम्झन्थे साराले । शालिकमा परिणत भएपछि वर्षको एक दिन, त्यो पनि एकछिन, अझ व्यवहारमा हैन भाषणमा मात्रै सम्झँदा रहेछन् ।"
छाता र साडीले एकापसमा मुखामुख गरे ।
"आमाको चेत बल्ल खुलेछ र मलाई लगाइन् ।" साडीले मस्कँदै भन्यो ।
छाताले ठुस्कँदै थप्यो; "आमाको मनमा झरी पर्दा म काममा आउँथेँ । घाम लागिहाल्यो; म बेकामे भएँ कि ?"
आमाले च्याप्प छाता पक्रिन् र पाइला चाल्दै भनिन्- "कृतघ्नहरूले उभ्याएको स्थानमा हावाहुरी, झरीवर्षा खाएर नउभिई छोरा । सके तिनीहरूको मनमा पसेर खबरदारी गर्; नसके सारा कर्तुत यमलोकमा रिपोर्टिङ गर् ।"
२०८०-१०-०३ सिर्जनाकुटी, सिरहा ।
०००
७. लघुकथा- जिज्ञासा ✍️गजल आचार्य
"इतिहास जति कोट्यायो उति दुख्छ । नकोट्याउँदै आनन्द आउँछ ।" हजुरीले कुरा बङ्ग्याएर मलाई भुल्याउन भन्नुभयो ।
"हाम्रा काकालाई किन सहिद भनेको ?" मैले उहाँसँग यही प्रश्न सोधेकी थिएँ । उहाँको जवाफले चित्त नबुझेर म ठुस्किएँ ।
हजुरीले अनेक प्रलोभन देखाएर मेरो जिज्ञासाको मूल थुन्न खोज्नुभयो । म अर्को बाटोबाट पुनः देखिन्थेँ ।
"तेरो काका सीमाको सुरक्षामा थियोे । सीमा स्तम्भ यता सार्ने गिरोहसँगको भिडन्तमा गोलीले निल्यो ।"
हजुरीका कुरा सुनेर मैले अर्को सवाल गरेँ- "त्यो ता जागिर हो नि ?"
उहाँले प्रष्ट्याउनुभयो- शत्रुको गोली खाने रहर कसैलाई हुन्न नानी । देश र जनताको लागि प्राण सुम्पेको भयो नि त !"
२०८०-१०-०४ बेलका-२, उदयपुर ।
०००००
८. लघुकथा- शङ्खघोष ✍️रञ्जना रिजाल
लहरै चारवटा लास बोकेका मलामीहरू कोसीतिर गए । एकोहोरो बजेको शङ्खले हेर्नेसुन्ने सबैको मन रुवायो ।
केही बेरमै मलामीहरू फर्किए । गाउँलेले सोधे- "दाहसंस्कार गर्न समय लाग्थ्यो । पानीमा मिल्काएर आयौ हैन ?"
"हामी आँधीहुरी लिएर गएका थियौं । गन्तव्यमा ठेगान लगाएर फर्कियौं ।" एक जना मलामीले स्पष्टीकरण दियो ।
गाउँलेहरू अलमलमा परे ।
"ती लगेका लास हैन हतियार हो । अत्याचारी शासक फाली जनताको शासक ल्याइँदै छ ।" अर्को मलामीले सुटुक्क रहस्य खोल्यो ।
"बजेको शङ्ख नि ?" कसैले सोधेको सवालमा मलामीको जवाफ सुनियो- "त्यो त युद्धको शङ्खघोष हो ।"
२०८०-१०-०१ काठमाडौं, हाल- अमेरिका ।
०००००
९. लघुकथा- बौलाई ✍️सुरेशकुमार पाण्डे
"द्वारिका प्रसाद अंमर रहुन! -अंमर रहुन!
"सहिदी दिवस जिन्दावाद!-जिन्दावाद!
अचानक मिलन चौकमा मानिसहरूको घोंइचो लाग्यो।
कोई गाडिमा,कोई वाइकमा र कयौँ पैदल जनताले मिलन चौक भरिलो भयो।एउटा गाडिमा सालिक लिएर आए अनि फटाफट उभ्याए।
नजिकै रित्तो थाल र एउटा फाटेको झोला भिरेर बसेकी बुढी जुरूक्कै उठी र भिड भएतिर दौडी।
"आज सहीदी दिवस हो।यो अवसरमा हामिले हाम्रो क्रान्तिकारी नेता जो देश र जनताको लागि आफ्नो पराणको आहूती दिए।स्वर्गिय द्वारिका प्रसादको सम्मानमा यो उन्को सालिक मिलन चौकमा स्थापित गर्दैछौँ।
आज देशभित्र जुन परिवर्तन आएको छ। त्यसमा द्वारिका प्रसादजीको महान योगदान मिसिएको छ।"
मन्त्री महोदयले सहीदको सालिकमा माला अरपण गर्दै भने।
त्यो हेर्न जम्मा भएका जनताहरूलाई प्रहरिले लाठिले डराउँदै पछि -पछि सार्दैथियो।
त्यो भिडलाई छिचुल्दै त्यो भिखारिन अगाडी आई।
जस्ले फाटेका र पुराना धुजाधुजा भयका लुगा पहेरेकी थिई।
केही बोल्न खोजी तर बोल्न सकिन।"अलि पछिसर बौलाई भन्दै" उसलाई प्रहरिले पछि ढेकल्यो।
ऊ द्वारिका प्रसादको सालिकलाई टाडाबाट हेरिरही। र जोडले खितिति हासीं।
र मनैमन भनि प्रिय!देश खालिभयो मेरो भागमा गाली भयो।
तिमी सालिक भयो।
र हाम्रो दुश्मन आज मालिक भयो।
दाङ घोराही १८
१५-०१-२०२४,(०१माग २०८०)
०००००
१०. लघुकथा- चामल ✍️तुलसी पण्डित (भूकम्प)
मन्त्रीहरुको बैठक बस्यो । समसामयिक विषयमा छलफल भयो । एक मन्त्रीले भने । बर्बादै भएछ । प्रधानमन्त्रीले डराउदै यताउता हेर्दै भने ।
" होइन के भयो र ?"
" हेर्नू न भुकम्प पिडितहरुलाई राहत स्वरुप आएको एक गोदाम चामल कुहिएर नष्ट भएछ । "
"होइन कतिपय भुकम्प पिडितहरु खान न पाएर छट्पटीएका छन् । हुने सम्म भए बाँडि दिउँ । "
"हुदैन हजुर हातले छुने बित्तिके पिठो हुन्छ । धेरै समय राखिएछ त्यहाँ ?"
"त्यसो भए आजै लगेर खाल्टो खनेर गाडिदिनु । "
डोजर आयो । ठूलो खाल्टो खन्यो । गोदामका सबै चामल खाल्टोमा राखेर पुरियो ।
"हर्के आज खाल्टोमा धेरै चामल राखेर पुरिएको छ । हामी खान न पाएको तिनचार दिन भै सक्यो । जाउँ लिन ।
बोराका बोरा चामल ल्याउन पाइन्छ ? "
पुरेको माटो निकालेपछि चामलका बोरा निकालियो । रातभरमा गाउँलेहरुले सबै चामलका बोरा लिएर गए । गाउँलेहरु अब खान पाइने भो भनेर खुशी भए ।
नर्कटे बोल्यो ।
"अब तीन महिनालाई ढुक्क भयो ।?
" बिग्रन गए छ र हामीले पायौँ ।"
०००००
११. लघुकथा- माग ✍️लक्ष्मी रिजाल
काकी रुँदै कराउँदै देवरकहाँ गुहार माग्न गइन् ।
देवरको सवाल र भाउजूको जवाफ यस्तो थियोे-
- दाजु राजनीति गर्थे ?
- पहिले गर्थे । अहिले संयास लिएर जाँड र गाँजा पिउँथे ।
- किन लिए संयास ?
- राजनीतिमा असफल भएर ।
- उल्टो नखेद्नुस्; सुल्टो सोच्नुस् । तपाईंको पतिभन्दा मेरो दाजु पहिले भएको हो । खोक्दाखोक्दै पति सिद्धिए भन्ने बिर्सनुस् ।
- अनि के भन्नू त ?
- आन्दोलनमा गोलीको छर्रा लागेको थियोे । उपचार गराउँदा गराउँदै एकाविहानै उहाँको निधन भयो भन्नू ।
काकीले मुन्टो मात्रै झुकाइन् ।
त्यसबेला आन्दोलनको हुरी चलेको थियोे सडकमा । एकै क्षणमा सडकमा लास परिक्रमा गर्न थालियो । नारा गुन्जन थाले-
प्रहरी ज्यादति- मुर्दावाद !!!
दुर्गानाथलाई- सहिद घोषणा गर् !!!
अधिकारविहीनको एकता- जिन्दावाद !!!
२०८०-१०-०४ रूपनगर, सप्तरी ।
०००००
१२. लघुकथा- झट्का ✍️कुञ्ज देवी उपाध्याय (भूकम्प)
झट्ट घरबाट निक्लि । छोरोलाई पनि लिएर निक्लि भन्दै साह्रो कराउँदै श्रीमान ढोकामा उभिए।
मलाई झनक्क रिस उठ्यो।के भयो आज।कसै सँग झ्गडा गरेर आए जस्तो छ।
केको निक्लन्छु ।प्राण छउञ्जेल यो घरबाट मलाई निकाल्न सक्ने छैनौ। मैँले झन् साह्रै कह्राए।
उनले पाखुरामा समातेर मलाई आँगन सम्म पुर्याए।छोरो पछि पछि रुँदै निक्लेर आयो।
आमा घर हल्लेको हेर्नु त ! हाम्रो घर भत्किन आट्यो।
भूइँचालो! कति ठुलो ...
मेरो शरीर सँगै दिमागमा पनि झट्का लाग्यो, घरबाट निकालेको कारण बुझेर।
शिवसागर, असम, भारत
००००
१३. लघुकथा~ शोकशक्ति ✍️नन्दलाल आचार्य
खाकको थुप्रो वरपर टक्र्याकटुक्रुक बसेर झोक्रिरहेका थिए वनका सारा जन्तुहरू !
भालु- समस्याले पनि एकैपटक घेर्दो रहेछ जिन्दगीमा ।
हात्ती- मैले त साघुँरो ठाउँमा नबसौं भनेको कसैको कानमा बतास पसेन ।
घोडा- बाजा बजाएर दैव किन आउँथ्यो र ?
मयुर- हामी एकै मनका भई रहेर अलौकिक काम गरेको कसैलाई पचेन ? त्यस अपराधी पत्ता लगाउन अनुसन्धान थालौँ ।
गधा- हो, अवश्य हाे । मयुरजीका कुरा साेह्रौ आना सही हो ।
त्यति नै बेला अर्को जङ्गलबाट ब्वासो आइपुग्यो । उसले समाचार बुझ्न चाह्यो ।
स्याल अघि सरेर भन्न थाल्यो- "ब्वासो भाइ, यस जङ्गलका हामी सबैको शरीर अनेक छ तर भावना एक छ । यसलाई देखेर कसैले हामीलाई भाँड्न षड्यन्त्र गर्यो ।"
"त्यो ता बुझेँ । खाट्टी समस्या के हो कुन्नि ?"
ब्वासोले सत्य नछिमली नछाड्ने सुर कस्यो।
तीनतिर पहाड थियोे । बिचको उर्वर भूमिमा सबै जन्तुले मुकाम बनाएका थिए । दिनदहाडै पहाडमा डढेलाको लप्को देखियो । सक्ने जति ज्यान हत्केलामा लिएर दगुरे । भुला बाँदर भने अशक्त र बालबच्चा ओसार्नमै व्यस्त थियो । सबैको ज्यान बचायो तर आफ्नै बचाउन सकेन ।
यथार्थ बुझेर ब्वासाले भन्यो- छिमेकीको शोक हाम्रै शोक हो । धन्दा नमान्नुस्, शोकलाई शक्तिमा बदल्ने उपायको प्याकेज चाँडै घोषणा हुनेछ ।
२०८०-१०-०३ (सहिद सप्ताहको संहारमा)
०००००
१४. लघुकथा- सहिद ✍️ पी पी कोइराला
" पृथ्विबाटै मुक्ति चाहन्छु,मुक्ति!"
गंभिर मुद्रामा रहेकी गरिमाले सारा संसार अँध्यारो देखि र मर्ने अन्तिमै निर्णय लिई।
एक घण्टा नबित्दै
टोल भरिका मानिसहरु गरिमाको आँगनमा भेला भए।
"लौ न नी !हरे !यो पापिनीले के तमासा देखाकि हो यस्तो! "
आफन्तहरुको गुनासो गुंजियो।
"लोग्ने देशलाई मुक्ति दिन हिँडेको २२ बर्ष पुगेछ। बेपत्तै भो भन्ने सुन्छु।" एउटाले अर्कोलाई सुनायो।
"हुन त एक्लो देखेपछि महिला लाई आफ्नैले पनि हेपेर नचाहिँदा नचाहिँदा आरोपहरु लगाउँथे रे!"उनका पक्षधर महिलाहरु मध्ये एउटी भद्र महिलाले उ तिर हेर्दै भनी।
" २२ बर्ष पुगिसकेको छोरोले पनि भर्खरै ' देशलाई मुक्ति दिलाउन हिँडेको 'भन्दै घर त्यागेछ"अर्की महिलाले थपिन्।
"सबैलाई जिउन सजिलो पारेकी होली नी ,यस विचरीले पनि "अर्को आवाज पनि आयो।
सबैले उ तिर हेरे।बाटो हिँड्दै गरेकी ती साधु भीड भित्र पसे र हाँस्दै भने,"२५ बर्ष पहिले म पनि सबै जनताको मुक्तिका लागि आफूलाई बलिदान गर्न चाहन्थेँ !तर फेरि अर्को निरंकुशता शुरु हुन्छ र सहिद परिवारको यहि विजोग हुन्छ भन्ने देखेर मैले अर्कै बाटो अपनाएँ।"
धरान- १३
०००००✍️
१५. लघुकथा- सहिद ✍️ मनोहर पोखरेल
धेरै वर्ष पछि गाउँ पुगेको म सोझै सहिद चोक लागे । सहिदकै योगदान र बलिदानले राजनीति सफल भएको थियो ।
मन्त्री हुँदा बनाएको शालिकको बेहाल देख्दा मन भने कटक्कै खायो । उत्सुकता खिन्नतामा परिणत भयो । फूलहरूले हरियाली हुनुपर्नेमा झारपातले भरिभराउ थियो । चराले विष्ट्याएको र चौपायाको फोहोर जताततै देखिन्थ्यो । शालिकको चश्मा हराएको थियो भने नाक भाँचिएको थियो ।
चोकमा केही युवाहरु क्यारेम बोर्ड खेलिरहेका थिए । चौतारामा अधवैसे उमेरका मनिसहरु तास खेलिरहेका थिए । खेल्ने भन्दा हेर्ने दुई गुणा बढी थिए ।
“नमस्कार है सबैलाई !” पाका मानिसहरु नजिक पुगेर भने ।
सबैले नमस्कार फर्काउँदै सोधे “ओहो, कहिले आउनुभयो, अनि सञ्चै हुनुहुन्छ ?”
म त आउँदैछु, सञ्चै छु । तर यत्रो खर्चेर बनाएको शालिकको अवस्था त ठीक देखिन् । मैले असन्तुष्टि प्रकट गरेँ ।
‘राजनीतिक दुनो सोझ्याउने र सत्ताको भर्याङ चढ्ने बेला पो सबैले सहिद सम्झिने हो ।’ एक पाका उमेरकाले व्यङ्गय कसे । सही थाप्दै एक युवाले भने ‘राज्यले यसो बजेट छुट्याई दिए रंगरोगन र सरसफाई गर्न हुन्थ्यो !’
झनक्क रिस उठ्यो र भने ‘सामान्य कामका लागि सम्पति नै चाहिदैन्, सोच र समय भए सहभागिता जुटाएर धेरै काम गर्न सकिन्छ ।’ पारो चढेपछि कडकिदै थपेँ ‘हामी तास, क्यारेम खेलेर समय र सम्पत्ति नाश गर्छौ । चोकचोकमा लक्ष्मी, सरस्वती, गणेश, दुर्गा, विश्वकर्मा, शिव पूजा गरेर लाखौं खर्च गर्छौ । तर प्राणहुती दिने सहिदलाई पानीले पखालेर सफा पनि गर्न सक्दैनौ ?’
रातभरी सुत्न सकिन् । विहानै कुचो र खुर्पी लिएर निस्के । चोक पुग्दा शालिक टल्किरहेको देखे, सरसफाई गरेर युवाहरुले सहिदलाई मालाले सजाइ सकेका थिए ।
राजविराज ६, सप्तरी, २०७९ माघ ५
000
१६. लघुकथा~ सराप ✍️नन्दलाल आचार्य
"तिमीहरूलाई लागेको सराप कटाउन तिमीहरूले पनि सरापेर आओ ।" मर्त्यलोक भ्रमण गर्ने छुट्टी दिँदै यमसेनापतिले भन्यो चन्दर र चन्द्रकान्तलाई ।
चन्द्रकान्त छक्क परे र सम्झे- कालाम्मे सडकमा आफू पछारिएर राताम्मे पारेको । पानी माग्दा पिसाब भेटेको । आश्रय खोज्दा बुट खाएको । हिँड्न नसक्दा घिसारिएको । आफ्नै खुनको आहालमा जमेर प्राणपखेरु उडाएको ।
चन्दर र चन्द्रकान्त मौवाही टोलका बासिन्दा थिए । दुई घण्टा अघिपछि जन्मेका थिए । कोख बेग्लाबेग्लै थियोे तर स्वभाव र मन एक थियोे । सँगसँगै हुर्के, सँगसँगै पढे, सँगसँगै अनेकौंतिर हात हाले ।
सडकमा अधिकार हननका कुरा चले । सँगसँगै सुन्न गए । पाँच दिनसम्म अरूका कुरा सुने । विश्वास भएन । विश्वास गर्ने वातावरण बुझ्न गाउँ पसे । गाउँ आफ्नै लयमा हल्लँदै थियोे । तल्तिरको सुइरो पनि स्विकार्य थियोे; माथिबाट बर्सेको कोर्रा पनि तिरस्कार थिएन ।
# उनीहरूले रोगबाट मुक्त हुन सिकाए गाउँलेलाई ।
# भोकमुक्तिको बाटो पहिल्याइदिए गाउँलेलाई ।
# शोकलाई शक्तिमा बदल्ने मन्त्र दिए गाउँलेलाई ।
# अभाव र अनिकाललाई दौतरी बनाउन सिकाए ।
# अरूका लागि बाँच्ने दिव्यचछु दिए गाउँलेलाई ।
"हामी हाम्रा कुरा त्यागौं; सराप्नतिर लागौं ।" चन्द्रकान्तले मुख खोलेका कुरामा चन्दरले सही थापे ।
नेपाल मण्डलतिर दृष्टि फ्याक्दै चन्द्रकान्त सराप्न थाले- "तिम्रो कृतघ्नता नरकलोक पसोस् । कुकाममा हात पर्दा मुटु हल्लियोस् । समृद्धि नेपालमै रहन पल्कियोस् ।"
चन्दरले थपे- "अवनतिले सदाको लागि कुलेलम ठोकोस् । समग्रमा हाम्रो मन तिम्रामा सरोस् ।"
२०८०-१०-०३ सिर्जनाकुटी, सिरहा ।
०००
१७. लघुकथा (प्र)- सहिदको सपना ✍️ललिता ‘दोषी’
हैन बाबा, हजुरलाई के भएको छ र हँ ? धेरै दिनदेखि नुन खाएको कुखुराजस्तै देख्छु । कलम चलेको पनि देख्दिनँ ।
आँसु झार्दै घनश्याम बोले —‘‘खोइ के भनौँ बाबू, धमिराहरूले देशको बचेखुचेको थोरै इज्जत पनि माटोमा मिलाए । यो पापी गणत्रन्त्र ल्याउन ज्यानको बाजी लगाएर लडेँ । मलाई गोली लागेको सुनेर तेरी आमा हृदयघात भएर सदाका लागि निदाई । म चाहिँ यही पापी दिन देख्न बाँचेको रहेछु । प्यारीलाई र यो हात गुमाउँदाको चोटले पलपल मरिरहेको छु । त्यसमाथि सारा नेपालीको शिर झुकेको सम्झिँदा मुटुमै बज्र लागेझैँ भएको छ बाबू ! त्यत्रा सम्पन्न नेताहरूले भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिन्छु भनेर कुन मुटुले पैसा हसुर्न सके होला ? पैसा दिने पनि कस्ता हुन् ? यो खुल्लमखुल्ला मान्छेको व्यापार हैन त बाबू ? जताततै केवल अँध्यारो मात्र देख्छु । थुप्रैले बलि दिएर ल्याएको गणतन्त्रमा सुशासनको छनकसम्म छैन । न त सहिदको सपना साकार भयो । न त हामीजस्ताले केही पायौँ । त्यसैले मनमा तुफान उठेको छ ।’’
अमितले सम्झाए—‘‘उनीहरूको घृणित कर्म देख्दा सबैको मुटु चिरिएको छ नि ! यसरी हजुरले खान, सुत्न छोड्दैमा के देश बदलिँन्छ त बाबा ? व्यवस्था नराम्रो होइन, व्यक्ति भ्रष्ट हुन् । जसरी हजुरले गणतन्त्र ल्याउन कलम चलाएर केही भए पनि चेतना छर्नुभयो । होस्टेमा हैँसे भन्नुभयो । अब पनि भ्रष्टको दोहोलो काड्न बन्द कलम खोल्नुहोस् । अरू म के भनौँ र ?’’
धनश्यामले बगिरहेको आँसु पुच्दै एकोहोरो कलम चलाइरहे ।
तिम्रा तिखातिखा चुच्चा नच्यातेर हो नि !
पङ्ख फिँजाइ उडेका छौ पापी, भ्रष्ट, खुनी
उखल्नेछौँ पङ्ख सबै झाछौँ तललत
त्यसपछि बग्ला नदी गर्दै कलकल ।
लेखन मिति : २०८०।२।८ बुद्धनगर काठमाडौँ
०००००
१८. लघुकथा- शहीद ✍️श्रीप्रसाद पोखरेल
" भन तिमीलाई कस्ले उकासेर पठाएको ? शासकले सोध्यो ।
"तिमी जस्तो बैसाखीको भरमा हैन आफ्नो विवेकमा हिँड्छन् जनता", श्रीधरले भन्यो ।
"आत्मसमर्पण गर बरु राम्रो पदमा राखौँला" शासकले प्रलोभन देखायो ।
"गणतन्त्रको युगमा यो पुरानो डायलग नबोल , बरू के गर्न चाहन्छौ तुरून्त गर"
शासक सुनको पलङमा राष्ट्रको सम्पत्तिलाई दोहन गर्ने योजना बनाउन व्यस्त थिए । देशमा हुनलागेको बेथितीको पुनरागमन विरुद्ध सभामा पक्राउ परेका श्रीधर भने मानसिक रुपमा मृत्युवरण गर्न तयार भएका थिए ।
"नेता ! तिमी कोसँग बोल्दैछौ ?" शासक कड्कियो।
"मेरो मतले बनेको शासकसँग । बरू मलाई किन बोलायौ ?"उसले सहज प्रतिप्रश्न गर्यो।
"तिमीलाई मृत्युदण्ड हुन्छ" शासकले कठोर शब्द प्रयोग गर्यो।
"तिमीलाई थाहा छ ? म मरे शहीद हुनेछु, तिमी बाँचे पनि हत्यारा हुनेछौ" श्रीधरले भने ।
२०८०/१०/०१
०००००✍️
१९. लघुकथा (प्र)- अमर ✍️रुद्र अधिकारी ‘निर्दोषी’
“तिमी को हौं ? किन यती चाडैं आएको ?” चित्र गुप्ताले लखनलाललाई सोधे।
लखनलालले जवाफ दिए “म मेरो खुशीले कहॉं आएको हो र प्रभु ? अझै के के गरौंला भन्ने थियो ! कालले उमेर नै नपुगि टपक्क टिपेर ल्याए पछि, के सिप लाग्दो रहेछ र?”
“काललाई किन दोष लगाउँछौं ? गोलि चल्न सक्छ भन्ने जान्दा जान्दै किन आन्दोलनमा गएको त?” चित्र गुप्ताले प्रश्न सोधे ।
लखनलालले जवाफ दिए “म आन्दोलनमा कहॉं गएको थिए र ? पसलमा चिया पिउँदै गर्दा गोली लाग्यो ? पुलिसले आन्दोलनकारीलाई, आन्दोलनकारीले पुलिसलाई दोष लगाए । त्यस पछि आन्दोलन झन चर्कियो । मेरो लासको आडमा राजनीति भयो । आन्दोलनकारीले मलाई सहिद घोषणा गर्न लगाएर सरकारलाई घुँडा टेकाएरै छाडियो भने। मेरो परिवारलाई दुई चार हजार दिएछन । यसरी म सहिद भएर आएको प्रभू “
चित्र गुप्ताले लामो सुस्केरा हाल्दै चिन्ता ब्यक्त गरे “खै पृथ्वी लोकमा, निर्दोषको ज्यान लिने र सहिदको नाममा गरिने राजनीतिको अन्त्य कहिले होला?”
ईटहरी, सुनसरी (हालः लन्डन)
बिहिबार, माघ ४, २०८०
*******************
२०. लघुकथा- सहिद ✍️दुर्गा घिमिरे
"बाबा सहिद कसलाई भनिन्छ? "सहिदलाई किन सम्झने ?" आज उ बारम्बार एउटै कुरो सोधिरहेको थियो ।बाबु ल सुन"व्यक्तिगत स्वार्थ विना काम गर्ने र देश र जनताको भलाइका लागि आफ्नो ज्यानको समेत बलिदान दिने व्यक्तिलाई सहिद भनिन्छन् । जुनजुन देशमा सामाजिक , आर्थिक र राजनीतिक क्रान्ति भएका छन् त्यहाँ स्वतन्त्रता, प्रजातन्त्र र मुक्तिका लागि बिना स्वार्थ देशका लागि मानिसले आफ्नो बलिदान दिएका छन् आज सहिद दिवस, सहिदलाई सम्झने दिन", म विहानै मेरो स-परिवार लिएर सहिद पार्कमा पुगेको थिए ।
बाल मस्तिष्क भित्र उब्जेका प्रश्नहरुको उत्तर म दिदै थिए। "बावा यस्तै अनुहारको फोटो हाम्रो घरको भित्तामा रहेको फोटो सँग मिल्दो रहेछ हगि !" हो बाबु यि मानिस यो संसार छैनन् तर देश र जनताको लागि प्राण आहुती दिएर गएका थिए ।
एक छिन पछि दुईचारओटा कार धुलो उडाउदै सहिद पार्कतिर आउदै गरेको टाढैबाट देखियो । "लौ मन्त्रीज्यूको सवार भो मानिसहरू भन्दै थिए ।मन्त्रीको स्वागतार्थ मानिसहरु सधैका झै फूलमाला र खादा लिएर लस्करै बसेका थिए । सहिदका परिवार सम्मान भनेर मन्त्रीले फ्रेम भरको सम्मान पत्र अनि गलामा माला सहिदका परिवारहरुलाई लगाइदिए,जसको परिवारका सदस्यहरु जनआन्दोलन, जनयुद्ध , मधेस आन्दोलनमा सहिद भएका थिए। "पेट भर्नेको लागि दाना नभएको बेला भित्तामा टास्ने फ्रेमले के पो नै गर्न सक्थ्यो र ? उपचार नपाएर बस्नु परेको बेला गलाको माला के काम " एक सहिद परिवारका सदस्य भनिरहेका थिए ।
त्यहीँ बीचमा देखेको एक बुढा मान्छेको कारण मेरो मस्तिष्कमा कुरो घुमिरहेको थियो। त्यो मान्छे को होला ! किन यहाँ आएको होला !,थोत्रो च्यात्तिएकोको लुगा लगाएका थिए । बाटोमा भेटिएको फोहोर कसिङ्गर
सबै उठाउदै हिड्ने गर्थे ।आफ्नै सुरुमा के के बोल्दै थिए। सयद बेसुर नै थिए जस्तो लाग्द्थियो।त्यहाँ जम्मा भएका मानिसहरु उनका कुरा सुनेर बेला बेलामा हाँस्दथ्ये । पछि थाहा भो ती बुढा मान्छेको छोरा जनअन्दोलननमा सहिद भएका थिए।
रत्ननगर १४ -चितवन
*******************
२१. लघुकथा (प्र)- सहिद ✍️रचना शर्मा
"मेरो छोरोले केहीछिन अघि मृत्युवरण गर्यो, अब यसलाई सहिद घोषणा गर्दिनु पर्यो हजुर !" उसले आफ्नो पार्टीको अध्यक्षलाई सुनायो ।
"मानसिक स्थिति गुमेको अपांग, त्यसैमाथी छारे रोगले लखतरान ! हिँड्दा हिँड्दै बाटोमा पल्टिएर मरेको तिम्रो यस्तो छोरोलाई सहिद घोषणा गर्ने ? देशको लागि के गर्यो यसले? सहिद घोषणा गर्दा पत्याउलान् र जनताले ?" अध्यक्ष कड्केर बोले ।
"देशको लागि नगरेर के भो त, तपाईंको लागि त धेरै गरेको छ नि यसले !" उसले ढुक्क भएर भन्यो ।
"के गर्यो र त्यस्तो साहसी काम ?" अध्यक्षले जिज्ञासा राखे ।
उसले यताउती हेर्यो र बिस्तारै भन्यो, "ल.., बिर्सनु भो ? त्यत्रा किशोरीहरूको बलात्कार , अपहरण र हत्या गरेको तपाईंको छोरोलाई यसैले बचाएको होइन ?"
२०८०/१०/०५
++++
२२.लघुकथा: दुखेसो ✍️ ध्रुवराज थापा 'पुरूष'
(काभ्रे, पनौती । हाल: कपन, काठमाडौँ ।)
एक्कासी सबैले घेरा हाले ।लाग्दै थियो आज यिनीहरूले त्यत्तिकै छाड्ने छैनन् । किनकी मैले उनीहरूको अनुहारमा आक्रोश पढिरहेको छु !कसरी आज म यो तिलस्मी ठाउँमा आईपुगेँ पत्तै भएन !
मैले जिज्ञासा राखेँ, "तपाईँहरू शान्त हुनुहोस् । तपाईँहरूको गुनासो के छ ? ल भन्नुहोस् ।" उनीहरूले एकैसाथ भने, "हामीलाई सहिदको सूचीबाट हटाइयोस् ! हाम्रो घोर अपमान भयो !
मैले सोधेँ, "किन यस्तो भन्नुभयो ? तपाईँहरूलाई के भयो ? पालैपालो आफ्नो कुरा राख्नुहोस् ।
सहिद नं. १ : "हामीलाई किन वर्षमा एकपल्टमात्र सम्झिने गरिन्छ ? के हामीले गरेको बलिदानीको मूल्य यही हो ?"
सहिद नं. २ : "तपाईँहरूले किन सहिदको परिभाषा बिगार्नुभयो ? जस्लाईलाई पनि दबाबको भरमा सहिद घोषणा किन गर्नुहुन्छ ? आफ्नो देश, संस्कृति, अस्तित्व र स्वाभिमानको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिको निम्ति बलिदान दिने अमर व्यक्ति लाईमात्र सहिद घोषणा गर्नुपर्ने होईन र ?"
सहिद नं. ३ : "तपाईँहरू किन सहिदको नाम भजाएर आफ्नो दुनो सोझ्याउनु हुन्छ ? अनि सहिद पार्टीको हुदैन भन्नेकुरा तपाईँहरूलाई थाहा छैन मन्त्रीज्यू ?"
सहिद नं. ४ : "तपाईँले कहिल्यै सहिद परिवारको हविगत र आफ्नो परिवारको अवस्था तुलना गर्नु भएको छ मन्त्रीज्यू ?"
"हत्तेरी म कस्तो विचित्रको ठाउँमा आईपुगेछु, कस्तो समस्यामा फसियो !" भन्ने मनमा लाग्यो । मेरो मुटुको धड्कन बढ्यो ! सासफेर्न गार्हो भयो ! चिट्चिट् पसिना आयो ! यत्तिकैमा म झल्याँस्स बिउँझिएँ !
मिति: २०८० माघ १२
+++
२३. लघुकथा (प्र)- सहिद ✍️सुनिता निरौला पौडेल
“त्यसलाई नछोड , ठोकि दे ।”उसलाई लखेट्न थाल्यो ।
आफुतिर आएको देखेर उ भाग्यो । ढ्याम्म गोली हान्यो , उतिखेर भुइॅमा ढल्यो ।
छेउछाउमा भएका सबै मान्छेहरू भेला भए ।”लौ .. यसलाई त गोली लाग्यो ।अलि -अलि साँस छ, बरु अस्पताल छिटो लैजाउँ ।एउटाले नाडी छाम्दै भन्यो, "चल्दैन त नाडी । ला …मर्यो साथी ।"
"साले ..मान्छे नचिनी त्यसै गोली हान्यो । प्रहरीतिर सबैले ढुङ्गा बर्साए । हाम्रो साथीलाई मार्यो बिना सित्तैमा ।"
सडक बिचमा लास राखेर नारावाजी गर्न थाले उनीहरुको समुहले ।"अब सरकारले सहिद घोषणा गर्नुपर्यो ।" एकजनाले भन्दै थियो ।
छेउमा उभिएका एकजना बुढा बाले उनीहरूको कुरा सुनेर भन्न थाले ।
“के भनेको भाई , यो बाबु त ,त्यसै हिँड्दै गर्दा प्रहरीले लखेट्यो । डराएर भाग्दा दोषी पो हो रहेछ ,भन्ने ठानेर गोली चलायो ।
तिमीलाई थाहा छ ,बाबु ! कस्ता व्यक्तिलाई सहिद भन्छन् ? “
“सहिद त्यो हो ,जसले देश र जनताको अधिकार , संस्कृति र अस्तित्वको रक्षा गर्छ। हरेक देशभक्त नागरिकको मन मस्तिष्कमा सधै भईरहने अनि स्वतन्त्रताको लागी आफ्नो बलिदान दिने व्यक्तिलाई सहिद भन्छन् ,बुझ्यौ ।”अर्कोले कुरा सुनिरहेको थियो ।
“थाहा छ ,सहिद कस्तालाई भन्छन् बाजे ?"
“सरकारले यस्तै व्यक्तिहरूलाई सहिद घोषणा गरेर हाम्रा वीर सहिदहरुको अस्तित्वलाई मेटाउन खोजेको छ ।”
भक्तपुर ः राधे राधे, निकोशेरा ।
२०८० - १० - ०५ गते ।
+++
२४.लघुकथा (प्र)- सम्मान ✍️सविता भट्टराई
"हाम्रा शहीद अमर रहुन।जिन्दाबाद ।जिन्दावाद।"सडकमा हिँडेको मानिसको हुल झ्यालबाट दस वर्षीय शुशिल हेरि रहेको थियो। ऊ दगुरेर आमानिर आयो र सोध्यो" आमा !शहीद भनेको के हो?
आमाले शुशिल लाई नजिकै ल्याएर भित्तामा झुन्ड्याएको शहिदहरुको फोटो देखाउँदै भन्नुभयो।"हेर बाबु!आफ्नो देशको हक हितको लागि दिन रात न भन्ने अन्त्यमा देशकै लागि आफ्नो ज्यान समेत बलिदान गर्ने सुपुत्रलाई नै शहीद भनिन्छ।"बुझ्यो?हामीले सहिदलाई सधै सम्मान गर्नु पर्छ।
केहीबेर पछि शुशिल आमा सँगै टुँडिखेल गयो।त्यहाँ शहीदको परिवारलाई सम्मान गरी केही नगद पुरस्कार सहयोग गर्ने कार्यक्रम थियो।
केहीबेर पछि शहीद सम्मान भनेर नरेको परिवार लाई सम्मान गर्ने घोषणा गरियो। नरे आफ्नो गाउँको सब भन्दा बडमाश कुलतमा लागेको ,गैरकानुनी गर्ने व्यक्ति प्रहरी लाई आन्दोलनको बेला ढुङ्गा हानेर भाग्दा प्रतिकारमा प्रहरीको गोली लागेर मृत्यु भएको थियो। पछि शहीद घोषणा भएपछि मात्र उसको दाह संस्कार भएको थियो।
शुशिल छक्क पर्दै आमा तिर हेर्दै भन्छ।आमा यो पनि सहिद हो ?आमा निशब्द हुनुभयो।
+++
२५. लघुकथा- अमर शहीद ✍️प्रेम घिमिरे 'अग्निकवच’
फिरङ्गीले देश घेरे। बचाउन लड्नै पर्यो। संस्कृतिमा खोट लाग्न दिने कुरै भएन।अस्तित्व लोप हुने कुरा सहेर को पो बस्न सक्छ र? स्वाभिमान भन्दा ठूलो सम्पत्ति अहिले सम्म भेटिएकै छैन।
यी आदर्शका कुरालाई भाषणमा मात्र होइन ब्यवहारमा उतार्न सँधै अग्रपंक्तिमा उभिन्थे अमर। इतिहासका शासकहरू आफ्नो स्वार्थका लागि स्वाभिमान दाउमा थाप्न पछि पर्दैनथे। अमर र उनका साथीहरू भने आत्मसम्मान र स्वतन्त्रताको वकालत गर्थे।
शिर निहुर्याएर बाँच्नुभन्दा त छाती फुलाएर तातो गोली खाएर मर्नुमा गौरव ठान्थे विवेक पनि। चेतन र रचना पनि सामाजिक दुर्गन्ध सफा गर्नुपर्छ भन्नेमै कटिबद्ध थिए । यी चारैजनाको सोचाइमा भिन्नता थिएन।
दशगजाको लडाइँमा अमर ढले। राणा शासकहरूले विवेकलाई फाँसी दिए। रचनाले हरेस खाँदै भनीन् - “चेतन! अब हामी अधिकारको युद्धमा लक्ष्य चुम्न सक्दैनौ होला।”
“पञ्चायती शासकको अत्याचार सहेर बाँच्नुभन्दा त मर्नु बेस हुन्छ रचना।” चेतनको मुखबाट प्रतिशोधको ज्वाला निस्क्यो। रचना पनि तातिईन्। गाउँगाउँमा पुगेर चेतनाको दियो बाले उनीहरूले। आन्दोलनको आँधी चलाए। अन्तिम युद्धमा शासकको श्रीपेच खोस्न पुगेका रचना र चेतन शाही सेनाको शिकार बन्न पुगे।
लडाई रोकिएन। तानाशाहले घुँडा टेक्यो। जनता रैतीबाट स्वतन्त्र नागरिक बने। उनीहरूले अमर,विवेक, रचना र चेतनलाई सम्झेर स्यालुट गरे। उनीहरूको विचारलाई कहिल्यै मर्न नदिने कसम खाएर अमर शहीद घोषणा गरे।
-०-
९ माघ,२०८०
बर्दिबास, महोत्तरी।
+++
२६. लघुकथा- सहिद ✍️गोपाल सङ्ग्रौला
झापा
"सहिद भनेको के हो आमा" राधाले जिज्ञासा् प्रकट गरी। "आफ्नो देश ,भाषा,संस्कृति र अस्तित्व को लागि बलिदान भएर लोक हितमा लाग्ने अमर व्यक्तिलाई सहिद भनिन्छ छोरी " आमाले सठिक जवाफ दिई। " मोटर साइकल चोरेर भाग्दैगर्द लडेर मरेको चतुरे गुण्डो कसरी सहिद भयो त आमा ?" राधाले परिप्रश्न राखी। " सत्यकुरा अर्कै छ छोरी!सबै कर्तुत तिमी पछि आफै बुझ्नेछौ।" "त्यस्तो कसरी हुन्छ ?उसले आफ्नो ढिपी छोडिन। आमा सम्झाउन थाली "यहाँ जुन पाटी को सरकार छ त्यो पार्टी को मान्छे जसरी मरेता पनि सहिद घोषित गरिन्छ ।बहुदलीय राज्य व्यस्थाको सबैभन्दा कुख्यात पक्ष चाहिँ पछ्पातिता हो।आज हजारौ मानिसहरू कन्ने बलले मात्र सहिदको तातीमा परेका छन।" उसो भए सच्चा सहिद चै को को हुन ?" राधाको प्रश्न भुइमा खस्न नपाउदै आमा बोली-"चार जना मात्र शुक्रराज,धर्मभक्त, दशरथचन्द ,र गङ्गालाल ।"आमाको जवाफ सुनेर राधाले लामो जिब्रो निकाली ।
+++
२७. लघुकथा (प्र)- सहिद ✍️बाँस्कोटा धनञ्जय
‘हामी यो सहरको सुन्दरतालाई अक्षुण राखेर यसलाई पर्यटकहरुको सहर बनाउन चाहन्छौं’, एउटा सानो कोणसभालाई सम्बोधन गर्दै सरकारी मन्त्रीले बाचा खाए, ‘यो सहरको ब्युटिफिकेसनका लागि भारतीय दुताबासले लगानी गर्दैछ ।’
उनी भन्दै गए, ‘त्यसका लागि सहरभित्रका अव्यवस्थित छाप्राहरु हटाइदै छ आजैबाट । यो चोकमा भएका अनावश्यक संरचनाहरु पनि हटाइने छ आजैबाट ।’
अपरान्ह तीन वटा डोजरहरु आए । एउटाले चोकका संरचनाहरु भत्काउन थाल्यो । त्यसमा एउटा शालिक पनि थियो ।
अरु दुईवटा डोजरले सहरका अन्यभागमा निर्माण भएका मापदण्ड विपरितका छाप्रा र टहराहरु भत्काउन थाले ।
त्यहाँका सबै टोलबासीहरु रुवाबासी गर्न थाले । तर डोजरले तिनका आँसु बुभ्mने कुरा पनि थिएन ।
यतिकैमा शिबशंकर आइपुगे घटनास्थलमा । उनी त्यस ठाउँका एक सचेत युवा, अनि पेशाले शिक्षक थिए । उनले तुरुन्तै नगरका नगरप्रमूखलाई फोन गरेर घटनास्थलमा बोलाए ।
‘मेयर साव, के हो यो सब ? यही रत्ने सहिद भएर तपैंहरुले सत्ता र शक्ति आर्जन गर्नुभो । राज्य कब्जा गर्न सफल हुनुभो । अनि आज उसैको शालिक तोडेर, इतिहास मेटेर कुन बाटोमा हिंडिरहनुभको छ तपैहरु ? शालिक त तोड्नु भो भो, उसका श्रीमती र दुईवटा नानीहरु बसेको टहरो समेत भत्काइदिनु भो । आज रत्ननका श्रीमती र छोरीहरु घर न घाटका भएका छन् । धिक्कार छ तपैहरुलाई ! अनि तपैहरुजस्तालाई भोट हाल्ने हामीहरुलाई !’
नगरप्रमूखको त्यो भत्काउने अभियान रोक्ने आदेश आउँदै थियो, तर अघिनै त्यो बस्ती उत्तानो परेको कंकाल करङ्ग जिङ्गरिङ्ग पल्टिसकेको थियो ।
‘मर्ने चाहिं ढुंगा, बालुवा, सिमेन्ट र गिटीको शालिक भएर पनि धूलो भयो । अनि
मराउने चाहिं देशको अधिपति र मालिक भयो । हैट बिडम्बना!’, शिवशंकर भुतभुताउँदै थिए ।
दमक, झापा
+++
२८. लघुकथा (प्र)- कराही, कसौँडी र कुर्सी ✍️प्रेम घिमिरे 'अग्निकवच’
आफू हेपिएको अनुभूति हुँदा जसको पनि मन कुँडिन्छ। ‘काम परून्जेल भाँडो काम सकिएपछि ठाँडो’ भने जसरी कुनामा घोप्ट्याइएका कराही र कसौँडी पनि मूल्यहीन बन्नुपरेको बिलौना गर्दै थिए।
कराहीले भन्यो- “ ढिँडो ओडाल्न,तरकारी पकाउन,दुध तताउन म नभै हुँदैनथ्यो। पहिले-पहिले त मलाई घोटीघोटी मस्काएर सफा पारेर प्रयोग गर्थे। हिजो आज त वास्तै गर्दैनन् बा!”
कसौँडीले भनी- “ हो त दाई! मलाई त झन् घरमुलीले खाने मिठो-मसिनो चामलको परिकारहरू, दाल, खिचडी पकाउन प्रयोग गर्थे। पिताम्बरीले मस्काएर पहेँली बनाएर चौकोमा सजाउँथे। हिजो-आज त यही कुनामा घोप्ट्याएर राखेको दशकौं बितिसक्यो। वर्षमा एकदिन सुम्सुम्याउन आउँछन् बस त्यति हो।”
“ हेर बहिनी! अझै हामी चुपचाप सहेर बस्ने हो भने त एकदिन पत्रु बनाउलान् जस्तो छ। त्यसैले अब सहेर नबसौँ ” भन्दै कराही कसियो। कसौँडीले पनि सहमति जनाई। दुबै अधिकार खोज्न कुर्सी कहाँ गए।
सबै कुरा सुनिसकेपछि कुर्सी मुस्कुराउदै बोल्यो - “ हिजो पिर्का र गुन्द्रीमा बस्नेहरू आज सोफा र घुम्ने कुर्सीमा बस्छन्। ढिँडो र गुन्द्रुक खानेहरू भुजा ज्युनार गर्छन्। हिजो तिमीहरूसँग मिलेर सिंहासनको बिरोध गर्नेहरू आज त्यही सिंहासनमा विराजमान भएकाछन्। मैले गुन्द्री र पिर्कालाई शहीद बनाएँ। कुकर र फ्राइप्यानहरूले पनि तिमीहरूलाई शहीद बनाए।”
कुर्सीको कुरा सुनिसकेपछि कराही र कसौँडीको घैँटोमा घाम लाग्यो। आफूलाई वर्षमा एकदिन सुम्सुम्याउन आउनुको कारण थाहा पाएपछि आ-आफ्नो कुनामा गएर शहीद दिवस पर्खँदै बस्न थाले।
-0-
८ माघ,२०८०
बर्दिबास, महोत्तरी।
+++
२९. लघुकथा (प्र)- ताली र टिकट ✍️नारायण कोइराला
विवाद मिलाउन पुर्ण अधिकार भएको समितिमा मलाई अध्यक्ष बनाइयो। मृत्यु हुनेहरु दुबै मेरा गाउँले। दुबै आन्दोलनकारी।मलाई अप्ठारो पर्यो। एउटालाई सहिद बनाउन सिफारिस गर्दा पार्टी रिसाउने। अर्कोलाई सहिद बनाउन सिफारिस गर्दा कृषक।
कृषकको कुरा नमानौं चुनाव नजिक छ। पार्टीको कुरा नसुनौँ।टिकट नपाएँ कृषकको मतदानले चुनाव कसरी जित्ने?इतिहास पल्टाएर हेरेँ।सालिक धेरै जसो आन्दोलनमा गोली लागेर मृत्यु हुनेहरुको रहेछ।आन्दोलन दुइटैले गरेका थिए। गोली पनि दुईटैलाई लागेको थियो।पार्टी र कृषकहरुको दबाबमा थिएँ।
समितिको निर्णय अनुसार,मैंले सिफारिस पढेर सुनाएँ।किसान आन्दोलनमा मृत्युहुनेको सालिक बन्नेछ। राजनीतिक आन्दोलनमा मृत्युहुनेलाई सहिदको दर्जा दिइने छ। गाउँलेले मलाई ताली दिए ।पार्टीले टिकट।
- नारायण कोइराला
तानसेन,पाल्पा
+++
३०. लघुकथा (प्र)- शहीद ✍️पदमप्रसाद दाहाल
(शिवसताक्षी ११ दुधे , झापा )
" ए साँल्दाइ ! सुन्नुभयो ? "
" मैले केही सुनेको छैन । राम्रो कुरा हो कि खराब ? " साँल्दाइले प्रतिप्रश्न गरे । " ल ! त्यो हामीसँग पढ्दाको साथी नरेश नि ! "
" के त खुलस्त पार न ! " साँल्दाइ हतारिए । "अँ ! शहीद दिवसको कार्यक्रम मनाउन जाँदै गर्दा बाटैमा गाडी दुर्घटनामा परेर सकिएछ । " " ला ! अनि ?"
" त्यसपछि त सारा गाउँलेहरू मिलेर आन्दोलन गरे । शहीदको कार्यक्रममा गएको मान्छेलाई सरकारले शहीद घोषणा गर्नैपर्छ नत्र यो बाटो खुल्न दिँदैनौं भनी सबै गाडी जाम गराए । सारा मानिसको जीवन सकसमा पर्यो ।सरकारले वाध्य भएर नरेशलाई शहीद घोषणा गर्यो । परिवारलाई दस लाख थमायो । " तर !!"
"तर के ?" साँल्दाइले चकित भएर सोधे । हर्कले लामो सुस्केरा फाल्दै भने,-" तर त्यो शहीद घोषणा गरिएको नरेशले स्वर्गको शहीद घरमा ठाउँ पाएनछ । उसको हंसले प्रत्येक आन्दोलनकारी र सरकारको कानमा भन्यो रे ! " स्वर्गमा शहीद हरूले हाम्रो अपमान गर्न आएको भनी खेदाए । मेरो आत्मा भड्किरहेको छ । हे ! मूर्ख सरकार ! दुर्घटनामा परेका , लुटपाटमा मारिएका जस्ता व्यक्तिलाई शहीद घोषणा नगर । शहीद हुनलाई त देश र जनताको भलाइका लागि काम गर्दै गर्दा मारिएका व्यक्ति पो हुनुपर्छ त ! "
२०८०/१०/८
+++
३१. लघुकथा- हाेडबाजी ✍️नन्दलाल आचार्य
पार्टी जुट्दा पेट अनेक भए पनि घाँटी एक थियोे उनीहरूकाे ।
अधिकारवादी आन्दोलनकाे दाैडानमा तीमध्ये कुमारकाे प्रहरी झडपमा मृत्यु भयो ।
पार्टीले भन्यो; "कुमारलाई अविलम्ब सहिद घाेषणा गरी परिवारलाई भरणपोषण दिला सरकार !"
माग पूरा भएको वर्ष दिन नपुग्दै पार्टी दुई चिरा भयाे र पानी बाराबारकाे अवस्था आयो ।
आफ्नो नहुने भएपछि सहिद फिर्ताको आन्दोलनमा दुबै पार्टीको हाेडबाजी सुरु भयो
+++
३२. लघुकथा (प्र)- स्मृति ✍️नानि भारद्वज
मोबाइलमा निकैबेर घण्टी बजेपछि फोन उठाएँ र सम्वाद यसरी भयो,
"हेलो !"
" हेलो, मलाई चिन्नु भो ?"
" चिनिन त मैले !"
" म क्या ,तपाईं सानो छँदा तपाईंको घरमा बुवालाई भेट्न आइरहन्थें नि !"
" ए , कमरेड पो बोल्नु भाको हो ?"
" हो त !"
" हजुर त अहिले मन्त्री पो हुनुभाछ रे हो !"
"हो !"
" ए बधाई दिन पनि मेलो पाइन, ढिलै भएपनि बधाई छ हजुरलाई।"
"धन्यवाद बाबू , तपाईंको बुवा क्रान्तिकारी विचार र ब्यवहारको अति नै धनी हुनुहुन्थ्यो ।"
" म त सानै थिएँ अलिक मेसो पाउँदिन हजुरलाई नै थाह होला, कति कामले पो फोन गर्नु भो ?"
" तपाईं भोलि यहाँ आउनुपर्यो ।"
" किन होला हजुर ?"
" हामीले शहीद परिवार सम्मान कार्यक्रमको आयोजना गरेका छौं।"
" आउन त गाह्राे छ हजुर !"
" जसरी पनि आउनु न ल !"
" भोलि नै आउन त असम्भव छ हजुर !"
" म मेरो गाडी पठाइदिन्छु आउनस् न ! "
" माफ गर्नुहोला हजुर, म यहाँ खाडीमा जान विमानस्थलको लाममा बसेको छु।"
बुधबार ३ माघ २०८०
विराटनगर , मोरङ्ग।
+++
३३. लघुकथा (प्र)- नक्कली सहिद ✍️शुक्रराज कुँवर
सहिद गेटमा झोक्राएर बसिरहेका चार सहिदहरुलाई सिरानमा रहेका राजा त्रिभुवनले भने - " के भयो तिमीहरुलाई ? आज सहिद दिवस, सहिद सप्ताह मनाइरहेका छन् । तिमीहरु भने घोसे मुन्टो लाएर बसिरहेका छौ ।"
सहिद मध्ये एकले भने - " हाम्रो नूर गिरेको छ महाराज । हाम्रो अवमूल्यन भयो । एकपटक टुँडिखेल तिर नजर होस् ।"
टुँडिखेलमा लहरै लाशहरु राखिएका थिए । एउटा अमुक पार्टीको राजनीतिक स्वार्थमा भएको कथित आन्दोलनमा उनीहरु सरकारी पक्षबाट मारिएका थिए । अमुक पार्टिले उनीहरुलाई सहिद घोषणा गर्न सदन र सडक दुबै तताइरहेका थिए ।
टुँडिखेलमा राखिएका लाशहरु मध्ये एउटा लाशले अर्को लाशलाई भन्यो - "ओइ ? सुन् त ! हामीहरुलाई सहिद घोषणा गरे ?"
दोस्रो लाशले भन्यो - " घोषणा त भइहालेको छैन तर घोषणा हुने पक्कापक्की छ ।"
" अनि ? हाम्रो परिवारलाई दस लाख दिने भए त ? " पहिलो लाश झनै उत्सुक भयो ।
" त्यसको लागि पनि नेताहरुले ' बार्गेनिङ ' गरिराछन् ।" दोस्रो लाशले आश्वस्त पार्दै भन्यो ।
उनीहरुको वार्तालाप सुनिरहेको तेस्रो लाशले भन्यो -
" दस लाख नदिने भए 'सहिद' घोषणा नगरे पनि हुन्छ । भनिदिनु नेताहरुलाई ।"
२०८०/१०/०५
बलभद्र पथ धरान १०
+++
३४. लघुकथा (प्र)- सहिद एकता ✍️रामप्रसाद पन्थी
स्वर्गमा नेपाली सहिदहरूकाे गाेष्ठी चलेकाे थियाे । गाेष्ठीकाे अध्यक्षता प्रथम सहिद लखन थापाले गरेका थिए । उक्त गाेष्ठीमा सहिद यज्ञबहादुर थापाले कार्यपत्र प्रस्तुत गरे -" अध्यक्ष महाेदय ! सहिदहरूकाे परिभाषा गर्नु चुनाैतिकाे विषय हाे । अनुसन्धान गर्दै जादा मैले दुई किसिमका सहिदहरू फेला पारें ती हुन -
१. आफू मर्छु भन्ने थाहा पाएरै देश र जनताका लागि जीवन बलिदान दिने ।
२. मर्छु भन्ने नलागी आन्दोलनमा लागेका तर अरूकाे लहलहैमा लागि आवेग वा उत्तेजनाबाट प्रेरित भई जीवन गुमाएका ।
यसबीचमा सहिद भीमदत्तले आफ्नाे विचार व्यक्त गरे - विशेष गरी नेपाल एकीकरण , अंग्रेजसँगकाे युद्द , निरङ्कुश राणाकाल ,प्रजातान्त्रिक आन्दाेलन हुँदै गणतन्त्रको लागि जीवन उत्सर्ग गर्नेहरू मुख्य रूपमा सहिद हुन् भन्ने मेरो बुझाइ हाे । "
दुर्गानन्द झालेले थपे - सहिद भीमदत्तले भन्नुभएकाे कुरा बिलकुल ठीक हाे । सरकारले जथाभावी सहिद घाेषणा गर्दा वास्तविक सहिदहरूकाे इतिहास नै ओझेल परिसक्याे ।"
पण्डित नारायण पाेखरेल जुरूक्क आसनबाट उठ्दै भने - साथीहरूले ठीक भन्नुभयाे । मेरै कुरा गर्नुपर्दा धार्मिक प्रवचन गरिरहेकाे बेला मलाई अज्ञात समूहले गाेली ठाेक्याे । पछि मलाई धार्मिक सहिद घाेषणा गरिएछ । मलाई याे पदवी भारी भइरहेकाे छ । "
टंक प्रसाद आचार्यलाई पनि अघिदेखि खसखस लागिरहेकाे थियाे । उनले भने - अध्यक्ष महाेदय ! मलाई पनि जिउँदै सहिद भन्ने गरिन्छ । यहाँहरूलाई थाहै छ । म त धर्मराज, शुक्रराज, दशरथचन्द र गंगालालजी सँगै मर्न चाहन्थें । तर मेराे भाग्यमा त्याे अवसर लेखेकाे रहेनछ ।आज सहिदलाई कित्ता कित्तामा विभाजन गरेकाे देख्दा चित्त दुःखेर आउँछ । "
सहिद रत्नकुमार बान्तबाले हात उठाउँदै आफ्ना कुरा राख्ने अनुमति मागे । उनले भने - " अरूले झुण्डाएका , आफै झुन्डिएका , ढुङ्गाले थिचेका , गाडीले मिचेका , गाेली लागेका र खाेलामा हाम फालेका सबै कसरी सहिद हुन सक्छन् ? "
अर्का एकजना सहिदले असहमति प्रकट गर्दै भने - " काे कसरी सहिद भयाे ? मुख्य विषय हाेइन । सरकारले घाेषणा गरेपछि सबै सहिद हुन् । सहिदहरूमाथि भेदभाव गर्न पाइदैन । भयाे भने यहाँ विद्राेह हुन्छ । "
कार्यक्रमकाे समापनमा गाेष्ठीकाे अध्यक्षता गरिरहेका लखन थापाले भने -" सबै साथीहरूका कुरा सुनियाे । उठेका विषयहरूका सम्बन्धमा गहिराे अनुसन्धानकाे आवश्यकता देखियाे । अहिले सहिद दिवसलाई भव्य रूपमा सफल पाराैं । यति भन्दै आजकाे गाेष्ठी यहीँ अन्त्य भएकाे घाेषणा गर्दछु । सहिद एकता जिन्दावाद । धन्यवाद ।"
२०८० । १०।०६
रेसुङ्गा नगरपालिका २, गुल्मी
+++
३५. लघुकथा- सहिदको परिभाषा ✍️लक्ष्मण ज्ञवाली
"ऐया बाबै मरे नि ! बचाउ !गुहार !गुहार !"
छिमेकी सितारामको घरमा एकाविहानैको कोकोहोलो सुनेर दिनदयाल "हस्याङफस्याङ गर्दै उसको घर पुगे ।"
"धटनास्थल तनाव ग्रस्त थियो ।"
"सितारामले घरमा श्रीमती छोराछोरी हुँदाहुँदै पल्लो गाँउबाट एउटी चरित्रहीन महिलालाई कान्छी श्रीमती बनाएर ल्याएको कुरा मुख्य जड रहेछ ।"
"भनाभन, वाद विवाद, धक्कम् धक्का हुँदाहुँदै जेठी श्रीमतीको चिर्पटको पिटाईबाट कान्छीको इहलिला सकिएछ । "
"हावासरी फैलिएको सूचनाको प्रभावले मानिसको अत्याधिक भीड लागिसकेको थियो ।" भीडबाट नाराबाजी सुरु भयो, ।"हत्यारालाई फाँसी दे ।"
"महिला हिंसा बन्द गर ।"
"अशान्त वातावरणलाई शान्त बनाउन सकिन्छ कि भन्ने ध्येयले दिनदयाल अलि अग्लो ढिस्कोमा उभिएर शान्त रहनुस् ,शान्त रहनुस् भन्दै गुहार लगाए ।"
"भीडबाट ठूलो आवाजमा को हो यो शान्त बस भन्ने, उसको टाउको पुटाल् भन्दै हुटिङ्ग भयो ।"
दिनदयाल लुसुक्क छेंउ लागे ।
"ठूलो भीडका कारण अझ ठूला घटना हुने आशंका फैलियो ।" पुलिस प्रशासन तैनाथ भए।
"त्यस गाँउ वरीपरीका सबै पाटीका मान्छेहरू जम्मा भए। भीड अनियन्त्रित भयो ।पटक पटक झडपहरू भइरहे । ढुङ्गा हानाहान भयो । दुबै तर्फका मानिस र पुलिसहरू पनि धाईते भए ।"
आत्मरक्षाकालागि भन्दै "सुरक्षाकर्मीले गोली चलायो ।"
एकजना सोझो किसानको ज्यान गयो । "यसरी फरक फरक ढङ्गले घटना घट्यो र दुईजनाको ज्यान गयो । "
भिडमा मृतकका पक्षबाट नारा घन्कियो ।
"मृतकका परिवारलाई क्षतिपूर्ति दे ।"
"मृतकलाई सहिद घोषणा गर।"
"हाम्रा माग पुरा गर । "
दिउसो देखि राति अवेरसम्म यो क्रम जारी रह्यो ।
रात छिप्पिदै गएपछि "प्रहरी,प्रशासन ,स्थानीय स्तरका नेताहरू पिडित पक्षको रोहवरमा सहमतिको मस्यौदा सुनाइयो ।"
"तल उल्लेखित बुँदा बमोजिमको सहमति पत्रमा सबै पक्षबाट हस्ताक्षर सम्पन्न गराइयो।"
१, मृतकका परिवारलाई जनही दशलाख दिने
२ अपराधिलाई कारवाही गर्ने
३ मृतकहरूलाई सहिद घोषणा गर्ने ।
"दिनभर घटनाक्रमलाई नजिकबाट नियाली रहेका, सहिदको पाठ घोकाएर सेवा निवृत अनुभवि शिक्षक दिनदयाल,आजको "सहिदको परिभाषा "सुनेर हठात मूर्छित भएर डङ्लङ्ग ढले ।
समाप्त
तिलोत्तमा १
शंकरनगर
रूपन्देही ।
२०८०/१०/४
+++
३६. लघुकथा (प्र)- अदृश्य सहिद ✍️सोम कुमार सुब्बा
केहीदिनदेखि मुसलधारे पानी परिरहेथ्यो।आकाशमा भयानक गर्जनको साथ बिजुली चम्क्यो।टयाङ्ग चट्याङ पड्क्यो।हिमालको फेदीमा रहेको पोखरी पट्ट फुटे।पानीको भेल मान्द्रो बेरिए झैं लपेटिएर तराईतिर बग्न थाले।त्यसताका रातको साढे बारह्र बजेको थियो।
ट्ँवा,,, गरेर विद्युत कम्पनीको आपतकालिक साइरन बज्यो।रातको कर्तव्यमा खटिएको सुरक्षाकर्मी पासाङ जुरुक्क उठे।उनले छेवैमा सुतेको साथी निमालाइ उठाए।उनीहरु हत्तपत्त टर्चलाइट बालेर बाँधतर्फ दौडे।पानीको सतहले खतरनाक स्तर नाँघ्दै थियो।दुवै आत्तिए।
पासाङले हतारसाथ भने -
"लु,झट्ट बाँधको दूार खोल्नुपर्छ,नत्र सखाप हुन्छ!"
"होइन,यो बाँध कुनै क्षणपनि भत्कनु सक्छ, लौ भागौं,छिटो!"निमाले सल्लाह राखे।
"हुन्न!हामीले कुनै पनि हालले,गाउँबजार बचाँउनुपर्छ,यो हाम्रो ड्युटी हो!"भन्दै पासाङ दूारतर्फ बड्यो।निमाले सुइँकुच्चा ठोके।
केहीक्षणमा पानी खतरनाक स्तरबाट तल झरे।
बिहान भयो।गाउँलेहरु भेला भए।उनीहरुले बाँधको दूार खुल्ला देखें र निमाको प्रशंसा गरे।क्षणभरमैं उनी समाजिक सञ्जालमा छाए।सरकारले पुरस्कार दिने घोषणा गरे। तर असली सहिद पासाङको अत्तोपत्तो थिएन।
लिङ्दोक,पूर्व सिक्किम
२०८० माघ ६
+++
३७. लघुकथा (प्र)- शहीद बस्ती ✍️उमानाथ दाहाल
- शिवसताक्षी ११ दूधे, झापा
"राम ! राम !! ए मीरा सुनन " एकाएक उठेर आँखा मिच्दै पर्शुराम श्रीमतीसंग बर्बराउन थाले " कस्तो सपना देखें ! मलाई सपनामा ४ जनाले घेरेर आफ्नो दुखेसो सुन्न वाध्य बनाए ।"
" को हुन् ? के दुखेसो गरे ?"
" भन्दै थिए हामी सत्तरी बर्षदेखि यतै बसिरहेका छौँ । शुरुको तीतो पछिको मिठो भनेझैँ पछिल्ला दिनमा मिठै जिन्दगी बिताउँदै थियौँ । सन्तानले राम्रै माया गर्दै थिए । टाढा भएकाले सम्झने गर्थे । गाउँ शान्त, सभ्य र भद्र थियो । समय समयमा गलामा फूलमाला पर्दै गर्थे "।
" अनि को रहेछन् त ती ? अरू के के भने ? "
"सुनन अहिले उनीहरूको गाउँ पुरै दुषित भयो अरे ।भीड बढ्यो अरे ।म गाडीमा ठोकिएको, म झगडामा परेको, म प्रहरी आक्रमणमा परेको, मलाई गुन्डाले प्रहार गरेको, मलाई नेताले उक्साएर प्रहार गराइएको, म बैंक लुट्दा परेको भन्दै लस्कर का लस्कर आएर हाम्रा गाउँमा धमाधम घर बनाएर बस्न थाले पछि हामी पुरानाको अस्तित्व नै खतरामा पर्यो । मान सम्मान धेरै घट्यो ... भन्दा भन्दै उनीहरूको आवाज थर्थरायो " ।
" हन को हुन् त उनीहरू? यत्रो कुरा हुँदा परिचय पाउनु भएन ? "
" पाएँ नि , मैंले परिचय माग्दा उनीहरूले एकएक गरेर भने -
"म गंगालाल श्रेष्ठ, म धर्मभक्त माथेमा, म शुक्रराज शास्त्री, म दशरथ चन्द ।"
+++
३८. लघुकथा --माघ तेह्र ✍️बिष्णु उप्रेती
एका बिहानै ,, छाेरीले मेरा छेउमा अाएर भनिन् --" बाबा हामीलाई हिजाे स्कुलमा सरले , हाम्रो देशमा माँघ तेह्र गतेकाे महत्व के छ ,सबैले खाेजी गरेर ,बुझेर भाेली अाउनु भन्नू भएकाे छ। मलाई यस बारेमा बताई दिनु न है !"
"राम्रो कुरा खाेजी गर्न लगाएछन् तिम्रा सरले ।यसरी खाेजी कार्यले , बिद्यार्थीहरुमा उत्साह र जाँगर थपिन्छ। ल ध्यान लाएर सुन।" मैले भन्न थाले --" बि सं १९९७ सालमा अथवा अाजभन्दा ८३ बर्ष अगाडि माँघ तेह्र गतेका दिन, काठमाडौकाे सिफलमा एउटा बकाईनाेकाे रुखमा - धर्मभक्त माथेमा -भन्ने मानिसलाई तेतिबेलाकाे सरकारले झुन्डाएर मारेका थिए।"
" अनि बाबा"? उनलाई किन तेसरी मारेकाे त?
"उनले देश र जनताकाे मुक्तिका लागि सरकार संग बिद्रोह गरेका
थिए।"
एक छिन साेचेर छाेरीले भनिन् -- अनि तेति बेला पनि मान्छे मारेर पैसा दिने चलन थियाे बाबा? उनमा परिवारलाई पनि दस लाख नै दिएकी ,अलि थाेरै दिए बाबा?"
छाेरीकाे कुराले मेराे दिमाग तात्याे। झापड हान्न मन लाग्यो । फेरि साेचें -- हामीले , हाम्रो समाजले अचेल दिएकाे शिक्षा, संस्कार नै यस्तै छ। यसमा यिनकाे के दाेष छ र।
२०८०/१०/१४
बिर्तामोड झापा।
+++
३९. लघुकथा (प्र)- गर्व ✍️रमेशचन्द्र घिमिरे
'मकै पिन्दा घुन पिसिए जस्ता भयौँ हामी । सत्तापक्षको कुटाइ खाने हामी, विद्रोहीबाट सास्ती झेल्ने पनि हामी ! आखिर हामीले के पायौँ ?'
भिआईपी गाडीमा सवार नेतालाई गाउँलेले घेरे । उनले सजिलै उत्तर दिए -'आन्दोलनमा यस्तै हो । इतिहासको एउटा कालखण्डमा मैले पनि केही योगदान गरेँ भन्ठान्नुस् र गर्व गर्नुस् ।'
गाडीको ढोका ढ्याम्म लाग्यो । उनी सरर्र अगाडि बढे, त्यहाँबाट ।
घाइतेहरूले रोके -'आन्दोलनमा हामी घाइते भयौँ । हिजो बुर्जुवा शिक्षा भनेर पढिएन । आन्दोलन छोडेर भाग्नेहरूले अहिले त्यही शिक्षा पढेर ऐश-आरामको जिन्दगी बिताइरहेछन् । हामी मात्रै अलपत्रमा परियो ।'
उनले रेडिमेड उत्तर दिए -'आन्दोलनमा आफ्नो योगदानको स्मरण गर्नुहोस् र आफूलाई इतिहासको महत्त्वपूर्ण क्षणमा गरेको त्याग सम्झिएर गर्व गर्नुस् ।' गाडीको ढोका ढ्याम्म लगाएर उनी फेरि अगाडि बढे ।
सहिद परिवारले छेके -'तपाईंहरूको मस्तीका लागि हाम्रा भाइछोराहरू अकालमा मर्नुपर्यो । आखिर यही दिन देख्नका लागि हो हाम्रो परिवारको बलिदानी ?'
ढोका नखोली झ्यालको सिसा सरर्र झारे र उनी बोले -' वास्तवमा तपाईंहरू सबैभन्दा भाग्यमानी मान्छे हो । सहिद हुनु र सहिद परिवारको सदस्य हुनुभन्दा ठुलो उपलब्धि केही हुनै सक्दैन । आफ्नो भाग्य सम्झिएर गर्व गर्नुस् ।'
सहिद प्रतिष्ठानको चिल्लो गाडीबाट झर्दै नझरी हतार हतार झ्यालको सिसा माथि सार्दै नेताजी हुइँकिए, बिचमा कतै रोकिएनन् ।
------------------------------
२०८०/१०/१४
भोर्लेटार, लमजुङ
+++
४०. लघुकथा (प्र.)- सहिद दिवस ✍️गौरी न्यौपाने
एकै साथ छाेरा -बुहारी गुमाएकाे पीडा त छदैछ, दुधे नातीकाे रुवाइले मुटु छिया छिया हुन्थ्याे,पण्डित बा र पण्डित्नी आमैकाे।
हुर्केका छाेरा छाेरी गुमाएर बुढेस् कालमा काख रित्ताे हुदा जीवनकाे अवकस खाेजीरहेका बेलामा नातिकाे दूध चुस्ने इच्छालाइ आफ्नाे ७०वर्षकाे ओइलाएकाे छाती चुसाएर पूरा गर्दिन्थिन,पण्डितनी आमै।
छाेरा बुहारी एकै साथ गाेली लागेर डग्लङ्ग ढलेकाे बखत सहिद भए ,भन्दा मातृवात्सल्य छताछुल्ल भएकाे थियाे।
यस्तै सहिदकाे नाम बेचेर नाम,पद र धनले सम्पन्न भएर चिल्ला गाडी चढ्नेहरु प्रति घृणाले सीमा नाघ्थ्याे। परन्तु जीवन र मरि सकेका आशा नातिकाे चिच्याइले उदाङ्गाे पारि दिन्थ्याे।
त्यही नातिकाे मुख हेरेर भगवानले आयु थपेछन् । नब्बे वर्ष हुदासम्म पनि थलिएर पिडी कुर्न परेकाे छैन। सहिद परिवार ,याे ,त्याे अनि राेजगार आदि आदि वुढी आमामा कसैकाे भराेसा मिलेन।
त्याे टुहुराे २० वर्ष भयाे। वृध्द भगवानकाे रुप आमैलाइ छाडेर विदेशियाे । फेरि सुरु भयाे जीवन अवकसकाे तिब्रता, भराेसा र आशाकाे त्यन्द्राे टुटाएर।
माघ स्रेार रहेछ, नजिकैकाे चौताराेमा सहिद देशका सपुत ,देश भक्त भन्दै चर्काे स्वर वजिरहेकाे थियाे," सहिद सन्तानकाे लागि याे, त्या अनि राेजगारकाे व्यवस्था गरिनेछ। " आदि आदि।
मुजा परेकाे आमैकाे गालामा ढिक्का बनेर खसेकाे आँसु बिस्तारै छातीसम्म पुगेर विलायाे।
+++
४१. लघुकथा (प्र.)- बलिदानी ✍️टीकाराम जाेशी
"राज ! ए राज! "मसिनाे स्वरमा कसैले बाहिरबाट बाेलाएकाे सुनियाे। राजकाे आमाले झ्यालकाे खापबाट बाहिर चियाइन्। उन्ले अँध्यारोमा कसैलाई देखिनन्। बुटकाे आवाज भने उन्ले चिनी सकेकी थिईन्। सरकारकाे विराेध गर्नेहरुलाई प्रहरीले समातेर मार्छ भनेर उन्ले सुनेकी थिइन्।
"छाेरा! घर छैन भन्दिन्छु।तेसै पनि आज तिम्रो अनुहार मलिन देखिरहेकिछु। गए राति मैले सपना पनि कस्ताे नराम्रो देखेकि थिएँ। भाे ,आज नजाऊ बाहिर । "आमाले राेक्न खाेजिन्।
" कति सहनु अन्याय । कति खेप्नु दुख कष्ट। त्याे पनि सीमित मानिसहरुका लागि जसले हामीलाई दास ठान्दछन्। हाम्रो लडाइँ प्रजातन्त्रको लागि हाे,आमा।आज म लुकेर भागे भने कायर ठहरिनेछु।
आमा ! म त परिवारकाे सिर गर्वले ठाडाे भएकाे देख्न चाहन्छु न कि झुकेकाे । "राजले भन्याे।
"भाे!म केही जान्दिन। परानी रहे दुख कष्ट गरेर भएपनि दुई गास खाऔँला।"आमाले छाेराकाे हात समात्दै भनिन्।
ढाेकाकाे पछाडि लुकेर आमा छाेराकाे वार्तालाप सुनिरहेकि गाेमाकाे आँखाबाट बरबर आँसु झर्दै थिए। उन्ले काखकाे दुधे बालककाे टाउकाे सुम्सुम्याउदै आफ्नाे ससुराकाे अनुहारमा हेरिन्।
हजुरले भने मान्थे कि ? बाले भनेकाे कुरा उहाँले कहिल्यै तल पर्न दिनुहुन्न। यसपटक त छाेरालाई नजाउ भने हुन्थ्यो। उन्ले मनमनै साेचिन् तर भनिनन् । उन्लाई थाहा थियो ससुराबाले कहिल्यै राेक्ने छैनन् भनेर ।उनि मन दरिलाे बनाउँदै राज छेउ गइन्।
राजले बाबुलाई म्वाईं खाए । म्वाईं खानेबेला आफ्नाे जिउमा राजकाे गालाले हठात् हल्का स्पर्ष गरेकाे गाेमाले महसुस गरिन्।
"आफ्नाे ख्याल गर्नु। " उन्ले आँखा जुधाउँदै भनिन्।।
"म फर्कि आएन भने .." अगाडि राजले बाेल्न चाहेनन् उनि आमातिर फुरुक्क फर्के।
"आमा! मलाई आशिर्वाद दिनुस्। आज हजुरकाे छाेराकाे बलिदानले भाेलि देशभरिका आमाहरुले सुखका दिन देख्न पाउनेछन्। "
उन्ले आफ्नाे पाउमा परेकाे राजकाे सिरमा हात राखिन्।बाले राजकाे काननजिक मुख लगे।राजले टाउकाे हल्लाए। जेभएपनि गाेप्यता भङ्ग नगर्ने कुराकाे शपथमा ।
अब ऊ एक्लै थिएन।उस्काे बलिदानीमा परिवारकाे पनि बलिदानकाे शक्ति सञ्चित भएकाे थियो ।
आमाकाे मुखबाट कुनै आवाज निस्केन। तर उनकाे अन्तर्आत्माबाट आवाज आउँदै थियो।
तिम्राे पैतालामा काँडा पनि नबिजाेस् !
इमाडोल
++++
४२. लघुकथाः सहिद ✍️कल्याण पन्त
मुलुकको लागि बलिदानी गर्नेका बारेमा सबै प्रतियोगीले प्रशस्ती गाउनसम्म गाए । अन्तमा प्रथम, द्वितीय र तृतीय घोषणा गर्दै वादविवाद प्रतियोगिता टुङग्याइयो । घन्टी बजेपछि तल्ला कक्षाका विद्यार्थीहरु हुर्र घरतिर लागे ।
“मम्मी ! मम्मी ! सहिद भनेको ठुलो मान्छे हो अरे ।” स्कुलबाट आउने बित्तिकै छोराले भन्यो,
“ए ! हो र बाबु... !”
“गणतन्त्र उनीहरुले नै ल्याएका रे... ।”
अझ उसले लाडिदैं भन्यो, “सहिदका परिवारलाई त स्वास्थ्य, शिक्षा जे पनि फ्रि हुन्छ रे ।”
सत्र वर्ष अघि चुरा फुटालेकी मम्मीले मुख फालेर बोलिन्, “ह्या ! बढ्र्ता नभो, थाह पाइसकें !”
+++
४३. लघुकथा (प्र.)- शहिद ✍️कमला भट्टराई
लौ न आमालाई के भयो !? आठ वर्षसम्म वेपत्ता भएको छोरो आउँदा खुशीले गद्गद् हुनुपर्नेमा मलाई देख्नेसाथ आमा त बेहोस भएर लड्नु पो भयो । बुबा लौन एम्बुलेन्स बोलाउनु पर्यो ।
बुबा ग्लासमा पानी ल्याएर आमालाई छम्किदै छोराको मुखमा हेर्दै भन्छन्– “कस्तो सपना जस्तो भयो बाबु, यतिका वर्षसम्म कहाँ गएका थियौं तिमी ! ?”मलाई कसैले बन्धी बनाएको थियो बुबा, धन्न कसो–कसो फुत्केर आए ।” बुबाको प्रश्नको जवाफ दिँदादिदै भित्तामा अड्याएर राखिएको आफ्नै तस्विरमा माला लगाएको देख्छ र आश्चर्यपूर्वक सोेध्छ– “बुबा यो फोटो त मेरो होइन र ! !” “हो बाबु । हामी भ्रममा परेछौं ।” कस्तो भ्रम बुबा ? आठ वर्षपहिले त्यो माइलोले ‘तपाइँको छोराको पारिगाउँको फिर्के डनको ग्याङ्गसँग फाइट परेको थियो । डनले तपाइँको छोरालाई गोली हानेर भेलमा बगाइदियो ।’ भन्दै आयो । त्यसपछि हामीले तिमीलाई कहाँ कहाँ खोजेनौं । प्रहरीमा रिपोर्ट पनि लेखायौं तर, तिम्रो कहि पत्तो लागेन । त्यतिमात्र कहाँ हो र ! तिमलाई शहिद घोषणा गर्नुपर्छ, क्षतिपूर्ति दिनुपर्छ भन्ने माग राख्दै त्यो माइलाले गाउँका युवाहरुलाई उचालेर आन्दोलन पनि गर्न लगाएको थियो ।
बुबाको कुरा सुनेपछि सोध्छ– ए ! ! अनि त्यो माइलो कहाँ छ त आजकल ? त्यसलाई अब के गर्नुपर्छ मलाई थाहा छ.....!!
सूर्यविनायक– ५, चुनदेवी (भक्तपुर)
२०८०|१०|१४
+++
४४. लघुकथा- सहीद ✍️सुरेशकुमार पाण्डे
"देश र जनताको लागी हामिले के-के गुमाएनौँ।लामू समय सम्म भुमिगत जिवन वितायौँ।जेल नेल सह्यो आफ्ना छोरा छोरी समेत गुमायौँ।"-
बोल्दा बोल्दै मन्त्री गुलाब सिहँ भाभुक हुन्छ।
बोडी गाडले रूमाल मन्त्रीको हातमा थमाउँ छ। आर्को नेताले थर्मसबाट पानी गिलासमा निकालेर दिन्छ।
म आफ्नो छोरा छोरीको लागि होइन भाभुक भएको। बरू देशका हजारौँ सहीदहरूको सम्झनाले गर्दा आँखाबाट आशु छचल्किएको हो ।"-मन्त्रीले सालिकमा माला अर्पण गर्दै थप्यो।
यो कुपुत्र त जाँड घिचेर मरेको होइन र ?"- सी. सिई विस्तारै बोल कसैले सुन्ला।"-आर्कोले मुखमा चोर औंलाले इसारा गर्दै भन्यो।त्यही कार्यक्रममा उपस्थितहरू मध्य केहीले आपसमा कानाखुसि गर्दै थिए।"जाँड घिचेर मरेका पनि सहिद।यसरी त असल सहिदको अपमान भएन र?"
उता लखन थापाको सालिक नचिन्निने अवस्थामा थियो।
राखे देखि कहिल्यै स्यार सुसार नभयको जस्तै लाग्थ्यो।
मिलन चौकको आर्को कुना बाट गंगालाल श्रेष्ठ,धर्म भक्त माथेमा, शुक्रराज शास्त्रि र दशरथ चन्दले ट्वाल परेर हेरिरहेका थिए।
"इनिहरूको सालिक पनि वेवारीसे अबस्थामा देखिन्छ।"-पहिलोले इसारा गर्दै भन्यो।
केही नभन,केही न हेर र केही नसुन। ऊ पारी हेर त!"- चोर औंलाले सिकाउँदै भन्यो।
अलिक पर गाँधीका तिन मानव रूपि बांदरहरूको आफ्नै धुनमा थिए।एउटाले आफ्नै हातले आँखा छोपेको,आर्कोले कान र तेस्रोले मुख तोपेको।
दाङ घोराही १८
३०-१०-२०२४,(१६माघ२०८०)
+++
४५. लघुकथा- महान सहिद ✍️तुलसी पण्डित
द्रुत गतिमा बढेको सहिद प्रति आक्रोश पोख्दै दस जना सहिद मृत्युुलोक आए ।धुमधाम सँग सहिद सप्ताहा मनाइएको रहेछ । उनीहरु घुम्दै जादा आफ्नै शालिकमा पुगे । त्यहाँ त भव्य कार्यक्रम रहेछ । उनीहरु जिल्ल पर्दै एक छेउमा बसे । नेताहरुको भाषण सुने । नेता भन्दै थिए ।
हामी सहिदले देखाएको बाटोमा हिड्नु पर्छ । उनीहरुले जीवन दिएर नै सबैले बोल्न पाएका छन् । विरोध गर्न पाएका छन । न राम्रो कुराको लागि भन्न पाएका छन् । यही हो उनीहरुले दिएको स्वतन्त्रता । त्यसैले हामीहरुले उनीहरुको सम्मान गर्नु पर्छ ।
"सहिदका आँखाबाट आगाको ज्वाला निस्कियो । उनले अघि सर्दै भने । यहाँ सक्नेले जति लुटे पनि पाइदो रहेछ है ?" "मन्त्रीको मुख कालोनिलो भयो । उनले भने । यहाँ त्यस्तो छैन ।"
"तिम्रो के हैसियत थियो पहिले । अहिले यो बनिबनाउ हैसियत कसरी आयो महासय ?" " यो मैले दुख गरेर आर्जेको हो ।"
"होइन अहिले भन्दा पहिले धेरै दुख गरेका थियौ । पहिले किन भोकभोकै बस्नु पर्यो । "
"अहिले दुख गरे बापत तलव पाउँछु ।"
"हिसाब गर तिम्रो तलव र अहिलेको हैसियत । दिन गुना रात चौगुना ।"
मन्त्री झोक्किए ।
"कानुन भन्दा माथि गए राम्रो हुनेछैन । मेरो दर्जा ख्याल गरेका छौ ।"
सहिदलाई खपी न सक्नु भएछ । अगाडि गएर खुकुरी नचाउदै मन्त्रीलाई छप्काएर उनीहरु भागे ।
केही समयपछि त्यहाँ आउदा उनीहरु जिल्ल परे । आफ्नो शालिक छैन । आफ्नो शालिक भत्काएर उहीँ मन्त्रीको शालिक राखिएको रहेछ । शालिक अगाडि ठूलो बोर्ड थियो । जहाँ लेखिएको थियो ।
"देश र जनताको हितमा बोल्दाबोल्दै खुकुरी प्रहार भएकोले महान सहिदको दर्जा दिइएको छ ।"
उनीहरुले सोचे ।
"लुटेराहरु पनि महान सहिद भएछन् ।"
+++
४६. लघुकथा (प्र) -सहिद सम्मेलन ✍️रोशन आपगाईं
यमलोकमा आज नेपाल मण्डलका शहीदहरूको सम्मेलन हुने तय भएको थियो । सम्मेलनको पूर्व सूचना यमदूत मार्फत गराइएको थियो सम्मेलनमा सहभागिता जनाउन उपस्थित भएका
सहिदहरूले यम भवन खचाखच भरिएको थियो ।
सम्मेलनमा उपस्थित भएका सहिदहरू निकै उत्साहित देखिन्थे।
हलको पछिल्लो पङ्क्तिमा परिचित लाग्ने चारजना
सहिदहरू अरुभन्दा भिन्न गम्भीर मुद्रामा लहरै बसेका थिए ।
हजारौँ सहिदहरूको उपस्थितिमा सम्मेलन सुरु भयो।
नव सहिदहरूले निकै उत्तेजक र जोसिलो भाषण गरे।व्यवस्था परिवर्तन क्रान्तिकारी शहीदहरूकै कारणले सम्भव भएको
र सहिदहरू परिवर्तनको संवाहक भएको जिकिर गरे। शहीदहरूले खेलेको भूमिका र पुर्याएको योगदानको खुलेरै
प्रशंसा गरे। कार्यक्रमको अन्त्यमा, उपस्थित अधिकांश
सहभागीले सहिदहरूको हक र अधिकारका लागी यमलोकमा एउटा 'सहिद समिति' गठन गर्ने प्रस्ताव ल्याए ।समिति गठनको प्रक्रिया सँगै समितिमा बस्न सहभागीको हानाथाप,
तँछाडमछाड सुरु भयो। केही गरी पनि सहमतिमा समिति गठन हुन सकेन ।एकले अर्कोको आलोचनाका साथै
आरोप प्रत्यारोप चल्न थाल्यो।“तँ गुण्डागर्दी गर्दागर्दै
पुलिसको गोली लागेर मरेको ! पछि पार्टीको
सिफारिसमा बनेको नक्कली सहिद !”
नेतृत्वको एक प्रत्याशीले अर्को प्रत्याशीलाई आरोप लगायो। “तँ गाडीले किचिएर मरेको थिइस् ! पछि तेरो पार्टीको सरकार बनेपछि घोषणा भाको ! त झन् कसरी सहिद ?”“तँ जेलमा कैदी सँगको झगडामा मरेको !”“तँ आत्महत्या गरी मरेको !”“तँ तस्करी गर्दागर्दै मारिएको !”एक अर्काबीच आरोप प्रत्यारोप सँगै धकेलाधकेल तथा कुटाकुट हुन थाल्यो।अब शहीदहरू राजनैतिक
आस्थाका आधारमा विभाजित हुन थाले। आफू अनुकुल दर्जनौं समिति बनाए ।सबै समितिमा नेतृत्व चयन गरे ।
अघिदेखि पछाडिबाट टुलुटुलु रमिता हेरेर बसेका चारै जना सहिदको आँखा आँसुले डम्म भरिएको थियो ।उनीहरूको अनुहारमा गहिरा पीडाका धर्साहरू देखिन्थे । उनीहरू भावविह्ल भएर सम्मेलनस्थल छाडेर हिँडे। त्यसपछि उनीहरू कहिल्यै फर्केर आएनन्।
- रोशन आपगाईं
म्याङ्लुङ, तेह्रथुम ( हाल जापान )
+++
४७. लघुकथा:-वाल जिज्ञासा ✍️सुरेशकुमार पाण्डे
"बाबा ! हजूर आज दिनैभरी कता जानुभएको।"-राजिव घरभित्र पस्दा बित्तिकै तिन वर्षकी नानीले सोधी।
"म आज कार्यक्रममा गएकोथिएं नी नानु।"-राजिवले नानिलाई आफ्नो काखमा राख्दै भन्यो।
सर्मिला बढी जिज्ञासु स्वभावकी थिई। "अनि मलाई किन लानुभएन त हजूरले?"- सर्मिलाले प्रश्न राखी।
"ओहो हाम्री प्यारी नानुलाई लानेभनेर सारा घर खोजें तर भेटिन त्यसैले म गएं।"-राजिवले कारण बतायो।
के कार्यक्रम थियो त ?"- "सहिद दिवस मनाउँने कार्यक्रम थियो।"-
राजिवले मुस्कुराउँदै भन्यो।
"हजुर झुट बोल्नुहुन्छ!"-सर्मिलाले भित्ता तिर हेर्दै भनी।
किन? तिमीलाई झुट बोलेको जस्तो लाग्यो?"-अहिले राजुले बुझ्न खोज्यो।
"हजूर आमाको तस्विर त लिएर जानु भएन नी हजूरले!"-
सर्मिलाले आमाको तस्विर तिर इसारा गर्दै भनि।
"छोरी हाम्रो आमालाई त सहिद भनिदैन नी।"-राजिवले भन्यो।
"हजूरले त यी सबै मरेका जती सहिद हुन भन्नु भएको थियो।"
उसले धर्मभक्त,गंगालाल,दशरथ चन्द,शुक्रराज शास्त्रिहरूको तस्विर तिर इसारा गर्दै भनि।
"छोरी यहाँहरू स्वतन्त्रताको लागी युद्ध लडेर सहिदी प्राप्त गर्नुभयो।तर हाम्रो आमा बुढी भएर आफ्नै कालले मर्नुभएको थियो।"-राजिवले सर्मिलालाई सम्झाउँदै भन्यो।
दाङ घोराही १८
२९-०१-२०२४(१५माघ२०८०)
+++
४८. लघुकथा - शहिदकाे माग ✍️टीकाराम जाेशी, इमाडाेल
"हे धर्मराज ! हामीलाई नपठाउनुस् मर्त्यलाेकमा । हामीलाईँ जाने मन छैन। "
"हैन ! म तिमीहरुलाई जानबाट राेक्न सक्दैन। किनभने हाम्राे पुर्व निर्धारित वार्षिक कार्यक्रम अनुसार तिमीहरुलाई श्राद्धकाे बेला मर्त्यलाेकमा नपठाई हुँदैन।तिम्रा आफन्तहरुले तिमीहरुकाे श्रद्धाका साथ सम्झना गरेपछि हाम्रो स्वचालित प्रणालीले मर्त्यलाेकमा पठाई हाल्छ।"
" हे धर्मराज !आजलाई जसरी भएपनि हामीलाई मर्त्यलाेकमा जानबाट राेक्ने व्यवस्था गर्नुहाेस्। बिन्ती छ। "
"किन र? "
"आज हामीलाई आफन्तहरुले बाेलाएकाे हैन। माघ साेह्रमा शहिद दिवस भनेर हामीलाई राष्ट्रले सम्झना गरेकाे हाे । आज हाम्रा तस्वीरमा जनताका अगुवाहरुले माल्यार्पण गर्नेछन्। हाम्रो बलिदानीकाे गुणगान गर्नेछन्। बालबालिका,वृद्ध वृद्धा बिरामी हरुलाई फलफूल,खाना बाँड्नेछन्।"
"याे त सरकारी निर्णय बाट गरिने सामुहिक श्राद्ध नै भाे। हाम्रो प्रणालीले यसलाई श्राद्ध नै बुझ्छ।"
"हाेइन !याे श्राद्ध होइन। हेर्नुस् जनताकाे दशा । आफ्नाे देशभन्दा विदेसलाई माया गर्न बाध्य भएकाे जनता । उत्पीडित जनताले श्राद्ध कसरी गर्न सक्छ ? अहिले यिनीहरुलाई हेर्दा हामीलाई मृत्युवरण गर्दाखेरिकाे पीडा भन्दा बढी पीडाकाे अनुभव हुन्छ । "
+++
४९. लघुकथा (प)- सहिद ✍️शान्ता तिम्सिना
अघिल्लो क्रान्तिमा आफ्नो बाबा र दाजु गुमाएको ऊ यस पटक युद्धमा आफै होमिएको थियो । देश र जनताको लागि मर्न र मार्न तयार थियो ऊ ।
मोर्चा सम्हाल्दै गर्दा उसले धेरै दुश्मनहरूलाई हताहत बनायो तर एउटा गोलिले उसको जीवन समाप्त पारिदियो। घरमा खवर आयो, सबैमा मौनता छायो । द्वन्द्व शान्त हुनासाथ सबै त्यतैतिर लागे । त्यहाँको माहोल कारुणिक थियो ।
यस्तै हुन्छ भन्ने जान्दाजान्दै पनि आमाहरूले छोराहरूलाई युद्धमा नपठाउनु पर्ने ! अब कसरी मन बुझाउलान् ? यी बुढी आमाको छोरा पनि परेछ्न् नि !" भिडबाट आवाज सुनियो ।
" हरेक आमाहरूले यस्तै सोच्ने हो भने क्रान्ति कहिल्यै सफल हुँदैन। कोही न कोही नलडि र केहि नमरी क्रान्तिको युद्ध जित्न सकिँदैन । आज मेरो छोरा सहिद भएको छ।" आमाले गर्व गर्दै भनिन् -
उनको दरिलो भनाइले सबैको शिर निहुरियो।
भक्तपुर
+++
५०. लघुकथा- सहिदको सम्मान ✍️शुक्रराज कुँवर
सडकको चौरास्तामा एउटा सालिक खडा थियो ।उसलाई मानिसहरु चिन्दैनथे तर सहिद हो भन्दथे ।त्यो सालिकको पाउ नेर एउटा चरा आएर बास बस्दथ्यो ।
जुनेली रात थियो । सदा झैं चरा सालिकको पाउमा बास बसिरहेको थियो । अकस्मात उसको टाउकोमा पानीको थोपा झर्यो । पानी पर्ने मौसम त होइन भन्दै चराले टाउको झट्कार्यो तर त्यो क्रम रोकिएन ।चराले यो के हुन लाग्यो भनेर टाउको यसो माथि उठायो । सालिक रोईरेको थियो । उसको आँखाबाट बरर आँशु झरिरेहेको
थियो ।
चरा भुर्र उडेर सालिकको काँधमा बस्यो । के भयो ? किन रोईरहनु भएको छ । माला पनि लगाइ दिएका रहेछन् । सहिद भनेर सम्मान गरेकै रहेछन् त फेरि के मा दु:ख मनाउ हो ? चराले जिज्ञासा राख्यो ।
" त्यो सबै झारा टार्ने काम मात्र हो । म सँगसँगै मेरो विचारको पनि हत्या गरे । वर्षको एकदिन माला र अबिर लगाई दिदैमा सहिदको सम्मान हुन्छ र ? उसको विचार र आदर्शको अनुसरण गर्नु पर्दैन ?" सालिकले दु:ख मनाउ गर्दै भन्यो ।
धरान १० , बलभद्र पथ ।
२०८०/१०/१६
+++
५१. लघुकथा--त्रिभेद ✍️ बिष्णु उप्रेती
सहिद दिवसका दिन स्वर्गका राजा ईन्द्रले नेपालबाट अाएका सहिदहरुलाई बिशेष सम्मान गर्ने बिचार गरेछन् । साेहि बिषयमा यमराजलाई बाेलाएर भने -- -"हे माहामहिम, नेपालबाट अाएका सबै सहिदहरुलाई खुला मैदानमा उपस्थित गराउनु। म याे बर्ष उनिहरुलाई भब्य सम्मान गर्ने छु।"
राजाकाे अादेश अनुसार निश्चित दिनमा ,सबै नेपाली सहिदहरुलाई , ताेकिएकाे ठाउँमा भेला गराएर , र यमराजले राजामा जाहेरी गरे।
राजा ईन्द्र पनि, बन्दाेबस्तिका सबै सामानहरु सेनालाई बाेकाएर कार्यक्रम स्थलमा पुगे।
त्याहाँ पुग्नासाथ ,राजाको हाेसहवास उड्याे। तिनछक्क परे । राजाले यमराजलाई तुरुन्त साेधेे --" हैन याे के हाे माहामहिम ,, मकरमेला लागे जस्ताे छ त? काहाँबाट यत्राे समुदाय भेला गर्यौ? मेराे कुरा बुझेनौ कि क्याहाे तिमीले? फेरि याे तीन बर्ग के का लागि बनाएकाे हाे।"
यमराजले राजामा बिन्ती गरे --" हाे, माहाराज ,मैले सबैकाम हजुरकै अाज्ञानुसार नै गरेकाे छु। पक्कै पनि अरु देशका भन्दा नेपालका सहिदहरु पाँच गुणा बढिनै रहेछन्। सहिदकाे बिल्ला भिरेका कसैलाई छुटाउन मिलेन।"
फेरि याहाका सहिदहरु पनि तीन प्रकारका रहेछन् । यी थाेरै ,जाे पहेँलो लुगा लगाएका,छन्, वास्तविक देशका सहिद रहेछन्। यी कालाे पहिरनका हरु दाेहाेराे भिडन्तमा मारिए पछि ,जनदबाव बाट सहिद घाेषणा गरिएका र राताे लाउनेहरु पार्टीको सिफारिसमा सहिद बनाईएका हरु हुन् सरकार।"
राजा ईन्द्रले सबैलाई हेरे ,अाफ्नाे सामानपनि हेरे अनि यमराजकाे कानमा खुसुक्क केही भन्दै कार्यक्रम स्थगित भएकाे घाेषणा गरे।
१६ माँघ २०८०
बिर्तामोड झापा
+++
५२. लघुकथा- नागरिक ✍️निर्मला बराल
(भक्तपुर सानो ठिमी)
महिना दिनदेखि शहरको एउटा अस्पतालको शैय्यामा लडेकी थिइन श्रवणकी आमा ।
आमाकाे उपचारमा अस्पतालले माेटाे रकम असुली सकेकाे थियाे। श्रवण साेच्दै थियाे , "अब खर्च कसरी जुटाउने?" सरकारले आम नागरिकलाई नदिएकाे नि:शुल्क स्वास्थ्य र शिक्षा सुविधाप्रति उसलाई ठूलाे गुनासाे थियाे। उसले आमाको आँखा हेर्याे। त्यसमा बाँच्ने तिर्सना देख्यो। बुवाको अनुहारमा उसले छट्पटी र निरीहता देख्यो। उसकाे भक्कानाे फुट्ला झैं भएर आयो। त्याे चाेट खप्न नसकेर ऊ बाहिरियो। नि:शुल्क स्वास्थ्य र शिक्षा, स्वदेशमै राेजगारीकाे व्यवस्था सुनिश्चित नगरेकाे विरुद्घ बाहिर सडकमा सरकार विरोधी चर्काे नारा लगाउँदै, एउटा आक्राेसित भीड मन्त्री निवासतर्फ अघि बढ्दै थियाे।
पीडा र आक्राेसले श्रवणलाईपनि ठेल्दै ठेल्दै आन्दाेलनकाे अग्रपंक्तिमा लग्याे। अनायास सरकारकाे गाेली चल्याे। भीड तितरवितर भयाे। छातिमा गाेली लागेकाे श्रवण भुइँमा लडेकाे थियाे। सास जानुअघि उसकाे मुखबाट अन्तिम वाक्य निस्कियाे। "....सरकार,. ..सहिदकाे सुविधा चाहिँँदैन,...आम नागरिककाे....सुविधा देऊ।"
२०८०| १०|१६ गते शहीद दिवसमा
+++
५३. लघुकथा (प्र) - खोजी ✍️ पं .ज्यो.तोयनाथ सुवेदी
हेटौंडा -८,कमाने
" नरोऊ,आँखाको आँसु पुछ्ने कोही छैन"आवाज आयो।
"पीडाका पहाडहरूलाई बाँधेर मनभित्र राख ;किनकि अरूका
अगाडि देखाएर केही हुँदैन ।यो स्वार्थी समाज हो,यहाँ निस्वार्थीले त मूकदर्शक भएर बस्नू बाहेक अरू केही छैन।"
उसले थप्यो।
"सिमारक्षा र राष्ट्रियताका विषयमा लड्नु पर्थ्यो,यहाँ त आफू
र आफ्ना लागि लड्ने पो सहिद भएका रहेछन् त?" कुरा थपियो।
"छोड्दिनुस् ,सत्यसेवा सुरक्षणम् लेखिएका देवालहरूमा अडेस
लागि गजबार भएर बस्ने पो देशभक्त रे त?" उनले थपिन्।
देशलाई छातीमा सजाउन खोजी, मेरो देशलाई आँखामा राखेर
काम गर्ने,सौदाबाजी नगर्ने देशभक्तलाई ल्याइदिने अठोटले ऊ
माथेमा.. थापा.. चन्द ..श्रेष्ठ भन्दै अलप भयो। समाप्त।।
२०८०/१०/१६
५४. लघुकथा- झोक्राएका सहिद ✍️ एलपी पराजुली
यमलोकको प्रवेश द्वार पार गर्ने बित्तिकै आदर्श एक हप्ते मेला लागेको ठाउँमा पुग्यो । त्यहाँ भिन्न भिन्न झुन्डका दाबी नाराको रूपमा घन्किँदै थिए ।
"हामीले जातिय हितका लागि लड्यौं र जीवन सार्थक बनायौं ।"
"हामीले धर्म रक्षाका निम्ति बलिदान दियौं त्यसैले मुक्ती पायौं ।"
"हाम्रो लडाइँले अधिकार दिलायो त्यसैले हामी अमर भयौं ।"
"हामीले पार्टीको क्रान्ति सफल बनायौं त्यसैले जित्यौं ।"
कोहि एक्लै कराउने । कोहि ५-१० जनाको अगाडि चिच्याउने । कतै सयौंको झुन्ड, कतै हजारौंको । कता जाने कता ?
+++
५५.. लघुकथा- अमूक सहिद ✍️सोमकुमार सुब्बा
भव्यरुपमा सहिद समारोह चलिरहेथ्यो।एकहुल पशुहरु नारा लगाँउदै आए।
"हाम्रो बलिदानलाई कदर गर!"
"हामीलाई सहिद घोषणा गर!"
समारोहमा खलल भयो।सभाध्यक्षले उनीहरूलाई शान्त गराँउदै सोधे-
"तिमीहरु पशु हौ,कसरी सहिद बन्छौं?"
"हामीले मानवजातिको निम्ति बलिदान दिएका छौं!" गोरुले गर्वसाथ भन्यो।
सभाकक्ष हाँसोले गुञ्जायमान भयो।सभाध्यक्षले हाँसो रोक्दै सोधे -
"तिमीहरूले के बलिदान गर्यो?"
"तिमीहरू विरामीपर्दा, हाम्रो बलि चढाएर बाँच्न चाहान्छौं,के यो हाम्रो बलिदान होइन?" भालेले प्रतिप्रश्न राखे।
"हाम्रो हत्या नगरी तिमीहरूको बिहे,पार्टी र अन्य कार्यक्रम चल्दैन,के यो झुठो हो?" सुँगुरले आँसु चुहाउदै भने।
"त्यतिमात्र कहाँ हो र,यिनीहरुको सानो खाँचोपूर्ती पनि हामीलाई बेचेर नै टार्छन्,सालाहारु!" पाठो उत्तेजिँदै बोले।
अन्त्यमा चकमन्नता छाएको सभाहललाई श्वास हाल्दै सभाध्यक्ष बोले -
"तिमीहरुलाई सहिद घोषणा गर्न सक्दैनौं तर हामी हाम्रो परम्परामा भने अवश्यक बदलाउ ल्याउँनेछौं!"
लिङ्दोक,पूर्व सिक्किम
२०८० माघ १६
+++
५६. लघुकथा- अनुत्तरीत सपना -राेशन पराजुली!
लाताे ल चनद सुलय जागि निछान हामाे जिनदा लगत छरि वालदाे छान हामाे"!
हातमा राष्ट्रिय झण्डा हल्लाउदै ताेते बाेलीमा छाेराले गाएकाे राष्ट्रिय गितले उ अनुत्तरित बनेकाे थियाे।
अनि साेच्न बाध्य भयाे !
देश र जनता अनि पार्टी भनेर हिड्दा आज उ अपाङ्ग मात्र हैन कुण्ठित बनेकाे छ। बुढेसकालकाे साहार यहि एउटा मात्र सन्तान्।
कहिले बढ्ला र केही गर्ला?
बास्तवमा हामी नेपालीले गर्व गर्नु पर्छ। जहाँ यति मिठाे गितले राष्ट्रियता झँल्कदाे छ।
गर्व गरौ हामी नेपाली हौ र त नेपाल भन्ने देश हाम्राे भएकाे छ। मनैले अनेक तरङ्गित स्वप्नाहरु सार्थक सम्झदा आङ्ग नै जिरिङ्ग हुने।
देशमा अनेकौ परिवर्तन आए तर नेपाली जनताले आफ्ना जीवन स्तर संगै लिएर आइरहेका छन्।
खै बलिदानीका वाेध गर्ने कस्ले र कहिले?
मनमा आफैलाई गाली गर्याे र मौन बस्याे।
छाेरा अझै गुनगुनाई रहेकाे थियाे।
बाहिर मुल सडकमा हुलहरु चर्काे आवाज गुन्जाई रहेका थिए।
"वीर सहिदहरु अमर रहनु!"
सबैका हात हातमा आ-आफ्ना पार्टीका झण्डा लहराइ रहेका थिए।
१६/१०/२०८०, बरगाछी,धरान।
+++
५७. लघुकथा (प्र) - विमर्श -शारदा दहाल (भण्डारी )
"लासमाथि फूल राख्दैमा सहिदको सपना साकार हुन्न हजुर ! ...." सहिद सप्ताह चलिरहेको बेला विरहको सारङ्गी समेत बजाउँदै केही सालिकहरु गाउन थाले ।
"यस्तो विरह नगाऔं न !यति कमजोर होइनौं क्या हामी । उपलब्धि छ नि! एउटा बोल्यो।
"देख्यौ उपलब्धि ग्वाँठ हो ! सहिद दिवस भनेर सबैलाई बोध गराउन एकदिन सार्वजनिक विदा त दिएनन्।" दोस्रो आक्रोशित भयो।
"हो नि ,कुनै चाकडी गरेनन् क्यारे हाम्रा सन्तानले ! नत्र त सार्वजनिक विदा गरी सहिद सम्मान भनेर आइहाल्थ्यो नि राष्ट्रिय समाचारमा मात्रै नभएर मोफसलमा पनि ।"अर्कोले थप्यो।
"होइन साथी हो, हामी खुशी हुनुपर्छ नि! सुशासन र समानताको नारा घन्किएको छ। सार्वभौमिकता र स्वतन्त्रताको बिगुल बजेको छ। ब्यबस्था परिवर्तन भएको छ। यो प्राप्ति चाहिँ मामुली हो र?"शिरको सालिकले भन्यो।
वास्तविकता त यही हो भन्ने मनन गर्दै उनको कुरामा सबैले समर्थन गरे। र "देशले रगत मागे वलि मलाई चढाउनू .......!" भन्ने गीत एकैसाथ गाए।
२०८०/१०/१६
मोरङ।
+++
५८. लघुकथा- मर्का -प्रेम पुन मगर
"नेपालको कानुन भगवान जानुन्।" समाचार हेरिरहेका तिकारामले दिक्क मान्दै भने।
" किन के भो र ?"बलरामले स्पष्टीकरण मागे।
" जो नहुनु पर्ने त्यही भयो नि। सानातिना कुरामा आन्दोलन,त्यसपछि मारामार ।"
तिकारामको कुरा सुनेपछि उनलेे समर्थनमा भने। "हुन त हो तर यसमा हामीले के पो गर्न सक्छौं र?"
-"आ आफ्नो मृतक कार्यकर्तालाई शहीद घोषणाको होडबाजी छ.। परिवारलाई दस दस लाख दिने रे।" तिकारामले थपे।
" ठिकै गरेछन् त। यसमा हाम्रो के जान्छ र?" बलरामले लापरबाही साथ बोल्दा उनले भने। " महंगाइ बढ्छ नि।"
१६/१०/२०८०
+++
५९. लघुकथा- शालिकको छोरो ✍️ प्रेम घिमिरे 'अग्निकवच’
“आहा! गाउँ त पुरै परिवर्तन भैसकेको रहेछ।” उसले बसबाट ओर्लने बित्तिकै मनमनै भन्यो। सुकेटार जाने बाटोको चोकमा सुन्दर शहीद पार्क बनेको थियो। ठूल्ठूला स्तम्भहरूमा लहरै पाँचवटा शहीदका शालिकहरू देखेर उसको मन प्रफुल्ल भयो। ऊ दौडिँदै शालिकहरूको अगाडि पुग्यो। शिर झुकाएर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्यो। फर्कँदा पार्कको गेट छेउमै बसेको बालकलाई देखेर दश रूपैयाँको नोट कचौरामा राखेर ऊ गाउँको बाटो लाग्यो।
पाँच वसन्त मलेसियामा बिताएर घर फर्किएको थियो जीवन। ऊ विदेशिँदाको सुकेटार गाउँको तश्विर सम्झँदा कहाली लागेर आउँछ। अहिले सुकेटारमा बाटो, विजुली, खानेपानी जस्ता समस्याको समाधान भैसकेको देखेर ऊ दंग छ। तर शहीद पार्कको गेटमा बसेर भिख माग्दै गरेको बालकले भने उसको मनमा तुफान चलाएको छ।
‘त्यो बालक को होला? किन त्यसरी भिखारी बनेको होला? यो उमेरमा त ऊ विद्यालय जानुपर्ने होइन र?’ यिनै प्रश्नहरूको भुमरीमा फसेको छ जीवन।
“ए ! जीवन तँ कहिले आइस्?” पछाडिबाट आएको चिनेजानेको आवाजले जीवनको पाइला रोकियो। रमेश रहेछ। “आजै आउँदैछु नि!” जीवनले जवाफ दियो। दुबैले हात मिलाए। भलाकुसारी गरे। रमेशले गाउँको हालखवर बतायो। जीवनले विदेशमा भोगेका कथा सुनायो। प्रसंगबस जीवनले पार्कमा भिख मागेर बसेको केटाको बारेमा सोध्यो। रमेशको कुरा सुनेपछि ऊ छाँगाबाट खसेसरि भयो।
नहोस् पनि किन? गर्भमै हुँदा बाबु गुमाएको अजयको आमा पनि सडक दुर्घट्नामा बितेको चार वर्ष भैसकेछ। बाबुको अनुहारै नदेखेको अजयलाई रमेशले एकदिन “तिम्रो बुवा यो देशको अमर शहीद हो। तिमी यही शालिकको छोरो हौ” भनेर चिनाई दिएका रहेछन्। त्यही दिनदेखि ऊ आफ्नै बुबाको शालिक अगाडि बसेर दिन बिताउन थालेछ। मनकारी मान्छेहरूले दिएको दुई/चार रूपैयाँले जीवन गुजारी रहेको अजय सबैथोक गुमाएर पनि गर्वसाथ भन्दोरहेछ “म शालिकको छोरो।”
-०-
शहीद दिवस २०८०
बर्दिबास, महोत्तरी
+++
६०. लघुकथा (प्र)- आत्मबोध -सीता रेग्मी
"यो पङ्गतिमा भएका अरु खै त?" उसले पङ्गतिबद्धहरुलाई सोध्यो।
"खै हामीलाई थहा नै भएन, बेलुका सम्म सँगै थिए।" पङ्गतिवालाहरु विस्तारै बोले।
"तिमीहरुले केही गर्यौ की?" उसले शंका व्यक्त गर्यौ।
"हैन हामी विचरा के नै भन्न सक्थ्यौ र ! केही गर्ने भए त उहिले गरीहाल्थ्यो नि! हाम्रो पङ्गतिमा ल्याएर राख्दा पनि किन चुप लाग्थ्यौ र?" पङ्गतिको नेतृत्व गर्दै एउटाले बोल्ने हिम्मत गर्यो।
पङ्गतिवालाको कुरा पुरा नसुनी ऊ पछाडी दौडियो।केही पर गोलो घेरामा उभिएका मानिसहरु नजिक पुग्यो।"तिमीहरुले किन आफ्नो ठाउँ छाडेका ? तिमीहरुलाई त्यो ठाउँमा पुर्याउँन हामीले कति मेहनेत गर्नु परेको थियो थाह छैन?" ऊ कड्कियो।
"माफ गर्नुहोला हजुर, हामीलाई उहाहरुसँग उभिराख्दा ग्लानी भयो, उहाँहरुले देशको लागि गरेको त्याग र वलिदानले पाएको त्यो स्थान हामी आ-आफ्नै कारण आएकाहरुको लागि सोभनिय छैन।"
"चुप लाग तिमीहरु ! तिमीहरुले यसो गर्यौ भने हाम्रो राजनिती के हुन्छ?" उसले एक एक गरेर हात समातेर तान्न थाल्यो।
"हैन के गर्न लाग्या ?" श्रीमतीले उसको हात झड्कालेर पर पुर्याईदिईन्। डरले थर्थरी कप्दै उसले आँखा खोल्यो।
रचना मितिः२९८०/१०/१६
सुन्दरहरैचा मोरङ
+++
६१. लघुकथा (प्र)- उत्तरकाे प्रश्न ✍️धिरज बराल
'सहिद काे परिभाषा लेख।' एउटा प्रश्न याेपनि साेधिएकाे थियाे परीक्षामा। उत्तरपुस्तिका परीक्षण गर्ने क्रममा शिक्षक धर्मभक्तले यस प्रश्नमा परिक्षार्थीले भिन्नभिन्न उत्तर लेखेकाे पाए। ....."विभिन्न आन्दाेलनमा सुरक्षाकर्मीकाे गाेली लागेर मर्नेलाई सहिद भनिन्छ।" "आन्दाेलनकारीकाे आक्रमणबाट मर्ने सुरक्षाकर्मीलाई.....।" "दलहरुबीचकाे लुछाचुँडी र लडाइँमा ज्यान गुमाउनेलाई....।" "न्याय खाेज्दा खाेज्दा न्याय नपाएर मृत्युुवरण गर्न बाध्य सर्वसाधारणलाई....।" "टिपर (ट्रक) ले हानेर मारिनेलाई...।" "सडक र हवाई दुर्घटनामा ज्यान गुमाउनेलाई....।" आदि आदि। सबै परिक्षार्थीका उत्तर धर्मभक्तले गहिरिएर पढे र ती सबैलाई पाँचमा पाँच समान अंक दिए। परीक्षाफल प्रकाशित गर्ने क्रममा उनकाे परीक्षणमा ठूलाे प्रश्न उठ्याे। अपव्याख्या गरेर परीक्षण गरि अनुचित अंक दिएकाेमा उनलाई शिक्षा कार्यालय बाेलाइयाे र स्पष्टीकरण साेधियाे। उनले स्पष्टीकरण दिए। "महाेदय, प्रश्नले खाेजेकाे उत्तर अधिकांश परिक्षार्थीहरुबाट भिन्नभिन्न र नयाँनयाँ आउँछ भने मेराे विचारमा त्याे उत्तरमा हैन प्रश्नमै विचारविमर्श गरिनुपर्छ । त्यस परिस्थितिमा प्रश्न नै गलत छ या पाठ्यक्रम बाहिरकाे छ भन्ने मानेर परिक्षार्थीलाई पुरै अंक दिनु न्यायाेचित ठहर्छ। पच्चीस वर्षको मेराे अनुभवले मलाई यहि नै सिकाएकाे छ। मेराे कुराे याे, बाँकि त यहाँहरुकाे कुरा! धन्यवाद! धर्मभक्त।" धिरज बराल, काैशलटार, भक्तपुर
+++
+++
६२. लघुकथा- सहिद ✍️गंगा खड्का
धनमाया टि. भी हेर्दै ओछ्यानमा पल्टिरहेकी थिइन् । विभिन्न च्यानलका समाचारहरु सहिद दिवसका प्रसङ्गले तातिरहेका थिए । सहिदको पङ्क्तिमा आफ्नो छोराको फोटो पनि देखेपछि उनलाई आफ्नो छोराले वीरगति प्राप्त गरेको घटनाले शूल बनेर दुखाउन थाल्यो । नजिकै सोफामा बसेर समाचारसँगै सुकसुकाउन लागेकी बुहारीको रित्तो सिउँदोमा गएर उनका आँखा ठोक्किए । उनी पनि बुहारीजस्तै बलिन्द्रधारा आँसु बगाउँदै विगतको कहालीलाग्दो घटनामा हराएर टोलाउन थालिन् ।
“ हजुरआमा ! तपाईंले त्यतिबेला मेरो बाबालाई आन्दोलनमा नजाऊ भनेर किन नरोक्नुभएको ? ”गर्भे टुहुरो नातिको प्रश्नले धनमायाको तन्द्रा भङ्ग भयो ।
“ देशमा परिवर्तन ल्याउन बाबु ।” उनले किंकर्तव्यविमुढ भएर बोलिन् ।
नातिले बडो जिज्ञासु भएर सोध्यो “ परिवर्तन भनेको अहिले भएजस्तै हुनेखाने र बोल्न सक्नेका लागि अझै सुखको दिन आउने हो हजुरआमा ? ”
बूढानीलकण्ठ ,काठमाडौँ
+++
६३. लघुकथा (प्र)- शहीदको प्रश्न ✍️ प्रेम पुन मगर
"तिमी को हौ?" एकदम अनजान व्यक्तिले सोध्यो।
"म फलानो बहादुर ..।" जवाफमा उसले भन्यो।
तिमी के गर्छौ , कहाँ बस्छौ ? फेरि सोध्यो।
"म काम गरेर आफ्नो जीवन धानेको छु। मेरो देश नेपालमा बस्छु।" उसले जवाफ दिदै गयो।
"ज्यान त माटोमुनि बस्ने गड्यालोले पनि पालेको छ। देशको लागि के गर्यौ?" उसको प्रश्न रोकिएन।
"तिमी पनि को हौ र देशको लागि के गरेका छौ नि?" ऊ अलिक उग्र हुँदै प्रतिप्रश्नमा उत्रियो।
"हेर ठुला कुरा नगर। मैले बलिदान नदिएको भए तिमीले म नेपाली भन्न पाउने थिएनौ।"
माघ सोह्रको जाडोको रातमा पनि ऊ पसिनाले भिजेको थियो। एक आमखोरा पानी घट घट पियो र अड्कल काट्यो।
"सपनामा मसँग विवाद गर्ने व्यक्ति अवस्य शहीदको आत्मा हुनुपर्छ।"
गहिरिएर अझै सोच्यो र स्वयंलाई प्रश्न गर्यो।
"हो त! के मैले देशलाई केही दिन सकेको छु?"
१६/१०/२०८०
+++
६३. लघुकथा (प्र)- शहीदको प्रश्न ✍️ प्रेम पुन मगर
"तिमी को हौ?" एकदम अनजान व्यक्तिले सोध्यो।
"म फलानो बहादुर ..।" जवाफमा उसले भन्यो।
तिमी के गर्छौ , कहाँ बस्छौ ? फेरि सोध्यो।
"म काम गरेर आफ्नो जीवन धानेको छु। मेरो देश नेपालमा बस्छु।" उसले जवाफ दिदै गयो।
"ज्यान त माटोमुनि बस्ने गड्यालोले पनि पालेको छ। देशको लागि के गर्यौ?" उसको प्रश्न रोकिएन।
"तिमी पनि को हौ र देशको लागि के गरेका छौ नि?" ऊ अलिक उग्र हुँदै प्रतिप्रश्नमा उत्रियो।
"हेर ठुला कुरा नगर। मैले बलिदान नदिएको भए तिमीले म नेपाली भन्न पाउने थिएनौ।"
माघ सोह्रको जाडोको रातमा पनि ऊ पसिनाले भिजेको थियो। एक आमखोरा पानी घट घट पियो र अड्कल काट्यो।
"सपनामा मसँग विवाद गर्ने व्यक्ति अवस्य शहीदको आत्मा हुनुपर्छ।"
गहिरिएर अझै सोच्यो र स्वयंलाई प्रश्न गर्यो।
"हो त! के मैले देशलाई केही दिन सकेको छु?"
१६/१०/२०८९
No comments:
Post a Comment