Friday, October 13, 2023

आइतबारको लघुकथा वार्ता कार्यक्रमकी पाहुना रचना शर्माको रोजाईमा परेको

आइतबारको लघुकथा वार्ता कार्यक्रमकी पाहुना रचना शर्माको रोजाईमा परेको

१) अग्रजको लघुकथा- रछ्यान-प्रा.डा.कपिल लामिछाने 
२) अनुजको लघुकथा- दान-बोधराज प्याकुरेल 
३) महिला हस्ताक्षरको लघुकथा-अहिंसावादी-सरस्वती रिजाल
+++
१) लघुकथा :- रछ्यान (अणिमा लघुकथा संग्रह, २०७९)
प्रा.डा. कपिल लामिछाने 

"रछे, ला तेरा भागमा यत्ति पन्यो ।" मैले उसलाई दुई हजार दिँदै भनेँ । 
"जय होस् ।" उसले गोजीमा राख्दै भन्यो- "हजुरको भागबाट पनि यस्सो माया हुन्छ कि।" 
मैले पाँच सय थपिदिएँ। मुखाँ बुझो लाइरहनुपर्छ ।
म आमदानी हुने संस्थामा थिए। कस्तै आउँदैन भने पनि परीपरी आउँथ्यो। कोही न कोही 'दाता' आउँथ्यो । 'खुसी'ले दिएर जान्थ्यो । त्यसको कुल आम्दानीको तीस प्रतिशत हाकिमलाई, पन्ध्र प्रतिशत अज्ञातलाई, पन्ध्र पन्ध्र प्रतिशत लेखा, स्टोर, प्रोक्योरमेन्ट शाखालाई र बाँकी दस प्रतिशतबाट पिउन पाले आदिलाई भाग लाग्ने गर्थ्यो । संयोगले त्यतिखेर डाडुपनिउँ मेरै हातमा थियो ।

रछे सधैं जस्तो एकसरो लुगा लाउँथ्यो । हामीले झैँ जाँड, रक्सी, सुर्ती, खैनी केही खाँदैनथ्यो । जसले जे काम अह्राए पनि नाइँ भन्दैनथ्यो । यताका कुरा उता गर्दैनथ्यो । जाँगरिलो थियो । कार्यालयमा सबैभन्दा जुनियर उही थियो । सबैले आआफ्नो भागबाट उसलाई केही न केही थपिदिन्थे ।

उसलाई सबैका आन्द्राभुँडी थाहा थियो । कतै फुस्काउला कि भन्ने डर सबैका मनमा रहने नै भयो । त्यसैले पनि उसलाई यसो कलो फालेझैं गर्दथे सबै । एकदिन हाकिम र म बिहानै घुम्न निक्ल्यौ । घुम्दै सहज टोलतिर लाग्यौ । त्यो नयाँ विकसित टोल थियो । टोलको चोकमा पुग्यौं । रछे गेट भित्र र बाहिर कुचो लगाउँदै थियो । हामीलाई देख्नेबित्तिकै कुचो भुइँमा फ्यात्त फाल्दै हात जोडेर अगाडि उभियो ।

“रछे, यता पनि काम थालिस् ?”
उसले सेता दाँत देखायो र कपाल कन्यायो ।
“कति पाउँछस् ?” मैले भनें ।
करिब दुई कठ्ठा जमिनमा बनेको कम्पाउन्डसहितको भव्य महल थियो त्यो । मलाई त घर देखेर लोभ लाग्यो । ऊ केही बोलेन । 
मैले नै सोधें -“कसको घर हो यो ?"
उसले पुनः सेता दाँत देखायो। हात जोड्यो र भन्यो- "हजुरहरूकै कृपा त हो नि यो !"
================================


२) लघुकथा: दान
बाेधराज प्याकुरेल (खजुरा,बाँके )

"संसारमा दान भन्दा ठूलो पुण्य अरु केही छैन, आउनुहाेस् यस शुभ कार्यमा सकेजति दान गर्नुहाेस् ।" कथा वाचकले कथा सुनिरहेका भक्तजनहरुलाई लक्षित गर्दै भने ।
लक्ष्मीनारायण मन्दिरको प्राङ्गणमा आयाेजित सप्ताह महायज्ञमा मन खाेलेर दाताहरूले दान गरिरहेका थिए। दाताहरुलाई प्रमुख कथा वाचक पण्डितजीबाट दानकाे रकम अनुसार दाेसल्ला, रामनामी र खादा ओढाएर सम्मान गर्ने कार्य पनि बिचबिचमा चलिनै रहेको थियोे । 

"हजुरसँग पनि हामीले ठुलो आशा गरेका छाैं ।"
"दिएर बिर्सनु दान हाे" भन्ने पण्डितजीकाे प्रवचन गम्भीर भएर सुनिरहेका सतानन्दलाई महायज्ञ आयाेजक समितिका अध्यक्षले सहयोगकाे आशा गर्दै भने ।एकलाख दान गर्ने दातालाई दाेसल्ला ओढाएर गुरुबाट सम्मान गरिने र शिलालेखमा नाम समेत लेखिने कुरा उनलेे बताए ।
"सकेको गराैंला ।" उनलेे अध्यक्षलाई आश्वास्त पारे।
केही बेरपछि दान दाताहरुलाई सम्मान गर्ने कार्यक्रम शुरु भयाे। उद्घाेषकले एक लाख र एक लाखभन्दा माथि दान दिने दाताहरुलाई सम्मानका लागि मञ्चमा बाेलाए । उनान्सय हजार नाै सय उनान्सय रुपैयाँ दान गर्ने सतानन्दकाे नाम भने पढेर मात्रै सुनाए । 

"तिमी त बुद्धि नभएका रहेछाै,एक रुपैयाँ थपेको भए सम्मान पाउँथ्याै ।" मञ्चबाट उत्रिएका उनका साथी दयानन्दले आफुले ओढेकाे दाेसल्ला मिलाउँदै सतानन्दलाई भने ।
" मैले दान गरेँ ।" सतानन्द मुस्कुराए ।
================================

३) लघुकथा :- अहिंसावादी (प्रसङ्ग,भ्रम र पात्रहरू, २०६५)
सरस्वती रिजाल (चितवन)

एउटा जमिन्दार तीर्थ गर्न गयो ।
तीर्थ गरेर आएपछि उसले बडो मुस्किलले माछामासु खान छोड्यो - आफूलाई एकदम मनपरेको खानेकुरा छोड्नुपर्छ भन्ने सुनेकोले । 
यस अर्थमा ऊ शाकाहारी भयो ।
अझ धेरैको अर्थमा ऊ अहिंसावादी भयो ।
सबैको ऊ प्रतिको प्रतिक्रिया सुनेर मख्ख परी उसले जुँगामा ताउ लगायो । 
हिजो भर्खर थाहा भयो उसले आफ्नो कारिन्दालाई एउटा सानो कुराका लागि कुट्न लगाएर मरणासन्न तुल्याएछ ।

उसले भन्दै पनि हिंडेको छ रे – “के गर्नु ? पहिला भएको भए म आफै बजाइदिन्थेँ। अहिले तीर्थ गएर माछामासु छोडेकोले पो त । अरूलाई हात हालेर किन पाप कमाउनु भनेर पो त ।"
+++

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...