---- सिक्ने_र_सिकाउने_भरपर्दो_थलो_लघुकथा_प्रतिष्ठानको_आग्रह ---
# कालजयी लघुकथाको खोजी अभियानमा जुनसुकै विषयमा लघुकथा लेखी पोस्ट गरौँ ।
मातापिता सम्मान दिवस २०८० को पुनित अवसरमा स्वघोषित कालजयी लघुकथा आह्वान गरिए बमोजिम हालसम्म लघुकथा प्रतिष्ठानमा पोस्ट भएका लघुकथा सूची संयोजकको आज्ञाले सार्वजनिक गरिएको छ । पोस्ट भएर पनि छुटेका सर्जकले लिंकसहित सूचित गर्न र पोस्ट नगर्नुभएकाहरुले पोस्ट गरी यसै पोस्टको कमेन्टमा लिंक राखिदिनुभए आभारी हुनेछौँ ।
लघुकथा सूची-
१. लघुकथा- आमाको मन -अल्पविराम पोखरेली
२. लघुकथा- आमाकाे खुसी -गाेविन्दबहादुर कुँवर
३. लघुकथा- वारिस -गाेपीराम भण्डारी
४. लघुकथा- कुसे आउँसी -सुरेशकुमार पाण्डे
५. लघुकथा : निर्माण -लता के सी
६. लघुकथा- मान्छे -लक्ष्मी रिजाल
७. लघुकथा- स्वावलम्बी -नन्दलाल आचार्य
८. लघुकथा- आमा -राजकुमार कार्की
९. लघुकथा- सञ्चय -गरिमा आचार्य
१०. लघुकथा : उदय -तुलसी पण्डित
११. लघुकथा- साली -कामना आचार्य
१२. लघुकथा- नयाँ वर्ष -अक्षान्त
१३. लघुकथा- शोक र भोक -डा. गणेशप्रसाद भट्टराई
१४. लघुकथाः मातातिर्थ औंशी -रुद्र अधिकारी
१५. लघुकथा- पितृ -राेशन पराजुली
१६. लघुकथा- ब्यवस्थापन -हिरनमयी आचार्य शर्मा
१७. लघुकथा- भाग्यमानी -गङ्गा आचार्य सापकोटा
१८. लघुकथा- मातृप्रेम -पं. ज्यो. तोयनाथ सुवेदी
१९. लघुकथा: अन्तिम प्रतीक्षा -उमेश कार्की
२०. लघुकथा- एक्लोपन -रमेश सुबेदी
+++
१. लघुकथा- आमाको मन -अल्पविराम पोखरेली
ओई बुढी ! छोराले तीर्थ घुमाउने वहानामा हामीलाई बितरामा पारे जस्तो छ । तीन दिन भयो , अहिले भर्खरै आउॅछु तपाईहरू यहाँ बस्तै गर्नुस् है भनेर गएको छोरो फर्केरै आएन । बूढाले आॅखाबाट आँसुको भल बगाउँदै बुढिसॅग बिलौना गर्यो ।
बुढीले पनि आॅसु झार्दै भनिन् ** त्यसो नभन बुढा ! हाम्रो छोरा त्यस्तो छैन ,केही काम परेर भुल्यो होला आई त हाल्छ नि ।
देवघाट जाने बाटोको चौतारीमा दुई जना ज्येष्ठ नागरिक अलपत्र अवस्थामा बसिरहेका एउटा बटुवाले देख्यो र कुरा पनि सुन्यो । उसले सोच्यो बुढाबुढी भएका बाआमालाई पाल्न झ्याउ लागेर यहाँ ल्याएर छोडेछ , स्वार्थी बदमासले, देवघाट नजिकै छ त्यहीको बृद्धाश्रममा पुर्याउन पर्यो भनेर ती ज्येष्ठ नागरिकलाई प्रस्ताव राखे । तीन दिन देखिको भोक प्यासले आकुल ब्याकुल तिनीहरू बृध्दाश्रम जान तयार भए । प्रहरी जस्तै देखिने ती बटुवाले सोधे ** घर कता पर्यो होला, बाआमाको ?
बूढाले घरको ठेगाना भन्नै आॅटेका थिए बुढीले बुढाको मुख च्याप्प थुन्दै कानमा भन्यो छोरालाई गाह्रो पर्छ नि बुढा, नबोल ।
२०८०\१\८
+++
२. लघुकथा- आमाकाे खुसी -गाेविन्दबहादुर कुँवर
हजुर आमा -´मेराे माहिलाे नातिकाे हात खुट्टाका रुम लामा छन् । जीउमा लामा रुम हुनेलाई गाई भैंसी अग्घाेर फाप्छ ।`
बुवा -´गौरीशंकरले जस्ताे भैँसीकाे स्याहार कसैले गर्दैन याे घरमा !`
हजुर आमा र बुवाकाे कुरा सुनेर, म फुरुक्क पर्थेँ । तर आमा अँध्याराे हुनुहुन्थ्याे ।
उतिखेर केही नभने पनि हामी आमा छाेरा एक्लै हुँदा भन्नुहुन्थ्याे, ´ऐले फुरुक्क परेकाे छस् , पछि कुकुरले नपाउँने दु:ख पाउँदा थाहा पाउलास् !` आमाले मायालु पाराले पनि संझाउनु हुन्थ्याे ।
मैले पढ्न छाेडेकाेमा उहाँ धेरै दु:खी हुनुहन्थ्याे । तर मेराे मन एकाेहाेरिएकाे थियाे ।
म भरसक आमासित एक्लै पर्दैनथेँ ।
दाइ एक दिनकाे बाटाेमा डेरा गरेर उतै छ साता कक्षामा पढ्नुहुन्थ्याे हाेला । भाइ बहिनी सानै थिए । गाेठालाे जानसक्ने घरमा म नै थिएँ ।
हाम्राे परिवार ठूलाे थियाे । गरेर खान पुग्ने खेत पाखाे बाहेक अरु आयश्राेत थिएन । बुवाकाे जागिर थिएन । हजुरबाले नेपाली सेनामा भएर पनि राम्रै आय आर्जन गर्नुभएकाे रहेछ । त्यसैले हाम्राे परिवार हिङ नभए पनि हिङ बाँधेकाे टालाेमा गनिन्थ्याे ।
त्यतिखेर नगद आमदानीकाे लागि गच्छे अनुसार हिउँदमा दुई चार ओटा थारा भैँसी किन्ने र वर्षामा तिनीहरु बाली गएर ब्याए पछि बेचेर नगद पारिन्थ्याे ।
अनि त्याे पैसाले नून तेल, बाली सेर्मा र ओडापैरीकाे समस्या हल हुन्थ्याे ।
मैले गाेठालाे गरेकाे तेश्राे वर्ष ठूलाे भान्दाइ दशैँमा टीका लाउन आउनुभयाे । राति केके कुा भए, थाहा पाइन । विहान घर जाने वेलामा मलाई भन्नुभयाे , ´ल , हिँड् माहिला तलाई म पढाउँछु ! अब तैँले पढ्नुपर्छ ।`
हजुर आमा र बुवाले टीका लाएर विदा गर्नु भयाे । म रमाउँदै भान्दाइकाे अघि लागेँ ।
आमा घाँस काट्न कुन भीरपाखा पुग्नुभएकाे थियाे, त्यस बेलासम्म पनि घरमा आउनुभएकाे थिएन ।
तर मलाई के थाहा थियाे भने आज आमाकाे सबैभन्दा बढी खुसीकाे दिन हुनेछ ।
०००
२०८०/०४/२८
भाेटेओडार, लमजुङ
+++
३. लघुकथा- वारिस -गाेपीराम भण्डारी
सडक किनारमा मान्छेको ठुलै भिड थियोे । मजदुरीको लागि सडकमा निक्लिएकाे जयन्ते पनि भिडमा मिसियाे ।भिडकाे बीचमा एउटा मृत मानिस लडिरहेको देख्यो । मृतकको छेउँमै बसेर दुईजना प्रहरीले मुचुल्का लेखिरहेका थिए । उचिएकाे प्रहरीले वाक्कीट्वाकीमा भन्दै थियो–“सर वेवारिसे अन्दाजी दस,एघार वर्षको पुरूष ।"
जयन्तेले उभिएकाहरूसँग जिज्ञासा राख्याे "के भएछ ?” उभिएका मध्येको एउटा मान्छेले भन्यो–“के हुनु नि ओभरडोज भयो अनि गयाे । अलिअलि पैसा भयो कि डाेज दिइहाल्छन् ।" जयन्तेले नियालेर हेर्याे । मृतक दश एघार बर्षे केटो थियो । मुकुन्देले भन्याे "ऐ त्यो बच्चाे हिजो बेलुका मलाई होटलसम्म जाने हो दाइ भनेर बाटामा साेध्ने फुच्चे पाे रहेछ !" पुलिसले जयन्तेकाे मुख तिर पुलुक्क हेर्यो । पुलिसको छेवैँमा होटलवालाले बयानमा भन्दैथियो–“मैले चिन्दिन तर एक वर्षदेखि मेरो हाेटलमा ग्राहक ल्याउँथ्यो । मैले प्रत्येक ग्राहकको पचास रूपैँया दिन्थेँ । त्यो भन्दा अरू मलाई थाहा छैन । त्याे बेवारिसे नै हाे।"
जयन्ते रिसाउँदै भन्याे ,"हिजोसम्मकाे तिम्रो कर्मचारी आज वेवारिसे बन्याे? । थुक्क ! मानवता हिन मुन्छे ! हुनत, समाजनै आफै बेवारिसे बनिरहेकाे छ ! तमी हामी खाेष्टा मुन्छेका के कुरा !"
प्रहरीले जयन्तेकाे मुखमा हेर्दै प्रश्न गर्याे,"तपाईं यसलाई चिन्नुहुन्छ? मुकुन्देले भन्याे,"हाे म चिन्दछु याे मुन्छेकाे बच्चा हाे । याे समाजकाे कुलतले मारेकाे बच्चा । सहरले बेवारिसे बनाएको बच्चा ।" प्रहरीले भन्यो,"के हाे तपाईं उल्टा सिधा कुरा गर्ने "?उसले शालिन भएर भन्यो,"समाज उल्टाे दिशामा हिँडेको देख्नुभएन ! म बाेलेकाे सुन्नुभयाे हैन ? छाडिदिनुस कुरा , मिल्छभने मलाई जिम्मा दिनुस । म वारिस वन्छु मृतककाे"। प्रहरीले भन्याे,"प्रक्रिया पुराएर लैजानुहाेस ।"
मुकुन्देले भन्याे ,"गाउँमा त यस्तो हुँदैन थ्याे? कस्ताे प्राण भर्ने प्रकृया, मृत समाजकाे?"
प्रहरीले नवाेलेर कागज लेखिरह्याे । मृत प्रकृयाले प्रकृयाकाे मृत प्रकृति खाेज्दै थियाे जहाँ मानवता कात्राेमा लुकाईएकाे थियो ।
लेखन मिति-२०८०/०४/२८
गाेपीराम भण्डारी 'बटुवा'
ठेगाना-टाेखा ३ काठमाडौं
+++
४. लघुकथा- कुसे आउँसी -सुरेशकुमार पाण्डे
आँमा हामीले हजूरलाई लिन आएका हौं! " मानसिहँ र प्रमिलाले बृद्धाश्रममा पुगेर कुसे आओंसीको बिहानै आँमा राधासँग भने।"
भैगो बाबु अब मलाई कतैजानुछैन।कान्छोले घुम्न लान्छु भनेर याँहा पुरायो,अब तिमिहरूले कतापुराउँछौ?यतैबाट मुर्दा घरजानु पर्ला बरू अब म कतै जाँदैन " राधा मलिन हुँदै भनिन्।
आँमा मलाई पछि थाहा भयो भाई रामेले गलती गरेछ,हजूरलाई झुक्काएर बृद्धाश्रम पुराएको रैछ।हिँड्नुस् आँमा हाम्रो घरमा हजूर उतै बस्नुहोला! मानसिहँ र प्रमिलाले अलिबेर बिन्ति बिसाउँछन्।
आँमाको मन त हो त्यो पग्लियो उनि खुसिले गदगद भइन मानसिहँ र प्रमिला सँग घर फर्किन तैयार भईन।
तिनौँजना बृद्धाश्रम बाट घर पुगे,खानपिना भयो! "राधाले पनि सबै बितेका दिन भुलेर मनमनै भनि सबैछोरा एकैनासे हुँनेरैनछन्।"
यही अचानक भित्र बाट आवाज आयो।
अब त्यो नानिको रेखदेख गर्न राखेकी आयालाई भुली बाट छुट्टि दिनुपर्ला।अब आँमाले नानिको रेखदेख गरिहाल्नुहुन्छ नी!प्रमिलाले मान सिहँलाई प्याच भनी।होस् !मानसिहँ ले समर्थन गर्यो"
उता त्यो कुरा राधाको कानमा परिहाल्यो।
घोराही उप महानगर पालिका १८दाङ
१४-०४-२०२३,
+++
५. लघुकथा : निर्माण -लता के सी
तीनकुने , काठमाडौं ।
`` बाबा , म यो अराजक घरमा बस्दिँन , विदेश जान्छु । ´´ छोराले असन्तुष्टि पोख्यो ।
बाबाले सम्झाउँदै भन्नु भयो , आफ्नो घर अराजक भयो भने पलायन हुनु त कुन बहादुरी भयो र , बाबु ? बरू हामी मिलेर आफ्नो घरको संस्कार र अस्मिता जोगाउनेतिर लागौँ न हुन्न ? ´´
``पहिला निर्माण हुँदा यो घर कत्ति सशक्त थियो रे ! राणा अङ्कल र पञ्चायत अङ्कलले खै के के गरे ? हजुरबाले भन्दै हुनुहुन्थ्यो । ´´
`` उनीहरूलाई मात्र दोष थुपार्नु हुँदेेन बाबु ! समय र अवस्थाको माग अनुसार उनीहरूको विवेकले जे देख्यो , त्यही गरे । बरू तेरा प्रजातन्त्र र गणतन्त्र मामाहरूलाई पनि भन् । ´´
`` के भन्नु ?´´ छोराको जिज्ञासा ।
`` अब म डाँडापारिको जून भैसकेँ । उनीहरूसंगै हातेमालो गरेर यो घरमा शान्तिको बास गराउने , स्वर्ग बनाउने भनेर ! ´´
आशङ्का प्रकट गर्दै छोराले भन्यो `` अनि मामाहरूले तँ फुच्चेको यत्रो हैसियत ? भनेर मलाई गलहत्याए भने के गर्नु ? ´´
बाबाले शान दिएर भन्नु भयो , `` तँ मेरो सपूत होस् बाबु ! लाछी कुरा गर्नेलाई त खै म के भनुँ ? तर अरूले बनाइदिएको घरमा रङरोगन गरेर बस्न पनि जान्नु पर्दछ ´´ भनेर बुझेस् है !
+++
६. लघुकथा- मान्छे -लक्ष्मी रिजाल
"नानी, सरकारी जागिरे हुनुपर्छ । राम्रोसँग पढ् है ।" मामूले भन्नुभयो ।
"तैंले डाक्टर हुनैपर्छ ।" बाबाले थप्नुभयो ।
मेरा आँखा किताबमा थिए । मन भने क्रोधमा पाक्दै थियोे ।
"छोरी अवश्य हाकिम बन्छे ।" मामूले खुशीसाथ दोहर्याउनुभयो ।
"डाक्टर बनेर छोरीले मेरो नाक राख्छे ।" बाको जिद्दी पनि दोहोरियो ।
कचकचले कान खायो र भनेँ; "कसैको अधुरो सपनालाई पूरा गर्ने ठेक्का मैले लिएकी छैन ।"
"उसो भए के बन्छेस् त ?" दुबैको एउटै कुरा थियोे ।
जवाफमा मैले भनेँ; "मान्छे !"
२०८०/०१/०१ कञ्चनरूप १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
++++++
७. लघुकथा- स्वावलम्बी -नन्दलाल आचार्य
"तँलाई मैले धेरै थोक गरेँ ।" एसएलसीको उत्तीर्ण गरेपछि आमाले भन्नुभयो । उहाँले मलाई घर त्याग भन्नुभयो । बाटो खर्च दिने वचन दिनुभयो । त्यो पनि फर्काउने सर्त राखेर ।
"काखको छोरो खाते बन्न नपठा ।" बाले संसय नेत्र पारेर भन्नुभयो । आमा धपाउने तर बा राख्ने । बाआमाको यस्तो रस्साकस्सी निकैबेर चल्यो । कालान्तरमा निर्णयको अभिभारा मलाई सुम्पनुभयो ।
म अनिर्णयको बन्दी बनेर रोएँ । एसएलसी गरेर महत्वाकांक्षी बनेको ठहर्याएँ । मूकदर्शक बनेर आँखाभरि आँसु बनाएँ । आमाको आँखामा सहानुभूतिपूर्ण भाव पढिरहेँ । बाकोमा भने अन्धो अनुराग भेटिरहेँ ।
घर छाड्ने आँखा थिएनन् मसँग । हिम्मत जुटाउने सहास जन्मेको थिएन । जीवन आफ्नो भएकाले आफैंले बनाउनुपर्छ । संसार तमासा हेर्छ कसैलाई सघाउँदैन । यस्तै विचारले मैले मुठ्ठी कसेँ ।
"कमजोर पाखुराले धरतीसँग कसरी जुध्छ ?" बाले ममता मिश्रित पानी पियाउनुभयो । आमाले दानापानी बन्दको घाेषणा गर्नुभयो । जवाफमा ममता बाहिर धपाएर भन्नुभयो; "हतियार बनाउन फलाम तातोरातो बन्नैपर्छ ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++
८. लघुकथा- आमा -राजकुमार कार्की
कटारी-१ उदयपुर
"आज पनि रित्तो हात आयौ हैन ।कति दिन भयो एउटा हार बनाई देऊ भनेको?"
घरमा दिनेश पस्नसाथ गरिमाले आक्रोश पोखी।दिनेश केही नबोली आफ्नो कोठामा पसेर कपडा बदल्न लाग्यो।गरिमा भने अझै लट्टे पट्के झैँ पट्की रहेकी थिई।
"बाबु! मेरो चस्माको सिसा आज पनि फेरिनस् है।"भन्दै बुवा पनि गुनासाका पोकाहरू खोतल्न लाग्नुभयो।
दिनेश घरायसी टन्टा र अफिसको कार्यबोझले थकित हुँदै ओछ्यानमा पल्टिन्छ ।अनि सोच्छ ;कति मतलबी हुन्छन् मानिसहरू? थाकेको छु ;भोकाएको छु कोही सोध्दैनन् भोकाइस् होला भनेर।उल्टो गुनासाहरू तेर्साएर सताउँछन्।
यस्तै धेरै सोच्दै लोलाउन के आँटेको हुन्छ ।उसलाई कसैको प्यारो स्पर्श भए जस्तो लाग्छ।गरिमाको चेपारे माया हो भन्ठानेर अझ दाह्रा किट्छ र कोल्टे फर्किन्छ।।
छोराको निदारको पसिना पुछ्दै दिनेशकी आमा भन्दै थिईन्,"बाबु उठ भोकायौ होला यी तिम्रो लागि मैले चाम्रे बनाएको छु।"
समाप्त २०८०/१/१/
+++
९. लघुकथा- सञ्चय -गरिमा आचार्य
"दिनेशजी, सुन्नुस् त !" एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो ।
ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियोे । कारण बुझ्न नसकेर दिनेश हैरान थियोे ।
दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो ।
यतिबेला भने उसको साथी भन्दै थियोे, "तिमीहरू बढता बाेलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।"
बिउँझदा त दिनेश रुखमुनि थियोे । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।
२०८०/०१/०१ बेलका २, उदयपुर । हाल- गोलबजार ४, सिरहा, मधेस प्रदेश, नेपाल ।
+++++
+++
१०. लघुकथा : उदय -तुलसी पण्डित
कति निस्वार्थ भावना । उसैको लागि आत्मा । आफ्नो आधा पेट । उसैलाई राम्रो बनाउन पाउँदा आत्मा सन्तुष्टि । मुख बार्ने देखि मीठो खान प्रतिबन्ध । हो आमाको त्यागले छोरो साने हुर्कियो । उसमा उमङ्ग फैलियो । जोशजागर आयो । कल्तुहलता बढ्यो । उसले सोच्यो । ममा यो तरङ्ग ल्याउने आमा हुन् । उहाँको देनले मैले सबै कुरा पाएँ । बरु उहाँलाई कसले साथ दिएको छ । उहाँले मलाई कसरी हुर्काउनु भयो । उहाँ त मेरो रेखदेखमा घर मात्र हुनुहुन्छ । कतै गएको देख्दिन । मलाई खुवाउने पढाउने साथै कपडा कसरी आयो । विरामी हुदा औषधी मूलो कसरी गर्नु भयो । उसले सबै कारण खोज्यो । पत्ता लगाउन सकेन । उसले आमालाई भन्यो । "आमा तपाईले मेरो जीवन बनाउन ठूलो त्याग गर्नु भयो । जसले म सक्षम युवक भएँ । बरु हजुरले मलाई आवश्यक सबै कुरा कसरी पुर्याउनु भयो । काम गर्न गएको देख्दिन ?" "ल हेर तँ पेटमा छदा तेरै लागि बाबा विदेश जानु भएको थियो । अैले सम्म घर आउनु भएको छैन ।" ऊ अन्कनायो । " छोराछोरी बयस्क बनाउन बाबुआमाको त्याग शक्ति ठूलै हुने रहेछ । एकको अभावमा बच्चाको उदयको कल्पना गर्नै न सकिने ।"
+++
११. लघुकथा- साली -कामना आचार्य
"तिम्रो गाम कहाँ हो, नानी ?" प्रहरीले सोध्यो ।
भर्खरै एसइईको हलबाट निस्कँदै गर्दा सुनेको प्रश्नको जवाफ नदिने विचारमा थिएँ । फेरि प्रश्न दाेहोरियो ।
"उदयपुर !" छोटो उत्तर दिएर उम्कन खोज्दै थिएँ ।
उसले नातो लगाउँदै भन्यो;"उसो भए साली परेछ्यौ तिमी त !"
"हो, हो उदयपुर घर भएका सारा केटीहरू पुलिसकै साली हुन् नि !" मेरो आक्रोश सुनेर उसले अनुहार रातोपिरो बनायो ।
छुट्टिँदाछुट्टिँदै उसले भन्यो; "मेरो ससुराली गाउँ उदयपुर नै हो ।"
२०८०/०१/०१ बेलका २, उदयपुर । हाल- गोलबजार ४, सिरहा, मधेस प्रदेश, नेपाल ।
+++++
१२. लघुकथा- नयाँ वर्ष -अक्षान्त
"सधैं किचलो झिकेर गिदी खानुहुन्छ ।" वीरेको आनीबानीले कटाक्ष भेट्यो विमलाबाट । पहिले तिलको पहाड बनाउँथ्यो वीरे । अहिले भने विल्कुलै शान्त थियोे । एकाएक परिवर्तन आएकोमा सन्नाटा छायो ।
संसारका सामु मिलेका जोईपोइ थिए । आन्तरिक रूपमा रहस्यमय जोडी थिए । आँखा सामु एकले अर्कोलाई गन्दैनथ्यो । ओझलमा रानो हराएको मौरी हुन्थे । उनीहरू आपसमा नचिनिई जीवन घिसार्थे ।
एक्कासी विमलालाई उखपात हुन थाल्यो । उनी पतिलाई कोट्याईकोट्याई बोलाउन थालिन्- "एकाएक मान्छेले विल्कुलै परिवर्तन हुनुहुन्न ।" पतिको मौनताले कष्टकर अवस्था आयो । सधैंको बकबके बानी विमलामा सर्यो ।
वीरेको मन भने मुस्कुराइरहेको थियोे । विमलाको चाहिँ भतभती पोलिरहेको थियोे । वीरे अथाह आनन्दमा पौडदै थियोे । बाहिर अनेक भित्र एक थिए । केहीबेरमै विमलाका आँखाले बाँध फुटायो ।
आँसुले वीरेको शान्ति भङ्ग गर्यो । विमलाको नाजुक हालत असह्य भयो । उनलाई आफूतिर तानेर पाखुरी सुम्सुम्यायो । अनि गाला पुछ्दै वीरेले थप्यो; "नयाँ वर्षदेखि नयाँ काम थालेको ।"
२०८०/०१/०१ सिर्जनाकुटी, सिरहा ।
+++
१३. लघुकथा- शोक र भोक -डा. गणेशप्रसाद भट्टराई
“दाजु π आमा बिरामी पर्नुभयो । ठुलेलाई बोलाइदे भन्नुहुन्छ । गारो हुन्छ कि क्या हो दाजुभाउजू नै मिलाएर घर आउनुपर्ने भो दाजु ।” रञ्जनले अत्तालिँदै अस्ट्रेलियामा रहेका दाजुलाई फोन गर्यो ।
“हैन यति राती किन फोन गरेको ? बिहान गरे हुन्न ? निद्रा नै बिग्रियो ।” दाजुको आवाज रञ्जनको कानमा मात्र पर्यो । अरु उत्तरको प्रतीक्षामा थिए । कुनामा लडिरहेकी आमामा पनि आशाचेत चलमलायो ।
अलिक राम्रो सुनिएन भन्दै रञ्जन बाहिर निस्कियो तर फोन बाहिर पनि मधुरो आवाज चाहिँ सुनिँदै थियो ।
“आमा बिरामी भएकाले मैले त समय पनि ख्याल गरिनछु । सरी दाजु । तर आमा निकै सारो हुनुहुन्छ । डाक्टरले पनि अब आफ्नो धर्मकर्म गर्नु भनेका छन् । गोरु र भैँसी बेचेर यतिसम्म त खर्च टारियो । अब त मलाई पनि ....।”
“अनि के गर्ने त ? म सधैँ पैसा पठाउन सक्छु र ? अस्तिको दश हजार के गरिस् ? मेरो छुट्टी मिल्दैन अहिले । फेरि छुट्टीमा तस्मानियाँ घुम्न जाने भनेकी छन् भाउजूले । आ ... केही हुन्न आमालाई । बुढेसकालको रोग हो, दुईचार दिनमा ठिक हुन्छ । तँ छँदै छस् नि त्यहाँ । राख् अहिले फोन ।”
“हस् ।”
रञ्जन भित्र पस्यो । दाजुले के भन्यो भन्ने प्रश्नमा उसले आमाले समेत सुन्ने गरी भन्यो, “आमा दाजुभाउजू भोलि नै हिँड्ने रे । तपाईँलाई सहर लगेर राम्रो डाक्टरलाई देखाउन डाक्टरसँग कुरा गर्नुभएको छ रे । मआजै पैसा पठाइदिन्छु, हवाईजहाजको टिकट काटिराख्नू भन्नुभएको छ ।”
आमाले अस्पष्ट स्वरमा “मेरो छोरो π” भन्नुभयो । क्यान्सरको पीडा सहेकी उहाँले आज अलिकति दालको झोल पनि खानुभयो ।
आमालाई सारो हुँदै गयो । रञ्जनले पनि दिनहुँ झैँ फोन गरिरह्यो । दाजुका उत्तरमा सहानुभूतिको कठोरपन थपिँदै गयो ।
एक दिन सबै गाउँले भेला भएर आमाको अवस्था गम्भीर भएको ठानी आँगनमा निकाले । धार्मिक संस्कार सुरु भयो । आमा चलमलाउन छाड्नुभयो । यति नै बेला ठुले टुप्लुक्क देखियो । जेठो छोरो आइपुगेकामा खैलाबैला भयो । राम्रा नराम्रा कुरा गानगुन भए ।
ठुले आमाका छेउतिर लाग्दै थियो, आमाले आँखा उघारिन् र ठुलेतिर हेरिन् । उनले लरबरिएको स्वरमा भनिन्, “यो परदेशमा रमायो, कमायो र भोकायो पनि होला । मिठो नभए पहिले पेट भरेर आइज बाबु । यसलाई केही देओ ।”
आमाले पुनः आँखा चिम्लिन् र कहिल्यै उघारिनन् । रञ्जनले आमाको हात समाएर डाँको छाड्यो । (२०८० । ०१। ०१)
कन्याम, इलाम
९८४१३७१६६५
gpbkanyam@ yahoo.com
+++
१४. लघुकथाः मातातिर्थ औंशी -रुद्र अधिकारी
“आमा ! ढोग गरे ! सन्चै छ हजुरहरुलाई?” बिदेशबाट छोरोले फोनमा सोध्यो।
“ए कान्छो पो ! भग्यमानी भएस-बाबु , के हुनु ? अस्ताउन आटेको जुन” आमाले जबाफ दिईन ।
के भन्नु भएको आमाले? ६३ बर्ष त पुग्नु भयो ! यहॅा ६५ बर्षकी बुढी म संगै काम गर्छे ।
“खै ! आफूले न बिदेश देखेको छ, न बिदेशका मान्छे ! “
“अब देख्नुहुन्छ आमा । म भिसाको चाजो-पाजो मिलाउदै छु । यसपालीको मातातिर्थ औंशीमा जसरी पनि अमेरीका आउनुपर्छ। हामीलाई पनि नेपाल आउन मन नभएको कहा हो र? खर्च धेरै लाग्छ । हाम्रो काममा, केटा-केटीको स्कुलमा- छुट्टी मिलाउन गर्हो छ। बरु हजुरहरुको त्यहा बित्दो पनि केहि छैन, यता आएपछि सबैसंग भेट-घाट पनि भईहाल्छ, बिदेश पनि घुमिन्छ“
छोरोको कुराले आमाको चित्त बुझेन छ । आमाले झोक्किदै भनिन-“आमाको मुख हेर्ने दिन- मातातिर्थ औंशीमा छोरा-छोरीले आउनु पर्ने हो की आमा-बाबुले आफै मुख देखाउन जानु पर्ने हो? आमा सम्झेर आउछस भने आईज, अमेरीका न समेरीका हामी चै मुख देखाउन खोजि-खोजि जादैनौं ।
रुद्र अधिकारी ईटहरी, सुनसरी हालः लन्डन-बेलायत
+++
१५. लघुकथा- पितृ -राेशन पराजुली
अतिथि देवाे भव:!
झिसमिसेमै घरकाे आँगनमा दुइ छाँया उभिएका थिए।
बाहिर बत्तिकाे प्रकास पाेलवाट रुद्राक्षेकाे हाँगा हुँदै छाँया देखिए! दुई आकृतिले दैलाे चियाइरहेका थिए।
रातभरिकाे निदलाई आनन्द दिएर म आँखा चिम्लिदै शरिरकाे विकार विसर्जनमा हताराे थिए।
आग्लाे निकालेर ढाेका घर्याक्क गर्दै बाहिरि निस्कए।
अन्यासै निन्याउराे आँखा छाँयामा पर्याे।
भित्रैबाट दुई आकृति देखेर मेरा हंशले ठाउँ छाड्दा तुरुक्क तुर्कियाे।
शुरुवाल सवै भिजे ।
डर पनि अनौठाे लाग्याे थर्रर्र शरीर कम्पायन भएर आयाे र दिदिलाई डाके !
"कान्छि"!
हेर त,"कस्ताे डरलाग्दाे छायाँ"रुखतिर ओैला तेर्साए!
खै!
केही छैन् ,"नचाहिने कुरा गर्छ विहान विहानै"!
"म चाहिँ घुम्न हिडे",भन्दै दिदी त्यहि छाँया हुँदै गेट खाेलेर बाहिर निस्केर गई।
म अझै मुक भएर हेर्या हेर्यै थिए।
अनायसै कानमा आवाज गुन्जियाे।
"बाबू आज ओैषि","हामी तिमिहरुलाई सम्झाउन आएका हौ।"
०२/०१/२०८०, बरगाछी,धरान।
+++
१६. लघुकथा- ब्यवस्थापन -हिरनमयी आचार्य शर्मा
गुवाहाटी , असम।
" बढिपिता,आरमै हुनु हुन्छ । " भन्दै फोनमा सोध्यो उसले । बढिपिता उसको बुबाको साथी हुन् । बुबाले आफ्नो साथी उमेरमा ठुलो हुनाले "बढिपिता" भनेर सम्बोधन गर्नु भन्नु भएको थियो । हजुरआमा बिरामी भएर बितेको वर्ष दिन पछि कलिलै उमेरमा बाध्यतामा परेर बुबाले बिहे गर्नु पर्यो !
" आहा कति समय पछि सम्झना आएछ त । साह्रै खुशी लाग्यो । भन के छ खबर बाबु ? " बढिपिताले पनि सोध्नु भयो । " ठिकै छ हाम्रो । दुबैजना ब्यस्त छौँ । फुर्सद पनि हुँदैन । अर्को वर्ष छोरा र छोरी बिदेश जाने रे पढन् । " उसले भन्यो ।
"कति छिटो बिदेश पठाउँन आँटेऊ त !! "कहिले आउने होऊ यता र ? बुबाले पनि न्यास्रो मान्नु भएको छ । " हो हो , के गर्ने भनेको बेलामा फुत्किन पनि सकिनदैन । आउन त मन थियो । यही विषयमा हजुरसँग सल्लाह गरौँ भनेर फोन गरेको । " उसले भन्यो । " भन न कस्तो सल्लाह होला । " बढिपिताले सोध्नु भयो । " घुम्नको निम्ति बुबा आउँन खोज्नु हुन्छ तर फेरी पन्द्रह दिन नपुग्दै गाउँ पुराई देऊ भन्न थाल्नुहुन्छ , समयमा बिदा मिलाउन साह्रै हुन्छ मलाई बढिपिता !! बुबालाई त्यतै व्यबस्थित गर्नु पर्यो । " उसले भन्यो । कस्तो व्यवस्था गर्ने त ? " " कोहि असहाय , विदुवा बिहे गर्न इच्छुक छन् भने , बुबालाई बिहे गर्नु भनेर भन्नु होस् , हजुरले बढिपिता, बिन्ति गरेँ !!
+++
१७. लघुकथा- भाग्यमानी -गङ्गा आचार्य सापकोटा
काम सिध्याइसकेपछि घर जाने बेलामा कमलीले मालिक्नीतर्फ हेर्दै भनी।`` दुई दिन छुट्टी दिनुहोस् न है ।भोलि आमाको मुख हेर्ने दिन हो।बुढा भएका आमाबा छन्। भेट्न नगए चित्त दुखाउँलान्, रोलान् ।´´
सानैमा टुहुरी भएकी मालिक्नीको हृदय आमाबा भन्ने शब्द सुन्ने बित्तिकै रसायो। उनले कमलीको मुहारमा एकटकले हेरिन् ।खै के सोचिन् अनि खल्तीबाट केही पैसा झिकेर उसको हातमा थमाउँदै भनिन् ।`` जाऊ जाऊ,मेरो तर्फबाट पनि आमाबालाई अलिकति फलफूल लगिदिनू ल।´´
कमलीको मुहार एकाएक उज्यालो भयो। ऊ फुरुङ्ग पर्दै आफ्नो घरतर्फ लागी ।मालिक्नीले उसलाई देखुन्जेल परसम्म हेरिन् र झिनो स्वरमा भनिन् ।
``कमली तँ संसारकै भाग्यमानी रहिछस्।´´
बागलुङ
हाल- काठमाडौं
+++
१८. लघुकथा- मातृप्रेम -पं. ज्यो. तोयनाथ सुवेदी
ओखल्ढुङ्गा हाल:हेटौंडा-८,कमाने,मकवानपुर ।
भक्ति सानो छँदा बहिनी लिंदै आमाले आफूलाई छोडेर हिडिन्। कहाँ गइन् पत्ता भएन।ऊ माइलाबा र ठूलोबा कहाँ
दु:खजेलो गरेर हुर्कियो।
ऊ बिस्तारै विद्यालय जानथाल्यो।पढ्दै जाँदा विद्यालयइय
शिक्षा हाँसिल गर्यो ।विदेशिएका बुवा पछि आइपुग्नु भयो।
छोराले बुवाको प्रत्यक्ष विवाह हेर्ने अवसर पायो।
समय बित्दै जाँदा ऊ घर छोडेर पढ्नका लागि शहर गयो।
शहरमा बस्दै गर्दा आफूलाई जन्मदिने आमा हेटौंडा आएकी
छन् भन्ने थाहा भयो।खोज्दै जाने क्रममा बसबाट ऊ बसपार्कमा
ओर्लियो।सम्पूर्ण पसल चहार्दै सोध्दै गर्दा चियापसल छ भन्ने
कुरा पत्ता लगायो।
एक्कासी देखादेख हुँदा उनले आफ्नो छोरालाई चिने पनि
नचिने जस्तो गरिन् ।उसले भन्यो ' तपाईं मेरी आमा हुनुहुन्छ।जन्मदिने आमा! खै दण्डवत् गरौ।'महिलालेभनिन्,"तिमी को हौ?" 'म तपाइँको छोरो भक्ति क्या ' । अहँ मेरा त छोरा छोरी
नै भएका छैनन् ? बिहा गरेको त एक वर्ष भयो। कहाँ
तिमी मलाई के के ... भन्छौ? तपाईंले मलाई नचिने पनि म त
तपाईंलाई राम्ररी चिन्छु नि...। मातृवात्सल्य मेटिन्न आमा टाढा
भए पनि ..भन्दै ऊ अलप भयो।। समाप्त।।
२०८०/०१/०४रोज ०२
+++
१९. लघुकथा: अन्तिम प्रतीक्षा -उमेश कार्की
मान्छेको जस्तो आकृति मात्रै तर मान्छे होइन। निर्जन- निरब- निशा प्रिय ऊ,भाग्दै- लुक्दै- छेलिदै चौबाटोमा पुगेर रोकियो जहाँ समयले दिशा निर्देश गरेको थियो।
" को हौ? कहाँ जाने? र किन?" समयले प्रश्न तेर्स्यायो।
"म... म लाज! दुनियाँको सर्वश्रेष्ठ सभ्यता छोडेर अन्त कतै जान लागेको, लाजले भन्यो ।"
" लाज लाजले भागेको .....? हा.. हा.. हा" समयको अट्टहाँसले ऊ झस्कियो। एकछिन पछि बिस्तारै बोल्यो-" अनि म के गरूँ? मान्छेमा म अट्ने ठाउँ नै छैन।"
उसले समयको आँखामा जवाफ खोज्यो तर आँखा रित्ता थिए।
" म सृष्टिको सुरुवात देखि नै यहीँ छु। धेरै चिजहरु आए- गए।इच्छा ,चाहाना, ज्ञान बुद्दी, शक्ति ,सामर्थ्य लोभ, मोह, घमण्ड सबै.... सबै आए। जानेहरु नि गइरहेका छन् । भर्खरै सभ्यता,शिष्टता,नैतिकता ,मानवता यहीँबाट गए।अब तिम्रो पालो। जाऊ जाऊ..। म पो कुर्दै- कुराउदैँ एक्लै....!"
संसारमा सबैभन्दा आफू बेचैन महसुस गरेको लाजले आफुभन्दा नि समय बेचैन देखेर समयको काँधमा थप्थपाउदै ऊ बोल्यो- " प्रकृतिको सुन्दर र उर्वर आयामलाई मान्छेले कुरुप र जर्जर बनायो।यसर्थ कथित श्रेष्ठ सभ्यताको सर्वनास सन्निकट छ अर्थात अर्को चक्र शुभारम्भ।जसले तिमीलाई र तिमीले उसलाई गरेको अन्तिम प्रतीक्षा हो । त्यसपछी तिमी पनि सायद।......."
" मेरो अन्तिम प्रतीक्षा तिमी हामी अट्न सक्ने समुन्नत सभ्यता हो, सर्वनास होइन।भागेर के समस्याको समाधान हुन्छ र?
समाप्त
खाँदबारी ७ संखुवासभा
+++
२०. लघुकथा- एक्लोपन -रमेश सुबेदी
ललितपुर - वार्ड नं.१३, कुसुन्ती ।
जवानीमा कमाउ र सन्चित गर, सन्तान सुख खोज, आफुले भन्दा पहिले परिवारको खुशी खोज्दै तिन बिस काटियो । दैबको लेखा नभोगी सुख छैन, बुढिले छोडे पछि छोरा बुहारीको खटन सहनै परेको छ ।
सासुले गर्दै आएको सम्पुर्ण काम बुहारीको काँधमा आए पछि, छोरा भन्दै छ, ससुरा सामु दैनिक धोती लगाएर काम गर्न अफ्टेरो भो रे ! बुढो मान्छेले खोकेरै हैरान, फोहोर त्यतिकै छ । अब देखि हजुर तल ग्यारेजमा सर्नु पर्यो ।
उनिहरुकै सुखको लागि चुपचाप एकल जिवनको स्वाद चाख्दै जिन्दगीलाई नजिक बाट नियाली रहेको छु । दुई तिन हप्ता बिते, खासै वास्ता गरेनन्, आफैं रमाउन ब्यस्त भए । बाह्र/पन्ध्र दिन घुमेर आउँछौं भन्दै काम गर्नेको भरमा छोडेर हिँडे । मन रोयो, आत्माले भन्यो केहि त गरे हुन्छ नि ! यत्रो श्रीसम्पती कस्को लागि जोडेको ? आखिरी अबस्थामा काम लाग्ला कि नलाग्ला, आफ्नै दैनिकीलाई सोध !! झोक चल्यो...!!!
घरको मुल ढोका बाहिर भुसतिघ्रे गार्डले भित्र पस्न नदिए पछि अचम्म मान्यो । बाउको फोनमा सम्पर्क हुन सकेन भन्ने सुन्यो । त्यो देखेर गार्डले आफ्नु फोन बाट बाउसङ्ग कुरा गरायो, र प्रतिक्षा गर्यो ।
सरर कारमा आएको बाबुले घर बिक्रि गरेर आफु अर्कै घर किनेर गएको, उस्को लागि एपार्टमेण्टमा एक बर्षको भाडा तिरि दिएको भन्दै साँचो बुझाएर आफ्नु गन्तब्य लागेको छोरोले हेरि रह्यो...।
२०८०-१-४
+++
No comments:
Post a Comment