लघुकथा– मुर्दा
‘म बल्लतल्ल बाँचेर आएँ बा, तपाईंको शिर किन झुकेको !’ उमेशको कुरा सुनेर बाले नाकमुख थुने । छिःछिः थुथु गरे । आँखामा टिलपिल आँसु बनाए । घोसे मुन्टो लगाएर आँखाको आँसु र निधारको पसिना एकसाथ पुछे ।
‘त्यही कोसीको गर्भमा बिलाएको भए म गर्वले छाती फुलाउँथेँ । साथीसँगीसँग पौँठेजोरी खेल्ने तागत भेट्थेँ । आगामी पुस्ताको अनुहारभरि लालुपाते मुस्कुराएको कल्पनाले मलाई कालकहाँ हाजिर हुन सजिलो हुन्थ्यो ।’ बाले एकोहोरो फलाके ।
अघिसम्म बाँच्न पाएकोमा युद्ध जितेर आएको ठान्ने उमेश बाको दयनीय हालत देखेर निराश भयो ।
त्यही मौकामा बाले थपे– जवान छोराको असामयिक मृत्युलाई साठी कटेको कुन बाउले पचाउला ?
आफू बाँचेकोमा बालाई मरेको आभास हुँदा उमेशको खुन उम्लियो– बुहारी लेर आ भन्नुभो । ऊ मसँगै आउँदै थी । घाटमा उसका मान्छेले घेरेर मलाई उर्लंदो कोसीमा फाल्दिए । उसलाई पिँजडामा हाले । चार किमि उँधो झरेर म बल्लतल्ल कोसी तर्न सफल भएँ । मैले कहाँ बिराएँ, बा ?
‘तेरी आमालाई ल्याउँदा मलाई मारेर फालेका थिए । भोलिपल्ट बाँचेर तेरी आमाको सिउँदो हाकाहाकी रंगाएर घरमा भित्र्याएँ ।’ बाले बिगत सम्झँदै भने ।
‘ऊ पनि मसँगै आउन कोसीमा हाम्फाल्न खोज्दै थिई । क्षेत्रीकी छोरी कमिनी बन्छेस् भन्दै उसलाई पनि झापड लगाए ।’ उमेशले रुन्चे स्वरमा भन्यो ।
‘एउटा त्यागीले सास बन्द गर्नु बाँच्नु हो । अर्को स्वार्थीले सास फेर्नु मर्नु हो ।’ बाले यसो भन्दा पनि उमेशले मुखमा ताला झुन्ड्याइरहेको देखेर थपे; ‘तेरो सासमा जात गन्हाएर खपिनसक्नुभयो मलाई ।’
उमेर पुगेको उमेशले कानुनीको ठेली उल्टाउन छाडी उहिल्यै मरेकी आमाको फोटो कोट्याउन पुग्यो । बाले आफैँसँग गथासो पोखे– एउटा छोरो थियो त्यो पनि सास फेर्ने मुर्दा भए पछि म संसारमा एक्लो भएँ ।
०००
No comments:
Post a Comment