८. साहित्यकार कुञ्जदेवी उपाध्यायको रोजाइका पाँच लघुकथा २०८० असार १९ गते, ६२३ भाग । संयोजक- खगेन्द्र बस्याल
साहित्यकार कुञ्जदेवी उपाध्यायको रोजाइका पाँच लघुकथा
------------------------------------
सम्पूर्ण साहित्यप्रेमीहरूमा नमस्कार । अहिले रातको ७ः३० बजिसकेको छ । यो समय हो लघुकथा प्रतिष्ठानको मङ्गलबारे साप्ताहिक कार्यक्रम– रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रम । आजको प्रस्तोता म हुँ– लक्ष्मी रिजाल । कार्यक्रमको सहजीकरणमा नन्दलाल आचार्यले सघाउँदै आउनुभएको छ ।
यस कार्यक्रमको संयोजकमा खगेन्द्र बस्याल रहनुभएको छ । व्यवस्थापकीय सक्रियतामा मनोहर पोखरेल र नन्दलाल आचार्य रहनुभएको छ । बेलाबेलामा लघुकथा विमर्शमा खगेन्द्र बस्याल, रमेन्द्र कोइराला, मनोहर पोखरेल, निरज कोइराला, ललिता झा, अम्बिका बास्तोला लगायतका महानुभाव हुनुहुन्छ । यस कार्यक्रमको प्रशारण फेसबुक लाइभमा हुन्छ । रेकर्ड भएको भिडियो र अन्य गतिविधिहरु युटुभ च्यानलमा पनि सुरक्षित रहन्छ । त्यस कारण लघुकथा प्रतिष्ठानका हरेक कार्यक्रम आजका लागि मात्रै नभई भोलिका लागि पनि हो भनी बुझिदिन सादर निवेदन छ ।
कुञ्जदेवी उपाध्यायको रोजाइका लघुकथा प्रस्तुतीकरण कार्यक्रममा समाविष्ट लघुकथाक्रम यस्तो छ–
१. पहिलो लघुकथा : भगवतीको फिर्ती -राजेश भट्टराई
२) दोश्रो लघुकथा- नमस्कार -लक्ष्मी रिजाल
३) तेस्रो लघुकथा : अामाकाे तर्क -बिष्णु उप्रेती
४) चौथो लघुकथा : पाप -तुलसी पण्डित
५) पाँचौ लघुकथा : अन्तिम सजाय-अन्जु शर्मा
६. लघुकथा: तीर्थ -गंगा खड्का
++++
१. कुञ्जदेवी उपाध्यायको रोजाइमा परेको पहिलो लघुकथा- भगवतीको फिर्ती -राजेश भट्टराई
"आफुहरुले, आफु बस्ने दुईटा कोठा मात्र जोडेर, अरु सबै बाउआमाले जोडिदिएको सम्पत्ति लुडाएर बस्नी, अझ आमालाई हेला गर्नी।पाप धर्मको पनि ख्याल छैन?" भन्दै माधवकी दिदीले आमालाई लिएर गईन्।
उसलाई चित्त दुख्यो।तर श्रीमती भन्दै थिइन् "कति दिन राख्न सक्ने रैछिन्, हेरुँला म पनि।म बुहारी भएर पो सहन बाध्य भए।ज्वाईले नाति नातिनाले कत्तिको सहदा रैछन्"।
एकदिन उसको मोबाइलको घण्टी बज्यो,आमाले गर्नुभएको "बाबु मलाई घरै लैजा, तेरी दिदीले वृद्धा आश्रममा लगेर राख्ने भन्छे"।झसङ्ग हुँदै भन्यो "के भो र आमा? यहाँ त हामीलाई स्याहार गरेनौ भनेर जानु भाथ्यो।"
दिदीलाई फोन लगायो।रिसाएर प्रश्न सोध्यो।
"के भन्नु र भाइ, आमा घरमा एकछिन पनि चुप्प लागेर बस्न नसक्नी, छिमेकमा वल्लो घर र पल्लो टोल गरेर कुरा काट्दै हिँड्नी।कसैले पनि सहन सकेनन्।"
"तपाईलाई आमाको बानी थाहा थिएन र?किन लैजानु भाथ्यो त?"कडा प्रश्न तेर्सायो।
श्रीमती सँग आमालाई लिन जाने बताउँदा बम्किदै भनिन् "पर्दैन"।
उनलाई फकाउँदै भन्न थाल्यो "त्यस्तो नभन न, जे भएपनि आमा हुन, पाप लाग्छ। फेरि आमाले हामीलाई यिनीहरू बिग्रिउन, भत्किउन भनेर त सोच्नु हुन्नँ नि।आफुहरुले जस्तो दुःख गरेर सम्पत्ति जोडुन भन्ने चाहानु हुन्छ, हामीले पो गर्न सकेका छैनौ।"
"अह हुँदैन"।अस्विकार गरिन्।
"त्यस्तो नभन न, तिमीलाई थाहै छ म पत्रकार हुँ।अरुको बारेमा समाचार लेख्ने मान्छेलाई, आफ्नै बारेमा कसैले लेख्छ कि भन्ने डर हुँन लागि सक्यो।मेरो पेशागत मर्यादाको पनि ख्याल गर्देउ न।"
"ल ल ठिक छ, त्यसो भए।तर टोलमा मेरा कुरा काट्दै हिँड्न पाइने छैन।दिएको खाएर चुप्प लाएर घर बस्नु पर्ने छ।भन्दिनु होला।"
"भन्न त भनम्ला, सम्झाउँला। तर नानी देखि लागेको बानी, अहिले आएर परिवर्तन नै गराउन सक्छु भनेर कसरी भन्न सक्छु र?"
समाप्त।
सैनामैना ११,रुपन्देही हाल भरतपुर चितवन
+++
कुञ्जदेवी उपाध्याय म्याडमलाई यो लघुकथा मनपर्नु र रोज्नुको कारण यस्तो छ-
लघुकथाकार राजेश भट्टराईको यो कथा घतलाग्दो पारामा कतिपय मान्छेको स्वभावलाई कटाक्ष गर्न सक्षम भएको छ।
गाउँको परिवेशमा यस्ता किसिमका सासू हरू अहिले पनि छन्,जो घर घर घुमेर आफ्नो घरको बदनाम गर्ने गर्छन्।
छोरीहरू सधैँ आमाको पक्ष लिन्छन् तर गल्ति कस्को बुझ्न खोज्दैनन्।त्यसको परिणाम स्वरूप घर झगडा हुन्छ भन्ने शन्देश यो कथाले दिएको छ।
जता गए पनि घुरेर आफ्नै घर आउनु पर्ने कुरा पनि कथाले प्रस्ट्याएको छ।त्यसैले यो कथा मलाई साह्रै राम्रो लाग्यो।
+++
२) कुञ्जदेवी उपाध्यायको रोजाइमा परेको दोश्रो लघुकथा- नमस्कार -लक्ष्मी रिजाल
विहान रमरम अध्यारामै डुल्न निस्कँदा शिवमन्दिर बाहिर कालो मुढो देखियो ।
सोचेँ– भित्र भगवान् बस्छन् । बाहिर मुढोलाई पाले बनाएछन् ।
नजिकै पुग्दा ‘नमस्कार हजुर’ भन्ने आवाज आयो । मैले टक्क अडिएर चारैतिर नजर लगाएँ । भित्र भगवान् जडबत थिए । बाहिर त्यही कालो मुढो टुत्रुक्क खडा थियो । नजिकै नन्दी स्थिर रूपमा बसिरहेका थिए ।
म छक्क पर्दै मन्दिर परिक्रमा गर्न थालेँ । मुढो नजिक पुगेपछि फेरि उही आवाज आयो– ‘नमस्कार हजुर’ । कतै केही ठम्याइनँ । मेरो भक्तिबाट अति प्रसन्न भएर भगवान्ले पो आदरसूचक अभिवादन गरेको हो कि भन्ने भ्रममा एकै क्षण अल्झेँ । फेरि घुम्दा पनि उही आवाज आयो ।
नियालेर हेरेको त मच्छडबाट बच्न थोत्रो कालो कम्मल ओडेर सिल्भरको कचौरा थापिरहेका माग्ने बाजे पो रहेछन् जसलाई म कालो मुढो ठानिरहेकी रहेछु ।
२०७९–०३–०९ कञ्चनरूप नपा. १२ प्रगतिटोल, रूपनगर, सप्तरी ।
+++
कुञ्जदेवी उपाध्याय म्याडमलाई यो लघुकथा मनपर्नु र रोज्नुको कारण यस्तो छ-
लघुकथाकार लक्ष्मी रिजालको लघुकथा "नमस्कार" एउटा रोचक कथा मानिन्छ।
आस्था र विश्वासमा भगवानको अस्तित्व जिउँदो हुन्छ भन्ने सुन्दर बर्णन कथाले गरेको छ। बिहानै मन्दिर सामु बसेर सधैँ प्रार्थना गर्ने भिखारी एक पेट अन्नको लागि हात पसार्छ। भित्र भगवान निर्जीव छन् भनेर उनी भन्न चाहन्छिन् जतिनै प्रार्थना गरे पनि कर्म नगरि पेट भरिदैन।
आफ्नो भक्तिलाई सर्बोच्च प्राथमिकता दिँदै भोक प्यासले जब भी सकेको मांगने बुढोमा भगवान खोज्ने कथाकारको भगवान माथिको आस्था सरहनीय छ ।हो ,भगवान एक बिश्वाश हो जसले आजपनि धेरै अनैतिक कार्यबाट मान्छेलाई बचाएर राखेको छ।
एक बिपरित धाराको यो कथाले मान्छेलाई भक्तिको मार्ग देखाउँछ भन्ने आशा राख्न सकिन्छ। बधाई तथा शुभकामना छ कथाकार लक्ष्मी रिजाललाई
+++
३) कुञ्जदेवी उपाध्यायको रोजाइमा परेको तेस्रो लघुकथा : अामाकाे तर्क -बिष्णु उप्रेती
"- अामा, अाज हजुर अलि ढिलाे गरि अाउनु भयाे नी? अनि ल्याउनु भयाे त बुद्ध भत्ताकाे पैसा?"" तुलसा घरमा अाई पुग्ना साथ छाेराछाेरीले साेधे।
पैसा ल्याएँ नी।अलि भिड रहेछ तेसैलेकेही ढिला भयाे।"
" कति पाउनु भयाे ,देखाउनु त?"छाेरीले साेधी।
अामा अलि अक्मकिदै हड्बडाउन,थालिन् ।याे देखेर छाेराले भन्याे
-" पैसा देखाउनु पर्दैन अामा । हामीले थाहा पाई सक्यौं । हजुरले पैसा मानबाहादरलाई बाटैमा दिएर अाउनु भयाे। अनि अामा, सरकारले याे जेष्ठ नागरिक भत्ता, हजुरलाई बाटैमा बाँड्न भनेर दिएकाे पनि हैन त। फेरि जसले हाम्राे परिवारलाई जीवनभर राम्राे भनेन,साेशक ,सामन्ती भनिरह्याे। तेसै बैगुनीलाई दिएर अाउनु
भयाे । अलि कस्तो कस्ताे लागेन?
छाेराकाे कुरा सुनेपछि , तुलसाले अलिक राताे अनुहार लाउँदै भनिन्--" तिमीहरूले जे सुन्यौं ठिक सुन्यौं । हाे मैले अाज पाएकाे बृद्धभत्ता , मानबाहादुरलाई दिएर अाएँ।उसकी स्वास्नी सुत्केरी बेथाले छट्पटाई रहेकी रहिछ। अस्पताल लाने पैसा न भएर उ ब्याकुल थियाे।तेसैलेमैले उसकाे उद्दार गरें,।मलाई सन्तुष्टि भयाे
मेरा बुढाको पेन्सन अाउछ।तिमीहरू लाखौं कमाउछौ। अभाव केहिछैन। घरकाे खर्च गर्न भाडा उठ्छ।अनि मलाई याे बृद्धभत्ता किनचाहिएको छ र।
अनि अर्काे कुरा सुन,- याे मानवीय सम्बेदनशीलतामा
गुनी बैगुनी छुट्याउनु मानवता हैन।जाे बैगुनी छ उसैलाई गुनले छाेप्नु पर्छ।याे मेराे सिद्धान्त हाे बुझ्यौ? अनि अन्त्यमा - मेराे बृद्धभत्तामा अाईन्दा चासाे गर्नेे तिमीहरू कसैलाई हक छैन।
२०८०/०२/०३
सृजनानगर भक्तपुर
+++
कुञ्जदेवी उपाध्याय म्याडमलाई यो लघुकथा मनपर्नु र रोज्नुको कारण यस्तो छ-
बिष्णु उप्रेती ज्यूको कथा" आमाको तर्क " एउटा मिठो सक्रिय कथा भन्न सकिन्छ। बैगुनीलाई गुणले मार्नु पर्छ भन्ने सन्देश बोकेको कथामा आफ्नो बृद्ध भत्ता एउटा गरीब मानिसलाई सहायता गरेर खुशी भएको कुरा पाइन्छ।
छोरा छोरी ठुला भए पछि उनीहरू सँग पनि डराउनु पर्छ भन्ने कुरा पनि कथाले भन्न खोजेको देखिन्छ। त्यसैले बृद्ध आमा बाटैमा पैसा मानबहादुरलाई दिएर खालि हात घर आउँछिन्। सुत्केरीको ज्यान बचाउन उनी आफ्नो पुरानो शत्रु भए पनि मानबहादुरलाई सहायता गरेर प्रशन्न हुँदै भन्छिन् मानवीय धर्म पालन गर्दा गुणी बैगुणी शत्रु मित्र हेरेर हैन समयको मांग हेरेर पालन गर्नु पर्छ।
+++
४) कुञ्जदेवी उपाध्यायको रोजाइमा परेको चौथो लघुकथा : पाप -तुलसी पण्डित
ऊ गर्ज्यो । भित्तामा दृष्टि फाल्यो । ऊ मुसुक्क हाँस्यो । भगवान यो वैभव हजुरको कृपा हो । त्यसैले म सधैं तिमी माथि नजर लगाउँछु । हुनत तिमी र म मा केही फरक छैन । म अहिले सबैको हाइहाइ भएको छु । सबै मेरो शानमा जिब्रो टोक्छन् । सबै म सँग डराउँछन् । अब भुटानी शणनार्थी हैन तिव्बति शणनार्थी पूरा गर्नु छ । यसमा सफल भएँ तिमीलाई भित्तामा होइन छातिमा टासेर हिड्नेछु ।
क्षणभरमा ढोका फोरेको आवाज आयो । ऊ आत्तियो । उसले भन्यो । "मेरो शान शौकात देखेर डर लाग्दैन । फेरि बढपन देखाए सदाको लागि अस्त हुनेछौ ?" "तिमीले देशको सारा चिज बेच्यौ । केही राखेनौ । त्यतिले पनि न पुगेर अब जन बेच्न थाल्यौ ।" " हैन यो बढी भयो । म सँग पैसा छ । मेरो चुट्कीको भरमा तिमीहरु सखाप हुनेछौ ।" " अब अति भयो । ल हत्कडी । हिड हामी सँग कालकोठरीमा । ऊ निरास भयो । भगवानलाई अनुरोध गर्यो । "जोगाउँ ।" जवाफ पायो । "घडा भरियो । पाप कुर्लियो । अब ठाउँ छैन ।"
+++
कुञ्जदेवी उपाध्याय म्याडमलाई यो लघुकथा मनपर्नु र रोज्नुको कारण यस्तो छ-
तुलसी पण्डितको लघुकथा "पाप "एउटा सुन्दर सन्देसमुलक लघुकथा हो। पाप गरेर कमाएको धन भोग गर्न पाउँदैन भन्ने ज्ञान दिने कोशिस गरेको छ कथाले। देश बेचेर धनी सम्पत्तिको पहाड पारे पनि जतिबेला पापको घडा भरिन्छ त्यतिबेला कसैले पनि बचाउन सक्दैन।कु- कर्मको कु- फल भोग्नै पर्छ।हातमा पावर हुँदा जे पनि गर्न पाइन्छ भन्ने गलत सोच राखेर नागरिक तस्करी गर्ने हरूलाई चेतावनी दिएका कथाले कथाकारको निर्मल भावनाको परिचय दिएको छ। अधिक अपराध भएपछि पैसाले रक्षा गर्न सक्दैन र अपराध नगर्न परामर्श दिएको रोचक कथा राम्रो लाग्यो।
+++
५) कुञ्जदेवी उपाध्यायको रोजाइमा परेको पाँचौ लघुकथा : अन्तिम सजाय-अन्जु शर्मा
(2080/02/09)
" आमा! किन रूनु भाको?"लौन नि! शरीर भरि निलडाम पो छन् ।लुगा पनि च्यात्तिएको छ।पक्कै कसैले बलत्कार गरेको हुनपर्छ। उनलेे भनिन् ।
" अ: यो उमेरमा नि बलत्कार गर्छन् नि !!नचाहिने कुरा"। तिनले भनिन् ।
" आमा! के भयो ?किन सडकमा बसेर रूनु भाको?"
आमाले नबोली दुई हात दुई तिर इशरा गर्नुभयो ।एकातिर सरकारी कर्मचारी र अर्कोतिर नेताको झुन्ड थियो ।
" यी त हजुरका सन्तान हुन हजुरको रक्षाका लागि खटिएका "।
" होइन "। आमा चिच्याउनु भयो ।
" नानी ! यी मेरा सपूत होइनन् ।यिनैले मेरो अनन्त :संम चिरहरण गरे।यी कपुतलाई अन्तिम सजाय" फासी "दिनपर्छ।"
+++
कुञ्जदेवी उपाध्याय म्याडमलाई यो लघुकथा मनपर्नु र रोज्नुको कारण यस्तो छ-
अन्जु शर्माको लघुकथा अन्तिम सजाय देशप्रेमले प्रेषित भएको रोचक लघुकथा हो। देशमाथि भएको अत्याचारलाई आमा माथिको बलत्कारको रूप दिन कोशिश गरेको छ कथाकारले। नेताहरुले जनतालाई शोषण र शासनको नीति अपनाएर लुटि रहेका छन्।उनीहरू देशका सपुत होइनन् कुपुत्र हुन्।इनिहरूले देशको सम्पत्ति मात्र होइन देशको सन्तान ब्यापार गर्दै एउटी आमाको चिरहरण गरेका छन्।यो देशको लागि परम दुर्भाग्य हो र यस्ता अन्य सन्तान देशका कलंक हुन्। देशद्रोहीको सजाय फाँसी हुनुपर्छ भन्ने शन्देश बोकेको कथा सारगर्भित लाग्यो
+++
६. कुञ्जदेवी उपाध्यायको रोजाइमा परेको लघुकथा: तीर्थ -गंगा खड्का
" गाउँभरिका मान्छे डेढ महिनाको लागि तीर्थ जान लागेका रहेछन् बूढा ! हामी पनि जाने होइन त?"
पम्फाको सोधाइमा लक्ष्मण केही बेर घोरिए ।
उनको गम्भीरतालाई भङ्ग गर्दै पम्फाले फेरि भनिन् , " तपाईं त घोरिन पो थाल्नुभयो त ! "
" अँ , आजकाल मलाई एउटा कुराले निकै सोचमग्न बनाउन थालेको छ । तिमीलाई भन्ने मेसो खोजिरहेको थिएँ । यही सन्दर्भमा भनूँ कि भनेर घोरिएको बूढी !"
" अनि मसँग कुनै कुरा भन्न नि भद्रो हेरेर बस्नुपर्छ त ?"
पम्फाले वातावरण अलि सहज बनाइदिएपछि लक्ष्मणले भने," बूढी ! जेठो छोराको बिहे भएको जुग बितिसक्यो । अरु भाइका घरभरि छोराछोरी छन् …..!"
लक्ष्मणको गला अवरुद्ध भयो । उनी बोल्न सकेनन् ।
पम्फाले भनिन् , त्यो त हो बूढा ! अब त्यसको भाग्य नै त्यस्तै रहेछ त के गर्नु ? अनि हामी तीर्थ जाने कुरा र यसको के सम्बन्ध त ?" पम्फाले झिँजो मान्दै भनिन् ।
लक्ष्मणले पम्फालाई सम्झाउँदै भने " हेर ! अहिले सन्तान प्राप्तिको लागि नयाँ नयाँ प्रविधि आएको छ । बरु तीर्थमा गर्ने खर्च र समय अनि भरोसा उनीहरूलाई दिन सक्यौँ भने यो जस्तो ठूलो तीर्थ व्रत के होला र बूढी ?"
बूढानीलकण्ठ , काठमाडौँ
+++
कुञ्जदेवी उपाध्याय म्याडमलाई यो लघुकथा मन पर्नु र रोज्नुको कारण यस्तो छ-
तीर्थ मेरो दृष्टिमा एउटा उत्कृष्ट सोच भएको लघुकथा हो।हाम्रो समाजमा तीर्थ जाने चलन पुरानै समय देखि चलिरहेको छ।घरको परिवेश परिस्थिति जे सुकै भएपनि सबै गएको देखेर पत्नीले जाने इक्षा राख्नु स्वाभाविक हो।तर परोपकार भन्दा ठुलो धर्म तीर्थ घुमेर पाइँदैन।
निःसन्तान छोराको उपचार गर्न तीर्थ जाने पैसा खर्च गर्दा घरमा खुशी आउँछ अनि त्यसबाट एउटा दुःखमा परेको परिवार सुखी हुन्छ।
अर्कालाई सुख दिन सक्नु नै ठुलो धर्म हो भन्ने ज्ञान दिएको सुन्दर कथा ।
+++
अन्त्यमा कार्यक्रम श्रवण गरेर र मनोभावना प्रकट गरेर हामीलाई उत्साह थप्ने अनि युटुभ च्यानलमा गई हाम्रा गतिविधि नियाल्ने सम्पूर्ण साहित्यप्रेमीहरुलाई हार्दिक धन्यवाद दिन्छु । अब यस कार्यक्रमका संयोजक खगेन्द्र बस्याल र सहजकर्ता नन्दलाल आचार्य लघुकथा विमर्श कार्यक्रम सञ्चालन गर्न आउनुहुनेछ । अर्को पटकसम्मका लागि म विदा चाहन्छु । नमस्कार । धन्यवाद ।

No comments:
Post a Comment