लघुकथा सर्जक संवादमा खगेन्द्र बस्याल र तीन +लघुकथा (सं.) नन्दलाल आचार्य
सर्वप्रथम लघुकथा प्रतिष्ठानका कुसल प्रशिक्षक तथा अनगिन्ती उपाधि प्राप्त लघुकथा तपस्वी डा. पुष्करराज भट्टको भोलि पर्न भएको तर गुगलले आजै देखाएको (असार ४ गते पर्न गएको) जन्मोत्सवको अवसरमा हार्दिक मंगलमय शुभकामना छ ।
मलन समूह तथा लघुकथा प्रतिष्ठान परिवार । यसै अवसरमा एक लघुकथा वाचनका निम्ति फरमाइस गर्दछु । नन्दलाल आचार्य ।
लघुकथाक्रम
१. लघुकथा- लोकप्रियता -डा. पुष्करराज भट्ट
२. लघुकथा- टीका -खगेन्द्र बस्याल
३. लघुकथा- उज्यालो घर -चन्द्रकला अधिकारी
४. लघुकथा- न्याय -हरिप्रसाद भण्डारी
जन्म दिन विशेष सामग्री
१. लघुकथा- लोकप्रियता -डा. पुष्करराज भट्ट
उनको नाम बाबुआमाले दयासागर किन राखे, यो विषयमा उसले धेरै सोचेको थियो तर आफै जवाफ पाउन सकेको थिएन? नाममा के छ, जे छ काममा छ भन्ने सोचेर उनी काममा घोटिइरहन्थे।
सूर्यको प्रकाशमा उनी थिए उज्यालो निख्खर जुनको प्रकाश अनि अन्धकारमा निस्पट्ट औंसीको रात। उज्यालोमा देख्ने श्रद्धाले झुक्थे, अन्धकारमा देख्ने घृणाले थुक्थे। बाँचिरहेका थिए अर्थात मान–अपमान सबैलाई पचाइरहेका थिए।
व्यापारी। सामानको मात्र हैन मानिसको आस्था एवम् विश्वासको पनि व्यापार गर्थे।
अकस्मात उनको जीवनको उज्यालो हरायो। अन्धकार उदाङ्गो भयो। व्यापार व्यापार थिएन, थियो मिसावट र कालोबजारी। झुठ र बेइमानी। एक सत्य मर्यो अनेक असत्य जन्म लिए। झुठ र फरेब उदाङ्गो भयो।
गुमेको प्रतिष्ठाको खोजीमा सक्रियता बढ्यो। चन्दा, पुरस्कार, दानदातव्यको झोली खोलेर चन्दन लगाएर साधु भेषमा बस्न थाले। मन्दिर, पार्टी कार्यालय, सामाजिक संस्था सब ठाउँ धाउन थाले।
'साहु दयासागर वास्तवमै दयाको सागर हुनुहुन्छ। उहाँले हाम्रो मन्दिरलाई एकलाख सहयोग गर्नुभयो।” एकजना पुजारीको ताजा भनाइ समाजमा हुरीझैँ फैलियो।
'साहुजीले हाम्रो संस्थालाई अगाडि बढाउन पटक–पटक सहयोग गर्नुभएको छ। उहाँजस्तो समाजसेवकलाई अभिनन्दन गर्नुपर्छ।” स्थानीय सामाजिक संस्थाको प्रमुख सदस्यको प्रस्ताव आयो।
'दयासागर नाम मात्र हैन, नाम अनुसारको काम गर्ने वरिष्ठ समाजसेवक हुन्। उनले हाम्रो पार्टीलाई निर्वाचनमा राम्रो सहयोग गरेका छन्। हामीले उनलाई यस निर्वाचनमा समानुपातिक तर्फको सभासदको टिकट दिनुपर्छ।” पार्टी नेताले आफ्नो पार्टीमा कुरा राखे।
केही वर्षअघि अंगीकृत नागरिकता लिएका साहु आज जुगामा ताऊ लाउँदै छन्। उनको लोकप्रियताको ग्राफ उकालो चढदै छ शेयर बजारजस्तै।
+++
२. लघुकथा- टीका -खगेन्द्र बस्याल
आमा बाबु बेलैमा अस्ताए ।दाजुहरुले भाउजूको भाउँतोमा लागेर छुट्याए।अंश मिले नमिलेको छिमेकीलाई सोध्ने अवसर दिएका थिएनन् ।
बिहेको तीन बर्ष भित्र दुई सन्तान उदाएपछि उनीहरूको सुन्दर भविष्यको लागि नचाहँदा नचाहँदै बिदेश गयो रमेश ।
ऊ गएको दुई महिनापछि साथी रामुले हालखबरको अौपचारिकता पश्चात् सोध्यो ," मलाई घरबाट आमाले र काठमाडौंमा मामाले भगवानको टीका लगाइ बिदाइ गर्नु भएको थियोे ।अँ साँच्ची तिमीलाई टीका लगाइ आशिर्वाद दिने कोही भए कि भएनन्?"
उसले भन्यो ,"` लगाइयो नि टीका।त्यही टिकाको शक्तिले हुनुपर्छ ममा अनौठो शक्ति अाएको छ।हरेक दिन जन्मठाउँ र स्वदेश झल्झली सम्झेको छु।यहाँ नयाँ नयाँ सीप चासोका साथ सिकेको छु।अब म यहाँ सिकेको ज्ञान उतै सिञ्चन गर्नेछु ।यसैले गएपछि फेरि फर्केर अाउने छैन ।"
रामुले भन्यो "मलाई त त्यस्तो कुनै अनुभूति भएको छैन।तिमी भावनामा बढी बग्यौ कि!जाने बेलामा टीका कसले लगाइ दिएका थिए नि!"
रमेशको जवाफ रह्यो ," कतै किन्न नपर्ने ,थालीको पनि आवश्यकता नपर्ने, त्यो शक्तिशाली टीका .. स्वदेशको पवित्र माटो मैले आफै लगाएको थिएँ।"
* तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०७९ पुस १४
+++
३. लघुकथा- उज्यालो घर -चन्द्रकला अधिकारी
सन्तबहादुरको परिवार ठुलो थियो । घरमा कुनै छोरा बुहारी छुट्टिएका थिएनन् । वल्ला घर पल्ला घरमा छोराको बिहे गरेको महिनौँ दिन नपुगि बाक्लो दाल खाइहाल्थे । सन्तबहादुरका घरमा चार छोरा, चार बुहारी अनि नातिनातिना गरि धेरै थिए तर कहिल्यै ठुलो स्वर सुनिदैन थियो ।
एकदिनको कुरा हो । पारि गाउँबाट रमिते काका आए । गैरी घरमा रुबाबासी चल्यो । के भएछ भनेर सबै गाउँले त्यतै दगुरे । देउरानी र जेठानीको झगडा रहेछ । भोलि पल्ट फेरि कोकोहोलो मच्चियो । रिमरिम मात्र के भएको थियो । बाहिरबाट आवाज आयो -" सन्तबा हाम्रो घरमा आइदिनुपर्यो ।" अतालिएर रामे आएछ ।
सन्तबा झरे एकछिन् पछि त्यहाँ दाजुभाइको अंशमा झगडा परेको रहेछ।
गाउँलेहरू सबै भेला भएका रहेछन् । यतिकैमा एउटाले सोध्यो - " बा ! हजुरका घरमा न झगडा हुन्छ न कसैको बिरोध नै तर यहाँ अरु त सबै झगडालु मात्र भए । के छ हँ तेस्तो काइदा ?
खिस्स हाँस्दै बाले भने -" यस्तो सानो चित्तले हुन्छ र, घरमा सबैजनाले आफ्नो कर्तव्य र जिम्मेवारी बहन गरे सबै घर उज्याला हुन्छन् ।" उपस्थित सबै मुखामुख गर्दै घर फर्किए ।
फालेलुङ ८, पाँचथर
+++
४. लघुकथा- न्याय -हरिप्रसाद भण्डारी
ब्वासोले अचाक्ली गर्यो।वन्यजन्तुका पाठापाठी खाएर बस्नै नसक्ने बनायो ।
मृग,जरायो खरायो आदि शाकाहारी जनावर बसेर छलफल गरे।ब्वाँसोको विरुद्धमा वनका राजा सिंहकहाँ उजुरी गर्ने सहमति भयो ।
" प्रभु! ब्वाँसोले अचाक्ली गर्यो।हाम्रो त वंशै नाश हुने भयो ।कारवाही गर्नु पर्यो।" सवैले एकै स्वरमा विन्ती गरे।
जनावरहरुका कुरा सुनिसकेपछि सिंहले रिसाउँदै भन्यो ," ए! त्यसको त्यत्रो हिम्मत ? पख म त्यसलाई ठेगान लगाउँछु।"
सिंहको कुरा सुनेर जनावरहरु खुसी भए ।आपसमा कुरा गरे" राजा भनेका राजै हुन्।"
त्यसपछि सिंह डुक्रियो।" त्यो दुष्ट ब्वाँसोलाई तुरुन्त हाजिर गराउनु।"
टाङमुनी पुच्छर लुकाउँदै ब्वाँसो हाजिर भयो ।
रिसले आगो हुँदै सिंहले ब्वाँसोलाई आफ्नो नजिक बोलायो र ब्वाँसोको कानमा मुख जोडेर साउती गर्यो" धूर्त ब्वाँसा ,मृग र जरायोको मासु तँ एक्लै खाने,मेरो भाग खै?































































.jpg)


No comments:
Post a Comment