Tuesday, June 27, 2023

लघुकथा प्रशिक्षण कार्यक्रम-२०८०–०३–१४ ।– ६१८, पं.ज्यो. तोयनाथ & पुण्य कार्की-रमेन्द्र-नन्दलाल आचार्य-ओशो


असार महिनाको हरेक बिहीबार (लघुकथा प्रशिक्षण कार्यक्रम) प्रशिक्षक– पुण्य कार्की, संयोजक तथा प्रस्तोता– पं.ज्यो. तोयनाथ सुवेदी, मिति– २०८०–०३–१४ ।। श्रृङ्खला– ६१८ (समय– ७ः३० बेलुका)



लघुकथाक्रम

१. लघुकथा : क्रान्ति -रमेन्द्र कोइराला

२. लघुकथा-मगन्ते -नन्दलाल आचार्य

३. लघुकथा- भ्रम/सपना -ओशो (अनुवाद लघुकथा, अनुवादक- पुण्य कार्की)

४. अतिरिक्त लघुकथा- चस्मा -पं. ज्यो. तोयनाथ सुवेदी

++++

१. लघुकथा : क्रान्ति -रमेन्द्र कोइराला


बुढी हजुरआमा, म क्रान्ति गर्न जान्छु।” बीसवर्षे

युवकले खुब जोसका साथ भन्यो ।

“जा पनाति जा !” सेतै केश फुलेकी बुढी आमैले शून्यतिर हेर्दै भनिन् – “जहाँसम्म मलाई सम्झना छ । मेरा बाजे, ससुरा बाका बाजेबा अङ्ग्रेज लडाइँमा क्रान्ति गर्दा

सहिद भए, उनका बाउदेखि छोरासम्म राणाको विरोधमा क्रान्ति गर्दा सहिद भए, तेरा बा पनि सत्र साल पहिले क्रान्तिमा लाग्दा सहिद भए । तँ पनि अब क्रान्तिमा लागेर सहिद हो । तेरा छोरा, नाति, पनाति पनि एक पछि एक व्यवस्थाको विरुद्धमा क्रान्ति गर्दै सहिद हुन्छन् । जस्तो लाग्छ सबैको जीवन क्रान्तिकै लागि बनेको हो । तर कुनै क्रान्तिले राम्रो व्यवस्था ल्याएन । यस्तो अवस्थामा एकमुठी तातो भात खाएर आनन्दसँग सुत्नु कहिले ?” भन्दै बुढी आमैका चाउरिएका आँखाबाट अविरल आँसुका धारा बग्न थाले । तर पनातिको रगत उम्लिरहेको थियो । उसले कुरा सुनेन । बिदाई माग्दै ऊ अगाडि बढ्यो । बुढी आमैले चै देखुन्जेल हेरिरहिन्, हेरिरहिन्, जस्तो लाग्थ्यो उनको पनातिलाई हेर्ने त्यो हेराइ नै अन्तिम हेराइ थियो ।

–––००–––


इनरुवा -९ बबिया

सुनसरी


+++

२. लघुकथा-मगन्ते -नन्दलाल आचार्य


“हात्तीको ज्यान भएकाले नङ्ग्र्रा खियाउनुपर्छ; हात पसारेर जग हँसाइँ गर्नुहुन्न ।” मेरा सामु हात पसार्ने ठिटालाई मैले प्याच्चै भनिदिएँ ।


त्यसबेला सिमसिमे वर्षा भइरहेको थियोे । परपर वस्तीका घरहरू ठिङ्ग उभिएर रुझिरहेका थिए । पुरानो बर्साती लगाएर सडक किनारमा त्यो ठिटो खडा थियो । पुसे ठण्डामा थरथर काँपिरहेका उसको ओठले सिठ्ठी च्यापेको थियोे । त्यही सिठ्ठीको आवाजले म रोकिएको थिएँ ।


“गन्तव्यमा हिँडेका गाडी रोक्दै हात पसार्न लाज लाग्दैन ?” मेरो प्रश्न सुन्नासाथ उसले चाबी फुत्त थुत्यो । एक्कासी मेरो मोटरसाइकलको सास उड्यो । उसको अजङ्गको रूप देखेर मेरो अनुहार पनि रस निचरेको कागती भयो ।


“सडकमा धेरै मान्छे देखेँ तर तँजस्तो उल्लु देखिनँ ।” आक्रोशयुक्त उसको बोली सुनियो ।


मेरा हातगोडा धामी बस्न थाले । मनमा ढ्याङ्ग्रो बज्ने क्रम रोकिएन ।


लुटिन लागेको अनुभूत गर्दै हिम्मतले भनेँ- “चाबी दिने कि गुहार मागूँ ?”


“जे गर्छस् गर् तर तेरो हजुरबुबा चिहानबाट उठेर आए पनि तँ खोर नगई फर्कदैनस् ।” यसो भन्दै उसले बर्साती फुकाल्नासाथ मेरा आँखाले अद्भुत दृश्य देखे- सामुमा ट्राफिक ठिटो उभिएर कुटिल मुस्कान छरिरहेको थियोे ।


०००

२०८०-०३-१२

सिद्धार्थटोल, बेलुका-२, उदयपुर


+++

३. लघुकथा- भ्रम/सपना -ओशो (अनुवाद लघुकथा, अनुवादक- पुण्य कार्की)



एक दिन गौतम बुद्ध वैशाली पुगे । वैशालीमा एक जना ठूला सेठ थिए । भनिन्थ्यो, त्यो समयमा ऊभन्दा सम्पत्तिवाला व्यक्ति भारतमा अर्को थिएन । सयकडौँ सम्राट ऊसँग कर्जा लिन्थे । सयकडौँ सम्राटको ऊ साहु थियो, सम्राटहरू उसका आसामी थिए ।

जसलाई जति आवश्यक पर्थ्यो, ऊ त्यति नै दिन्थ्यो । तर, एकदिन ऊ पनि बुद्धको चरणमा पुग्यो । उसले भन्यो, ‘मलाई मार्ग बताइदिनुस् । अशान्त छु । बेचैन छु । जिन्दगी दिनदिनै हातबाट चिप्लिरहेको छ । मसँग धन धेरै छ तर के गर्नु ? भित्र त निर्धनको निर्धनै छु ।’

साँच्चै नै ऊसँग धेरै धन थियो किनकि बुद्ध जुन बगैँचामा बसेका थिए, त्यो उनलाई मन परेको उनका अनुयायी भिक्षुले बुझे । उक्त बगैँचा सयकडौँ एकडमा फैलिएको थियो र अक्सर वैशाली आउँदा उनलाई विश्राम ग यो जत्तिको उचित बगैँचा अर्को छैन भन्ने निधो गरे ।

बुद्धको अगाडि हात जोडेका सेठलाई अनुदायी भिक्षुले भने, ‘हाम्रा बुद्धलाई यो बगैँचा मन पर्यो । उहाँ वैशाली आउँदा उपयोग गर्न चाहिन्छ । त्यसैले तपाईं यसलाई किन्नुस् ।’

नगरसेठ भने, ‘बुद्धको लागि यो बगैँचा किनिदिन्छु र बुद्ध संघलाई दान गरिदिन्छु ।’ तर, जुन मानिसको स्वामित्वमा त्यो बगैँचा थियो, ऊ पनि जिद्दीवाल मानिस थियो ।

उसले भन्यो, बगैँचा जरुर बेच्नेछु तर मेरो बगैँचाको मूल्य सायद तिमीले चुक्ता गर्न सक्तैनौ ?

नगरसेठको अहङ्कारमा चोट लाग्यो । उसले भन्यो – मूल्य ! तिम्रो मुखले जति दाम गर्छ, त्यति नै बुझाउँछु । एक पैसा कम गर्दिनँ, भन कति हो ?

उसले बगैँचाको दाम जति माग्यो, त्यो दाम यति धेरै थियो सायद कसैले पनि त्यो दाम चुक्ता गर्न सक्तैनथ्यो । उसले पनि सोचेको थिएन कि कसैले यो दाम माग्ला ।

उसले भन्यो – “जमिनमा सुनका असर्फीहरु बिच्छयाऊ । जति बिछ्याउन सक्छौ त्यति जमिन तिम्रो हुन्छ । जमिनमा स्वर्ण असर्फी छाप्दै जाऊ, जति जमिन ढाक्न सक्छौ, त्यति नै जमिन तिम्रो !

सेठले पूरै सय एकड जमिनमाथि सुनका असर्फीहरु बिच्छयाइदियो । र पूरै बगैँचा खरिद गरेर बुद्धको संघलाई दान दियो । निश्चित रुपमा ऊसित अपार सम्पदा थियो । तर सम्पदाले के हुन्छ र ? जमिन किन्न सकिन्छ । राज्य किन्न सकिन्छ । तर, एउटा अर्को साम्राज्य पनि छ भित्री जगत्मा, त्यो त किन्न सकिँदैन ।

संयोग ! सुन्दर भन्दा सुन्दर स्त्री मानिसले पाउन सक्छ । सुन्दर भन्दा सुन्दर पुरुष पाउन सकिन्छ । तर, केही वर्षपछि ती सबै सौन्दर्य समाप्त भएर जान्छ । सब सौन्दर्य टाढैबाट हेर्नका लागि हो । नजिक आएपछि त्यो सबै बिग्रेर जान्छ । दूरको ढोल सुहाउने खालको हुन्छ, नजिक त त्यो सुन्नै सकिन्न । कान थुन्नु पर्छ ।

त्यस जमानामा, बुद्धको जमानामा आम्रपाली नाम गरेकी महिला बहुत सुन्दर नारी थिइन् । भनिन्छ, उनी अति सुन्दर स्त्री थिइन् । तर, उनी पनि बुद्धको चरणमा आइन् । सम्राटहरू उनको ढोकामा उनलाई पाउन लाम लागेका हुन्थे ।

सम्राटहरूका निम्ति उनको दर्शन दुर्लभ थियो । उनको मूल्य चुकाउन मुस्किल थियो । तर, आम्रपालीले पनि एकछिन पीतवश्त्र धारण गरेर बुद्धको चरणमा आइ्न् । र उनले भनिन्, मलाई दीक्षा दिनुहोस् ।

बुद्धले भने, तिमी यति सुन्दर छौ । तिम्रापछि सम्राटहरू पागल हुन्छन् । तिमीलाई केको कमी छ र भिक्षुणी हुन्छौ ?

उनले भनिन् – ‘होऊन् दिवाना । मैले सबै देखिसकेँ । सुन्दरतामा केही सार छैन । सब खेल मात्र हो । बच्चाको खेलौनाजस्तै । संभोगबाट कोही कहिल्यै तृप्त हुन सकेको छ र! न सम्पत्तिबाट तृप्त भएको छ ! न शक्तिबाट कोही तृप्त भएको छ ! हो यो सबै भ्रान्ति हो ! आशा ! सपना ! फेला पर्छन्, तर पूरा त कुनै पनि सपना हुँदैनन् । सारा आशाहरू निराशामा नै टुंगिन्छन् । अनि आज नभए भोलि सबै भ्रमहरू भंग हुन्छन् ।’

(अभिनव धर्मबाट)

+++


४. अतिरिक्त लघुकथा- चस्मा -पं. ज्यो. तोयनाथ सुवेदी (ओखल्ढुङ्गा )

हाल:हेटौंडा -८,कमाने,मकवानपुर।

"धेरै विषयमा स्नातकोत्तर गरी अध्ययन अनुसन्धानका क्षेत्रमा प्रसिद्धी कमाएका प्रधानाध्यापक रे" बुधे बर्बरायो।

"हेर शुक्रे!हाम्रो विध्यालयले धेरै समयदेखि SEE परीक्षामा राम्रो नतिजा ल्याउन सकेको थिएन,त्यसैले शैक्षिक गुणस्तर सुधार गर्न धेरै प्रधानाध्यापक पछि उहाँ आउनुभएको रहेछ।"

जन्मेपछि उमेरले कसैलाई छोड्दैन ,सोही अनुरूप सम्झना शक्तिमा भने ह्रास आइरहेको थियो तर उहाँले गर्ने काम कारोबारका क्षेत्रमा भने शिथिलता आएको थिएन।

विद्यालय व्यवस्थापन समितिले उहाँको दुर्वलतालाई ख्याल गरेर सह प्रध्यानाध्यापकको एकलौटी नियुक्ति गर्‍यो । काम गर्दै जाँदा सह प्रधानाध्यापक पनि दिक्क भैरहेका थिए।

प्रधानाध्यापकको बानीको कुराले एक कान दो कान मैदान भने झैं भयो।हुँदै जाँदा ,सबै सञ्चारकर्मीहरू विद्यालयमा उपस्थित भए।प्रधानाध्यापकसँग अन्तर्वार्ता लिए ।निकै कुराहरू सोधिसकेपछि प्रश्न गरेछन् ,"प्र.अ. ज्यूको अबको कार्य

के मा केन्द्रित भएको छ त ?"

प्र.अ .ले जवाफ दिन नपाउँदै सह प्र.अ.ले जवाफ फर्काएछन्,

"अचेल प्र. अ .ज्यूको अधिकांश समय लगाउने चस्मा खोज्ने

कार्यमा नै व्यस्त हुनुहुन्छ।"

।। समाप्त।।


+++




































No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...