लघुकथा– गुण
‘जीवनभर आफूलाई गुमाएर अरूलाई उकास्नुभयो ।’ काठमाडौँदेखिको यात्रा टुङ्ग्याएर गोलबजारमा पाइलो टेक्नासाथ यो आवाज मेरा कानमा ठोक्कियो ।
चार पाइला अघि बढाउना साथ एक अपरिचित ठिटाले च्याप्पै गोडा पक्रियो । निहुरिएर हटाउन खोजेँ । पक्षाघातले मेरो शरीर कुज्याएको हुनाले बल गर्नै सकिनँ । टाउको निहु¥याएको कारण ठिटालाई समेत चिन्न असफल रहेँ ।
‘तपाईं दृश्य मूर्तिको हैन; हरेकको हृदयको अदृश्य भगवान् हो ।’ उसको अर्को आवाज सुनियो । आवाज प्रष्ट थियो तर आशय ठम्याउन नसकेर म दोधारमा फँसेँ ।
चारैतिर खडा मानिसहरू रमित हेरिरहेका थिए । म लाजले रातोपिरो भएको थिएँ । शरीरलाई उभ्याइराख्न सकस थियो । उसको पन्जाबाट फुत्कन न्वारानदेखिको बल झिकेँ तर मेरो केही सिप चलेन ।
राजविराज इलाकामा एक मन्द बुद्धिको ठिटो पैसा चाहिए सुकिलामुकिला जोकोहीको यसरी नै गोडा समाएर वाध्य पाथ्र्यो । पचास रुपिया नदिए; कालले छाड्ला त्यसले छाड्दैनथ्यो । त्यसको जालमा म पनि निकै पटक फँसेको थिएँ ।
‘पक्कै पनि त्यही ठिटो गोलबजारसम्म आएछ ।’ यस्तै सोचेर गोजीबाट पचासको नोट उसको हातमा राखिदिन खोजेँ । पैसातिर त्यसले ध्यानै दिएन । सर्वत्र महंगी बढ्यो । त्यसको पनि बढेको होला भन्ठान्दै सयको नोट फालिदिएँ ।
‘तपाईंले दिएको चेतले मैले रुपियाँको नै खानी पाएर धन्य भएको छु ।’ उसको यस्तो जवाफ सुनेपछि थपँे; ‘अब ता छाड्नुस् । मबाट कहिल्यै गल्ती भएको रहेछ भने क्षमा...!’
एक्कासी मेरा गोडा मुक्त गर्दै उसले भन्यो; ‘हजुरको एउटा अपराधी म पनि हुँ ।’
‘कसरी ?’ नचिने पनि मैले प्रश्न गरेँ ।
‘मेरो आयु छोट्याउनु छ भने मात्र मलाई टेन्सन देओ ! हजुर यसै भन्नुहुन्थ्यो । हामीले दिइरह्यौँ । त्यसै तनावले हजुरलाई प्यारालाइसिस गराएछ ।’ रुन्चे स्वरमा यस्तो जवाफ सुन्नासाथ उसको टाउको उठाएर हेरेँ ।
ऊ त बालविकासदेखि एसएलसीसम्म मेरै मातहत र सक्रियतामा पढेबढेको विद्यार्थी रामप्रसाद पो रहेछ ।
२०८०.०३.१३ गोलबजार, सिरहा ।
०००
.jpg)
No comments:
Post a Comment