लघुकथा- ढालाढाल
-नन्दलाल आचार्य
'एई तँ जे भन्दै छस्, पहिले नै मैलै भनिसकेको छु । हाम्रै मूलमन्त्र चोरेर हामीलाई उल्लू पार्न सक्तैनौ । हामी त्यही मन्त्र जपेर बहिरो सरकार झकझकाउन चितवन हिँडेका हौँ ! हामीलाई रोकेर आफ्नै खुट्टामा बन्चरो हान्ने काम नगर ।'
मेरो कुरा सुनेर उनीहरूको रगत उम्लेछ । बोलीले मलाई खिचडी रङको गुलाम भएको आभाष दिलाए । स्वार्थी र धाेकेबाजकाे पिछलग्गु ठाने ।
मैले पनि स्पष्ट भनेको थिएँ; 'गोरो र कालो रङको दोषारोपणले जनअधिकार मिल्दैन । रङ घोलेर एकै रङ भएर मैदानमा आओ । चितवन उल्टेर लहानमा स्यालुट गर्न आइपुग्छ ।'
मेरो ध्वनि हावामा बिलाउन नपाउँदै 'खिचडी रङको गुलामलाई धूलो चटाओ' भन्दै एक अज्ञात हुलले मलाई घेरिहाल्यो । पछाडिबाट बाँसको मुडचलले टाउकामा बजारियो । पीडाले म चिच्याएँ । गोलीको आवाज सुनेँ र तत्कालै म बेहोस भएँ ।
होस खुल्दा म अस्पतालको सट्टा प्रहरी हिरासतमा थुपारिएको थिएँ । प्रहरीलाई कारण सोधेँ । उसको जवाफले मलाई होसमा आएकोमा खेद लाग्यो । पुन: र पुन: बेहोसी भइरहन मन लाग्यो ।
प्रहरीले भनेको थियो; 'तँले गोली चलाइस् रे । तैँले आन्दोलनका योद्धा ढालिस् रे । तँलाई बाहिर पठाए टुक्राटुक्रा पार्छन् र सडकका भुसिया कुकुरलाई खुवाउँछन् रे ।'
नजिकै मसँगै झोक्रिएको सहकर्मी भन्दै थियो; 'अधिकार पछिको कुरा हो । पहिले ज्यान रहनुपर्छ । बिनाकारण ज्यान दिनु र लिनुको ओजन बराबरी हुन्छ ।'
मैले टाउको उठाएर उसतिर एकोहोरिन पुगेँ । उसका पछिल्ला शब्दले मनमा भूकम्प जान थाल्यो । अहिलेसम्म थामिएको छैन ।
उसको बोली थियो; 'यता तपाईँ ढल्नासाथ म बीचमा उभिएँ । जति जोरजुलुम गरे पनि ढलेकोलाई थप्न दिइनँ । उता एक निमुखो ढलेछ । त्यसैले तपाईँ र मलाई यहाँ कोचिएको हो ।'
२०७८-०८-२६ गोलबजार; सिरहा ।
जय गाेविन्दम् ।
No comments:
Post a Comment