Monday, November 1, 2021

सुनपानी लघुकथा संग्रह नन्दलाल आचार्य

 




‘सुनपानी’
लघुकथा संग्रह–२०७८

नन्दलाल आचार्य २०७८.०७.१५

विषय सूची

 
१.  डाक्टरखेती
२. अवसर
३. नयाँ माइती
४. को कति ठीक ?
५. सम्बन्ध
६. जिम्मेवारी
७. अभिनय
बँधुवाको बिन्ती
९. सानो माछो
१०. बोक्सी
११. निभेको बत्ती
१२. ख्यालठट्टा
१३. झोक
१४. मनको बह
१५. लक्ष्मी–सरस्वती....
१६. रागे नाति
१७. ससुराप्रेम
१८. शिखाको शक्ति
१९. माफ गर्नुस्
२०. विचार र अनुभूति
२१. महाचोर
२२. सरम
२३. नसियत
२४. बोर्डिङ्गे माष्टर
२५. अपाङ्ग प्रधानाध्यापक
२६ रगतको आहाल
२७. बोली फिर्ता
२८. झोले डाक्टर
२९. डकैत
३०. पितृसत्ताको खेल
३१. मुखामुख
३२.  वातचित
३३. गन्थन
३४. अन्तरङ्ग मित्र
३५. वनकाली
३६. बाँसको तामा
३७. बोलीमा गोली
३८. दुम्सीको गुहार
३९. दलित
४०. पीडामुक्तको उपाय
४१. बौद्धिक श्रमजीवि
४२. गाग्रीकी सीता
४३. हरेक दिन
४४. ब्रह्माजीलाई निवेदन
४५. अक्षर
४६. परिबन्दको दास
४७. मेला
५३. टेकोनिजम
५४. मातृश्राद्ध
५५. क्षतिपूर्ति
५६. ख्यालख्यालमा
५७. प्रतिकार
५८. अहँ; बुझाउँदिनँ
५९. माइन सेबोटेज
६०. सुनपानी
६१. चलाखी
६२.  बाको रिन असुल
६३. दूधभात प्रसङ्ग
६४. बाको अन्तिम बोली
६५. आइतीको दशैँ 
६६. भुलदण्ड 
६७. सरी बाबा 
६८. छुटप्रसाद 
६९. मच्छडदानी
७०. कारण
७०. कारण
७१. मृत्यु–आनन्द 
७२. निर्दयी मदारी 
७३.  प्रत्यागमन  
७४. निर्दयी मदारी
७५. उत्तरकथा 
७६. शत्रुप्रेम– १ 
७७. शत्रुप्रेम–२ 
७८. शत्रुप्रेम–३ 
८९. शत्रुप्रेम–४ 
९०. शत्रुप्रेम–५ 
९१. त्यही दुष्ट बाउले हो 
९२. सेतो सिन्दूर 
९३. भण्डाफोर 
९४.  सपनाको खरानी
९५. पुत्रमोह
९६. लेनदेन बराबर
९७.  खेल
९८. जस–अपजस
९९.  नाकाबन्दी
१००. कालो सिन्दूर
१०१. उघ्रेको ढोका
१०२. भन्डारा
१०३. आतङ्क
१०४. आधा संसार
१०५. साँचो समानता
१०६  बा
१०७. रङ्गेहात पक्राउ
१०८.  शिक्षा
१०९.  सुद्धि
११०. भीआईपी कोटा
१११. मनोपचार
११२. बहिरो भगवान्
११३.  मुर्कुटो
११४. छ पाइलाहरू
११५. मामाघर
११६  सुद्धि
११७. फूल चोर आतङ्क




१.  डाक्टरखेती
नन्दलाल आचार्य
‘म गरिप बाबुको छोरो हुँ । धन खर्च गरेर भए पनि बाँच्न चाहन्छु तर दबाई खाएरै मर्न चाहन्नँ ।’
जति पटक जाँच्न डाक्टर आउँछन्; उत्ति पटक फरकफरक औषधी लेखेर र किनाएर हैरान पारेपछि मैले भनेको थिएँ ।
ब्लड क्यान्सर भएर अस्पताल भर्ना भएको हप्ता दिन भएको थियो । उपचार शुरुआत भएपछि बिमार घट्नुको साटो बढेको थियो । खर्चको हिसाब थिएन ।
बिरामीलाई जाँचेजस्तो गर्ने, पहिलेको रिपोर्ट हेर्दै नहेर्ने, मात्रै नयाँ जाँच र औषधी लेख्ने डाक्टरको प्रवृत्तिबाट म वाक्क थिएँ ।
त्यसकारण मेरो मन कुरा मथ्न मस्त भयो–
–बिराम खान्छ भनेर बिरामी अस्पताल धाउँछन् ।
–धन भएका बुद्धि कम रहेका मुस्किलले बाँच्छन् ।
–धन कम भएका बुद्धि रहेका सजिलै बाँच्छन् ।
–धन र बुद्धि हुँदै नभएका अलिकता बाँच्छन् ।
–धन र बुद्धि हुँदै भएका मज्जैले बाँच्छन् ।
आफ्नो बुझाई व्यक्त गर्नासाथ एक नर्सले भनेकी थिइन्; ‘हाम्रो हात बाँधिएको छ । मुखमा ताला झुन्डिएको छ । हामी टमटमे घोडा हौँ । चालकको इसारामा नाच्छौँ । उसकै मनका लागि अनुहारमा हाँसो ल्याउँछौँ ।’
नर्सको कुराले सुषुप्त अवस्थामा रहेको मेरो चेतना जागृत भएको थियो । म होसमा आएको थिएँ । बेहोसीको समूल नष्ट भएको थियो ।
औषधी र इन्जेक्सनले गर्दा म दिनानुदिन भित्रभित्रै जल्ने र गल्ने भइरहेको थिएँ । न खाना रुच्थ्यो, न त शरीरमा तागत थियो । औषधी नदेऊ; रियाक्सन भयो भन्दा ‘हामी डाक्टर कि बिरामी स्वयम् नै डाक्टर ?’ भन्ने प्रश्न सुन्नुपर्थ्यो ।
नर्सले हातमा दिएको औषधी खाटमुनि हुर्याउँदा हुर्याउँदा एक थुप्रो भइसकेपछि बल्ल मेरो शरीरमा त्राण आएको थियो ।
मेरो मनले ठानेको थियो; ‘डाक्टर देवतुल्य पेशा हो । यद्यपि मानवता बेचेर कमाइखाने भाँडो बनाउनु मानवसंसारको दुर्भाग्य हो ।’

२. अवसर
‘यो अन्तरी त पूरापूरी नाङ्गी पो रहिछ ! लाज छोप्न न होस छ । लगाएको कपडामा प्वाल पर्नाले बेहोस हुन बाध्य छे । देखिने कुरा त देखिएकै छ । नदेखिने पनि देखिएर पो बर्बाद भयो !’
मनभित्र खेलेको कुराले मलाई अन्तरीका बाउआमाको आर्थिक हैसियत अवलोकन गर्न बाध्य गरायो । उनीहरू मिठो खान्थे । आफू राम्रो लाउँथे । छोराछोरी सानै छन् भनेर कपडा प्वाल पर्दा पनि वास्ता गर्दैनथे ।
खासमा अन्तरी मेरै भतिजी थिई । ऊ उमेरमा क्रमशÞः उकालो चढ्दै थिई । उसको इज्जत र बेइज्जत मेरो पनि थियो ।
‘अन्तरी चुप छे भन्दैमा उसले लगाएका कपडा चुप छैनन् । तिनले धर्म छाडेको टुलुटुलु हेर्नु परेको छ । शिघ्रातिशिघ्र व्यवस्थापन गर्नुपर्यो नि !’
मेरो कुरा सुनेर बुहारीचाहिँ बोलेकी थिइन्; ‘भको पैसो दशैँ मनाम्दै तुरिगो । काँबाट किन्दिनु ?’
पैसाको समस्या नै परेको होला भन्ठानेर हजारको नोट थम्याउँदै भनेको थिएँ; ‘यसले माथिदेखि तलसम्मको जामाको कपडा र धागो किन; बाँकी बचे फिर्ता लेऊ; कम भए आफैँ थपथाप गर । सिलाउन तिमी आफैँ छँदैछ्यौ ।’
आलटाल गर्दै र सकस मान्दै बुहारी नजिकैको पसल गएकी थिइन् । फर्कँदा अन्तरीको अनुहार मलिन थियो । बुहारी भने मन्द मुस्कानका साथ पोलिथिन झोला हल्लाउँदै आएकी थिइन् ।
कपडा देखाउँदै भनेकी थिइन्; ‘दाजु, जुन आवश्यकता बढता महत्त्वपूर्ण छ, त्यो पहिला पूरा गर्नुपर्छ भन्ने तपैँको सिद्धान्तअनुसार नै स्कुल पोशाक किन्देकी हुँ ।’
म चकित भएको देखेर अगाडि थपेकी थिइन्, ‘त्यसको पोशाक हावाहुन्डरीले बेपत्ता पारेको थियो । दुई महिना देखिन् स्कुल जान बन्द थियो । दाजुको त्यै पेसोले अब जान पाउने भई ।’
३. नयाँ माइती

‘मैले गरे जति सबै तेरै लागि थियो । म तँसँग सम्झौता गर्न चाहन्थेँ । तैँले नै अविश्वास गरिस् । सम्बन्धको गाँठो एक्कै झट्कामा चुँडाइस् ।’
निवर्तमान ससुराको यस्तो बोली सुन्नासाथ मेरो मन तर्सिएको थियो । उनले छोराको बारेमा चर्चा गरेका थिए । छोराको कुरा सुनेर मेरो मन खिन्न भएको थियो । छोरो उनीहरूसँगै थियो । सासूससुरा दुबै मेरो नयाँ दाम्पत्य जीवन सञ्चालन भएको घरमा आएर कुरा गर्दै थिए ।
पतिले पारिवारिक कचिङ्गल बहन गर्न अस्विकार गरेका थिए । त्यसैले स्वविवेकले धरती त्यागेका थिए । उनीबिना पाँच वर्ष बिताएकी थिएँ । सासूससुराले हाभीलाई पहिले नै अङ्श दिएर छुट्याइदिएका थिए ।
यत्तिखेर भने मैले छोरो र आफ्नो अचल सम्पत्ति त्यागेँ । नयाँ जीवन शुरुआतका लागि दाम्चे गाउँबाट भागेर यहाँ गल्फडिया आएँ । दश वर्षको छोरोसँग बजार पुगेर फर्किन्छु भन्दै बिदा भएकी थिएँ ।
छोरो रोइरहेको छ भनेको सुन्दा दगुरेर छोरालाई भेटूँ र काखमा राखेर म्वाइँ खाइरहूँ भन्ने लागिरह्यो । तर व्यवहारमा त्यसो गर्न समाजले दिँदैनथ्यो ।
म निरीह मुहार लगाएर खडा भइरहेको देखेर निवर्तमान सासूले गह टिलपिल पारेर भनेकी थिइन्; ‘सोधखोजबिना नै घर त्यागिस् । आफ्नो छोरो भेट्ने दैलो सदाको लागि थुनिस् । एक शब्द पनि सोध्ने हिम्मत गरेकी भए तँलाई छोरी बनाएर अनमनाई दिन्थ्यौँ । सप्पै काम निको गरिस् तर प्रक्रिया मात्र गलत गरिस् ।’
ससुराको बोली सुनिएको थियो; ‘जे भा पनि नातिकी आमा होस् । घर सम्झन नसके पनि माइत सम्झेर आउने गर् है !’

४. को कति ठीक ?
यतिखेर म परलोकमा भडकिरहेकी छु । इहलोकमा मलाई मेरै सास खोसिदिए । मेरो अमनचयन गुमाइदिए । विश्वासको पहाड बनिदिँदा पनि अविश्वासको लोहोराले थिलथिलो तुल्याइदिए । मेरो तडपिरहेको आत्माले सम्झिरहेछ–
‘छोरो बाँचुञ्जेल उसको पसिना खाइस् । मरेपछि पनि उसको योगदान खान खोज्छेस् ?’
सासूले घृणित नजरले हेर्दै र मलाई कटाक्ष गर्दै भनेकी थिइन् । म जवाफविहीन टोलाइरहेकी थिएँ ।
त्यही मौका छोपेर ससुराले मनमा वचनरूपी वज्र प्रहार गरेका थिए, ‘छोरो थियो र तँ बुहारी थिइस् । छोरो बैकुण्ठधाम गयो । तँसँगको नातोको लहरो तत्क्षण नै चुँडियो । उसको सम्पत्तिको हक बिर्सिदे । खटाएर देको खा र सकेको गर् । तेरो भलो यसमै छ ।’
‘म तपैँहर्कै छोरालाई मेरो मनभरि राखेर बाँचिरहेकी छु । मेरो निश्चल प्रेममा शंका नगर्नुस् ।’
मेरा कुरा भुइँमा नपर्दै ससुराको आवाज सुनिएको थियो; ‘त्यो बोल्ने कुरा हो । गर्ने कुरा अर्कै छ । सुनबूढी हात पर्ने भएपछि कसले ज्यानप्राण नछाड्ला र ? गुलिया कुरा गरेर धन हात पार्ने; हात परेपछि छोराछोरी त्यागेर गुँड बदल्ने । तेरो तुच्छ नीति मलाई थाहा छैन र ?’ 
‘मेरो पतिव्रता धर्ममा शंका गरिरहे म सबैलाई छाडेर पतिसँग जान पनि सक्छु ।’
मैले रुँदै बोलेका शब्दको जवाफमा सासूको कर्कश ध्वनि सुनिएको थियो; ‘गर्नेले झ्याली पिट्दैन । कायरले मात्र धाकधम्की देखाउँदै हिँड्छ ।’
फलतः मैले विश्वास दिलाउन आफ्नै दैलोमा पासो लगाउन परेको हो ।

 
५. सम्बन्ध
‘दशैँको बेलामा पनि तँ किन निम्छरो भएको बाबु ?’ सबै केटाकेटी पिङमा झुत्तिएको बेला एक फुच्चे मलिन मुहार लगाएर टुलुटुलु हेरिरहेको देखेर मैले सोधेको थिएँ ।
ऊ जवाफ दिन सकस मान्दै थियो । मैले पटकपटक एउटै प्रश्न दोहोर्याएको थिएँ । ऊ मलाई नै अस्वीकार गर्ने पक्षमा देखिन्थ्यो ।
म फुच्चेलाई राम्ररी चिन्थेँ । ऊ गरिब बाबुको छोरो थियो । उसको बाबु भवानी आफ्नै कारणले गरिब थियो किनभने ऊ जति पैसा भए पनि रक्सी खाएर सिद्धयाउँथ्यो । रक्सीले मातेर समाजमा नाना थरी बक्दै हिँड्नाले ऊ घृणित पात्रका रूपमा चिनिन्थ्यो ।
जँड्याहा बाबुसँग फुच्चेले आफ्नो नाम जोड्न नचाहेर पटकपटक भनेको थियो; ‘म भुवन पौडेल हुँ । म कल्पना पौडेलको मात्रै छोरो हुँ ।’


६. जिम्मेवारी
‘हामी गरिप छौँ तर दामी छौँ । तेरो दुःख देख्छौँ र हाम्रो दशैँमा पनि तँलाई फुकाएर चराइरहेको छु ।
सानो सानेले वार्तालाप गरिरहेको देखेर म नजिकै गएँ । चारैतिर हेरेँ । भैँसी चरिरहेको थियो । भैँसीको नाथ्री सानेको हातमा थियो । ऊ बाहेक वरपर कुनै मानिसको अवशेष थिएन ।
ऊ भैँसी सुम्सुम्याउँदै भन्दै थियो, ‘मान्छेको दशैँमा आफ्नो सन्तानको हाडखोर चवाए भनेर चित्त नकुड्याउनु । संसार मायाले चल्दैन । परिस्थितिसँग मित लाएर मात्र चल्छ ।’
त्यत्ति कलिलो उमेरमा यस्ता रसिला कुरा गरेको सुनेर म दङ्ग परेको थिएँ । ऊ पाल्तु पशुलाई अति प्रेम गर्थ्यो । उसले आफ्नोपनको हिफाजत गर्न जानेको थियो ।
‘भुवन भाइ, भुवन भाइ ! सुतिरहेको अवस्थामा मैले बाबाको गोजीबाट पचास रुपियाँ फुत्काएँ ।’ सानेकी कान्छी दिदीले भनेको सुनेर ऊ कान ठाडा पार्दै थियो । म भने त्यहाँबाट हिँडिसकेको थिएँ ।
हिँड्दाहिँड्दै सानेले भनेको सुन्दै थिएँ; ‘राख् दिदी राख् । जड्याहा बाबाको गोजी नै रित्या । पैसो अन्त कतै नमास् । जोगाएर राख् । थपथाप गरेर तेल किन्नुपर्छ । मामूले भुटुन सकियो भनेको दश दिन भयो ।’

७. अभिनय
‘ह्याङह्याङ र ख्याङख्याङ ! तँ मुला दैत्यले मेरो देहमा दाह्रा गाड्न खोज्या । तेरो रगत पिउन पाए भने मात्र मेरो क्रोध शान्त हुन्छ ।’
बाध्यताले बहुलाही बनी मैले मनका कुरा नबुझिने गरी व्यक्त गरेकी थिएँ । अकस्मात् बदलिएको मेरो हाउभाउले शुरुमा ऊ शशंकित मात्रै बनेको थियो । इसारालाई अक्षरसः पालना गर्छु भन्ने उसमा अझै झिनो आश बाँकी नै रहेछ ।
मसँग बहुलाउनुको विकल्प थिएन । जथाभावी चिथोर्न थालेँ । कराएर जगतै थर्काएँ । आफैँलाई मात्रै नभई उसैलाई पनि लुछलाछ पारेँ । ऊ डरले परपरै रहन थाल्यो । म भने लाजै पचाएर जथाभावी गर्न व्यस्त रहन थालेँ ।
बीस दिनअघि म घरायसी काम गर्न भनी मलेसिया गएकी थिएँ । शुरुका दिनमा राम्रै थियो । पछिपछि घरमालिकले जिउ मालिस गर्न लगायो । गहका आँसु पचाएर जसोतसो काम गर्दै थिएँ । कल्पनाभन्दा बाहिर गएर मलाई गोडा नै मिच्न लगायो । त्यसपछि भने मेरो स्वभाव पूरै उल्टियो ।
उसले मलाई नेपाल फर्काउन सम्पूर्ण कागतपत्र तयार पारेर राहदानीसमेत हातमा राखिदिएपछि मेरो बोली निस्कियो, ‘आजसम्म आफ्नो लोग्नेको त गोडा मिचिएन । यस उमेरमा सात समुद्रपारि आएर तँ डिङ्गरको गोडामा तेलमालिस गर्नु भन्दा त बहुलाउनु नै निको !’


८. बँधुवाको बिन्ती
‘ओहालाई हामी दूध पिलाउँछु । बीस÷पचास टका दान दिइहाल्नुस् ।’
उसको टुटेफुटेको भाषिक कुरा सुनेर मेरो कन्सिरी तातेर आउँथ्यो । के गर्नु मैले ? म बबुरो विवश छु सानो ढकीभित्र गुडुल्किएर बस्न ।
म यस लोकमा कसैकसैको मुखबाट नागदेव भनेर पुकारिन्छु । कसैले भने शत्रु नै सम्झेर धारे हात लगाउँछन् र मार्न तम्सन्छन् । मेरो प्रजातान्त्रिक स्वतन्त्रता पूरै हननको अवस्थामा छ । मान्छे प्रजातन्त्रप्रेमी भएको ढोंग रच्छ तर ऊभन्दा निरंकुश र स्वेच्छाचारी धर्तीमा अर्को कुनै प्राणी छैन । 
म पनि ऊझैँ सजीव हुँ । मलाई पिटे दुख्छ । काटे उस्तै रगत चुहुन्छ । हामीमा फरक केही छैन । कसैले दुव्र्यवहार गरे उसलाई झैँ मेरो पनि अन्तस्करण चिमोटिन्छ । मेरो रोदनको भाषा म मात्र बुझ्छु अरू कसैले बुझ्दैन । फरक यत्ति हो ।
मेरो मालिक सपेरो मलाई ढाकीमा बोकीबोकी हिँड्छ र जगत्लाई तमासा देखाउँछ । मेरो नाममा पैसो बटुल्छ र आफ्नो स्वार्थी पेट पाल्छ ।
मैले मान्छेको गलागलामा चढ्नुपर्छ । मनोरञ्जन र आस्थाको केन्द्र बन्नुपर्छ । कहिले मानिस भयभित बनेको हेर्नुपर्छ । कहिले क्रोधित भएको त्रास सहनुपर्छ ।
खाने बेलामा मलाई भोकले मर्न नदिने गरी मात्र दिन्छ । गाउँठाउँ घुमाउँछ । मैले मुन्टो उठाएर फणा फिँजाई फुतुफुतु जिब्रो निकालिदिनुपर्छ । दर्शकहरू रोमाञ्चित हुन्छन् । त्यसलाई मैले आफ्नो सफलताको आशीर्वाद ठान्नुपर्छ ।
आखिरमा म मान्छेकै दास भएको छु । मेरो चेतनशक्ति र सामथ्र्य सपेराको कब्जामा छ । म फुत्किएर स्वजातिको वगालमा हराउन चाहन्छु । मसँग पनि अनेकौँ जैविक रुचि, आवश्यकता र क्षमता छन् । तिनलाई देखाउँदै म सच्चा सर्पको जिन्दगी जिउन चाहन्छु ।
अन्ततः भन्न चाहन्छु; ’ए मनुष्य के ममाथि यत्ति कृपा बर्साउन सक्छौँ ?’
 २०७८–०७–१०

 ९. सानो माछो
पक्ष र विपक्षमा लामै तर्कवितर्कपछि न्यायालयले अन्तिम फैसला सुनाउने बेला मेरो मन भतभती पोल्न थाल्यो । बाहिरीभन्दा भित्री पीडा ज्यादा दुख्दो रहेछ ।
आफू फँसेकोमा भन्दा कैयौँ गुणा युवराज फस्न पुगेकोमा मन विचलित थियो । म विगतका पाना उल्टाउँदै गएँ ।
‘मलाई साधु भने भन् तर गुन्द्रुकमा इज्जत फाल्ने नसम्झी ।’
उसको हातमा रुपियाँ थम्याउँदा तर्कँदै र अस्वीकार गर्दै उसले भनेको थियो । म आफूले कमाएको उसलाई पनि बाँड्न चाहन्थेँ । शुरुआतमा ऊ भने नखरा पारिरहेछ भन्ने लाग्थ्यो ।
त्यसैले मैले भनेको थिएँ; ‘पुलिसको सानो जागिर खाएर बुद्ध नबने हुन्छ । अहिलेको युगमा समयअनुसार रत्नाकर पनि बन्न सक्नुपर्छ ।’
उसको नाकनिके अवस्थालाई भेदन गर्दै थपेको थिएँ; ‘हामीभन्दा माथिकाले दैनिक लाखौँलाख कुम्ल्याएर मालामाल बनिसके । हामीलाई सेवाग्राहीले चियापान खाऊ भनेर गोजीमा हाल्देको दुईचार पैसो खाइदिँदा प्रलयको भुइँचालो आए आओस् ।’
कसै गरे पनि ऊ पैसो पक्रन्नथ्यो । म चुपचाप एक्लै राख्थेँ । खाई न खाई पैसो जोगाएर वर्ष दिन भित्रमा विराटनगरमा घडेरी समेत किन्न सफल भएको थिएँ । अख्तियारको मुद्दाले त्यही घरेडी पनि खोसिँदै थियो र म भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने गरी बर्खास्त हुँदै थिएँ ।
अन्ततः ऊ पनि मेरो मतियार भएको फल भोग्दै थियो । मलाई ग्लानिले छोप्प थालेर भन्न पुगेको थिएँ; ‘न्याय नै दिनुहुन्छ भने श्रीमान्, युवराज चोखो छ । सारा कर्कुत म एक्लैले गरेको हो । सबै खाले सजाय म एक्लैलाई होस्; विषै नखाएको युवराजलाई सम्मानजनक रिहाई गरियोस् ।’
२०७८–०७–०९

१०. बोक्सी
’तुँ एतसँ कतो गेलही त माइरै देबो ! जखन हमर बेटी ठिक हेतै तखन तोरा छोइड देबै । बुइझलिही सुकमरिया ?’
मलाई बिजुली पोलमा टनटनी बाँध्दै सिकन्दर कुर्लेको थियो । सिकन्दरले मलाई पोलबाट फुत्किएर अन्यत्र गए मारिदिने कुरा अवगत गराएको थियो ।
पुरै गाउँ धन र शक्तिको पछि थियो । निर्धन र निरीहको पक्षमा कोही भए पनि आँखामै आँसु पचाउन बाध्य थियो । मनमा जति आक्रोश भए पनि मुख बन्द गर्न विवश थियो । हातपाउ बासका ठुटा बनाउन लाचार थियो ।
मेरा मान्छे परपरैबाट टुलुटुलु हेर्थे । सिकन्दरका मान्छे मेरो नजिकै आउँथे । थुक्थे, कपाल जगट्याउँथे, लात्तले हान्थे । मानौँ म मानव आकृतिको बदमास पशु हुँ र मैले जघन्य अपराध गरेकी छु ।
म हारगुहार मागिरहेकी थिएँ । दुबै छोरा र पतिको कसम खाँदै मैले अपराध गरेकी छैन भनिरहेकी थिएँ । मेरो क्रन्दन  साउनका भ्यागुता कराए सरह भएको थियो । महोत्तरीको भूमिमा महाष्टमीको दिनमा मैले नर्के जीवन भोगेको पहिलो पटक हो ।
अन्ततः बियरको बोतलमा मानव मलमूत्र घोलेर ल्याए । पुरनी, प्रमिला र अनिलले टाउको समाए र मुख च्याते । मैले घटघट नपारुन्जेल सिकन्दरले मुखमा बोतल कोच्याई रह्यो । पटकपटक गरी तीनचोटी मलमूत्र कोच्यायो ।
मलाई लागेको एउटै आरोप थियो– मैले सिकन्दरकी तेह्र वर्षे छोरीलाई टुनामुना गरेर रोइरहने बनाएँ रे !
०२ कार्तिक, २०७८    

११. निभेको बत्ती
‘ई पुलिसबालाके माइते माइते एनेसँ भगा देबै ।’
प्रहरीलाई पिट्दैपिट्दै भगाउने जनआक्रोश सुनेर सारा प्रहरीहरूको मनमा ढ्याङ्ग्रो बजेको थियो । हाम्रो हात, खुट्टा र मुख फुक्का देखिए पनि कर्तव्यको साङ्लोले बाँधिएका थिए । आक्रोशित भीड अझ क्रोधित बन्दै गएको थियो ।
‘जनतासँग मुख लाग्नुहुन्न । उनीहरूको अन्तस्करण चिमोट्नुहुन्न । हात छाड्ने काम त भुलेर पनि गर्नुहुन्न । टीकापुर काण्ड फेरि दोहोरिने र दोहो¥याउने हर्कत गर्नुहुन्न ।’
हाम्रा अफिसरको यस्ता गुलिया र रसिला कुरा सुनेर हामी ‘एस सर’ भन्दै अन्धो अनुसरण गथ्र्यौँ । ढुङ्गामुढा आफ्नो टाउकामा थापेर अफिसरहरूको उचाइ बढाउन अभ्यस्त रहन्थ्यौँ ।
पहिले त हाम्रो संसारमा प्रजातन्त्र हराएको थियो । अहिले पनि उत्ति साह्रो प्रजातन्त्र आएको छैन । र; जनअपेक्षालाई सही ढङ्गले सम्बोधन गर्ने हो भने सुरक्षा निकायमा प्रजातन्त्रको ढुकढुकी मात्र पस्नुपर्छ । पुरै प्रजातन्त्र पसेमा जनअपेक्षा कुण्ठित हुन्छ । राजनीति हावी हुन्छ ।
म मनोद्वन्द्वमा फँसेकै बेला स्थानीय जनताले चारैतिरबाट घेरेका थिए प्रहरी थानालाई । मेरो कमान्डिङमा सत्र जवानले थाना वरपर कडा सुरक्षा गरिरहेका थिए ।
‘पुलिसने हमर नरेशके माइरके लटका देलकै । तहिद्वारे तोरोसभके माइरके लटकेबै ।’ नरेशलाई मारेर झुन्ड्याएको आरोप लगाउँदै प्रहरीलाई पनि उस्तै हालत बनाउने भीडबाट उद्घोष सुनिँदै थियो ।
चोरी गर्दागर्दै रङ्गेहात पक्राउ परेको नरेशले हिरासतको भेन्टिलेसनमा झुन्डिएर आत्महत्या गरेछ । सिसिटिभीले सारा कुरा स्पष्ट देखाउँदादेखाउँदै भीड भेडोजस्तो भएकोमा हामी हैरान थियौँ । ढुङ्गामुढाको वर्षाबाट जोगिँदै थानालाई जोगाउँदै थियौँ ।
हेर्दाहेर्दै ढुङ्गामुढाले एक जवान भुक्लुक्कै ढल्यो । काँधमा बन्दुक झुन्ड्याई टाउकाबाट बगिरहेको रगत दुबै हातले रोक्तै घाइते जवान कुर्लेको थियो; ‘सिसिटिभी हेर्न खटाएको एक जवानको लापरबाहीले  हामी निर्दोषले जनताको ढुङ्गामुढा खानु यो कहाँसम्मको न्याय हो ?’
०३ कार्तिक,  २०७८  

१२. ख्यालठट्टा
‘गाउँछ गीत नेपाली; ज्योतिको पंख उचाली’
असोज २२ गते विहान पाँच पन्ध्र बजे मेरो गोजीले यस्तो सुरिलो भाका हाल्यो । हिँड्दाहिँड्दै हत्तपत्त मोबाइल उठाएर बोल्न सुरु गरेँ ।
‘मर्निङ वाक गर्दै हुनुहुन्छ कि क्या हो ?’ परिचित आवाजजस्तो लागेर ‘हजुर’ भनेँ । त्यसबखत लक्ष्मीकान्तजी र म पानीमा रुझ्दै र ओत लाग्दै रूपनगरबाट वस्तिपुर पुगेका थियौँ ।
‘एकाविहानै केको वाकव्याक गर्नुहुन्छ ? बिरामी मान्छे औषधी खाएर ओछ्यानमा लडिराख्नुपर्ने ! तपैँको चालढाल निको छैन जस्तो छ है अचेल ।’
अर्को व्यङ्ग्यको झटारो खाइसकेपछि नम्बर हेरेँ– नाम सेभ थिएन । मसँग यस्तो आत्मीय कुरो को गर्दै छ भन्ने पनि ठम्याउन सकेको थिइनँ ।
देवराज अधिकारी बेलाबेलामा मलाई अपरिचित फोनबाट यस्तै उट्पट्याङ कुरा झिकेर र स्वर बिगारेर आपतमा जाक्थे । भ्रमबस उनै हुन् भनेर  मुखबाट फुत्किहालेछ; ‘देवराज; धेरै नछले हुन्छ ।’
’मिलेन’ भन्दै गलल हाँस्दै फेरि उताबाट ध्वनि सुनिएको थियो; ‘तपैँले मेरो नम्बर किन मोबाइलबाट उडाउनु भो ? अब आफैँ चिन्नुस् । म मरिगए भन्दिनँ ।’
म अक्कबक्क थिएँ । दश वर्षपूर्व नै परमधाम गएका मित्रको नाम लिएर हुस्सिएको थिएँ । मेरो गाउँका देवीभक्त तिमल्सेना पनि बोल्दा दिल खोलेर हाँस्थे । भोजपुरमा पढाउँथे । उनै पो हुन् कि भन्ठानेँ तर बोल्न मुखलाई दुःख दिइनँ ।
’लघुकथाको किताब प्रकाशन भो ? विद्यावारिधीको पढाइ श्रीगणेश भो ? अब तपैँको शरीर सकसमुक्त भो ? अहिलेसम्म साहित्यमा नयाँनौलो के गर्नुभो ?’
मेरा सामु मोबाइलबाटै प्रश्नको हिमाल ठडिएयो । प्रश्न सोध्ने स्वर पत्ता लगाउन नसकेर म अझै रणभुल्लमै थिएँ ।
पुन ः दिल खोलेर हाँस्दै सोधियो; ’चिने चिन्नुस्; बिर्से नचिन्नुस् । हाइकु बारे अनुसन्धान कहाँसम्म पु¥र्याउनु भो ?’
‘हजुर्का हरेक प्रश्नको सोलोडोलो एउटै उत्तर छ मसँग– सप्पै कुरा कोरोनाले खायो । माफ गर्नुस् ।’
मैले बोली टुङ्ग्याउनासाथ ख्याल आयो– हाइकु विधामा ज्यानै दिने पूर्वाञ्चलका पोखरेल थरका एक हाकिम थिए । म विरामी छँदा बरोबर अस्पतालमा भेट्न पनि आएका थिए ।
कहिल्यै ठट्टा नगर्ने र सधैँ गम्भीर भएर गम्भीर कुरा गर्ने ती मित्रलाई बल्ल चिनेँ । उनको बदलिएको चालढालबाट म छानाबाट खसेको थिएँ । मित्रलाई पनि समयले खारेर गम्भीरबाट चञ्चले हुने बनाएछ भन्ठानेँ ।
हत्तपत्त भनेँ; ‘सरी हेमराज सर ! बल्ल चिनेँ ।
उताबाट जवाफ आएको थियो; ‘राज हैन, सागर चैँ हुँ म ।’
२०७८÷०६÷२३

१३. झोक
‘म खुल्लमखुल्ला छु । जाँजाँ र जेजे चेक गर्नुछ बिनासोधखोज गर्न सक्नुहुन्छ । तर बिनासित्ती दुःख देको जोखिम भने मोल्नुपर्नेछ ।’ 
यात्रारत् एक माक्सधारी ठिटोको जवाफमा यस्तो थियो । मैले उसलाई झोलाभित्र के छ भनेर सोधेको मात्र थिएँ ।
त्यसबेला म दशगजा क्षेत्रमा सशस्त्र प्रहरी ड्युटीमा थिएँ । मेरो काम मूलबाटामा ढाट तेर्साएर रुङ्नु थियो । अवैध मालसमान ओसारपसार हुन नदिनु र सीमा सुरक्षा गर्नुथियो । 
ठिटोले झोलामा नयाँपुराना साडी, ओड्नेओछ्याउने साथै थरीथरीका खानेकुरा बोकेको थियो । ऊ बाइकमा थियो । अनुहारमा कालो माक्स थियो । उसको जिउडाल चिनेचिनेजस्तो र आवाज सुनेसुनेजस्तो लागेको थियो ।
उसको बोली सम्झँदा झनक्क रिस उठिहाल्थ्यो । कुनै यात्रुसँग बहस नगर्ने र यात्रुको ज्यादती समेत सहने शिक्षा घोकाएर हामीलाई ड्युटीमा पठाएको हुन्थ्यो । 
प्रायः गाउँका सोझासीधा मानिस भनेको खुरुक्क मान्थे । टाठाबाठाहरूले नै हामीलाई सताउने गर्थे । कारबाही गर्न खोज्दा माथिल्लो निकायबाटै चेतावनी खेप्नुपथ्र्याे । सम्झेर ल्याउँदा सीमा सुरक्षाको जागिर निल्नु न ओकल्नु हुन्थ्यो ।
म मनोगन्थनमा व्यस्त रहेकै वखत ठिटो मेरो नजरबाट ओझेल परिसकेको थियो । उसको हेय र तुच्छ व्यवहार अनि कर्कश बोली मनमा बिझाइरहेकै थियो ।
नजिकै उभिएर विवाद सुनिरहेका पसलेले भनेका कुराले पो म झसङ्ग भएको थिएँ । उनको कथन थियो; ’ठिटो यही गाउँकै जनक हो । माक्स खोलेको भए तपैँ पनि चिन्नुहुन्थ्यो । ऊ प्रसुति व्यथा लागेकी आफ्नी दिदीका निम्ति बन्दोबस्तीका सामान लिएर अस्पताल जाँदै थियो ।’
कार्तिक ०२, २०७८  
१४. मनको बह
तँ एक्लै परलोक गइहालिस् फगुनी ! हाम्रा दुई छोरा मिलेर मलाई भैँसी बाँध्ने किलामा बाँधेका छन् । ताउरमाउर गर्छन् । भनेको नमाने खान नदिई तड्पाएर मार्छौँ भनिरहेका छन् ।
अहिलेसम्म त प्राण राख्न खान दिएका छन् । सुत्न भने रातभरि भैँसीको बाहिरी थलो छ । दिनभरि भित्री थलो छ । आफ्नै कोख बैरी भएपछि कसको के नै लाग्दो रहेछ र !
तँ आफूलाई मात्र दोष नदे फगुनी ! मेरो खुनमा पनि दोष छ । हामीले समातेको र लिएको संस्कारमा पनि दोष छ । सबभन्दा बढता त हामीले छोराहरूमाथि गरेको अतिशय प्रेममा दोष देख्छु म त !
एक दिन ठूलो छोराले भन्यो; ‘बाबुजी, हमरा भिन्न क्या देही ।’
उसको अंश लिएर छुट्टिने चाहनालाई मैले सहर्ष स्वीकारिदिएँ । भएको चलअचल सम्पत्ति जेठा, कान्छा र मलाई गरेर तीन भाग अंश लगाइदिएँ । व्यापार बिजनेस गर्न सुको पैसा छैन भनेर ङिच्च गरे । शिक्षण पेसामा रहँदा सञ्चयकोशमा जम्मा भएको चार लाख झिकेर आधाआधा बाँडिदिएँ ।
पैसा पाउँदा खुब खुशी भए । मैले खबरदारी गर्दा सचेत छौँ भनेर विश्वास दिलाए । किराना सामान किनेर पसल थापेका थिए । दुलहीहरूलाई साहूनी बनाएका थिए । बरोबर कुनै गुनासो गर्ने ठाउँ नै दिनौँ भनिरहेका थिए ।
बढेका, पढेका र छुट्टिएर आआफ्नो लगनी पक्रेका छोराहरूलाई कचकच गर्न हुन्न भन्ने लाग्यो । मैले वास्ता गर्न छाडिदिएँ ।
हातमा पैसा खेलाउन पाएपछि जोईपोइ दुबै थरी रौसरङमा डुबेर पैसा तुर्याएछन् । जाँडरक्सी खाने र खुवाउने भएछन् । व्यापार टाट पल्टेछ ।
‘बाबु, निक व्यापार करबै । अर दो लाख दे ।’ कान्छोले दुईलाख मागेको सुनेर जेठाले आफ्नो नाममा जग्गा पास गर्दिन भन्यो । दुबैको प्रस्ताव अस्विकार गर्दा कागजमा सही गर् भन्दै मेरो यस्तो हाल बनाए ।
२०७८–०६–२० 

१५. लक्ष्मी–सरस्वती स्मरण
‘भैलिनी आइन् आँगन; घुमीघुमी नाच        
सधैँ आउँछ आठ बजे लघुकथा वाचन ।
फूलैफूलको सुभाषले मनै अघाउला
हाँसीखुशी चाड माने श्री भित्र्याउँला ।
हे औँसी बार गाई तिहार भैलो ।’

आँगनभरि भैलिनीहरू नाच्दैगाउँदै रमाइलो गरेको देखेर उनीहरूको ध्यान खिच्न मैले पनि  भट्याएको थिएँ; 
‘नानीहरू आएछौ; धेरै बेर भैलिनी गाएछौ
घोक्रो पनि सुक्यो; आखिर के नै पाएछौ ।
बरु देओ आसिक; धनधान्य भइरहोस्
सधैँ यस्तै नाच्ने–हाँस्ने दिन आइरहोस् ।
हे औँसी बार गाई तिहार भैलो ।’

मेरो आशय बुझेर उनीहरूले आसिक दिँदा भनेका थिए; 
‘लक्ष्मी जयन्तीको यस पुनित घडीमा
धनसँगै बस्न यहाँ मनले समेत पाओस् ।
देउसेभैलेको सोच सधैँसधैँ पुरा होओस्
सर्वदा यस घरले साहित्य जन्माइरहोस् ।
हे औँसी बार गाई तिहार भैलो ।
दिएको दक्षिणामध्ये उनीहरूले फूलको थुँगा र सेलरोटी मात्रै उठाएका थिए । अरू सबै आफ्नै काममा लगाउन आग्रह गरेका थिए । साँच्चै गज्जवले रमाएका थिए । 
उनीहरू जाँदाजाँदै सुनिएको थियो; ‘हामी आयौँ; पर्व मनायौँ; खुशी मन लिएर फर्कियाँै । फेरिफेरि आउन पाइयोस् । हरेकको मनमा अमनचयनले वास गरोस् । लक्ष्मीका मात्रै हैन सरस्वती भोका पनि बनियोस् । हरेक वर्ष घरघरबाट साहित्य फुलोस् र फलिरहोस् ।’
उनीहरू विदा हुनासाथ बाले मलाई हकार्दै सोध्नुभएको थियो; ‘पैसो चाइन्जो कम दिइस् क्यारे नलिई गए । क्या हो केटा । देउसीभैली गाएको पनि अर्कैअर्कै गाउँथे ।’
‘यिनरू रमाउन निस्केका हुन्, कमाउन होइन, बा । हामीले देको फूल र खानेकुरा लिए त । आसिक दिइहाले ।’ मेरा कुरा सुनेर बा नाकनिक गर्न थाल्नुभयो । 
मैले पुनः भनेको थिएँ; ‘यत्तिमै उनरू सन्तुष्ट छन् । हामेरूले पनि सन्तोक गर्नुपर्छ ।’
वास्तवमा उनीहरू सांस्कृतिक पर्वसँगै महाकविको स्मरण गर्दै हिँडेका थिए ।
२०७८–०७–१४ 

१६. रागे नाति
‘मेरो नाति ठूलो मान्छे बन्छ । जनताको आशा र भरोसाको नेता बन्छ । दुःख आफैँ पिउँछ र सुख अरूलाई बाँड्छ ।’
मेरा बाजे नथर साहूको यस्तो कथनले म मख्ख हुन्थेँ । गाउँघरतिर मेरो बढ्दो प्रभाव उहाँलाई मन परेको अनुभूत हुन्थ्यो । त्यस हरिरावा गाउँमा दिनानुदिन मेरो बोलबाला बढ्दै गएको गाउँलेहरू भने खासै मन पराउँदैनथे ।
वरपरका छरछिमेकी कसैले पनि आफ्ना बच्चाहरूले मसँग दौडधुप गरेको रुचाउँदैनथे । तसर्थ कसैलाई पनि मसँग खेलदौड गर्ने र हिँडडुल गर्ने छुट थिएन । आफ्ना आमाबाबुबाट पिटाइ खाएको बिर्सेर प्रायः साथीहरू जम्मा हुन्थे । म उनीहरूको नेता हुन्थेँ । स्कुल जाने बहानामा दिनभरि हामी बरालिन्थ्यौँ । स्कुल छुट्टी भएपछि घर पुग्थ्यौँ ।
स्कुल छुट्दा साथीहरूको पढाइ कमजोर हुँदै गएछ । म भने दिनानुदिन तेज बन्दै थिएँ । कारण, घरमा बाजे मलाई कडाइका साथ पढाउनुहुन्थ्यो । अरू बेला उहाँले जति छुट दिए पनि पढ्ने बेला भने उहाँजस्तो खरो अनुशासन लाद्ने मान्छे विरलै थिए । म उहाँको स्वभावबाट भलिभाँती परिचित थिएँ ।
चारैतिर तिहारको रौनकता लागेको थियो । एक दिन विहानै उहाँले मलाई प्रेमले उठाउनुभयो । रागे कुकुरसँगै लगेर पोखरीमा नुहाइदिनुभयो । त्यत्तिउँजेल घरमा छरछिमेकी जम्मा भइसकेका थिए । मलाई रागेको जस्तै चारहात पाउ टेकाउनुभयो । त्यसैसँग टीकामाला लगाइदिँदै कुकुर तिहार मनाउनुभयो । एउटै थालमा खानेकुरा दिनुभयो । रागे खान थाल्यो । म हेरिरहेँ ।
बाजे भुत्भुताएको सुनिरहेको थिएँ, ‘तँ र रागेमा केही फरक छैन । रागेको उजुरी गर्न एकाविहानै यत्तिको मानवसागर कहिल्यै उर्लेन । मेरो नातिबाट बढुवा भएर तँ रागेको पिता भइस् ।’
२०७८–०७–१३ 


१७. ससुराप्रेम
हुनवाला ससुरा मलाई सकी नसकी लखेटिरहन्थे । कारण म बुझ्न सक्तिनथेँ । खालि म लखेटिन्थेँ । उनका आँखा चिक्सा तर कामुक देखिन्थे । म शङ्कालु नजरले हेर्थेँ । 
म त्यस गाउँमा भित्रनासाथ उनकी पत्नी वितेकी थिइन् । लगातारको एक हप्ते ज्वरोले मेरा पतिले पनि परमधामको यात्रा तय गरेका थिए । उनी विधुर बनेका थिए; म विधुवा भएकी थिएँ ।
घाँसपात र मेलापात गर्न जाँदा वा फर्कंदा एकान्त भेट्यो कि मलाई एकोहोरो हेरेर ¥याल चुहाउन थालिहाल्थे । उनी बोल्न खोज्थे । आइज मेरै बाहुपासमा सर्पझैंँ बेरिन आइज भनेजस्तो लाग्थ्यो । 
उनी सत्तरी कटेका म बीस वर्ष टेकेकी हामी बीचको अनमेल सम्बन्ध असम्भव थियो । म हुँदै हुन्न भनेर टाप कस्थेँ । उनी पर्ख र कुरा सुन भन्थे । मलाई भयले गाँज्थ्यो । म अन्धाधुन्ध दगुरेर क्षणभरमै अलप हुन्थेँ ।
म मनको भय अरूलाई सुनाउन सक्तिनथेँ । किनभने उनका छोरासँग मेरो दोश्रो विवाहको कुरा स्वयम् मेरा सासूससुरा गरिरहेका थिए । अर्कातिर म अरूसँग भएको बेला भने उनी मलाई पुलुक्क पनि हेर्दैनथे ।
म उनका छोरासँग जोडा बाँधिन आतुर थिएँ । त्यसमाथि समाजमा नभएको काम हुँदै थियो– सासूससुराले नै कन्यादान दिने । 
मेरा बाबामामूलाई साक्षी राखेर कन्यादान दिइसकेपछि सासूससुराले भनेका थिए; ‘छोरो थियो त तिमी बुहारी थियौ । छोराले धर्ती नै त्यागेपछि तिमी छोरीमा परिणत भयौँ । आज हामीले रहर पुरा गर्यौँ । नयाँ दाम्पत्य जीवन शुभ बनोस् ।’
मेरो मनमा खुशी र सम्मानसँगै भयले घाँटी अठ्याइरहेको थियो । नयाँ घरमा भित्रिएको दुई घण्टापछि नै मेरो मनमा मात्रै हैन जीवनमै भुइँचालो गएको थियो ।
म एक्लै भएको मौका पारी उनै ससुरा मेरो कोठामा पसेर भनेका थिए; ‘मैले अधर्म पचाउन सकिनँ । पैला नै भन्न खोज्या थेँ । मेरो छोरो एडस् पीडित छ । तिमी आफ्नो प्राण आफैँ जोगाऊ ।’
२०७८÷०७÷१२ 

१८. शिखाको शक्ति
‘एई पण्डित ! तिमी मलाई शासनशैली नसिकाऊ । आफ्नो पण्डित्याइँ गरेर जनता उल्लू बनाउन छुट पाएकै छौ । जाऊ उल्लू अभियानमा सरिक भएर पुख्र्यौली परम्परा चलाऊ ।’
राजा धनानन्दको कुरा सुनेर चाणक्यको अन्तस्करणमा ठूलो चोट लाग्यो । उनी संसार विजय गर्ने सिकन्दरको अभियानबाट त्रस्त थिए । उनले अखण्ड भारतको परिकल्पना गरेका थिए । शक्तिशाली तर न्यायप्रेमी राजाको छत्रछहारी पाउन सके मात्र जनता सुखी हुन्छन् भन्ने उनको सोच थियो । आफ्ना राजा धनानन्द जनता बीच अलोकप्रिय भएकोमा उनको मनमा आँधी चलिरहेको थियो ।
आफ्नो मनको असन्तोष सुनाउने इरादाले उनले राजा समक्ष पुनः आग्रह गरेका थिए, ‘महाराज, जनताबाट कर लिनुपर्छ र त्यसको उपयोग जनताकै सुखसुविधामा लगाउनुपर्छ ।’
राजाले प्रत्युत्तर नदिई सोचमग्न भएकै बेला उनले थपेका थिए, ‘तर यहाँ जनताले तिरेको कर राजसंस्थाको विलासितामा खर्च हुन्छ । जनताको आँसु र खुनको दुरुपयोग गरिरहे त्यस शासकको मात्रै हैन उसका सन्ततिको समेत भलो हुँदैन ।’
राजा रिसले चुर हुँदै गलहत्याएर सभाबाट निकाल्न घचेट्दा चाणक्य भुइँमा पछारिए । लड्दा टाउकोमा बेरिराखेको शिखा फुस्यो । त्यही शिखालाई सुम्सुम्याउँदै उनले भनेका थिए, ‘राजा धनानन्द, आजैका दिनदेखि तिम्रो मगध शासनमा धमिरा पस्यो । तिमीलाई सत्ताको मात चढेछ । तिमीलाई सत्ताच्युत नगरी म यो शिखा समेट्दै समेट्तिनँ ।’
त्यसपछि उनले १८ वर्षे चन्द्रगुप्तलाई प्रशिक्षित पारे । तिनै चन्द्रगुप्तले धर्मानन्दलाई सत्ताच्युत गरे । अन्ततः राजाको रूपमा चन्द्रगुप्त र प्रधानमन्त्रीको रूपमा चाणक्यले मगधको सत्ता समाले ।
२०७८–०६–१३ 

१९. माफ गर्नुस्
‘चैती काकीको सँगमा हामी आइरहेछु । तपाईं गोलचक्कर चौकमै रुक्नुस् । हामी आइहालेछु ।’
मर्निङ वाकमा मलाई उछिनेर अघि दौडेका दुई नारीमध्ये जवान केटीका मुखबाट निस्केको ध्वनि सुनेर म अवाक् भएको थिएँ । ऊ मैथिली मातृभाषा प्रभावित नेपाली भाषामा मोबाइलवार्ता गरिरहेकी थिई ।
घरी उनीहरू दगुर्थे, घरी हिँड्थे । घरी भने उभिएर लामो सुस्केरा काड्थे । म उनीहरूको समीप पुगिहाल्थेँ ।
‘तुँ अपने निर्णय केनेछी । हमरा कोनो दोख नई छै । निक हेतै आ बजा हेतै । तोरो अपने माथापर लैला परतै ।’ अर्की अधबैँसे नारी भनिरहेकी थिई ।
उसले दोष आफूले नलिने र जसअपजस आफ्नै टाउकामा बोक्नुपर्ने बोधले केटी केही निरास भएकी थिई । बातचितबाट बुझेअनुसार केटीलको सामाजिक विवाह भएको महिना दिन पनि वितेको रहेनछ । दुई साता अघि नै लोग्नेको भिसा आएर कतार उडेछ । केटी माइती गाउँको रामनाथ खरेल साथीसँग २०७७ सालमै प्रेमविवाह गरेर विवाहदर्ता समेत गराएकी रहिछ । इज्जत बचाउन भन्दै ठूलो धनराशी खर्च गरेर उसको विवाह जबरदस्ती गर्दिएको रहेछ ।
फलैचामा पुगेर अधबैँसे थ्याच्चै बसी र पुर्पुरामा हात लगाउन थाली । परको लोकमार्गमा केटो हात उठाएर इशार गर्दै थियो । केटी मात्रै तुफानसाथ दौडिई र हेर्दाहेर्दै दुबै अलप भए । पन्ध्र मिनेटपछि एक प्रौढ नारी र दुई युवक बाइकमा आए । अधबैँसेसँग कुराकारी गरे । तीमध्ये एउटाले हडबड गर्दै मोबाइल डाइल ग¥यो ।
‘प्रहरी दाइ, बाइकमा आउने केटाले हाम्री भाउजू भगायो । त्यसलाई पाता कस्नुस् त हामी आउँछौँ ।’
उताबाट जवाफ आएको थियो, ‘विवाहका फोटाहरू देखाउँदै वैधानिक कागजपत्र पेस गर्नेको पक्षमा कानुन छ । दुबैको विवाहयोग्य उमेर रहेछ । उनीहरूलाई छाड्न वाध्य भयौँ ।’
२०७८–०६–१९ 

२०. विचार र अनुभूति
एक पटक यस सृष्टिको कल्याणका खातिर भन्दै दुई शत्रु बीच आमनेसामने भएर अन्तरक्रिया भएको थियो ।
‘एई, तँ मान्छेलाई अलमल्याउन माहिर छस् । वर्तमानलाई ओल्टाईपल्टाई गरेर पनि जीवन चल्छ र ?’
शत्रु–१ को विचार सुनेर शत्रु–२ को अनुभूति केहीबेर अलमलमा प¥यो । उसले शत्रु–१ का कुरामा निकैबेर गम खायो । केहीबेरमै उसलाई दिव्यज्ञान प्राप्त भएझैँ लाग्यो । आफूले आफ्नै स्वभाव कुल्चेको ठहर भयो र तुरुन्तै सतर्क बन्यो ।
‘मेरो प्रश्नको जवाफ दिन नसके मसँग नै लम्पसार परेर क्षमा माग्दा भइगयो नि ! किन आलटाल गरिराख्नु प¥यो ?’
शत्रु–१ कोे व्यङ्गयात्मक विचार र कटु कुरा सुनेर शत्रु–२ को अनुभूतिलाई खपिनसक्नु भयो । भित्री मनदेखि नै रिस उम्लेर आयो ।
रिसाउनु र रिस प्रकट गर्नु शत्रु–१ को काम हो; आफ्नो हुँदै होइन भन्ने सोचेर शत्रु–२ ले सहजभावमा भन्यो; ‘सरी, अहिले केहीबेरलाई छुट छ भन्दैमा मख्ख नपर । म र तिमी बीच आकाश–जमीनको सम्बन्ध छ । म भए ठाउँमा तिम्रो प्रवेश निषेध छ । तिमीकहाँ म आफ्नो स्वभाव लिएर जाने कुरै आउन्न ।’
शत्रु–१ सोचमा डुबेकै बखत शत्रु–२ को अर्को स्वर थपिएको थियो; ‘तिमी मनुष्यलाई दास बनाउँछौ अर्थात् कैद गर्छौ । म मनुष्यलाई सम्पूर्ण रूपले दासत्वबाट मुक्ति दिलाउँछु ।’
अन्ततः दुबैको अन्तरक्रियाबाट मनुष्यलाई बाहिरी जगत् शत्रु–१ ले विचरण गराउने कुरा भयो । भित्री जगत् भने शत्रु–२ ले घुमाउने निचोड निस्कियो । यसै कुरामा ल्याप्चे लगाएर उनीहरू दुबै आआफ्नो स्थानमा रवाना भए । 
ती दुई थिए– शत्रु–१ को भूमिकामा मनुष्यको ‘विचार’ र शत्रु–२ चाहिँ मनुष्यको ‘अनुभूति’ ।
२०७८–०६–१५

२१. महाचोर
‘मिल्न सके सबै मिल्छ; नसके झगडाको बीउ बन्छ । तिमरू के गर्दा रछौ; म हेर्दै छु ।’
यसखाले खबरदारीका साथ मैले पोलेको मुसाका पुच्छरहरू आफ्ना बच्चाहरूलाई दिएको थिएँ । उनीहरूले पनि रमाईरमाई नुनसँग चोबेर खाएका थिए ।
‘मुसाको पुच्छर त यत्ति मिठो हुन्छ । झन् पोलेको मुसाको शरीर खान पाए कति काइदा हुन्थ्यो !’
कान्छी छोरीको इच्छालाई थुम्थुम्याउँदै जेठो बोलेको थियो; ‘सप्पै खान पाइन्छ । बाबा मुसाको मासु सफा गर्दै हुनुहुन्छ । यसरी हैन पकाएर रस हालेको मुसाको मासु र एक थाल भात मज्जाले खान भेटिन्छ ।’
‘दाजु; हिजो घरमै मुसा मारेको थियो । किन नखाएर फ्याकेको ?’
बहिनीको सवालको जवाफमा जेठाको स्वर सुनिएको थियो; ‘घरायसी मुसाहरू गन्हाउँछन् । वनका मुसा गन्हाउँदैनन् । स्वादिला हुन्छन् ।’
‘यत्ति स्वादिष्ट हुँदा पनि अरू जातका मान्छेहरू आफूले परै जाओस् हामीले मुसा खाँदा पनि किन घिनाउँछन् ?’
कान्छो छोराको जिज्ञासाको मुख बन्द पार्न जेठाले जवाफ दिएको थियो; त्यो त सानैदेखि लागेको बानी र पारिवारिक सोचमा भर पर्छ ।’
कुरा सुनिरहेकी आमाले मसला पिस्दै भनेकी थिइन्, ‘हाम्रो जात मुसा खाने हो । हामी प्रकृति पुज्छौँ । प्रकृतिको उपहार निःशुल्क लिन्छौँ । प्राकृतिक जीवनशैली जिउँछौँ ।’
मुसाको मासु परपरी भुट्दै मैले पनि थपेको थिएँ; ‘किसान मरेर काम गर्छ; खेतमालिक बसेर फाइदा लुट्छ । उसभन्दा पहिले मुसाले लुट्छ । त्यही मुसालाई म लुट्छु ।’
‘किसानको पसिनाबाट बसीबसी लाभ खाने खेतमालिक हो; किसानको मेहनत सित्तैमा चोर्ने र आफ्नो भकारी भर्ने मुसा हो । उसो भा मुसाहरूलाई उठिबास लाउने हजुर चाहिँ के हुनु भो बाबा ?’
जेठाको प्रश्नले मलाई नाजवाफ परेको थियो । हजुरलाई कस्तो पार्यो कुन्नि ?
(उराँवटोल प्रदक्षिणपश्चात्)
१०÷०४÷२०२१ उदयपुर, सिद्धार्थटोल ।


२२. सरम
‘सिर्जनाको सिर्जनशीलता किन ओइलिएको अचेल ? तपैँहरूको के स्पष्टीकरण छ ? बुझूँ न ।’
प्रधानाध्यापकको प्रश्नले शिक्षकहरू सकसमा परेका थिए । किनभने दश कक्षाकी प्रथम विद्यार्थी सिर्जना विद्यालय नियमित आउँथिन् । सबै शिक्षकहरूकी आँखाकी नानी थिइन् । शिक्षकले पढाउँदा ध्यान दिएर सुन्थिन् । सहकर्मी साथीहरूलाई सोधेको प्रश्नको जवाफमा समेत एक चित्त लगाउँथिन् । 
शिक्षकहरूले उत्कृष्ट ग्रेड ल्याएर सिर्जनाले एसइई परीक्षामा विद्यालयको इज्जत जोगाउने छिन् भन्ने आशा राखेका थिए । यद्यपि प्रथम त्रैमासिक परीक्षाको रिजल्ट हेरेर निरास थिए । परीक्षा परिमाणलाई सुधार गर्ने विषयमा छलफल हुँदै थियो ।
‘केही विषयमा साह्रै कमजोरी देखियो । सिर्जना त अघिको अघि हुनुपर्ने हो, तपैँहरूलाई प्रश्न सोध्दिनन् ? उनको स्तर पनि खस्केको देखियो । कार्यमूलक अनुसन्धान गर्नुपर्ने भो ।’ 
प्रधानाध्यापकले अङ्ग्रेजी पढाउने राजकुमार शिक्षकतिर फर्केर भने । राजकुमार चिन्तामा डुबे । कक्षामा पुगेर छलफल चलाए । चित्त बुझ्दो कारण फेला परेन । 
अभिभावकहरूसँग भेटघाट गरे र केही समस्याहरू महसुस गरे । आफूबाट समाधान गर्नसक्ने कुरामा सचेत भए । व्याख्यान विधिको प्रयोगमा कमी ल्याए । प्रयोगात्मक विधिमा सबैलाई सक्रिय पार्न खोजे । केही मात्रामा सुधार अवश्य भयो तर कसैले प्रश्न सोध्दै सोधेनन् । अझै समस्याको जरो पत्ता नलाग्दा राजकुमारको चिन्ता कम भएन ।
मिल्ने साथीसँगीहरूसँगको गोप्य छलफलबाट राजकुमारले खुलस्त थाहा पाए । शिक्षकले पढाइसकेपछि ‘बुझ्यौ ?’ भनेर प्रश्न गर्दा रहेछन् । केही केटाहरू ‘बुझिनँ’ भनेर जान्न खोज्ने विद्यार्थीलाई ‘पढनदास’ भनेर जिस्क्याउँदा रहेछन् । त्यसैले नबुझे पनि ‘बुझेँ’ भन्न वाध्य भएका रहेछन् ।’ 
२०७७.०६.०९

२३. नसियत
‘सर ! हम बहुत दुःखी लोग छी । कहियौ सुख नही भेटलियै ।’ (सर ! म धेरै दुःखी मान्छे हुँ । कहिल्यै सुख भेटिनँ ।) ठेलावालले पसिना पुछ्दै मनको पीडा ओकल्यो ।
‘दुःख र सुख जीवनका दुई पाटा हुन् । यी साथै रहन्छन् । एकलाई पन्छाए अर्काको समेत नाम रहन्न । दुःख पचाउनेले सुख भेट्छ, सुखलाई जतन गर्नेले लाभैलाभ आर्जन गर्छ ।’ मेरो कथन सुनेर ऊ आश्चर्यमा प¥यो ।
‘बात नही बुझलिए । कनि निक सँ कहु न ।’ (कुरा बुझिनँ । अलिक राम्ररी भन्नुस् न ।)
‘दुःखमा पनि हाँस्नुस् । सुखमा पनि सचेत रहनुस् । मैले भन्न खोजेको कुरा यही हो ।’
‘कि हाँसब आओर कि सचेत हैबै । हमरा सभक नसियत खराब अछि ।’ (के हाँस्नू र के सचेत हुनू ! हामीहरूको भाग्य नै खराब छ ।) उसको जवाफले म अवाक भएँ र जवाफ फर्काउन नसकेर घोरिन थालेँ ।
‘पसिना बगाएर कमायो, हावामा उडायो । दिनभरि ठेला चलायो, रातभरि भट्टीमा वितायो । स्वास्नीलाई पाखुरी सुर्कियो । छोराछोरीलाई दाह्रा किट्यो । यसको दिनचर्या यसरी नै वितेको छ । तपाईं अरू के बुझ्न चाहनुहुन्छ र, मास्टरजी !’ घर मालिकको प्रश्नले म तर्सिएँ । ठेलावालालाई हेरेँ । ऊ केही लज्जित देखियो ।
‘काज गरैछी त, शरीरके भोजनों चाही । रोज एक गिलास रेडबुल नही लेबै त भर रात निंद नही आबैछै ।’ (काम गर्छु त, शरीरका लागि भोजन पनि चाहिन्छ । रोज एक गिलास रेडबुल (रक्सी) नलिने हो भने भररात निन्द्रा आउँदैन ।) उसले सफाइमा स्पष्टीकरण दियो । 
आफ्नो नसियत बुझाउन उसले मलाई घरसम्म लग्यो । दलानमा ७ जना नाङ्गैभुतुङ्गै केटाकेटी थिए ।
‘बेटाके खातिर सात गो बेटाबेटी भेलै सर ! एकरो लालनपोषणमे हमरा खुन सुकल छै ।’ (छोराका लागि सात सन्तान भए सर ! यिनीहरूको लालनपोषणमा मेरो खुन सुक्छ ।) उसले मेरो ध्यान खिच्न खोज्यो । म भने उसको नसियत पढेको पढ्यै भएँ ।
२४. बोर्डिङ्गे माष्टर
अगाडि विद्यार्थीका कापीको बन्डल छ । सुनिल सर विद्यार्थीका प्रमाण पत्र तयार गर्न जुटेका छन् । 
‘खट्नु, खट्नु, खट्नु, बेस्कन खट्नु ! कत्ति खट्नु ! खट्दा, खट्दै शरीर खस्कँदै गयो ।’ त्यत्तिकैमा उनी फत्फताए ।
‘कथी भेलौ बौवा !’ (के भयो, बाबु !) त्यत्तिखेरै डेरा मालिक्नीले लेघ्रो पसारिन् । 
‘के हुनु र आमा ! स्कूलमा मरेर काम गर्छु, यहाँ पनि स्कूलकै काम गर्नुपर्छ । गरेको देख्ने कोही होइन । काम पछि माम भेट्नुपर्ने हो तर यहाँ बाँच्नसम्म पाइन्न । भोकै र तिर्खै खटिरहनुपर्छ । यसो केही भन्न खोज्यो कि तलब दिएकै छ नि त भनिन्छ ।’ उनले दुखेसोका साथ स्पष्टीकरण दिए । 
‘ओ तोहोर बात भेलै । महिना लागले हमरा कोठाभाडा ला न !’ (त्यो तिम्रो कुरा भयो । महिना लाग्यो मलाई कोठाभाडा देऊ ।) डेरा मालिक्नीको कर्कस बोली फेरि गुञ्जियो । उनी तर्सिए ।
‘दिन्छु आमा ! दिन्छु । पेट काटेर भए पनि दिन्छु । टिउसन पढाएर भए पनि जोहो गरेको छु । स्कूलले दिएको तलवले मुखमा माड लगाउन त धौधौ हुन्छ । घरभाडा पु¥याउन त उही हो ।’ उनको तर्क सुनेर मालिक्नी गम खान थालिन् ।
‘हँ, हमर पोतों पढैछे । स्कूलों हमरा सभक मारमे पारै छै । तूँ सभ टिउसनके नाम पर हमरा सभक खर्चा बढाबै छी ।’ (हँ, मेरो नाति पनि पढ्छ । स्कूल पनि हामीलाई मारमा पार्छ । तिमीहरू पनि टिउसनको नाममा हाम्रो खर्च बढाउँछौ ।)
‘ए बाबा ! दान मागेको छैन । लुटेको पनि होइन । मानसिक श्रम गरेर दुई पैसा कमाएको त हो नि । बोर्डिङ्गे माष्टर भए पछि तलवकै भरमा बाँच्ने कुरा आएन । टिउसन पनि नपढाए त भाग्नुको विकल्प रहन्न ।’ सुनिल सरले पनि मुखभरिको जवाफ फर्काए ।
आमै चुपचाप मुण्टो हल्लाउँदी भइन् ।

२५. अपाङ्ग प्रधानाध्यापक
‘जो परीक्षामा निरीक्षक बन्दा वा रिजल्ट निकाल्दा पदीय जिम्मेवारी निर्वाह गर्दैन, त्यसको नामावली मलाई दिनुस् । सख्त कार्वाही हुनेछ ।’ विद्यालय निर्देशकले आदेश दिएका थिए । 
मलाई बोर्डिङ्ग स्कूलको अपाङ्ग प्रशासक बन्नु जीवनकै दुर्भाग्य हो भन्ने महसुस थियो । त्यसैले पनि फुकिफुकी पाइला चाल्नुको विकल्प थिएन । शिक्षक कर्मचारीहरू कोही जानेर त कोही नजानेर काम बिगार्छन् । नजान्ने भन्दा पनि बुझपचाउनेहरूको सङ्ख्या बढी हुन्छ । कार्वाहीको सुरुवात कसबाट केका लागि गर्ने ? म आफैँ निरुत्तर थिएँ ।
निरीक्षण गरेर कापी बुझाउने दिन २८ गते थियो । मैले सूची तयार पार्नु थियो । पार्नै प¥यो भनी सुरु गरेँ ।
स्कुल नै नआउनेको नामावली– रमेशकुमार, वसन्त, अजय ।
समयमा नआउने र फोन गरी–गरी बोलाउनु पर्नेहरूको नामावली– कञ्चन, राहुल, रिङ्कु, शिवकुमारी, सञ्जीव, अमरकिशोर, कोमल, कृति, रामनारायण ।
नामावली लामै थियो । पचास प्रतिशत शिक्षककर्मचारीबाट जिम्मेवारी बहन नगरेको प्रतिवेदन तयार भयो ।
अब सूची निर्देशककहाँ पु¥याऊँला । उनले आर्थिक दण्ड तोक्लान् । कतिपय शिक्षक रिसाएर स्कूल छोड्लान् । कतिपयले दोष मेरै थाप्लामा खन्याउलान् । स्कूलमा पो म प्रशासक, स्कूल बाहिर त सडकछाप नै हुँ । यस्तै यस्तै विश्लेषणमा घोरिइरहेको थिएँ ।
‘सबै बौद्धिक श्रमजीवि नै हुन् । जस्तो म त्यस्तै उनीहरू । उनीहरूको गल्तीले नाफामा निर्देशक रहन्छन्, घाटामा म रहन्छु । शिक्षक पनि मलाई नै धोका दिन्छन्, निर्देशक पनि त्यसै गर्छन् । समयमा शिक्षक राखिँदैन, कक्षा खाली हुन्छ । त्यो पिरलो पनि मलाई नै छ । शिक्षक रिसाएर म विरुद्ध खनिएलान्, त्यो पनि मलाई नै पिरलो थुप्रिएको छ ।’ म एक्लै भुत्भुताउन पुगेँछु ।
‘बहुत बात नही छै । शिक्षकके जायज तलव सुविधा दियौ । आओर, काज बिगाडैवलाके आर्थिक दण्ड तोकूँ । समस्याके समाधान भ जायत । मुदा, अपाङ्ग प्रधानाध्यापक से उपर उठू ।’ (धेरै कुरा छैन । शिक्षकलाई जायज तलव सुविधा दिनुस् । र, काम बिगार्नेहरूलाई आर्थिक दण्ड तोक्नुस् । समस्याको समाधान भइहाल्छ । तर, अपाङ्ग प्रधानाध्यापकबाट माथि उठ्नुस् ।) स्कूलका वरिष्ठ शिक्षक प्रकाशको बोलीले मेरो तन्द्रा भङ्ग भयो । म उनकै मुखाकृति हेरेको हे¥यै भएँ ।
(मिति २०६८ भदौ २ गते शनिबारको नागरिक दैनिकको पूर्वेली संस्करणमा प्रकाशित)

२६ रगतको आहाल
’सन्तोष, आफूभित्रको हिम्मतलाई उचाल्नुपर्छ । सहासले बिमारसँग जुध्नुपर्छ । हिम्मतका अघि सत्रु झुक्छ । सहास देखेर सत्रु चुक्छ ।’
भतिजोलाई ऊर्जा भरिदिने मनसायले मैले भनेको सुनेर जयप्रसाद दाजुले भनेका थिए; ’केको सन्तोष, सन्तोष अब असन्तोषी भयो । यसको दायाँबायाँ दुईटै खप्पर खोलेको चार दिन भयो । तहिलेदेखि धुकधुकी छ तर मान्छे छैन ।’
म निरुत्तर थिएँ ।  मनमा थरीथरीका सुनामी तँछाडमछाड गरेर दगुर्दै थिए । खोपको नाममा यो सबै काण्ड भइरहेको थियो । म स्वयम् खोप लगाएपछिको ज्वरोले आफैँ तखतरान थिएँ ।
’बाबु, डाक्टरहरूले गर्ने गरे । अब हामी सबैको कामना र प्रार्थनाले सन्तोष फर्कन्छ भन्ने झिनो आश मात्रै छ । यही मेरो चाहानानुसार तपैँ र तपैँका मित्रलाई कामना र प्रार्थना गर्दिन भनिदिनुस् है ।’
भाउजूले आँसु खसाल्दै भनेका शब्दले मन भक्कानिएको थियो । बुहारीले भतिजको सिटिस्क्यान गराउने क्रममा ढलेर अर्को बेड भरेकी रहिछन् । यी सबै भद्रगोल देखेर अब सहासले जुध्ने काम मेरो नै थियो ।
खोप लगाउनासाथ भतिजलाई ज्वरो आएछ । पखाला चलेछ । यताउताको ओखतीमुलोले नछोएपछि उपचारार्थ विराटनगर जाने भएछन् । बुहारी भित्र कपडा लगाउन गइछन् । पोशाक लगाएर तयार भई बाहिरिएको भतिजलाई एक्कासी उच्चरक्तचापले ढलेछन् । ढल्दा अझ टाउकामै चोट थपिएछ ।
बाहिर निस्केर बुहारी चिच्याइछन्; ’आम्मै ! यो तपैँले के गर्नुभाको ? के गर्नुभाको ? हे भगवान् ! –––’
भतिजो त काटेको बोकोझैँ रगतको आहालमा छटपटाइरहेको पो रहेछ ।
२०७८÷०५÷२२


२७. बोली फिर्ता 
– नन्दलाल आचार्य
 सूर्य अस्ताचलमा पुगेपछि बाहिरबाट आएको नरेश छलिँदै घरभित्र छिर्छ । गृहकार्य बनाउन ब्यस्त हुन्छ । अकस्मात आएको बाबुको बोलीले उसको ध्यान भड़्ग हुन्छ ।
“ए नरेश ! एक दिन हैन दुई दिन हैन सधैँ यो तँले के खेला देखाको देखाइस् छस् ?“  गुहालीबाट गाई दुहेर दुधेरो हातमा झुन्ड्याउँदै बिर्खेले भने;  यहाँ बाउलाई कामले गर्दा सास फेर्ने टाइम छैन उता बढेको छोरालाई भने अल्लारे ठिटासँग लहिसँदै फुर्सत छैन । दिनभरि स्कूलाँ थकाइ मार्यो । घराँ आएपछि झोला फ्याप्त फ्याक्यो र बेपत्ता भयो ।“
 ढुड़्गो बोल्ला तर नरेश बोलेन । नबोली जित्छस् भन्दै बिर्खे निक्कैबेर फलाकी रहे । आमा पनि आएर आगोमा घ्यू थप्ने काम गरिन् । नरेशको मलिन आवाज सुन्ने वातावरण नै थिएन । त्यसैले ऊ अझै चुपचाप भई रह्यो । केहीबेरपछि आमाबाबुको रिस शान्त भयो । 
नरेशले मुख खोल्ने मौका यही हो भन्यो ठान्यो र भन्यो;    विज्ञानप्रतिको मेरो मोहलाई मलमल दिन भनेर विज्ञान गुरूले विहान नदी किनारातिर र साँझमा जड़्गलतिर घुमेर वन र वनस्पति बारे नयाँ कुरा पत्ता लगा उन भन्नुभा छ ।“
जवाफमा आमाबाबुको एक्कै पटक मुख खुल्यो– ए !!!

२८.झोले डाक्टर 
 
मलाई लिएर सोध्दै र खोज्दै एम्बुलेन्स दशगजा पारिको गाँउ पुग्यो । त्यहाँ मान्छेको ठूलो भीड थियो । बिरामीहरु कोही खोच्याउथे, कोही मझै हात कुपो्र पारे्र र खुट्टा परपर पारेर हिँडथे । कोही सुद्धी हराएको कुरा गर्थे । कोही अन्य बिमारले अलासतलास थिए । एकजना त मुरच्छा नै परेका भेटिए । 
तिनीहरुको दुर्दशा हेरेर मैले आफ्नो पीडा ठूलो हैन् भन्ने ठान्न पुगेँ । जाँच्ने ठाँउ पनि फोहरै थियो । डालामा औषधी राखिएको थियो । बिरामीका सहयोगीहरु लाइनमा थिए । आफ्नो पालोमा आफ्ना बिरामीलाई डाक्टर नजिक लान्थे । डाक्टर बिरामीको हालत हेर्थे । दबाई लेख्थे र पठाईदिन्थे । 
जति टाढा गए पनि र जति जिज्ञासा भए पनि डाक्टर मुस्किलले दुई मिनेट मात्र दिन्थे । दबाईलाई पैसा लागे पनि जाँच भने निः शुल्क थियो । तिनकै कम्पाउन्डरले एक सुद्धी हराएकी बज्यैलाई सुई लगाउनका लागि सारी तल सार्न लगाए । न त उनले कुरो बुझिन् न उनको सहयोगीले नै कुरो बुझ्यो । हडबडमा यस्तै हुन्छ भन्दै उसले सारी बाहिरबाट नै सुई लगाइदियो । बुढी चिच्याउन थालिन्, ऊ भने अन्य काममा लाग्यो ।
 त्यहाँको उपचार पद्धति नै अध्यारोमा वाण चलाउने खालको थियो । उपचार नै नगरी सुइकुच्चा ठोक्ने मेरो मनसायमा सहमति जनाउदै श्रीमती लक्ष्मीले भनिन्– यस्ता झोले डाक्टरहरुको भरले पैसा त जोगिन्छ तर ज्यान नै जोखिममा पर्छ ।
२९. डकैत
१. उत्थान 
रातको एघार नाघेको छ । सप्तरी  बरमझियामा अवस्थित हवेलीको माथिल्लो तलामा बुलबुल बाबु सपरिवार गहिरो निद्रामा छन् । तल्लो तलामा अन्य कर्मचारीहरू तैनाथ  छन् । प्रवेशद्वार र वरपर पहरेदार ओहोरदोहर गरिरहेका छन् । 
 २. सघर्ष आरम्भ 
कुकुरहरू भुक्छन् । कर्मचारीहरूको चालचुल हुँदैन । केहीबेरमै कुकुरहरू भुक्न छाड्छन् । एक जना कर्मचारीको अर्धआवाज सुनिन्छ– मरगेलिए माई ––––––  ।  मरेँ नि आमा बाहेक अरू आवाज सुन्न पाएनन् बुलबुल बाबुले । उनी शंकैशंकाले घेरिए ।
 ३. चरम 
उनी उठेर सोफामा बसे । घट्घटी पानी पिए । कान चनाखा  पारिराखे । एक्कासी माथिल्र्लो तलाको भण्डार कोठामा आवाज आयो । उनी लुक्तै त्यहाँ पुगे ।  ’खबरदार !’ भन्नसाथ उताबाट गोली चल्यो । बुलबुल बाबु पनि के कम गोली चलाउन छाडेनन् ।
हानाहानमा मानिसको चित्कार  र बिलौना मात्र सुनिन्थ्यो  । छोट्कन पाठकलाई परिवारको हेरचाह गर्न आग्रह गर्दै कोही भन्दैथ्यो–  सरदार  ! तुँ हमारा परिवार के हेरचाह करिह । 
४. सघर्ष हास 
ढलेका जतिको टाउका लिएर भाग्न आदेश जारी गरेको आवाज सुनियो– जकरा  गोली लागलछै ओकरा मुडी काट् आ भाग् ।
दौडादौड गरेको आवाज मात्रै सुनिन्छ ।
५. अन्त्य 
छोडकनको समूहलाई लखेट्दै र गोली हान्दै बुलबुल बाबु प्रवेश द्वारसम्म आए । उज्यालोमा घरभित्र हेर्दा ड÷ज्ञण् बोरा अचल सम्पत्ति लग्न भ्याएछन् । आँगन परिसरमा हेर्दा टाउकाबिनाका पन्ध्र वटा गिँड लमतन्न थिए ।



 
३०. पितृसत्ताको खेल

जब मैले धरती स्पर्श गरेँ तब तपैँ हराउनुभएछ ।
म नहुँदो हुँ त  आफू भएर जिउन सक्नुहुन्थ्यो । भगवती लम्साल नै रहनुहुन्थ्यो । भगवती आचार्य बन्नुपर्दैन्थ्यो ।
रमेशले आमासँग मन खोल्न खोजेको मात्र के थियो आमाको वात्सल्यपूर्ण आवाज सुनियो–
बाबू ! आमा  भनेकै सन्तान सुखमा  खुशी हुने जात हो । आफ्ना सन्तति मुस्कुराए आनन्द वर्षेको अनुभूत गर्ने मानव सृष्टिकै अद्वितीय कलाकार हो; बाबू । उसका लागि आफ्नो परिवार नै परिचय र पहिचान हो । धन्दा  नमान । यो सब पिता पुर्खाकै खेल हो ।
आफ्नी आमाको मुखबाट उहाँकै परिचय पाएर रमेश किँकर्तव्यविमूढ भई आफू उभिएको जमिन खोस्रिरह्यो । 
२०७५ माघ २९


३१. मुखामुख
–जन्मका आधारमा के तलमाथि गर्छौ, कर्मका आधारमा गर न ।
–जन्म होस् या कर्म ! कोख नै वैरी भए पछि गधा धोएर गाई बन्दैन ।
–घामले भेद गर्दैन । रुखले छहारी दिन कन्जुस्याइँ गर्दैन । अँझ मृत्युले काखा र पाखा सोच्दैन । हामी मात्र किन यस्ता भएका ?
हर्के नेपाली र राकेस उपाध्याय बीचको संवादको बीचमै दीपक कार्कीले प्याच्चै बोलिदियो, “किनभने समयको माग भन्दै हामीले शरीरलाई ढाकेर नूतन बनायौँ तर मनस्थितिलाई ढाक्न नचाहेर पूरातन नै स्वीकार गर्यौ ।”
हर्के र राकेस मुखामुख गर्न थाले । संवादलाई ठप्प बनाए ।


३२.    वातचित
लोकमार्गसँग खुरचुहिया टाँसिएको छ । त्यसका वरपर आँपका रूखहरू लहरै ठडिएका छन् । यातायातका साधनहरू आफ्नै धुन र वेगमा ओहोरदोहोर गर्दा छन् । 
आँपका हाँगामा एक जोडी ढुकुर प्रेमालाप गर्दै छन् । मुन्तिर फेदमा राजेश गहभरि आँसु बनाएर सिन्काले माटो खोस्रँदो छ । घरिघरी आफ्नै पुर्पुरो ठोक्दै गर्छ ।
 सय मीटर पर प्रकाश ठिङ्ग उभिन्छ । वरपरको तमासा हेर्छ । जोडी ढुकुर अर्कै रुखमा बस्छन् र आफ्नो पूर्वकर्मलाई निरन्तरता दिन्छन् । प्रकाश भने राजेशका पाखुरी समाउन पुग्छ ।
 “भएको चाहिँ के हो, राजेश ?” प्रकाश उत्तर पाउँदैन र पुनः प्रश्न तेर्साउँछ– “नबोली, नजुधी र नकुदी जित हात पार्छु भन्नु यस दुनियाँमा मुर्खता सिवाय केही होइन ।”
 राजेश भने निरुत्तर प्रकाशको अनुहार टुलुटुलु हेरिरहन्छ । प्रकाश उठ्छ । दश पाइला अघि बढ्छ ।
 मुन्टो फर्काउँछ, आँखा गाडेर राजेशलाई हेर्छ र भन्छ– “साथीलाई आपत् परेको छ भनेर साथ दिन आएको ऊ भने शत्रुभावले एकोहोरो हेरिरहन्छ ।” 
यस पटक भने आशावादी भएर राजेश टाउको उठाउँछ तर वाक्य निकाल्न सक्दैन । प्रकाश नजिकै आउँछ । 
उसका आँखाको आँसु पुछिदिन्छ र भन्छ– “तँ नबोल् । मैले तेरी मालतीसँग दुई घण्टा वातचित गरेर निष्कर्ष सहित आएको छु । भोलि साँझ नेपाल टेलिभिजनबाट ‘रामायण’ कार्यक्रम प्रशारण भइरहेको समयमा उनी कसैले थाहा नपाउने गरी घरबाट निस्कन्छिन् । तैँले उनलाई कल्याणपुर चौकमा ल्याउनू । विराटनगर लगेर लुकाउने काम मेरो भयो । यहाँको रिसराग र चहलपहल साम्य भएपछि आएर मालतीसँग बिहे गर्नू ।” प्रकाशका कुरा सुनेर राजेश उठ्यो ।
 फिस्स हाँस्यो र आँसु पुछ्यो अनि मित्रलाई आफ्नो बाहुपासमा आलङ्गनबद्ध पारिरह्यो । 
३३. गन्थन
नरे र धने दुई हित्तचित्त मिलेका मित्र थिए । भेट हुँदा घण्टौँ गफिएको पत्तै पाउदैनथे ।
आज ज्ञज्ञ फरबरीका दिन एकाबिहानै गृहमन्त्रीको मुखाराबिन्दबाट धनेले एक भारी भनाई पायो– भरदिन त्यो धने अपाङ्गसित बरालिन्छौ । मैले एक्लै मन्त्रालय सम्माल्नुपर्छ । यो पाराले कतिञ्जेल घरव्यवहार चल्छ ? सप्रन्छौ भने सप्रिहाल । नत्र त्यही अपाङ्गसँग सति जाऊ ।?दचश्र
घर सम्झेर मकहाँ आउँदै नआऊ ।
अध्यारो मुख लगाएर ऊ दुखेसो बिसाउन नरेकहाँ पुगेको के थियो धाराप्रवाह रूपमा नरे बोली नै रह्यो । ऊ भने मन नपरे पनि सुनिरहन वाध्य भयो –
 सुन धने ! उच्च रक्तचापले  थलिएर म अपाङ्ग बनेपछि सबैतिरबाट म अपहेलित थिएँ । तर धीरकुमार श्रेष्ठले शब्दाङकुरमा कविता छापिदिएछन् । शिक्षक मासिकले लेखका साथमा सहानुभूतिका दुई÷चार वाक्य लेखिदिएछ । यसले मलाई उत्साहित बनाउँदै लगेको छ ।
– मौसम परिवर्ननको यस घडीमा रामविक्रम थापा पनि ओछ्यान परेका रहेछन् । अचेल मेरो जस्तै उनको पनि लेखन ठप्प भएछ । तैपनि फाल्गुन महिनाको मधुपर्कमा मेरो निबन्ध आएछ ।
धने अक्क न बक्क पर्यो । आफ्ना कुरा सुनिदिने कोही भइदिए लेखकहरू बोलेको बोल्यै गर्छन् भनेको ठीकै रहेछ भन्ने सोच्न थाल्यो । 
एकछिनपछि भन्यो– ए नरे ! यो तैँले के भनेको ?
 हत्त न पत्त नरेले जवाफ फर्कायो– केही हैन यार । मात्र गन्थन गरेको । मन परेको मान्छेसँग मन खोलेको मात्रै हो ।
धनेले अक्क न बक्क परिरह्यो ।
२०ं७४–१०–२८


३४. अन्तरङ्ग मित्र
“सर, सर ! कता हुनुहुन्छ ?“
आवाज मेरो कानमा ठोक्कियो तर मलाई बोलाएको हैन भन्ठानी मैले ध्यान दिइनँ ।
हुन पनि यस वर्षको साउन २७ गतेसम्म समयसीमा राखी प्रदेश १ लघुकथा समाजले लघुकथा मागेको थियो । म  लघुकथा कुन विषयमा लेख्ने भनी ध्यान त्यता दिँदै किताब खोज्न ब्यस्त थिएँ । त्यसैबेला एक मानवाकृतिले मलाई ढोकाबाट पुलुक्क हेरेको थियो । म अलिक अँध्यारो ठाउँमा भएकोले त्यसले मलाई देखेनछ । राम्ररी ठम्याउने चासो नराखेकाले मैले पनि चिन्ने कुरै आएन ।
अर्को कोठातिर गएर त्यस मानवाकृतिले बाहिरैबाट पटकपटक बोलायो । म झन् अर्कै कसैलाई बोलाएको कुरामा निश्चिन्त भएँ ।
फलतः कतैबाट जवाफ नआएकाले त्यस मानवाकृतिले नामै काडेर नाम बोलाउँदा पो म झस्किएँ ।
“हजुर“ भन्न पनि सकिनँ । हत्त न पत्त झ्यालनेर उभिएर चिहाएँ । कम्मर मुनिको भाग मात्रै देखेँ । कोरोना सन्त्रासको भय भएको बेलामा पढ्न नपाएर आजित भएको अरू कुनै विद्यार्थी होला भनेर पुनः आफ्नै काममा फर्किएँ ।
“सर, अहिले यत्तै हुनुहुन्थ्यो । बाहिर कतै जानुभा छैन । कम्पान्डैमा कतै हुनुहुन्छ । घुमेर हेर्नुस् न !“ 
मेरी गृहलक्ष्मीको कुरा सुनेर स्वकारोक्तिस्वरूप टाउको हल्लाउँदै मानवाकृति पुनः मतिर आयो । नजिकै भएपछि झ्यालबाट स्पष्ट देखापर्यो– एउटा हातमा हेलमेट र अर्को हातमा बच्चाहरूको कोसेलीले भरिएको पारदर्शी पोलिन पक्रेको खाइलाग्दो जिउडालको मानवाकृति । उहाँ अरू कोही नभएर मेरै अन्तरङ्ग साहित्यिक मित्र देवकरण माझी पो नवप्रज्ञापन साहित्यिक मासिक पत्रिका लिन आउनुभएको रहेछ ।
२०७८÷०४÷२७ 
३५. बनकाली 
एकदिन ढुङ्गामा देउता हुन्छन् भनेर मानिसहरूले ढुङ्गो पुजेको थाहा पाएँ ।
कहिल्यै नदेखिने र नभेटिने यी देवता कस्ता रहेछन्, हेर्नै प¥यो भनेर एक रात
मन्दिर छिरेँ । निर्जीव ढुङ्गो अचल भएर ठडिएको थियो, जति बोलाए पनि, जति
पुकारे पनि त्यसले आवाज निकालेन । 
‘बोल, बोल ! बोल, देउता, बोल’ भन्दै अर्को ढुङ्गाले हान्न थालेँ । हान्दाहान्दै ढुङ्गो फुट्यो तर देवता बोलेनन् । ‘ला,
देवता त मरेछन्’ भनेर म आत्तिएँ । हत्त न पत्त लुक्दैलुक्दै घर पुगेँ र बुबाको सिरकमा गुट्मुटिएँ ।
भोलिपल्ट म बिउँझिनुपूर्व नै चारैतिर हल्लाखल्ला मच्चिसकेको थियो । गाउँमा
नास्तिकहरूको धर्मविरोधी कार्य बढ्दै गएको कुरा चल्दै थियो । कतिपयले त
देवतालाई टुक्रा पार्न सक्ने तागत कुनै मनुष्यमा नरहेको दाबी गर्दै थिए ।
लगतै जोखाना हेरियो, धामीझाँक्रीले ढ्याङ्ग्रो ठोक्न थाले । ’वनकाली रिसाएर यो
उपद्रो गरेकी हुन्’ भन्दै सात दिनभित्र कालो बोको बली दिने कबुल गरियो । सुरुमा
म भने थुरथुरी थिएँ । मेरो उपद्रो वनकालीमा सरेकोमा प्रशन्न भएँ ।
३६. बाँसको तामा 
बाँसले तामा हाल्ने समय थियो । दिउँसो ’तरकारी खान तामा दिनुस्’ भनेर माग्न आउने
मान्छेलाई बुबाले रित्तो हात फर्काउनुभएको थियो ।
त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । ’कस्को बच्चा’ भन्दै म त्यता दौडन लागेको थिएँ, आमाले रोक्नुभयो र ’मरेको
बच्चा रोएको हो, जान हुँदैन’ भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो ।
बुबा चाहिँ ’दुम्सीले तामा खाँदो रहेछ कि क्या हो’ भन्न थाल्नुभयो ।
बच्चा रुन सुरु गर्दा हामी सबै कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थ्यौ । केही दिनसम्म यही क्रम दोहोरिरह्यो । तामाहरू चोरिँदा भए ।
दुम्सी मार्न बाँस झाँङ नजिक ठूलो खाल्डो खनियो । र, त्यसलाई टाँड पारेर हरिया झारपातले छोपियो । दुम्सी त्यसलाई सामान्य जमिन ठानेर भ्रममा पर्छ र खाल्डोमा खस्छ भन्ने ठानिएको थियो । 
साँझमा बुबा गाई दुहनुहुँदैथ्यो । बच्चा रुन थाल्यो । आमाले मलाई घरभित्र पसाउनुभयो । बुबा पनि हत्त न पत्त घरभित्र छिरिहाल्ने
दाउमा हुनुहुन्थ्यो । त्यत्तिकैमा बाँसघारीबाट आवाज आयो– ‘मरेँ, मरेँ, बचाऊ, बचाऊ ! ए बासुदेवका बाउ ! मलाई बचाऊ ! गुहार बचाऊ ....!’ 
के भएछ भनेर आगोको अगुल्टो हातमा लिएर बुबा दौडिनुभयो । पहिले तामा माग्ने मान्छे पो खाल्डोमा खसेको रहेछ । द्दण्ज्ञद्द बगन ज्ञण्

३७. बोलीमा गोली
कुनै बेला बोलेको बोलीमा ध्वनि हैन गोली हुन्छ भन्दा पत्याउन गारो हुन्छ । तर व्यवहारमा भएको छ ।
पारिवारिक गाँठाहरू फुकाउन मोबाइलमा ब्यस्त थिएँ । त्यसैबेला सुनेको छोरीको मुखको वाक्यले अधकल्चो मेरो मनलाई अरू मरणासन्न पारेको छ ।
+++
साउने झरी उघ्रेर घाम झुल्केको थियो । गाउँबाट पढ्न आउने आफन्तलाई आउन नदिन छोरीको कडा उर्दी थियो ममाथि । म पढ्ने मान्छेलाई वातावरण दिनु मेरो वाध्यता र समयको आवश्यकता हो भनी विवशता पोखिरहेको थिएँ । आमाछोरी पारिवारिक कुरामा फतफताउँदै सुसेधन्दामा लागेका थिए ।
त्यसैबेला आँगनमा भेटिएका पाँचवटा आँपका पात देखेर आमाले सोधेकी थिइन्; “रुखका पात टिपेर र यहाँ छरेर कसले काम बढाएको हो ?“
वास्तवमा सानो छोराको अनुनयलाई टार्न नसकेर अघिल्लो दिन मैले नै ती पात टिपेर दिएको थिएँ । खेलिसकेर पनि उसले ती पात आँगनमै छरेको रहेछ । ती कुरा अहिले आएर सम्झँदै छु ।
आफूले सोधेको प्रश्नको जवाफ नआएकोले आमाले प्रश्नको पुनरावृति गर्दै सोधेकी थिइन्; “किन कोही नबोलेको ? लुतेले कि; बिर्नीले कि; पिचिरीले कि वा बाउ साहेबले हो ?“
यसै बैकल्पिक प्रश्नको उत्तरस्वरूप छोरीको मुखबाट फुत्केको बोली रूपी गोलीले भुतुक्कै भएको छु ।
+++ 
२०७८–०४–०३

३८. दुम्सीको गुहार 
बाँसले तामा हाल्ने समय थियो । दिउँसो तरकारी खान तामा दिनुस् भनेर माग्न आउने मान्छेलाई नरे माइलाका बुबाले रित्तो हात फर्काउनुभएको थियो । त्यस साँझ बाँस झाँङमा बच्चा रोयो । कस्को बच्चा भन्दै नरे माइलो त्यता दौडन लागेको थियो, आमाले रोक्नुभयो र मरेको बच्चा रोएको हो, जान हुँदैन भनेर घरभित्र लगेर झ्यालढोका बन्द गर्नुभयो । त्यस दिनदेखि तामा चोरिन थाल्यो । बुबा चाहिँ दुम्सीले तामा खाँदो रहेछ कि क्या हो भन्न थाल्नुभयो । बच्चा रुन सुरु गर्दा नरे माइलाका परिवारजन कोठाभित्र पसेर झ्याल ढोका लगाइहाल्थे । केही दिनसम्म यही क्रम दोहोरीरह्यो । तामाहरू चोरिँदा भए । दुम्सी मार्न बाँस झाँङ नजिक ठूलो खाल्डो खनियो । र, त्यसलाई टाँड पारेर हरिया झारपातले छोपियो । दुम्सी त्यसलाई सामान्य जमिन ठानेर भ्रममा पर्छ र खाल्डोमा खस्छ भन्ने ठानिएको थियो । साँझमा बुबा गाई दुहनुहुँदैथ्यो । बच्चा रुन थाल्यो । आमाले नरेलाई घरभित्र पसाउनुभयो । बुबा पनि हत्त न पत्त घरभित्र छिरिहाल्ने दाउमा हुनुहुन्थ्यो । त्यत्तिकैमा बाँसघारीबाट आवाज आयो– “मरेँ, मरेँ, बचाऊ, बचाऊ ! ए बासुदेवका बाउ ! मलाई बचाऊ ! गुहार बचाऊ ....!” त्यस आवाजलाई नरेले दुम्सीको गुहार ठान्यो । निकै बेर ‘गुहार बचाऊ’ भन्ने आवाज आइरह्यो । पक्कै पनि दुम्सी गहिरो खाडलमा खसेको हुनुपर्छ । उसले दुम्सीले पनि मान्छे आवाज निकाल्न सक्तो रहेछ भन्ठान्यो । कसलाई के भएछ भनेर आगोको अगुल्टो हातमा लिएर बुबा दौडिनुभयो । पहिले तामा माग्ने मान्छे पो खाल्डोमा खसेको रहेछ । खाडलभित्रको बाँसको छड्के उसको शरीरमा रोपिएको रहेछ । ऊ नराम्ररी घाइते भएछ । मानिसहरू जम्मा भए । हायलकायल पारे । उसले सबै कर्तुत बतायो । बच्चा रोएको आवाज निकालेर दुनियाँलाई ठगेको रहस्य खोल्यो । त्यस घटनापछि नरे माइलाको मनमा भूतको डर पनि भाग्यो । 
३९. दलित 
विराटनगर शहर पूर्व रहेको भव्य मन्दिरको शिर उच्च छ । पूजाका लागि आउँने आउँदा छन्, जाने जाँदा छन् । आ–आफ्नो श्रद्धा प्रकट गरी पुण्य आर्जन गरेको अनुभूत गर्दा छन् । मन्दिरको छहारीमा त्यसको पूजारी भने हात मल्दै छन् ।
“पुजारीजी ! हामीलाई दलित भगवान्ले हैन, मान्छेले बनाएको हो । हामीलाई विवाह गर्न दिनुस् । सहयोग गर्नुस् । हाम्रो पवित्र सम्बन्धलाई गाढा बन्न दिनुस् । परमात्माले हजुरको कल्याण गर्छन् ।” राजेश हात जोडेको जोड्यै विन्ती बिसाउँछ ।
“म धर्मको रक्षक हुँ । दलितलाई मनपरी गर्न दिएर भक्षक हुन सक्दिनँ । तिम्रो कुरा मानेर दलितलाई यहाँ विवाह  दिएँ भने मेरो कल्याणको त कुरै छाड् । नरकमा समेत स्थान पाउँदिनँ ।” पुजारी टसकोमस हुँदैनन् ।
अलिक परबाट अर्को मन्दिरले पुकारा गरेको आभास घण्टको आवाजले दिन्छ । अन्ततः तीनै जना त्यहीँ पुग्छन् र पुजारीसामु उही नमन दोहोर्याउँछन् । केही बेर पर्खन सङ्केत गर्दै पुजारी ध्यानस्त हुन्छन् । 
पुजारी राजेश र मालतीमा आफ्नै विगत देख्न थाल्छन् । एक ठिटो तल्लाघरे दर्जी दाइकी छोरी प्याउलीको हात समाएर दौडदो छ । पछिपछि बन्दुक तेर्साउँदै ठिटाका बुबा नभाग्न आदेश दिँदा छन् । केहीबेरको दौडधुप एक भयङ्कर आवाजसँगै टुङ्गिन्छ ।



’प्याउली ‘मरेँ नि आमा !’ भन्दै ढल्छे । ठिटो काखमा मुण्टो राख्छ र हम्कन थाल्छ । पानी पियाउन खोज्छ, कतै देख्दैन । शरीर नियाल्दा कोखामा गोली लागेको ठम्याउँछ । बाबुतिर हेर्छ । ऊ घरतिर फर्किसकेको हुन्छ । पर पुगुञ्जेल थुक्छ । 
प्याउलीले उसकै काखमा प्राण छाडिसकेको थाहा पाउँछ । र, आफ्नै कपाल उखलेर बाबुतिरै फ्याकेर ठिटो अज्ञातस्थलमा विलिन हुन्छ ।
आँखा खोल्दा पुजारी पसिनाले निथु्रक्कै हुन्छन् । पसिना पुच्छन् । उनी राजेश र मालतीको हात समाएर मिलाई दिन्छन् । र, मन्दिरको मूर्तिनेर दुवैलाई लगेर वैवाहिक विधि पूरा गर्दिन्छन् ।

४०. पीडामुक्तको उपाय
मध्यमस्तरीय परिवारको उमेश १५ वर्षदेखि बोतलमा डुबेको कहैल्यै निस्कने नाम लिएन । बाबुआमाको मनोकाङ्क्षालाई रत्तिभर सम्बोधन गरेन । चार÷चार वटी श्रीमतीले त्यागिदिँदा पनि होस् फर्काएन ।
       पन्ध्र वर्षदेखि लागेको रक्सीको लत पैँतालीस वर्षसम्ममा पनि छुटेन । त्यस्ता महान् मूर्ख महाराजजीको अमृत तर हामीले भन्ने गरेको दारूपानी छुटाउने अचुक ओखति वा उपाय भए सर्वस्व दिएर भए पनि प्रयोग गराउने थिएँ ।
       जति समझाए पनि उस्ताको उस्तै। लाग्छ– आर्यघाटमा मात्रै यसले दारूपानी छाड्छ ।
       भुक्तभोगी बाबुले चारैतिर यस्तै कुरा फलाक्दै हिँडे । अर्ती दिनेको लाइन लाग्यो । सघाउनमा आफ्नै श्रीमती बाहेक अरू कोही तयार भएन ।
       उनी होसहवाससहित रन्थनिँदै थिए । साँझ त अर्धबेहोसी हालतमा घर पुगे । श्रीमतीको होस् हरायो । कहिल्यै नपिउने बाबुले पनि छोराको बाटो समाएकोमा गुनासो गरिन् ।
       भुक्तभोगीले भाषण छाटे–  “मैले धन कमाएँ छोराका लागि । छोरो उडाउन थाल्यो आफ्नो लागि । प्यारी ! आऊ सबै धन  उडाऔँ । सकौँ र जोगी बनेर अर्कै ठाउँ जाऔँ । जन्माएको त आफ्नो रहेन भने धन कमाउनु र जोहो गरिदिनु कसका लागि ?“
  त्यत्तिकैमा कुन जादुले काम गर्यो कुन्नि । उमेश बाबु नजिक आयो र भन्न थाल्यो– “धरोधर्म भन्छु– म पनि पिउँदैनँ । हजुर पनि यो बानी नलिनु हओस् ।“
       मौकामा चौका हान्दै भुक्तभोगीले जवाफ फर्काए– “हैन । पिउनुमै आनन्द रहेछ । जब तँ पिउन सुरू गर्छस् म तेरै चेला बनेर पछ्याउने छु ।“
      आफ्नो नाटकीय अभिनय सफल हुँदै गएकोमा भुक्तभोगीले  लामो श्वास फेरे ।

४१. बौद्धिक श्रमजीवि
‘जो परीक्षामा निरीक्षक बन्दा वा रिजल्ट निकाल्दा पदीय जिम्मेवारी निर्वाह गर्दैन, त्यसको नामावली मलाई दिनुस् । सख्त कार्वाही हुनेछ ।’ विद्यालय निर्देशकले आदेश दिएका थिए । 
बोर्डिङ्ग स्कूलको अपाङ्ग प्रशासक बन्नु जीवनकै दुर्भाग्य हो भन्ने महसुस थियो । त्यसैले पनि फुकिफुकी पाइला चाल्नुको विकल्प थिएन । शिक्षक कर्मचारीहरूमा कोही जानेर त कोही नजानेर काम बिगार्छन् । नजान्ने भन्दा पनि बुझपचाउनेहरूको सङ्ख्या बढी हुन्छ । कार्वाहीको सुरुवात कसबाट केका लागि गर्ने ? म आफैँ निरुत्तर थिएँ ।
निरीक्षण गरेर कापी बुझाउने दिन २८ गते थियो । मैले सूची तयार पार्न थियो । पार्नै प¥यो भनी सुरु गरेँ ।
स्कुल नै नआउनेको नामावली– रमेशकुमार, वसन्त, अजय ।
समयमा नआउने र फोन गरी गरी बोलाउनु पर्नेहरूको नामावली– कञ्चन, राहुल, रिङ्कु, शिवकुमारी, सञ्जीव, अमरकिशोर, कोमल, कृति, रामनारायण ।
नामावली लामै थियो । पचास प्रतिशत शिक्षककर्मचारीबाट जिम्मेवारी बहन नगरेको प्रतिवेदन तयार भयो ।
अब सूची निर्देशककहाँ पु¥याऊँला । उनले आर्थिक दण्ड तोक्लान् । कतिपय शिक्षक रिसाएर स्कूल छोड्लान् । कतिपयले दोष मेरै थाप्लामा खन्याउलान् । स्कूलमा पो म प्रशासक, स्कूल बाहिर त सडकछाप नै हुँ । यस्तै यस्तै विश्लेषणमा घोरिइरहेको थिएँ ।
‘सबै बौद्धिक श्रमजीवि नै हुन् । जस्तो म त्यस्तै उनीहरू । उनीहरूको गल्तीले नाफामा निर्देशक रहन्छन्, घाटामा म रहन्छु । शिक्षक पनि मलाई नै धोका दिन्छन्, निर्देशक पनि त्यसै गर्छन् । समयमा शिक्षक राख्दैनन्, त्यो पिरलो पनि मलाई नै छ, शिक्षक रिसाएर म विरुद्ध खनिएलान्, त्यो पनि मलाई नै पिरलो थुप्रिएको छ ।’ म एक्लै भुत्भुताउन पुगेँछु ।
‘बहुत बात नही छै । शिक्षकके जायज तलव सुविधा दियौ । आओर काज बिगाडैवलाके आर्थिक दण्ड तोकूँ । समस्याके समाधान भ जायत । मुदा अपाङ्ग प्रधानाध्यापक से उपर उठू ।’ स्कूलका वरिष्ठ शिक्षक प्रकाशको बोलीले मेरो तन्द्रा भङ्ग भयो । म उनकै मुखाकृति हेरेको हे¥यै भएँ ।

४२. गाग्रीकी सीता  
दरिद्रले गाँजेका बखत खडेरीले शशिभुषणको घाँटी समायो । माघ महिनामा नै अन्न तुरियो । विवाह गरेको बीस वर्ष नाघिसक्दा पनि सन्तानको मुख हेर्न नपाउँदाको पिरलो टाउकामा छँदै थियो । अनिकालले त्यसलाई त्यसै ओझेलमा पारिदियो । पानी नपरे पनि ऊ काम गर्न भने छाड्नथ्यो । विहान खेतमा पस्नु र साँझमा निस्कनु उसको दिनचर्या नै थियो । मान्छेको आँखा छलेर वर्षेनी दुईचार हात सरकारी ऐलानी जग्गा समेत मिच्ने गर्दथ्यो । एक साँझ मिचेको नयाँ जग्गा खन्दैथ्यो । अनौठो वस्तु देख्यो । जतनले खोस्रियो । पलाष्टिकले मुख बाँधेको माटोको गाग्रिरहेछ । त्यहीँ खोल्ने मन भयो । झट्ट रामायणको सीता जन्मको कथा सम्झियो । खुशी हुँदै घर पुगी श्रीमतीलाई भन्यो– “प्रभुले निःसन्तान हुनबाट जोगाएका हुन् या असर्फी दिएर दरिद्रता भगाएका हुन् । यो गाग्री पो दिए । घर चोखोनितो गर । पूजाआजा गरेर म गाग्री खोल्छु ।” श्रीमतीले भनेझैं गरिन् । उसले तनमनले गाग्राको पूजा गर्यो र टाउकामा राखी प्रभुलाई धन्यवाद टक्र्यायो । च्याप्प पक्रेकाले त्यो टाउकामै फुट्यो र कालो झोल शिरदेखि पाउसम्म खनियो । उसले पुकारा गर्यो– “प्रभु ! प्रभु ! जय होस् । जय होस् ।” श्रीमती चिच्याई– “के को प्रभु ! त्यो त सानेकी स्वास्नीको छोराको सालनाल हालेर गाडेको गाग्रो हो ।” यथार्थ बुझेपछि शशिभुषण छिःछिः र दुर्दुर् गर्दै नुहाउन गयो । 
४३. हरेक दिन
एक्लै यसो विचार गर्थेँ– किन आजकल उसमाथि यत्ति निगरानी ! उनी मसँग कहिल्यै सङ्कोच नमानीकन कुरा गर्थिन् । तर, आजकल सङ्कोच मान्छिन्, किन ? पहिले म नै सङ्कोच मान्थेँ, उनी निर्धक्क भएरै कुरा गर्थिन् । उनको त्यो निर्धक्कतापन किन विलाएर गएको छ, आजकल ! सायद उनको मनमा मैले सोचेजस्तो विचार नभएर होला ।
 कतैबाट त्यस आँगनमा आउने वित्तिक्कै ‘अङ्कल आउनुभयो, अङ्कल आउनुभयो’ भन्दै उनका छोराछोरीहरू मेरा नजिक आइपुग्थे । जतिसुकै टेन्सन लिएर आए पनि त्यस आँगनमा ‘अङ्कल आउनुभयो, अङ्कल आउनुभयो’ शब्द सुन्दा टेन्सन समाप्त भएजस्तो महसुस हुन्थ्यो । पूरै आँगनभरि नै केटाकेटीहरू कोलाहल मच्चाउँथे । उनीहरूकै कारण खुशी नाच्थ्यो, आँगनमा । आजकल किन ती निर्दोष केटाकेटी स्कूलबाट आउँछन् र चुपचाप आफ्नो कोठामा जान्छन् । मलाई देखे पनि कुनै वास्ता गर्दैनन् । आँगनमा गुुडिया लिएर खेलिरहन्छन् । घरि पुतली समात्छन्, घरि दौडन्छन्, घरि आफूआफैँमा झैँझगडा गर्न तम्सन्छन् । म त्यहीँ छँदा पनि मलाई केही भन्दैनन् । पहिले आपसमा झैँझगडा हुँदा मलाई गुहार्थे । मसँग कुरा गर्न प्रतिबन्ध लगाएको छ कि कुन्नि के हो ! ती निर्दोष केटाकेटी कुराकानी गर्न त परै जाओस्, नजिक पनि पर्दैनन् आजकल । ‘अङ्कल आउनुभयो, अङ्कल आउनुभयो’ जुन निस्वार्थ स्वर सुनिन्थ्यो । सायद मेरै स्वार्थको कारणले विलाएर गएको छ । म स्वार्थी थिएँ कि निस्वार्थी थिएँ, छुट्याउन गाह्रो परेको छ । मलाई दिन पनि आफ्नै र रात पनि आफ्नै लाग्थ्यो । अन्धालाई आवाजमात्र काफी थियो । बच्चालाई मिठाई र खेलौना नै पर्याप्त हुन्थ्यो । 
 ‘हिजोआज तपाईं राधासँग कुरा गर्न औधि रुचाउनुहुन्छ किन ? ठीकै छ, गर्नुहुन्छ भने गर्नुस् तर यस समाजलाई पनि बुझ्ने प्रयास गर्नुस् । यस समाजमा रहनु छ मलाई, बाँच्नु छ मलाई । तपाईं पनि यही समाजको मान्छे ! यहाँका हरेक कुरा थाहै छ तपाईंलाई । म त अन्धो छु । बच्चा गुलियोमा भुलिन्छन् । म काममा ब्यस्त हुन्छु । अर्कातिर, तपाईं भाडेदार मान्छे, भाडामा बस्नुहुन्छ । यहाँबाट जुनसुकै बेला जानसक्नुहुन्छ । तर, म कहाँ सरेर जान सक्छु र ? यो समाज कहाँ सरेर जान्छ र ? हाम्रा यी बुजु्रक्क छिमेकीहरू कहीँ सरेर जाँदैनन् । अनि, जिन्दगीभरि यही कुरालाई लिएर वात बनाइरहन्छन् । मलाई तल पारिरहन्छन् ।’ उनको श्रीमान्ले एकै श्वासमा गुनासो पोखेको थियो ।
  त्यत्तिखेर मैले भनेको थिएँ– के भो ? प्रष्ट भन्नुस् न अनि.....।
 ‘तपाईंका बारेमा कसैकसैले प्रश्न चिन्ह खडा गरिसके । तपाईंको मेलमिलापी भावनाले गर्दा मैले भन्न सकिरहेको छैन । मेरा सन्तानप्रति तपाईंको धेरै सहानुभूति छ । मेरी श्रीमतीलाई समेत हाटबजारको काममा सहयोग पु¥याउनुभएको छ । मेरो निरिहताको लाभ उठाउनुभयो भन्ने समेत सुन्छु । आँखा नभए पनि कान छन् । दुबै थरी नभएका भए बरू श्रीमती जिन्दावाद भन्नुहुन्थ्यो । कि मेरो विवशता बुझिदिनुस् कि मेरा कान बहिरा पारिदिनुस् ।’ उनकै श्रीमान् मनको बह पोखेका थिए ।
 साँच्चै हरेक दिन म तिनीहरूको घर पुगेको भेद खुलेछ कि क्या हो...! म असमञ्जस्यमा पर्छु ।
४४.ब्रह्माजीलाई निवेदन

श्री ब्रह्माधिपतिज्यू,
चौधै भूवन शिक्षाभवन; ब्रह्मलोक ।
विषय– लथालिङ्ग व्यवस्थापन बारे ।
महोदय;
उपर्युक्त सम्बन्धमा म रहरले भन्दा पनि वाध्यताले कहर काटेर आएको मनुष्य चौध सय परिवारको एक पुराण वाचक सदस्य भएको छु ।
सृष्टि गर्न जानेपछि  तपैँले नै व्यवस्थापन गर्नुपर्छ भन्ठानी निवेदन टक्रयाउने हिम्मत गरेको हुँ ।
अनेकन समस्या मध्ये अहिले थेग्नै नसकेको समस्या के हो भन्देखेरि मैले दुई सय पचासलाई ठूलो हलमा कोचेर पुराण सुनाउनु परेको छ ।
किन यसो गर्नुपर्या भनी लालपेन बहादुर मुखियालाई सोधेको उनले उपरवालाले भाग लगाएको यत्ति नै हो भनेर स्पष्ट पारे ।
पुराण सुनाउन अल्छी गरे लालपेन चल्छ भनेर धम्क्याए ।
म पनि के कम न्यायका लागि तम्राभन्दा उपर जान्छु; जान्छु भन्दो भएँ ।
उपर माथि उपर जाँदा जाँदै यहाँसम्म आइपुगेँ ।
अतः मेरो  पुराणालयमा पुराणवाचक थपिदिन्या कि स्रोतागण अन्यत्र लखेटिदिन्या भन्या ? सार्है सकस भो भन्या ।
दुईटामा एउटा कार्जे झट्टै गरेर राहत दिन सादर अनुरोधका साथ लघु अध्याय अन्त गर्दछु ।
निवेदक
फलाना बहादुर फलाना
(पुराणवाचक)
असिद्धेश्वरी मावि; नेपालेश्वर भुखण्ड; पिरहा; नेपाल ।
(नोट– यस कुनोको वार्षिक उत्सवको अवसरमा पत्रात्मक शैलीको हाँस्यव्यङ्ग्य प्रधान लघुकथामा नेपालको शिक्षा क्षेत्रको विकृत पाटोलाई भाटो लगाउने प्रयत्न मात्र गरेको हुँ । अग्रज–सहयात्री–अनुज वर्गलाई स्विकार गर्न निवेदन गर्दै शुभकामना व्यक्त गर्दछु ।)
४५. अक्षर
 म विद्यार्थी छँदा पटक–पटक अभ्यास गरेर अक्षर सुधारेँ । मेरा दाजू राम्रा अक्षर लेख्नुहुन्थ्यो । त्यहीँ प्रभावले पनि मलाई अक्षर सुधार्न उत्प्रेरणा मिलेको थियो ।
शिक्षक भएपछि मजस्तै सबैले शुद्ध र राम्रा अक्षर लेखून् भन्ने चाहन्थेँ । सोचेजस्तो हुन सकेन । केही विद्यार्थी बुझ्नेगरी लेख्थे तर अधिकांश भने आफूले लेखेको आफैँले बुझ्न नसक्नेगरी लेख्थे । म कमजोरी हटाउन प्रयत्न गरिरहन्थेँ । कापीको निरीक्षण पछि कैफियतमा ‘अक्षर सुधार, सबैले बुझ्नेगरी लेख्ने बानी बसाल’ जस्ता कुराहरू लेख्दा–लेख्दा थाकिसकेको थिएँ । मौखिक रूपमा सम्झाउँदा पनि पूर्ण सुधार नभएपछि दिक्क भएर नौलो अभ्यास गर्ने निर्णय लिएँ । 
प्रधानाध्यापक लक्ष्मी राईसँग सल्लाह गरेर एउटा सूचना जारी गरेँ– एक हप्ता पछि कक्षा ८ केन्द्रित ‘हस्त लेखन प्रतियोगिता’ हुँदैछ । यसमा सबैले अनिवार्य रूपमा भाग लिनु पर्छ । अक्षर सुधार्न प्रयत्न गर्नेलाई समेत पुरस्कृत गर्ने कार्यक्रम छ । सबैलाई प्रयास जारी राख्न सूचित गरिन्छ । 
नभन्दै सबैजसो विद्यार्थीहरूले आ–आफ्नो हस्त लेखन सुधार गर्दै गए । त्यस प्रतियोगितालाई उनीहरूले उत्सवका रूपमा लिए । समय आयो । प्रतियोगितामा सबैले उत्साहका साथ भाग लिए । पहिलेदेखि नै अक्षर सुधारेका विद्यार्थीहरूले नै प्रथम, द्वितीय र तृतीय स्थान ल्याए । पछिल्ला दिन मेहनतका साथ सुधार गर्नेहरूलाई समेत केन्द्रित गरी प्रोत्साहन प्रथम, प्रोत्साहन द्वितीय र प्रोत्साहन तृतीय पुरस्कार दिइयो ।?दचश्र
पुरस्कार वितरणपश्चात् प्रअ राईले भने– ‘पुरस्कार जित्ने क्षमता कतै खोजेर पाइन्न । आफैँभित्र खोज्नुपर्छ । हरेक विद्यार्थीभित्र आफूले चाहेको प्रतिभा विकसित गर्ने तागत हुन्छ । कसैले पनि आफूलाई कमजोर ठान्नु पर्दैन । मात्र इमान्दारपूर्वक प्रयत्नको खाँचो छ ।’ प्रअका सारगर्भित भनाइ सुनेर सबै खुशी भए र ताली बजाए । त्यस घटनापश्चात् गडबड हस्त लेखनका कारण मैले भोग्नुपरेको हैरानी दिनानुदिन कम हुँदै गयो । 
४६. परिबन्दको दास
ताता घाममा बिस्कुन सुकाएको छ । नजिकै घघरुको लाठी तेर्सिएको छ । नरे घोरिएर लेख्न ब्यस्त छ । घरीघरी ट्याकट्याक पार्छ । परेवा उडेर डिलमा पुग्छन् । मौका मिलाएर फेरि आउककछन् । लाठीको आवाज सुन्नासाथ भाग्छन् । यो क्रम दोहोरिरहन्छ ।
नरे लेखनमा डुब्छ । ट्याकट्याछक पार्न भुल्छ  । एकएक गर्दै छिमेकीका सबै  परेवाहरू बस्छन् । केहीबेरमै नरेले टाउको उठाउँदा आधा बिस्कुन सिद्धयाएको पाउँछ । ऊ किँकर्तव्यविमूढ अबस्थामा पुग्छ ।
आमाबाट पाउने सम्भावित सजाय सम्झेर  नरे डराउँछ । काम बिगार्दा पहिले भेटेको हकारपकार सम्झन्छ । मन बुझाउन हर प्रयास  गर्छ । उल्टै मन भरिएर आउँछ । 
परेवालाई काँचै चवाउन मन लाग्छ । झट्टै रिसाई हाल्ने आमाको सुझबुझलाई पनि धिकार्ने मन हुन्छ । उसलाई आफू बसेको घरको छत घुमिरहेको भान हुन्छ । टन्टलापुर घामले पनि उसैलाई जिस्क्याइरहेको आभाष हुन्छ ।
केहीबेरमै ऊ डालो लिएर तल उत्रन्छ । र;  एक डालो धान लिएर फर्कन्छ । बाँकी रहेको बिस्कुनमा खन्याउँछ । जतिको त्यति भएपछि भने ऊ ढुक्क हुन्छ ।




४७. मेला
विहान चार तीस बजे बस्तिपुरको ट्याङ्ग्री खोला नजिक पुग्दा म रणभुल्लमा परेको थिएँ । खोलाभरि बत्ती झल्याकझुलुक देखिन्थ्यो । बाजागाजा गाइँगुई गरिरहेजस्तो समेत सुनिन्थ्यो । 
’आठहत्तरे दशैँको मुखमा यस ट्याङ्ग्रीमा कहिलेदेखि मेला लाग्न थालेको हो ?’
मैले सोधेको प्रश्नको उत्तरमा सँगै वाकिङ गर्ने लक्ष्मीकान्तले फिस्स हाँस्दै भनेका थिए; ’यो मेलाको रामकहानी भन्न र भनेको बुझ्ने काम हज्जार शिर भएका शेषनागको काम हो । तपैँ हाम्रो हुँदै होइन ।’
वास्तवमा हामी दुबै उदयपुरका बासिन्दा थियौँ । उनी थिए बनरैतटोलका शिक्षक, म थिएँ सिरहा गोलबजारको शिक्षक । कुरो थियो– कञ्चनरूप नगरपालिकाको । हामी त त्यहाँका फिरन्ते पाहुना मात्रै थियौँ ।
’अघि यही मेलामा सहभागी बन्न बाटामा गुडिरहेको ट्याकटर अँध्यारामा रोकेर लेनदेन व्यापार भइरहेको देख्नुभएन । अँध्याराको ब्यापारको नाफा जति व्यक्तिको गोजीमा जान्छ । नाम छ टोल विकास समितिको ।’
लक्ष्मीकान्त कटाक्ष गरिरहेका थिए । मेरो ध्यान भने मेलामै केन्द्रित थियो । 
खास कुरो के हो भनेर मैले गनगन गरिरहँदा उनले भनेका थिए; ’अहिले गएका ट्याक्टर खोलामा पुगेपछि मात्र दश मिनट मेला भर्छन् अनि फर्किहाल्छन् ।’
त्यत्तिन्जेलसम्ममा हामी सडक छाडेर पञ्चकन्या मन्दिर परिशरमा पुगिसकेका थियौँ । ट्याक्टरको ओहोरदोहर बराबर चलिरहेको थियो । धरती अझै अँध्यारामै गुटमुटिएको थियो । कुरा नबुझेर म चुप थिएँ ।
उनले प्रष्ट्याउँदै भनेका थिए; ’माथिकाको मुखमा बुझो कोचिदिएर अहिले खोलाको वालुवागिट्टीको अवैध दोहन भइरहेको छ । बेलाबेलामा गाउँको प्रत्यासी उम्मेद्वारले आफ्नो भाग खोज्न रोक्छ टोलविकासको नाममा ।’
२०७८–०६–२३

४८. बेताल
“आजका बालबालिका भोलिको राष्ट्रको लगाम पक्रने सारथि हुन् । उनीहरूले आज सम्मानजनक ज्ञान आर्जन गर्न पाए मात्रै बोली र व्यावहारमा एकरूपता हुन्छ ।“
मन्त्रीले भाषण गरिँरहँदा ताली बजाउने सबै बालबालिकाहरू नै थिए । उनीहरू भदौको चर्काे घाममा थोरै बसेर र धेरै उठेर ताली बजाउँदा थिए । बजाउन अल्छी गर्नेलाई उनीहरूका शिक्षक बजाउन सङ्केत गर्दा थिए ।
कार्यक्रमको अन्तमा आयोजकको दयादृष्टि भएको थियो– सबै जसो बालबालिको हातमा कसैकोमा एउटा कसैकोमा दुइटा चकलेट परेको थियो । एउटा पनि चकलेट नपाउने केही बालबालिका वितरकको मुहार टुलुटुलु हेरिरहेका थिए ।
 केही बुज्रुकहरू चकलेट पाइनँ भन्नेहरूलाई 
खेतबारीमा पाकेका मकै खाला भनेर बाँदर लखेटेझै लखेटिरहेका देखिन्थे ।
मञ्चबाट उठेर आफ्नो सवारी साधनतिर लम्कँदै गर्दा मन्त्रीको बोली सुनिएको थियोे; “ए फुच्चे, कार राम्रोसँग पुछपाछ त गरिस् नि ? टलक्क टल्किने बनाइस् नि ?“
बोली भुइँमा खस्न नपाईकन १२ वर्षको धनमान “एस सर, तयार छ सर“ भन्दै सामुन्नेमा हाजिर भएको थियोे ।
२०७८÷०५÷२९  



४९. साहित्य
‘खुरुक्क कलम रोकेर खाना खान आउनुस् त । म पर्खिबस्न सक्तिनँ ।’
उनको झर्कोफर्कोलाई महत्त्व नदिईकन म कलम घोट्ने काममा जोतिँदो थिएँ । मेरो कथा जटिल मोड भएर गुज्रँदो थियो । बल्लतल्ल उत्कर्षताको सिँढी फेला परेको थियो । उनको अर्को बोली सुनेर भने कलम एकाएक घ्याच्चै रुक्यो ।
‘मसँग तपैँले बिहे गर्नाले कथाकार भैटोपल्नु भको हो । के फुटानी लगाउनुहुन्छ ?’
म चुपचाप उनलाई नै हेरिरहेको थिएँ । उनको निर्दोष बोली आंशिक सत्य रहेको ठम्याइरहेको थिएँ । उनको साथ नभेटेको भए विषयवस्तुको अभाव खट्कने अडकल गरिरहेको थिएँ ।
‘सप्पै कामकुरामा मेरो आपत्ति छैन । मात्र केही कुरामा मेरो मन रुष्ट छ र रुष्ट भइरहन्छ ।’
उनी रुक्नासाथ मैले हत्तपत्त प्रश्न सोधिहालेँछु; ‘के कुरामा ?’
‘केमा हुनु नि ! जे देख्यो त्यही लेख्यो । यही बानी फिटिक्कै मन पर्दैन । दुनियाका सामु लाजको पसारो !’
उनका कुरा सुनेर म मन्द मुस्कुराहटका साथ बोलेको थिएँ; ‘जीवन बाहिरका कुरा लेख्न जानेकै छैन । आँखाले देखेपछि मनले गुन्ने हो । त्यसैमा रङरोगन गर्दै अक्षरमा रूपान्तरण गर्ने हो । कस्तो साहित्य भयो या भएन, त्यो छुट्याउने काम पाठक र विज्ञविश्लेषकको हो ।’
मौन हुने पालो उनको थियो । उनी आफ्नो धर्म पालना गरिरहेकी थिइन् । ज्यान नभएका शब्दसँग जीवन साट्न मन हुन्नथ्यो । फेरि जीवनलाई उधारोमा बिक्री गर्न पनि सकिन्नथ्यो ।
‘आफैँलाई साहित्यमा मुछ्नुपर्छ भन्ने छैन नि ? आफूबाहेक पनि साहित्य हुँदो हो नि ?’
अन्ततः उनको सवालले जवाफ भेट्ने गरी मैले थपेको थिएँ; ‘तिमी मान नमान । विचार लिन र राख्न स्वतन्त्र छ्यौ । मेरो साहित्यमा जीवनको सौन्दर्य रहन्छ । जीवन्त सौन्दर्यबिनाको लेखन मध्यरातको मुर्दाघाट समान बिरसिलो लाग्छ मलाई त ।’
२०७८–०६–१६

५०.  तिजैतिज
‘तिज र आमा समानार्थी नभए पनि उस्तै शब्द हुन्  । आमाबिना तिजमा माइत जानुको अर्थ थकाइ मात्रै हो ।’
उहाँको भनाइ विपरीत उभिँदै मैले प्रतिकारका शब्द ओकलेकी थिएँ; ‘आमालाई पाउन माइत जानुप¥यो । घराँ बसेर आमा कहाँ पाइन्छ त ?’
उहाँ चुप हुनुहुन्थ्यो । त्यही मौकामा थपेकी थिएँ; ‘आमाको प्रतिनिधि भएर भाइ मलाई लिन आउँछ रे । उसैसँग माइत जान तयार होऊँ त ?’ 
‘पर्दै पर्दैन । लिन आमा आए जानू नत्र तिज घरमै मनाउँनू । भन्द्या छु । अरू आर हुँदै हुँदैन ।’
अफिसतिर प्रस्थान गर्दै थप्नुभएको थियो; ‘साधन नभए बोलेरो पठाम्छु । तर आमा नै आउनुपर्छ ।’
सधैँ मेरो बोली भुँइमा खस्न नपाउँदै ‘एस’ भन्नुहुन्थ्यो । यसपाली चाहिँ किन सानो कुरामा अहम् देखाउनुभएको होला ? बूढो हुँदै गएपछि मान्छे निहुँ खोज्छ भनेको ठीकै हो कि क्या हो । 
मनोविनोदमा ब्यस्त भएकै बखत मोबाइलको रिङटोनले तन्द्रा भङ्ग गरिदियो ।
‘हजुर आमा, ज्वाइँकै मोबाइलमा फोन गर्नु रे ।’
आमाको स्वर सुन्नासाथ औपचारिकता पनि पूरा नगरी हत्त न पत्त भनिहालेँछु । 
फोन काट्न कानबाट मोबाइल हटाउँदा हटाउँदै आमाको थोतेबोली सुनिएको थियो; ‘हैन, यो प्रतिमा कस्तरी मात्तिएकी । पैली तिजाँ बोलाम्नु, आइहाल्छु भन्थी । ऐले ज्वाइँको नाम जप्छे ।’ 
मलाई सबै जनासँग रिस उठेको थियो । बसेको सोफा पनि बिझाउन थालेको थियो । ओछ्यानमा पल्टँदा ओछ्यान नै पाछ्न थाल्थ्यो । छोराछोरीको बोली पनि कर्कश कागेबोली लाग्न थालेको थियो ।
उहाँले अफिसबाट फर्कंदा थरीथरीका सामान ल्याउनुभएको थियो । मलाई फकाउन त होला नि भन्दै म ठुस्किएर परपरै हुन्थेँ । उहाँ ककसलाई फोन डाइल गरिरहनुहुन्थ्यो । मैले बुझ्ने जमर्को नै गरिनँ ।
भोलिपल्ट ठीक ११ बजे आमा चढेको बोलेरो गेटभित्र छि¥यो । मेरा मिल्ने सहेलीहरू पनि एकएक गर्दै भित्रिए । खानेकुरा बनाउनेहरू समेत भाडावर्तन र औजारसाथ त्यसैबेला हाजिर भए । म तीन छक्क परेकी थिएँ ।
सबैले आमाको सत्कार ग¥यौँ । नाचगान सुरुआत भयो । खुब नाचियो, गाइयो र खाइयो । यसखाले सरप्राइजका लागि मैले उहाँलाई ‘धन्यवाद’ भन्दा उहाँले भन्नुभएको थियो; ‘जहाँ आमा त्यहाँ तिजैतिज ।’
२०७८–०६–०३ 

५१. वैज्ञानिक
स्कुल छुट्टी भएपछि कतै नअलमलिई नरेश घर फर्कन्थ्यो । भान्सामा बनेको खाजा खाएर एक्लै घरबाट निस्कन्थ्यो । कसैले नदेखेको र नरोकेमा प्रशन्न चित्त बनाउँथ्यो । सूर्य अस्ताचलमा पुगेपछि भने मलिन मुहार लगाएर घर फर्कन्थ्यो । बिहान झिसमिसेमै ब्रस गर्दै निस्कन्थ्यो र ८ बजेपछि हडबड गर्दै घर पस्थ्यो । 
नरेशको दिनचर्याबाट उसका बाबु आजित थिए । उनी आज चाहिँ हकार्छु भन्थे तर छोराको अरू कुनै कमजोरी नभेट्दा त्यसै तत्रन्थे । अरू सबै कुरामा उसलाई होसियार भेट्थे । सिर्फ साँझ–बिहान डुल्ने बानी सुध्रे हुन्थ्यो भन्थे ।
एक दिन बेलुका झुन्ड्याएको पेन्टको गोजीबाट पर्स नै गायब भएको बुझेपछि भने उनको कन्सिरी तात्न पुग्यो । 
‘सधैँको एकनासे डुलुवा बानी गर्छस् ? लफङ्गा केटाहरूसित लागेर पैसा चोर्न थालिस्, हैन ?’ 
आफूले लगेकै छैन भनेर नरेशले जवाफ फर्काउँदा बाबु झन् आक्रोशित भए, ‘खुरुक्क अपराध स्विकारेर बिगारेको काम सपारिहाल् । आजैबाट डुल्ने र लफङ्गाहरूसित हेलमेल गर्ने काम बन्द गर् ।’ 
बाबुले दाह्रा किटेर खाऊँलाझैँ गरेर हेरेको देखेर नरेश डरायो ।
आफूले कहिल्यै गलत कर्म नगरेको र गर्नेलाई साथ नदिएको भनेर विश्वास दिलायो । बाबुले विश्वासै गरेनन् । सारा कोसिस वालुवाको पुल नै सावित हुँदा ऊ झन् चिन्तित भयो । 
बाबुछोराको खैलाबैला सुनेर करेसाबारीको काम छाडेर आमा आएर भनिन्, ‘पर्स त तल खसेको थियो । दराजमा राखिदेकी छु।’ बाबुको शिर लत्रियो ।
 नरेशतिर फर्केर मायालु पाराले सोधिन्,’ तिमी किन बाहिरफेरो अलमलिएको ? यही कुराले रडाको भइरहेछ ।” 
गाह्रो मानेर नरेशले मुख खोलेको थियो, ‘जीव र वनस्पति विज्ञानप्रतिको मेरो रुचि देखेर विज्ञान शिक्षकले सल्लाह दिनुभयो । त्यसैले म साँझमा चारकोशे वनका बोटबिरुवा नियाल्छु र बिहान खोला किनारका जीवजन्तुसँग रमाउँछु ।’

४८. बेताल
४९. साहित्य
५० तिजैतिज
५१. वैज्ञानिक
५२. माफ गर्नुस्
‘चैती काकीको सँगमा हामी आइरहेछु । तपाईं गोलचक्कर चौकमै रुक्नुस् । हामी आइहालेछु ।’
मर्निङ वाकमा मलाई उछिनेर अघि दौडेका दुई नारीमध्ये जवान केटीका मुखबाट निस्केको ध्वनि सुनेर म अवाक् भएको थिएँ । ऊ मैथिली मातृभाषा प्रभावित नेपाली भाषामा मोबाइलवार्ता गरिरहेकी थिई ।
घरी उनीहरू दगुर्थे, घरी हिँड्थे । घरी भने उभिएर लामो सुस्केरा काड्थे । म उनीहरूको समीप पुगिहाल्थेँ ।
‘तुँ अपने निर्णय केनेछी । हमरा कोनो दोख नई छै । निक हेतै आ बजा हेतै । तोरो अपने माथापर लैला परतै ।’ अर्की अधबैँसे नारी भनिरहेकी थिई ।
उसले दोष आफूले नलिने र जसअपजस आफ्नै टाउकामा बोक्नुपर्ने बोधले केटी केही निरास भएकी थिई । बातचितबाट बुझेअनुसार केटीलको सामाजिक विवाह भएको महिना दिन पनि वितेको रहेनछ । दुई साता अघि नै लोग्नेको भिसा आएर कतार उडेछ । केटी माइती गाउँको रामनाथ खरेल साथीसँग २०७७ सालमै प्रेमविवाह गरेर विवाहदर्ता समेत गराएकी रहिछ । इज्जत बचाउन भन्दै ठूलो धनराशी खर्च गरेर उसको विवाह जबरदस्ती गर्दिएको रहेछ ।
फलैचामा पुगेर अधबैँसे थ्याच्चै बसी र पुर्पुरामा हात लगाउन थाली । परको लोकमार्गमा केटो हात उठाएर इशार गर्दै थियो । केटी मात्रै तुफानसाथ दौडिई र हेर्दाहेर्दै दुबै अलप भए । पन्ध्र मिनेटपछि एक प्रौढ नारी र दुई युवक बाइकमा आए । अधबैँसेसँग कुराकारी गरे । तीमध्ये एउटाले हडबड गर्दै मोबाइल डाइल ग¥यो ।
‘प्रहरी दाइ, बाइकमा आउने केटाले हाम्री भाउजू भगायो । त्यसलाई पाता कस्नुस् त हामी आउँछौँ ।’
उताबाट जवाफ आएको थियो, ‘विवाहका फोटाहरू देखाउँदै वैधानिक कागजपत्र पेस गर्नेको पक्षमा कानुन छ । दुबैको विवाहयोग्य उमेर रहेछ । उनीहरूलाई छाड्न वाध्य भयौँ ।’
२०७८–०६–१९


५३. टेकोनिजम
“तिमीलाई यो पनि दिएँ; त्यो पनि दिएँ । अब गुँड बदलिदिनु पर्यो ।“ बाजेले नम्र पाराले थप्दै गए; “ सधैँ एउटै ओथारामा बसिरहे सुलसुले जन्मन्छ र फैलन्छ भनेर मात्रै भन्या हो ।“
“मलाई मान चाहियो; सम्मान चाहियो ।“ बज्यैको बोली गर्जियो; “ आजसम्म मैले हात पसारेँ । तपैँको खटनपटनमा रहेँ । कुमालेको चक्र फेरियो । तपैँ मकहाँ म तपैँकहाँ हुने दिन आयो । के तपैँ तैयार हुनुहुन्छ ?“
यस कुराले बाजेको मन भत्भती पोल्यो । शरीरभरि काउछो खनिएजस्तो भयो । रिसको पारो उँभैउँभो उक्लियो ।
“मुख छ; बोली छ भन्दैमा जथाभावी बोल्दै हिड्या सुहाउन्न । पोथी बास्या ठीक हुन्न ।“ उनले थपेँ; “ म यस विशाल घरको एक्लो मूली हुँ । मेरो इशारामा घर चल्छ । पोथी अहम् देखाउने जमाना अझै आइसक्या छैन । बुझ्यौ ?“
बज्यै पनि रिसले धुँवाधुवाँ भइन् । उनले आफ्नो हबिगत नियालिन् । उनले आफूलाई आफ्नै खुट्टामा उभिएको पाइन् । बरू आफूबेगर बाजेकै पेट चाउरिने सङ्केत भेटिन् । 
“तपैँबेगर म रहँनै सक्तिनँ भनेको ! अब मेरा आफ्नै खुट्टा छन् ।“ मन ढुक्क बनाउँदै उनले थपिन्; “ममाथि लादिएको तपैँको अहम् फिर्ता लिनुस् । मलाई अब तपैँको टेकोनिजम अस्वीकार्य छ ।“

५४. मातृश्राद्ध
’तपैँले बर्ख दिनभर अनेक बोल्नुभयो । अनेक खानुभयो । कम्तिमा यी सोह्रश्राद्ध भर अमिथ्या बोल्ने र अभक्ष खाने हैन नि !’
मेरी गृहमन्त्रीको ठाडो आदेशलाई शिरोपर गर्ने बारे म सोच्दै थिएँ । 
उनी हाँडीमा मकै पड्केझै पुनः पड्कन थालिन्; ’देवता खुशी भएर दिएको पनि पितृ रिसाए खोसिदिन्छन् रे । तसर्थ ती सोह्र दिन साधु बन्दिनुस् । यो समय पितृको दशैँ हो । हाम्रो तपस्याको क्षण हो । उनीहरूलाई बेखुशी पारेर अनिष्ट ननिम्त्याउनुस् ।’
’पिता त सारसौँदो हुनुहुन्छ त । आमा न परमधाम जानुभएको हो । पिताको हेरचाहमा कुनै कसर बाँकी राखेको छैन त ?’
मेरो प्रश्नको जवाफमा उनले भनेकी थिइन्; “इहलोकीलाई खुवाएर खुशी पार्नुपर्छ । परलोकीलाई शुद्ध बनेर खुशी तुल्याउनुपर्छ ।“
२०७८÷०६÷१५ 
५५. क्षतिपूर्ति
सप्तरीको पुरानो कलेज तल्तिर गोरगामा नामको गाउँमा छ । त्यस गाउँमा लालुप्रसाद डाक्टरको रूपमा चिनिन्छ । उसले गाउँमा एउटा उपचार केन्द्र खोलेको छ । केन्द्रको वोर्डमा लेखिएको छ– यहाँ उपचारार्थ रू ५००।– शुल्क लिई ग्यारेन्टीका साथ उपचार गरिन्छ । बिरामी निको नभएमा रु. १०००।– क्षतिपूर्तिस्वरूप दिइने छ ।
उसकहाँ धेरै थरिका बिरामी आउँछन् । निको भएर जान्छन् । कसैकसैलाई निको नभए पनि बीसको उन्नाइस् भने अवश्य हुन्छ । आएका जति सन्तुष्ट नै हुने गरेका छन् ।
डाक्टरलाई छक्याएर रु. १०००।– हत्याउने सुरले एकपटक वीरमान केन्द्रमा आयो । नियमानुसार रु. ५००।– तिर्यो । डाक्टरले सोधेको प्रश्नको जवाफ दिँदै उसले भन्यो, “मेरो जीव्रोले स्वाद नै पाउँदैन ।”
डाक्टरको निर्देशनमा सहयोगीले एक बिर्को गुलियो दबाई खुवाए । उसले स्वाद पाइनँ भन्यो । क्रमशः तीतो, टर्रो र अमिलो दवाई एक÷एक बिक्रो खुवाउँदा समेत उसले स्वाद पाउँदै पाइन भनिरह्यो । र, रु. १०००।– क्षतिपूर्तिस्वरूप दिन जिकिर पनि गरिरह्यो ।
डाक्टरले उसको बठ्याइँ बुझिहाले । र, बिमार निको नभए क्षतिपूर्ति दिने आश्वासन दिँदै भने, “अन्तिम पटकको दवाई एक खुराक पियाउन दिनुस् । निको नभए आफ्नो रकम लिएर जानुहोला ।”
वीरमान खुशी भयो र चाँडो दबाई दिन कर गर्न थाल्यो । डाक्टरको निर्देशनमा सहयोगीले दबाईको बोतल नै ल्याएर वीरमानको मुखमा खन्याइदियो । ऊ पीरोले पीडित भएर हा हा... र हु हु.. गर्दै उठेर दगुर्यो ।
वीरमान गइसकेपछि जाँचेको त त्यो अकबरे खोर्सानीको झोलवाला दबाई पो रहेछ ।

५६. ख्यालख्यालमा
‘हजुर अंकल, तीन गिलेन पानी दिनुस् न ।’ २० वर्षे ठिटाले मुख खोल्यो ।
‘तिमीहरू अघि गाउँभरि धुलो उडाउने र हाम्रो होहल्ला गरेर अमनचयन खोस्ने उडाउने केटाहरू हैनौ ?’
‘हुन त तिनै हौँँ । सरी अंकल फेरि त्यस्तो हुन्न ।’ १६ वर्षे अझै नम्र भयो ।
‘लकडाउनले दिमाख डाउन ग¥यो । पिकनिक खाएर अन गर्न आएका । हामीलाई नरोक्नुस् । साथीहरू हतारिएका छन् । बोइलर भुत्याइसके । पौडाहा खोलामा पानी होला भनेर खानको लागि मात्र पानी ल्यायौँ । यहाँ त पानीको थोपो पनि छैन । साउनपुर गाउँ पस्ता कलमा पानी आएन । अब हजुरले समरसियल चलाइदिनू र हामीलाई पानी दिनू ।’ १४ वर्षे पड्कियो ।
ठूलोभन्दा सानो कडा देखेर झ्वाँक चल्यो । जिस्क्याउने इरादाले भनिदिएँ, ‘हाम्रो पैसो खर्च हुन्न र ?’
‘हुन्छ । कति दिनुपर्छ ?’ 
१४ वर्षेको अटेर बोली सपार्दै १६ वर्षेले भन्यो, ‘त्यत्ति पानी किन्न कति तिर्नुपर्छ होला ? बजारमा त्यही ४÷५ सय पर्ला ।’
‘उसो भए ५ सय थम्याऊ । लैजाऊ । धेर भए पछि फिर्ता लैजाऊ ।’
ठिटाहरू गोजी छाम्छन् । पैसा भेला पार्छन् । जम्मा २६५ रुपियाँ मात्र साथमा हुन्छ । मुखामुख गर्छन् ।
‘पैसा नभए मोवाइल छाडेर जाओ ।’
गाह्रो मनले मोवाइल थम्याएर पाइला अघि बढाउँछन् ।
वनभोज सिद्धयाएर पाँच सय थम्याउँदै मोवाइल दिँदै लिडर केटोले भन्छ, ‘काम सिद्धियो । सर्त मुताविक ५ सय लिनुस् मोवाइल फिर्ता लिनुस् ।’
म सरक्क मोवाइल फर्काउँछु । रुपियाँ लिन अस्विकार गर्छु ।
उनीहरू कारण सोध्छन् । 
भन्छु,  ‘ तिमीहरू सप्र । मान्यवरका आज्ञा मान । ठीक गर । बेठीक ठाममा पाइलो नराख । तिमीहरूले दिएको त्यही मेरो पैसा भयो ।’
उनीहरू नतमस्तक हुन्छन् । ‘सरी’ भन्दै हात जोड्छन् र बलुवा गाउँतिर लाग्छन् ।
म घरमाथि उक्लनासाथ छोरी मोवाइलमा देखाउँछे । 
हेर्छु, फेसबुकमा मेरो तस्विर छ । मुन्तिर लेखेको छ–
हेर्नुस् । वनभोजमा पानी बेच्ने अंकल । पैसा नहुँदा मोवाइलसम्म राख्न गाह्रो नमान्ने महान् सहयोगी सर्वेश्वर अंकल । 
– २०७६–१२–१८ 

५७. प्रतिकार

गाउँ छेवैको प्रहरी थाना सुनसान खडा छ । दुई युवती जम्ला हात गरिरहेका छन् । अगाडिको कुर्सीमा बस्न सकस मानिरहेकी हबल्दार दिदी अक्कनबक्क छिन् । वातावरणमा निर्जनता छाइरहेको छ ।
“चेलीहरू हो ! गर्नसम्म गरेछौँ । कानुनको मुखमै कालोमोसो दलेछौ । तिमीहरूलाई इज्जत नदिऊँ भने आफ्नो भुल स्वीकारेर कानुनको शरणमा आएका छौ । अर्कातिर आफ्नै विभागको धज्जी उडाउने काम गरेका छौ ।” हवल्दार आँखा मिच्दै थप्छिन्, “अरू हाकिमहरू अन्तै जानुभएको छ । यो थाना उहाँकै नेतृत्वमा थियो । उहाँ पछिको वरिष्ठ वरियाताक्रममा म नै पर्छु । अब म कसो गरूँ ?”
हत्त न पत्त चाँचरी अघि सरी, “केही गर्न पर्दैन, दिज्यू ! दुई संदिग्ध अभियुक्तहरू घटना घटायौँ भनेर थानाको शरणमा आए । प्रारम्भिक जाँचपडताल गर्दा घटना घटेकै भेटियो । लास र अभियुक्त दुबै थरीलाई सदरमुकाम चलान गरियो । यस्तै सोच्नुस् र यस्तै गर्नुस् ।” धनियाले थपी, “हैन, हैन । नियमले जे भन्छ त्यही गर्नुस् तर हामीलाई अरू राक्षसहरूको गिद्धेनजरबाट जोगाउनुस् ।”
“कुरा मात्र गर्ने कि लास पनि नियन्त्रणमा लिने भन्या ।” चाँचरी भन्दै गई, “हामी वाध्यतामा परेकाले मात्रै जघन्य अपराधिक घटना घट्यो । नारी इज्जत ज्यानभन्दा प्यारो हुँदो रहेछ । नहुनुपर्ने कुरा भइगयो । अब सजायको विकल्प रहेन ।”
हवल्दार उठिन् । नजिकैको बोतलको आधा पानी निखारिन् । र, गला सफा गर्दै चाँचरी र धनियातिर हेर्दै भन्न थालिन्, “तिमेर्का कुरा खस्न नपाउँदै हाम्रा स्टाफहरू घटनास्थलतर्फ दौडिए । सबैतिर खबर भयो । त्यसको चिन्ता नलेओ । मलाई यत्ति भन त, सतित्व जोगाउन हत्या मात्र निर्विकल्प उपाय हो, त ?”
रातीपिरी हुँदै चाँचरी कड्की, “हामीले तपैँहर्को सईलाई हत्या गरेको हैन । हामीलाई झुक्याएर नशा खुवायो । जङ्गल पु¥यायो र बलात्कार गर्ने दुष्प्रयास ग¥यो । हामीले घोचै घोचाले हानेर ठहरै पा¥यौँ ।” धनियाले थपी, “हबल्दार साहब ! हाम्रो प्रतिकारको परिणामस्वरूप ऊ म¥यो । त्यसैले यसलाई हत्या हैन, प्रतिकार भन्नुस्, प्रतिकार !”
हबल्दारको मुखबाट पनि मधुरो आवाज निस्कियो, “प्रतिकार !”

५८. अहँ; बुझाउँदिनँ
’मलिन अनुहार बनाएर झोक्रँदा आफ्ना पात्रले न्याय पाउँछन् र लेखकज्यू ?’
शिवकुमारको अप्रयाशित प्रश्नको विद्युत प्रवाहले एकै क्षण भए पनि रन्थन्यायो ।
भनिदिएँ; ’जन्माउन त दुई हप्ता लगाएर बडो सकसले जन्माएको थिएँ । पात्रमा प्राण पनि भरेको थिएँ । त्यसलाई देखेर जीवनकै श्रेष्ठ पात्र र उसको जीवन निर्माण भयो भनी मख्ख परेको थिएँ ।’
मेरो कथन सुन्न ऊ एकोहोरिएको थियो । म सुनाउँदो थिएँ; ’हिजो माघ द्दट गते द्दण्ठट को विहान टःद्दद्ध बजे यी कोर सल्केका हातले घाँटी नै दबाएर सदाको लागि मारेँछु । पछि थाहा पाएर बचाउन हरसम्भव प्रयत्न गरेँ । कम्प्युटरे डाक्टरकहाँ लगेँ ।’
डाक्टरले बसाएर आधा घन्टा लेक्चर दिएँ र अन्त्यमा मलाई भनेका थिए; ’अल्पज्ञान खतरनाक हुन्छ त्यसै भनेको हैन । बिमार नलागि मकहाँ आउन ध्यान गएन ! अब मरेको सन्तान बोकेर मकहाँ आएर के गर्नु ? ठाउँमा लगे र कम्प्युटरे विशेषज्ञकहाँ जँचाए बच्न त सक्ला ! मलाई थाहा छैन । तर यस कुठाउँमा सन्तान गुमाउनुको विकल्प छँदैछैन ।’
डाक्टरको लामो गन्थनले वाक्कै भएँ । र; शिवकुमारलाई सुनाएँ; ’ कतै मेरो केही सीप लागेन ।’
मेरा कुरा सुनेर ऊ छक्क पर्यो । द्विविधामा अल्झिरह्यो । फेरि खै के सोच्यो कुन्नि विवाद गर्न अघि सर्यो । 
’पात्र मरे फेरि अर्को जन्माउनू नि । बेक्कारमा मरेकालाई सम्झेर गहभरि आँसु किन पार्नुहुन्छ ? जन्माउने सामर्थ्य हुँदा गुमेर खासै फरक नपर्नुपर्ने हो ।’ 
उसको कुराले मन च्वास्सै घोच्यो; ’बोल्न पाएँ भन्दैमा सहानुभूति राख्ने नाममा जथाभावी नफलाक्नुस्; शिवकुमारजी ! प्यारालाइसिसले गर्दा दाहिने हातपाउ नचल्ने मान्छे । कागजमा जन्माउन सक्दिनँ । सोझै ल्यापटपमा जन्माउँछु । एक पटक स्वाहा भएपछि लागेको चोटले रन्थनु सिवाय विकल्पै रहन्न ।’
’जाबो कलमी पौरख मासिँदा जन्मदाता गुमाएझैँ गर्नुहुन्छ ! लेखकको दिमाखको नटबल्टु खुकुलो हुन्छ भन्थे हो रहेछ ।’
उसले बोलेका शब्दलाई तुच्छ  ठान्दै म डुक्रिएथेँ; ’मानौँ छोराको बाबु नबनी नछाड्ने सङ्कल्प गर्नुभएको छ तपैँले । छोरी जन्माउँदा जन्माउँदा दर्जन पुगेपछि छोरा जन्माउनुभयो । बडो प्रेमले हुर्काउनु भो; पढाउनु भो; उच्च कोटीको जागिरे बनाउनु भो । अब भन्नुस् त तपैँको त्यो छोरो आफ्नै असावधानीले तपैँकै हातबाट फ्याट्टै निष्प्राण भयो भने अर्को छोरो जन्माउँछु भनेर चित्त बुझाउनुहुन्छ ?’ 
२०७६–१०–२७  सोमबार  

५९. माइन सेबोटेज

‘ए जामुनजी, हडबड नगरौँ । गडबड हुन्छ । माथिको आदेश पखौँ । अनि, जे गर्नुपर्छ, गराँैला ।’
 श्यामजीको चेतावनीलाई वेवास्था गर्दै भनेको थिएँ, ‘माथिको आदेशले त हामी बिग्रियौँ, भत्कियौँ । टाउकामा कात्रो बोकेर हिँडेपछि जनताको काम गर्ने हो । माथिको आदेशलाई घाममा सुकाइदिने हो ।’
 विरोधी पक्ष आउँदै थियो । उनीहरूको लाइनको ठ्याक्कै बीचमा पर्ने गरी मैले व्याट्रीमा तार जोडेँ । त्यस विष्फोटमा दुई जना मात्र घाइते भए् ।
 साथीहरू अघि नै चम्पट ठोकिहालेछन् । अन्ततः मलाई पक्रिहाले ।
 ‘ए दनुवार, गोली ठोकूँ कि भन्छस् ?’
विपक्षीको प्रश्नोत्तरमा भनेको थिएँ, ‘ठोक्न मन भए ठोक । सोध्न मन भए सोध । म भन्न तयार छु ।’
‘कायरै छस् कि क्या हो । तेरो सामथ्र्य केही भए पो अर्को कुरा गर्थिस् त ।’
‘म अहिले बगरमा फालिएको माछो बनेको छु । मैले पानी भेटे, तागत देखाइदिन्थेँ ।’
मेरा कुरा सुनेर कमान्डरले मेरो जुल्फी क¥याप्प समात्यो । मेरो गर्धन अररो भयो । सबिनाले कपाल काट्न बरोबर सम्झाउँथी । मैले अटेर गरेको थिएँ । कम्तिमा छोटो कपाल पारेको भए वा खुइल्याएको भए यस्तरी समाउन त पाउन्नथ्यो भन्ने लाग्यो । कहिलेकाँही साना नानीहरूले भनेका कुरा पनि हेक्का राख्नुपर्छ भन्ने ख्याल आयो ।
‘घर कहाँ हो ?’
‘खैरेनी ?’
‘सन्तान कतिजना र केके ?’
‘३ जना, जेठी छोरी सविना, कान्छी सरिता, छोरा सरोज ।’
‘अनुहार हेर्दा त तँ दनुवार होस् भनेर चिनिहाल्यौँ । ए, तँ त जामुनलाल चौधरी पो रहिछस् । सपरिवारै क्रान्तिमा सहभागी गराएको रैछस् हैन ?’ उसले सहजै सोधेको थियो ।
मैले भनेँ, ‘हो, जे गर्नसक्छौ । गर ।’
‘हामीलाई कानुन सिकाउने भाको, कम्लिष्टे मोरो । खान नपाएर कम्लिष्ट भाको । यस दनुवारको बुद्धि भाको भए पो खैरेनीमा ढुक्कले परिवारसँग बस्थ्यो । यो भलायाडाँडामा आएर हामीलाई मार्ने धराप किन थाप्थ्यो त !’
म टेरिनँ । अन्ततः मेरो निधारमा ‘माइन सेबोटेज’ लेखियो र गाईघाट जेलमा कोचियो ।
००००००००


६०. सुनपानी
‘हरिश्वरका विरुद्ध किन बोलिस् ? ऊ तल पर्ने गरी किन लेखिस् ? किन उसकै जरो खन्न खोज्छस् ?’
श्रीराम गुरु एकोहोरो प्रश्नमाथि प्रश्नको थुप्रो लगाइरहेका थिए । म जवाफ दिनुको सट्टा गम खाएर बसेको थिएँ–
–ब्यर्थमा कसैबाट नपग्लने मान्छे आज किन पग्लिरहेछन् ?
–लोभ नभएका मानिस किन इज्जतको लोभ गरिरहेछन् ?
–मनमा हरि भएका मानिस के कारणले हरिलाई भगाइरहेछन् ?
–सधैँभरि दूधको दूध र पानीको पानी छुट्याउने सच्चा निर्णायक आज किन धरमराउँदै छन् ?
–सधैँ नरम वाणी ओकलेर शत्रुलाई पनि रिझाउने पुरुषार्थ भएका मान्छे रुखो बोलेर किन शिष्य तर्साउँदै छन् ?
–तल झर्न लागिरहेका लागि हत्तपत्त थामेर माथि ठेल्ने मान्छे आज किन सत्य बोल्नेलाई तल खसाइरहेका छन् ?
–आखिर मेरो कुन कुरो बिझायो र जहाजै खसेजस्तो रोष देखाउँछन् ।
–सधैँ अन्याय अत्याचारविरुद्ध विषवमन गर्नु र समाधानका उपायसहितका कुरा बोल्नुलेख्नु सच्चा नागरिक कर्तव्य हो भन्ने गुरुवाणी एकाएक किन बदलिँदै छ ?
मेरो मौनताको गालामा थप्पड बजार्दै उनले अर्को तिखो घोचाले घोचेका थिए; ‘हरिश्वरका बारेमा फत्तुरको आरोप लगाएर जनता भड्काएको आरोपमा मानहानीको मुद्दा खेप्न तयार छस् ?’
‘भुल भए माफी चाहन्छु गुरुदेव । जीवनभर सत्य पढाएर रिटायर भएपछि किन कालोकर्तुतमा आँखा चिम्लन भन्दै हुनुहुन्छ ?’
मेरो नम्रतामा पग्लेर उहाँले भन्नुभएको थियो; ‘किनका कुरा छाड्दे । हरिश्वर हाम्रो पार्टीमा प्रवेश गरिसक्यो र मुखैमा चुनाव छ ।’
२०७८–०६–१९ 

६१. चलाखी
‘दिमागले भन्दा हृदयले लेखेको सिर्जना चिरकालपर्यन्त जीवन्त रहन्छ ।’
कक्षाबाट बाहिरिँनै लाग्दा कक्षा ११ का विद्यार्थीलाई नेपाली गुरुले भन्नुभएको थियो । विद्यार्थीलाई सिर्जनात्मक कार्यअन्तर्गत कथा लेखेर ल्याउन गृहकार्य समेत दिनुभएको थियो ।
म लघुकथा लेख्ने निर्णयमा पुगेँ । यसको बनोट र बुनोट बारे कुरा खेलाउँदै घर आइपुगेँ । रातभर दिमागले सोच्छु, भोलिपल्ट शनिबार हुदयले लेख्छु भनेर थन्काएँ ।
खाना खाएपश्चात् रातमा सोचेको कथावस्तु रैखिक ढाँचामा सरासर लेखेँ । त्यसपछि लघुकथाका अनिवार्य तत्त्वहरू मनमा गुनेँ । रफ रूपमा लेखिएको कथामा कथावस्तु, पात्र, दृष्टिबिन्दु, लघुत्व, सूत्रता, तिक्ष्णता, बक्ररेखीय तीव्र बहाव, सौन्दर्य, शिल्प, रसनिदानजस्ता कुराहरूको तारतम्य भए नभएको जाँच गरेँ । कथावस्तु अनुरूप थपघट गरेँ ।
त्यसपछि कथानकमा सार्थक उठान गर्ने, सङ्घर्ष आरम्भ गर्ने, सङ्घर्षको चरम सीमामा पुग्ने, संघर्षको विस्तारै ह्रास गर्ने र अर्थपूर्ण तवरले कथाको अन्त्य गरी पाठकको मनलाई झङ्कृत गर्ने कुरामा यथोचित ध्यान पु¥याएँ । यस किसिमका कुरामा हेक्का पु¥याउँन दिमाग मात्रै क्रियाशील भएको पाएँ । कथानक, पात्र, द्वन्द्व, परिवेश, भाषाशैलीमा कतैकतै हृदयलाई प्रवेश गराउन खोजेँ । यसरी कथा लेखेर सिद्धयाएँ ।
आमाले सुकुल ओछ्याइदिँदै भन्नुभएको सम्झेँ, ‘बिस्कुन रुँग्दै पढ् है छोरा । चार डाला धानमा एक माना पनि यताउती होला नि !’
गाउँभरिकै परेवाहरू धुइरेर एक डालो बिस्कुन सखाप पारेछन् । मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । उड्दै गरेका ती परेवा शत्रुजस्ता देखेँ । आफैँ उभिएको धर्ती फनफनी घुमेको भेटेँे । टन्टलापुर घामले जिस्क्याएको पाएँ ।
तुरुन्तै भकारीबाट एक डालो धान ल्याएर बिस्कुनमा थपेँ र चयनको सास फेरेँ ।
२०७८.०७.१४ 


६२.  बाको रिन असुल

“तेरा बा बिनारथ कतै चटपटाउनुहुन्नथ्यो उत्तिबेला ! यत्तिबेला तँ पनि शौखिन हुन खोज्छस् ?“
पुरानो बेचेर नयाँ मोडेलको मोटरसाइकल किन्न अनुमति माग्दा आमाले भन्नुभएको कुराले मनमा झड्का हानेको थियो ।
बाको शौखको बारेमा त्यत्ति थाहा थिएन । म सानै छँदा उहाँले परमधाम सुधार्नुभएको थियो ।
उहाँ सुनैसुनले बेरिएको लौरो टेक्नुहुन्थ्यो । चाँदीका बर्तन बाहेक अरूमा पानी समेत पिउनुहुन्नध्यो । कुच्चिएका र दुला परेका चाँदीका भाँडाकुँडा बोराभरि कोचेर राखेको हुन्थ्यो । मैले यत्ति चाहिँ देखेको थिएँ । 
“बुलबुल बाबु ! सप्तकोसी हमरा घरसर सबटा बगादेलके । हम आ हमर बालबच्चा सभ भुकसँ मरैअ ।“
सप्तकोसीले घरबारबिहिन पारेको भन्दै आफ्ना अघि हात जोड्नेलाई उहाँ भन्नुहुन्थ्यो; “अच्छा, तुँ हमरा सँ कथि चाहैछी ?“
मबाट के चाहन्छौ भन्ने उहाँको उदार प्रश्नको जबाफमा उनीहरू बसोबासका लागि आफ्नो नाममा घरेडी पास गरिदिन र ६ महिना खाने अन्न माग्थे । पछि कमाएर त्यो रिन चुक्ता गर्ने बचन दिन्थे ।
“मान्छे आँसु खसाल्न हैन; हाँसो बाड्न जन्मेको हो । सहासी सधैँ मुस्कुराउँछ । कायरले मात्र आँसुलाई प्रसाद ठान्छ ।“
बाका कुरा सुनेर रोदन गर्न बन्द गर्थे मानिसहरू । त्यही मौकामा बाको कथन पुनः सुनिन्थ्यो; “पाँच कठ्ठाका दरले घरेडी पास गरिदिउँला । चार बोरा धान र गहुँ दिन मुन्सीलाई चिठी लेखिदिउँला । अब त खुशी हुन्छौ नि !“
त्यसपछि बुलबुल बाबुले जग्गा र अन्न बिनाधितो सापटी दिँदै छ भनेर गाउँभरि हल्ला फिँजिएछ । हाम्रो घरमा मालपोत कार्यालयको जस्तै भीड लागेको थियो ।
त्यस भिडलाई देखेर उहाँले एक कठ्ठा घरेडी र एक मन अन्न मात्रै सापटी दिने कुरा गरेपछि २०% मानिस थोरै त लिन्न भनेर खाली हात घुरेका थिए । बाँकी मानिसहरू चाहिँ हातहातमा  मुन्सीलाई सम्बोधित चिठी पक्रेर बाहिरेका थिए ।
घरेडी पास गराउन बाहेक अरू बेला कहिल्यै ती मान्छे फर्केर आएनन् । बुबा बितेको ३० वर्षपछि घुम्दैफिर्दै म त्यहाँ पुगेँछु ।
 ’बुलबुल मालिके बेटा’ भन्दै  सबै बुढापाका नरनारी जम्मा भएर मलाई घेर्दै भनेका थिएँ, “मालिकको छोरो मालिक नै हो । हामीलाई रिनमुक्त गराइदिनुस् । रिन बोकेर मयौँ भने माथि अल्लाहले हामीलाई माफ दिँदैनन् ।“
उनीहरूको मन राख्न सबैको हातबाट केही न केही खाएर रिनमुक्त गरिदिनु पर्यो । मेरो अगाडि थुप्रो लागेको थियोे– खाजा, लड्डू, पेडा, चिया, चकलेट, सुन्तला, नरिवल––––––– आदिको !!!



६३. दूधभात प्रसङ्ग

‘सानी नानीलाई दूधभात देऊ । सारै ल्यान्ते भइन् । चाँडो तन्दुरस्त पार ।’
मैले उनकी आमालाई अह्राउँदा उनी भने सुनिरहेकी थिइन् । प्रतिक्रियाविहिनको अवस्थामा हुनु भनेको भनिएका कुरा स्वीकार गर्नु हो । मेरो यस्तै बुझाइ रहेको थियो ।
बिहान दस आसपासको समय थियो । सडकमा जानेआउने विद्यार्थीहरूको बाक्लो उपस्थिति देख्न सकिन्थ्यो । शिक्षण पेशा अपनाएको मान्छे थिएँ । मलाई पनि विद्यालय जान हतार हुँदै थियो ।
भरसक सानीले खाना खाएर मसँगै विद्यालय गइदिए हुन्थ्यो भन्दै थिएँ मनमनै । उनी हप्ता दिन अघि टाइफाइड भएर बल्ल तङ्रिँदै थिइन् । चाँडो तगडा होऊन् भनेर डेरीबाट समेत दूध ल्याउने गरेको थिएँ । उनलाई दूध पिउन समेत हर्लिक्स नभई हुन्नथ्यो । सबै कुराको ब्यवस्था गरिदिएको थिएँ ।
सानीका सामु दूधभात आइसकेको थियो । उनी घुरेर बसिरहेकी मात्रै थिइनन्, घृणित नजर गाडेर हेरिरहेकी पनि थिइन् । सानीलाई रिस उठ्ने काम पो गरिएछ कि भनेर घोरिएको थिएँ एकै क्षण । यद्यपि मलाई त्यस्तो बिझाउने व्यवहारको यादै आएन ।
अरू बेला स्कुल जान भनेपछि जस्तोसुकै अवस्थामा पनि तयार हुने छोरी यत्तिखेर चाहिँ बाङ्गिरहेकी थिइन् । उनी बाङ्गिनुको भेउ नपाएर म अलमलमा थिएँ ।
‘अचेलका नानीबाबुलाई असल खानेकुरा सहजै खुवाउनुभन्दा बरु बैतरणी नदी पार गर्न सजिलो होला । अरू जङ्क फुड र चटपटे खानेकुरा खान भनेपछि बिमारले आलसतालस भएकाहरू पनि ज¥याकजुरुक उठछन् ।’
आमाले यसो किन भनेको होला भन्थेँ उसबेला । आज आएर आफैँ दलदलमा फँस्न लागेको अनुभूत हुँदै थियो ।
सानीले भाउ खोजेकी होलिन् भनेर नम्र भएर भनेको थिए, ‘खाऊ सानी खाऊ । दूधभात खाऊ । अनि स्कुल जान तयार होऊ । आज मसँगै स्कुल जानुपर्छ ।’
मेरो आवाज भुइँमै पर्न नपाईकन उनी बम्केकी थिइन्; ‘मलाई फकाउन पर्दैपर्दैन । म बिरालो होइन; दूधभात खाने !’
२०७८–०६–०५ 

६४. बाको अन्तिम बोली
’सन्तोष, आफूभित्रको हिम्मतलाई उचाल्नुपर्छ । सहासले बिमारसँग जुध्नुपर्छ । हिम्मतका अघि सत्रु झुक्छ । सहास देखेर सत्रु चुक्छ ।’
भतिजलाई ऊर्जा भरिदिने मनसायले मैले भनेको सुनेर जयप्रसाद दाजुले भनेका थिए; ’केको सन्तोष, सन्तोष अब असन्तोषी भयो । यसको दायाँबायाँ दुईटै खप्पर खोलेको चार दिन भयो । तहिलेदेखि धुकधुकी छ तर मान्छे छैन ।’
म निरुत्तर थिएँ ।  मनमा थरीथरीका सुनामी तँछाडमछाड गरेर दगुर्दै थिए । खोपको नाममा यो सबै काण्ड भइरहेको थियो । म स्वयम् खोप लगाएपछिको ज्वरोले आफैँ तखतरान थिएँ ।
’बाबु, डाक्टरहरूले गर्ने गरे । अब हामी सबैको कामना र प्रार्थनाले सन्तोष फर्कन्छ भन्ने झिनो आश मात्रै छ । यही मेरो चाहानानुसार तपैँ र तपैँका मित्रलाई कामना र प्रार्थना गर्दिन भनिदिनुस् है ।’
भाउजूले आँसु खसाल्दै भनेका शब्दले मन भक्कानिएको थियो । बुहारी भतिजको सिटिस्क्यान गराउने क्रममा ढलेर अर्को बेड भरेकी रहिछन् । यी सबै भद्रगोल देखेर अब सहासले जुध्ने काम मेरो नै थियो ।
खोप लगाउनासाथ ज्वरो आएछ । पखाला चलेछ । यताउताको ओखतीमुलोले नछोएपछि उपचारार्थ विराटनगर जाने भएछन् । बुहारी भित्र कपडा लगाउन गइछन् । पोशाक लगाएर तयार भई बाहिरिएको भतिजलाई एक्कासी उच्चरक्तचापले ढलेछ । ढल्दा अझ टाउकामै चोट थपिएछ ।
बाहिर निस्केर बुहारी चिच्याइछन्; ’आम्मै ! यो तपैँले के गर्नुभाको ? के गर्नुभाको ? हे भगवान् ! –––’
भतिजो त काटेको बोकोझैँ रगतको आहालमा छटपटाइरहेको पो रहेछ ।
भतिजाका दुबै छोराले एम्बुलेन्समा बसाएपछि भनेछन्– ’बा, उपचारबाट निको भएर हाँस्दै फर्कनुस् है । हामीलाई बचन दिनुस् ।’
त्यसबेला भतिजोले भनेको रहेछ; ’म फर्किहाल्छु । तिमेर्को मायाका सामु मेरो रोग, भोक र शोक कता भाग्छ, भाग्छ ! मलाई नै थाहा हुन्न । तसर्थ ढुक्क होओ ।’
 २०७८÷०५÷२२

६५. आइतीको दशैँ
’पौर सालके दशहरामे कोरोना घरबालाके प्राण आ हमर भठ्ठाके जागिर दोनो लगेलै । अई सालके दशैँमे ककरो कुछो नई भेलछै ।’
अघिल्लो दशैँमा कोरोनाले पतिको प्राण र आफ्नो जागिर एक साथ लिएको तर यस पटक सबै शुभ रहेको भन्दै आइतीले प्रसन्नता व्यक्त गरेकी थिइन् ।
आइतीले रोटी भाँचीभाँची बराबर तीन भाग लगाइन् । कतिदिन देखिको बासी रोटी होला अररा थिए । भाँच्दा पनि कट्याककुटुक आवाज सुनिन्थ्यो ।
चारैतिर दशैँको चहलपहल थियो तर कोरोनाको कारणले एकदमै कम थियो ।
नजिकै कुकुरका तीनवटा छाउराहरू जाडाले गुडुल्किएका थिए । अर्कातिर आइतीको वरपर तीन जना छोराछोरीहरू तँछाडमछाड गरी धुइरिएका थिए । त्यसमा पनि रोटीको आधा भाग डढेकै थियो ।
मेरो मनमा कुराहरू नाच्न थाले–
–खान दिनु नै छ भने केको डढेको रोटी दिएको होला । त्यो पनि बासी !
–पशुले बुझ्दैनन् भनेर हेप्नु त हुन्न नि !
–बेहोसी भएर डढाउने आफू, त्यसको सजाय भोग्नुपर्ने पशुले ?
मेरो ध्यान पशु अधिकारतिर एकोहोरिएको थियो । त्यसैबेला आइतीले रोटी छाउरालाई नदिई आफ्ना तीन बच्चालाई बाँडिदिइन् । उनीहरू पनि धमाधम खोटी चबाउन थाले । एकएक टुक्का मासु पनि हातहातमा हाल्दिइन् र बोटुकाको झोल पालैपालो सुरुपसुरुप पार्न दिइन् । म छक्क पर्दो थिएँ ।
दैया गे, तूँ अपन बुइद्ध डढाके फेक देलही ? बच्चाके एहन डढलाहा सडलाहा रोटी दैछी ?
डढेको र सडेको खानेकुरा दिएर आफ्नो बुद्धि किन डढाको भनेर सोधेको मेरो प्रश्नले भेटेको जवाफले मेरो मनमा दश रेक्टरको भूकम्प गएको थियो  ।
’त्यो पनि भाँडा माझेर दशैँमा पाएको बकस हो । दुई सय रुपियाँ र दुई किलो चामल पनि पाएकी छु ।’ आइतीले खुशी हुँदै यस्तै आशयको कुरा थप्दै सुनाएकी थिइन्; ’यसपालाको दशैमा कुखुराको मासु ल्याएर बच्चालाई टन्न मासुभात खुवाउँछु ।’
२०७८÷०६÷२१   

६६. भुलदण्ड
‘एउटा गधा यहाँ घोप्टो परेर कन्दै रहेछ । मरणासन्न अवस्थामा छ जस्तो छ । साथीहरू हो, दुई चार लात बजारेर रिस शान्त गर्नुहोस् ।’
कमान्डर पासाङको आदेश पाउनासाथ सबैले एकएक÷दुईदुई लात हानेँ । कसैले मेरो शरीरमाथि चढेर मसला पिँधेझैँ मच्याकमुचुक पारे । त्यसबेला रातको समय थियो । म कुराका कुरा सनिरहेको थिएँ तर बोल्ने सामथ्र्य गुमेको अवस्थामा थिएँ । अर्धचेत अवस्थामा मृत्युसँग जुधिरहेको थिएँ ।
त्यस आक्रमणमा हाम्रो सान्दार जीत भएको थियो । सेना क्याम्प र प्रहरी चौकी हाम्रो कब्जामा आइसकेको थियो । विशेषतः म उत्साहले मातेको थिएँ । चौतर्फी अँध्यारो थियो । त्यसले मलाई छेक्न सकेन ।
म बुर्कुसी मारेर अगाडि बढेँ । अरू साथीहरू हतियारसहित पोजिसन मिलाएर अघि बढ्दै थिए । म मात्रै एक्लै अघि बढेको उनीहरूले देखेनछन् । म क्याम्पभित्र पसी हतियार र शत्रु सैनिक जवान खोज्दै थिएँ । मैले लगाएको पोशाक सेनासँग ठ्याक्कै मिल्थ्यो । पछि आएका साथीहरूले मलाई सेना नै सम्झेछन् र गोली हानेछन् । गोलीको छर्रा मेरो शिरदेखि पाउसम्मै लागेको रहेछ ।
सबैले लात र बात हान्दै जाँदा रहेछन् । एक जना साथीलाई चाहिँ मेरो जुल्फी समात्ने मन भएछ । मेरो टाउकाको टोपी हटाएछ । लामो केस र दाह्री छामेछ । सेनाको जवान भए त कपालकेस दुबै नहुनुपर्ने भनेर टर्च बालेर राम्ररी हेरेछ । मलाई चिनेर हत्त न पत्त कराएछ– ‘ए, साथीहरू हो ! उहाँ त हाम्रै सह–कमान्डर अनिल पो हुनुहुँदो रहेछ ।’
२०७८–०६–०८ 

६७. सरी बाबा 

‘यस मच्छडलाई एकै झापडमा तीनत्रिलोक चौध भुवन देखाइदेऊ त, नानी ।’ देब्रे पाखुरामा बसेर मस्तले खुन चुसिरहेको मच्छड देखाउँदै पीडामिश्रित स्वरमा ८ वर्षे सानी छोरीलाई भनेको थिएँ ।

त्यसलाई धपाउन मसँग सामथ्र्य थियो तर ज्यान लिन छँदै थिएन । कारण मेरो दाहिने हात चल्दैनथ्यो । म त्यसलाई त्यत्तिखेरै थिलिपितिली पार्न चाहन्थेँ । बरोबर त्यसले दिने गरेको पीडा मलाई असह्य थियो । एक ध्यानले काम गर्न बाधा गरिरहेको थियो । म धुरुधुरु रुन मात्रै सकेको थिइनँ । 

‘त्यसले मलाई पीडा दिँदा हुने मैले बदला लिँदा किन नहुने ?’ मनले मनसँग नै प्रश्न गरिरहेको थियो ।

मच्छड खुन चुसेर अघाइसक्न लागेको थियो । म दाह्रा किटेर सहने शक्ति बटुलिरहेको थिएँ । सानी मच्छडको मस्त र मेरो त्रस्त क्षण नियालिरहेकी थिइन् । त्यस राक्षसलाई ठहरै पार्न पनि केको आइतबार पर्खेको होला भन्दै थिएँ म । उनले एक्कासी जोडले ‘फू’ गरिन् । मच्छड उडेर अलप भयो । 

मेरो कन्पारो तातेर आयो । झपार्ने मन भयो तर मनको आक्रोश दबाएर विस्तारै सोधेँ; ‘यो तिमीले के गरेकी सानी ?’

अवाक् पार्ने गरी उनले भनेकी थिइन्, ‘हजुरले नै अस्ति नै भन्या हैन ? भरसक कुनै जीवजनावरको ज्यान लिँदै नलिनू भनेर !’ 
२०७८–०६–०७




६८. छुटप्रसाद 

बाहिरफेरो निस्कनुपर्यो भने उनी जहिल्यै इस्टकोट लगाउँथे । एकातिरको पकेट भुक्क फुलेको र अर्कातिरको स्याप्पै सुकेको सबैले नियाल्थे तर कारण जान्ने हिम्मत कसैले गर्दैनथे ।
एक पटक उनी रिक्साबाट आफ्नो निवासको गेटमा उत्रे । रिक्सावालले दश रुपियाँ भाडा भएको वतायो । उनले सात रुपैयाँ मात्रै दिए । गलफत्ती गर्न १५ मिनेट विताएर रिक्सावाल मुर्मुरिँदै त्यहाँबाट हिँडेको थियो ।
सबै दृष्य नियालिरहेकी उनकी श्रीमतीले झोला गेटभित्र पसाउँदै उनीसँग गुनासो गरेकी थिइन्; ‘दुई पैसाका लागि दलाली गरेर गरिबको मन दुखाइछाड्नुभयो हैन ? छुट नमागे तपैँलाई खा’को पनि पच्दैन कि क्या हो ?’
‘कुरो बुझेर मात्रै असन्तोष ओकल, रमिता ! यत्रो धनसम्पति र पदप्रतिष्ठा त्यत्तिकै आर्जन भएको हैन नि !’
उनले पनि आफूसँग यथेष्ट जवाफ भएको आभाष दिलाएका थिए रमितालाई । दुबै दम्पतीको रस्साकस्सी निकै बेर चलेको थियो ।
अन्त्यमा रहस्यको पर्दा हटाउँदै उनको बोली निस्केको थियो; ‘बचतले यत्ति श्रीसम्पति जोडियो । आजै पान खाँदा एक, तरकारी किन्दा सत्र र रिक्सावालबाट तीन गरी एक्काइस रुपियाँ बचत भो । तिमी भए  एक्काइस रुपियाँ नै गुमाउने थियौ । अब बुझ मेरो ट्रिक ।’
रमिताको मन बुझेर ट्रिकको गुदी कुरो खोतल्दै उनले अगाडि थपेका थिए; ‘इस्टकोटको एउटा पकेटमा खुजुरा पैसा बोक्छु । सके भनेको दामभन्दा कम दिन्छु । नमाने खुद्रा छैन भनेर हजारको नोट देखाउँछु । अपुग तीनचार रुपियाँको लागि कसैले भजाउँदैनन् । भजाए अर्को ठाउँमा अर्कै हजारीले तर्साउँछु ।’
रमिताको मुखबाट एक्कासी फुत्किएको थियो; ‘र; पो मलाई देखेर आज तरकारी किन्न छुटप्रसादकी पत्नी आइछ भन्दा रहेछन् ब्यापारीहरू ।“ (प्रदेश १ लघुकथा प्रतियोगितामा प्रथम हुन सफल) 
२०७८ साउन २१


६९. मच्छडदानी

हजुर ! यत्ति धेरै पीडा नदिनुस् न । झिपिक्कै आँखा लगाउन पाएको छैन । हत्तु हैरान छु ।

चकमन्न रातमा अरू सदस्य मस्त निद्रामा घुरिरहेका थिए तर गरिमा भने पीडा ओकलिरहेकी थिइन् । सायद स्कुलमा बढता होमवर्क दिएकोले होला भन्ठानेर म चुप थिएँ ।

मेरो र उनीहरूको सुत्ने कोठा अलग भएकाले बोलेको आवाज प्रष्ट सुनिन्थ्यो तर द्ष्य देखिन्नथ्यो । आफसमा बातचित गर्न सकिन्थ्यो तर लेनदेन गर्न भौतिक रूपमै आमनेसामने हुनुपर्थ्यो ।

यो गोलबजार नगरपालिकाले दया गर्नाले हजुरहरूले दशैँ मनाउन पाउनुभएको छ । हामीजस्ता निरीह प्राणीले दिनरात बेचैनमा फँस्नु परेको छ ।

गरिमाको एकलापले बन्द हुने नामै लिएको थिएन । सायद सपनामा बरबराएकी होलिन् भनेर चुप थिएँ ।

एकैछिन पछि फेरि उनको आक्रोशपूर्ण बोली सुनिन थाल्यो; यो सब हैरानीको अपजस बाबाको टाउकोमा जान्छु । उहाँ महाकन्जुस हुनुहुन्छ । दशतिर भ्वाङ परिसक्यो; चाँडो एउटा गतिलो झुल किन्दिनुस् भनेको आज वर्ष दिन लाग्न आँटिसक्यो । उहाँको तलव कहिले आउने हो । खालि तलब आएसी फेरिदिऊँला मात्र भन्नुहुन्छ । टालटुल पारेर काम चलाऊ भन्नुहुन्छ । टाल्दाटाल्दा अब टाल्ने ठाउँ नै देखिन्न । 
यस्ता मास्टरे बाबाको चार महिने तलब घर आउँदा नआउँदै उधारो तिर्दातिर्दै तुरिँदो रहेछ। मैले चयनको स्वास कहिले फेर्ने ?

गरिमाको कटुयथार्थले मन कुटुकुटु खायो । आफ्नै कोठाबाटै मायालु लवजमा भनेँ छोरी, भो अब गुनासो नगर । अर्थोक त उधारो आएको छ भने तिम्रो रात हराम गर्ने ओखती पनि उधारो आउँछ । त्यो पनि भोलि नै स्कुल छुट्टी भएपछि लिएर घर आउँछु ।





७०. कारण 

‘आज मात्रै हर्कमायाले होमवर्क बुझाइनन् गुरु !’
कक्षा नौको दिनेशले अह्राएको काम फत्ते गरेको जनाउ दिँदै भनेको थियो । उसले प्रमाणसहित दोषी हर्कमाया मात्र भएको घोषणा गरेको थियो । किनभने दशैँको अवसरमा दिइएको गृहकार्य निरीक्षण गर्न कापीहरू बटुल्न मैले नै अह्राएको थिएँ ।
म हर्कमायातिर फर्किएको मात्र के थिएँ उनले आँखाभरि आँसु पारेर ओठ थरथर कँपाएकी थिइन् । मानौँ म उनलाई दशैँमा हानेझैँ मार हान्न तयार छु ।
यस्तो अवस्थाले मलाई नै नमीठो लागिरहेको थियो । उनी मनका कुरा व्यक्त गर्न खोज्दै छिन् जस्तो लागिरहेको थियो ।
उनको मुहारतिर नजर लगाए अरू आत्तिलिन् भनेर म कापी निरीक्षणमा व्यस्त भएँ । उनी आफ्नै बेन्चमा खडा थिइन् । बस्नको लागि दिएको संकेत नबुझेर हो या आत्मग्लानीले चिमोटेर हो उनी खडाको खडै थिइन् ।
’अठहत्तर सालको दशैँका विविध दिनहरू मध्ये फूलपाती, महाअष्टमी र विजया दशमी गरी तीन दिनको दैनिकी तयार पार्नुहोस् ।’
मैले गृहकार्यमा यही प्रश्न दिएको थिएँ । मौखिक रूपमा भनेको थिएँ; ’धेरै हदसम्म सत्यतथ्य कुरा समेटेको हुनुपर्छ । भएको सत्य छलेर हावादारी गफ छाट्दैमा दैनिकी हुन्न भन्ने बुझ्नुपर्छ ।’
हर्कमाया सधैँ गृहकार्य गर्न र बुझाउन अग्रपंक्तिमा हुन्थिन् । यत्तिबेलाको उनको अवस्था देखेर कारण सोध्ने आँट गरिरहेको थिइनँ ।
उनी नै मेरो छेउमा आएर नम्रसाथ भनिन्; ’सरी गुरु; होमवर्कमा मैले आफ्नो आन्द्राभुँडी देखाउन सकिनँ । लोकलाजले सतायो । आई एम भेरी सरी गुरु ।’
कुरा नबुझेर म आफैँ रणभुल्लमा परेको थिएँ । अन्ततः उनीसित एकान्तमा गरेको वातचितबाट थाहा पाएँ– जुवातासमा उनका बाबुले डेढ लाख हारेछन् । आमाबाको घमासान लडाइँ भएछ । खानपिन पनि बन्द भएछ । उनीहरू भोकभोकै परेछन् । यो सत्य सबै सामु पोख्न उनलाई लाज भएछ ।
२०७८–०६–०३

७१. मरण–सुख 

–मैथिली अनुवादक–  श्यामपृत ’स्वाभिमानी’
एक बेर युद्धम रोमक शासक हारि गेलै। उसबके हत्थकरी आ जञ्जीरम बान्हि देलकै आ मनुष नै आबजाइ बाला जंगलमे छोरि देलकै। उसब जंगल हिंसक जानबरक भोजन बनपरतै कैहक चिंताम पैर गेलै। सबगोटे जित्ते मोरल जका भ्यागेलै।
कुछ देर बाद एगो लोहारक लाबल गेलै । ऊ मुस्कुराइत रहै। शासक सङे वकरो छोरि देलकै।
शासक सबके अन्हार भेल मुह देखक लोहार पेटकुन्नीयाँ पारि हँसलागलै। शासक सबक आश्चर्ज भ्यागेलै। कैदी राजा बाजलै, हौ लोहार भाई। हमरौरे क गैत जका तोहरो गैत छ।
हमरौर क जित्ते मैर रहल चियै। आ तोंहे हैंसहैंसक टरि रहल छ। ऐ समस्यासँ निकलैक कोनो रास्ता मालुम  छ,त जल्दी बताब। नाञ त एना पागल जका हँसैल बन्द कर। किएक त पागलपन कोनो समस्याक समाधान नै चियै।
लोहार शान्त भ्यागेलै। हाथ जोरिक कहलकै, आउर कोइ बनेन रैहतियै त इ हत्थकरी आ जञ्जीर हम एक क्षणम तोरि सकै छलियै। दुर्भाग्यवश ! इ हमर बन्याल हत्थकरी चियै। एकरा खोलैक कोनो सुत्र नै छै। महाराजक हुकुम सँ हम जीवन भरिक अपन सुझिबुझिसँ इ चिजबिज क बनेन चियै।
राजा कोइ नै खोलि सकै तेहेन जञ्जीर बनबैक आदेश देलहा बात क याद केलकै। इमान्दारीताम चुक्ला प जान दिय परैक धम्की क सोहो मोनेमोन सोचलकै। लोहारक राजभक्तिक जानि राजा नतमस्तक भेलै। आ, अपन भुल प उ पचतेलै।
कैदी मन्त्रीक प्रश्नक उत्तरम लोहार कहलकै, मरैल त सबक परतै। वना कहिते माथे, ककरो जित्ते मोरल जका मरबाक नै चाहिँ। हैंसते मोरैक चाहिँ। तब न मोरैयो मे मजा येतै।
७२. निर्दयी मदारी 

अन्ततः मदारीले गलगिद्ध मासुभात घिच्यो । मलाई डोहोर्याउँदै र डमरु बजाउँदै सधैँझैँ फलाक्तै गाउँ पस्यो, ‘बलकवा चौक आइए; दशहराके उपलक्ष्यमे देखिए अद्भूत बन्दर डान्स । भरपुर आनन्द लिजिए ।’ 
+++
मेरो लगाम मदारीको हातमा हुन्थ्यो । ऊ मलाई गाउँगाउँ डुलाउँथ्यो । उफ्रन लाउँथ्यो । नाच्न लाउँथ्यो । हाँस्न लाउँथ्यो । मदारीले भनेको अक्षरशः पालना गरेमा चकलेट पाउँथेँ । बोली भुइँमा खस्न नपाई तामेल नगरे पिँडुलाका मासु खस्ने गरी रामधुलाई भेट्थेँ ।
सिर्फ म एक्लो थिएँ । मेरो संसार मसँग थिएन । मसँग म स्वयम् थिइनँ । मसँग केवल मेरो प्राण थियो ।
जे भए पनि नढाँटी भन्नुपर्छ । एक दिन मदारीको घरमा मरन्च्यासे बोको ल्याइयो । ऊ हामी दुबैलाई ठोसीठोसी खाना खुवाउँथ्यो । हामी दुबै बलिया भयौँ ।
स्वजाति सुन्दरी देख्ता मेरो मन मातिन्थ्यो । बोको पनि बाख्री भेट्दा मलाई बिर्सने भएको थियो । 
एक दिन मदारी भन्दै थियो; ‘बोकालाई मात चढेछ । खसी हुन जुरेछ ।’
नभन्दै एक दिन बेलुका मेरो साथी झोक्राएर बसेको पाएँ । कुरा बुझ्दै जाँदा उसले पुरानो चोला त्यागेर नयाँ धारण गरेको रहेछ ।
अब उसलाई ‘बोको’ नभनेर ‘खसी’ भनेको पाएँ । मेरो पनि त्यही हालत पार्ला कि भन्ने भयले केही दिनसम्म गला दाबिरह्यो । परन्तु म जस्तो थिएँ उस्तै रहेँ ।
मदारीले हामीलाई उसरी नै स्याहार्यो । मभन्दा साथी धेरै मोटायो । आफ्ना सन्ततिलाई झैँ दुःखबिराम हे¥यो ।
दशैँ आयो । मदारीले मेरो साथीलाई च्वाट्टै काट्यो । मलाई चाहिँ बाँकी छाड्यो ।
२०७८–०६–१६

७३.  प्रत्यागमन 

अन्ततः म सदाको लागि जन्मथलो मधेसमै फर्किएँ ।
               +++
मधेसमा जन्मेँ । कालो वर्णको भएँ । कलुवा कहलाएँ । पहाड चढेँ । काले भएँ । पहाडमै बढेँ । उत्तै पढेँ । सÞंस्कार र विचार उत्तैको पाएँ ।
त्यतै प्रभाव जमाएँ । प्रतिभा देखाएँ । सबैलाई छक्क पारेँ । भोकानाङ्गाको कल्याण गर्ने मन भयो । राजनीतिमा लागेँ । गर्दागर्दै बन्दुक समाएँ । अनकौँ जङ्घार तरेँ ।
भोक खाएँ । तिर्खा पिएँ । अभाव लाएँ । अस्थिर बाटो हिँडेँ । डर मिचेँ । त्रास कुल्चेँ । बम र बन्दुकका छर्रा शरीरभरि बोकेँ । अद्यापि केही बोकेकै छु ।
एक हिसाबले पहाडलाई अङ्कमाल गरेर म्वाइ खाँदै बाँचे ।
अनिल साह नामको थिएँ । कमला गौतमसँग बिहे गरेँ । जात मिच्दा पनि ठूलो विरोध पाइनँ । फियुजन र फिरोज नामका दुई छोरा जन्माएँ । मुखले नै सही पहाडमै मैले मनग्यै सम्मान कमाएँ ।
समय शान्त भयो । चुनाव आयो । खुनपसिना बगाएको ठाउँमा उम्मेद्वार हुन चाहेँ । पार्टीले टिकटै दिएन । कारण पनि खुलाएन । मधेसबाट लड्न भन्यो । म अनिच्छुक भएँ ।
फलतः बागी भएँ । सबैले ज्वाइँलाई नै भोट दिन्छौँ भनेँ । मैले जित्ने करिव निश्चित भयो ।
चुनाव भयो । परिणाम फुकियो, ‘अनिल साहले जम्मा पाँच मत पाएका छन् ।’
गम खाँदै जाँदा भोट दिने मान्छे पत्ता लाग्यो– म, कमला, सासू, ससुरा र सालो ।
२०७८–०६–१६

 ७४. निर्दयी मदारी

अन्ततः मदारीले गलगिद्ध मासुभात घिच्यो । मलाई डोहोर्याउँदै र डमरु बजाउँदै सधैँझैँ फलाक्तै गाउँ पस्यो, ‘बलकवा चौक आइए; दशहराके उपलक्ष्यमे देखिए अद्भूत बन्दर डान्स । भरपुर आनन्द लिजिए ।’ 
+++
मेरो लगाम मदारीको हातमा हुन्थ्यो । ऊ मलाई गाउँगाउँ डुलाउँथ्यो । उफ्रन लाउँथ्यो । नाच्न लाउँथ्यो । हाँस्न लाउँथ्यो । मदारीले भनेको अक्षरशः पालना गरेमा चकलेट पाउँथेँ । बोली भुइँमा खस्न नपाई तामेल नगरे पिँडुलाका मासु खस्ने गरी रामधुलाई भेट्थेँ ।
सिर्फ म एक्लो थिएँ । मेरो संसार मसँग थिएन । मसँग म स्वयम् थिइनँ । मसँग केवल मेरो प्राण थियो ।
जे भए पनि नढाँटी भन्नुपर्छ । एक दिन मदारीको घरमा मरन्च्यासे बोको ल्याइयो । ऊ हामी दुबैलाई ठोसीठोसी खाना खुवाउँथ्यो । हामी दुबै बलिया भयौँ ।
स्वजाति सुन्दरी देख्ता मेरो मन मातिन्थ्यो । बोको पनि बाख्री भेट्दा मलाई बिर्सने भएको थियो । 
एक दिन मदारी भन्दै थियो; ‘बोकालाई मात चढेछ । खसी हुन जुरेछ ।’
नभन्दै एक दिन बेलुका मेरो साथी झोक्राएर बसेको पाएँ । कुरा बुझ्दै जाँदा उसले पुरानो चोला त्यागेर नयाँ धारण गरेको रहेछ ।
अब उसलाई ‘बोको’ नभनेर ‘खसी’ भनेको पाएँ । मेरो पनि त्यही हालत पार्ला कि भन्ने भयले केही दिनसम्म गला दाबिरह्यो । परन्तु म जस्तो थिएँ उस्तै रहेँ ।
मदारीले हामीलाई उसरी नै स्याहार्यो । मभन्दा साथी धेरै मोटायो । आफ्ना सन्ततिलाई झैँ दुःखबिराम हे¥यो ।
दशैँ आयो । मदारीले मेरो साथीलाई च्वाट्टै काट्यो । मलाई चाहिँ बाँकी छाड्यो ।
२०७८–०६–१६

७५. उत्तरकथा 

‘बेलाबेलामा साहित्यमा विविध प्रयोगहरू हुन्छन् । साहित्यको लागि समाज कच्चा पदार्थ भण्डारण गर्ने भरपर्दो थलो हो ।’ मैले बोल्दाबोल्दै उसले बीचमै बोल्न सुरु गर्दै भनेको थियो; ‘सबै कुराको प्रयोग गर्ने ठाउँ नै समाज भएको छ । अहिलेको समाजले कलुषित पक्ष खल्तीमा राख्ने र अमृतमय चिज लत्याउने गरेको छ । के यही हो प्रयोग ?’ ऊ साहित्यमा बामे सर्दै थियो । म भने अलिक अघि थिएँ । ऊ कानुनको विद्यार्थी भईकन साहित्यको रसिक पाठक थियो । अब लेखक पनि हुँदै थियो । म भाषासाहित्यको विद्यार्थी भईकन पनि उत्ति साह्रो लम्कन सकिरहेको थिइनँ । ऊ मेरा हरेक शब्द र वाक्य अनि भावलाई प्रश्नसूचक नेत्रले हेथ्र्यो । उसको मनमा जान्ने इच्छा प्रवल थियो । प्रश्नोत्तरबाट सिकिन्छ भन्ने ठान्थ्यो । ‘हरेक कुराका अँध्यारा र उज्याला पाटा हुन्छन् । उज्यालो पाटो छाडेर अँध्यारो पक्रे गन्तव्यमा पुगिन्न । नकार धारमा खडा मान्छे कहलिन सकिन्छ ।’ मेरो कुरा सुनेर ऊ हायलकायल भएको थियो । त्यही मौकामा मैले भनेको थिएँ; ‘अग्रजका कुरा पढेर त्यसपछिका कुरा आफ्नो समाजसापेक्ष अभिव्यक्त गर्ने कला कस्तो लाग्छ ?’ “समाजमा अनगिन्ती विषयवस्तु छन् । एउटालाई सर्लक्क टिपेर अक्षरमा रूपान्तरण गरे भइगयो नि ! किन लेखिसकेका र मृत घोषित प्रसङ्गलाई कोट्याएर बिउँझाउन खोज्नु ?“ उसको प्रश्नमा मेरो जवाफ थियो; ‘हो, बाँचेकालाई दीर्घ जीवन दिनु हाम्रो काम हो । मरिसकेकालाई पुनर्जीवित पार्नु महाकाम हो । कामले मात्रै नाम, दाम र इनाम कमाइन्न । त्यसका लागि महाकाम पनि गर्नुपर्छ ।’ मेरो कुरामा सहमत हुँदै उसले सोधेको थियो; ‘त्यो महाकामको नाम चाहिँ के हो ?’ जबाफमा मैले भनेको थिएँ; ‘आख्यान विधामा यसको प्रयोग हुन्छ । मरिसकेको कथावस्तु, पात्र, परिवेशलाई ज्यान भरेर जीवित पार्ने त्यस कामको नाम हो– उत्तरकथा ।’ 
२०७८–०६–०४ 

७६. शत्रुप्रेम– १  

‘केटी रै‘छेस् । प्राणदान भो । भागी हाल् ।’
विपक्षी बन्दुकधारीले भनेका कुरा सुनेर आश्चर्यमा परेकी थिएँ । दोहोरो भिडन्त थामिएको थियो । बमको आवाज र बारुदको गन्ध आउन बन्द भएको थियो । पाखाभरि विपक्षी बन्दुकधारी मात्रै थिए । मेरा माओवादी सहयोद्धाहरूको अत्तोपत्तो थिएन । म घाइते अवस्थामा मृत्युसँग जुध्दै थिएँ ।
हिँड्न खोजेँ । सकिनँ । छिटो भाग् भन्दै थियो । ऊ गम्भीर थियो ।
‘अहिले अरू साथी आए घाइते भन्दैनन् । तेरो सतित्व लुट्न सक्छन् । मरे छाड्दिन्छन् ।
बाँचिरहे गोली ठोकिदिन्छन् । भिडन्तमा मृत्यु भएको छापामार भेटियो भन्ने रिपोर्ट तयार
पार्छन् ।’
उसको कुराले मनमा आँधी चल्यो । विपक्षी बन्दुकधारीहरू घाइते र लास खोज्दै थिए । हिँड्न खोजेँ । घस्रेर अलिक अघि बढेँ । उनीहरूले नै प्रहार गरेको टुइन्च मोर्टारको छर्राले छिद्र बनाएको शरीर मरिकाटे घिस्याउन सकिनँ ।
‘चाँडो भाग् न भन्या । मेरो आँखासामु तेरो क्रन्दन सुन्न सक्तिनँ भन्या ।’
उसको कुरोले मन पग्ल्यो । अघि बढ्न न्वारानदेखिको बल झिकेँ । हार खाएँ । 
तत्कालै भनेकी थिएँ, ‘दाजु्, म अघि बढ्न सक्तिनँ । तागत हरायो । तिम्रा साथीले नभेट्तै मलाई तात्तातो गोली खुवाऊ । म तिम्रो ऋणी हुन्छु ।’
‘तेरो क्रन्दन सुन्न नसक्नेले तेरो मृत्यु कसरी हेर्न सक्छु । त्यो पनि आफ्नै हातले ।’
उसको कुरा सुनेर म मरेतुल्य भएकी थिएँ ।
‘उसो भए एउटा हतियार देऊ न त । म आफैँ काम तमाम गर्छु ।’
उसले टाउको हल्लाएर अस्वीकृत जनायो । 
मैले प्रश्न राखेँ, ‘मलाई किन जोगायौ ?’
मतिर हेर्दै उसले भनेको थियो, ‘तेरो साथीले मलाई र मेरा साथीले तँलाई बाँकी छाडेछन् भने अवश्य हाम्रो भेट हुने छ । त्यसैबेला सप्पै कुरा बताम्ला ।’

७७. शत्रुप्रेम–२  

‘ए, तिमीहरू त्यो पाटो खोज । म यो पाटो खोज्छु ।’
मतिर आइरहेका साथीहरूलाई उसले अन्यत्रै पठाएको थियो । र, आफूले म भएको पाटो खोज्ने जिम्मा लिएको थियो ।
अरू सिपाहीहरू पनि ‘एस सर’ भन्दै आदेश भुँइमा खस्न नपाईकन बाँचे÷मरेका सिपाहीहरू खोज्दै थिए । चारैतिरका हरिया स्याउलामा रगत लागेको थियो । ठाउँठाउँका झ्यासम्यास समेत रगत लत्पतिएको पोतारोजस्ता थिए । 
ऊ मेरो सम्मुखमा आयो । चिउँडो उचालेर मेरो लत्रिएको टाउको उठायो र हेरिरह्यो । म निकै भयभित भएकी थिएँ । उसले निर्दयी मन बनाउला र ममाथि खनिएला भन्ने अज्ञात भयले गाँज्न थाल्यो । अब मेरो शरीर भोग्ने भयो भन्ने लागेको थियो ।
‘ऊ, ऊ माओवादी’ भन्दै एउटा सिपाही हाम्फाल्दै मतिर आयो । ‘खै, काँ छ ? खै, काँ छ ?’ भन्दै अरू थुप्रैले उसैलाई पछ्याए ।
उसले हत्त न पत्त पानी भरिएको तुम्लेट र केही ट्याब्लेट मतिर फ्याकेर आफू भने सिपाहीहरूलाई छेक्न अघि बढ्यो ।
‘स्टोप, नन्सेन्स’ ऊ गर्जिएको थियो । सबै शान्त भएपछि अर्कै दिशातिर देखाउँदै भनेको थियो, ‘ऊ, ऊ उता गएछ । घाइते छ । निःशस्त्र छ । गोली नहान् पक्री, पक्री ।’

उसले इशारा गरेतिरै सबै दगुरेका थिए । ऊ समेत मलाई छाडेर अन्यत्रै लागेको थियो । म त्यहाँ निकैबेर तेर्सिरहेँ । उसले दिएको पानी पिएपछि केही त्राण आयो । शरीरबाट खुन बग्न बन्द भएको थियो ।  
उसले दिएको ओखती एउटा पेनकिलर थियो । अरू दुईटा के थियो, थाहा भएन । मर्न दिए पनि बाँच्न दिए पनि प्रेमले दिएको हो । यस्तै सोच्दै तीनओटै ओखती एकै पटक सुलुत्तै निलेँ र पेटभरि पानी पिएँ । 
झमझम निद्रा लाग्यो । कतिबेरसम्म निदाएँ । पत्तै भएन । बिउँझँदा त शरीरमा पीडा बन्द थियो । तागत भरिएर आएको थियो । 
अघिका सिपाहीहरूको चालचुल कतै थिएन । अज्ञातस्थलतिर पाइला चाल्नु थियो । मसँग अब केही थिएन । मात्रै उसैले दिएको बाँकी आधा दर्जन ट्याब्लेट थिए ।
 
००० 
२०७८–०६–०१ विश्वकर्मा पूजा ।

७८. शत्रुप्रेम–३ 

सकेर हैन वाध्यताले म कम्ब्याट ड्रेसमै जंगलबाट गाउँ पसेकी थिएँ । मान्छे त जंगली थिइनँ तर गाउँलेले जंगली नै ठानेर लखेट्न खोजे ।
‘हजुर, म घाइते छु । भोकी छु । लगाएको वस्त्र च्यातचुत छ । रगतले कटकटिएको छ । साथीहरूबाट बिछोडिएकी छु । मलाई शत्रुबाट जोगाएर सकुसल आफ्नो समूहमा जान दिनुस् ।’ हात जोड्दै मैले प्रार्थना गरेकी थिएँ ।
‘याँ माओवादीलाई पाले सेनाले हामीलाई नै भडखारामा फाल्दिन्छ । हामी तेरो करुण बोलीले पग्लनौँ । बाध्यताको साङ्लोले बेरिएका छौँ । तँ याँबाट गइहाल् त !’
त्यहाँ उपस्थित एक भलाद्मीको बोली सुनेर भित्रैबाट खुन उम्लेर आएको थियो । म निरीह भएर खडा थिएँ ।  एकएक गर्दै गाउँलेहरू आउँदै हेर्दै जान्थे । त्यहीँ ढुक्कले बसिराख्ने चाहिँ ८÷१० जना मात्र थिए ।
‘तँ घाइते रहिछस् । चाँडै मर्छेस् । बरू त्यो रागे भिरबाट हाम्फाल्दे, नानी । सबैले चयनको सास फेर्न पाउँछन् ।’ एउटी अधबैँसे महिलाले गहभरि आँसु पारेर भनेकी थिइन् ।
‘म भिरबाट हाम्फाल्न बन्दुक भिरेर जंगल पसेकी हैन आमा । बहुलाएर जंगल पस्न वाध्य भएकाहरूलाई गाँस, बास र कपास यही समाजमा दिलाउन हिँडेकी थिएँ । यद्यपि यस्तो हालतमा एक्लो परेँ । एक्लो वृहस्पती झुुटो भन्छन् तर म झुटो छुइनँ, आमा !’
मेरो जवाफ सिद्धिन नपाउँदै एक अधबैँसे दौडेर आए । बाहिर उभिएका मानिसका कानमा केके जाति भने । एकाएक सबै जनाको मलाई हेर्ने नजर बदलियो ।
अघि गइहाल भनेर लखेट्न तम्सने भलाद्मी समेत मेरो सामु नौनी भए । एकाएक गोहीका आँसु झार्दै भन्न थाले, ‘नानी, भित्रै बसौँ न । मनमा कुनै कसरमसर नलिनू है । विपत्मा परेकालाई सहयोग गर्नु हाम्रो सनातनी धर्म हो ।’
उनले नजिक उभिएकाहरूलाई अह्राउँदै थपेका थिए, ‘के हेर्छौ । चाँडो पानी ठीक पार । नयाँ लुगा ल्याइदेओ । दूध तताओ । नानीलाई भोजन गराओ । फटाफट काम गरिहाल ।’
सबै जुटेर क्षणभरमै काम तमाम गरेका थिए । मैले नुहाइधुवाइ सकेर अघाउँजेल तात्तातो खाना खाँदै सोच्न पुगेकी थिएँ, ‘अघि छिछिदुर्दुर् गर्ने गाउँले एकाएक कानेखुशी गर्दै किन मेरो सेवामा जुटेका ?’
००० 
२०७८–०६–०२

८९. शत्रुप्रेम–४  

‘त्यो केटी, महारानी हो र ! हामी सेवामा जुट्नू । कहिले सेनाको सेवा गर्नू त कहिले माओवादीको । कसैले निको मान्ने होइनन् हामीलाई । दाल पिँस्दा घुनझैँ पिसिनुपर्छ नै ।’
बाहिर ठिटोले गरेको गुनासो भित्र ढल्केर म सुनिरहेकी थिएँ । मनको पीडा कम भए पनि शरीरको पीडा बढ्दै थियो । पेनकिलरले केही घण्टा विसेक हुन्यो । पुनः उस्ताको उस्तै ।
नयाँ मान्छे बम्कन्थ्यो । अरूको इसारा र कानेखुशी सुनेपछि सूर्यको ताप पाएको हिउँझैँ विस्तारै पग्लन्थ्यो । म पीडाले छटपटाइरहेकी थिएँ । मेरो सेवामा तीन वटी नारी जुटेका थिए । उनीहरूले जतिसुकै चोचोमोचो गरे पनि पीडा कम भएको थिएन । काँडो बिझ्दा त शरीरमा छउँन्जेल खपिनसक्नु हुन्छ । त्यसमा मेरो शरीरमा त टुइन्च मोर्टारको छर्रा गडेको थियो । न बाँच्न दिन्थ्यो न त सजिलै मर्न नै । 
त्यस घरमा एक्कासी एक पुरुष र एक नारी आए । उनीहरूले डाक्टरी पोशाक पहिरेका थिए । सरासर म नजिक आए । 
‘हामी सहाराविहिनको प्राथमिक उपचार गर्दै हिँड्दै छौँ । तपैँको शरीरभरि छर्रा छ रे । हामी निकाल्दिन्छौँ । तपैँ घोप्टो पर्नुस् त ।’
नारी स्वर सुनियो । म केही बोलिनँ । उनीहरूले भने बमोजिम गरिदिएँ । कहाँकहाँ सुई हानेँ । कतिबेर लट्याए । केही थाहा पाइनँ । ती हाम्रा समूहका थिए कि सरकारी थिए ? वा कुनै निरपेक्ष स्वास्थ्य स्वयम्सेवक थिए ? वा त्यही ठिटो कमान्डरले खटाएको पो हो कि ? मनमा अनेक तर्कना आए ।
उठेर बसेँ । शरीर भरि व्यान्डेज थियो । एक झोला ओखती र पुर्जा थियो । मास्तिर ओखतीको नाम थियो । तल्तिर लेखेको थियो– हामी माथि शंका नगर्नू । दिएको औषधी नियमित खानू । थप सेवा चाहिए हामी आउँछौँ । वरपरका मान्छेलाई आफूलाई चाहिएको कुरा भन्नू । सबै कुरा पूरा हुन्छ । ढुक्कले आराम गर्नू ।
०००
२०७८–०६–०३

९०. शत्रुप्रेम–५ 

‘गाउँले दाजुभाइ, मलाई कसले सहयोग पु¥याउँदै छ ? यी थरीथरीका पोशाक र श्रृङ्गारका साधन कसले पठाउँदै छ, हँ ?’

एक एक गर्दै मेरो नाममा आएका समानहरू देखाउँदै मैले सोधेको प्रश्नको उत्तर दिनुको साटो सबैले टाउको निहु¥याएका थिए । मानौँ उनीहरू मेरो काम बिगारेका कारिन्दा हुन्, म हाकिम हुँ । निकैबेरको गलफती पछि पनि स्पष्ट जवाफ आएन । नयाँ कपडा मेरै सेवामा तैनाथ युवतीहरूलाई बाँडिदिएँ । 

घाइते छोरीलाई आमाले सेवा गरेजस्तो सेवा पाएको थिएँ । म आफ्नै घरमा छु जस्तो अनुभूत गरिरहेकी थिएँ । आफ्ना सहयात्री साथीहरूको धमिलो स्मृति मात्रै मनमा थियो । खालि मनमा उही ठिटो कमान्डरको गम्भीर मुहार मनमा नाच्न आउँथ्यो । 

आफू तन्दुरस्त भएको अनुभव हुँदै थियो । धेरै दिन बस्नु खतरा मोल्नु हो भन्ने सोचेर आफ्नो कम्ब्याट ड्रेस पोको पारी हिँड्न लागेकी थिएँ ।

‘म्याम, सबै सामान पठाएको र उपचारको व्यवस्था गरेको एक जना हाकिम सरले हो । बेलाबेलामा उहाँ यता आइरनुहुन्छ । हजुर्को खबर बुझिरनु हुन्छ । कुनै कमजोरी नरहोस् भनेर खबरदारी गरिरनुहुन्छ ।’ पुरुष आवाज सुनेर टक्क अडिएँ ।

‘हो, त्यै सरले तपैँलाई जङ्गलाँ बचाएको रे । नत्र अरू सिपाहीले अचार बनाम्थे रे ।’

स्त्री स्वर रोकिना साथ एक प्रौढ स्वर सुनिएको थियो, ‘तिन्ले नानीलाई पिरेम गर्छन् जस्तो छ । मयापिरेमले शत्रुलाई मित्रुमा बदल्ने तागत राख्छ रे । कतै सेना र माओबादी बीच यस्तै पिरेम भएर शान्ति आइदिए कस्तो काइदा हुन्थ्यो ।’
 
जवाफ फर्काउँदै मेरा पाइला अघि बढेका थिए, ‘मेरो मायाको सागर विशाल र गहिरो छ । म संसारलाई माया गर्न हिँडेकी हुँ । शत्रु पक्षको यत्ति धेरै मायाका लागि आभारी छु । मेरो पनि उत्तिकै गहिरो माया छ भनी सुनाइदिनू ।’ 

२०७८–०६–०४

९१. त्यही दुष्ट बाउले हो 

पारिवारिक गाँठाहरू फुकाउन मोबाइलमा ब्यस्त थिएँ । त्यसैबेला सुनेको वाक्यले अधकल्चो मनलाई अरू मरणासन्न पारेको छ ।
साउने झरी उघ्रेर घाम झुल्केको थियो । गाउँबाट पढ्न आउने आफन्तलाई आउन नदिन छोरीको कडा उर्दी थियो ममाथि । म पढ्ने मान्छेलाई वातावरण दिनु मेरो वाध्यता र समयको आवश्यकता हो भनी विवशता पोखिरहेको थिएँ । आमाछोरी पारिवारिक कुरामा फतफताउँदै सुसेधन्दामा लागेका थिए ।

त्यसैबेला आँगनमा भेटिएका पाँचवटा आँपका पात देखेर आमाले सोधेकी थिइन्; “रुखका पात टिपेर र यहाँ छरेर कसले काम बढाएको हो ?“

वास्तवमा सानो छोराको अनुनयलाई टार्न नसकेर अघिल्लो दिन मैले नै ती पात टिपेर दिएको थिएँ । खेलिसकेर पनि उसले ती पात आँगनमै छरेको रहेछ । ती कुरा अहिले आएर सम्झँदै छु ।

आफूले सोधेको प्रश्नको जवाफ नआएकोले आमाले प्रश्नको पुनरावृति गर्दै सोधेकी थिइन्;  “किन कोही नबोलेको ? लुतेले कि; बिर्नीले कि; पिचिरीले कि वा बाउ साहेबले हो ?“

यसै बैकल्पिक प्रश्नको उत्तरस्वरूप छोरीको मुखबाट फुत्केको उत्तररूपी नयाँ पुस्ताको उग्रताको वाणले उठ्नै नसक्ने गरी थलिन पुगेँ ।
+++
२०७८–०ं४–०३


९२. सेतो सिन्दूर 

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन्् । आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याँकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा सेतो धसेको छ ।

मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतु¥याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ । आमा उसलाई ‘हिरा’ नामले पुकार्दछिन्् । म मझौला कदको छु । ‘पराक्रमी’ नाम राखिदिएकी छिन्् । भाइ झन्डै म जत्रै र जस्तै छ । यद्यपि केही श्याम वर्णको छ । आमाले न्वारानमा उसको नाम ‘तमेष’ राखिदिएकी थिइन् ।

हामी एकै बेतका सन्तान हौँ रे । को पहिलो जन्म्यो र को पछि जन्म्यो, आमालाई पनि थाहा भएन रे । सुत्केरीको प्रशव पीडाले रन्थन्याउँदा उनी अर्धचेत अवस्थामा थिइन् रे । अग्लो–होचो भएका कारणले हामीहरू स्वयम्ले सामाजिक नाता सम्बन्ध तय गरेका हौ ।

एक पटक हामीहरू आमाकहाँ पुग्यौँ । आमाले सिउँदोमा अझै सेतो दलेको पायौँ र, तीनै जनाले एकै स्वरमा सोध्यौँ, “आमा ! सिउँदोमा के दलेको, किन मलिन मुहार बनाएको ?”

आमाले शिर उठाइन् । क्रोधले राताराता आँखा पारिन् । दाह्रा किटिन् । आमाको यस्तो प्रचण्ड रूप देखेर हामी डरले भाग्न पनि सकेनौँ । यथास्थितिमा रहन पनि सकेनौँ र, लम्पसार बनेर आमाकै पाउमा परिरह्यौँ ।

तत्कालै बात्सल्यप्रेमले आमा पग्लिहालिन् । हाम्रो शिरमा थप्थपाइन् र एकै पटक उठाइन् । हाम्रा गाला मुसारिन् । म्वाइ खाइन् । आमाको कोमल स्पर्शले हामी सबैलाई आनन्द विभोर बनाइन् ।

भनिन्– म नारी हुँ । सन्तानप्रति कोमल हुनु मेरो स्वभाव हो । रातो सिन्दूर विजयको प्रतीक हो । अझसम्म म विजयको सौभाग्यबाट बञ्चित रहेकी छु । सौभाग्यवती नारीले सिन्दूर लगाउनैपर्ने हुनाले सेतै लगाएकी छु । मेरो पराजयको मुख्य कारण तिमीहरूकै उच्छृङ्खल व्यवहार हो ।

९३. भण्डाफोर

“राधा ! तिम्रो उत्साह मरेकोमा म पिरलोमा परेकी छु । हप्ता दिनदेखिको तिम्रो निस्कृयताको कारण बुझ्न सक्छु ?“

अमृता मिसको प्रेमपूर्ण प्रश्नको मसँग तितो जवाफ थियो । प्रेमको स्वाद आनन्ददायक हुन्छ तर खेद मात्रै मसँग थियो । असत्य बोलेर उहाँको चित्त नबुझ्ने र सबैका सामु सत्य ओकल्न म नसक्ने भएपछि ढुंगो बन्दा कुरो टर्छ भनेर म चुपचाप बस्दी भएँ ।

उहाँले पटकपटक सोध्नुभयो । मैले आँखाभरि आँसु बनाएँ तर शब्द चुहाइन । साथीहरूको झक्झकाहटलाई पनि बेवास्ता भावले हेर्दी भएँ । सबै थाके र हारेर चुप लागे ।

घण्टी लाग्यो मिस बाहिरिनुभयो । मेले गहिरो श्वास फेर्नासाथ कार्यालय सहयोगीमार्फत मिसको कार्यकक्षमा पुर्याइएँ । मनमा ड्याङरो बजिरहेको थियो । आमाको माया नपाएकी मलाई उहाँले काखमा बसाएर आँसु पुछिदिँदा हिउँझैँ पग्लिहालेँ ।

एकान्तको त्यस माहोलमा हामी दुई नारी मात्रै थियौँ । म मन खोलेर बगाउन थालेँ । उहाँ अगस्ती बनेर श्रवण गर्न थाल्नुभयो ।

“मेरी आमाको मुहार मलाई थाहा छैन । दाजु विदेश पसेको तीन वर्ष भयो । म सत्र वर्षकी भएँ । तीन महिनादेखि पर सरेकी छैन ।“

मिस प्रश्नको झटारो हान्न तयार देखिनुभएथ्यो 
। त्यसलाई रोक्तै मैले थपेकी थिएँ, “दाजु गएदेखि बुबा रक्सी खाएर अर्धचेत अवस्थामा घर आउनुहुन्थ्यो । उहाँलाई समाल्न खोज्दा बेग्लै गन्ध महसुस हुन्थ्यो । म लठ्ठिन्थे र बेहोस हुन्थेँ । बिउँझिदा––––!“

बुझेको आभाष देखाउँदै मिसले नै मेरो मुख थुनिदिनुभएको थियो । र, भन्नुभएथ्यो, “रक्षकको भक्षण प्रवृतिको भण्डाफोर गर्नुपर्छ । होससहित अन्यायको विरोधी कित्तामा उभिनुपर्छ ।“


९४.  सपनाको खरानी
‘तँ छस् र म छु । तँबिना म आफ्नो अस्तित्व कल्पना गर्न सक्तिनँ । त्यसैले तँ मेरो भगवान् होस् ।’
मेरा कुरा सुनेर त्यसले भनेको थियो, ‘मलाई धेरै नफुक्र्या । म सिर्जना मात्र गर्दिनँ । सर्वनाश पनि गर्छु ।’
‘तेरो स्वभाव नचिनेर स्वघोषित विजेताहरूलाई मात्रै तँ खुत्रुक्कै पार्छस् नि.... ।’
उसले मेरो बोली नसकिँदै भनेको थियो, ‘हैन । अति गरिएमा गर्ने र हेर्ने सबै दोषी हुन्छन् । भगवान् र भक्त दुबैले सिरिखुरी गुमाउनुपर्छ ! मेरो विधानमा सबै समतुल्य छन् ।’
म आश्चर्य प्रकट गर्ने तरखरमा थिएँ । एक्कासी भाले बासेको आवाजले निद्रा भङ्ग भएको थियो ।
०००
रातभरि परेको पानी बिहानी पख थामियो । चारैतिर खुशियाली फैलियो । हलो–जुवा खेत पुगे । कतै गोरुले काम पाए भने कतै चाहिँ ट्याक्ट्रर ड्राइभरले सास फेर्न पाएनन् । खेतालाहरू खेत पुगे । दिनभर पसिना बगाए । साँझमा बनी लिए र आआफ्ना निवासमा फर्किए । मेरो खेतको रोपाईं समेत एकै दिनमा तुरियो ।
०००
अघिल्लो रातझैँ पानी दर्कियो । सुसाइरहेका नजिकैका नथुनी र सीताराम खोला सुसाउनै छाडेका थिए ।
सपनीमा पुनः ऊ आएर भन्यो, ‘देख्यौ डल्ली बा ! वन फाँडेर, प्राकृतिक स्रोत र साधनको अति दोहन गरेर र विकासको नाममा प्रकृतिको विनाश गरेर उत्पात मच्चाए पछि म प्रतिकूल परिस्थिति जन्माउन वाध्य भएँ ।’
गाउँमा एक्कासी मच्चिएको कोलाहलले म बिउँझेँ । अघिल्लो दिन रोपिसकेको खेततिर हेरेको त सीताराम र नथुनी दुबैको संगम थलो मेरै खेत बनेको रहेछ । पैह्रो गएर खोलाहरु थुनिएका रहेछन् । एक्कासी फुटेछन् । रोपाईंको ठाउँमा मेरा सपनाहरूको खरानी थुप्रिएको रहेछ ।
०००

९५. पुत्रमोह

’ए सुन त । मेरो छोरो मसँगै भयो । तिम्रो धनले केही नापेन । मेरो मातृत्वसामु तिम्रो बनावटी लाडप्यार घाँस खान वन पस्यो ।’

मोबाइलबाट पतिदेवलाई तर्साउँदै म गर्जेकी थिएँ । एक दशक उमेर पुगिसकेको छोरालाई काखमा बसाउँदै म घरबाट माइततिर हानिँदै थिएँ । ऊ नमानेर अर्कै सिटको झ्यालतिर बस्न गएको थियो । यात्रुबसमा मात्रै पाँच जना यात्रारत् थिए ।

मेरा कुराले उनी चुप थिए । वाक्य फुटेको थिएन । मात्र सुनिरहेका थिए । म मात्र एकोहोरो भनिरहेकी थिएँ–
–तिम्री स्वास्नी धन मात्र हो; सजीव नहोस् ।
–तिम्रो आँखाले पैसा मात्र चिनोस्; अर्थोक नचिनोस् ।
–तिमी धोक्राभरि धन कमाऊ र जीवनभर हेरिबस । धनप्रेमको अन्धोमनले मर्नुपर्छ भन्ने बोध कहिल्यै नआओस् ।

यसरी म सरापेर तड्पेको कलेजोलाई ठण्डा पार्दै थिएँ । उसले मलाई हैन अज्ञात रखौटीलाई अदृष्य धनचालक बनाएकोमा भित्रभित्रै जलिरहेको थिएँ । 

मैले गनगन गर्दा उसले भनेको थियो; ’तँ जीवनबाट हटिदे । मनमौजी पैसा लग ।’

त्यागपत्रमा सही गरिदिएबापत पचास हजार दिएको थियो । त्यही लिएर माइती गाउँको अधबैँसे विदुरसँग जोडा बाँधिन जाँदै थिएँ ।

धनको गरिव भए पनि मनको धनी थियो विदुर । छाक टार्न पनि उसले बनिबुतोमै भर पर्नुपर्थ्यो । जान्दाजान्दै म जीवनलाई अझ गम्भीर मोडतिर धकेल्दै थिएँ ।

’बाबाले सत्र हजार पर्ने साइकिल किन्दिने हुनुभा थ्यो । मलाई घरै पुर्याइदिनुस् । बरु साइकल पाएसी म हजुरसँगै बसूँला ।’

छोराका कुराले मलाई अझ गम्भीर बनायो । मेरो बात्सल्यप्रेममा प्रश्न चिन्ह लगायो । आफ्नो निर्धन जीवन सम्झेर  आँखामा आँसु आयो ।

मेरो मौनतालाई चिर्दै उसको बोली फुटेको थियो; ’मैले तपैँसितै बस्नुपर्छ भने रोजेकै साइकिल किन्दिनुस् ।’

२०७८–०६–२२

९६. लेनदेन बराबर


दिनभर डुलेर भिखारी लखतरान भई कुटीतिर फर्कदैथ्यो । बाटाको पसलबाट तरकारीको सुगन्ध आयो । उसले थैली छाम्यो । तीन वटा डलर मात्र रहेछ ।
भिखारीले भन्यो, “साहुजी ! मलाई चार रूपियाँको तरकारी दिनुस् न ।”
साहुको जवाफ थियो, “चार रूपियाँमा त तरकारीको नाम लिन पनि पाइन्न । किन्न त परै जाओस् ।”
भिखारी निरास भयो । झिनो आशाले विन्ती बिसायो, “थोरै झोल भए पनि दिनुस् न । मसँग चिउरा छ । त्यसैसँग खान्छु । भोक लागिरहेछ ।”
साहु रिसायो । धन नहुनेले खाने मनै गर्नु मूर्खता हो समेत भन्यो । 
भिखारी गहभरि आँसु बनाएर भित्तामा अडेस लागेर बस्यो । केही बेर पछि चिउरामा पानी छम्कियो । र, बासना लिदै तरकारीसँगै खाएको सम्झी कपाकप खायो ।
ऊ हात धुन कलतिर गएर आएपछि साहुले पैसा माग्यो । 
उसले भन्यो, “खानु न पिउनु, केको पैसा ?”
”बासनाको पैसा ! तरकारीको बासना लिँदै चिउरा खाएको हैन ? झट्टै तीन रुपियाँ तिर् ।” साहुले करकर गरी नै रह्यो ।
भिखारीलाई आपत प¥यो । “यस होटलको चलन हो– वासनाको पैसा लिने !” साहुले नछाड्ने छाँट देखायो ।
तमसा हेरिरहेका एक सज्जनले भिखारीको कानमा फुस्फुसाए । भिखारीेले प्रशन्न चित्त बनायो । र, साहुलाई पैसा तिर्न राजी भयो ।
उसले साहु नजिक एघारवटा डलर गनिदियो । साहुले  रुपियाँ लिन हात बढाए । तर, भिखारीले डलर आफ्नै थैलीमा हालेर हिँड्न खोज्यो । 
साहुले रोक्न खोज्दा सज्जन मान्छेले भने, “तपैं मासुको बासनाको पैसा लिने, ऊ डलरको आवाजको पैसा लिने ! लेनदेन बराबरी भएन त ?”
साहु ट्वाल्ल परेर हेरिरह्यो । भिखारी सरासरी आफ्नो कुटीतिर गइरह्यो ।

९७.  खेल

अमृत आठौँ कक्षाको मध्यम स्तरको विद्यार्थी भनी चिनिन्थ्यो । उसको घरबाट विद्यालय पुग्न ३ कोस हिँड्नुपथ्र्यो । बाटामा पर्ने बालीनालीका हरिया फाँट नियाल्न पाउँदा मख्ख पथ्र्यो । हिँड्दा एक्लै प¥यो भने छेउका बिरूवाका पातलाई ओल्टाईपल्टाई गथ्र्यो । किसानहरूले मौसमपिच्छे फरकफरक बाली लगाउँथे । बाली सपार्न र उत्पादन बढाउन प्रयोग भएका थरीथरीका खादमलहरूको एक–एक नालीबेली डाइरीमा टिपेर राख्थ्यो ।  
उसको कक्षामा शिक्षकले प्राङ्गारिक र रासायनिक मलको बारेमा पढाए । उसले सधैँ देख्ने गरेको बालीनालीमा अत्यधिक रासायनिक मलको प्रयोग गरिएको फेला पा¥यो । फसलसँगसँगै विषादी पनि फलिरहेको अनुभव ग¥यो । माटो पनि प्रदूषित भएर उर्बराशक्ति गुमाइरहेको कुरा बुझ्न पायो । 
अब उसलाई बाटाको वरिपरि लहलह झुलेका फसलले मन बिझाउन थाल्यो । ती बोटबिरुवालाई छुनुपर्दा झुसिल्किरा छोएजस्तो हुन थाल्यो । मन्दविषकै प्रभावले छिमेकमा लङ्गडो बच्चा जन्मेको ठहरायो । जापानको हिरोसिमा र नाकासाकी आफ्नै गाउँघर हुन पुगेको आभाषले चिन्तित भयो । 
“तपैँहरूले मन्दबिष किन छर्नु भएको ?” खाद छर्कंदै गरेको किसान दाइसँग प्रश्न राख्यो, “यसले केही वर्ष उत्पादन बढाउला तर नातिपनातिका पालामा पुर्खौली खेतबारी नै रेगिस्थान बनाउँछ । तपैँ हाम्रो आयु घटाउँदै लान्छ, रोगव्याधि फैलन सहयोग पु¥याउँछ । कुरा बुझ्नुस् । प्राङ्गारिक मलको प्रयोग गर्नुस् ।”
“बाबु, हामीलाई यस्ता कुरा थाहा पाउन पचास वर्ष लाग्यो । तिमीले कसरी थाहा पायौ ?” कृषक टक्क अडिए, “यस्तो मल प्रयोग नगरे उत्पादन नै हुन्न, प्रयोग गरे हानी नै हानी ! के गर्नु ? छेउछाउका सबैले गरेपछि आफूले नगरे बाली उठाउनै जानुपर्दैन । त्यसैले बुझेर पनि बुझ पचाउन वाध्य छौँ ।” 
“जङ्गल छेउमा बसेका छौँ । गाईभैँसी पालेका छौँ । गोबर मल प्रशस्त छ, सोत्तर कुहाए मलैमलको डङ्गुर हुन्छ ।” अमृतले थप्यो, “हामी कोही अबुझ छैनौँ, बढी बुझ्ने हुँदा चाँ–चाँडो र धेरै परिणामको फल खोज्छौँ । फलतः अरूलाई पनि मार्छौं, आफू पनि मर्छौं ।”

९८. जस–अपजस

कक्षाबाट बाहिरिँनै लाग्दा नेपाली गुरुले कक्षा ११ का विद्यार्थीलाई सिर्जनात्मक कार्यअन्तर्गत कथा लेखेर ल्याउन गृहकार्य दिएका थिए । दिमाखले भन्दा हृदयले लेखेको सिर्जना चिरकालपर्यन्त जीवन्त रहन्छ भनेर सुझाव पनि दिएका थिए । नरेश मनमा कथाको बनोट र बुनोट बारे कुरा खेलाउँदै घर आइपुग्यो । भोलिपल्ट शनिबार लेख्छु भनेर थन्कायो ।
अरू विषयको गृहकार्य गर्दागर्दै शनिबारको बिहान सकियो । खाना खाएपश्चात् आमाले लेखपढ गर्दै विस्कुन जोगाउन अह्राएर हातमा लाठी थम्याइन् र डोको बोकेर घाँस काट्न हिँडिन् । नरेशका अगाडि बिस्कुन फिँजिएको थियो । परेवाहरू बस्न खोज्थे, लाठीको ट्याक्ट्याक आवाजले तुरुन्तै उड्थे । 
केही बेरमै नरेशको आफूले लेख्न खोजेको लघुकथाका अनिवार्य तत्त्वहरू मनमा गुन्यो– प्रथमतः कथामा सार्थक उठान गर्ने, सङ्घर्ष आरम्भ गर्ने, सङ्घर्षको चरम सीमामा पुग्ने, संघर्षको विस्तारै ह्रास गर्ने र अर्थपूर्ण तवरले कथाको अन्त्य गरी पाठकको मनलाई झङ्कृत गर्ने । सोही अनुसार कथानक, पात्र, द्वन्द्व, परिवेश, भाषाशैलीलाई यथोचित ख्याल गर्दै उसले कथा लेखेर सिद्धयायो ।
उज्यालो अनुहार लगाएर मुन्टो उठाएको नरेशको अनुहार तुरुन्तै मलिन भयो । गाउँभरिकै परेवाहरू धुइरेर एक डालो बिस्कुन सखाप पारेको देखेर आमाको खबरदारीको याद आयो । मनमा ढ्याङ्ग्रो बज्न थाल्यो । उड्दै गरेका ती परेवा पक्रेर काँचै चवाउने मन भयो । काम बिग्रेको देख्नासाथ सुझबुझ हराएर एक डोको हकारपकार बर्साउने आमाको बानीलाई धिकार्न मन लाग्यो । आफैँ उभिएको धर्ती नै फनफनी घुमिरहेको भान भयो । टन्टलापुर घामले पनि उसैलाई जिस्क्याइरहेको आभाष भयो ।
आफूले लेखेको कथा हे¥यो मन प्रफुल्ल भयो । चारैतिर छरपष्ट भएको बिस्कुन हे¥यो, मनमा त्रासले गाँज्न थाल्यो ।  

९९.  नाकाबन्दी

‘विश्वास गर्नुस् बाजे, मबाट हजुरबाजस्ता मान्छेको अन्तस्करण चिमोट्ने काम कदापि हुन्न ।’ वृद्ध नबोले पछि राजदेव एक्लै बोल्दै गयो, ‘नबोले नबोल्नुस् तपाईंको इच्छा हो तर आश देखाएर नछक्याउनुस् । पहिलेका मान्छेले अहिलेका मान्छेलाई विश्वास नगर्दा समस्या बढ्दो छ । आफ्नो जिद्दीमा अडिरहेकाले समाजमा परिवर्तन ढोका थुनिएको छ । आफ्नो मात्रै मनोकांक्षाकोे कदर गराउन खोज्दा दिनानुदिन समाज पनि एकलकाँटे बन्दै छ ।’
‘मेरी सरिता पाँच वर्ष अघि मरी । विचरीले मसँग बिहे गरेर कुकुरले नपाएको दुःख भोगी । बाँचुञ्जेल गधाझैँ जोतिई । भेटेका दिन पेटभरि खाई । नभेटेको बेला पानी मात्र पिएर सुती । कहिल्यै कुनै गुनासो गरिन । मसँग बिहे गरेर जीवनमै भूल गरेँ भनेर कहिल्यै पछुताइन् ।’ वृद्धलाई छोएछ क्यार विस्तारैविस्तारै खुल्दै गए, ‘ऊ समाजसँग कठोर थिई । जुझारु प्रवृतिकी थिई । कसैको धाक र धम्कीले गल्दिनथी । समाजले घर वरपर बाँसले बारिदिँदा पनि झुकिन । सयौँको सङ्ख्यामा गाईमाल ल्याएर दलान टेकाइदिँदा पनि यो ठाउँ छाडिन । अज्ञात मानिसहरू आएर घर जलाउन खोज्दा खुकुरी लिएर छोपी । कहिल्यै डरले खुट्टा कपाइनँ । बरू आँसु पिएर बाँची तर एक घैला पानी देऊ न भनेर कसैकहाँ हात फैलाइन ।’
बोल्दाबोल्दै वृद्धले गहभरि आँसु पारे । राजदेवले वास्तविक कुरा जान्न चाह्यो । वृद्ध धाराप्रवाहरूपमा भट्याउँदै गए, ‘हामीले अन्तरजातिय विवाह ग¥यौँ भनेर हाम्रै आँगनमा समाजको बैठक बस्यो । दण्डस्वरूप हामीले समाजभित्रका सबै जातजातिलाई प्रगाना भोज खुवाउनुपर्ने भयो । त्यत्तिले पनि नपुगेर समाजलाई सत्र हजार नगद दण्ड तिर्नु पर्ने भयो ।’
वृद्ध रातापिरा भए तर बोल्न छाडेनन्, मैले भनेँ– म वाध्यताको भोज खुवाएर समाजमा कुसंस्कृतिलाई मलजल गर्न चाहन्नँ । अशोभनीय आर्थिक दण्ड तिरेर भावी पिँढीको गद्दार बन्न सक्तिनँ । बरू शारीरिक श्रम गर्ने खालको दण्ड दिनुस् । बाटो खन्न, चौतारो बनाउन वा त्यस्तै प्रकृतिका सार्वजनिक काममा दलाउनुस् । बरू त्यस्ता काममा निःशुल्क खट्न तयार छु तर आफ्नो अन्तस्करणलाई लात हानेर अराजक नीति सामु घुँडा टेक्न राजी छैन । 

१००. कालो सिन्दूर

करिब अढाई शताब्दी वसन्त पचाएकी हाम्री आमा अचेल गुजधम्म परेर अग्लो आसनमा बसेकी छन्् ।  आफ्ना तीन कोटी सन्तानका हरेक क्रियाकलापमा नजर फ्याकिरहेकी छिन् । निधार खाली छ तर सिउँदोमा कालो पोतेको छ ।
मुख्यतः आमाका हामी तीन जना प्रतिनिधिमूलक सन्तान छौँ । ज्ञान–विज्ञान, सुझबुझ र समझ मात्र नभएर चतु¥याइँमा पनि अरूहरूभन्दा हामीहरू नै अघि छौँ । दाजु गोरो छ, अग्लो छ । आमा उसलाई ‘हिरा’ नामले पुकार्दछिन्् । म मझौला कदको छु । ‘पराक्रमी’ नाम राखिदिएकी छिन्् । भाइ झन्डै म जत्रै र जस्तै छ । यद्यपि केही श्याम वर्णको छ । आमाले न्वारानमा उसको नाम ‘तमेष’ राखिदिएकी थिइन् । 
हामी एकै बेतका सन्तान हौँ रे । को पहिलो जन्म्यो र को पछि जन्म्यो, आमालाई पनि थाहा भएन रे । सुत्केरीको प्रशव पीडाले रन्थन्याउँदा उनी अर्धचेत अवस्थामा थिइन् रे । अग्लो–होचो भएका कारणले हामीहरू स्वयम्ले सामाजिक नाता सम्बन्ध तय गरेका हौ ।
एक पटक हामीहरू आमाकहाँ पुग्यौँ । आमाले सिउँदोमा अझै कालो दलेको पायौँ । र, तीनै जनाले एकै स्वरमा सोध्यौँ, “आमा ! सिउँदोमा के दलेको, किन मलिन मुहार बनाएको ?”
आमाले शिर उठाइन् । क्रोधले राताराता आँखा पारिन् । दाह्रा किटिन् । आमाको यस्तो प्रचण्ड रूप देखेर हामी डरले भाग्न पनि सकेनौँ । यथास्थितिमा रहन पनि सकेनौँ । र, लम्पसार बनेर आमाकै पाउमा परिरह्यौँ । 
तत्कालै बात्सल्यप्रेमले आमा पग्लिहालिन् । हाम्रो शिरका थप्थपाइन् र एकै पटक उठाइन् । हाम्रा गाला मुसारिन् । म्वाइ खाइन् । आमाको कोमल स्पर्शले हामी सबैलाई आनन्द विभोर बनाइन् ।
भनिन्– म नारी हुँ । सन्तानप्रति कोमल हुनु मेरो स्वभाव हो । रातो सिन्दूर विजयको प्रतीक हो । अझसम्म म विजयको सौभाग्यबाट बञ्चित रहेकी छु । सौभाग्यवती नारीले सिन्दूर लगाउनै पर्ने हुनाले कालै लगाएकी छु । मेरो पराजयको मुख्य कारण तिमीहरूकै उछृङ्खल ब्यवहार हो ।
हामी भने छक्क परेर मुखामुख गर्नमै ब्यस्त भयौँ । आमाका हात हाम्रा कानसम्म आइपुगेपश्चात् भने मुख खोल्यौँ, “आमा ! हामी सुध्रे हजुरको मुहार र सिउँदोको कलङ्कको टीको सुध्रन्छ ? हजुरको विजय हुन्छ ?”
जवाफमा आमा  मुस्कुराइन् र टाउको हल्लाएर सकारात्मक संकेत दिइन् ।


१०१. उघ्रेको ढोका

“पत्रकार बाबु ! तिमी म बुढीलाई के सोध्छौ ? उहिल्यैका कुरा खुइले, अहिलेका मान्छेका लागि मेरा कुराले के स्वाद दिन्छ, र ?” रञ्जनाले थपिन्, “बेक्कारमा मन खोल्न लाउछौ । मेरा जवानीका दुःख सुनेर के गर्छौ ?”
वीरबहादुर अवाक् भए । केहीबेर उनी वाणीविहिन नै भए । त्यही मौकामा चौका हान्दै रञ्जनाको स्वर गुञ्जियो, “मेरा सानातिना प्रश्नको जवाफ पनि दिन नसक्नेले अर्काका मनका कुरा कसरी थुत्न सक्छौ ? कि आफ्ना मनगढन्ते कुरा पस्केर पाठकहरूलाई थाङ्नामै सुताउँछौ, पत्रकार महोदय !”
उनले शरीर मर्काए । टाउको बटारे । हात झड्कारे । र, ठूल्ठूला आँखा पार्दै अलिक उच्च स्वरमा भने, “रञ्जनाजी ! राजनीतिमा लागेका मान्छे सत्तरी नाध्दा पनि तरुनो नै हुन्छ । अझ तपाईं त आधा शताब्दीपूर्व नै जनवादी विवाह गर्ने नारी हो । त्यसमा पनि राईकी छोरी भएर भट्टराई बाहुनसँग अन्तरजातीय विवाह गर्ने मान्छे हो । त्यत्ति मात्र नभई आफूले बैँकमा जागिर गर्दै भूमिगत क्रान्ति गर्ने श्रीमान्लाई सघाउने पर्दाभित्रकी क्रान्तिकारी हो । अब भन्नुस्, तपाईंको वैयक्तिक अनुभव पाठकलाई स्वादिलो खुराक किन सावित हुँदैन ?” 
केहीबेर रञ्जना किंकर्तव्यविमूढको अवस्थामा पुग्छिन् ।वीरबहादुर बोल्न उक्साइरहन्छन् । उनी अघि सर्दै भट्याउन थालिन्, “म आमाबुबाको काखमै रहेर कलेज धाउँदै थिएँ । जागिरको लागि जाँच पनि दिँदै थिएँ । विद्यार्थी राजनीतिमा पनि दख्खल राख्तै थिएँ । सहकर्मी साथीसँंगीहरूले जोडी भेट्टाइसकेका थिए । उमेर छिप्पिँदै गए पनि म भने बिहे नगर्ने अडानमा थिएँ । किनभने मेरा आँखामा मिल्दो जोडी कोही थिएन ।” 
“१४ वर्ष जेलनेल खेपेर भर्खरै एउटा क्रान्तिकारी बाहिरियो भन्ने सुनेँ । क्रान्तिकारी भन्नासाथ हुरुक्कै हुन्थेँ । त्यसै सिलसिलामा उहाँसँग पार्टीले नै बिहे गराइदियो ।” उनले अझ प्रष्ट्याउँदै भनिन्, “राई र भट्टराई उस्तै, उस्तै लाग्यो । समाजले पचाउला भन्थेँे तर पचाएन । समाजको आवश्यकता दुःखमा पर्छ । हामी दुःखी थिएनौँ । म जागिरे, उहाँ भूमिगत राजनीतिज्ञ, जीवन चलाउन गाह्रो भएन ।”
“नारी स्वावलम्बी बने परिवर्तनको ढोका स्वतः उघ्रन्छ, कहिल्यै बन्द हुँदैन ।“ वीरबहादुरले उठ्दै भने ।  

१०२. भन्डारा
म एक कुनामा उभिएर वरपरको दृष्य अवलोकन गर्दै थिएँ । नजिकै भोज स्थल थियो । सबै खुशीसाथ भोजमा सामेल थिए । त्यत्तिकैमा मेरो कानमा बालरुवाइ ठोक्किन आइपुग्यो । रुनेचाहिँ को रहेछ र किन रोइरहेछ भनेर म यताउती फर्केर हेर्न थालेँ । 
नजिकैको डगरको पश्चिमी  किनारामा एउटा परालको झुप्रो ठडिएको थियो । एक कुनामा जुत्ता–चप्पलको बोरा तेर्सिएको थियो । जुत्ता–चप्पल मर्मत गर्ने सामानहरू जताततै असरल्ल थिए । आँगनमा एक अधवैंसे घोसे मुन्टो लगाएर बसेका थिए । उनको हातको चोर औँला समाएर एक बालक रुँदै आफूलाई पनि भोजमा सामेल गर्न भन्दै थियो, ‘बाबु गो, हमहुँ भोजमे जल्दी ल’चल्नँ ।’
अधवैंसे बच्चालाई फकाउने प्रयास गरिरहेका थिए । उनले कुर्थाको गोजीबाट चकलेट निकालेर हातमा राखिदिए र भोज आफ्नो नभएकोले जिद्दी नगर्न भने, “बौबा, जिद नही कर । हमर तोहर भोज नही छिए । दोससभके भोज छिए ।”
चकलेट मुखमा छँउजेल बालक चुप रह्यो । चवाइसकेपछि फेरि जिद्दी गर्न थाल्यो । अधवँैसेलाई सकस प¥यो । उनी बच्चालाई सम्झाउन सकिरहेका थिएनन् । बच्चामाथि हात उठाउन पनि सकिरहेका थिएनन् । सायद बच्चाको मनलाई अझ रूवाउन चाहँदैनथे । त्यसैले माथि केही घुसारेको छ कि भनी छानो नियाले । घामजून सबै देखिए । आफ्नो दरिद्रता र निरीहता सम्झेर उनले दुःख मानिरहे ।
पछि मैले थाहा पाएँ, त्यो त धार्मिक र सम्भ्रान्त वर्गका मान्छेहरूको लागि भन्डारा रहेछ । तल्ला जातका मान्छेका लागि प्रवेश नै निषेध रहेछ । 
१०३. आतङ्क


एक पटक म वजारबाट घर फर्कंदै थिएँ । सूर्य पहेँला भइसकेका थिए । मेरो घर पुग्न जङ्गल छिचोल्नुपथ्र्यो । जङ्गलमा जङ्गली हात्तीको बिगबिगी थियो । हप्ता दिन अघि मात्रै आफ्नो झुपडीमा सुतिरहेको अवस्थामा कामी दाइ–भाउजूको लीला क्षणभरमै स्वाहा पारिदिएको थियो । 
 उज्यालाको अस्तित्व हराएर अँध्याराको राज चल्दै थियो । अघि पाइला सारे घनघोर जङ्गलमा फँसिने निश्चित थियो । नजिकै एक झुपडी खडा थियो । मेरै स्वागतका लागि हातमा फूलमाला लिएर उभिरहेझैँ लाग्यो । अनायास मेरा गोडाहरू त्यतै लम्कँदै गए ।
“बास पाइन्छ, घरबेटी बा ?” घरभित्र मान्छेको चालचुल सुनेर भन्न थालेँ, “म नजिकैको बटुवा हुँ । हात्तीको डरले शरण माग्न बाध्य भएँ । रात गुजार्न एउटा गुन्द्री भए पाऊँ । ज्यान रहे हज्जार उपाय निस्केलान् । खानपिनको व्यवस्था गर्नै पर्दैन । मसँग नै टन्नै छ ।”
भित्रबाट कोही पनि बाहिर निस्केन । म गुन्द्री दिन भन्दै गएँ । भित्रको छिपछिपे उज्यालो पनि निभ्यो । सासैले खाससुस बोलेको झलक मिल्थ्यो तर मरिकाट्टे बोली बुझिँदैनथ्यो । बोलाउँदा बोलाउँदा मेरो घोक्रो नै सुक्यो तर भित्रका मान्छेको बोली फुटेन ।
दलानमै परालका गुन्द्रीहरू ठड्याएका रहेछन् । एउटा ओछ्याएँ । झोलालाई सिरानी बनाएँ । तौलीले मुख छोपेँ र निदाउने प्रयत्न गर्न थालेँ । मनमा आँधी चलिरहेको थियो । निद्रा लाग्नुको साटो नानाभाँती कुराहरू आउँदै जाँदै गर्न थाले ।
“बाजे, अघि मैले सोधेको प्रश्नले जवाफ पाएन त ! तपाईंहरू अनगिन्ती पीर–व्यथा च्यापेर बसिरहनु भएजस्तै लाग्यो । केही त बोल्नुस् । मन खोल्दा पनि मन हलुको हुन्छ ।” अँध्यारामा वाण छाड्दै मैले भनेँ, “मनमा कुरा पकाइरहे, आफैँलाई समाल्न गाह्रो हुन्छ । म त यहीँ दलानलाई स्वर्ग ठानेर रात गुजारेर विहानै हिँड्छु । कम्तीमा तपाईंहरू दुई बचन त बोलिदिनुस् ।”
ढुङ्गो बोल्ला तर कोही बोलेनन् । केहीबेर एक्लै भुत्भुताएँ । मन अमिलो बनाएर कुरा खेलाउँदा खेलाउँदै कत्तिखेर आँखा लागे पत्तो पाइनँ । विहान सूर्यको प्रकाशले शरीरलाई छोएपछि मात्र ब्युझिएँ ।  
विहान रहस्य खुल्यो, हप्ता दिन अघि मातेका मान्छे आएर जाँड खाने पैसा दे भनेर बूढाबूढीलाई लुटेका रहेछन् ।


१०४. आधा संसार

नौ माससम्म पेटमा कुप्रिएर बसेँ । आमाले जे खाइन्, त्यही मैले पाएँ । रातोदिन काममा जोतिँदा, मैले पनि गाह्रोसाह्रो अनुभूत गरेँ । चुरोट–बिँडीको धुँवाले भित्रभित्रै निस्सासिएँ । आमा हाँस्दा, मुस्कुराई दिएँ, रूँदा अनुहार बिगारेँ । उमङ्गले फुरुङ्ग हुँदा, बेस्कन छाती ठूलो पारेँ । निराश अनुहार लगाएर पश्चाताप जल्दा भने त्यही मन खुम्च्याएर सानो पारेँ ।
आमा निदाउँदा म पनि निदाएँ । आमा जाग्दा, चनाखो भएर तमसा हेर्दो भएँ । अझ चुपचाप लागेका बेला म अक्रिय ध्यानमा सक्रिय हुँदो भएँ । आमाले खाँदा खाएँ, भोकै बस्दा उपवास बसेँ । यत्ति विघ्न कष्ट सहेर वात्सल्य प्रेमको स्वाद चखाउने आमालाई जन्मने वित्तिक्कै परिचयहिन पारेँ ।
र, सोधेँ– आमा ! मेरो बाउ को हो ?  म कसको हाँगाबिँगा हुँ ? मेरो काम र धाम के हो ? मैले कसरी तिम्रो समाजमा समायोजित हुनू ? समग्रमा आमा, म को हुँ ?
मेरा प्रश्नका घोचाहरूले उनी सकसमा परिन् वा परिनन् तर कुरा लुकाएर चलाखीसाथ भनिदिइन्– तेरो बाउ विष्णुप्रसाद आचार्य हो । तँ आचार्य खलकको हाँगाबिँगा होस् । यो समाज मेरो होइन, तेरै बाउको हो । जसरी म समाजमा समायोजित हुन कोसिस गर्दै छु, त्यसरी नै तँ पनि समाजसँग जुध्नुपर्छ । मलाई अविश्वासको नजरले हेरे पनि  तँलाई अंगालो हाल्न समाज आतुर छ । बाबु, आफूले आफैँलाई चिन्न र चिनाउन सक्नुपर्छ । हामी त सहयोगी मात्रै हाँै, आफूलाई चिन्न र जान्न आफ्नै जीवनसँग सङ्घर्ष गर्दै जा, एकदिन अवश्य तत्त्ववोध गर्न पाउने छस् ।
धेरै पछि चाल पाएँ– मेरी आमा रहिछन्, खोटाङ, मुलाबारीका लम्सालकी छोरी । त्यत्तिखेर उनको नाम रहेछ, भगवती लम्साल ! म जन्मनासाथ उनको परिचय मेटिएछ । र, उनी बनिछन्– भगवती आचार्य ! मेरा बाबुको परिचय र पहिचानसँग उनको फुटेको कौडीको पनि नातो रहेनछ । उनले आफ्नो समाज र संस्कार सबै एकै साथ छाडेकी रहिछन् । र, उनले नै जन्माएका हामी सन्तानलाई समेत आफू रहेको र बाँचेको समाज र संस्कारमा रहन र समाहित हुन कर गर्दिरहिछन् ।  
उनलाई त्यसैमा सन्तोष रहेछ । उनकी आमा, हजुरआमाहरूले मात्रै नभएर वरपर देखेका, जानेका र सुनेका नारीहरू एकै किसिमले जन्मघर र संस्कारबाट टाढिँदै आएका रहेछन् । सबैले मानिल्याएको कुरो मान्नै प¥यो भनी प्रश्नविहिन बनेर समाजले देखाएको बाटोमा उनी पनि हिँडेकी रहिछन् ।  

१०५. साँचो समानता
बीस वर्ष अघिको स्मृति मेरा दिमाखमा नाचिरहेको छ । त्यसबेला मेरो कोठामा जेठी छोरीको जन्मदिनको अवसरमा सानो जमघट थियो । मुख्य पाहुनाको रूपमा स्कुल र कलेजका शिक्षकहरू उपस्थित थिए ।
‘बंशाणुगत गुणले मान्छेको आनिबानी र बौद्धिक क्षमता विकसित हुन्छ कि अन्य कुराले प्रभाव पार्छ ?’ भन्ने विषयमा अनौपचारिक कुराकानी हुन थाल्यो । सुन्नेहरू टोहोलाइरहे, बोल्नेहरू एकोहोरो बोल्दै गए । 
पहिलो विषयमा तर्क दिनेहरू भन्दै थिए, “आमाबाबुको अबुझताले बच्चाहरूको क्षमता नष्ट भइरहेको छ । उनीहरूको रगतमा बौद्धिकता मिसिएको भए पो बच्चाहरूमा संस्कार सथ्र्यो ।” विपक्षीको तर्क थियो, “यस विषयमा भन्नै पर्दा जन्म दिए, आमाबाबुको काम सिद्धियो । बच्चालाई कस्तो बनाउने हो, त्यो उनीहरूले पाउने वातावरण र अवसर हो । त्यो दिलाउने काम उनीहरूको मात्रै नभई समाजको हो ।”
“तल्ला जातका मान्छे तलै रहेको त्यसै होइन । जति अघि बढाए पनि कुनै न कुनै रूपमा पछि नै सर्छन् । अवसर दिए दुरुपयोग गर्ने, नदिए दिएनन् भन्ने उनीहरूको काइदा आलोचनाको भागिदार छ ।” 
“समाजवाद उन्मुख राष्ट्रको नागरिक भएर यस्ता होच्याउने र अहङ्कार लाद्ने कुरा गर्न सुहाउन्न । वैज्ञानिक युगका गुरु भएर अद्योगतिका कुरा गर्न मिल्दैन । साँच्चै भन्नुपर्दा हामी मान्छेले बच्चालाई जे बनाउन चाहन्छौँ, त्यही बनाउन सक्छौँ ।”
तर्कबितर्कको लामै श्रृङ्खला तयार हुँदै गयो । पाहुनाहरू पक्ष र विपक्षमा बाँडिए । मैले पनि एक पक्षमा नउभिई भएन । कर लगाइरहँदा एक्कासी बोल्न पुगेँछु, “हाम्रो गाउँको बौका मरिकका पाँच सन्तान मध्ये एउटालाई पनि सपारेर हाम्रा बच्चाजस्ता बनाउनेलाई म आफ्नो अंश नै पास गरिदिने थिएँ ।”
हत्त न पत्त दिनेश सर अघि सरे, “लु, म अघि बढ्ने भएँ । सिर्फ एक सन्तान दिलाइदिनुस् र दश वर्ष समय दिनुस् । म नतिजा हातमा दिन्छु ।”
सकारात्मक नतिजा नदिए उल्टै अंश दिनुपर्ने कागजपत्र भयो । मरिककहाँ पुगियो । जति सम्झाउँदा पनि उसले कुनै छोराहरू दिएन । हामी आपतमा प¥यौँ । सुँगुर चराएर खोरतिर पसाउँदै गरेकीे विवाह गर्ने उमेर पुगेकी छोरी देखा परी ।
दिनेश सरले त उसैलाई मागे । म तीन छक्क परेँ । मरिकले पनि ङिच्च दाँत देखाउँदै भन्यो, “बिहे गर्नुहुन्छ भने दिन्छु ।” दिनेश सरले माने र एक घण्टाभित्रै बिहे गरेर कोठामा ल्याए । 
म लाटाले पापा हेरेझैँ हेरेको हे¥यै भएँ । 
उनी तुरुन्तै सरुवा भएर पूर्वी पहाडतिर गए । दश वर्षपछि अंगालाभरिको छोरो लिएर फर्के । साथमा एक शुशिल नारी पनि थिइन् । मैले शिक्षण पेशाबाट अवकास पाइसकेको थिएँ । घर ब्यवहार समाल्दै सानोतिनो पसल थापेर गाउँमै बसेको थिएँ ।
सर्तबमोजिम मैले हारेँ र मन अँध्यारो बनाउँदै अंश पास गर्दिन खोजेँ । उनले मानेनन् र भने, “मैले जितेको स्विकार्नुभयो । त्यो नै मेरो पुरस्कार हो । अब धन लिएर म तपाईंलाई कमण्डलु बोकाउन चाहन्न ।”
फेरि एक पटक म लाटो बनेँ । उनी थप्दै गए, “तपाईंका कारणले मैले जीवनमा ठूलो पाठ पढेँ । जोखिम नमोल्ने हो भने समाजले कहिल्यै काँचुली नफेर्ने रहेछ । अघि बढेकाहरूको मनमा मानविय धर्मले बास गरे कुनै बौका मरिकहरूले लाटो भएर रहनु नपर्ने रहेछ ।”
२०७५।१२।०६


१०६  बा

‘यस सतहत्तरे सालको असोज ७ गते नै मलाई टुहुरो हुन जुरेको रहेछ ।’
अर्कातिर मुन्टो फर्काएर बाले मन खोल्नुभएको थियो हामी तीन भाइसँग । बाका कुरा दाजु र भाइले सामान्य रूपले लिएका थिए ।सधैँ घरबाहिर नै रहने हुँदा म गाउँघरको लवज केही बुझ्दिनथेँ । बाको अन्तर्हृदयको बोलीमा गम्भीर रहस्य लुकेको अनुभूत भने गरिरहेको थिएँ ।
बासँग मन खोल्ने इच्छा त थियो तर मेरा आँखा ओभाएका थिएनन् । भर्खरै घाटमा आमालाई पोलेर सप्तकोसीमा हुत्याएर आएको थिएँ । गाउँका अरू मान्छेको मलामी जाँदा पनि आँखाको बाँध टुट्थ्यो तर अन्यत्रै फर्केर सहजै पचाउँथेँ । 
यसपाली त बाँध पुरै टुटिरह्यो र हिक्का बन्द गर्न पनि बडो सकस प¥यो । त्यस माथि प्रेसर ह्वात्तै बढेछ । धन्न कान र नाक फुटेर रगत गयो र अर्को अनिष्ट हुनबाट बँचियो । नत्र घाटमै के हुन्थ्यो, अनुमान गर्नै सकिन्नथ्यो ।
हामी कोरामा गुडुल्किएका थियौँ । बाको अनुहार अझै मलिन र निराश थियो । उहाँका आँखा समेत राताराता थिए ।
‘प्राणपखेरु छउँञ्जेल तिमेर्का लागि त म छु । मेरा लागि अब को छ ?’
बाका कुरा सुनेर सम्झाउँदै दाजुले भनेका थिए, ‘जे हुनु भइगो । एक दिन हुनु नै थियो । आजै भयो । अब चित्त बुझाउनुपर्छ । हर्दम त्यतै चित्त लगाएर खुनखुन गरे आफैँ भासमा फँसिन्छ ।’
बाले निधार खुम्च्याउनुभएको थियो । उहाँ बहस गर्ने मुडमा भने हुनुहुन्नथ्यो । यद्यपि उहाँको मनको आँधी भने एकोहोरो चलिरहेको थियो ।
‘अब टुहुरो र टुहुरा नभन्नुस् । हामी छौँ । आमाको स्थान ओगट्न नसकौँला तर अर्थोक कुरामा कुनै कमी हुन दिँदैनौँ ।’
दाजुको कथन काट्दै बाले भन्नुभएको थियो, ‘तँ भन्छस् नि । ६७ वर्षसम्म दुई जिउ एक प्राण भएर रहेकी तिमेर्की आमाले मलाई बिर्सेर एक्लै परमधामको बाटो पक्रेपछि मनमा गुनासो लागिहाल्छ नि !’
मसँग ८५ बर्षीय बाको अनुभवी मनलाई सम्झाउने सहास थिएन । बाले बोलेको सुरुको वाक्यको मतलव स्पष्ट बुझे पनि बुझपचाउन बाध्य थिएँ ।
+++

१०७. रङ्गेहात पक्राउ

नरे सानो थियो । आफूले लेख्न जानेका कुरा अरूलाई देखाउन चाहन्थ्यो । उसको प्रतिभा हेरिदिने कोही थिएन । ऊ गोठालामा बाख्रासँग बातचित गथ्र्यो । घरमा मध्यरातमा उठेर आँगनभरि अँगारले लेख्थ्यो । त्यो दोष माष्टर दाजुको काँधमा जाँदा भित्रभित्रै खुशी हुन्थ्यो ।
‘नखाएको विष लाग्दा’ माष्टर दाजु दिनानुदिन चिन्तामा डुब्न थाले । आँगनभरि अँगारका अक्षरहरू देखिनासाथ आमाबुबाको गाली गलौज सुरु हुन्थ्यो । त्यसैले एका विहानै उठ्नु र आँगनमा लेखिएका अक्षरहरू मेट्नु उनको नित्य कर्म ठानिएको थियो । 
माष्टर दाजुले जे जति कुरा भने पनि पत्याउने कोही थिएनन् । सधैँको एकनासे रडाको सुन्नुभन्दा स्वविवेकले अक्षर मेट्नुमै उनले आफ्नो जित देखेका थिए । 
हँुदाहुँदै एक दिन झिसमिसेमै दाजु आँगनमा बसेर लेखिएका कुराहरू नियाल्न थाले । उनले जानेबुझे भन्दा बेग्लै तरिकाले र जान्दै नजानेका ‘दुनाई, अङ्ग्रेजीका वर्ण र बालगीत’ समेत लेखिएको रहेछ । उनी एक चित्तले अवलोकन गर्दै लेख्न सिक्ने प्रयासमा थिए । त्यसै बेला आमाको छडी बर्संदा झसङ्ग भएर ढाड सुम्सुम्याउन पुगे ।
“ए तँ फटाहा केटा ! आज त रङ्गेहात फेला परिहालिस् नि । सधैँ अपराध गर्ने मान्छे, एक दिन न एक दिन फेला परिहाल्छ । अशुभ निम्त्याउन आँगनमा अँगारले कोर्छस् ?” आमाको छडी बर्साउने क्रम जारी थियो । माष्टर दाजु शरीर बचावटमा लागिरहेका थिए । रुँदै आफू निर्दोष भएको जनाउ पनि दिइरहेका थिए । 
बुबा आउनुभयो । आमाको हातको छडी च्याप्प समाउनुभयो । उहाँको अनुहारतिर एकोहोरो हेर्नुभयो । आमा डराउनुभयो । छडी छाडीदिनुभयो । बुबाले छडी अन्यत्रै फाल्दिनुभयो ।
माष्टर दाजुलाई उठाउनुभयो । धुलो टक्टक्याइदिनुभयो । र, भन्नुभयो– “गल्तीमाथि गल्ती किन दोहो¥याउँछस्, जेठा ? लेख्नलाई कापी–कलम ल्याइदिएकै छ । त्यहीँ लेख् । आँगन नकोर् भन्दा लाग्दै लागेन । उपद्रो गरेर के पाउँछस् ? सताउनुको पनि हद हुन्छ । हद नाघे निको कसैको हुन्न ।”
दाजुका साथमा विश्वासिलो तर्क नै थिएन । आँखाभरि आँसु बनाएर बाबुको मुहार मात्र हेरिरहे । 
२०७३।०६।१९


१०८.  शिक्षा
‘बुहारीमा अन्याय लाद्ने सासू–शासनको जमान छैन अब । कमाउनेको पछि लाग्ने जमाना आए ।’ गङ्गा औँलो ठड्याउँदै कुर्लँदै थिई, ‘घरभित्रको काम गरेर म कमाउँछु । घर बाहिरको काम गरेर मेरा पति कमाउँनुहुन्छ ।’
चुपचाप खिनमाया बुहारीको ताण्डव–नृत्य हेरिरहेकी थिइन् । आशा राखेर टङ्कराजतिर फर्किन् । उसले मुन्टो अर्कैतिर बटा¥यो । 
घाम निकै माथि आइसकेका थिए । उनी भोकले आलसतालस थिइन् । पेटमा मुसा दगुरिरहेका थिए । बुहारीलाई केही भनी सक्नु थिएन । छोरासँग हारगुहार मागूँ भने आँखा भएर पनि अन्धो थियो । असी टेक्न लागेकी आमाको सञ्चोबिसञ्चो बुझ्ने र खाए नखाएको ठह¥याउने मनै थिएन । पत्नीभक्तिमा निष्ठावान् थियो ।   
०००
‘पहिले त तँ मातृपितृभक्त थिइस् । बुबा चन्द्रलाल भगवान्का प्यारा भएसँगै तेरो बुद्धि पनि प्यारो भयो कि क्या हो ?’ गङ्गा पाइखाना गएको मौका पारेर झिनो आशा राख्तै खिनमायाले मुख खोलिन्, ‘पहिले म टङ्कराजकी आमा हुँ भन्दा गर्वले छाती फुल्थ्यो । अहिले तँसँग पेटको लागि भीख माग्दा अन्तै मुन्टो बटार्छस् । किन ? मैले के बिराएँ ?’
टङ्कराजले सुनिरह्यो, जवाफ फर्काएन ।
‘बाबु मरे, बेलामा ओखतमिूलो नपाएर ! म मर्ने भएँ, बेलामा खान नपाएर ।’ खिनमाया भन्दै गइन्, ‘तेरी स्वास्नी यस्तै बचनरूपी बज्रवाण हानिरहन्छे र तँ बुद्धि–सुद्धि हराएको बनिरहन्छस् भने तिमरू नै गरिखाओ । म कतै हिँडिदिन्छु ।’
०००
नभन्दै गङ्गाको टोकसो बढ्दै गयो । टङ्कराजको तटस्थतामा निरीहताको गन्ध आउँदै गयो । र, एक साँझ झ्यालको चेपबाट खिनमायाले गङ्गाको चालचलन देखिन् ।उसले विहानको बासी भातमा थुकेर एक कुनामा राखी । त्यो भात बाख्रा पाठालाई दिन होला भन्ठानिन् खिनमायाले ।
केहीबेरपछि त्यही भात खिनमायालाई खान दिई । उनलाई असह्य भयो । अनारदानसरि आँसुका ढिका खसालिन् । र, जुरुक्क उठेर बाख्राको खोरतिर गइन् । बासी भात बाख्रालाई खुवाइन् । र, थाल माझेर ल्याइन् । 
०००
खुट्टा भारी भए । नातागत महसुस भयो । तापनि आफू सुत्ने कोठामा आइन् ।
‘चन्द्रलाल, तिमी एक्लै किन गयौ ? मलाई यहाँ एक्लै छाड्यौ । कुकुरले नपाएको दुःख पाइरहेकी छु ।’ खिनमाया रुँदै बरबराउँदै गइन्, ‘अचेल दुःख असह्य भएर दुख्न थाल्यो । अब भने म पनि आउँछु । तिम्रो धरातलमा मलाई पनि प्रवेश देऊ है !’
उनी डाको छाडेर रोइन् । बूढीमान्छे रोएको सुहाएन भन्दै टङ्कराज आइपुग्यो । उनी झन रुन थालिन् । उसले नरुन भनिरह्यो । हिच्का बन्द नभएपछि ऊ रिसायो । र, आँखा तर्न थाल्यो ।
‘दिनभरि बसेकी छ्यौ । मीठोमसिनो मानाभरि घिचेकी छ्यौ ।’ ऊ थप्दै गयो, ‘अझ गङ्गालाई देखिसह्नौ । अहिलेका मान्छे सासूको बुहार्तन सहन मान्दैनन् भनेको कुरा बुझिनौ । अझ केके न गरेझैँ कङ्कला शब्द गरेर रोइकराई गछ्र्यौ । हैन, आमा ! यो तिमीले के गर्न आँटेको हो !’
०००
सूर्योदय हुँदा नहुँदै चारैतिर हल्ला फिँजियो । एकाबिहानै प्रहरी आयो । घर घे¥यो । लास र वरपरको फोटो र भिडियो खिच्यो ।
हप्ता दिन पछि पोष्टमार्टमको रिपोर्ट आयो– हत्या हैन, खिनमाया गुहालीमा पासो लगाएर झुण्डेकी हुन् ।
यद्यपि टङ्कराज र गङ्गालाई मर्ने वातावरण निर्माण गरेको आधारमा देवानी कानुनले पक्रियो । उनीहरू मामाघरमा चक्की पिस्न गए ।  
गाउँलेहरू भन्दै थिए, ‘यस काण्डले प्रौढलाई हेला गर्ने हरेकलाई शिक्षा दिने भयो ।’

१०९. सुद्धि

चारैतिरबाट सोध्दै र खोज्दै मानिसहरू दशगजा पारिको गाउँमा भेला भएका थिए । त्यहाँ मान्छकोे ठूलो भीड थियो । 
बिरामीहरू कोही खोच्याउँथे, कोही हात कुप्रो पारेर र खुट्टा परपर पारेर हिँडथे । कोही दिमाख खुस्केको कुरा गर्थे । कोही अन्य बिमारले आलसतालस थिए । एक जना त मुच्र्छा नै परेका भेटिए । बिरामी जाँच्ने ठाउँ पनि गुहाली थियो । डालामा औषधी राखिएको थियो ।
बिरामीका सहयोगीहरू लाइनमा थिए । आफ्नो पालोमा आफ्ना बिरामीलाई डाक्टर नजिक लान्थे । डाक्टर विरामीको हालत हेर्थे । दबाई लेख्थे र पठाइदिन्थे । जति टाढाबाट गए पनि र जति जिज्ञासा भए पनि डाक्टर मुस्किलले दुई मिनेट समय मात्र दिन्थे । दबाईलाई शुल्क लागे पनि जाँच भने निःशुल्क थियो । तिनकै कम्पाउण्डरले एक बज्यैलाई सुई लगाउनका लागि सारी तल सार्न लगाए । उनले कुरो बुझिनन् । उनका कुनै सहयोगी त्यहाँ थिएनन् । 
हातमा सिरिन्च लिएर कम्पाउन्डरले फेरि भन्यो, ‘अहाँ सारी निचा करू ।’ प्रतिउत्तरमा बज्यै हिँच्च हाँसिन् । हडबडमा यस्तै हुन्छ भन्दै झर्केर उसले सारी बाहिरबाट नै सुई लगाइदियो । बूढी चिच्याउन थालिन्, ऊ भने अन्य काममा लाग्यो ।
पछि बज्यैको सहयोगी हडबडाउँदै आएर खुलस्त पार्दा पा थाहा भयोे– बज्यैको त ६ महिनादेखि सुद्दी हराएको रहेछ ।

२०७६÷०५÷२७ शुक्रबार ।

११०. भीआईपी कोटा

’सर ! आज तपैँ ड्युटीमा नजाने ?’
’नजान पाए त मलाई पनि नजाने नै मन छ तर म बरिष्ठ परिनँ । कनिष्ठलाई सास्ती, बरिष्ठलाई मस्ती यहाँको परिचय हो, हैन र ? मेरो प्रति प्रश्न सुनेर अमरकान्त सर नाजवाफ भए ।
त्यत्तिबेला स्कूलमा आन्तरिक परीक्षा चलिरहेको थियो । आधा जसो शिक्षकले सधैँ गार्ड बस्नुपथ्र्याे । आधा जसो रमिता मात्र हेर्थे ।घरिघरी कक्षाकोठाको ढोका नजिक पुग्थे । हिउँद भए पारिलो घाम तापेर मोवाइल चलाउँथे । अरू बेला अफिसको पङ्खाको हावा खाँदै एकापसमा गफिन्थे ।
परीक्षा चलिरहेकै थियो । सधैँजसो मिटिङको निर्णय मैले नै  लेख्नुपथ्र्याे । मनमनै सोचेँ;‘अब म ‘शिक्षक उपस्थिति’ नलेखी एकातिर ‘रमिते बरिष्ठ शिक्षक उपस्थिति’ लेख्ने छु । त्यसपछि मात्रै ‘दलिने कनिष्ठ शिक्षक उपस्थिति’ भनेर औँल्याउने छु ।’
नभन्दै मैले सोचेको कुरा लेख्ने दिन पनि आयो ।
मेरो लेखाइ देखेर शिक्षकवृतमा कानेखुशी चल्न थाल्यो ।
तत्कालै प्रधानाध्यापक राजकुमार साहले प्रतिक्रिया दिएका थिएँ; ‘विभिन्न नाम र विशेषण लगाएर मनको तुष्टि पूरा गर्ने काम नगरौँ । पहिले जे लेखिन्थ्यो त्यै लेखूम् ।’
‘हेडसर; रमिते प्रथा हटेको हो र ? सबैले समान रूपले काम गर्नुपर्ने चलन बसेकै हो ? के हाम्रो स्कुलमा भीआईपी कोटा बन्द नै भको हो ?’ मेरो प्रतिप्रश्न सुनेर प्रअको दाहिने हात टाउको कन्याउन पुगेको थियो ।ंं
ंंंं+++
ंंं

१११. मनोपचार

राधिका सधैँ बिरामी छु भनिरहन्थिन् । यता घोच्यो र उता पोल्यो भनी हामीलाई तर्साई रहन्थिन् । हामी अस्पताल लान खोज्थ्यौँ । पैसा खर्च हुने भयले पछाडि हटथिन् ।
भुटार मास्तिर एक गाउँले डाक्टरले निःशुल्क उपचार गरी हरेक बिमार ठीक पारेको सुनेर उनले पनि त्यहीँ जाने मन गरिन् । फलतः उनलाई भुटार पु¥याइयो । 
ग्रामीण डाक्टरले पानीमा बिरामीको एक्सरे हेर्दै र झोल ओखति दिँदै भनेका थिए; ‘तपैँको बिमार पत्ता लाग्यो । यो खानुस् । अभद्र नबोल्नुस् । शरीरले नसहने नखानुस् । फेरिफेरि तीनपल्ट मकहाँ आउनुस् । तन्दुरस्त हुनुस् ।’
नभन्दै राधिकाले ग्रामीण डाक्टरले भनेजस्तो गरिन् । शरीर हलुका हुँदै गयो । उनी आफ्नो मनोदगार चारैतिर सुनाउँदै हिँड्न थालिन् ।
अब अचेल उनी भन्न थालेकी छन्;ं‘उहाँ देवतै हुनुहुन्छ । मेरा सारा दुःख हरण गर्नुभयो । म उहाँले भनेका हरेक कुरा मान्छु । तपैँ पनि दुःखी भए मान्नुस् । मझैँ दुःखको आहालबाट पार तर्न सक्नुहुन्छ ।’
राधिकाको फर्याकफुरुक हेरेर गाउँले प्रबुद्ध व्यक्ति भन्दै थिए;‘राधिकाको मनको उपचार भएछ । गनगन गरिरहन्थिन् । विश्वास खन्याउने ठाउँ भेटिछिन् । ग्रामीण डाक्टरले राधिकाको मन जितेछन् ।’ 

११२. बहिरो भगवान्

‘हरे सीता, हरे राम, गौरीशंकर हनुमान । हरे सीता, हरे राम, गौरीशंकर हनुमान.... ।’
आफू बसेको डेराको गेटमै राखिएको डीजे साउण्ड बक्सबाट आएको जमिनै थर्कने एकोहोरो आवाजले म रातभर निदाउन सकिनँ । माइकमा बोल्ने मान्छे बदलिँन्थे, भन्ने लवज बदलिन्थ्यो । ओल्टेकोल्टे फर्कंदाफर्कंदै विहान भएछ तर एकोहोरो कर्कश आवाज उत्रै र उस्तै थियो । 
उठेँ । शरीर भारी थियो । टाउको रन्केको थियो । आँखा बिझाइरहेका थिए । मेरी गृहलक्ष्मी प्रेसर जँचाउन जानुस् भन्दै थिइन् । तत्कालै म आज्ञा शिरोधार्य गर्दै गेट बाहिर निस्केको थिएँ ।
०००
‘एकाविहानै प्रेसर जाँच गराउन आउनुभएछ । खास केही भएको छ कि ?’ सरोज मेडिकलवालाले प्रश्न तेस्र्याउँदा म झसङ्ग भएको थिएँ ।
‘हैन, हैन, त्यस्तो केही हैन । शंका लागेर मात्र आएको हुँ ।’ मैले जवाफ फर्काएको थिएँ ।
‘तपैँका आँखाले शंकालाई मलजल दिइरहेका छन् । भररात टीभी र मुवाइलमा झुत्ती खेल्नुहुन्छ होला कि कसो ?’ उसको अर्को प्रश्नले म हैरानीमा परेको थिएँ ।
०००
नजिकैको ऐनामा हेर्दा पो थाहा पाएँ । मेरा आँखाले स्वभाविक रङ गुमाइसकेका थिए । आँखा त गुच्छा जत्रा लालगेडी पो भएका रहेछन् ।
०००
‘म बसेको टोलका मान्छे चाहिँ हिजैदेखि बहिरा भएछन् । र, मेरा आँखाको यो हालत भएको हो ।’ आफ्नो पक्षाघात पीडित शरीर हेर्दै मैले अझ स्पष्ट शब्दमा भनेको थिएँ, ‘अद्र्धअपाङ्ग भएर पनि रातमा जागा बस्ने मुर्खता दोहो¥याउन सक्दिनँ ।’
०००
‘ए, तपैको छिमेकबाट आएको डीजे साउण्डको आवाज रातभर मेरो कानमा पनि ठोक्किएको थियो तर म बहिरो थिइनँ त !’ उसले निर्दोष बोली निकालेको थियो ।
‘तर तिनका भगवान् बहिरा भएछन् तर म हुन सकिनँ ।’ मैले बोलेको कुरा सुनेर उसले जिब्राको टुप्पो टोकेको थियो ।
०००


११३.  मुर्कुटो
‘माहिला, मुढेबल नगर है । विचारेर गरेको कामले मात्रैफल दिन्छ । बेहोसीले गरेको कामले दुःख मात्रै दिन्छ ।’मैले त्यसबेला आमाले सतर्क पारेका कुरा सम्झिएको थिएँ । 
‘अँध्यारामा एक्लैदोक्लै हिँड्नुहुन्न । बच्चो भएर पनि चिहानघारीघारी दगुर्ने कुरा बिर्सिदे ।’ बुबाको खबरदारीलाई मैले पुत्रप्रति अन्धोप्रेम ठानेको थिएँ ।
जीवनको अन्तिम घडीमा थरिथरिका कुरा स्मरण गर्दै पाइला अघि बढाएको थिएँ ।
ंंंंंंंंंंंं०००
हाम्रो खेत पुग्न तीन घण्टा पैदल हिँड्नुपथ्र्यो । बेलुका चार बजे स्कुल विदा भएपछि मैले बेलुकाको खाना लिएर खेत पुग्नुपथ्र्यो । बुबा र दाजुहरूलाई खुवाएर उत्तै सुत्नुपथ्र्यो । त्यसदिन भने होमवर्क गर्नछु भनेर मैले घर फर्कन चाहेको थिएँ । जूनेली रातमा दाजुबुबा धान काट्न ब्यस्त भएको मौकामा बुबाको रोकावटलाई उलंघन गर्दै म जुठा भाँडाकुँडा बोकेर सुटुक्क बाटो लागेको थिएँ ।
०००
जसोतसो अँध्यारामा चिहानघारी छिचोल्न सकेकोमा गौरवले ढक्क भएको थिएँ । घनघोर जङ्गलमा घुसेपछि भने मन सानो बनाउन विवश थिएँ । जूनेली रातको मन्द उज्यालामा सामुमा सेतो चिज ठडिएको देखेँ । रातविरातमा सेतोसेतो देखिने वस्तु मुर्कुटो हुन्छ र त्यसले हराए, मान्छेलाई मार्दिन्छ भनेर सानो छँदा सुनेको कुरा सम्झिएँ ।सातो उड्यो ।
फर्कूं भने तीन भाग बाटो तय गरिसकेको थिएँ । फेरि पछाडि अत्यासलाग्दो चिहानघारी छँदै थियो । अगाडि बढूँ भने मुर्कुटो उभिएको थियो । जताबाट पनि म फसेँ, प्राण बचाउन सकिन्न होला भन्ने ठान्न पुगेँ । ‘सास रहेसम्म आश मार्नुहुन्न’ भन्ने नेपाली गुरुको कथन स्मरणमा आयो । म नडराएपछि मुर्कुटो डरले भाग्छ भन्ने झिनो आश मनमा आयो ।मुठ्ठी कसेँ । आँखा चिम्लिएँ र अघि बढेँ ।
अगाडि बढ्दै जाँदा ठ्वाङ्गै ठोक्किन पुगेँ । त्यसैमा कस्सेर मुड्कीले हानेँ । उल्टै रन्थिनिने गरी पत्रिर पुगेर पछारिन पुगेँ । म मात्रै हैन मुर्कुटो पनि ठहरै भयो भन्ने ठान्न पुगेँ ।
०००
केहीबेरसम्म मुर्कुटाले नङ्ग्याकेकोमा म छक्क परेँ । पक्कै पनि मुर्कुटो भाग्योहोला भन्ठानेर यसो मुन्टो उठाएर हेरेको, म त मुढोमा पो ठोक्किएको रहँेछु ।
०००


११४. छ पाइलाहरू

गाईघाट छेउकागाउँकाचुमन, फेकन र किसुन मुसहर निकै प्रख्यात थिए । चुमन माटो काट्थ्यो । फेकन काठका टुन ट्रकमा लाद्थ्यो । किसुन लकडी चिर्न सिपालु थियो ।
उनीहरूको साँझको नित्यकर्म बेग्लै हुन्थ्यो । दिनभरिको कमाइको केही पैसा साँझ–विहानको भात–तरकारीको जोहो गर्न श्रीमतीलाई दिन्थे । अरू पैसा लिएर भट्टीमा छिर्थे । पिउँदापिउँदै कहिल्यै बाटामै रात गुजार्थे । अबेर घर पुगेर नचाहिँदो जोईपोइ कुस्ती लड्थे । 
एक पटक मातेरको अवस्थामा प्रहरीसँग जम्काभेट भयो । कमाण्डरले आदेश दियो, ‘केटा हो, यी धतुरे मोराहरूलाई भ्यानमा कोच । हिराशतमा रातभर माघे ठण्डीको स्वाद चाखून् ।’
फलतः तीनै जना कोचिए प्रहरी भ्यानमा ।
उज्यालो भएपछि कमाण्डरले भन्यो, ‘क्षमायाचना गर्दै यस्तो गलत कदम कहिल्यै नदोहो¥याउने विश्वास दिलाओ, घर जान पाउँछौ ।
‘सरकार, हामी कमाउँन जान्दछु, जोगाउन जान्दिनँ ।’ चुमनले हात जोड्दै भन्यो, ‘बचपनदेखि लागेको आदत छोड्छु भन्दा पनि छुड्दैन । हामी के गर्छु, सरकार !’
‘अरे सर, हाम्रो बाबुबराजेले कमायो, खायो, दुनियालाई खिलायो र विन्दास पाराले जियो । म¥यो त विन्दास पाराले नै म¥यो ।’ फेकनले अघि सर्दै भन्यो, ‘उदेर्कै सन्तान हामी लागेको आदत झट्टै छाड्न कहाँ सक्छु र !’ 
कमाण्डर किसुनतिर फर्कियो ।
‘कुरा के भने नि पुलिस सर, हामीहेरूले पढेलिखेको छैन । काम गरेर माम खान पाउँछु ।’ किसुन फलाक्तै गयो, ‘यहाँ पहडिया भाइबहिनको संगतमा लागेर हामीहरूले सत्य बोल्न सिखेको छु । एक्कै पल्ट दारूपानी छाड्न सक्तिनँ । मनमा डर मानेर रहन्छु त जथाभावी गर्दिनँ । यत्ति विश्वास सरलाई दिलाउन सक्छु । हामी गरिप मान्छीलाई दया गरेर एकचोटी छाडिदिनुस् । काममा जान बेर भइसक्यो । साहूले गाली गर्छ ।’
‘उसो भए ठीकै छ । तिमरूका छोराछोरी भोकै हुन्छन् । यस केसलाई अघि बढाउँदा तिमरूका परिवारलाई ठूलो चोट लाग्ने रहेछ ।’ कमाण्डर थप्दै गयो, ‘तिमरू एउटा काम चाहिँ गर न त ! हामी सन्तुष्ट हुन्छौँ ।’
तीनै जनाले कमान्डरको मुहारतिर आँखा दौडाए ।
‘आजैबाट कबुल गर ! दिनभरि कमाओ । कमाइको आधा रकम भविष्यका लागि बचत गर । आधा भने परिवारको खर्चका लागि छुट्याओ । बेलुका पिउन मन भए श्रीमतीलाई ल्याउन लगाओ । बेलुका खाना खाएपछि सुत्ने बेलामा सुटुक्क सीमित पिओ, खाओ । र, चुपचाप सुत ।’ चेतावनी दिँदै कमाण्डरले थप्यो, ‘याद राख ! तिमेरूले पिएको श्रीमतीबाहेक छिमेकीले त के आफ्नै छोराछोरीले पनि थाहा पाउनुहुन्न, नि !’ 
अन्ततोगत्वा सर्त स्विकारेर नयाँ जोस र सोचका छ वटा पाइलाहरू अघि बढे ।
०००



११५. मामाघर

‘बुहारीमा अन्याय लाद्ने सासू–शासनको जमान छैन अब । कमाउनेको पछि लाग्ने जमाना आए ।’ गङ्गा औँलो ठड्याउँदै कुर्लँदै थिई, ‘घरभित्रको काम गरेर म कमाउँछु । घर बाहिरको काम गरेर मेरा पति कमाउँनुहुन्छ ।’
चुपचाप खिनमाया बुहारीको ताण्डव–नृत्य हेरिरहेकी थिइन् । आशा राखेर टङ्कराजतिर फर्किन् । उसले मुन्टो अर्कैतिर बटा¥यो । 
‘पहिले त तँ मातृपितृभक्त थिइस् । बुबा चन्द्रलाल भगवान्का प्यारा भएसँगै तेरो बुद्धि पनि प्यारो भयो कि क्या हो ?’ गङ्गा पाइखाना गएको मौका पारेर झिनो आशा राख्तै खिनमायाले मुख खोलिन्, ‘पहिले म टङ्कराजकी आमा हुँ भन्दा गर्वले छाती फुल्थ्यो । अहिले तँसँग पेटको लागि भीख माग्दा अन्तै मुन्टो बटार्छस् । किन ? मैले के बिराएँ ?’
टङ्कराजले सुनिरह्यो, जवाफ फर्काएन ।
‘बाबु मरे, बेलामा ओखतमिूलो नपाएर ! म मर्ने भएँ, बेलामा खान नपाएर ।’ खिनमाया भन्दै गइन्, ‘तेरी स्वास्नी यस्तै बचनरूपी बज्रवाण हानिरहन्छे र तँ बुद्धि–सुद्धि हराएको बनिरहन्छस् भने तिमरू नै गरिखाओ । म कतै हिँडिदिन्छु ।’
नभन्दै गङ्गाको टोकसो बढ्दै गयो । टङ्कराजको तटस्थतामा निरीहताको गन्ध आउँदै गयो । र, एक साँझ झ्यालको चेपबाट खिनमायाले गङ्गाको चालचलन देखिन् ।उसले विहानको बासी भातमा थुकेर एक कुनामा राखी । त्यो भात बाख्रा पाठालाई दिन होला भन्ठानिन् खिनमायाले ।
केहीबेरपछि गंगालेत्यही भात खिनमायालाई खान दिई । खुट्टा भारी भए । नातागत महसुस भयो । तापनि आफू सुत्ने कोठामा आइन् ।
‘चन्द्रलाल, तिमी एक्लै किन गयौ ? मलाई यहाँ एक्लै छाड्यौ । कुकुरले नपाएको दुःख पाइरहेकी छु ।’ खिनमाया रुँदै बरबराउँदै गइन्, ‘अचेल दुःख असह्य भएर दुख्न थाल्यो । अब भने म पनि आउँछु । तिम्रो धरातलमा मलाई पनि प्रवेश देऊ है !’
उनी डाको छाडेर रोइन् । आँखा तर्दै टङ्कराज आइपुग्यो । 
‘दिनभरि बसेकी छ्यौ । मीठोमसिनो मानाभरि घिचेकी छ्यौ ।’ ऊ थप्दै गयो, ‘अझ गङ्गालाई देखिसह्नौ । अहिलेका मान्छे सासूको बुहार्तन सहन मान्दैनन् भनेको कुरा बुझिनौ । अझ केके न गरेझैँ कङ्कला शब्द गरेर रोइकराई गछ्र्यौ । हैन, आमा ! यो तिमीले के गर्न आँटेको हो !’
सूर्योदय हुँदा नहुँदै चारैतिर हल्ला फिँजियो । एकाबिहानै प्रहरी आयो । घर घे¥यो । लास र वरपरको फोटो र भिडियो खिच्यो ।
हप्ता दिन पछि पोष्टमार्टमको रिपोर्ट आयो– हत्या हैन, खिनमाया गुहालीमा पासो लगाएर झुण्डेकी हुन् ।
यद्यपि टङ्कराज र गङ्गालाई मर्ने वातावरण निर्माण गरेको आधारमा देवानी कानुनले पक्रियो । उनीहरू मामाघरमा चक्की पिस्न गए ।  


११६  सुद्धि

चारैतिरबाट सोध्दै र खोज्दै मानिसहरू दशगजा पारिको गाउँमा भेला भएका थिए । त्यहाँ मान्छेकोे ठूलो भीड थियो । 
बिरामीहरू कोही खोच्याउँथे, कोही हात कुप्रो पारेर र खुट्टा परपर पारेर हिँड्थे । कोही दिमाख खुस्केको कुरा गर्थे । कोही अन्य बिमारले आलसतालस थिए । एक जना त मुच्र्छा नै परेका भेटिए । बिरामी जाँच्ने ठाउँ पनि गुहाली थियो । डालामा औषधी राखिएको थियो ।
बिरामीका सहयोगीहरू लाइनमा थिए । आफ्नो पालोमा आफ्ना बिरामीलाई डाक्टर नजिक लान्थे । डाक्टर विरामीको हालत हेर्थे । दबाई लेख्थे र पठाइदिन्थे । जति टाढाबाट गए पनि र जति जिज्ञासा भए पनि डाक्टर मुस्किलले दुई मिनेट समय मात्र दिन्थे । दबाईलाई शुल्क लागे पनि जाँच भने निःशुल्क थियो । 
तिनकै कम्पाउण्डरले एक बज्यैलाई सुई लगाउनका लागि सारी तल सार्न लगाए । उनले कुरो बुझिनन् । उनका कुनै सहयोगी त्यहाँ थिएनन् । 
हातमा सिरिन्च लिएर कम्पाउन्डरले सारी तल्तिर सार्नका लागि भन्यो, ‘अहाँ सारी निचा करू ।’ 
प्रतिउत्तरमा बज्यै हिँच्च हाँसिन् । हडबडमा यस्तै हुन्छ भन्दै झर्केर उसले सारी बाहिरबाट नै सुई लगाइदियो । बूढी चिच्याउन थालिन् । कामधाम सकेर ऊ भने अन्य काममा लाग्यो ।
पछि बज्यैको सहयोगी हडबडाउँदै आए । उनले खुलस्त पार्दा पोसबैलाई थाहा भयोे– बज्यैको त ६ महिनादेखि सुद्दी हराएको रहेछ ।
०००
०७६÷०५÷२८ शनिबार


मिति–२०७३।०६।१९

११७. फूल चोर आतङ्क

त्रिहत्तरे सालको नवरात्र सु्रुआत भइसकेको थियो । केशो अनिरुद्ध मावि नजिकको घर–धनी पूजाआजाका लागि फूल नपाउँदा वाक्कदिक्क थियो । विहान उठ्दा अरूले नै फूल टिपिसकेका हुन्थे । ऊ फूल हैन पातले पूजा गर्न वाध्य थियो । फूल चोर आतङ्कबाट आजित भएसकेपछि उसको मनमा बदलाको भावनाजन्मेको थियो । ऊ दाउको खोजीमा थियो ।
नवरात्रको तेस्रो दिन विहानको चार बजे नै सडकमा मान्छेको चहलपहल बढेको थियो । उज्यालो हुन अझै एक घण्टा बाँकी थियो ।  ‘शिव ! शिव !! शिव !!!’ एक वृद्धा एकोहोरो भट्याउँदै थिइन् । उसका साथमा आधा दर्जन १२÷१४ वर्षे  ठिटाहरू थिए । सबैका हातमा एक–एक टर्च र एक–एक पलाष्टिक थिए । तिनीहरू मधुर भाकामा हिन्दी गीत पनि गाउँदै थिए । घरिघरी मैथिली भाषामै फोहोरी शब्द बोल्दै पनि थिए । भगवान्को काममा फोहोरी कुरा नगर्न वृद्धा खबरदारी गर्दै थिइन् । 
‘ओत देख । ओ फूल टिप ले ।’ फूल टिप्न लगाउँदै वृद्धा बोलिन् । एउटा ठिटो सकिनसकी पर्खाल उक्लियो । देखाएको फूल टिप्यो । बोट मुनिबाट वृद्धाले राम्ररी नियाल्न भनिरहिन् ।अरू फूल छँदै छैन भनेर तर्की रह्यो । 
‘तुँ निचा उतर । हम चढवै ।’ भन्दै एक ठिटो फूलको रुख चढ्ने प्रयत्न गर्न थाल्यो । पहिले चढेको केटो त उत्रियो । तर एक–एक गर्दै बाँकी पाँचै जना चढेर फूल खोज्न थाले । नभेटेपछि फूल धनीलाई नै गाली गर्न थाले । राती नै फूल टिपेर सिद्धयाएछ भन्दै नानाभाँती कुरा गर्दै थिए । 
अचानक फूल घर–धनी कोठाभित्रैबाट ‘चोर ! चोर !! पकड ! पकड !!’ भन्दै कराउन थाल्यो । उसको आवाजले ठिटाहरू आत्तिए । भाग्न तँछाडमछाड गर्दा रुखको हाँगै भाँचियो । तीन जना तल फ्यात्त खसे । दुई जनाको खुट्टा भाँचियो । एउटाको छातीमा नराम्ररी चोट लाग्यो । बाँकी अरू ‘सभ गोडे भाग् ! भाग् !!’ भन्दै दौडिए । घाइते तीनै जना बोटमुनि नै दर्दले छटपटाउँदा भए । 
घर–धनी आइपुग्यो । दुईचार लात भकुर्यो । घिसार्दै आफ्नो घरको मुलद्वार नजिक ल्यायो । र, फोनमार्फत प्रहरीलाई गुहा¥यो । त्यत्तिकैमा नजिकका दुईचारजना छिमेकी पनि आइपुगे । तिनीहरूलाई घर–धनीले कोठाको सामान चोर्ने चोरका रूपमा परिचित गरायो । प्रहरीले पनि त्यही कुरामा विश्वास गरेर ठिटाहरूलाई केरकार गर्न थाल्यो । 
ठिटाहरूले आफूलाई फूल टिप्दा लडेर घाइते बनेको स्पष्टीकरण दिए । आरोपीको भन्दा घर–धनीकै कुरामा प्रहरीले विश्वास ग¥यो । र, तिनीहरूलाई गाडीमा बसायो ।
जाँदाजाँदै घर–धनीले पाँच जना ठिटाले तीन लाख बराबरको सामान चोरेको फेहरिस्त बताउन भ्यायो । सामान सप्लाई गर्ने दुईले समान लगेको र तीन जनाले चाहिँ झ्यालबाट हाम्फालेर ज्यान जोखिममा पारेको चर्चा गर्न बाँकी राखेन । 
बिहान–बिहान दुःख दिएकोमा प्रहरी रिसाएकै थियो । ती बिचारा ठिटाहरूलाई त्यहीँ दुईचार लात भकु¥यो । र, प्रहरी भ्यान बाहिरियो ।
मनको चाहना पूरा भएकोमा घर–धनी भने मुस्कुराई रह्यो ।








No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...