'पौर सालके दशहरामे कोरोना घरबालाके प्राण आ हमर भठ्ठाके जागिर दोनो लगेलै । अई सालके दशैँमे ककरो कुछो नई भेलछै ।'
अघिल्लो दशैँमा कोरोनाले पतिको प्राण र आफ्नो जागिर एक साथ लिएको तर यस पटक सबै शुभ रहेको भन्दै आइतीले प्रसन्नता व्यक्त गरेकी थिइन् ।
आइतीले रोटी भाँचीभाँची बराबर तीन भाग लगाइन् । कतिदिन देखिको बासी रोटी होला अररा थिए । भाँच्दा पनि कट्याककुटुक आवाज सुनिन्थ्यो ।
चारैतिर दशैँको चहलपहल थियो तर कोरोनाको कारणले एकदमै कम थियो ।
नजिकै कुकुरका तीनवटा छाउराहरू जाडाले गुडुल्किएका थिए । अर्कातिर आइतीको वरपर तीन जना छोराछोरीहरू तँछाडमछाड गरी धुइरिएका थिए । त्यसमा पनि रोटीको आधा भाग डढेकै थियो ।
मेरो मनमा कुराहरू नाच्न थाले-
-खान दिनु नै छ भने केको डढेको रोटी दिएको होला । त्यो पनि बासी !
-पशुले बुझ्दैनन् भनेर हेप्नु त हुन्न नि !
-बेहोसी भएर डढाउने आफू, त्यसको सजाय भोग्नुपर्ने पशुले ?
मेरो ध्यान पशु अधिकारतिर एकोहोरिएको थियो । त्यसैबेला आइतीले रोटी छाउरालाई नदिई आफ्ना तीन बच्चालाई बाँडिदिइन् । उनीहरू पनि धमाधम खोटी चबाउन थाले । एकएक टुक्का मासु पनि हातहातमा हाल्दिइन् र बोटुकाको झोल पालैपालो सुरुपसुरुप पार्न दिइन् । म छक्क पर्दो थिएँ ।
दैया गे, तूँ अपन बुइद्ध डढाके फेक देलही ? बच्चाके एहन डढलाहा सडलाहा रोटी दैछी ?
डढेको र सडेको खानेकुरा दिएर आफ्नो बुद्धि किन डढाको भनेर सोधेको मेरो प्रश्नले भेटेको जवाफले मेरो मनमा दश रेक्टरको भूकम्प गएको थियो ।
'त्यो पनि भाँडा माझेर दशैँमा पाएको बकस हो । दुई सय रुपियाँ र दुई किलो चामल पनि पाएकी छु ।' आइतीले खुशी हुँदै यस्तै आशयको कुरा थप्दै सुनाएकी थिइन्; 'यसपालाको दशैमा कुखुराको मासु ल्याएर बच्चालाई टन्न मासुभात खुवाउँछु ।'
No comments:
Post a Comment