लघुकथा- अभिनय
'हिही, हाहा ! तँ मुला दैत्यले मेरो देहमा दाह्रा गाड्न खोज्या । तेरो रगत पिउन पाए भने मात्र मेरो क्रोध शान्त हुन्छ ।'
मैले मनका कुरा नबुझिने गरी व्यक्त गर्दै बहुलाही थिएँ । अकस्मात् बदलिएको मेरो हाउभाउले शुरुमा मेरो मालिक शशंकित मात्रै बनेको थियो । आफ्नो इसारालाई अक्षरस: पालना गर्छे भन्ने उसमा अझै झिनो आशा बाँकी नै रहेछ ।
मसँग बहुलाउनुको विकल्प थिएन । जथाभावी चिथोर्न थालेँ । कराएर जगतै थर्काएँ । आफैँलाई मात्रै नभई उसैलाई पनि लुछलाछ पारेँ । ऊ डरले परपरै रहन थाल्यो । म भने लाजै पचाएर जथाभावी गर्न व्यस्त रहन थालेँ ।
कुरा बीस दिन अघिको हो । म वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगेकी थिएँ । शुरुका दिनमा राम्रै थियो । पछिपछि घरमालिकले जिउ मालिस गर्न लगायो । गहका आँसु आँखामै पचाएर जसोतसो काम गर्दै थिएँ । कल्पनाभन्दा बाहिर गएर मलाई गोडा नै मिच्न लगायो । त्यसपछि मात्रै मेरो स्वभाव पागल्नीजस्तो भएर पूरै उल्टिएको थियो ।
उसले मलाई नेपाल फर्काउन सम्पूर्ण कागतपत्र तयार पारेर राहदानी समेत हातमा राखिदिएपछि भने बुझिने गरी नै भनेकी थिएँ; 'आजसम्म आफ्नो लोग्नेको त गोडा मिचिएन । यस उमेरमा सात समुद्र पारी आएर तँ डिङ्गरको गोडामा तेलमालिस गर्नु भन्दा त बहुलाउनु नै निको !'
२०७८/०७/०१
सिद्धार्थटोल, उदयपुर ।
No comments:
Post a Comment