Tuesday, October 19, 2021

लघुकथा- कारण -नन्दलाल आचार्य

'शिक्षक' विषयक लघुकथा-
श्रीकृष्ण सर ! भरखरै लेखेको कथा पठाएको छु । छनोट भए नभएको जानकारी पाउन निवेदन गरेको छु । जय लघुकथा !!!

लघुकथा-  कारण
-नन्दलाल आचार्य


'आज मात्रै हर्कमायाले होमवर्क बुझाइनन् गुरु !'

कक्षा नौको दिनेशले अह्राएको काम फत्ते गरेको जनाउ दिँदै भनेको थियो । उसले प्रमाणसहित दोषी हर्कमाया मात्र भएको घोषणा गरेको थियो । किनभने दशैँको अवसरमा दिइएको गृहकार्य निरीक्षण गर्न कापीहरू बटुल्न मैले नै अह्राएको थिएँ ।

म हर्कमायातिर फर्किएको मात्र के थिएँ उनले आँखाभरि आँसु पारेर ओठ थरथर कँपाएकी थिइन् । मानौँ म उनलाई दशैँमा हानेझैँ मार हान्न तयार छु ।

यस्तो अवस्थाले मलाई नै नमीठो लागिरहेको थियो । उनी मनका कुरा व्यक्त गर्न खोज्दै छिन् जस्तो लागिरहेको थियो ।

उनको मुहारतिर नजर लगाए अरू आत्तिलिन् भनेर म कापी निरीक्षणमा व्यस्त भएँ । उनी आफ्नै बेन्चमा खडा थिइन् । बस्नको लागि दिएको संकेत नबुझेर हो या आत्मग्लानीले चिमोटेर हो उनी खडाको खडै थिइन् ।

'अठहत्तर सालको दशैँका विविध दिनहरू मध्ये फूलपाती, महाअष्टमी र विजया दशमी गरी तीन दिनको दैनिकी तयार पार्नुहोस् ।'

मैले गृहकार्यमा यही प्रश्न दिएको थिएँ । मौखिक रूपमा भनेको थिएँ; 'धेरै हदसम्म सत्यतथ्य कुरा समेटेको हुनुपर्छ । भएको सत्य छलेर हावादारी गफ छाट्दैमा दैनिकी हुन्न भन्ने बुझ्नुपर्छ ।'

हर्कमाया सधैँ गृहकार्य गर्न र बुझाउन अग्रपंक्तिमा हुन्थिन् । यत्तिबेलाको उनको अवस्था देखेर कारण सोध्ने आँट गरिरहेको थिइनँ ।

उनी नै मेरो छेउमा आएर नम्रसाथ भनिन्; 'सरी गुरु; होमवर्कमा मैले आफ्नो आन्द्राभुँडी देखाउन सकिनँ । लोकलाजले सतायो । आई एम भेरी सरी गुरु ।'

कुरा नबुझेर म आफैँ रणभुल्लमा परेको थिएँ । अन्तत: उनीसित एकान्तमा गरेको वातचितबाट थाहा पाएँ- जुवातासमा उनका बाबुले डेढ लाख हारेछन् । आमाबाको घमासान लडाइँ भएछ । खानपिन पनि बन्द भएछ । उनीहरू भोकभोकै परेछन् । यो सत्य सबै सामु पोख्न उनलाई लाज भएछ ।

उदयपुर, सिद्धार्थटोल । 2078/06/30

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...