Wednesday, July 21, 2021

साहित्य पोष्टमा प्रकाशनार्थ पाँच मुक्तक-- - नन्दलाल आचार्य

साहित्य पोष्टमा प्रकाशनार्थ पाँच मुक्तक--
 - नन्दलाल आचार्य

कम ज्ञान हुनेहरू त्यति नै हठी ज्यादा कहलिन्छन्
प्रेम गरेको भन्दै फूल चुँडेर ठूलो ब्याधा  कहलिन्छन् ।
संसारमा आफू हुनुको खास कारण नबुझेर अचेलको मान्छे
सत्य आफैँमा नखोजी बाहिर खोज्ने  भ्रमको प्यादा कहलिन्छन् ।
 +++नोट-- प्यादा= दूत

डराए स्याल भइन्छ; सोच्न थाले सिंह बनिन्छ
उत्साह राखे प्रेमीसँग मज्जाले झुल्ने पिङ बनिन्छ ।
मर्द हुन मन छ भने पहिले नामर्द मेट्नुपर्छ हजुर
हिम्मत राखे जहिल्यै काममा आउने हिङ बनिन्छ ।
+++

म स्वयम् र मेरो प्रेमलाई सुनाउन म लेख्छु
कलमले अरूलाई प्रेरित बनाउन म लेख्छु ।
विश्वास गर्न छाडेको धेरै भो भीडको  तालीमा
आफ्नै तीतोमीठो उपहार कहलाउन म लेख्छु ।
+++

आफू मिल्न नसक्ने अरूले नै मिलाउनुपर्ने अरे
खाने बेला भने मिलीजुली सबैलै नै रहनुपर्ने अरे ।
खै कसलाई के भन्नू, हाम्रो झेली नीति नै उस्तो
झरी लाग्दा धनाधम विकासे काम सक्नुपर्ने अरे ।
+++

जात नसोधी एकै पटक हात समाइन् उनले
बात नगरी अपरिचित मसँग रात कटाइन् उनले ।
आनन्दको त्यस जोसमा  होस हराएकै हुँ मैले
पछि पो लकडाउनले भात नपाएको बताइन् उनले ।
+++
nandalalacharya@gmail.com






No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...