कथा : ध्वासे मुहार
-नन्दलाल आचार्य
साउने खडेरीले राजविराज नगरीको सडक खुब तातेको छ । वरपरको छहारीमा शरण लिँदै मानिसहरू अझ गरम कुरा गरिरहेका छन् ।
म जिल्ला प्रहरी कार्यालयको हिरासतको एक कुनामा थुप्रिएको छु । मनमा तीता-टर्रा दृष्यहरू आइरहन्छ; गइरहन्छन् । कुनै घटना क्रमलाई रोकेर मनमै मथ्न सक्दिनँ । नमथे नौनी निस्कने कुरै आएन ।
गेट नजिक डिउटी गरिरहेको प्रहरी ठिटोको सङ्केत पाउनासाथ जुरुक्क उठ्छु । मन चङ्गा बनाउँछु । मलाई कोही भेट्न आएको सोच्छु ।र; अनायास पाइला अघि बढाउँछु ।
ठिटो फिस्स हाँस्दै भन्छ- एई माष्टर ! सुन्; तेरी स्वास्नीको शव यात्राको खलबल र तेरा विरूद्धको नाराबाजी !
म बाहिरतिर नजर फ्याक्न खोज्छु । आँखा त चार भित्ताभित्रै कैद भएको पाउँछु । कानलाई चनाखो पार्छु र कैदमुक्त अवस्थामा हिरासत कक्ष बाहिर पठाउँछु ।
सुन्छु-
पत्नी हत्यारा अरमानलाई - फाँसी दे ! फाँसी दे !
माष्टरको नाममा अरमान - गद्दार हो; गद्दार हो !
दुष्टको दमन नै - समाजको उत्थान हो ! उत्थान हो !
निर्दोष कमलीको आत्माले - शान्ति पाओस् ! शान्ति पाओस् !!
आफू बिरूद्धका नाराहरू सुनेर मन हुडलिएर आउँछ । आँखाका कोसहरूले आँसु बारेर राख्न सक्तैनन् ।
फलत: आँखा रुझिरहन्छन्; मनमा आशंकाको हुरी चलिरहन्छ । वरपरको मानव कुराकानीले समेत गालामा थप्पड बर्साइरहन्छ l
एई सुनिस् नि; तँ हत्यारा नै होस् भन्ने कुरा । साँचो वयान दे ! हाम्रो केरकारलाई असहजरूपमा नले । प्रहरी ठिटो थप्दै गयो । कलिलै उमेरमा जेल जाने परिस् ।
उसको भाषणले विश्राम नलिँदै म पुन: कुनामै थुप्रन आइपुग्छु । गहिरो श्वास लिन्छु । मनमा बेचैनीलाई धपाउने प्रयत्न गर्छु ।
अनायास मन विष्फोट हुन्छ-
प्यारी कमली ! मैले तिमीलाई दुर्व्यावहार गरेकै छैन । मात्र वेवास्था गरेर मानसिक आघात पुर्याएको हुँ ।
हो; म आफ्नै सहपाठी सरलातिर ढल्केको थिएँ । बातचित बाहेक अन्य सम्बन्ध बनाउन तिमी बाधक भएकै हौ । तिम्रो अनुमति बेगर म एक डेग पनि हिँड्न सक्तिनथेँ । अझ तिम्रो पेटमा मेरो वंश हुर्किरहेको थाहा पाएर म हर्षले पुलकित भएको थिएँ ।
विस्तारै म तिमीबाट पग्लँदै थिएँ । तिमी अझ कठोर बन्दै थियौ । म विश्वासको वातावरण बनाउँदै थिएँ । तिमी घोर अन्धकारमय खाडल खन्दै रहिछ्यौ ।
तिमीले पेटको तीन महिने गर्भ फालेको थाहा पाएपछि म रन्थनिएको थिएँ । आफ्नो इरादाबिरूद्धको तिम्रो कृत्य पचाउन मलाई सकस परेको थियो ।
त्यही झोकमा दुई/चार लात र वात बर्साएको थिएँ । तिमीले झुन्डिने नै निर्णय गरिछ्यौ ।
कमली ! म तिम्रो मृत्युको कारण अवश्य बनेँछु तर हत्यारा होइन । तिम्रो नजरमा पतित पात्र बनेँछु तर याद राख; घृर्णित चरित्र भने बनाएको छैन ।
म तिमीसँग फुलाएका दुई वसन्तको याद गर्दै बस्न वाध्य छु । तिमीले आत्महत्या गरेर आफूलाई मात्रै दण्ड दिइनौ । ममार्फत् मेरो खान्दानकै मुहार पोतिदियौ । पोतिएको मुहार लिएर धरती टेक्न विवस छु ।
nandalalacharya@gmail.com

No comments:
Post a Comment