पुस्तक चर्चा
➤➤➤➤➤
कुरा ‘पुण्य कार्कीको कथाकारिता’ कृतिको
–लक्ष्मी रिजाल
नेपाली र मैथिली साहित्यमा नाटक, एकाङ्की, आख्यान, निबन्ध, कविता र समालोचना फाँटमा उदाउँदै गरेका उदयपुरे प्रतिभाको नाम हो– नन्दलाल आचार्य । विगत अढाई÷तीन दशक अघिदेखि अविराम अक्षर साधनामै निर्लिप्त डुबिरहेका सर्जक नन्दलाल आचार्य (२०३०) पेशाले शिक्षक हुन् । अखवारी लेखनमा समेत उत्तिकै अब्बल आचार्य विशेष गरी शैक्षिक र शैक्षणिक लेखहरूमा दख्खल राख्छन् ।
विभिन्न साहित्यिक पत्र–पत्रिकाहरूमा आबद्धता जनाउँदै सम्पादनको समेत भूमिका निर्वाह गरेका उनले साहित्यिक र अखवारी स्तम्भहरू र क्षेत्रमा धेरै ओटा पुरस्कारहरू समेत प्राप्त गरेका छन् । २०६७ सालमा ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक÷एकाङ्की सङ्ग्रह, २०७६ मा ‘गरुराहा’ नामक उपन्यास, सन् २०२१ मा ‘एक हाते जीवन’ (निबन्ध सङ्ग्रह) प्रकाशन गराएका आचार्यको प्रस्तुत ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचना सङ्ग्रह) चौथो कृति हो । आचार्यको ‘समय–शल्यव्रिmया’ (कथासङ्ग्रह), ‘इच्छुक–बकपत्र’ (निबन्ध सङ्ग्रह), जुइनो (कथासङ्ग्रह) ‘टुक्के दिदी र उखाने दाइ’ (बाल–एकाङ्की सङ्ग्रह) प्रकाशनार्थ प्रेसमा पुगेका र प्रकाशनको लहरमा बसेका छन् ।
समालोचक स्वयम्मा सत्यको अन्वेषक यात्री हो । यसले रजहाँसलेजस्तो दूधको दूध पानीको पानी छुट्याउने सामथ्र्य राख्तछ । रचना र कृतिभित्र छिरेर सूक्ष्म नजरले गुणदोष पर्गेल्नु समीक्षक÷समालोचकको मूल धर्म हो ।
यसमा आग्रह र पूर्वाग्रहको अलिकति पनि छाया प¥यो भने ऊ आफ्नो धर्मबाट च्यूत रहने सम्भावना सधैँ विद्यमान रहन्छ । नियतवस कसैलाई खुशी बनाउन या खुइल्याउन लेखिएका समीक्षा र समालोचनाहरू समालोचकीय मर्मबाट ओझेल पर्न सक्छन् । नेपाली साहित्यमा समालोचना फाँट बञ्जर र संंकुचनमा पर्दै गएको प्रदोषकालमा नन्दलाल आचार्यको समालोचनात्मक कृति प्रकाशन भएको हो ।
मोफसलमै रहेर कलम चलाइरहेका कथाकार पुण्य कार्कीका ६ वटा कथा सङ्ग्रहहरूको सम्यक निरीक्षण÷परीक्षण गरी तयार भएको सङ्ग्रहमा पाँच समीक्षात्मक आलेखहरू संकलन गरिएको छ ।
कृतिको प्रकाशकीयमा भनिएको छ– समालोचनाले सत्यसित सरोकार राख्तछ । त्यसैले समालोचकीय कार्य सहज र सजिलो छैन । अनेकौँ घुम्ती र कुइनेटाहरूबाट गुज्रँदै उनले यी आलेखहरू रचेका छन् । समालोचक हमेसा एउटा न एउटा चुनौती र जोखिमबाट गुज्रिरहेको हुन्छ । त्यो जोखिम बहन गर्नसक्ने उनको
क्षमतालाई साधुवाद छ । यो कृति जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुरलाई प्रकाशन गर्ने जिम्मेवारी दिएकामा अनुगृहित छौँ । (पृष्ठ– घ)
श्री त्रियुगा जनता बहुमुखी क्याम्पस, त्रियुगा नगरपालिका– ३, मोतीगडा, उदयपुरका सहायक क्याम्पस प्रमुख टीकाप्रसाद पौडेलको ‘अनेक लेखको एकीकृत सङ्ग्रह ः सतही सर्वेक्षण’ शीर्षकको भूमिकामा समालोचनात्मक कार्यको चर्चा गर्दै भनिएको छ– समालोचनात्मक कार्य लिखित कृतिको चिरफार र पुनः लेखन हो । यस कार्यले समीक्षित कृतिको गुण दोष मात्र केलाउने नभई समालोचकले कुन विश्वदृष्टिले हेर्ने र केलाउने भन्ने कुराले बढी महत्त्व राख्दछ । समीक्षकको फरक विश्वदृष्टिका कारण एउटै रचनाबाट फरक आस्वादन ग्रहण गर्न सकिन्छ । (पृष्ठ– ङ)
प्राज्ञिक जगत्मा पछिल्लो समयमा अनुसन्धानात्मक लेखको महत्त्व बढ्दै गएको पाइन्छ । अरू सामान्य समीक्षा वा समालोचनाको जस्तो नभई यसको विल्कुलै फरक ढाँचाकाँचा रहेको छ । यस कृतिमा समेत पछिल्ला चरणमा विकसित सिद्धान्तलाई मुख्य आधार मानिएको छ । विविध विज्ञसमीक्षित अनुसन्धानात्मक लेखमा रहेको संरचना र प्रस्तुति ढाँचाको साझा मापदण्डको पहिचान गरी यस कृतिमा त्यसको प्रयोग गरिएको छ ।
अहिले आएर यस किसिमका लेखलाई विज्ञसमीक्षित लेख (पियर रिभ्यु आर्टिकल) भनिने गरिएको छ । यसमा विशेष गरी सन् २०१० मा प्रकाशित एपीए ढाँचाअनुसार धेरै काम गरिएको छ । अनुसन्धेय विषयमा निश्चित समस्याको समाधान खोज्ने उद्देश्यले अनुसन्धान गरिएको हुन्छ ।
विज्ञसमीक्षित लेखमा सर्वप्रथम अनुसन्धेय लेखको शीर्षक राख्ने नियम छ । यस कृतिमा शीर्षक राख्ता क्षेत्र, विषय, समस्याको उठान गरिनुका साथै निष्कर्षको समेत सङ्केत होस् भन्ने ठानेर काम गरिएको छ अर्थात्् शीर्षक चयन गर्दा समग्र लेखको परिचय, समस्या र निष्कर्ष समेट्ने कोशिस भएको छ । यस कृतिमा राखिएका शीर्षक सकभर छोटो, छरितो र स्पष्ट, समाधानमुखी, उपयोगी र सार्थक बनून् भनेर प्रयत्न गरिएको छ ।
दोस्रोमा ‘सारसंक्षेप’ समेट्ने काम गरिएको छ । त्यसका लागि समेटिएका अनुसन्धेय लेखहरूमा समस्याको समाधान गर्ने व्रmममा उद्देश्य प्राप्त गर्न सके नसकेको, शीर्षक अनुसारको लेख उपयोगी छ छैन भनी प्रारम्भिक परिचय दिनको लागि लेखसार प्रस्तुत गरिएको छ । यसमा लेखको विषय वा क्षेत्र, मूल समस्या, समाधानका विधि, विषय विश्लेषण तौरतरिका, लेखले पाठकलाई दिएको कुरा, अनुसन्धानमा लागेको समय, श्रम र पूँजीको लागतको कुरो, पूर्वज्ञानको सन्दर्भ, भविष्यका लागि दिएको योगदान समेटेर लेखसार तयार पारिएको छ ।
यस कृतिमा जानकारीमूलक र वर्णनात्मक गरी दुबै थरी लेखसारको उपयोग गर्न खोजिएको छ । जानकारीमूलक लेखसारमा शोधकार्यको महत्त्व, कारण, परिणाम तथा निष्कर्ष समेटिएको छ । अर्कातिर वर्णनात्मक शोधसारमा किन, कसरी जस्ता प्रश्नको जवाफ खोजिएको छ अर्थात्् लेखसारमा केके गरेँ; केके छन् भन्ने प्रश्नमा केन्द्रित छ ।
तेस्रो भागमा अनुसन्धेय लेखमा प्रयुक्त पारिभाषिक शब्दहरू ‘शब्दकुञ्जिका’ मा समेट्ने काम गरिएको छ । लेखमा नयाँनयाँ शब्द पनि प्रयोग भएका हुनसक्छन् तिनको ज्ञान पाठकलाई हुनुपर्छ
भन्ने ध्येयले लेख पढ्न र बुझ्न पाठकलाई सहज होस् भनेर सहजीकरणस्वरूप शब्दकुञ्जिकाको प्रयोग गर्ने नियमलाई पनि अबलम्बन गरिएको छ ।
विषय प्रवेश सामग्री सङ्कलन र विश्लेषणका लागि अध्ययन विधिको जरुरत पर्दछ । शोध समस्याको हल के–कसरी गर्ने भन्ने समस्याको समाधानका लागि अध्ययन विधिको प्रयोग गरिएको छ । अनुसन्धेय लेखलाई वैध, विश्वसनीय, व्यवहारिक, प्रामाणिक, औचित्यपूर्ण, वैज्ञानिक सुझबुझयुक्त बनाउनका लागि अध्ययन विधिको उपयोग गरिने कुरोलाई ख्याल गरिएको छ । उपयुक्त किसिमको सामग्री छनौट र परीक्षण गर्न समेत अध्ययन विधिको प्रयोग गरिएको छ ।
यस कृतिमा प्राथमिक र द्वितीय गरी दुबै स्रोतबाट शोधकार्य पूरा गरिएको छ । पहिलो पटक आफूले मात्र प्रयोग गरेको सामग्रीलाई प्राथमिक स्रोत सामग्री भनिन्छ । पहिले अरूले उपयोग गरेका सामग्रीहरू आफूले पुनः प्रयोग गरेमा ती सामग्री द्वितीय स्रोत सामग्री कहलाउँछन् । प्राचीन अभिलेख, क्षेत्रीय अध्ययन, जनसम्पर्क, अन्तर्वार्ता, प्रश्नावली, अवलोकन, घटनावृत, अभिलेख आदिको उपयोगबाट प्राथमिक स्रोतका सामग्री सङ्कलन गरिएको छ । त्यस्तै आवश्यकता अनुसार पुस्तकहरू, समाचारपत्र, जर्नलहरू, अध्ययन प्रतिवेदन, अनुसन्धान ग्रन्थ, विभिन्न प्रकारका दस्तावेजहरूलाई द्वितीय स्रोत सामग्रीका रूपमा उपयोग गरिएको छ ।
यसरी सामग्री सङ्कलन, छनौट र स्तरण गरेपछि समस्यामा आधारित भएर गरिने आधार नै अध्ययन तथा विश्लेषणको आधार हो । साहित्यिक क्षेत्रमा विद्यमान विभिन्न सिद्धान्त, वाद, प्रणाली वा धारणाका बारेमा अध्ययन र विश्लेषण गरिएकोे छ । अन्तमा प्राक्कल्पना वा उद्देश्य पूरा भएको प्रमाणीकरण गर्ने अङ्गका रूपमा निष्कर्ष समेटिएको छ । यस कृतिको आलेख लेखनमा मूलतः एपिए ढाँचाको प्रयोग गरिएको छ ।
समालोचक नन्दलाल आचार्यको ‘पुण्य कार्कीका ६ कथाकृति एक पुस्तकभित्र’ शीर्षकको भूमिका लेखमा भनिएको छ– स्रष्टा कार्कीको लेखकीय मन निरीह वर्गप्रति कोमल छ; उनी सहानुभूतिपूर्वक लचकदार शब्द प्रयोग गरेर सुम्सुम्याउन, धाप मार्न र थपथपाउन पुग्दछन् तर सामन्त र दलाल वर्गप्रति ज्यादै कठोर छ । त्यस्ताका लागि अग्निवर्षा गर्दछन्; चट्टानको पहाड बनेर खडा भइदिन्छन् । उनका कथाले सार्थक संसारको परिकल्पना गरेका छन् । उनले कथामार्फत नै आशावादी भविष्यको चाहना व्यक्त गरेका छन् । उनले कथाको कुची पव्रmेर पाठसँग भलाकुसारी गरेका छन् । शब्द चयनमा पारखी छन् । उनले प्रयोग गरेका शब्दहरूले न्यायमा बस्नेलाई आत्मगौरवले ढक्क छाती फुलाउने बनाउँछन्; न्याय कुल्चेर राज गर्नेहरूलाई भने व्यङ्ग्य वाण प्रहार गरी घायल बनाई मरेतुल्य तुल्याउँछन् र अँध्यारो मुख लगाउने गराउँछन् ।
आचार्यले अगाडिको लेखमा भनेका छन्– पुण्य कार्की झिनो कथानकका माध्यमबाट नै अथाह कुरा ओकल्छन् । उनको कलमले छादेका शब्दहरू सुम्सुम्याउँदै चाट्न म धेरै पटक लालायित भएको छु । सानो कुरालाई पनि काइदाले भन्ने उनको कला ज्यादै अनुकरणीय छ । विषयवस्तु, पात्र, परिवेश आदिको चयनमा कार्कीले लोभलाग्दो यथार्थपन अंगालेका छन् । उनका प्रायः कथा घटना प्रधान छन् । ती घटनाले चसक्क मनमा सुइराले घोच्छन् । र; पाठक मनलाई समेत आल्लादित बनाउँछन् । उनका कथा
सत्यकथा हुनजस्तो लाग्छ । पाठकको मनमा संवेदना जगाएर मन्त्रमुग्ध पार्नसक्नु उनको कलाकारिताको बहादुरीपन हो ।
प्रस्तुत ‘पुण्य कार्कीको कथाकारिता’ समालोचना सङ्ग्रहमा ‘पुण्य कार्कीका कथागत प्रवृत्तिको निरुपण’, ‘पुण्य कार्कीका कथामा पौरस्त्य नीतिचेतना’, ‘करुण रसको आलोकमा अचितियाको लगौटी कथा’, ‘माक्र्सवादी वर्गसङ्घर्षको आलोकमा पुण्य कार्कीका कथा’ र ‘पुण्य कार्कीको बालकथाको शल्यक्रिया’ गरी पाँचवटा समालोचनात्मक लेख यस सङ्ग्रहमा समाविष्ट छन् ।
प्राज्ञिक लेखनको प्राविधिक ढाँचा अलवम्वन गरिएको प्रथम आलेखको मूल अभिप्राय पुण्य कार्कीका कथागत प्रवृतिको निरूपण गर्नु हो । यस आलेखअनुसार जनयुद्धका विषयवस्तुप्रतिको झुकाव, युगीन यथार्थको प्रतिविम्वन, अग्रगामी क्रान्ति सचेत पात्रको प्रयोग, सामयिक यथार्थको प्रस्तुति, ठेट जनबोली र स्वाभाविक संवादको उपयोग, प्रगतिशीलताजस्ता प्रवृत्तिगत विशेषताका धनी कथाकारका रूपमा पुण्य कार्कीलाई चिनाइएको छ । कथाकार कार्कीलार्ई सामाजिक आर्थिक विभेद र विसङ्गतिको खरो विरोधीका रूपमा देखाइएको छ । सबैै किसिमका विभेद तथा सामाजिक विदु्रप पक्षको अन्त्य गर्न क्रान्तिचेतना आवश्यक हुने ठहर गर्दै क्रान्ति र परिवर्तनप्रति आस्था एवं विश्वास राखेर कलम चलाउने कथाकारका रूपमा पुण्य कार्कीको मूल्याङ्कन गरिएको पाइन्छ ।
कृतिको दोस्रो आलेख ‘पुण्य कार्कीको कथामा पौरस्त्य नीतिचेतना’ शीर्षकमा तयार गरिएको छ । यस आलेखमा आचार्यद्वारा पूर्वीय दर्शनका विभिन्न पक्षमाथि प्रकाश पार्नुका साथै दर्शन र मानजीवनको सम्बन्ध समेत केलाउने प्रयास गरिएको छ । विशेष गरी पूर्वीय दर्शनका नीतिगत तथा व्यावहारिक पाटाका विभिन्न सन्दर्भ कथाकार पुण्य कार्कीका कथाबाट खोजी गर्ने पूर्वाधार पौरस्त्य समाजको परिचय उपशीर्षकबाट तयार पारिएको छ । पौरस्त्य नीतिचेतना युक्त पात्र प्रयोग र पौरस्त्य नीतिचेतना बारे लेखकीय पक्षधरताको खोजीलाई यस आलेखको उद्देश्य बनाइएको देखिन्छ । यस उद्देश्यको परिपूर्तिका लागि प्राथमिक र द्वितीय स्रोतका सामग्री प्रयोग भएका देखिन्छ । पुस्तकालयीय कार्यबाट नै सामग्रीको जोहो गरिएको पाइन्छ ।
दोस्रो समालोचनात्मक लेखमा पुण्य कार्कीद्वारा रचित ‘जून, जुने, जुनेली रात’ कथा सङ्ग्रह (२०७५) का ‘नन्दु सर’, ‘अतृप्ति’, ‘बँदेल प्रेम’, ‘योगीका सपना’ र ‘रामहरिको गुन’ कथामा अन्तर्निहित सामाजिक नीतिचेतनालाई कथानक, चरित्र विधान, परिवेश निर्धारण र उद्देश्यका सापेक्षतामा सूक्ष्म ढङ्गले केलाउने प्रयास भएको छ । सामाजिक सांस्कृतिक पक्षका आधारमा प्रगतिवादी कथामा समेत नीतिचेतनाको खोजी गर्दै पुण्य कार्कीका कथामा कल्पवृक्षको जादुगरी आस्वादनीय गुण विद्यमान रहेको देखाइएको छ ।
तेस्रो लेखअन्तर्गत करुण रसको आलोकमा ‘अनचितियाको लगौटी’ कथाको विश्लेषण गरिएको छ । यसका लागि रससिद्धान्तको सामान्य चर्चा, करुण रसको परिचय प्रस्तुत गरिसकेपछि कथानक, पात्र चयन, परिवेश विधान उद्देश्य निर्धारण भाषा प्रयोगका क्षेत्रमा घटित करुण रसको चर्चा गरिएको छ । प्रस्तुत ‘अनचितियाको लगौँटी’ प्रगतिवादी धारको क्रान्तिसचेत कथा हो । यसमा पनि समीक्षक आचार्यबाट साहित्यसिद्धान्तका कसीमा घोटी करुणरसका सापेक्षतामा सफल विश्लेषण भएको छ ।

No comments:
Post a Comment