Saturday, August 30, 2025

चट्याङ मास्टरको कवितामा बुढ्यौली सौन्दर्य ✍️ नन्दलाल आचार्य

(निसमालोचना)
चट्याङ मास्टरको कवितामा बुढ्यौली सौन्दर्य 
✍️ नन्दलाल आचार्य 

१. कवि परिचय-
कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ नेपाली कवितामा करुण-यथार्थवादी दृष्टिकोण बोकेर उदाएका कवि हुन् । ग्रामीण जीवनका सुखदुःख, मध्यमवर्गीय वृद्धवृद्धाको नियति, समाजका विडम्बना र आस्थाको आलम्बलाई उनी कलात्मक शब्दमा उतार्छन् । “चट्याङ” शब्दले सङ्केत गरेझैँ उनको कविता तुरुन्तै हृदयमा चोट पुर्‍याउने, तत्कालै मनलाई हल्लाउने खालको छ । जीवनका भोगाइलाई सरल, सहज र व्यङ्ग्यमिश्रित शैलीमा प्रस्तुत गर्ने उनको विशेषता हो ।

२. कविका विशेषता र कविताको भावार्थ-
"उता कृष्ण, कृष्ण, यता राधे, राधे" शीर्षकको कृष्णमुरारी गौतम 'चट्याङ मास्टर'द्वारा लिखित कवितामा समाजको सरल तर गहिरो यथार्थ-चित्रण गरिएको छ । करुण र व्यङ्ग्यको सम्मिश्रण गरेर वृद्ध जीवनको पीडा र भावुकता समेटिएको छ । आस्था, धर्म र मानवीय भावनाको आलम्ब गरिएको छ । छोटा वाक्य, पुनरावृत्तिले सिर्जित लयात्मकताले पाठकको मन अपहरण गर्न पुग्छ ।
कविताले वृद्धावस्थाको एक्लोपनलाई करुण र व्यङ्ग्यपूर्ण ढङ्गले उजागर गरेको छ । छोराछोरी जागिरको धपेडीमा छन्, नातिनातिना स्कुलको दौडधुपमा छन् । घरमा बाँकी छन् त बूढाबूढी मात्र, तर उनीहरू पनि एउटै घरभित्र हैनन्, आआफ्नै परिबारको पर्खालभित्र छटपटाइरहेका छन् ।
“बूढो उता जान मिलेन, बूढी यता आउन मिलेन” भन्ने यो पंक्तिले वृद्धावस्थाको विडम्बना स्पष्ट गर्छ । आफ्नै सन्तान नै बाधा बनेका छन्; यथार्थमा जीवनको उत्तरार्धमा सहारा चाहिने बेलामा तिनै सन्तानका जिम्मेवारीले अभिभावकहरूलाई टाढा पारिदिन्छ ।
बूढो राति खोकेर सङ्केत गर्छ, बूढीले बत्ती बालेर प्रत्युत्तर दिन्छिन् । एक अर्कामा भेट हुन नसके पनि उनीहरूको मनको संवादलाई कविले कृष्ण-राधाको भजनमार्फत लयमा प्रस्तुत गरेका छन् ।
“उता कृष्ण, कृष्ण; यता राधे, राधे” -यस पुनरावृत्तिले वृद्धहरूको अन्तिम सहारा भगवान् र आपसी आत्मीयता मात्रै भएको देखाउँछ ।
तनमा रोगको पीडा छ, मनमा एक्लोपनको आगो छ । तर पनि जीवनलाई युद्धसरह लडिरहेका छन् उनीहरू । युद्धमा कसैले जित्दैनन्, यसरी नै वृद्ध जीवन पनि एक अन्तहीन युद्धजस्तै बनेको छ । न त भेट सम्भव, न त परित्याग सहज ।
कविताले अन्ततः यही भन्छ- धन, सुविधाभन्दा बढी वृद्धावस्थामा चाहिने कुरा आत्मीयताको साथ हो । तर समाजमा वृद्धहरू आत्मीयताको अभावमा, देवताको नाम जपेर मात्र जीवन तानिरहेका छन् ।

३. चट्याङ मास्टरको "उता कृष्ण, कृष्ण, यता राधे, राधे" कविताको पाठ्य रूप-
छोरा बुहारी जागिर खान गए
नाति नातिना स्कुल पढ्न गए
 यता घरमा बूढो दिनभर एक्लै व्याकुल छ 
उता पल्लाघरे बूढीको पनि त्यही हाल छ ।
परिवार ठूलो छ, बूढो एक्लै छ
इस्टमित्र धेरै छन्, बूढी एक्लै छ ।
बूढो उता जान मिलेन, बूढीका सन्तान छन् 
बूढी यता आउन मिलेन, बूढाका सन्तान छन् ।
राति झ्याल खोलेर बूढो ख्वाक्क खोक्छ 
उता बूढीको कोठामा बत्ती ट्वाक्क बल्छ 
बूढो हत्तपत्त चस्मा खोज्न थाल्छ 
बूढी हत्तपत्त मुखमा दाँत कोच्न थाल्छिन् ।
दाँत कोचिसकेर बूढी 'हे कृष्ण' भन्छिन्
चस्मा लगाई सकेर बूढो 'राधे राधे' भन्छ
उता कृष्ण कृष्ण यता राधे राधे 
भजनमै बिते रात सबै कष्ट भागे ।
उता दमको स्याँस्याँ यता बाथ दुख्छ
साझा एक्लोपनले दुवैलाई पोल्छ । 
सुते सन्तति सब, पीडाले यी जागे 
उता कृष्ण कृष्ण, यता राधे राधे ।
दुवैलाई सबै थोक पुगेकै छ घरमा
तन मन जलेको खरानी जगत्मा 
दुवैले जीवनलाई नजिकै बोलाए 
उता कृष्ण कृष्ण, यता राधे राधे ।
हरेक पल छ युद्ध जीवन जित्नलाई 
हरेक पल छ मृत्यु जीवन जित्नलाई 
दुवैले दुवैको जीवनज्योति बाले 
उता कृष्ण कृष्ण, यता राधे राधे ।
अनौठो त्यो युद्ध न जित्नु छ कहिल्यै
 अनौठा यी प्रेमी न भेट्नु छ कहिल्यै 
सहारा खोजी यो जीवन गीत गाए 
उता कृष्ण कृष्ण, यता राधे राधे ।
(साभार- चट्याङ गीता (छैटौं) पृष्ठ- १९१ र १९२)

४. कवितामा मेरो आत्मानुभूति -
कविता पढ्दा म अनायासै आफ्ना बुबाको दिनचर्या सम्झन पुग्छु । कविता ‘उता कृष्ण, कृष्ण ! यता राधे, राधे !!’ भित्र चित्रित बूढाबूढीको एकलपन, आन्तरिक पीडा, र आफूभित्रको अडान देख्दा, म बुबाको अनुहारमा देखिएको निरास र मौनतासँग प्रत्यक्ष मिलान गर्छु । बुबाले साँझपख झ्यालको छेस्किनी उचालेर धुलो झरेको सुकेको पातजस्तो चश्मा लगाउँदा, उहाँको आत्मामा पनि यही ‘उता कृष्ण कृष्ण, यता राधे राधे’ को भजन गुन्जिरहेको हुन्छ कि भन्ने लाग्छ ।
बुढ्यौली कुनै दिन अचानक आउँदैन, तर कुनै न कुनै दिन यसले पूर्ण वास ओगटिसकेको अनुभव हुन्छ । बुबाको जीवनमा पनि यो क्रमशः आयो । बालबालिका हुर्किए, पढ्न गयो, रोजगारीको चक्करमा शहर र मुलुक परपर पस्न थाले । घर अझै ठूलो छ, सबै सुविधाले भरिपूर्ण छ, तर बुबाको अन्तर्यामी चहलपहल दिनदिनै खुम्चिँदै गएको छ । दिनभर कोठाभित्र कपालका सेता रेखा, शरीरको पुरानो नक्सा, औषधिको डब्बा र पुरानो रेडियो मात्रै सङ्गत बन्ने गर्छ । बाहिर चहलपहल छ, तर उहाँको हृदय शून्यताले भरिएको छ । कविता भन्छ- “परिवार ठूलो छ, बूढो एक्लै छ ।” यो पङ्क्ति मैले आफ्नै घरको आँगनमा देखेको हरेक साँझको निःशब्दता हो ।
मलाई याद छ- बिहान सबेरै हामी सबै आआफ्नो काममा लाग्छौं । बुबा टकटक गर्दै भर्‍याङबाट ओरालिनुहुन्छ, हातमा टेकेको लठी सानो छडी मात्र होइन, उहाँको जीवनसम्बल जस्तै लाग्छ । बिहानको चिया लिन उहाँ टेबुलमा बस्नुभयो भने, वरिपरि बच्चाहरू खालि कुर्सीहरूमा नदेखिँदा उहाँको अनुहारमा हल्का निराशा आउँछ । तर त्यो निराशालाई छोपेर उहाँ गह्रौं स्वरमा भन्नुहुन्छ; “जाओ, तिमीहरू ढिलो नगर, बच्चाहरू ढिलो नगरी स्कुल जाऊन् ।” स्वरमा प्रेम हुन्छ, तर मनमा खालीपन ।
कवितामा बूढाबूढी दुवैको आकाशलाई छुट्याउने व्यथा छ । उता बूढी आफ्नै सन्तानबीच छिन्, यता बूढो आफ्नै सन्तानबीच । तर एउटै पीडा, एउटै शून्य, एउटै चाहना साथी हुने । म बुबाको अनुहार हेर्दा त्यो चाहना प्रस्ट देख्छु । उहाँलाई साथी चाहिन्छ, भलै त्यो साथी जीवनका साना कुरा मात्र साट्ने भए पनि । किनकि बुढ्यौलीको ठूलो समस्या भनेकै बोल्ने कान नपाउनु हो ।
साँझपख हाम्रा बुबाले कहिलेकाहीँ रेडियो खोलेर भजन सुन्नुहुन्छ । रेडियोको धुनसँगै उहाँको ओठमा पनि हल्का उच्चारण आउँछ- “राधे राधे, कृष्ण कृष्ण”। मलाई लाग्छ, यो केवल धर्मप्रति आस्था मात्र होइन, बरु त्यो एकान्ततामा आत्मा ननिस्कियोस् भन्ने डर हो । रातको शून्यतामा यही मन्त्र उहाँका लागि आत्मरक्षा हो ।
 कविता भन्छ- “दुवैलाई सबै थोक पुगेकै छ घरमा, तन मन जलेको खरानी जगत्मा ।” बुबाकै जीवनमा म देख्छु- सबै छ, तर केही छैन । सुखको परिभाषा सुविधाभन्दा बढी सहजीवनमा अडिएको हुन्छ ।
राति बुबाले कहिलेकाहीँ खोक्दा हामी छिटो जाग्छौं । उहाँलाई पानी दिएर सोध्छौं- “बाबा, ठिक छ ?” उहाँ भन्नुहुन्छ- “ठिकै छ ।” तर त्यो ‘ठिकै छ’ मा असीम पीडा लुकेको हुन्छ । उहाँले हामीलाई झन्झट बनाउन खोज्नुहुन्न । तर उहाँकै उमेरकी बूढी कतै अर्को घरमा यही पीडा बोकेर कहिले दाँत कोच्दै, कहिले औषधि खाँदै ‘हे कृष्ण’ भन्दी बसिरहेकी छिन् । कविताले जसरी चित्रण गरेको छ, त्यसैगरी जीवनमा वास्तविकता दोहोरिएको छ ।
मलाई कहिलेकाहीँ लाग्छ, बुबा हामीसँगै घरमा भए पनि, उहाँ एक पृथक द्वीपजस्तो हुनुहुन्छ । हामी हाम्रो व्यस्त जीवनमा डुब्छौं, उहाँ एकान्तको भजनमा । जीवनको हरेक विन्दुमा मृत्युको छायाँलाई टार्न उहाँले मन्त्र उच्चारण गर्नुभयो, ‘राधे राधे’। कविता भन्छ; “हरेक पल छ युद्ध जीवन जित्नलाई, हरेक पल छ मृत्यु जीवन जित्नलाई ।” यो पङ्क्ति बुबाको साससँगै मिसिएको सत्य हो ।
म बुबालाई हेर्दा जीवनको गहिरो व्यङ्ग्य देख्छु, जसको लागि सबै जिउँदैनन्, तर जसले सबैलाई हुर्कायो, अन्ततः ऊ आफैँ जीवनसँग लड्दै बस्नुपर्छ । यो लडाइँ कसैसँगको होइन, आफ्नै शून्यताको विरुद्ध हो । यो युद्ध अनौठो छ, किनभने यसलाई जित्नु हुँदैन, हार्नु पनि हुँदैन । केवल टार्दै बाँचिरहनुपर्छ ।
कविताले बुढ्यौलीको पीडा मात्र चित्रण गरेको छैन, यो हाम्रो परिवारको दैनिकी नै खोतलेको छ । हामी बुहारीहरूले जब काममा व्यस्त हुन्छौं, तब बुबा त्यहीँ अडिएको कुर्सीमा छाती समात्दै बिस्तारै चुस्की लिँदै चिया पिउँछन् । उहाँलाई बुझ्ने आँखाहरू प्रायः टाढा हुन्छन् । अनि उहाँ रेडियोमा सुनिएको भजनलाई आफ्नै स्वरमा बन्छन्- “उता कृष्ण कृष्ण, यता राधे राधे ।”
जीवनको उत्तरार्धमा पुग्दा मानिसलाई आफूलाई बुझ्ने एउटा साथी मात्र चाहिन्छ । तर हाम्रो समाजले बूढाबूढीलाई विभाजित गरिदिन्छ- सन्तानका घर, नातिनातिनाका पढाइ, जागिरको दौडधुप । जसले गर्दा दुई बूढा आत्माहरूबीच पनि दूरी खिचिन्छ । यो दूरी केवल भौगोलिक मात्र होइन, समय र संस्कारको विभाजन पनि हो ।
म बुबाको जीवन हेर्दा कविताको अन्तिम सत्य प्रस्ट महसुस गर्छु- “अनौठो त्यो युद्ध न जित्नु छ कहिल्यै, अनौठा यी प्रेमी न भेट्नु छ कहिल्यै ।” उहाँको जीवन यही युद्ध हो, यही अधुरोपन हो ।
यस निसमालोचनामा मैले आफ्नो आँखाले देखेको बुबाको जीवन र कविताको बिम्बलाई मिलाउने प्रयास गरेँ । कविता कुनै कल्पना होइन, यो त हाम्रो आँगनमा प्रत्येक दिन दोहोरिँदै जाने मौन गीत हो । बुबाले ‘राधे राधे’ भन्नु, बूढीले ‘कृष्ण कृष्ण’ भन्नु दुवै जीवनको शून्यतासँग लड्ने अस्त्र हुन् ।
बुढ्यौली एकल जीवनको सत्य हो; जहाँ प्रेम भेटिँदैन, तर सम्झना मात्र बाँकी रहन्छ । जहाँ सबै थोक पुग्छ, तर आत्मा खाली रहन्छ । जहाँ सहारा खोजिन्छ, तर केवल प्रतिध्वनि मात्र सुन्न पाइन्छ; “उता कृष्ण, कृष्ण! यता राधे, राधे!!”

५.  निस्कर्ष :
कविता “उता कृष्ण, कृष्ण; यता राधे, राधे” वृद्धवृद्धाको विडम्बना, एक्लोपन र अन्तिम दिनमा आत्मीयताको अभावको मार्मिक अभिव्यक्ति हो । चट्याङ मास्टरले यसलाई व्यङ्ग्यमिश्रित करुण शैलीमा चित्रण गर्दै पाठकको हृदयमा चोट पुर्‍याएका छन् ।
कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’ को कविता “उता कृष्ण, कृष्ण; यता राधे, राधे” वृद्धावस्थाको असल दर्पण हो । यसमा केवल दुई पात्र बूढो र बूढी प्रस्तुत भए पनि त्यसको पृष्ठभूमिमा आजको ठूलो सामाजिक यथार्थ उभिएको छ । सन्तानका व्यस्त जीवनले पिँढी पिँढीबीच दूरी सिर्जना गरेको छ । आफूले जन्माएको र हुर्काएको घरमै आफ्नै वृद्ध अभिभावकलाई पराईझैँ पार्ने प्रवृत्ति कविताले घोच्ने शैलीमा देखाएको छ ।
कविले करुण र व्यङ्ग्यलाई मिसाएर देखाएका छन्, धन र सुविधा पुगे पनि आत्मीयताको अभावले वृद्धावस्था असह्य हुन्छ । “बूढो उता, बूढी यता” भन्ने स्थिति केवल व्यक्तिगत पीडा मात्र नभई हाम्रो सामूहिक सामाजिक रोग हो । वृद्धहरूले अन्तिममा साहारा पाउने ठाउँ भनेको देवताको नाम र आन्तरिक आत्मीयता मात्रै हो । त्यसैले, “उता कृष्ण, कृष्ण; यता राधे, राधे” भन्ने जप मात्र उनीहरूको आत्मशक्ति र जीवन टिकाउने आधार बनेको छ ।
यसरी, कविताले यो सन्देश दिन्छ- वृद्ध जीवनलाई केवल धनले हैन, आत्मीय सहारा र नजिकको उपस्थितिले मात्र सहज बनाउन सकिन्छ ।
 सन्तानका जिम्मेवारीले होइन, अभिभावक प्रतिको स्नेह र सेवाभावले मात्र वृद्धावस्था उज्यालो हुन्छ ।
यस अर्थमा, यो कविता केवल बूढाबूढीको करुण कथा होइन, हाम्रो समाजलाई चेतावनी दिने दर्पण हो ।
०००
२०८२/५/१४


Tuesday, August 26, 2025

Teej Short Story Discussion-1406 🛑 Dhir Kr Shrestha, Garima Acharya, Sha...


तीजका लघुकथा विमर्श-१४०६ 🛑 धीरकुमार श्रेष्ठ, गरिमा आचार्य, शंकर, सत्यजीत, समर भण्डारी “Teej Short Story Discussion – 1406 🛑 Dhir Kumar Shrestha, Garima Acharya, Shankar, Satyajit, Samar Bhandari”

Monday, August 25, 2025

🛑 Punya Karki’s Short Story Discussion-1405 ✍️Sanjita✍️ Laxmi Rijal✍️ S...

तीजका लघुकथा सुनौँ, गमौँ र गीतसँगै नाचौँ । तीजको शुभकामना ।
🛑 लघुकथा विमर्श-१४०५ ✍️ संजिता भट्टराई ✍️ लक्ष्मी रिजाल ✍️सोम कुमार सुब्बा ✍ पुण्य कार्की ❀ रचना शर्मा
🛑 Punya Karki’s Short Story Discussion – 1405 ✍️ Sanjita Bhattarai ✍️ Laxmi Rijal
✍️ Som Kumar Subba ❀ Rachana Sharma

Sunday, August 17, 2025

नन्दलाल आचार्यकको साहित्यिक परिचय


स्रष्टा परिचय

१. नाउँ/जन्म/जन्मस्थान– नन्दलाल आचार्य
२०३० असार २८ (जुलाई १२, १९७३), जहडा, उदयपुर
२. माता/पिता– भगवती÷विष्णुप्रसाद आचार्य
३. ठेगाना– बेलका नगरपालिका–२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर
४. सम्प्रति–  शिक्षक, श्री जनता मावि, गोलबजार–४, सिरहा
५. शिक्षा– एम. एड. (नेपाली)
७. प्रकाशित कृति सूची
✍‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ नाटक÷एकाङ्कीसङ्ग्रह, २०६७ प्रकाशक– लक्ष्मी रिजाल, उदयपुर
✍‘गरूराहा’ उपन्यास– २०७६, प्रकाशक– जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुर
✍‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह) २०७७, प्रकाशक– जामुनलाल स्मृति प्रतिष्ठान, उदयपुर
✍‘एक हाते जीवन’ (निबन्धसङ्ग्रह) २०२१, प्रकाशक– नवारम्भ प्रकाशन, मधुवनी÷पटना, भारत
✍लौरो (लघुकथासङ्ग्रह) २०८१, प्रकाशक– शब्दाङ्कुर साहित्यप्रधान मासिक, काठमाडौँ
✍शल्यक्रिया (कथा सङ्ग्रह) २०८२, शब्दाङ्कुर साहित्यप्रधान मासिक, काठमाडौँ

८. पुरस्कार, सम्मान, पदक, विभूषण, प्रशंसापत्र
✍‘चियाचौतारी रेडियो कथालेखन प्रतियोगिता’मा पुरस्कृत
✍‘द्वन्द्वनिवारण तथा शान्तिनिर्माणमा प्रत्यक्ष सहयोग पुग्ने’ लेखका लागि स्थानीय शान्ति समिति, सप्तरीद्वारा पुरस्कृत ।
✍शिक्षक मासिकको ‘साक्षरता नेपाल’मा सर्वोत्कृत लेखपुरस्कार,
✍विश्व नेपाली साहित्य महासंघ–२०७२ सम्मान,
✍बाह्रौँ अन्तर्राष्ट्रय मैथिली सम्मेलन मुम्मई–२०७२ ’मिथिलारत्न’ विभूषण
✍भानुभक्त आचार्य द्विशतवार्षिकी समारोह–२०७१ प्रशस्तिपत्र,
✍‘आजको शिक्षा’ साप्ताहिक, काठमाडौंबाट प्रशंसापत्र ।
✍सुरभि राष्ट्रिय कथा प्रतियोगिता–२०७६ ‘आजकी सीता’ कथा, प्रथम,
✍बाह्रखरी राष्ट्रिय कथा प्रतियोगिता–२०७७उत्कृष्ट कथा‘बँधुवा’ घोषित,
✍लघुकथा समाज, प्रदेश–१ को लघुकथा प्रतियोगिता–२०७८, प्रथम,
✍शब्दाङ्कुर राष्ट्रिय कथा प्रतियोगिता– २०८० द्वितीय,‘केटो’ कथा
✍लिट्ल फ्लावर मावि, राजविराज–२०७५ सम्मानपत्र
✍प्रगतिशील लेखक संघ उदयपुर– २०७५ सम्मानपत्र

९. साहित्यका बारेमा कार्य–
✍‘जनमत’ र ‘शब्दाङ्कुर’ साहित्यिक मासिक पत्रिका एवं सगरमाथा साहित्य परिषद्, विश्व नेपाली साहित्य महासंघ, उदयपुर साहित्य कला प्रतिष्ठान, गाईघाटको आजीवन सदस्य।
✍सगरमाथा साहित्य परिषद्को कार्यसमितिको सचिव ।
✍विश्व नेपाली साहित्यमहासंघको विश्वकार्य समिति (२०१६–२०१९) को केन्द्रीय सदस्य ।
✍लघुकथा प्रतिष्ठान, नेपालको सञ्चालक सदस्य
१०. सम्पर्क– ९८४२८२९२०६ nandalalacharya@gmail.com




Saturday, August 16, 2025

शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे)

शुक्रबारे कथा विमर्श-५ अन्तर्गत स्रोतकथा र उत्तरकथा (२०८२ भदौ ६ शुक्रबार, रातको ७ बजे) 

शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा Vs उत्तरकथा)
[विमर्शकलाई केवल तीन  प्रश्न- (१०/१२ मिनेटभित्र बुँदागत रूपमा उत्तरको अपेक्षा)
१. कथा लेखनका सन्दर्भमा दुबै कथाबाट हामी सिकारूले कुनकुन कुरा सिक्ने ?
२. उत्तरकथा लेखन कार्यले लेखकीय जीवनमा केकस्तो प्रभाव पार्ला ?
३. आफूले भन्न रुचाएका बाँकी कुरा केही छन् कि ?]

कथा प्रस्तुत हुने मिति, समय-      
२०८२ भदौ  ०६ गते शुक्रबार       
रातको ७:०० बजे ।      
विमर्शक-   
१.  खेमराज पोखरेल 
२. कुमार काफ्ले 
३. धीरकुमार श्रेष्ठ 
४. पुण्य कार्की 
५. दीपक लोहनी 
  
अतिथि पर्यवेक्षकहरू- (माथिका दुई कथा पढेर आफूलाई परेको प्रभाव, बुँदागत रूपमा २/३ मिनेटमा)
१. रमेन्द्र कोइराला, 
२. रमेशमोहन अधिकारी, 
३. मनोहर पोखरेल, 
४. लीलानाथ गौतम, 
५. कुमार दाहाल, 
६. समर भण्डारी, 
७. अन्जु शर्मा, 
८. विनिता गौतम, 
९. रामकृपाल महतो  
१०. रचना शर्मा 
११. खगेन्द्र बस्याल  ।   
   
संयोजक- अक्षान्त      
कथाकार- विश्वेश्वरप्रसाद कोइराला /अमर न्यौपाने     
प्रस्तोता- एन्जल निलु       
स्रोता तथा दर्शक-  तमाम्

कार्यक्रम हुने लिंक आख्यान विमर्श जमघट https://www.facebook.com/groups/1091301006121860

स्रोतकथा : मधेसतिर
 - विश्वेश्वरप्रसाद कोइराला 
सुनकोसी र तामाकोसीको संगममा बिहान भयो । सुनकोसी उत्तरबाट प्रशस्त वेगसँग बगेर आउँथ्यो । पूर्वतिरबाट तामाकोसीमा धागोजस्तो पातलो धारा लिएर आउँथ्यो र सुनकोसीमा मिसिन्थ्यो । सुनकोसीलाई तर्नसक्ने कोहीमात्र होलान्, तर तामाकोसीलाई दह्रो तिघ्रा भएको जसले पनि तर्न सक्थ्यो । यी दुवै नदीको किनारमा दुवैतिर हरियोपरियो केही उम्रेको थिएन । यिनको सम्मानार्थ रुखपातहरू टाढै उभिएजस्ता थिए ।
सूर्यको प्रथम किरण पर्नासाथ पृथ्वीका पाप्रा उप्केझैं गरेर नदीका किनारमा गुम्लुंग परेर सुतेका चार–पाँच जना उठे । उठ्नासाथ सबैका मनमा प्रश्न उठ्यो— पेट कसरी भर्ने ?
एउटाले अर्काको मनोभाव बुझेजस्तै गरेर सबै मुखामुख गर्न थाले । विधवाको दृष्टि गोरेमाथि थियो । उनले सबैलाई सम्बोधन गर्दै भनिन्, “होइन, तिमरु घरबाट हिँड्दा पेट भर्ने के उपाय गरेर हिँडेका थियौ ? के खाउँला भनी ठानेका थियौ ?”
सबैजना विधवाको कुराले विस्मित भए । भोटेले भन्यो, “मेरो त घरै छैन ”
बूढाले भन्यो, “मेरो थियो तर म अब घरबार नभएको छु । तर, नानी ! तिम्रो भए किन यहाँ आएकी त ?”
घरबार नभएका यी चार जना— माग्ने भनौं कि कुल्ली भनौं— काम पाए कुल्ली नत्र माग्ने—का माझमा घरबार भएकी विधवा हँसिली थिइन् । तिनले अन्नपूर्णझैं झट्ट हातको पोकोबाट च्युरा झिकिन् र भाग लगाउन थालिन् । अनि सबैको च्युरामाथि चाकुका डल्ला राखिन् । सबैका आँखामा अकस्मात तेज आयो । र, सबैका हृदयमा विधवाप्रति महान आदरको भाव उत्पन्न भयो ।
गोरेलाई आफ्नो भागबाट च्युरा थपिँदिदै भन्यो, “तिमी जवान छौ, तिमीलाई अरुभन्दा बढ्दा भोक लाग्दो हो ।”
फेरि सबैलाई सम्बोधन गर्दै भनिन्, “मधेसतिर हिँडेको । कोही छैनन् । सासू—ससुरा फुटेको आँखाले हेर्दैनन् । देवर रुखो माया गथ्र्यो । तर, पोइ नभएको घरमा टिक्न सकिनँ ।”
यो वाक्यले ती चारै जनाको हृदयमा खुब प्रभाव पा¥यो । खान पाइने ठाउँ, पोइ छैन भन्दैमा लत्याएर हिँड्नु लरतरो काम होइन । तिनीहरू विधवालाई झन् मान गर्न थाले ।
उनले सोधिन्, “तिमीहरू कहाँ हिडेको नि ? तिमीहरूले त राति पनि केही खाएको देखिनँ । त्यसै सुत्यौ । मेरो पनि कोही साथी नभएकाले तिमीहरू नजिक आएर सुतें । रातभरि तिमीहरूको माया लागिरह्यो ।”
भोटेले बडो आश्चर्य मानी सोध्यो, “तपाईंलाई हाम्रो किन माया लाग्यो ? हामी तपाईंका पोइ होइनौं, छोरा होइनौं, बाबु होइनौं ।”
विधवाले भनिन्, “तिमीहरू मान्छे त हौ ।”
हिजो दिनभरि नखाएको पेटमा च्युराका कणहरू पर्दा सबै फुर्तिला भएर उत्साहसँग कराई–कराई कुरा गर्न थाले ।
बूढाले भन्यो, “नानी, हामीहरू चार जनाको केही नाता छैन । कसैको घर छैन । यता काम पाइन छाड्यो । कतै काम पाइन्छ कि भनेर हिँडेको । अहिले तिम्रो कुराले मधेस जानुपर्ने जस्तो लाग्यो । के भन्छौ साथी हो, मधेस झर्ने ? मधेसमा पेटभरि खान पाइन्छ । म एकचोटि भारी बोकेर मधेस गएको थिएँ ।”
उत्तिनै खेर सबैले मधेस लाग्ने निश्चय गरे । यी चार जना लोग्ने मानिस, एक स्वास्नी मानिस पाँचै जना दक्षिणको बाटो लागे ।
बूढाले आफ्नो जीवनका बितेका घटनाहरूलाई भन्यो—
उसले एकचोटि निकै पैसा कमायो । १७ रोपनी खेती गथ्र्यो । पछि त्यसै बिग्री–बिग्री आयो । त्यसबेला ऊ जवान थियो । निधारमा नाम्लो हाली भरियाको काम गरी पेट भर्न सक्थ्यो । अब त त्यो पनि सामथ्र्य छैन । नत्र यो बूढो यसै भोकभोकै हल्लिरहन्थ्यो र ! अब मर्ने बखत पनि भयो । पेटको ज्वाला खप्न नसकी यताउति हिँड्नु परेको ।
विधवाले भनिन्, “मेरो त मधेसमा गएर राम्ररी घरबार गरी बस्ने इच्छा छ । सानो खेतीबारी ग¥यो । त्यहाँ खेती गर्न सजिलो छ रे ! जग्गा पनि त्यसै पाइन्छ रे । यहाँ त सासू—ससुराको कचकचले अड्नै सकिएन । फेरि पोइ मरेको ठाउँमा, त्यसै उच्चाट लागेर आउने ।”
भोटे र धने तिनीहरूको कुरा चाख मानेर सुनिरहेका थिए । तर, आफू केही बोल्दैनथे । गोरे थाकेजस्तो भएको थियो । त्यो सबैभन्दा पछाडि गोडा धसारी हिँडिरहेको थियो । विधवाले गोरेका निम्ति पर्खिइन् । उनी थामिएपछि सबै थामिए । गोरे नजिक आएपछि विधवाले भनिन्, “के थाक्यौ गोरे ? घाम पनि अघ्घोर छ । तिम्रो टाउको तात्यो होला । लौ लेऊ, यो कपडा टाउकोमा राख ।”
उनले आफ्नो टाउकोमा राखेको सेतो लुगा झिकेर गोरेको टाउकोमा राखिदिइन् । फेरि सबैजना हिँड्न थाले । त्यो बूढो, बूढो भन्नुमात्रै थियो । सबैभन्दा अघि लमकलमक गरेर हिँड्थ्यो । भोटे र धने त्यसको दुवैतर्फ त्यसका कुरा सुनीसुनी हिँडिरहेका थिए । आफ्नो व्यतीत जीवनका घटनालाई त्यसरी रुचाएर तिनीहरूले सुनेको देख्दा बूढो झन् सुरिएर भएनभएका कुरा गर्न थाल्यो । भोटे र धने पक्क भएर सुनिरहेका थिए । भित्रभित्रै तिनीहरू बूढाको आदर गर्थे ।
गोरे र विधवा पछिपछि बिस्तारै–बिस्तारै आइरहेका थिए । गोरेको उमेर २५ वर्षको हुँदो हो, विधवाको ३० । गोरे धेरै नबोल्ने र लाज मान्ने स्वभावको थियो । त्यसको खपटे गाला धेरै दिनको कठिन परिश्रमले तल भास्सिएको थियो । आँखा ज्योतिहीन थिए ।
विधवाले सोधिन्, “तिमी मधेस गएर के गर्छौ ?”
गोरेले भन्यो, “कुन्नि !”
विधवाले भनिन्, “के तिमी घरवार गर्दैनौ ? खेतबारी गरी बस्न मन छैन ?”
गोरेले भन्यो, “पैसा खोइ नि ?”
“ह्वाँ खेत सित्तैमा पाइन्छ । तिम्रो उमेर के भएको होला र ! घरबार गर, स्वास्नी पाल । छोराछोरी पाल । यस्तो उरेन्ठेउलो भएर कति दिन बिताउँछौ ?” विधवाले फेरि एक्कासि प्रश्न गरिन्, “तिमीलाई स्वास्नी मानिस मन पर्दैनन् ?”
गोरेले टाउको उठाएर विधवातिर तीव्र दृष्टिले हे¥यो, “किन मन पर्दैनन् र !”
विधवाले भन्न थालिन्, “मधेस गएर खेतीपाती गर्छु, घरवार गर्छु । तर, स्वास्नी मानिसले मात्रै घरवार चलाउन सक्दैनन् । लोग्ने मानिस पनि चाहिन्छ । मेरो मनमा त्यसै यो विचार आयो । किन हामी दुईजना मिलेर घर नचलाऊँ ?”
गोरेले विधवालाई विस्मयको दृष्टिले हे¥यो । विधवाले अलि अप्रतीत भएर भनिन्, “के म तिम्रो लायक छैन र ? मेरो उमेर धेरै भएर के भयो त ? मैले आफ्नो शरीर जोगाएर राखेकी छु । मेरो लोग्ने मरेदेखि मलाई कसैले छुन पाएन ।”
गोरेले चकित भएर विधवालाई हेरिरह्यो ।
विधवाले भनिन्, “गोरे ! मेरो धेरै दिनदेखि आफ्नो घर बनाएर बस्ने इच्छा छ । पोइ चाँडै मरिदिए । आफ्नो इच्छा मुटुमै सुकेर जालाजस्तो भयो । म के छोराछोरी पाउन सक्दिनँ र ? ख्वै मेरा छोराछोरी, ख्वै मेरो आफ्नो घर ? ख्वै मेरो आफ्नो मान्छे ?”
विधवाको मुख अकस्मात रुन्चेजस्तो भयो । उनको मुख रातो भयो । मुटु तल गाडेर नबोली हिँड्न थालिन् । धेरै बेरसम्म उनीहरू नबोली हिँडिरहे । साँझ पर्ने बखत हुन थाल्यो । विधवाले निःस्तब्धतालाई भंग गर्दै भनिन्, “गोरे, मसँग अलि गहना पनि छ । रुपियाँ पनि छ । त्यसैले गएर खेती किनौंला । घरबार बनाउँला । तिमी मेरो भयौ भने यो सब तिम्रो हुन्छ ।”
अलिक पर बूढो, भोटे र धने एउटा ठूलो ढुंगामा बसेर तिनीहरूलाई पर्खिरहेका थिए । उनीहरू आइरहेको देखेर टाढैबाट बूढाले भन्यो, “अब बस्ने हैन ? खाने के नि ?”
सबैको दृष्टि विधवामाथि प¥यो । उनले भनिन्, “अलिकता च्युरा बाँचेको छ । पेटभरि नभए पनि अलिअलि त थेग्ला ।”
तिनीहरू बसेर च्युरा फाँक्न थाले र खाकाशलाई छानो बनाएर गुडुल्किएर बाटोकै छेउमा सुते । दिनभरि हिँडेका हुनाले तिनीहरू लड्न पनि पाएका थिएनन्, भुसुक्क निदाए ।
बिहान सूर्यको पहेंलो किरणका साथसाथै बूढो उठ्यो र खोक्न थाल्यो । सबैजना उठे तर गोरेको पत्तो थिएन । विधवाले आत्तिएर सोधिन्, “गोरे खै ?”
बूढोले शान्त भएर भन्यो, “गयो होला कतै । अब हामीले हिँडिहाल्नुपर्छ । अहिले खानलाई केही छैन । साँझसम्म त पुग्नुपर्छ । त्यहाँ केही खाने उपाय त हुन सक्छ ।”
विधवाको हृदय भारी भयो । उनी बूढो, भोटे र धनेको हृदयहीनता देखेर छक्क परिन् । दुईदिनको सङ यसरी अल्पिँदा यिनीहरूको मनमा अलिकता पनि दुःख नहुनू ? तिनी आफ्ना पोका बटुल्न थालिन् । उनको हृदय ढक्क भयो— गहनाको पोको छैन ।
सबैजना हिँड्न तयार भए तर विधवा बसेर पोका बाँधबुधमात्रै गरिरहेकी थिइन् । त्यो देखेर बूढाले सोध्यो, “के गरिरहेकी ? हिँडिहालौं । नत्र साँझसम्म पुगिँदैन । भोक्कै सुत्नुपर्ला ।”
विधवाले रुन्चे स्वरमा भनिन्, “मेरो गहनाको पोको छैन ।”
सबजना छक्क परेर विधवातिर टुलुटुलु हेर्न थाले । बूढाले भन्यो, “तिमी गहनागुरिया लिएर कहाँ हिँडेकी त ? लग्यो होला गोरेले । अब चोरिने कुरा चोरिइहाल्यो, रोएर के गर्नू !”
विधवालाई त्यसको कुरा सुनेर रिस उठ्यो । उनले चिच्याएर भनिन्, “चुप लाग् बूढा । त्यस गहनाले मैले के–के गरूँला भनी विचार गरेकी थिएँ । खेती किनौंला, बिहा गरौंला, घर जमाउँला, छोरा पाउँला… मेरो सारा आशा नष्ट भयो ।”
यति भनेर उनी डाँको छाडेर रुन लागिन् । बूढो तिनी भएनेर गएर उनको काँधमा हात राखेर भन्न थाल्यो, “किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही न केही उपाय भइहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ, तिम्रो घर पनि हुन्छ । नआत्तेऊ । लौ हिँड ।”
विधवा टोलाएर उभिइन् र बूढाको पछिपछि लागेर हिँड्न थालिन् । त्यो टाढाको टाकुरामा पुगेर बूढाले बडो उत्साहसँग दक्षिणतिर आँखाले भ्याउन्जेलसम्मको ठूलो मैदानलाई देखाएर आफ्ना साथीहरूलाई भन्न थाल्यो, “ऊऽऽ त्यै हो मधेस । त्यहाँ हाम्रो उद्धार हुन्छ । त्यहीँ हामी अघाउन्जेल खान पाउँछौं ।”
भोटे र धनेको आँखामा उत्साहको आभा दगु¥यो । भोकले सुकेका गालामा पनि आनन्दको गुलाफ देखियो । कानसम्म मुखको कुना पु¥याएर मुखभरि चाउरी पारेर तिनीहरू हाँसिरहे । तर, विधवामा उत्साह थिएन । आफ्नो उमेर ढल्किसकेको थियो । उनले तिनी गहना र रुपियाँको आकर्षणले कुनै युवकलाई तानेर आफ्नो बनाउने इच्छा गरेकी थिइन् । आफ्नो सानै उमेरदेखिको सपनालाई आफ्नो सानो घर, छोराछोरी सफल बनाउने इच्छा गरेकी थिइन् । सब तासको घरझैं भताभुंग भयो । उनले पनि देखासिकी गरेर उत्साहहीन दृष्टिले दक्षिणतिरको मैदानलाई हेरिन् ।
(कोइरालाको कथासंग्रह ‘दोषी चश्मा’बाट साभार)
०००
उत्तरकथा- जूनको चक्र र बादलको खेल 
- अमर न्यौपाने 
(कालजयी रचनामा आधारित भएर पुनर्सिर्जन गर्ने परम्परा संसारैभरि छ । प्राचीन धार्मिक साहित्य वा महान् स्रष्टाका कृतिका पात्रको पुनर्व्याख्या, पुनर्कथन वा नवकथनका लागि यस्तो शैली अँगालिएको पाइन्छ । यस्तै प्रसिद्ध कथाहरुको सन्दर्भ, पात्र वा घटनामा आधारित भएर लेखिएका नयाँ कथा ‘कोसेली’ ले ‘उत्तरकथा’ स्तम्भमा प्रस्तुत गर्दै छ । यस अंकमा अमर न्यौपानेको उत्तरकथा, जसको स्रोतकथा हो– विश्वेश्वरप्रसाद कोइरालाकृत ‘मधेसतिर’ ।)
(यो कथा “मधेसतिर” सकिएको ठाउँबाट सुरु भएको छ । उमेर ढल्कनै लागेकी एउटी विधवा आफूसँग भएको गहना र रुपैयाँले मधेसमा गएर जग्गा जोड्ने, घरबार बसाउने सपना बुनेर मधेसतिर लागेकी हुन्छे । बाटोमा गोरे, बूढो, भोटे र धने भेट हुन्छन् । गोरेसँग जीवन बिताउने सपना बुनेर उसले आफूभन्दा सानो उमेरको गोरेलाई आफूसँग भएको गहना र रुपैयाँको बारेमा बताउँछे र आफ्नो बैंस बाँकी भएकाले मधेसमा गएर घरबार गर्ने योजना सुनाउँछे । विधवाको सबै कुरा चुपचाप सुनेको गोरेले सबै निदाएको बेलामा गहना र रुपैयाँ चोरेर बेपत्ता हुन्छ । ब्युँझँदा त गोरे, गहना र रुपैयाँ केही हुँदैन । विधवाको सपना र आशा पनि चोरिन्छ ।)
निदाउनुअघिसम्म विधवाको अनुहारमा पूर्णिमाको जून लागेको थियो । ब्युँझँदा त औंसी पो लागिसकेछ । किनभने राति गोरेले उसको गहना र रुपैयाँ मात्र होइन, जून पनि चोरेर भागिसकेको रहेछ । मधेस गएर जग्गा जोड्ने, घरबार बसाउने र सन्तान जन्माउने उसको सपना पनि चोरेर भागेछ ।
निदाउनुअघि उसले बूढो, भोटे र धनेप्रति दया देखाएकी थिई, गोरेप्रति भने माया । तर, गोरेले उसको माया देखेन, गहना र रुपैयाँको पोको मात्र देख्यो ।
मनचोरप्रति माया लाग्छ, धनचोरप्रति घृणा ।
गोरेप्रति उसको मनमा असीम घृणा जाग्यो । तर, आफूले गरेको घृणा गोरेलाई देखाउन नपाउँदा उसको घृणासमेत बेवारिसे बन्यो । घृणा एकाएक आक्रोशमा परिवर्तन भयो, आक्रोश निराशामा ।
निराशाका औंलाहरू बुनेको आशाको मखमली स्विटर स्वार्रर... एकै साममा उधारिदियो । बिहान हुँदा ऊ मात्र ब्युँझिई, उसको आशा र सपनाहरू ब्युँझिन पाएनन् ।
अब ती कहिल्यै ब्युँझेनन् भने ?
पहाडको टाकुराबाट बूढाले दक्षिणतिर मधेसको विस्तीर्ण विशाल फाँट देखायो । त्यति हरियो मधेसको फाँट पनि उसलाई मरुभूमिजस्तो लाग्यो ।
‘त्यो मरुभूमिमा के खेतीपाती होला ? खेतीपाती नहुने जमिन त्यसै पाए पनि के हुन्छ ?’ यस्तो सोच्दै त्यही टाकुरामा ऊ सालिकझैं उभिइरही ।
बूढोले उदाउँदै गरेको घामतिर देखाएर भन्यो, ‘अब हिँडौं, घाम नअस्ताउँदै हामी मधेस पुग्नुपर्छ ।’
बूढोका गोडाका पछिपछि धने र भोटेका गोडाहरू पनि लागे तर उसका गोडाहरू भने पछि लागेनन् । त्यही टाकुरामा भासिएजस्ता भएर गाडिए । अलि पर पुगेर पछाडि फर्कंदै बूढोले भन्यो, ‘तिमी मधेस जान्नौ नानी ?’
सुरुमा त उसको टाउको पनि हल्लिएन । पटकपटक बूढोले सोध्यो । त्यसपछि उसले दायाँबायाँ टाउको हल्लाई । फेरि पनि
बूढोले सोध्यो । त्यसपछि उसले भनी, ‘तिमीहरू जाओ !’
त्यसपछि उसलाई कर नगरी बूढो, भोटे र धने बाटो लागे । उसलाई लाग्यो, मसँग चिउरा र चाकुका डल्ला भएको भए उनीहरूले मलाई म गाडिएको ठाउँमा एक्लै छोडेर जाने थिएनन् ।
त्यसपछि एक मन त लाग्यो, रित्तै मधेस जानुभन्दा बरु यही टाकुराबाट हाम्फालिदिऊँ र आफ्ना निराशाहरूलाई पनि मारिदिऊँ !
उभिइरहेर उसले तल बगिरहेको सुनकोसीलाई हेरी । सुनकोसीले भनिरहेजस्तो लाग्यो— बाँच्नु छ भने बग्नुपर्छ । जीवनलाई गति दिन गोडालाई पनि गति दिनुपर्छ । विचार र योजनालाई गति दिनुपर्छ ।
उभिइरहेर उसले बहिरहेको बिहानको ताजा हावालाई महसुस गरी । हावाले हल्लाइरहेका रूखबिरुवाका पातहरूलाई हेरी, जहाँबाट घाम बोकेर टल्किरहेका शीतका थोपाहरू झर्दै थिए । उसलाई हावाले भनिरहेजस्तो लाग्यो— शीतका थोपा झर्छन् भनेर मैले बहन छोड्नुहुँदैन । मैले बहन छोडें भने संसारमा जीवन सम्भव हुँदैन ।
उभिइरहेर उसले माथिमाथि चढ्दै गरेको घामलाई हेरी । जति माथिमाथि चढ्दै गयो उति धेरै प्रकाश दिँदै गरेको पनि हेरी । केही बादलका झुन्डले घामलाई छोप्दै छोड्दै गरेको पनि हेरी । उसलाई घामले भनिरहेजस्तो लाग्यो— बेलाबेलामा बादलले ढाक्छ भनेर मैले उदाउन छोड्नुहुँदैन, प्रकाश दिन छोड्नुहुँदैन । मेरो प्रकाशले जतिसुकै बाक्लो बादललाई पनि छेड्न सक्छ ।
एकाएक उसको अनुहारमा द्वितीयाको जून उदायो ।
त्यसपछि उसलाई टाकुरामा उभिइरहन मन लागेन । टाकुराबाट हाम्फाल्न पनि मन लागेन । मधेस जान पनि मन लागेन । धेरै बेरसम्म त्यही टाकुरामा उभिइरही ।
अब के गर्ने ? कहाँ जाने ?
उसको अनुहारको द्वितीयाको जूनमा कालो बादल लाग्यो ।
सुनकोसी एकै ठाउँमा जमिरहेको थिएन, हावा एकै ठाउँमा बसिरहेको थिएन, घाम एकै ठाउँमा अडिइरहेको थिएन ।
आफू आएको बाटोतिर फर्केर हेरी र सोची— मेरो त घर छ, किन म घर भएतिर नजाऊँ ? रित्तो हात लिएर गए पनि घरमा त बस्ने बास छ, खाने गाँस छ, तर रित्तो हात लिएर मधेस गएँ भने बस्ने बास पनि हुँदैन, खाने गाँस पनि हुँदैन ।
फेरि बादल फाट्यो । एकाएक उसको अनुहारमा तृतीयको जून उदायो ।
ऊ आफू आएकै बाटोतिर हिँडी । हिँड्दाहिँड्दै उसले सुनकोसीतिर हेरी, सुनकोसी आफू आएतिर फर्किंदै थिएन । घामतिर हेरी, घाम पनि आफू आएतिर फर्किंदै थिएन । हावालाई महसुस गरी, हावा पनि आफू आएतिर फर्किंदै थिएन ।
त्यसपछि फर्किंदाफर्किंदै टक्क रोकिई । छोडेर हिँडेको घरमा फर्कंदा के बास पाइएला ? को छ र त्यहाँ माया गर्ने ? ऊ मधेसतिरै फर्की । सहयात्रीहरू धेरै पर पुगेछन् क्यारे, देखिएनन् । सायद तिनीहरूलाई भेट्न पनि सकिँदैन ।
अब एक्लै कसरी मधेससम्म पुग्ने होला ?
उसको अनुहारको तृतीयाको जूनमा कालो बादल लाग्यो फेरि आफैंलाई भनी, ‘सुनकोसी एक्लै बग्दै छ, बग्दै जाँदा सुनकोसी ठूलो हुँदै छ । घाम पनि एक्लै हिँड्दै छ, हिँड्दै जाँदा घामले अझ धेरै प्रकाश दिँदै छ । हावा पनि एक्लै बहदै छ, बहँदै जाँदा हावाको वेग पनि बढ्दै छ । अब मैले धेरै बेर रोकिनुहुँदैन ।’
फेरि बादल फाट्यो । एकाएक उसको अनुहारमा चतुर्थीको जून उदायो ।
ऊ मधेसतिर फरक्क फर्की र गोडाहरूलाई कुदाई, जसरी कुनै कारणले रोकिएको नदी बाँध फुटाएपछि अझ बेगले बग्छ ।
कहाँ जाने, कहाँ पुग्ने, भरे बास कहाँ बस्ने केही थाहा थिएन । हिँड्दाहिँड्दै पश्चिमतिर ढल्किँदै जाँदा घाम मधुरो हुँदै थियो । उसको अनुहार र गोडाको गति पनि मधुरो हुँदै थियो । पेटभित्र कचकच गरेर भोकले उसलाई सताउँदै थियो । त्यो दिन त मधेस पुग्ने सम्भावना नै थिएन । घाम अस्ताउनुअघि नै कतै बास बस्नु थियो ।
तर कहाँ बस्ने ?
उसको अनुहारको चतुर्थीको जूनमा कालो बादल लाग्यो ।
यस्तैमा एउटा चौतारो आयो । चौतारोमा दुई जना लोग्नेमान्छे, एक जना स्वास्नीमान्छे र दुई जना केटाकेटी पानीसँग खुदो मिसिएको सातु खाँदै थिए । स्वास्नीमान्छे काखे नानी काखमा लिएर पछ्यौराले छाती छोप्दै दूध चुसाउँदै थिई । दुई जना पाँच–सात वर्षका केटाकेटीको गाला र चिउँडोभरि सेतै सातु लागेको थियो । ती यताउति उफ्रिँदै थिए ।
उसलाई पनि चौतारोमा बसेर थकाइ मेट्न मन लाग्यो । मन त भोक मेट्न थियो । तर, ऊसँग केही थिएन । चौतारोको आडमा धारो देखी, जहाँ केराको सुप्लोबाट पानीको सानो धारो झरिरहेको थियो । कुहिनाबाट चुहाउँदै उसले अञ्जुली थापेर पानी पिई र तिर्खा मेटी अनि चौतारोमा सुस्ताई । पानीको धारोले छातीतिर ब्लाउज भिजाइदिएको रहेछ, जसलाई उसले साडीको सप्कोले छोपी ।
उसको फराकिलो तर उदासिलो निधारमा पसिनाका थोपाहरू टप्किइरहेका थिए । आँखामा उदासीनता र ओठमा विस्मातले शासन गरिरहेका थिए । उसले यसै चौतारोमा बसेका बटुवाहरूतिर पुलुक्क एक नजर लगाई र भोको सास फेरी । उसलाई ती बटुवाहरूसँग बोल्न मन लागेको थियो तर सातुको आस गरेर बोलेजस्तो हुन्छ भनेर बोल्न सकिन ।
उसको भोको अनुहारतिर सबैभन्दा पहिला अरूभन्दा जेठोजस्तो देखिने त्यस्तै ३५ वर्ष जतिको लोग्नेमान्छेको आँखा पर्‍यो । तर, त्यो मान्छे केही बोलेन । त्यसपछि २६ वर्ष जतिकी स्वास्नीमान्छेको आँखा पर्‍यो । उसको भोको र थकित अनुहार देखेर त्यो स्वानीमान्छेलाई बोलूँबोलूँ लाग्यो । तर, तत्काल केही बोलिन । सातुको फाँक मुखमा हाल्दै गर्दा पनि बेलाबेलामा हेरिरही । उसले पनि उनीहरूतिर बेलाबेलामा हेरिरही । केही बोल्न खोजी तर बोलिन । यस्तैमा त्यो स्वास्नीमान्छे नै पहिले बोली, ‘कता जान हिँड्नुभको हो ?’
आफूलाई बोल्न मन लागेको बेला त्यो स्वास्नीमान्छेले नै पहिले बोलिदिँदा उसको अनुहारमा फेरि बादल फाट्यो । एकाएक उसको अनुहारमा पञ्चमीको जून उदायो । उसले भोको बोलीमा भनी, ‘मधेस ।’
‘हामी पनि मधेस जान हिँडेका,’ दुई घुट्को पानीले सातु निलेर स्वास्नीमान्छेले भनी, ‘एक्लै ?’
एक्लै भन्ने शब्दको बाफले उसको अनुहारको पञ्चमीको जूनमा कालो बादल लाग्यो । त्यसैले होला, शब्दमा केही भन्न सकिनँ । टाउको मात्र हल्लाई । स्वास्नीमान्छेलाई अचम्म लाग्यो र फेरि सोधी, ‘यति टाढाको बाटो एक्लै हिँड्नुभको ?’
‘साथीहरू थिए, छलिए,’ उसले दुःखी भएर भनी, ‘मसँग भएको गहना र रुपैयाँ पनि बास बसेको ठाउँमा चोरियो ।’
च्वच्व गदै स्वास्नीमान्छेले सोधी, ‘परिवारमा कोही छैनन् ?’
‘म विधवा, सन्तान जन्मन नपाई विधवा भएँ । विधवा भएरै यो उमेर भयो । सुख खोज्न मधेस झरेकी, झन् दुःख भयो ।’
ती दुई लोग्नेमान्छेले पनि उसका कुरा सुन्दै थिए । अलि जेठो देखिने लोग्नेमान्छेले अझ ध्यानपूर्वक सुन्दै थियो । तर, दुवै बोलेका थिएनन् ।
स्वास्नीमान्छेको मनमा दया पलायो— बिचरा कुन चोटले घरबाट यसरी एक्लै हिँड्नुपरेको होला ? आफूसँग केही खानेकुरा भएको भए यतिन्जेल त झिक्दी हो भन्ने सोचेर स्टिलको कचौरामा अलिकति सातु हालेर स्वास्नीमान्छेले उसलाई दिई र भनी, ‘टाढाबाट थाकेर आउनुभएजस्तो छ । भोक पनि लाग्यो होला, खानू ।’
उसलाई कतिखेर खाऊँजस्तो भएको थियो तर बिस्तारै खाई । खाइसकेपछि अघि भर्खरसम्म उजाड लागेको ठाउँ हरियाली देखी ।
फेरि बादल फाट्यो । एकाएक उसको अनुहारमा षष्ठीको जून उदायो ।
त्यो स्वास्नीमान्छेले ती दुई लोग्नेमान्छे र केटाकेटीलाई चिनाई, ‘उहाँ मेरा दुलहा, उहाँ जेठाजु, यी दुई खेल्ने हाम्रा छोराछोरी । यो काखकी छोरी हो, सात महिनाकी भई ।’
उसलाई नि सोध्न मन लागेको थियो, ‘जेठाजुको परिवार खोइ त ?’ तर सोधिन । बरु उनीहरूसँग नजिक हुन उसले भनी, ‘मेरी बहिनी पनि तपैंकै उमेरकी छ । उसका पनि तीन छोराछोरी छन् । म तपैंलाई बैनी भन्छु है ।’
स्वास्नीमान्छे खुसी भई र भनी, ‘मेरा दिदी छैनन् । तपैं हुनभो अब । मेरो नामचाहिँ मनमाया हो । मेरा जेठाजुको नाम तीर्थ र दुलहाको हर्क हो ।’
तीर्थले हतारो लगाएर भन्यो, ‘जाऊँ अबÙ बास बस्ने ठाउँमा पुगिन्न फेरि ।’
सबै आफ्नो सामल मिलाएर बोक्न लागे । मनमायाले सोधी, ‘आइमाई मान्छे भएर यसरी एक्लै नहिँडेको भए हुने ! भरे काँ बास बस्नुहुन्छ त ?’
उसको अनुहारको षष्ठीको जूनमा कालो बादल लाग्यो ।
उसले केही भन्न सकिन । बस्ने ठाउँ भए त भन्दी हो । यही भाव बुझेर होला, मनमायाले भनी, ‘एक्लै हुनुहुँदो रैछ । सँगै बसम्ला । मधेस गएर पनि सँगै जमिन ओगटेर बसम्ला । मेरी नानी सानी छे । तपैं भएपछि मलाई पनि सजिलो हुन्छ ।’
फेरि बादल फाट्यो । एकाएक उसको अनुहारमा सप्तमीको जून उदायो ।
ऊ उनीहरूकै पछि लागी । पछि लाग्दा मनमाया र ऊ सँगसँगै हिँडे । हिँड्दाहिँड्दै उसले भनी, ‘लेउनू बैनी, तपैंलाई गाह्रो भयो म नानी लिदिन्छु ।’
‘नानी त मै लिन्छु, बरु मेरो कुटुरो बोक्दिनू दिदी ।’
मनमायालाई गाह्रो भयो भनेर भन्दा पनि आफूलाई नानी बोक्ने रहर लागेर उसले त्यसो भनेकी थिई । तर, मनमायाले त्यसो भन्दा उसलाई नरमाइलो लाग्यो । कतै विधवाले लिए अपशकुन हुन्छ भनेर त होइन ?
उसको अनुहारको अष्टमीको जूनमा कालो बादल लाग्यो ।
मनमायाका छोराछोरी आमाको मात्र होइन, उसको पनि अघिपछि लागे र नजिक हुन खोजे । मनमायाले भनी, ‘तिमोरकी ठूलीआमा !’
उसको मनमा चस्स घोच्यो, ‘मेरो लोग्ने बाँचेका भए मेरा पनि सन्तान हुने थिए । ती सन्तान यीभन्दा ठूला हुने थिए ।’
घाम डुब्नै लागेको थियो तर बास आउन अझै एक घण्टा हिँड्नुपर्छ भन्दै थियो तीर्थ । हिँड्दाहिँड्दै मनमायाले भनी, ‘दिदी, मेरो नानी लिइदिनू न । म पिसाब फेर्छु ।’
नानी लिन पाएर एकाएक अनुहारको बादल फाट्यो र उसको अनुहारमा नवमीको जून उदायो ।
बाटोको छेउ लागेर एउटा झाडीको छेल पर्दै मनमाया पिसाब फेरेर आई । तर, उसले मेरो नानी मै बोक्छु भनेर मागिनँ । उसलाई आफ्नै नानी बोकेजस्तो आनन्द लाग्यो ।
हिँड्दाहिँड्दै अँध्यारोले बाटो छेकिदियो । एउटा चौरजस्तो फाकटमा बास बस्न तीर्थ र हर्कले पाल हाले । त्यसपछि ती दाजुभाइ दाउरा खोज्न गए । मनमाया चामल केलाउन लागी । त्यही बेला मनमायाकी छोरी रुन थाली । त्यसैले उसले भनी, ‘नानी भोकाईजस्तो छ, दूध खुवाउनू । म गर्छु भान्छाको काम ।’
उसले पकाएको भात–तरकारी सबैले खुब मीठो मानेर खाए र तारिफ गरे । सबैभन्दा बढी तारिफ तीर्थले गर्‍यो । कानले तारिफ, मुखले पेटभरि खाना र जीवनले साथ पाउँदा उसको अनुहारमा दशमीको जून उदायो ।
दिनभरि हिँडेर थाकेकाले खाएपछि सबै पल्टिए । ऊ मनमायाको आडमा पल्टिई । केटाकेटीहरू भने निदाइसकेका थिए । तीर्थ र हर्क पल्टँदै मधेसमा के–कसो गर्ने भनेर कुरा गर्दै थिए । कुरा गर्दागर्दै झकाउँदै पनि थिए । उसले अघिल्लो दिन त्यसरी नै लाइनै सुतेको सम्झी । गोरेले राती आफ्नो जेथा चोरेको सम्झी । उसलाई तीर्थको अनुहारमा गोरे देखेजस्तो लाग्यो ।
सुत्न लाग्दा उसलाई लाग्यो, फेरि लुटिएँ भने ?
तर मसँग लुट्ने कुरा नै के छ र अब ?
शरीर त छ नि ?
उसको अनुहारको दशमीको जूनमा कालो बादल लाग्यो ।
एकएक गम्भीर बनेकी ऊतिर फर्केर उसको मन पूरै पढेझैं मनमायाले भनी, ‘केही चिन्ता लिनुपर्दैन दिदी । हामी छौं । तपैं दुःख पाएकी असल आइमाई हुनुहुँदो रैछ । उता मधेसमा खेतीपाती हुने ठाउँ छानेर जग्गा ओगटौंला र छाप्रो हालेर बसौंला । कोई
न कोई पाखुरी पोइ भन्छन् । एक्ली छु भन्ने नठान्नुहोला ।’
यसो भन्दा मनमायाको अनुहार यति मायालु भएको थियो कि मानौं मनमाया उसकी आफ्नै बहिनी हो । हर्क र तीर्थको अनुहारतिर हेरी, त्यहाँ पनि उसले करुणा नै करुणा देखी । त्यसपछि ऊ ढुक्क भई ।
एकाएक अनुहारको बादल फाट्यो र उसको अनुहारमा एकादशीको जून उदायो ।
उसले याद गरेकी थिई, तीर्थले गहना र रुपैयाँको पोको सिरानीमा राखेको थियो । एक मन त लाग्यो, जसरी गोरेले चोरेको थियो, आफूले पनि त्यसै गरे के होला ?
तर यस्तो भावना आउनासाथ पानीको फोकाझैं फुटिहाल्यो र बिलायो ।
दिनभरिको थकाइले होला सबै एकै छिनमा भुसुक्क निदाए । उसलाई भने धेरै बेरसम्म निद्रा लागेन । अनेक कुराले मन टोकेर कहिले काउकुती लगाए र कहिले दुखाए ।
भोलिपल्ट घाम उठ्नेबित्तिकै उनीहरू उठे । केटाकेटीहरूलाई पनि उठाए । तीर्थले भन्यो, ‘घामसँगसँगै हिँड्नुपर्छ । घाम डुब्दासम्म मधेस पुग्नुपर्छ ।’
बाटोमा उसले तीर्थको बारेमा मनमायालाई सोधी, ‘तपैंको जेठाजूले यो उमेरसम्म पनि किन घरबार नगर्नुभको बैनी ?’
‘उहाँ त १४ वर्ष लाहुरमा हरावरी बल्ल घर सम्झेर आउनुभको हो । उहाँ लाहुर जाँदा मेरो त बिहे नै भको थेन । सबैले तीर्थ हरायो, अब फर्कन्न भन्थे । आमाबा भने एक दिन ठूलाले घर सम्झेर आउँछ भन्नुहुन्थ्यो । तर, बा बितेपछि मात्र जेठाजू आउनुभो । यो कुराले उहाँलाई साह्रै पीडा भको छ । तेतिका वर्ष आफू हराकोमा ठूलो पछुतो छ । आमा हुनुहुन्छ । मधेसमा घर बनाएपछि उहाँलाई लेर आउने भन्नुभको छ ।’
त्यसपछि उसलाई तीर्थको बारेमा धेरै कुरा सोध्न मन लागेन । घाम डुब्नै लाग्दा उनीहरू मधेस पुगे । उसरी नै तीर्थ र हर्कले पाल टाँगेर बस्ने बास बनाए । त्यसपछि सुरु भयो उनीहरूको मधेसको संघर्ष ।
आफूले खेती गर्न सक्ने जति जग्गा ओगटे । उनीहरूसँग ऊ एउटै परिवारझैं बसी । मनमायाकी सानी छोरी भएकाले भातभान्छाको धेरैजसो काम उसैले गरी ।
नजिकै घना जंगल भएकाले काठ, दाउरा, बाँस, खर, खडाइको दुःख थिएन । गएर ल्याउने जाँगर भने हुनुपर्‍यो । जाँगर उनीहरूसँग थियो । उसले खुब खटेर काम गरी । खरखडाई र काठदाउरा ल्याउनेदेखि भातभान्छाको कामसम्म उसले खुब मिहिनेतका साथ गरी । एक दिन मनमायाले भनी, ‘दिदी, तपैं भएर मलाई यति धेरै सजिलो भको छ । तपैं नभको भए मैले कसरी काम भ्याउँथे होला र !’
घर बनाउँदा उसले खाल्टो खनी, हर्कले धुरी खाँबो गाड्यो । हर्कले इनार खन्यो, उसले माटो तानी । उसले अरूको निमेक गरेर अलिअलि पैसा पनि जोगाड गरी ।
उसको अनुहारमा द्वादशीको जून उदायो ।
एउटा घर बनाएपछि उसका लागि पनि घर बनाउने कुरा भयो । उसको घर बनाउन पनि उसरी नै तीर्थ र हर्कले सहयोग गरे । अझ धेरै तीर्थले सहयोग गर्‍यो ।
तीर्थले धुरी खाँबो गाड्न खाल्डो खन्दा उसले भनी, ‘यति ठूलो घर मलाई किन चाइयो र ? म एउटीलाई एउटा सानो कोठा जत्रै घर भए त भइहाल्यो नि !’
तीर्थले हाँस्न खोजेर पनि नहाँसी भन्यो, ‘सधैं एक जना मात्र भइँदैन होला नि !’
उसले जवाफ फर्काउन सकिन । तीनओटा धुरीखाँबा गाडेर धुरीबलो पनि तीर्थ र ऊ मिलेर हाले । पालीखाँबो र पालीबलो पनि दुवै मिलेर हाले ।
घर छाउने बेलामा तीर्थ छानामा चढ्यो । तलबाट उसले खरका मुठा फ्याँकी, तीर्थले खुब गजबसँग छायो । अब घर बार्न मात्र बाँकी थियो । बेलाबेलामा उसलाई लाग्थ्यो, उनी मेरा लोग्ने हुन्, जो मरेका थिएनन्, लाहुर गएका थिए । फर्केर आए । म खाल्टो खन्छु, उनी खाँबो गाड्छन् । म खरका मुठा दिन्छु, उनी छाउँछन् । उनी इनार खन्छन्, म माटो तान्छु... यस्तो पारस्परिक काम त लोग्नेस्वास्नीले मात्र गर्छन् । मनमनमा उसले तीर्थलाई लोग्ने स्विकारिसकेकी थिई र सपना बुन्न थालेकी थिई ।
उसको अनुहारमा त्रयोदशीको जून उदायो ।
तर, तीर्थले के सोचेको होला ? न उसले गोरेलाई झैं तीर्थलाई आफ्नो मनको कुरा भन्न सकेकी थिई न आफूले मनमनै सजाएको सपना भन्न सकेकी थिई । ऊ आफैंलाई सम्झाउँथी, ‘हतारमा व्यक्त गरेको कुराको परिणाम राम्रो हुँदैन । त्यसको आयु पनि छोटो हुन्छ । राम्रो परिणाम र दीर्घायु सम्बन्धका लागि नै यस्तो भएको होला ।’
यतिसम्म कि उसले मनमायालाई पनि भन्न सकेकी थिइन । कहिलेकाहीं त उसलाई अप्ठेरो लाग्थ्यो, कतै तीर्थले मलाई एउटै परिवारको दिदीबहिनीजस्तो सोचेको पो छ कि ?
एक दिन सुत्ने बेलामा उसले सोची, ‘अब ढिलो गर्नुहुँदैन । उनले नभने म आफैं भन्छु । भोलि त बिहानै वन जाँदा मेरो सपना उनलाई सुनाउँछु । सुनाउँदैमा के होला र ? बेलामा बिहे भएको भए तीर्थका पनि हर्कका भन्दा ठूला छोराछोरी हुन्थे होला । घर बलियो भइसकेको हुन्थ्यो । विविध परिस्थितिले हामी दुवै उस्तै अवस्थामा छौं । हामीले समय पर्खिए पनि उमेरले हामीलाई पर्खिंदैन । आँट गरेर मैले यो कुरा भन्नैपर्छ ।’
सोच्दासोच्दै उसलाई अबेरसम्म निद्रा लागेन ।
बिहान उठेर ऊ हतारहतार डोरी, नाम्लो र खुर्पा लिएर वन जानका लागि ठिक्क पारी । घर त छाइयो अब बार्नका लागि खडाई ल्याउनु छ । उनी पनि जान्छन् भन्ने सोचेर उसले तीर्थ सुत्ने ओछ्यानतिर हेरी । त्यहाँ तीर्थ थिएन । हातमुख धुन या बाहिर बस्न गए होलान् भनेर तीर्थका लागि पनि चिया पकाई र कुरिरही । अरू सबैले चिया खाइसक्दा पनि तीर्थ आएन । उसले तीर्थका लागि गिलासमा चिया हालेर कुरिरहेकी थिई । धेरै बेरसम्म नआएपछि उसले मनमायालाई सोधी, ‘खोइ त तपैंका जेठाजु बैनी ?’
मनमायाले भनी, ‘उहाँ त उज्यालो नहुँदै जानुभो ।’
उसलाई भाउन्न भयो । लाग्यो, ‘उनी फेरि लाहुर गए । गोरे धन चोरेर भागेको थियो, तीर्थ मन चोरेर भागे । धन चोरेर भागेको भन्दा मन चोरेर भागेको दुख्तो रहेछ ।’
एक्कासि अत्तालिएर बोल्नै सकिन, मनमायाको अगाडि उभिइरहन सकिन र बाहिर निस्की । उसलाई आफ्ना लागि बन्दै गरेको घरमा आगो लगाइदिऊँजस्तो भयो ।

बार्नका लागि अब मैले किन खडाई ल्याउनु ? ईश्वरले लोग्ने त खोसेखोसे, धन पनि खोसे, मन पनि खोसे, मनको माया पनि खोसे । उसलाई ईश्वरप्रति असाध्यै रिस उठ्यो ।

उसको आँखाअगाडि उभिएको घर उसलाई कंकालजस्तो लाग्यो, जसले उसैलाई तर्साउन उसको अगाडि उभिइरहेछ ।

उसको अनुहारको त्रयोदशीको जूनमा कालो बादल लाग्यो ।

दिदी कता गइन् भनेर मनमाया बाहिर निस्की । ऊ घरअगाडि मूर्तिवत् आँखाभरि आँसु पारेर उभिइरहको पो देखी र आत्तिँदै सोधी, ‘के भो दिदी ?’

ऊ केही बोलिन । मनमायाले नै भनी, ‘दाइ फेरि लाहुर जानुभको होइन, पहाड

आमा लिन जानुभको हो । हप्ता–दस दिनमा आउनुहुन्छ ।’

एकाएक अनुहारको बादल फाट्यो र उसको अनुहारमा चतुर्दशीको जून उदायो ।

मनमायाले अझै अघि थपी, ‘दाइले हिजो एउटा कुरा भन्नुभएको थियो, दिदी ।’

आँसु पुछेर उसले सोधी, ‘के कुरा ?’

‘दाइले बिहे गर्ने रे ।’

उसको मुटु ढुकढुक भयो । मनमायाले अझै अगाडि भनी, ‘तेस्कै लागि पहाडको

घर जानुभको ।’

फेरि मुटु बाहिर निस्केलाजस्तो भयो— पक्कै पनि उनले पहिलेदेखि नै पहाडमा कुनै केटी हेरेका छन्, कुरो छिनोफानो गर्न उनी पहाड गएका हुन् ।

उसको अनुहारको चतुर्दशीको जूनमा कालो बादल लाग्यो ।

उनले कोसँग कहाँ बिहे गर्न लागेका हुन् भनेर मनमायालाई सोध्नै सकिन उसले । मनमायाले अझै अगाडि भनी, ‘दिदी, उहाँ त १४ वर्षसम्म लाहुर बसेर आउनुभको मान्छे । संसार देख्नुभको होला, बुझ्नुभको होला ।’ यतिमै अड्किएर उल्टै उसलाई नै सोधी, ‘तपैंसँग केही भन्नुभको छ उहाँले ?’

अन्यमनस्क भावमा उसले मुन्टो हल्लाई । मनमायाले अगाडि भनी, ‘किन भन्नुभएन त यति ठूलो कुरा पनि ? हामीले त सोच्यौं, तपैंहरूको सबै कुरा भइसकेको छ ।’

उसले बल गरेर सोधी, ‘के कुरा ?’

‘उहाँ त तपैंसँग बिहे गर्ने भन्दै हुनुहुन्छ, तेस्कै लागि यति चाँडै आमा लिन जानुभको रे । हामी त अब एउटै घरमा हुने भयौं । म त कम्ता खुसी भकी छैन !’

एक्कासि उसलाई खुसी थाम्नै सक्दिनँजस्तो भयो । बार नबारे पनि उसले आफ्नो घरबार बारेको देखी । रातो र कमेरो माटोले पोतेर चिटिक्क परेको घर देखी, जहाँ आफ्ना नानीहरू खेल्दै गरेको र धुरीखाँबोझैं उभिएर तीर्थले आफू र आफ्ना सन्तानलाई ओत दिइरहेको देखी ।

एकाएक अनुहारको बादल फाट्यो र उसको अनुहारमा पूर्णिमाको जून उदायो ।

ठीक त्यही बेला गोरेले गहना र रुपैयाँ चोरेर भागेपछि आफू रुँदै गर्दा बूढोले सम्झाएको सम्झिई, ‘किन रोएकी नानी ? चोरिने कुरा चोरियो । मधेसमा केही उपाय भैहाल्छ । तिमीले पोइ पनि पाउँछ्यौ । तिम्रो घर पनि हुन्छ । नआत्तियौ, लौ हिँड ।’

उसलाई लाग्यो, बूढोले त्यतिबेला ठीकै भनेको रैछ । मेरो जीवन त मधेसमा बूढोले भनेजस्तै भयो । तर, बूढोको जीवन अहिले कस्तो हुँदै होला ? भोटे, धने र गोरेको हाल के होला ? तिनीहरू कहाँ के गर्दै होलान् ?
०००
साभार- कान्तिपुर कोसेली

शुक्रबारे कथा विमर्श-५ कार्यक्रमको विवरण (स्रोतकथा Vs उत्तरकथा)
[विमर्शकलाई केवल तीन  प्रश्न- (१०/१२ मिनेटभित्र बुँदागत रूपमा उत्तरको अपेक्षा)
१. कथा लेखनका सन्दर्भमा दुबै कथाबाट हामी सिकारूले कुनकुन कुरा सिक्ने ?
२. उत्तरकथा लेखन कार्यले लेखकीय जीवनमा केकस्तो प्रभाव पार्ला ?
३. आफूलाई भन्न रुचाएका बाँकी कुरा केही छन् कि ?]

कथा प्रस्तुत हुने मिति, समय-      
२०८२ भदौ  ०६ गते शुक्रबार       
रातको ७:०० बजे ।      
विमर्शक-   
१.  खेमराज पोखरेल 
२. कुमार काफ्ले 
३. धीरकुमार श्रेष्ठ 
४. पुण्य कार्की 
५. दीपक लोहनी 
  
अतिथि पर्यवेक्षकहरू- (माथिका दुई कथा पढेर आफूलाई परेको प्रभाव, बुँदागत रूपमा २/३ मिनेटमा)
१. रमेन्द्र कोइराला, 
२. रमेशमोहन अधिकारी, 
३. मनोहर पोखरेल, 
४. लीलानाथ गौतम, 
५. कुमार दाहाल, 
६. समर भण्डारी, 
७. अन्जु शर्मा, 
८. विनिता गौतम, 
९. रामकृपाल महतो  
१०. रचना शर्मा 
११. लखगेन्द्र बस्याल 
१२. लक्ष्मी रिजाल
१३. विनोद कार्की 
१४. संजिता भट्टराई 
१५. डिमला जर्गा ।   
   
संयोजक- अक्षान्त      
कथाकार- विश्वेश्वरप्रसाद कोइराला /अमर न्यौपाने     
प्रस्तोता- एन्जल निलु       
स्रोता तथा दर्शक-  तमाम्

कार्यक्रम हुने लिंक आख्यान विमर्श जमघट https://www.facebook.com/groups/1091301006121860
Ente
Write to Tr Nanda Lal

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...