दार्शनिक ओशोको प्रशिद्ध आत्मकथा- स्वर्णिम बालापन (१७-२२)
१७. ओशोको आत्मकथाः स्वर्णिम बालापन (सत्र १७ : परमात्माको मृत्यु कसरी मर्ने ?)
गएको राति अजित सरस्वतीले मलाई सुनाएको पहिलो कुरा थियो, ‘ओशो, यस्तो गर्न सकूँला भन्ने मैले कहिल्यै सोचेको थिइनँ ।’
जो मानिस त्यहाँ उपस्थित थिए, उनीहरूले कम्युनमा आएर बस्ने कुरा भइरहेको होला भन्ने सोचे । एक किसिमले त्यो पनि सत्य नै थियो किनभने मलाई के याद छ भने, बीस वर्ष पहिले जब उनी पहिलो पटक मसँग भेट्न आएका थिए, मसँग केही मिनेट भेट्नका लागि उनले आफ्नी पत्नीसँग स्वीकृति लिनु परेको थियो । त्यसैले जो त्यहाँ थिए, आफ्ना सारा कामधाम, बालबच्चा, श्रीमतीसमेत छाडेर यहाँ आउलान् भन्ने स्वभावतः बुझे । सबै कुरा छोडेर यहाँ मसँग बस्न त गाह्रै छ ! यसैलाई त वास्तविक त्याग भनिन्छ तर उनको त्यो अर्थ थिएन । र पनि मैले बुझेँ ।
मैले उनलाई भनेँ, ‘अजित, म पनि त छक्क परेको छु ! मलाई त्यस्तो नभएको होइन, मलाई त त्यस्तो क्षणको आशा, इच्छा र अपेक्षा थियो नै ! र, तिमी आयौ, म निकै खुसी छु ।’
अन्य मानिसहरूले फेरि सोचे होलान्, मैले उनी यहाँ आएर बस्ने कुरा गरिरहेको छु । म त अरु नै केही भनिरहेको थिएँ तर उनले बुझे । उनको बुझाइ उनको आँखामा देखिइरहेको थियो । उनका आँखा बच्चाको जस्तो सरल हुँदै गइरहेको थियो । मैले के पनि देखेँ भने छेउछाउका मानिसहरू बुझिरहेका थिए, गुरुछेउ आउनुको सही अर्थ के हुन्छ । यसको अर्थ होः ‘स्व’मा पुग्नु । यसको अर्थ होः स्व–बोध । उनको मुस्कान बिल्कुलै नयाँ थियो ।
म उनका बारेमा चिन्तित थिएँ । उनी दिनप्रतिदिन गम्भीर हुँदै गइरहेका थिए । मलाई चिन्ता थियो किनभने मेरालागि गम्भीरता एउटा फोहोर शब्द रहिरह्यो सधैँ । एउटा रोग, क्यान्सरभन्दा पनि बढी खतरनाक । कुनै पनि रोगभन्दा बढी संक्रामक तर मैले राहतको गहिरो श्वास फेरेँ र एउटा ठूलो बोझ मेरो छातिबाट हट्यो ।
उनी ती थोरै मानिसहरूमध्येका छन्, जो म मर्नुभन्दा पहिले समाधिस्थ भएनन् भने मैले चक्रलाई दोहोर्याएर चलाउनुपर्छ, मैले पुनः जन्मनु पर्छ । हुन त चक्रलाई दोहोर्याएर चलाउनु असम्भव छ– र यसलाई चलाउने यान्त्रिक विधिका बारेमा मलाई थाहा छैन, खासगरी समयको चक्र । म मेकानिक होइनँ, म टेक्निसियन होइन । त्यसैले चक्रलाई दोहोर्याएर चलाउनु मेरालागि ज्यादै कठिन हुन्छ । र, जब म एक्काइस वर्षको थिएँ, त्यो बेलादेखि यही चल्दै आइरहेको छ ।
२१ वर्ष पहिले चक्र बन्द भएको थियो । अब त त्यसमा खिया पनि लागिसक्यो होला । तिमीले त्यसमा तेल हाल्यौ भने पनि केही फाइदा हुने छैन । कतिसम्म भने मेरा संन्यासीले पनि यसका बारेमा केही गर्न सक्तैनन्, यो कुनै रोल्स रोयसको पैँया होइन । यो त कर्मको पैँया हो र हरेक कर्ममा समाहित चेतनाको चक्र हो । मेरो यो चक्र सकिएको छ तर अजितजस्ता व्यक्तिका लागि मैले कुनै पनि मूल्यमा पुनः आउने प्रयास गर्ने थिएँ ।
जबसम्म मेरा एकहजार एक शिष्य सम्बुद्ध हुने छैनन्, म यो शरीर छाड्ने छैन भन्ने निश्चय गरेको थिएँ । देवराज, यसलाई सम्झनू । यो त्यति गाह्रो छैन । आधारभूत काम गरिसकेको छ, मात्र केही धैर्य चाहिन्छ ।
म भित्र छिर्दै गर्दा अजित सम्बुद्ध भए भन्ने सुनेर गुडियाले भनी, ‘बडो अद्भुत कुरा भयो । यता उता सबैतिर बुद्धत्व घटिरहेको छ ।’
अँ, यस्तै हुन्छ । यही त मेरो काम हो ! र, ती एक हजार एक मानिस कुनै पनि क्षण बुद्धत्वमा पुग्नका लागि करिब करिब तयार छन् । थारै मात्र हावाको झोँक्का र फूल फक्रने छ अथवा सूर्यको पहिलो किरण र कोपिलले आफ्नो हृदय खोल्ने छ ।
त्यो के कुरा थियो, जसले अजितलाई सहयोग पुर्यायो ? गएका बीस वर्षदेखि म उनलाई चिन्दछु र उनीमाथि प्रेमको वर्षात गराइरहेको छु । मैले उनलाई कहिल्यै कुटिनँ । त्यसको कहिल्यै आवश्यकता नै परेन । मैले केही भन्नुभन्दा पहिले नै उनी बुझ्छन् । मैले केही भन्नु भन्दा पहिले नै उनी सुन्छन् । गएका बीस वर्षमा उनी मसँग जति नजिक हुन सके, त्यति नै नजिक हिँडिरहे । उनी मेरा महाकाश्यप हुन् ।
गएको राति के भयो ? कसरी भयो ? किनभने हरेक क्षण उनी हरेक क्षण मेरा बारेमा मात्र सोचिरहेका थिए र जसै उनले मलाई हेरे, उनका सारा विचार रोकिए । र, यही एउटा विचारले उनलाई बादलले झैँ घेरेका थिए । उनी स्वयंले पनि आफ्ना शब्दहरूका उचित अर्थ बुझ्न सके होलान् भन्ने मलाई लाग्दैन । केही समय लाग्छ र शब्द अचानक प्रकट हुन पुग्छन् । केही सोच्दै नसोची, उनले अचानक मलाई भने, ‘मलाई यो आशा थिएन, मैले कहिल्ये यो अपेक्षा गरेको थिइनँ । म यसलाई गर्न सकूँला भन्ने सोचेको थिइनँ ।’
मैले भनेँ, ‘चिन्ता नगर । मलाई सधैँ पूरापूर विश्वास थियो, अब ढिलोचाँडो एक न एक दिन यस्तो अवश्य घट्नेछ ।’
उनी केही असमञ्जसमा परे । उनी आउने कुरा गरिरहेका थिए र म घटना घट्ने कुरा गरिरहेको थिएँ । ठीक त्यही बेला मानौँ एउटा झ्याल खुल्यो र तिमीले हेर्यौ, ठीक त्यसरी नै एउटा झ्याल खुल्यो र उनीहरूले देखे । उनले मुस्कुराउँदै, आँखाभरि आँशु पारेर मेरो गोडा छोए । आँशु र मुस्कान एकसाथ मिसिएको देख्नु एउटा सुन्दर अनुभव हो । यो आफैँमा एउटा ज्यादै सुन्दर अनुभव हो ।
अजित सरस्वतीका कारण म त्यो कथालाई पूरा गर्न सकिनँ, जसलाई मैले शुरुमा भनेको थिएँ । निकै लामो समयसम्म उनी यति निकट रहे कि मलाई उनको बानी पर्यो । तिमीलाई थाहा छ, ‘तन्त्र आर्ट एन्ड तन्त्र पेन्टिङ’ पुस्तकका सुप्रसिद्ध लेखक अजित मुखर्जीका बारेमा कुरा गरिरहेको थिएँ नि, मैले भनेको थिएँ… लेखेको हेर्न सक्छौ, जब मैले अजित भनेँ, मुखर्जी भन्न सकिनँ । मेरा लागि सधैँ अजितको अर्थ रह्यो, अजित सरस्वती ! जब मैले अजित मुखर्जीको कुरा गरेँ, पहिले मैले भनेँ, अजित सरस्व..सम्म पुग्दानपुग्दै मैले फर्केर मुखर्जी भनेँ ।
उनी, कुनै बाधा नपारी, चुपचाप प्रतीक्षा गरिरहे । यस्तो श्रद्धा दुर्लभ हुन्छ । यद्यपि यसै किसिमको श्रद्धाका साथ मेरा हजारौँ संन्यासी छन् । जानेर होस् या अनजानमै भएका, श्रद्धा ज्यादै आवश्यक छ ।
अजित सरस्वतीको पृष्ठभूमि हिन्दु हो । त्यसैले उनका लागि यस्तो श्रद्धा राख्नु स्वाभाविक हो । तर उनको शिक्षा पश्चिममा भएको थियो । शायद त्यसैले उनी यति निकट आउन सके । हिन्दु पृष्ठभूमि र पश्चिमी वैज्ञानिक बुद्धि, यी दुवैका एक साथ हुनु दुर्लभ घटना हो । उनी अनौठा व्यक्ति हुन् ।
र, गुडिया, उनी अझ बढी सम्बुद्ध हुने तयारीमा छन् । यताउता, यहाँत्यहाँ, सबै ठाउँमा सम्बुद्ध हुनेछन् । यति चाँडो सम्बुद्ध जन्मनेछन्, किनभने मसँग अब धेरै समय छैन । तर अस्तित्वमा जब मनुष्य फक्रिन्छ, उसको आवाज ‘पप म्युजिक’जस्तो हुँदैन । शास्त्रीय संगीतजस्तो पनि हुँदैन । त्यो त यस्तो शुद्ध संगीत हुन्छ, जसलाई कुनै पनि वर्गमा राख्न सकिँदैन । तिनलाई सुन्न सकिँदैन, मात्र महसुस गर्न सकिन्छ ।
अब तिमीहरूले यसमा बेवकुफी देख्लाऊ ! म यस्तो संगीतको कुरा गरिरहेको छु, जसलाई सुन्न सकिन्न, महसुस गर्न सकिन्छ । हो क्या ! म त्यसैको कुरा गरिरहेको छु । यसलाई समाधि भनिन्छ । सबै मौन हुन्छन् । बाशोको भ्यागुतो त्यो प्राचीन तलाउमा कहिल्यै हाम्फालेको छैन, कहिल्यै छैन । मानौँ तलाउमा तरङ्ग नै उठ्दैन र सधैँ आकारलाई प्रतिविम्बित गरिरहन्छ, अविचल भावले ।
बाशोको त्यो हाइकू ज्यादै सुन्दर छ । म यसलाई कयौँ पटक दोहोर्याउँछु किनभने यो सदा नयाँ छ र यसबाट नयाँ नयाँ अर्थ निस्कने गर्छन् । म यो पहिलो पटक भनिरहेको छु, भ्यागुतोले हाम्फालेको नै छैन र न त छपाक् आवाज नै आयो । त्यो प्राचीन तलाउ न त प्राचीन नै हो, न त नवीन । समयका बारेमा ऊ केही जान्दैन । त्यसको सतहमा कुनै तरङ्ग छैन । त्यसमा तिमीले जुन तारा देखिरहेका छौ, त्यो आकाशका ताराहरूभन्दा कयौँ बढी भव्य र शानदार छ । तलाउको गहिराई त्यसको वैभवलाई अझ बढाउँछ । ती सपनाका संसारको अङ्ग बन्न पुग्छन् ।
जब कोही समाधिमा फक्रन्छ, उसलाई थाहा हुन्छ, भ्यागुतोले हाम्फालेकै छैन– प्राचीन तलाउ प्राचीन थिएन । त्यो बेला थाहा हुन्छ, जे छ ।
यी सबै त मैले यसै भनिदिएँ । तर योभन्दा पहिले म बिर्सूं, हिजो भन्न थालेको कथालाई भनिहालूँ.. । तिमीहरूले शायद सोचेका पनि थिएनौ होला, मैले त्यो सम्झनेछु । तर एउटा सुन्दर कथाबाहेक सबै बिर्सन सक्छु । मेरो मृत्युपछि पनि तिमीहरूले म केही बोलूँ भन्ने चाह्यौ भने कुनै कथाका बारेमा सोध्नूः ईसपको कथाहरू, पञ्चतन्त्र, जातक कथाहरू अथवा जिससका नीतिकथाहरू ।
हिजो मैले भनिरहेको थिएँ, त्यो सबै ‘कुकुरको मृत्यु’को कहावत (लोकोक्ति)बाट शुरु भयो । मैले भनेको थिएँ, विचरो कुकुरको यसमा कुनै लिनुदिनु छैन तर यो उक्तिका पछाडि एउटा कथा छ, जुन सम्झनायोग्य छ । किनभने लाखौँ मानिसहरू कुकुरकै मृत्यु बेहोर्ने छन् । शायद तिमीहरू पनि त्यो कथालाई सुनिसकेका छौ । शायद हरेक बालबालिकाले यसलाई सुनेका होलान् । त्यो यति सरल छ ।
परमात्माले संसार बनायोः पुरुष, स्त्री, पशु, रुख, पक्षी, पर्वत आदि सबैथोक । शायद ऊ साम्यवादी हुनुपर्छ । यो त ठीक भएन, कम्तीमा परमात्मा चाहिँ साम्यवादी हुनुहुन्थेन । उसलाई कमरेड परमात्मा भनियो भने त पक्कै राम्रो नलाग्ला । ‘कमरेड परमात्मा, तिमीलाई कस्तो छ ?’ भनेको सुन्दा कस्तो लाग्ला ? पक्कै राम्रो लाग्ने छैन । तर कथाले भन्छ, परमात्माले सबैलाई बीस वर्षको आयु दियो । सबैको बराबर आयु । पुरुषलाई मन परेन । यो त स्वाभाविकै थियो । उसले तुरुन्तै प्रतिवादमा भन्यो, ‘मात्र बीस वर्ष ? यो त पर्याप्त भएन !’
यसले पुरुषका बारेमा जनाउँछ, उसका लागि केही पनि पर्याप्त हुँदैन । प्रतिवाद गर्न स्त्री उभिइन । यसले स्त्रीका बारेमा थाहा हुन्छ । ऊ साना साना कुराबाट नै सन्तुष्ट छे । उसका इच्छा मानवीय छन् । ऊ चन्द्रमा तारा पाउने प्रयास गर्दिन । सत्य त के भने जब पुरुष सगरमाथा वा चन्द्रमा या मंगलमा पुग्ने प्रयास गर्छ, ऊ त्यसमा खुब हाँस्छे । उसलाई पुरुषका यी सारा काम मुर्खतापुर्ण लाग्छन् । ऊ सोच्छेः यी सारा कुरामा के छ ? त्यत्रा सारा कुरा गर्नुको साटो घरमा बरु टेलिभिजन हेरेर बस्नु पर्छ ।
आशु तल हेरिरहेकी छ । नलजाऊ । म स्त्रीहरूको टेलिभिजन हेर्ने विरुद्ध बोलिरहेको छैन । म त आफ्ना बारेमा कुरा गरिरहेको छु । म सोच्छु, स्त्रीहरू त विज्ञापनका लागि टेलिभिजन हेर्छन् । अरु कुनै चिजका लागि होइन । कुन नयाँ साबुन या सेम्पु आयो, कुन नयाँ कार आयो… केही नयाँ… केही नवीन ।
विज्ञापनमा सबै कुरा सधैँ नयाँ हुन्छन् । हरेक पटक नयाँ प्याकेटमा पुराना कुरा हुन्छन् । अँ, प्याकेट नयाँ हुन्छन्, लेबल नयाँ हुन्छन्, नाम नयाँ हुन्छन् । स्त्रीका रुचि सधैँ वर्तमानमा हुन्छ । उसको चासो नयाँ वासिङ मेसिनमा हुन्छ, नयाँ रेफ्रिजेरेटरमा हुन्छ, नयाँ साइकलमा हुन्छ ।
यो कथामा स्त्रीले उभिएर परमात्मालाई भनिन, ‘बीस वर्ष मात्र ?’ बरु सत्य त के भने, जब पुरुष उभिएर जब प्रतिवाद गर्न थाल्यो, स्त्रीले उसलाई तानेर तल बसाउन चाहँदी हो र भन्दी हो, ‘चुप लागेर बस । किन गुनासो गरिरहेको ? सधैँ गुनासो मात्र गरिरहेका हुन्छौ । बस ।’
तर पुरुष आफ्नो कुरामा अडान लिएर उभिइरह्यो । भन्यो, ‘यो बीस वर्षको सीमा मलाई मञ्जुर छैन । मलाई अझ बढी चाहियो ।’
परमात्मा असमञ्जसमा पर्यो । साम्यवादी परमात्मा हुँदा, ऊ गरोस् पनि के ? उसले त सबैलाई एकैजसो आयु दिएकै हो । तर पशुहरूलाई यो साम्यवादी साथीभन्दा बढी बुझ्झकी थिए ।
हात्तीले हाँस्दै भन्यो, ‘चिन्ता नगर । तिमी मेरो जीवनबाट दस वर्ष लिन सक्छौ । किनभने बीस वर्षको समय ज्यादै लामो हुन्छ । बीस वर्ष म के गरुँ ? मेरा लागि त दस वर्ष नै पर्याप्त छ ।’
मानिसले हात्तीको जीवनको दस वर्ष पायो । यो उसको बीस र तीस वर्षको बीचको समय हो । बीसदेखि तीस वर्षबीचको मानिसको व्यवहार हात्तीजस्तो हुन्छ । यही बेला जब हिप्पी यिप्पी र उनकाजस्ता जाति जन्मन्छन् । संसारका सबै ठाउँमा यस्ता मानिसहरूलाई हात्ती भन्दा राम्रो हुन्थ्यो । त्यो उमेरमा मानिसले आफूलाई निकै महान् सम्झन्छन् ।
तीस र चालीस वर्षको उमेरका बीच मानिस सिंहले जस्तो चिच्याउँछन्, मानौँ कि उनीहरू आफैँलाई भन्दाहुन्, म त अलेक्जेन्डर महान् हुँ । जब अलेक्जेन्डर नै वास्तविक सिंह थिएन भने अरुको त झन् के कुरा भयो र ? तीस र चालीस बीचका हरेक मानिस सिंहजस्तो व्यवहार गर्छन् ।
त्यसपछि बाघले उठेर भन्यो, ‘जब सबै विचरा मानिसलाई केही न केही दिइरहेका छन् भने म पनि आफ्नो उमेरको दस वर्ष उसलाई दिन्छु नि त !’
चालीस र पचास वर्षका मानिस बाघले जस्तो व्यवहार गर्छन्, जुन सिंहको भन्दा अलि कमजोर हुन्छ, बढी शालिन हुन्छ र एउटा ठूलो बिरालोभन्दा अरु केही पनि हुँदैन । तर आफ्ना बारेमा प्रशंसा गर्न र गफ लडाउन तिनलाई जति कसलाई आउला ?
त्यसपछि घोडा उठ्यो र उसले आफ्नो दस वर्ष पुरुषलाई दियो । पचास र साठी वर्षको उमेरका बीच मानिसले सबै किसिमका भारी बोक्नुपर्छ । त्यो बेला ऊ एउटा साधारण घोडा होइन, असाधारण घोडा बन्न पुग्छ । उसमा चिन्ताका यति ठूलो पहाड लादिएको हुन्छ कि उसले आफ्नो दृढ निश्चयले आफूलाई घिसार्दै हिँडिरहेको हुन्छ ।
साठी वर्षको उमेरमा कुकुरले आफ्नो दस वर्ष दियो । त्यसैले ‘कुकुरको मृत्यु’ कहावत प्रसिद्ध भयो । यो कथा निकै सुन्दर नीतिकथा हो । साठी र सत्तरी वर्षको बीच मानिसले कुकुरले जस्तो जीवन बाँच्छ । ऊ सबै कुराका लागि भुकिरहेको हुन्छ । ऊ भुक्ने बहाना खोजिरहेको हुन्छ ।
यो कथाले सत्तरी वर्षसम्मको कुरा मात्र गर्छ । त्यसपछिको कुरा गर्दैन किनभने त्यो बेला मानिस ७० वर्षभन्दा बढी बाँच्दैनथ्यो । कसैलाई पनि मान्छे त्यति बढी बाँच्ला भन्ने अपेक्षा गर्दैनथयो । ७०वर्ष परम्परागत आयु हो । तपाईं रुढी या परम्परा मान्ने व्यक्ति हो भने क्यालेन्डरमा ७० वर्ष पुगिसकेपछि मरिहाल्नुस् । त्योभन्दा बढी बाँच्नु चाहिँ केही आधुनिक हुनु हो । ८०, ९० र १०० वर्षसम्म बाँच्नु त अझ अति आधुनिक हुनु हो । त्यो त क्रान्तिकारी हुनु हो ।
अमेरिकामा केही असाध्य रोग भएका मानिसहरूलाई डिप फ्रिजमा चिस्याएर राखिन्छ भन्ने तिमीहरूलाई थाहा छ ? आज तिनको रोगको कुनै उपचार छैन तर शायद बीस वर्षपछि त्यसको उपचार खोजिएला । हुन त त्यो रोगका साथ ऊ केही वर्ष अझ बढी बाँच्ला र पनि उनीहरूले आफ्नो खर्चमा, बरफमा जम्न रुचाए । अमेरिकामा त सबै कुरा आफ्नै खर्चमा गरिन्छ । उनहिरु बरफमा जमेका मृतप्राय छन् र पनि पैसा तिरिरहेका छन् । आउँदा बीस वर्षको खर्च उनीहरूले पहिले नै दिइसकेका छन् ताकि उनीहरूको शरीर निरन्तर चिस्यानमा रहिरहोस् । यो निकै महँगो काम हो । जयादै सम्पन्नले मात्र यति खर्च गर्न सक्छ । मेरो विचारमा बरफमा जमाइएको शरीरलाई रेखदेख गर्न एक दिनमा एक हजार डलर लाग्छ । उनीहरूलाई आशा थियो, जब उनीहरूको रोगको उपचार खोजिन्छ, यो बरफ पगालेर तिनलाई पुनः ज्यूँदो बनाई उपचार गरिन्छ । उनीहरू प्रतीक्षा गरिरहे । ती विचरा धनी मानिस ! अमेरिकामा यस्तो कुराको केही सय मानिसहरू प्रतीक्षा गरिरहेका छन् ।
यसले प्रतीक्षाको अर्थ नै बदलियो । यो निकै नयाँ शैलीको प्रतीक्षा होः श्वास त लिइरहेका छैनन् तर प्रतीक्षा गरिरहेका छन् । यो वास्तवमा ‘वेटिङ फर गोडेट’ हो र खर्च पनि दिनु परिरहेको छ ।
यो कथा पुरानो हो । त्यसैले सत्तरी वर्षसम्म मात्र छ । कुकुरको मृत्युको सिधा अर्थ हो, त्यो मानिसले कुकुरको जसरी बाँच्यो । तिमी कुकुर प्रेमी हौ भने नराम्रो नमान्नू । कुकुरसँग यो कथाको कुनै लिनुदिनु छैन । कुकुर त निकै राम्रा हुन्छन् तर कुकुरजस्तो बाँच्नुको अर्थ हो, भुक्नका लागि मात्र बाँच्नु । हर समय भुकिरहनु, मौका खोजिरहनु भुक्ने । भुक्नुको मजा लिनु नै तिनको काम हो । कुकुरको जस्तो बाँच्नुको अर्थ हो, मानिसलेजस्तो नजिउनु । मनुष्यभन्दा तल्लो स्तरमा बाँच्नु, मनुष्यभन्दा कम बाँच्नु । र, जो कुकुरले जस्तो बाँच्छ, ऊ कुकुरकैजस्तो मृत्यु वरण गर्छ । तिमीले त्यही मृत्यु बाँच्छौ, जुन तिमीले आर्जित गरेका हुन्छौ ।
म ती शब्दलाई दोहोर्याउन चाहन्छु, तिमीले त्यसतो मृत्यु पाउँदैनौ, जुन आर्जित गरेका छैनौ । जसका लागि सारा जीवनमा तिमीले मिहिनेत नगरेको मृत्यु कहाँ पाउँछौ र ? मृत्यु या त दण्ड हो या त पुरस्कार । के हो, त्यो सबै तिमीमा भर पर्छ । तिमीले सतही जीवन बाँचेका छौ भने कुकुरजस्तै मर्नेछौ । कुकुर ज्यादै बौद्धिक, जयादै मस्तिष्कप्रधान हुन्छन् तर हृदयबाट र अन्तरबोधबाट, प्रगाढतापूर्वक बाँच्यौ भने बुद्धिले होयन प्रतिभाले सारा काम पूरा प्राणले ग¥यौ भने तिमीले परमात्माको मृत्यु बाँच्नेछौ ।
डग्स डेथ, ‘कुकुरकोजस्तो मृत्यु’ उखानका विपरीत मैले एउटा नयाँ उखान बनाएको छु । गड्स डेथ, अर्थात् परमात्माको मृत्यु । अब अंग्रेजी भाषामा गड र डग शब्दका लागि तिनै अक्षर प्रयोग गरिन्छ तर लेख्न क्रम फरक हुन्छ । डिओजीबाट डग बन्छ अनि उल्टो क्रममा लेख्यो भने जिओडी बन्छ र गड हुन्छ ।
अस्तित्वको सार, तिमे ‘हुनु’मा छ र हुनु त्यही हो, चाहे तिमी टाउकाले हिँड या गोडाले, यसले फरक पर्दैन । अँ, एक किसिमले फरक पर्छ । तिमीले टाउकाले उभियौ भने निकै दुःख हुन्छ । टाउकाले हिँड्यौ भने तिमीले आफ्नो सातौँ नर्क देख्नेछौ । तर तिमी आफ्नो गोडामा उभिन सक्यौ भने, कसैले पनि रोक्ने छैन ।
कुद ! हाम्फाल ! यही त मेरो शिक्षा हो । टाउकाको बलले होइन, आफ्नो गोडामा उभिनू । स्वाभाविक बन । त्यो बेला तिमी परमात्माजस्तो बाँच्नेछौ । र, परमात्मा परमात्मालेजस्तै मनेृछ । ऊ परमात्माले जस्तो बाँच्छ र परमात्मा झैँ मर्छ ।
र, परमात्मा भन्नाले मेरो सिधा अर्थ होः ‘जो आफ्नो स्वामी हो ।’
+++
१८. ओशोको आत्मकथाः स्वर्णिम बालापन (सत्र १८ः पूर्व मृत्युबाट मनोग्रस्त छ र पश्चिम सेक्सबाट)
सिग्मन्ड फ्राइडले एक जना रोगीसँग प्रश्न सोधिरहेका थिए । सोफामा सुतिरहेको मानिससँग उनले सोधेः ‘यो झ्यालबाट बाहिर हेर्नु त, सडकभन्दा पर त्यो कार्यालयको भवनमा ठड्याइएको झण्डाको डण्डालाई देख्न सक्नुहुन्छ ?’
वृद्ध मानिसले भने, ‘देख्न सक्छु । तिमीले मलाई अन्धो नै ठान्यौ कि क्या हो ? म बूढो त हुँला तर त्यो डन्डा र झन्डा आदि सबै देख्न सक्छु । यो पनि कस्तो प्रश्न हो ? यस्तो मूर्खतापूर्ण प्रश्न सोध्नका लागि मैले तिमीलाई पैसा तिरिरहेको हो र ?’
फ्रायडले भने, ‘धैर्य गर्नुहोस् । मनोविश्लेषकको काम गर्ने तरिका नै यस्तो हुन्छ । अब भन्नोस् त, यो डन्डाले तपाईंलाई के कुराको सम्झना दिलाउँछ ?’ प्रश्न सुनेर वृद्ध मानिस हाँस्न थाले । फ्रायड निकै खुसी भए । लजाउँदै ती वृद्धले भने, ‘मलाई यसले सेक्सको सम्झना दिलाउँछ ।’
फ्रायडले आफ्नो नयाँ सिद्धान्तलाई अरु नै मार्फत प्रमाणित गर्न चाहन्थे । वृद्धको यो कुराले उनको त्यो कुरालाई पुष्टि गरिरहेको थियो । वृद्धले भने, ‘मेरो विचारमा यो डन्डा अरु केही होइन, लिङ्गको प्रतीक हो । तिमी चिन्ता नगर, मलाई जे लागेको हो, त्यही भनेको हुँ ।’ वृद्ध मानिस अझै पनि हाँसिरहेका थिए । र, फ्रायडले पुनः सोधे, ‘उसो भए यो सोफाले के को सम्झना गराइरहेको छ ?’ वृद्धले तिखो हाँस्दै भने, ‘यो कस्तो मनोविश्लेषण हो ? म यसैका लागि आएको हुँ ? मैले यसैका लागि पेस्की दिएको हुँ ?’
फ्रायडले आफ्नो शुल्क अग्रिम रुपमा लिन्थे किनभने यदि तपाईं सबै किसिमका पागलसँग काम गर्दै हुनुहुन्छ भने तिनीहरूमाथि विश्वास गर्न सक्नुहुन्न । उनीहरूले पछि पैसा दिन्छन् कि दिँदैनन् भन्ने कुनै ठेगान हुँदैन । त्यसैले उपचार गर्नुभन्दा पहिले नै शुल्क लिनु जायज हो । सत्य त के भने सारा संसारमा यस्तो कुनै मानिस छैन, फ्रायड पनि छैन, जसको मनोविश्लेषण सम्पूर्ण रुपमा गरिएको होस् । यसको प्रस्ट कारण, सम्पूर्ण रुपमा मनोविश्लेषण हुनै सक्तैन । मनोविश्लेषण गर्दै जानु, गर्दै जानु र त्यसको कुनै अन्त्य नै छैन । किन ? किनभने यो त एउटा विचार मात्र हो, अवास्तविक । एउटा विचारले अर्कोतर्फ लैजान्छ र अर्कोले तेस्रोतिर । यसको कुनै अन्त्य छैन । यस्तो कुनै पनि मनोविश्लेषक अहिलेसम्म जन्मिएको छैन, जसले समग्ररुपेण मनोविश्लेषण गरेको छु भनी दाबी गरोस् । सधैँ केही न केही छुटिहाल्छ । र, मनोविश्लेषणका नाममा तिमी जे खेलिरहेका छौ, त्यो सानो अंशभन्दा केही ठूलो मात्र हो ।
ती वृद्ध मानिसलाई केही रिस पनि उठिरहेको थियो । फ्रायडले भने, ‘नरिसाउनोस् । अब यो अन्तिम प्रश्न । यो सोफाले तपाईंलाई सेक्सको सम्झना दिलाउँछ । यसले त सबैलाई सेक्सको सम्झना दिलाउँछ, यसमा कुनै समस्या छैन । नरिसाउनुहोस् । अब अन्तिम प्रश्न के छ भने, ऊँटलाई देखेपछि तपाईंको मनमा के आउँछ ?’
ती वृद्ध मानिस पेट मिचीमिची हाँस्न थाले । उनले भने, ‘हे भगवान्, मनोविश्लेषण र ऊँटबीच कुनै सम्बन्ध पनि छ भन्ने मलाई थाहा थिएन । तर यो अनौठो संयोग नै हो कि एक दिन जब म चिडियाखाना गएको थिएँ, त्यहीँ मैले जीवनमा पहिलो पटक ऊँट देखेको थिएँ । र, पहिलो पटक देखेको ऊँटबाट मलाई केको सम्झना आउँछ भनेर तपाईं सोधिरहनु भएको छ । खासमा भन्ने हो भने ऊँटले पनि मलाई सेक्सकै सम्झना दिलाउँछ ।’
यो सुनेर फ्रायड पनि चकित परे । ऊँट ! ऊँटले कसरी सेक्सको सम्झना दिलाउँदो होला, उनले त सोच्न पनि सकेनन् । सिग्मन्ड फ्रायडले पनि ऊँटका बारेमा त्यस्तो सोचका थिएनन् । उनले त यत्तिकै त्यो प्रश्न सोधेका थिए । उनले सोचेका थिए, प्रश्नको उत्तरमा वृद्धले भन्लान्, यो ऊँट हो । यसले मलाई कसैको र केही पनि सम्झना दिलाउँदैन । यसले मलाई केही कुराको सम्झना दिलाउनु पर्ने हो र ? फ्रायडले भने, ‘तपाईंले मेरा सारा खुसी हर्नुभयो । तपाईं मेरो सिद्धान्त पुष्टि गर्दे हुनुहुन्छ भन्ने सोच्दै थिएँ तर ऊँटले कसरी सेक्सको सम्झना दिलाउँछ भन्ने मैले बुझ्न सकिरहेको छैन ।’
ती वृद्धले अझै पनि हाँसिरहेका थिए, ‘बेवकुफ ! तिमी अहिले पनि बुझिरहेका छैनौ ? तिमी त्यो ऊँटको चिन्ता नगर । मलाई त हरेक कुराले सेक्सकै सम्झना गराउँछ । यही त मेरो समस्या हो । यसैका लागि त म यहाँ आएको हुँ । यही नै मेरो मनोग्रस्तता हो ।’
मनोग्रस्तता के हो भन्ने कुरा बुझाउन मैले तिमीहरूलाई यो कथा सुनाएको हुँ । यो संसारलाई दुई वर्गमा विभाजन गर्न सकिन्छ । एक ती मानिस, जो सेक्सबाट मनोग्रस्त छन् र अर्को, जो मृत्युबाट मनोग्रस्त छन् । यही पूर्व र पश्चिमका बीच वास्तविक विभाजन रेखा हो । यो भौगोलिक विभाजन होइन, तर यो भूगोलभन्दा धेरै महत्त्वपूर्ण छ ।
अंग्रेजी भाषाले अन्य भाषाका शब्दलाई अपनाउँछ भन्ने तिमीहरूलाई सुनाइसकेको छु । अरबी भाषाबाट लिएका अन्य धेरैजसो शब्दजस्तै ज्योग्राफी पनि एक हो । अरबीको निकै सुन्दर शब्द छ, जगराफिया । ज्योग्राफी होइन तर त्यो जुगराफिया होस् या ज्योग्राफी, यो विभाजन रेखा हुन सक्तैन । यो विभाजन मनोवैज्ञानिक हो ।
पूर्व मृत्युबाट मनोग्रस्त छ र पश्चिम सेक्सबाट । पदार्थवादी सेक्सबाट मनोग्रस्त हुनु नै पर्छ र आध्यात्मिक मृत्युबाट । र, यी दुवै मनोग्रस्तता नै हुन् । कुनै पनि मनोग्रस्तताका साथ जीवन बाँच्नु, पूर्वी या पश्चिमी– नबाँच्नु सरह नै हो । यो त पूरा अवसरलाई गुमाउनु हो । पूर्व र पश्चिम एकै सिक्कका दुई पाटा हुन् । एकातिर मृत्यु अनि अर्कोतिर सेक्स । सेक्स ऊर्जा हो, जीवनको आरम्भ, मृत्यु जीवनको चरम बिन्दु हो, पराकाष्ठा हो ।
हजारौँ मानिसहरूले कहिल्यै अर्गाज्मको कुनै अनुभव गर्दैनन् र त्यो केवल संयोग मात्र होइन । यसको सिधा कारण हो, जब तिमी मृत्युजस्तो अनुभवबाट गुज्रनका लागि तयार हुँदैनौ, तिमी अर्गाज्मलाई चिन्दैनौ । कोही पनि मर्न चाहँदैन । बस्, बाँच्न चाहन्छन् । पटक पटक जीवन शुरु गर्न चाहन्छन् ।
पूर्वमा विज्ञान विकसित हुन सकेन किनभने जब मानिस चक्र रोक्ने प्रयास गर्छन्, विज्ञानको अध्ययन कसले गर्छ ? कसले सुन्छ ? कसले त्यसको चिन्ता गर्छ ? किन पो गर्नुप-यो ? चक्रलाई रोक्नुप-यो । रोक्न त जुनसुकै बेवकुफले पनि रोक्नसक्छ, यसका लागि बाटामा ढुङ्गा राख्नु प-यो । चक्का रोक्नका लागि कुनै प्रविधि चाहिँदैन तर त्यसलाई चलाउन भने विज्ञान चाहिन्छ ।
विज्ञानमा अस्तित्वको गतिको मूल कारण के हो भनी प्रश्न गरिन्छ । अथवा अन्य शब्दमा भन्दा यस्तो कुन चाहिँ यान्त्रिकी व्यवस्था छ, जुन इन्धन बिना नै स्वतः चलिरहन्छ, जसलाई कुनै पनि कसिमको ऊर्जा चाहिँदैन भनी खोज गरिन्छ । किनभने यो ऊर्जा ढिलोचाँडो सकिन्छ नै र त्यो बेला चक्का रोकिन्छ । विज्ञान यस्तो विविधको खोजमा छ, जसले चक्र सधैँ चलिरहोस् र यस्तो गतिको खोजमा छ, जुन कुनै ऊर्जामा निर्भर नहोस् ।
पूर्वमा त विज्ञानको खोज कहिल्यै शुरु हुन सकेन । कारको आविष्कार नै हुन सकेन । कसैलाई कार चलाउने कुरामा रुचि नै थिएन । उनीहरूलाई त्यो रोक्ने ठूलो चिन्ता थियो किनभने त्यो तल झर्दै थियो । पूर्वमा एउटा भिन्न किसिमको घटना घट्यो, जुन पश्चिममा कहिल्यै घटेन र त्यो हो तन्त्र । पूर्वले डर बिना नै, कुनै अप्ठेरो नमानी सेक्सको ऊर्जाको गहनतम खोज गर्न सक्यो । पूर्वलाई सेक्सको बिल्कुल चिन्ता थिएन ।
मैले तिमीहरूलाई जुन कथा सुनाएँ, त्यो साँचो थियो भन्ने मलाई लाग्दैन ।
मलाई त सिग्मन्ड फ्रायड आफ्नो बाथरुमको ऐनासामु उभिएर आफैँसँग कुरा गरिरहेका थिए होला । सोफामा पल्टेको वृद्ध मानिस अरु कोही होइन, स्वयं सिग्मन्ड फ्रायड नै हुनुपर्छ । यदि तिमीले उनको पुस्तक पढ्यौ भने मैले जे भनिरहेको छु, त्यसलाई विश्वास गर्नेछौ । फ्रायडको चिन्तनको एउटा मात्र विषय सेक्स थियो । हरेक चिजलाई उनी सेक्समा परिवर्तित गरिदिन्थे । मानिसको सारा इतिहासमा उनी नै त्यस्तो व्यक्ति हुन्, जो सर्वाधिक सेक्सबाट मनोग्रस्त थिए । र, दुर्भाग्यले मनोविज्ञान, मनोविश्लेषण र अन्य किसिमका थेरापीमा उनको प्रभुत्व थियो । पछि ती क्षेत्रमा उनको योगदान मान्दै उनलाई ‘मनोविज्ञानका पिता’ भनी पदवी दिइयो ।
अनौठो त, सिग्मन्ड फ्रायडजस्तो मानिस, जो सबै प्रकारका डर र भयबाट ग्रसित थिए, २० औँ शताब्दीका सबैभन्दा महत्त्वपूर्ण व्यक्ति बन्न पुगे । उनी शताब्दीभरि छाए । उनी ज्यादै भयभित हुन्थे । यो स्वाभाविक हो । तिमी कुनै चिजबाट, सेक्स या मृत्युबाट मनोग्रस्त छौ, यी दुई मुख्य वर्ग हुन्… यो संसारमा हजारौँ चिज छन् । तर तिनलाई दुई वर्गमा नै विभाजन गर्न सकिन्छ । तिमी यी दुईमध्ये कुनै एकबाट मनोग्रस्त छौ भने तिमी बिल्कुल अज्ञानी हौ, तिमी भयभित हुन्छौ नै । उज्यालोबाट भयभित किनभने तिमीले अन्धकारमा सिद्धान्त र धर्महरुलाई आफ्नो काल्पनिक संसार बनायौ । तिमीलाई प्रकाशसँग डर लाग्छ… दियो बाल्ने मानिससँग डर लाग्छ… डायोजनिजजस्तो मानिस जब सूर्यको प्रकाशको उज्यालो हुँदाहुँदै पनि लालटिन बालेर नाङ्गै कुनै समारोहमा छिर्छ भने… जो कोही डराउँछ नै ।
कहिलेकाहीँ सोच्छु, सिग्मन्ड फ्रायडका लागि कति राम्रो हुन्थ्यो होला यदि डायोजनिज आफ्नो बलिरहेको लालटिनका साथ उनका तथाकथित मनोविश्लेषणको अफिसमा नाङ्गै छिर्थ्यो भने ! ऊ सधैँ नै नाङ्गै बस्थ्यो । ती दुवैको भेट बडो मूल्यवान् हुने थियो ।
फ्रायडजस्ता मानिस उज्यालोसँग डराउँछन् । त्यसैले त डायजनिन लालटिन लिएर हिँड्थ्यो । जब कसैले उसलाई दिउँसै लालटिन किन बालेको भनेर सोध्थे, उनको उत्तर हुन्थ्यो, ‘म ‘मानिस’ खोजिरहेको छु । अहिलेसम्म फेला पार्न सकिनँ ।’
ऊ मर्नुभन्दा केही क्षण पहिले कसैले सोध्यो, ‘डायोजनिज, आफ्नो शरीर छाड्नुभन्दा पहिले कृपया बताइदिनु होस्, तपाईंले जो मनुष्य खोजिरहनु भएको थियो, फेला पार्नुभयो ?’
डायोजनिजले हाँस्दै भन्यो, ‘मैले खोज्न सकिनँ, मलाई त्यसैमा दुःख लागेको छ । तर सबैभन्दा ठूलो कुरा चाहिँ मेरो त्यो ललाटिन अझै पनि मसँगै छ । कसैले चोरेको छैन ।’
सिग्मन्ड फ्रायड मनोग्रस्त थिए र उनले पश्चिमी दृष्टिकोणको प्रतिनिधित्व गर्थे । त्यसैले कार्ल गुस्ताभ जङ उनीसँग धेरै समय काम गर्न सकेनन् । कारण स्पष्ट छ । जङ सेक्सबाट होइन, मृत्युबाट मनोग्रस्त थिए । उनलाई पश्चिमको होइन, पूर्वको गुरुको आवश्यकता थियो । तर उनलाई पश्चिमप्रति यति गर्व थियो कि जब उनी भारत भ्रमणका बेला कसैले उनलाई रमण महर्षिसँग भेट्न सुझाव दियो, जङ गएनन् । त्यो बेला रमण महर्षि ज्यूँदै थिए । त्यहाँ जान हवाई जहाजमा एक घण्टा मात्र लाग्थ्यो । उनी अन्यअन्य ठाउँमा गए । उनी भारतमा कयौँ महिना बसे । तर रमण महर्षिसँग भेट्ने उनीसँग समय थिएन । कारण स्पष्ट छः रमण जस्ता मानिसहरूसँग भेट्नका लागि हिम्मत चाहिन्छ । उनी एउटा ऐना हुन् । उनले तिम्रा सारा वास्तविक अनुहार देखाइदिन्छन् । उनले तिम्रा सारा मुखुण्डो निकालिदिन्छन् ।
मलाई त्यो मानिस, जङप्रति निकै घृणा छ । सिग्मन्ड फ्रायडको म निन्दा गरे पनि म उनलाई घृणा गर्दिनँ । शायद उनी गलत थिए तर उनी प्रतिभाशाली थिए भन्नेमा कुनै सन्देह छैन । उनी निकै प्रतिभाशाली थिए । तर उनले जे गरिहेका थिए, म त्यसलाई समर्थन गर्न सक्तिनँ किनभने मलाई थाहा छ, त्यो कुरा नै ठीक थिएन तर फ्रायडको तुलनामा जङ त निकै होचो मानिस हुन् । त्योभन्दा पनि ऊ त जुडास थियो । उसले आफ्नो गुरुलाई नै धोका दियो, उसका प्रति विश्वासघात ग-यो ।
यो अर्कै कुरा हो, गुरु स्वयं गलत थिए । गलत होस् या सही, फ्रायडले आफ्नो मुख्य शिष्य बनाउनका लागि जङलाई चुनेका थिए र पनि ऊ जुडास बन्यो । उसमा फ्रायडजस्तो योग्यता नै थिएन । फ्रायडबाट अलग हुनुको वास्तविक कारणः फ्रायड अथवा जङका अनुयायीहरूमध्ये कसैले पनि यसको उल्लेख गरेका छैन्, म यहाँ पहिलो पटक भनिरहेको छुः त्यो यति मात्र थियो कि जङ मृत्युबाट मनोग्रस्त थियो र फ्रायड सेक्सबाट । उनीहरू पछिसम्म एकै ठाउँमा उभिन सक्तैनथे, त्यसैले उनीहरू अलग हुनुप-यो ।
हजारौँ वर्षदेखि पूर्व रुग्ण छ । जीवनबाट कसरी छुटकारा पाउने भन्ने सोचेर रुग्ण छ । म यसलाई रोग नै भन्छु । जस्तो तथ्य देखिन्छ, म त्यस्तै भनिदिन्छु । यो रुग्णताका कारण पूर्वमा धेरै हानि भएको छ । जीवनबाट छुटकारा कसरी पाउने भनेर जन्मदेखि नै यो विचार घनीभूत हुनथाल्छ । मेरो विचारमा यो संसारको सबैभन्दा पुरानो मनोग्रस्तता हो । सिग्मन्ड फ्राडजस्तो योग्यता भएका हजारौँ मानिसहरू त्यस्तो विचारबाट ग्रसित थिए र तिनले यसलाई परिपुष्ट नै गरे ।
एक जना पनि यस्तो व्यक्तिको सम्झना छैन, जसले यसको विरोध गरेको होस् । यद्यपि, उर्को कुरामा उनीहरू असहमत थिए तथापि यस कुरामा उनीहरू सबै सहमत थिए । महावीर, मनु, कणाद, गौतम, शंकर, नागार्जुन, यो सूची निको लामो छर र अर्कोतर्फ सिग्मन्ड फ्रायड, सि.जि. जङ, एडलर र अन्य धेरै नालायक, जसलाई पछाडि छाडे, तिनीहरूभन्दा उत्तम छन् ।
तर प्रतिभाशाली, महान् प्रतिभाशाली हुनुको अर्थ तिमी सही हौ भन्ने होइन । कहिलेकाहीँ त एउटा सिधासादा किसान पनि विद्वान भदा बढी सही हुन सक्छ । एउटा बगैँचे प्रोफेसरभन्दा बढी सही हुनसक्छ । जीवन साँच्चिकै अद्भुत छ । यो सधैँ सरलतम र प्रेमपूर्ण मानिसहरूकहाँ जान्छ ।
पूर्व त चुक्यो र पश्चिम पनि त्यही भुल गरिरहेको छ । दुवै अधुरा र असन्तुलित छन् ।
मैले यसका बारेमा कुरा गर्नुप¥यो किनभने मेरो आधारभूत योगदान नै मानिसले सेक्स या मृत्युको चिन्ता गर्नु हुँदैन भन्नेमा छ । यी दुवै प्रकारका मनोग्रस्तताहरूबाट मानिस मुक्त हुनुपर्छ । र मात्र उसले थाहा पाउँछ… अनौैठो कुरा त के भने उसले त्यो बेला यी दुई बेग्लै होइनन् भन्ने थाहा पाउँछ । गहन प्रेमको हरेक क्षण मृत्युको क्षण हो । हरेक अर्गाज्म एक प्रकारको अन्त्य हो, स्थिर, ठहराव हो । उचाइसम्म पुग्छ, तारालाई छुन्छ र पुनः दोहो-याएर कहिल्यै त्यस्तो हुँदैन, चाहे तिमी जेसुकै गर । सत्य त प्रयास गर्दा त्यो अझ बढी टाढा हुन्छ ।
तर मानिस करिब करिब मुसोलेझैँ बाँच्छ, ऊ आफ्नो दुलोमा लुकिरहन्छ । चाहे तिमी यसलाई पूर्वीय, पश्चिमी, ईसाई या हिन्दु भन, सबै किसिमका मुसाका लागि हजारौँ किसिमका दुलो पाइन्छन् । तर दुलो त दुलो नै हो, चाहे त्यो जतिसुकै सुन्दर किन नहोस् । भलै उसले चर्च, मन्दिर या मस्जिदलाई झैँ सिँगारेको होस् । त्योभित्र बस्नुको अर्थ क्रमशः आत्मघात नै गर्नु हो किनभने तिमीलाई मुसो बनाइएको होइन, मनुष्य बन । पुरुष बन, स्त्री बन ।
अहिलेसम्म त सबै कुरा अचेतन ढङ्गले भइरहेको छ, प्रकृतिले तर अब प्रकृतिले धेरै गर्न सक्तिनँ । डार्बिनले भनेका छन्, बाँदरबाट मानिस जन्मियो । शायद ठीकै भने होला । म त त्यस्तो मान्दिनँ । त्यसैले मैले भनेँ, शायद उनले ठीकै भने होला । तर बाँदर त मानिस बनिरहेका छैनन् त १ यो के भयो ? डार्बिनको सिद्धान्तका अनुसार कुनै प्रकारले बाँदर अचानक मानिस बन्दै गरेको त देखिएको छैन ।
कुनै बाँदरलाई चार्ल्स डार्बिनमा रुचि छैन । उनीहरूले त त्यो निरस पुस्तकलाई पनि पढेका छैनन् । मेरो विचारमा, बाँदर डार्बिनको त्यो सोचबाट रिसाएका छन् । मानिस उनीहरूभन्दा बढी विकसित छन् भन्ने कुनै बाँदर मान्न तयार छैनन् । म त सबै किसिमका मानिसहरू, जसमा बाँदर पनि पर्छन्, तिनको सम्पर्कमा छु । मैले भनेको कुरालाई विश्वास गर, मानिस बाँदरको पतन हो । ऊ रुखबाट तल झ-यो । यसलाई उनीहरू विकास मान्दैनन् । म जुन नयाँ शब्द प्रयोग गर्छु, त्यसमा तिमीहरू सहमत हुनुपर्छ, त्यो होः अन्तर–विकास । शायद डार्बिन सही थियो । तर के भयो ? बाँदरहरूलाई बिर्स । हामीलाई तिनीहरूसँग कुनै मतलब छैन ।
मानिसलाई के भयो ? लाखौँ वर्ष बित्यो र मानिस जस्ताको त्यस्तै छ । विकास रोकिएको हो ? यसको कारण के हो ? कुनै पनि डार्बियनले यसको उत्तर दिन सक्ला भन्नेमा शंका छ । मलाई यो राम्रोसँग थाहा छ । मैले डार्बिन र उनका अनुयायीहरूलाई जति गहिरोसँग सम्भव भयो, त्यति गहिराईमा अध्ययन गरेको छु । म भन्छु, जति गरहिराईबाट सम्भव हुनसक्यो, किनभने कुनै खास गहिराई नै छैन । म के गर्न सक्छु ? तर डार्बिनको सिद्धान्त मान्ने एक जना व्यक्तिले आधारभूत प्रश्नको उत्तर दिन सक्तैनः ‘यदि विकास अस्तित्वको नियम हो भने मानिस विकसित भएर अतिमानव या महामानव किन बन्दैन ? ल ठीक छ, महामानव नहोस्, यो निकै ठूलो शब्द लाग्छ, तर मानिस पहिलेभन्दा राम्रो किन भएन ?’
शताब्दीदेखि उसमा कुनै परिवर्तन भएको छैन । इतिहासकारहरूले त भनिरहेकै छन्, मानिस आजको झैँ सधैँ खराब र घृणित नै थियो । यदि कुनै परिवर्तन भएको छ भने ऊ अझ खराब बनेको छ । हो, म म जे भनिरहेको छु, त्यो अरु कसैले भन्दैन ।
राजनीतिज्ञले त्यो भन्न सक्तैनन् किनभने राजनीतिज्ञहरूलाई भोट चाहिन्छ । तथाकथित फिलोसफरले पनि भन्न सक्तैनन् किनभने उसलाई नोबेल पुरस्कार पाउने आशा छ । र, त्यो कमिटीमा त सबै बाँदर नै छन् । कुनै वास्तविक कुरा भन्यौ भने मजस्तै ऊ पनि समस्यामा पर्नेछ । जुन बेलादेखि म सचेत भएँ, त्यो बेलादेखि एक दिन पनि यस्तो छैन, समस्याले नझिँजोलेको होस् मलाई । मभित्र कुनै समस्या छैन । भित्र त सबै समस्या समाप्त भएका छन् तर बाहिरका हरेक क्षण समस्याले भरिएको छ । यदि कसैसँग मेरो सम्बन्ध छ भने ऊ पनि समस्यामा पर्नेछ ।
हालै मैले थाहा पाएँ, हाम्रो एउटा केन्द्रमा केही मानिसले आक्रमण गरे । झ्याल फुटाए, केही सामान लुटी लगे । त्यसपछि एउटा केन्द्रमा आगो लगाइयो ।
अब मेरा मानिसले कसैलाई केही बिगारेका छैनन् । उनीहरू त्यहाँ भेट्न मात्र आउँथे । ध्यान गर्थे । प्रहरीले पनि त्यही भने, यो त अनौठै भयो । हामी यहाँ दुई वर्षदखि हेरिरहेका छौँ । यहाँका मानिस बिल्कुल बेकसुर छन् । न त यी कुनै राजनीतिक पार्टीका हुन्, न त कुन विशेष सिद्धान्त प्रचार गर्छन् । यिनीहरू आनन्दमा मस्त हुन्छन् । यिनका घर किन जलाइएको हो ? यसको कारण बुझिएन ।
प्रहरी शायद यसको कारण थाहा नपलाउला किनभने कारण त यहाँ छ, डेन्टल चेयरमा सुतेको छ ।
हामीले मानिसलाई कुनै पनि हानि गरका छैनौँ र पनि हरेक दिन कुनै न कुनै समस्या आउँछ । कसैले केही बिगारेका छैनन्, मेरा मानिसले कसैको नोक्सान पु-याएका छैनन्… शायद यही हाम्रो गल्ती हो । माफिया बरु ठीक हुन्छन्ः म छैन भने तँ पनि छैनस् भन्ने शैली ठीक होला ।
यो संसार या त सेक्सबाट ग्रसित छ या त मृत्युबाट । त्यसै कारण यसरी नै रुग्ण र अस्वस्थ हुनेछ । यदि हामी स्वस्थ, पुष्ट मनुष्यता चाहन्छौँ भने हामीले आफ्नो दृष्टिकोण बदलेर नयाँ शैलीले सोच्नुपर्ने हुन्छ ।
पहिलो कुरा, जो कुरा पहिलेदेखि नै छ, त्यसलाई स्वीकार गर । परमात्मालाई धन्यवाद छ, तिमीले पहिल्यै सेक्सको सिर्जना गरिदियौ । नत्र त हरेक व्यक्ति बेग्लाबेग्लै किसिमको यन्त्र प्रयोग गर्ने थियो । यसका कारण धेरै निराशा पनि हुन्थ्यो किनभने ती यन्त्र ठ्याक्कै ठाउँमा हुन्थेनन् । एउटै जस्तो हुँदा त ‘फिट’ हुँदैन, स्वर सामञ्जस्यका बाबजुद पनि ती संगीतपूर्ण हुँदैनन्, सबै मानिस आफ्नो आफ्नो कामवासना सिर्जना गर्थे भने निकै गडबड हुन्थ्यो । तिमीले यसको कल्पना पनि गर्न सक्तैनथ्यौ ।
पहिलेदेखि नै तयार भएर आएका छौ, त्यही भएर यो राम्रो भयो । तिमीले पहिलेदेखि नै आफ्नो सम्भावना लिएर आएका छौ ।
र, मृत्यु पनि स्वाभाविक कुरा हो । एक क्षणका लागि, कल्पना गर, तिमी सधैँका लागि बाँच्छौ । अब तिमी के गर्छौ ? तिमीले आत्महत्या गर्न सक्तैनौ ! मलाई अलेक्जेन्डरको शाश्वत जीवनको खोज निकै मन पर्छ । … अन्त्यमा उसले अरबको मरुभूमिमा पानीको कुवा फेला पा¥यो । ऊ अन्त्यन्त आनन्दित भो । ऊ त खुसीले नाच्न नै थाल्यो होला । तर ठीक त्यही बेला एउटा कागले भन्यो, ‘पख् ! पानी पिउनुभन्दा पहिले पख । यो साधारण पानी होइन । मैले यसलाई पिएको थिएँ र अफसोस, अब म मर्न सक्तिनँ । सारा उपाय गरेँ तर केही गर्न सकिनँ । विषले मलाई मार्न सक्तैन । मैले आफ्नो टाउको चट्टानमा ठोक्दा बरु चट्टान फुट्यो तर मलाई केही भएन । यो पानी पिउनुभन्दा पहिले राम्रोसँग सोच । कथाले भन्छ, अलेक्जेन्डर, कतै यो पानी गल्तीले नपिऊँ भन्ने डरले भाग्यो ।
अलेक्जेन्डरका गुरु महान् अरस्तु थिए, जो युरोपेली फिलोसफी र तर्कका पिता मान्छिन् । साँच्चिै महान् पिता ! उनी बिना विज्ञान हुन्थेन न त हिरोसिमा या नागासाकी ! अरस्तु बिना पश्चिमका बारेमा सोच्न पनि सकिन्न । अरस्तु अलेक्जेन्डरको शिक्षक थिए । मलाई शिक्षक सधैँ दयनीय लाग्छन् ।
बालापनमा मैले एउटा पुस्तक देखेको थिएँ, त्यो कुन थियो, मलाई सम्झना भइरहेको छैन । शायद त्यो सिनेमाका बारे थियो । त्यसमा अरस्तु अलेक्जेन्डरलाई पढाइरहेको थियो र बालक अलेक्जेन्डरले भन्यो, ‘मलाई अहिले पढ्न मन लागेको छैन । म त घोडा चढ्न चाहन्छु । तपाईं घोडा बन्नूस् ।’ विचरो अरस्तु घोडा बन्नु प¥यो । ऊ हातपाउ गरेर बस्यो अनि अलेक्जेन्डर उसको पिठ्यूँमा चढ्यो । र, त्यही मानिस पश्चिमी फिलोसफीको पिता बन्यो । कस्तो पिता !
सुकरातलाई पश्चिमी फिलोसफीका पिता कहिल्यै भनिदैन । सुकरात प्लेटोका गुरु थिए र प्लेटो अरस्तुका । तर सुकरातलाई विष दिइयो किनभने ऊ मन पराइएको थिएन । उसलाई पचाउनु सहज थिएन । पश्चिम उसका बारेमा सबैकुरा बिर्सन चाहन्थ्यो । शायद ऊ त्यो समन्वयको कुरा प्रस्तुत गथ्र्यो, जसको म कुरा गर्ने गर्छु । यदि उसलाई विष नदिइएको भए, उसका कुरा सुनिएको भए र उसको सत्यको खोजलाई आधार बनाइएको भए हामी अर्कै किसिमको संसारमा बाँचिरहेका हुन्थ्यौँ होला ।
प्लेटोलाई पनि पिता भनिदैन किनभने खतरनाक सुकरातका साथ उनको नजिकको सम्बन्ध थियो । सुकरातका बारेमा हामी त्यही कुरा जान्दछौँ, जुन प्लेटोले उनका बारेमा लेखेका छन् । जसरी देवगीत नोट लेख्छन्, त्यसरी नै प्लेटोले पनि आफ्ना गुरुका कुरा नोट गर्थे होला । प्लेटोलाई स्वीकार गरिएन किभने उनी सुकरातको छाया मात्र थिएनन् । अरस्तु प्लेटोको शिष्य थियो तर जुडास थियो । ऊ शुरुमा उसको शिष्य थियो र उसले आफ्ना गुरुबाट सबै कुरा सिक्यो र पछि आफैँ गुरु बन्यो । तर कतो विचरो गुरु थियो ! सम्राटले उसलाई पैसा दिएर आफ्नो छोरोको शिक्षक नियुक्त गरेको थियो । अलेक्जेन्डरले उसलाई घोडा बनाउँथ्यो भन्ने कुरा थाहा पाउँदा कति चित्त दुख्छ ! कसले कसलाई पढाइरहेको छ र वास्तविक गुरु को हो ?
म विश्वविद्यालयमा शिक्षक थिएँ । त्यसैले अलेक्जेन्डर अरस्तुमाथि चढ्नुले सिद्ध गर्छ, ऊ पश्चिमा फलोसफीको पिता थिएन । ऊ पिता हुन्थ्यो भने पश्चिमका सारा फिलोसफी त्यो अनाथ बालकजस्तै हो, जसलाई ईसाई मिसनरीहरूले धर्मपुत्र बनाए, शायद कलकत्ताकी मटर टेरेसाले । ती महान् महिला केही पनि गर्न सक्छिन् । अरस्तुमाथि मलाई त दया लाग्छ । उसका लागि मसँग अर्को कुनै शब्द छैन । उसका कारण मैले लज्जित हुनुपर्छ कि कुनै बेला म पनि शिक्षक थिएँ ।
हरेक दिन आफ्ना कक्षाका विद्यार्थीहरूसँग सबैभन्दा पहिले यही भन्थेँ, ‘यहाँ म गुरु हुँ, सम्झनामा राखिराख । तिमीहरू मलाई सुन्न चाहदैनौ भने तुरुन्त जाओ । सुन्न चाहन्छौ भने चुपचाप सुन । म तिमीहरूका सारा प्रश्नको उत्तर दिन तयार छु । तर म कुनै पनि प्रकारको हल्ला सहन सक्तिनँ, खासखुस पनि सुन्न सक्तिनँ । तिमीहरूका गर्लफ्रेन्ड यहाँ छन् भने अहिल्यै बाहिर जाओ, तिनलाई साथै लिएर जाओ । जब म बोलिरहेको हुन्छ भने केवल मै बाल्छु, तिमीहरू सुन्छौ । तिमीहरूलाई केही भन्नु छ भने हात उठाउनू तर उठाइरहनु किनभने त्यसको अर्थ के होइन भने जब तिमीहरू सोध्न चाहन्छौ, त्यही बेला म जवाफ दिऊँ भन्ने कदापि होइन । म यहाँ तिमीहरूको नोकर होइन । म अरस्तु होइन । अलेक्जेन्डरले मलाई घोडा बनाउन सक्तैन ।’
हरेक दिन यही मेरो परिचय हुन्थ्यो । मलाई खुसी लाग्छ, उनीहरू यो कुरा बुझ्थे, बुझ्नु नै पथ्र्यो । त्यसैले कहिलेकाहीँ देवगीत, तिमीसँग कठोर हुन्छु । तिमीलाई बटम दबाउनुपर्छ र यसबाट आवाज निस्कन्छ नै । यसमा तिमी के गर्न सक्छौ ? मलाई राम्रोसँग थाहा छ, यो मेरो पुरानो बानी हो ।
जहिले पनि मैले बोलेँ, गहन मौनमा बोलेँ । तिमीहरूलाई त थाहै छ । वर्षैंदेखि तिमीहरूले मलाई सुनिरहेकै छौ । तिमी बुद्ध हलको मौनबाट परिचित छौ । केवल त्यो मौनमा… तिम्रो अंग्रेजीको यो लोकोक्ति निकै अर्थपूर्ण छ कि मौन यति गहन छ कि सियो झर्दा पनि आवाज सुन्नसकिन्छ तर मलाई मौनको बानी छ ।
त्यो दिन जब म कोठाबाट बाहिर जाँदै थिएँ, तिमी खुसी थिएनौ । यसपछि मलाई ज्यादै नराम्रो लाग्यो, ज्यादै पीडा भयो मलाई । म त कहिले पनि तिम्रो हृदय दुखाउन चाहन्न थिएँ । यो त मेरो पुरानो बानी हो, अब तिमी नयाँ कुरा सिक्न सक्तैनौ । सिक्ने सीमाभन्दा म पर पुगेको छु ।
जब म अमेरिका आएँ, मैले फेरि कार चलाउन थालेँ । कारमा मसँग बसेका मानिसहरू कहिलेकाहीँ रिसाउँथे । म ड्राइभर त होइन । राम्रो ड्राइभर हुँदो हुँ त अर्कै कुरा हुन्थ्यो । स्वभावतः मैले ती सबै काम गरेँ, जुन गलत थियो । हुन त उनीहरूले हस्तक्षेप नगर्ने पूरा प्रयास गरे । उनीहरूको कठिनाइ म बुझ्न सक्छु । उनीहरूले आफूलाई नियन्त्रणमा राखिरहे । रमाइलो दृश्यः म गाडी चलाइरहेको थिएँ र उनीहरू आफूलाई नियन्त्रित गरिरहेका थिए । तर पनि बीचबीचमा उनीहरू बिर्सन्थे र मसँग केही भन्न थाल्थे, जुन अधिकांशतः ठीक नै हुन्थ्यो । त्यसबारेमा मलाई केही भन्नु छैन तर गलत अथवा सही, यसले कुनै फरक पर्दैन, जब म कार चलाइरहेको हुन्छु, म कारै चलाइरहेको हुन्छु । म गलत बाटो हिँडाइरहेको छु भने म गलत बाटो हिँडिरहेको हुन्छु । हिँडेसम्म उनीहरू आफूलाई नियन्त्रित गरिराखून् ? यो ज्यादै खतरनाक थियो र उनीहरूलाई आफ्नो मृत्युको चिन्ता थिएन । उनीहरूले मेरो जीवनको चिन्ता गरिरहेका थिए तर म पनि के गर्न सक्छु ? म यस्तै छु, म गलत तरिकाले कार चलाइरहेको छु र त्यसरी नै चलाइरहन्छु । खासगरी त्यो बेला जब मलाई केही सिक्नु नै छैन । यो कुनै अहंभाव थिएन ।
यस हिसाबले म निकै सरल छु । तिमी सधैँ मलाई भन्न सक्छौ, म कहाँ गलत छु । र, म सधैँ सुन्न तयार छु । तर जब म केही भनिरहको हुन्छु, त्यो बेला कुनै पनि प्रकारको दखल रुचाउँदिनँ । उद्देश्य जतिसुकै असल किन नहोस्, त्यसमा मेरै भलाइ भए पनि मलाई अरुले रोकेको मन पर्दैन । अरुको सल्लाहमा म आफ्नो जीवन बचाउनुभन्दा गलत तरिकाले ड्राइभ गर्दै मर्न रुचाउँछु । म यस्तै छु र अब मबाट परिवर्तन हुने कुरा निकै ढिला भइसक्यो ।
तिमीहरूलाई आश्चर्य लाग्ला, मलाई सधैँ नै ढिला भइरह्यो । बच्चा बेलामा पनि मलाई कतिपय काममा धेरै ढिला भइसकेको हुन्थ्यो । म त जे गर्न चाहन्थेँ, त्यहीँ गरेँ । अहिले पनि त्यही गर्न चाहन्छु र गर्छु । सही या गलतको प्रश्नै उठ्दैन । सही भयो भने राम्रो, सही भएन भने पनि अझ राम्रो ।
शायद कहलिेकाहीँ म तिम्राप्रति कठोर हुन्छु तर म हुन चाहन्नँ । यो तीस वर्षभन्दा पनि बढी मौनमा शिक्षा दिने पुरानो बानी हो, जसलाई मैले बिर्सन सक्तिनँ ।
म त एउटै कुरामा जोड दिन चाहन्थेँ, त्यसको चर्चा भोलि गर्न चाहन्थेँ । मेरो भनाइको अर्थ, म चक्रबाट छुटकारा पाउनेविरुद्ध छैन तर म त्यसलाई रोक्ने मनोग्रस्तताका विरुछमा छु । त्यो त आफैँ रोकिन्छ तर तिम्रो रोक्ने प्रयासले रोकिँदैन । त्यो त तिम्रो अर्कै कामले रोकिन सक्छ । र, त्यो ‘अर्कै काम’लाई म ध्यान भन्छु ।
+++
१९. ओशोको आत्मकथाः स्वर्णिम बालापनः (सत्र १९ मनु सबैभन्दा घृणित पात्र)
ओ.के. । मैले केही चाँडै नै ओ.के. भनेँ किनभने मलाई तिमीहरुको चासो थियो । कम्तीमा शुरुमा त चिन्ता नगर । शुरुमा त मलाई आफ्ना कुरा भन्न देओ । तिमीहरुलाई चिन्तित देखेर मैले ओ.के. भन्नै प-यो । तर वास्तवमा त्यो ओ.के. हुने छैन ।
हजुरबुवाको मृत्युपछि मैले हजुरआमाबाट टाढिनु प-यो । म मेरा बुवाको गाउँ फर्कनु प-यो । म फर्कन त चाहन्न थिएँ तर अरुका चिन्तालाई उपेक्षा गर्न पनि सक्तिनँ थिए । जसरी मैले शुरुमै तिमीहरुका चिन्तालाई लिएर ओ.के. भनेँ ठीक त्यसरी नै मैले मेरा आमाबुवाको मृत हजुरबुवाको घर पठाउन तयार नहुँदा मैले ओ.के. भनेको थिएँ । हजुरआमा मसँग जान तयार हुनुहुन्थेन । म त जम्मा सात वर्षको बच्चो थिएँ । घर जानुमा मैले कुनै भविष्य देखिरहेको थिइनँ ।
पटक-पटक म कल्पनामा आफूलाई त्यो पुरानो घर फर्किरहेको देख्छु, गोरुगाढामा एक्लै… भूरा गोरुहरुसँग कुरा गरिरहेको… । कम्तीमा उसले त गोरुको भए पनि साथ पाउँथ्यो । म गोरुगाढाभित्र एक्लै बसेर भविष्यका बारेमा सोचिरहेको हुँदो हुँ । म त्यहाँ के गरुँला ? मेरा घोडा त मावलैमा छन् । तर मावलाका घोडालाई कसले खुवाउला ? मलाई कसले खुवाउला ? म त एक कप चिया पनि बनाउन सक्तिनँ ।
एक दिन गुडियाले छुट्टी लिई । चेतनाले उसको जिम्मेवारी लिइरहेकी थिई, मेरो हेरचाह गरिरहेकी थिई । म जब बिहान उठ्छु, उसलाई चियाका लागि घण्टी थिच्छु । चेतनाले चियाको कप ल्याएर मेरो ओछ्यान छेउमा राखिदिएकी छ र मेरा लागि तौली र टुस ब्रेस आदि तयार गर्न बाथरुम गएकी छ । तिमीहरुलाई थाहा छ, यस बीचमा, दस वर्षमा आफ्नो काम गर्दैथिएँ । पहिलो पटक मानिसले ससाना काम पनि सिक्नुपर्छ भन्ने मैले बुझेँ । मैले कपलाई जमिनबाट उठाउने प्रयास गरेँ र त्यो झ-यो !
चेतना दौडँदै आई र थोरै डराई । मैले भनेँ, ‘चिन्ता नगर । मेरो जिम्मेवारी थियो । मैले यस्तो गर्नु हुन्थेन । मैले यी दस वर्षमा कप उठाउने कामै गरिनँ, आवश्यकै परेन । दस वर्षदेखि मलाई गुडियाले बिगारिरहेकी थिई । अब एक दिनमा तिमीले मलाई सुधार्न त सक्दिनौ नि !’
कयौँ वर्षसम्म मलाई बिगारियो, म यसलाई बिगार्नु नै भन्छु किनभने उनीहरुले मलाई कहिल्यै केही गर्नै दिएनन् । मेरी हजुरआमा त गुडियाभन्दा पनि बढी हुनुहुन्थ्यो । उहाँले त मेरो दाँत पनि माझिदिनु हुनुहुन्थ्यो । म उहाँलाई भन्थेँ, ‘नानी, म आफ्नो दाँत आफैँ सफा गर्न सक्छु क्या !’
उहाँ भन्नुहुन्थ्यो, ‘चुप लाग मेरो राजा, मैले काम गरिरहेका बेला कसैले रोकेको मन पर्दैन । तिमी बीचमा बोल्ने नगर ।’
म टाउको हल्लाउँदै भन्थेँ, ‘तपाईंलाई मैले आफ्नो काम आफैँ गर्न सक्छु पनि भन्न नसक्नु ?’
‘स्वयं हुनुबाहेक, आफ्नो शैलीले बाँच्नु बाहेक मैले कहिल्यै केही गर्नुपर्ने आवश्यकता नै परेन । सारा शैतानी, बदमासी यसको मूल कारण थियो । बालबालिकासँग ज्यादै ऊर्जा हुन्छ । जब उसलाई केही गराइँदैन, उसले त्यो ऊर्जालाई कहीँ न कहीँ त खर्च गर्छ नै । गलत होस् या सही, त्यसको मतलब हुँदैन । ऊर्जा खर्चने कुरा मात्र हुन्छ र त्यसका लागि बदमासी सबैभन्दा राम्रो उपाय हो । त्यसैले मैले वरपरका सबैका साथ गर्नुसम्म बदमासी गरेँ ।
म डाक्टरहरुले बोक्नेजस्तो सुटकेस बोक्थेँ । मैले एक पटक डाक्टर हिँडिरहेको देखेँ । मैले हजुरआमालाई सोधेँ, ‘त्यो मान्छेले बोकेकोजस्तो चिज मैले नपाउञ्जेलसम्म म भातै खान्नँ ।’
खान्नँ भन्ने कुरा कहाँबाट सिकेँ ! हजुरबुवाले चौमासमा, खासगरी जैनहरुले मान्ने चाडका बेला उपवास बसेको देखेको थिएँ । रुढिवादी मानिसहरु त्यो बेला दस दिनसम्म खाँदैनन् । त्यसैले मैले भनेँ, ‘जबसम्म त्यो सुटकेस पाउँदिनँ, म खाना खान्नँ ।’
हजुरआमाले के गर्नुभयो थाहा छ ? त्यसैले त म उहाँलाई अहिलेसम्म सबैभन्दा बढी प्रेम गर्छु । उहाँले भूरालाई भन्नुभयो, ‘जा, बन्दुक लिएर त्यो डाक्टरलाई खेदा र उसको सुटकेस उठाएर ल्या । आवश्यक प-यो भने गोली चलाए पनि हुन्छ ! चिन्ता नगर, अदालतमा बचाउने जिम्मा मेरो भयो ।’
भूरा बन्दुक लिएर दौडियो । के हुँदोरहेछ भनेर हेर्न म उसको पछिपछि दौडिएँ । भूराको हातमा बन्दुक देखेर डाक्टरलाई लाग्यो, कुनै अंग्रेज आइरहेको होला । त्यो बेला बन्दुक बोकेको अंग्रेज देखेर सबै डराउँथे । डाक्टर पनि स्वाभाविक रुपमा डरायो र हावा चलेको रुखका पातजस्तै लुगलुग काँप्न थाल्यो । भुराले डाक्टरलाई भन्यो, ‘डराउनु पर्दैन । त्यो सुटकेस दिएर गए हुन्छ । मलाई अरु केही चाहिन्न ।’ डाक्टरले काँप्दै भुरालाई त्यो ब्याग दियो ।
देवराज, तिमी डाक्टरहरु यो ब्यागलाई के भन्छौ ? यसलाई सुटकेस भनिन्छ कि अरु नै केही नाउँ छ ? देवगीत, यसलाई के भन्छौ ?
‘शायद यसलाई भिजिटिङ ब्याग भनिन्छ ।’
भिजिटिङ ब्याग ? यो ब्यागजस्तो त देखिँदैन । देवराज, तिमीले कुनै नाम भन्न सक्छौ ? भिजिटिङ ब्यागभन्दा राम्रो नाम छैन ?’
‘खासगरी ग्ल्याडस्टोन ब्याग भनिन्थ्यो । त्यो कालो ब्याग हुन्थ्यो ।’
अनि, त्यो ग्ल्याडस्टोन ब्याग भन्या के हो ? अच्छा, म त्यसैका बारेमा सोचिरहेको थिएँ । शायद मलाई याद आइरहेको थिएन । तर यो ब्यागका लागि मलाई भिजिटिङ शब्द मन पर्दैन । म त यसलाई डाक्टरको सुटकेस नै भन्छु । हुन त यो सुटकेस होइन भन्ने मलाई थाहा छ । खैर, केही छैन । मेरो भन्नुको अर्थ के हो भन्ने बुझिसक्यौ होला ।
त्यो डाक्टर कामेको देखेर मैले बुझेँ, सारा शिक्षा निरर्थक छ । यदि यसले तिमीलाई निर्भय बनाउन सक्तैन भने यसको के काम ? दालरोटी कमाउनका लागि तिमी काँप्छौ । उसो भए तिमी त काँप्दै गरेको दालरोटीको बोरा पो भयौ । यसले मलाई अचानक डा. इचलिङको स्मरण गरायो । मैले सुनेको छु, यो गसिप नै होला र मलाई गोस्पलभन्दा बढी गोसिल्स, गसिपमा रुचि छ । गोस्पल पनि त गफै हो ! गोस्पललाई नूनखोर्सानी मिसाएर सही ढंगले भनिएन । मैले सुनेको छु, यसरी नै बुद्धको गोस्पल शुरु हुन्छ, मेरो अर्थ, बुद्धको गफ शुरु हुन्छ । मैले सुनेको छु… यो कति राम्रो विन्यास (आइडम) छ, मैले सुनेको छु, डाक्टर इचलिङकी प्रेमिका… म त उसलाई इकलिङ नै भन्न चाहन्छु तर मैले सुनेको छु, उसको नाम इकलिङ होइन बरु इचलिङ नै हो रे !
म त्यो मानिसलाई जान्दिनँ । मैले त म-यो भन्ने ठानेको थिएँ किनभने मैले उसलाई संन्यास दिएर शून्यो नाम राखिदिएको थिएँ । शून्योलाई के भयो, मलाई थाहा छैन र डाक्टर इचलिङ कसरी पुनर्जीवित भयो ? तर यदि जिसस हुन सक्छन् भने इचलिङ किन हुँदैन ? खैर, ऊ अहिले पनि त्यहाँ छ । ऊ बच्यो कि पुनर्जीवित भयो, यसले के फरक पर्छ र ? गसिप के भने, उसकी प्रेमिका अर्को संन्यासीसँग भागी र उसले त्यो नयाँ मानिसलाई प्रेम गर्थ थाली । जब उनीहरु फर्किए, डाक्टर इचलिङलाई लभ अट्याक भयो । मलाई बडो आश्चर्य भयो, यो कसरी भयो ? किनभने लभ अट्याकका लागि पहिले हृदय हुनु जरुरी छ । हर्ट अट्याक, लभ अट्याक होइन । हर्ट अट्याक त शारीरिक र लभ अट्याक मनोवैज्ञानिक हो, हृदयको गहिरो भागमा । तर पहिले तिमीसँग हृदय त हुनुप-यो नि !
अब डाक्टर इचलिङलाई हर्ट अट्याक या लभ अट्याक हुनु असम्भव छ । उनले मसँग सोध्नुप-र्यो । म डाक्टर त होइन तर जसरी बुद्ध वैद्य थिए त्यसरी नै म पनि वैद्य हुँ । बुद्ध आफूलाई दार्शनिक होइन, वैद्य भन्ने गर्थे ।
विचरा डाक्टर इचलिङ, केही गलत थिएन । जब कुनै ठाउँमा केही पनि छैन भने गलत कसरी हुनसक्छ ? उसको शरीर बिल्कुल ठीक छ । उसको समस्या मनोवैज्ञानिक हो । उसकी प्रेमिका अब अरु नै कसैकी प्रेमिका भई । त्यसैले पीडा हुन्छ नै । तर कहाँ ?
कसैलाई पनि थाहा छैन, पीडा कहाँ हुन्छ । कलेजोमा ? छातीमा ? डाक्टर इचलिङ त छातीमा पीडा भइरहेको भन्थे । डाक्टर इचलिङ, यो पीडा तिम्रो छातीमा होइन, तिम्रो मनमा छ, तिम्रो ईर्ष्यामा छ । र, ईर्ष्याको केन्द्र छातीमा हुँदैन । सत्य त सबैको केन्द्र मनमा हुन्छ ।
तिमी बि.एफ. स्किनर अथवा पावलफको अनुयायी हौ भने… पावलफ जो स्किनरका हजुबाउ या शायद कुप्रा बाउ थियो र जो फ्रायडको समकालीन र उसको सबैभन्दा ठूलो विरोधी पनि थियो… त्यो बेला मन उपयुक्त शब्द थिएन, त्यो बेला तपाईं मस्तिष्क भन्न सक्नुहुन्छ । तर मस्तिष्क मनको शरीर हो । एउटा यन्त्र, जसको माध्यमले मनले काम गर्छ । यसलाई चाहे मन भन, चाहे मस्तिष्क भन, केही फरक पर्दैन । महत्त्वपूर्ण त सबैको केन्द्र मनमा छ ।
डाक्टर इचलिङ… म उसलाई शून्यो भन्न सक्दिनँ किनभने मद्रासमा उसको अफिसबाहिर जुन बोर्ड लगाएको छ, त्यसमा लेखिएको छः डा. इचलिङको अफिस । यदि उसलाई फोन गरियो भने उसको सहायकले भन्नेछः, ‘डा. इचलिङलाई अहिले भेट्न सकिन्न, उहाँ मिटिङमा हुनुहुन्छ ।’ म त उसलाई शून्यो त्यही बेला भन्नेछु, जब त्यो बोर्ड गायब हुन्छ । जब उसको मूर्ख सहायकले, ‘यो इचलिङ को हो म चिन्दिनँ । मैले उसको नाम पनि सुनेको छैन । अँ उहाँ कुनै बेला यहीँ हुनुहुन्थ्यो । त्यसपछि उहाँ भारत जानुभयो र त्यहीँ मर्नुभयो । उहाँको ठाउँमा शून्यो नामक व्यक्ति आउनु भएको छ ।’
त्यो बेला मात्र म उसलाई शून्यो भन्नेछु, जब त्यो बोर्ड जमिनमा गाडेर त्यसमाथि हाम्फालेर ऊ पनि गायब हुनेछ ।
तर यो कथा या गसिप तिमीहरुलाई सुनाउनका लागि भनिएको हो । पहिले सबै कुरा मनमा हुन्छ, त्यसपछि शरीरमा आउँछ। शरीर मनको विस्तार हो, पदार्थका रुपमा । मस्तिष्क, त्यो विस्तारको शुरुवात हो र शरीर त्यसको पूर्ण प्रकटीकरण हो । तर बिउ त मनमा हुन्छ । मनमा यो शरीरको बिउ मात्र हुँदैन, यसमा जे पनि बन्ने सम्भावना हुन्छ । यसको सम्भावना असीम हुन्छ, असीम छ । मनुष्यताका सारा विगत यसमा अटेको हुन्छ र मनुष्यताको विगत मात्र होइन बरु पूर्व मनुष्यताको पनि अटाएको हुन्छ ।
कुनै बालक आमाको गर्भमा हुँदा उसले एक प्रकारले तीस लाख वर्षको विकासक्रमलाई पार गर्छ । यति तीव्रताले ऊ पार गर्छ कि कुनै फिल्म त्यति तीव्रताका साथ चलायो भने, मात्र केही झल्को देखिन्छ । नौ महिनामा बच्चा निश्चित रुपले जीवनको शुरुवात र त्यसपछिका सबै क्रम हुँदै गुज्रन्छ । शुरुमा–– र म बाइबलबाट उद्धृत गरिरहेको छैन, म त हरेक बच्चाको जीवनको तथ्यलाई भनिरहेको छु–– शुरुमा हरेक बच्चा माछा हुन्छ, ठीक त्यस्तै जसरी समस्त जीवन समुद्रमा शुरु भएको थियो । अहिले पनि मानिसको शरीरमा त्यति नै नुन छ, जति समुद्रको पानीमा हुन्छ । मनुष्यको मनले यो नाटक पटक पटक खेल्छः जन्मको नाटक, माछादेखि अन्तिम स्वासका लागि तडपिरहेको वृद्ध मानिससम्म ।
म गाउँ फर्कन चाहन्थेँ तर जे गुमाइएको थियो, त्यसलाई पुनः पाउनु असम्भव थियो । त्यसैबेलादेखि मैले बुझेँ, जहाँ दोहो-याएर नजानु नै राम्रो हो । त्यसपछि म कयौँ ठाउँ गएँ तर दोहो-याएर कहीँ पनि गइनँ । एक पटक जब कुनै ठाउँ छाडेँ भने म त्यसलाई सधैँका लागि छाड्छु । बालापनको यो घटनाले मेरो जीवनको एउटा विशेष ढाँचा तयार पा-यो । म जान चाहन्थेँ तर जानका लागि कुनै सहारा पाइरहेको थिइनँ । मेरी हजुरआमाले स्पष्ट भन्नुभयो, ‘म त्यो गाउँ फर्केर जान सक्तिनँ । मेरा पति नै त्यहाँ छैनन् भने म त्यहाँ गएर के गरुँली ? म त उनका कारण त्यहाँ गएकी थिएँ, गाउँका कारण होइन । मैले यदि कहीँ जानु नै छ भने बरु खजुराहो जानेछु ।’
तर त्यो पनि सम्भव थिएन किनभने उहाँका मातापिता बितिसक्नु भएको थियो । पछि मैले त्यो घरलाई पनि देखिनँ, जहाँ उहाँ जन्मनु भएको थियो । त्यो खण्डहर भइसकेको थियो । फर्केर जाने कुनै सम्भावना नै थिएन । केवल भूरा मात्र यस्तो मानिस थियो, जो फर्कनका लागि तयार हुनसक्थ्यो तर ऊ पनि आफ्नो मालिकको मृत्युको चौबीस घण्टापछि नै म-यो ।
यति कम समयमा यी दुई मृत्युका लागि कोही पनि तयार थिएनन्, खासगरी जसलाई यी दुवै ज्यादै प्रिय लाग्थे ।
भूरा मेरा हजुरबुवाको आज्ञाकारी नोकर भए पनि ऊ मेरा लागि त साथी थियो । हामी प्रायः सँगै बस्थ्यौँ, खेतमा, जंगलमा, खोलामा सबैतिर । भूरा त मेरो छायाँजस्तै थियो कहिले पनि कुनै कुरामा मलाई रोक्दैनथ्यो र सहयोग गर्न सधैँ तयार रहन्थ्यो । यति ठूलो हृदय बोकेको थियो । त्यति गरिब हुँदा पनि ऊ यति धनी थियो ।
उसले कहिले पनि मलाई आफ्नो घर बोलाएन । एक पटक मैले उसलाई सोधेँ, ‘भूरा, तिमी मलाई आफ्नो घर किन लैजान्नौ ?’
‘म यति गरिब छु कि चाहेर पनि घर बोलाउन सक्तिनँ । मेरो गरिबी बाधा बनेर उभिन्छ । म आफ्नो त्यो भद्दा र फोहोर घर तिमीलाई देखाउन चाहन्नँ । यो जीवनमा त म तिमीलाई कहिल्यै घर बोलाउन सक्तिनँ । त्यसैले मैले यसका बारेमा सोच्न पनि छाडिसकेँ,’ भुराले भनेको थियो ।
ऊ ज्यादै गरिब थियो । त्यो गाउँ दुई भागमा थियो । एउटा उच्च जातिका लागि र अर्को गरिबका लागि । गरिबको चाहिँ नदीपारि थियो । भूरा पनि त्यहीँ बस्थ्यो । हुन त मैले कयौँ पटक उसको घर जाने प्रयास गरेँ तर सफल हुन सकिनँ । किनभने भूरा मेरो छायाँजस्तै सधैँ सँगै हुन्थ्यो । उसको घरतिर हिँड्नेबित्तिकै उसले मलाई रोक्थ्यो । मेरो घेडा पनि उसैले भनेको मान्थ्यो । जब मैले उसको घरतिर जाने प्रयास गरेँ, भुरो भन्थ्यो, ‘नजाऊ !’ घोडाले उसको कुरा बुझ्थ्यो किनभने उसैले त त्यो घोडालाई हुर्काएको थियो ! उसको आदेश मान्थ्यो र रोकिन्थ्यो घोडा । घोडा भूराको घर त के, त्यो गाउँको गरिब बस्तीतिर पनि हेर्दैनथ्यो । मैले त अर्कै पाटोबाट देखेको थिएँ, त्यो ठाउँबाट जहाँ उच्च जातिमा जन्मिएका, समृद्ध र धनी व्राह्मण र जैन आदि बस्थे । भूरा त बिचरो शुद्र थियो । शुद्रको अर्थ होः जो जन्मले नै अशुद्ध छन् । उसलाई कसैगरी शुद्ध गर्न सकिन्न ।
यो मनुको कृपा हो । त्यसैले त मलाई उसप्रति यति घृणा छ र मैले सधैँ उसलाई निन्दा गर्छु । म चाहन्छु, यो मनु नामक व्यक्तिका बारेमा सारा संसारले थाहा पाओस् किनभने जबसम्म हामी यस्ता मानिसका बारेमा थाहा पाउँदैनौँ, हामी उनीहरुबाट मुक्त हुन सक्तैनौँ । उनीहरुले कुनै न कुनै प्रकारले हामीलाई प्रभावित तुल्याइरहन्छन् । अमेरिकासम्म पनि । यदि तिमी निग्रो हौ भने भने तिमी शुद्र हो, तिमी निगर हौ भने अछुत हौ ।
चाहे निग्रो को हो भन्नेबारे सेतो छाला भएको व्यक्ति होस् या कालो, दुवैले मनुको विषाक्त फिलोसफीबारे जानकार हुनुपर्छ । मनुले अति सूक्ष्म ढङ्गले दुवै महायुद्धलाई प्रभावित गरेको छ । र, शायद तेस्रो र अन्तिम महायुद्धको कारण पनि उही नै हुनेछः साँच्चै ऊ निकै प्रभावशाली मानिस हो ।
डेल कारनेगीको पुस्तक ‘हाउ टु विन फ्रेन्ड्स एन्ड इन्फ्लुएन्स पिपल’ लेख्नुभन्दा पहिले मनुलाई यो कुरा थाहा थियो । हामीले डेल कारनेगीका कति साथी थिए र उसले कति मानिसहरुलाई प्रभावित ग-यो भन्ने जान्ने प्रयास गर्नुपर्छ । यी सबै मानिस अरुलाई प्रभावित गर्ने विज्ञानबाट अञ्जान थिए । उनीहरुलाई जान्ने आवश्यकता पनि थिएन किनभने यो त उनीहरुको स्वाभाविक विशेषता थियो ।
मेरो विचारमा मनुष्यतालाई मनुले सर्वाधिक प्रभावित गरेको छ । आज पनि ऊ, चाहे तिमीलाई उसको नाउँ थाहा होस् या नहोस्, प्रभावित गरिरहेकै छ । गोरो छाला या कालो छाला हुनुका कारण अथवा पुरुष स्त्री हुनुका कारण यदि तिमीले आफूलाई उच्च र श्रेष्ठ मान्छौ भने यसको अर्थ, कुनै न कुनै प्रकारले मनुले तिमीलाई प्रभावित गरिरहेकै छ । मनुलाई तुरुन्तै त्याग्नुपर्छ ।
म त अरु नै केही भन्न चाहन्थेँ तर गलत कदमका साथ मैले शुरु गरिदिएँ । मेरी हजुरआमा सधैँ भन्नुहुन्थ्यो, ओछ्यानभन्दा बाहिर निस्कँदा पहिले आफ्ना दायाँ गोडा तल राख्नू । तिमीहरु छक्क पर्लाऊ, आज मैले उनको यो सल्लाह मानिनँ र सबै कुरा गलत भइरहेको छ । मैले गलत ‘ओके’ भनेँ र जब शुरुमा नै तिमी ओके छैनौ भने पछि सबै कुरा गडबड हुन्छ ।
उसो भए मेरो सही कुरा गर्ने समय अझै पनि छ त ?
छ भने फेरि शुरु गरौँ ।
म गाउँ जान चाहन्थेँ तर अरु कोही जान तयार थिएन । हजुरबा–हजुरआमा, भूरा बिना म त्यहाँ एक्लै कसरी बस्न सक्थेँ । अँहँ, यो सम्भव थिएन । त्यसैले मैले बेमनले भनेँ, ‘ठीक छ, म मेरा पिताकै गाउँमा बस्छु ।’ स्वाभावतः मेरी आमा हजुरआमासँग नबसी म उहाँसँगै बसौँ भन्ने चाहनुहुन्थ्यो । हजुरआमा त पहिलेदेखि नै त्यो गाउँमा बसे पनि अलग्गै बस्छु भन्नु भएको थियो । नदी नजिकै एउटा ठूलो सुन्दर ठाउँमा एउटा सानो घर उहाँका लागि खोजियो ।
मेरी आमाले उहाँसँगै बसूँ भनी मलाई आग्रह गर्नुभयो किनभने सात वर्षदेखि म परिवारमा थिइनँ । मेरो परिवार कुनै सानोतिनो थिएन । यो त निकै ठूलो थियो । कयौँ प्रकारका मानिस थिए त्यहाँः मेरा काकाहरु, काकीहरु, तिनका सन्तान, मेरा काकाका नातेदारहरु आदि आदि ।
भारतको परिवार पश्चिमका जस्तो हुँदैनन् । पश्चिममा त परिवारको एउटै इकाई हुन्छ, पति, पत्नी र तिनको एक या दुई या तीन सन्तान । बढीभन्दा बढी भए परिवारमा जम्मा पाँच सदस्य हुन्छन् । भारतमा त पाँचको संख्या सुनेर हाँस्छन् । भारतमा परिवारमा सयौँ सदस्य हुन्छन् । पाहुना आए भने जाने कुनै ठेगान हुँदैन । जबसम्म उनीहरुलाई कसैले जाने समय भयो भन्दैनन्, किनभने सत्य नै के भने ऊ कसको पाहुना हो भन्ने कसैलाई पनि थाहा हुँदैन । पिता सोच्छ, शायद यो मेरी पत्नीको आफन्त हो । त्यसैले चुप बस्नु नै ठीक हुन्छ । आमा सोच्छे, शायद यो मेरा श्रीमान्को पहाडतिरका कोही होलान् । भारत यस्तो देश हो, जहाँ तिमी कसैको आफन्त नभएको घरमा पनि छिर्न सक्छौ । तिमीले सबैको मुख बन्द गर्न सक्यौ भने त्यहाँ वर्षौंसम्म बस्न सक्छौ । तिमीलाई कसैले पनि घर जाऊ भन्ने छैन किनभने हरेक सदस्य कसैले बोलाएर आएको होला भन्ने ठान्छ । तिम्रो काम भनेको चुप लाग्नु र मुस्कुराउनु मात्र हुन्छ ।
मेरा पिताको परिवार निकै ठूलो थियो । मैले आफ्ना घरतिरको हजुरबुवालाई कहिल्यै मन पराइनँ । उहाँ मेरो मावली हजुरबा भन्दा फरक हुनुहुन्थ्यो । उहाँ ज्यादै बेचैन, अशान्त, झगडालु र हरकोहीसँग बाझ्न तयार हुनुहुन्थ्यो, हरसमय ! शायदै उहाँ झगडा नगरी रहन सक्नु हुन्थेन । तर अनौठो त, केही मानिसहरु उहाँलाई समेत प्रेम गर्थे ।
मेरा पिताको सानो कपडाको दोकान थियो । म कहिलेकाहीँ त्यहाँ बसेर मान्छे के गर्छन् भनी हेर्थें । उनीहरुको व्यवहार हेर्नु मलाई बडो मज्जा आउँथ्यो । सबैभन्दा रोचक कुरा चाहिँ, केही मानिस आएर मेरा बालाई सोध्थे, ‘बाबा कहाँ हुनुहुन्छ ? हामीलाई त उहाँसँगै कारोबार गर्नुछ ।’
यो सुन्दा म छक्क पर्थें किनभने मेरा पिता ज्यादै सिधा, सरल र इमानदार हुनुहुन्थ्यो । जब कसैलाई कुनै कपडा देखाउनुहुन्थ्यो, ‘जति नाफा दिनुछ, दिनुस् । म त तपाईंहरलाई नै जिम्मा दिन्छु । लागतको मूल्य त म कम गर्न सक्तिनँ, त्योभन्दा बढी कति दिने, त्यो तपाईंकै जिम्मा भयो ।’ उहाँ ग्राहकसँग भन्नुहुन्थ्यो, ‘मेरो लागत बीस रुपैयाँ हो । तपाईंले एक दुई रुपैयाँ बढी दिन सक्नुहुन्छ । दुई रुपैयाँको अर्थ, दस प्रतिशत फाइदा । मेरा लागि त्यति पर्याप्त छ ।’ तर विचित्र, मानिस आउनेबित्तिकै सोध्थे, ‘बाबा कहाँ हुनुहुन्छ ? उहाँ बिना धन्दा गर्न मज्जा नै आउँदैन ।’
मलाई त उनीहरुको कुरामा विश्वासै लाग्दैनथयो तर पछि मैले यसको कारण बुझेँ । कारण थियोः मोल–भाउको रस ! एक एक पैसाका लागि घण्टौँ गरिने खिँचातानी, बहस बुवासँग हुन्थेन । हजुरबुवा चाहिँ बीस रुपैयाँको कपडाका लागि पचास रुपैयाँ मोल लगाउनु हुन्थ्यो । त्यसपछि घण्टौँसम्म ग्राहकसँग उहाँको मोलभाउको चक्कर शुरु हुन्थ्यो । यसमा दुवै पक्षलाई मज्जा आउँथ्यो । अन्त्यमा दुवै समूह तीस रुपैयाँमा सहमत हुन्थे । यो सबै देखेर म हाँस्थेँ र ग्राहक गएपछि बाबा (हजुरबा)ले मलाई भन्नुहुन्थ्यो, ‘यस्तो बेलामा हाँस्नु हुँदैन । तिमीले यस्तो गम्भीर अनुहार बनाउनु पर्छ कि हाम्रो ज्यादै नोक्सान भइरहेको छ । हुन त हामीलाई नोक्सान हुँदैन । उनीहरु मलाई भन्थे, चक्कु चाहे खुरबुजामा बजारियोस् कि खरबुजामा चक्कु बजारियोस्, कुरा त एउटै हो । दुवै अवस्थामा खरबुजा नै काटिने हो । चक्कुलाई त केही हुँदैन । त्यसैले तिमीले यस्तो देख्दा हाँस्नु हुँदैन, जुन कुरालाई तिम्रा पिता बीस रुपैयाँमा बेच्थ्यो, त्यसलाई म तीस रुपैयाँमा बेच्छु । तिम्रो पिता त बेकुफ छ ।’
र, साँच्चै नै यस्तै लाग्थ्यो, मेरा पिता बेकुफ हुनुहुन्छ । यहाँ त्यस्तै बेकुफ देवगीत छ । अब देवगीतलाई पनि बेवकुफीको त्यही स्तरमा पुग्नुपर्छ, जुन स्तरमा मेरा पिता थिए । बेवकुफहरुका लागि त सबै कुरा सम्भव छ, समाधि पनि सम्भव छ ।
अँ, मेरा पिता सिधासादा हुनुहुन्थ्यो, मेरा हजुरबा निकै चतुर, चलाख हुनुहुन्थ्यो । जब उहाँका बारेमा सोच्छु, मलाई स्याल याद आउँछ । कुनै बेला उहाँ स्याल नै हुनुहुन्थ्यो होला । उहाँ आफ्नो सबै काम हिसाब किताब गरीकन गर्नुहुन्थ्यो । उहाँ चेसको राम्रो खेलाडी हुनसक्नुहुन्थ्यो । किनभने उहाँ पाँच कदम अगाडिको सोच्नुहुन्थ्यो । साँच्चै, उहाँ कैयाँ हुनुहुन्थ्यो । मैले धेरै चलाख मानिस देखेको छु तर बाबाजस्तो कैयाँ शायदै दखेको हुँदो हुँ । मलाई कहिलेकाहीँ आश्चर्य लाग्छ, कसरी मेरा पिता यति सिधासाधा हुनुभयो ? यति भोलापन उहाँले कसरी पाउनु भयो ? शायद प्रकृतिको यही नियम होला, उसले सधैँ सन्तुलन बनाइराख्छ । त्यसैले बाबाजस्ता चलाख र जटिल मानिसका लागि मेरा बुवाजस्तो सिधा मान्छे दिई पठाए ।
चलख्याइँमा मेरा हजुरबा बहुतै चतुर हुनुहुन्थ्यो । सारा गाउँ उहाँसँग डराउँथ्यो । कसैलाई पनि अब के गर्नुहोला भनेर थाहा पाउँदैनथ्यो । वास्तवमा, उहाँ यस्तो व्यक्ति हुनुहुन्थ्यो र यो त मैले कयौँ पटक देखेको छु । एक पटक म र हजुरबा नदीतिर गइरहेका थियौँ । बाटोमा कसैले सोध्थ्यो, ‘बाबा कहाँ जानु भएको ?’ सारा गाउँले उहाँलाई बाबा भन्थ्यो । हामी नदी गइरहेका हुन्थ्यौँ र सारा मानिस सोध्थे, कहाँ जाँदै हुनुहुन्छ ? तर बाबाको बानी यस्तो कि, उहाँ भन्नुहुन्थ्यो, ‘रेल स्टेसन जाँदैछौँ ।’ म छक्क परेर उहाँलाई हेर्थे, उहाँ चाहिँ मलाई आँखा झिम्क्याउनु हुन्थ्यो । यस्तो महत्त्वपूर्ण काम त केही पनि थिएन लुकाउन फेरि पनि किन बाबाले सिधा कुरा गर्नु हुन्न ? सोध्ने मानिस गइसकेपछि मैले उहाँलाई सोध्थेँ, नदी गइरहेको भन्न पनि त सक्नुहुन्थ्यो किन त्यस्तो भन्नु भएको ? उसलाई हामी सबै नदीतिरै गइरहेको थाहा छ भने किन त्यस्तो भन्नु ? यो बाटो स्टेसन पनि त जाँदैन ।
उहाँले भन्नुहुन्थ्यो, ‘तिमी अहिले बुझ्दैनौ । यसका लागि लगातार अभ्यास गर्नुपर्छ ।’
मैले सोधेँ, ‘केको अभ्यास ?’
उहाँलेभन्नुभयो, ‘आफ्नो व्यपारको लगातार अभ्यास गर्नुपर्छ । सिधा तरिकाले सत्य नभन्ने अभ्यास हो यो । किनभने एक दिन व्यापार गर्दा सोझै सही मूल्य भनेँ भने ? तिमीलाई त्योसँग के चासो ? त्यसैले मैले तिमीलाई आँखा झिम्क्याएको, कतै सत्य नओकल । चुप बस । यो सडक रेल स्टेसनतिर जान्छ कि जाँदैन भन्ने मलाई मतलब छैन । उसले यदि यो सडक त स्टेसनतिर जाँदैन नि भन्यो भने म भन्ने थिएँ, शुरुमा नदी अनि बल्ल स्टेसनतिर जान्छौँ भन्थेँ । म जतासुकैबाट स्टेसन जाऔँ, मेरो मर्जी ! केही समय लाग्ला !’
यस्ता थिए मेरा हजुरबा । उहाँ सबै सन्तानसँग त्यहाँ बस्नुहुन्थ्यो । मेरा बुवा, काकाहरु, फुपूहरु र फुपाजूहरु सबै एकै ठाउँमा । त्यहाँ सबै भेला भएका मानिसहरु चिन्न मेरा लागि कठिन थियो । म मानिसहरुलाई आएको देखेँ तर गएको कहिल्यै देखिनँ । हामी त्यति धनी थिएनौँ तर सबैका लागि खान पर्याप्त थियो ।
म यो परिवारमा बस्न चाहन्न थिएँ र म मैले आमासँग भनेँ, ‘या त म एक्लै गाउँ जान्छु, गोरुगाढा तयार छ र बाटो मलाई थाहा छ । कुनै न कुनै तरिकाले त्यहाँ पुग्छु नै । म त्यो गाउँका मानिसहरुलाई चिन्दछु । ती सबैले यो बच्चालाई माया गर्लान्, रेखदेख गर्लान् । केही वर्षको कुरा त हो । त्यसपछि म उनीहरुका सारा कृपा चुक्ता गर्छु तर म यो परिवारमा बस्न सक्तिनँ । यो परिवार होइन, हटिया हो ।’
र, वास्तवमै त्यो बजार वा हटिया नै थियो । जुनसुकै बेला पनि हल्ला । न शान्ति, न खुला ठाउँ । त्यो प्राचीन तलाउमा यदि कुनै हात्ती हाम्फाल्यो भने पनि कसैले छप्लाङ्ग सुन्दैनथ्यो । मैले स्पष्ट रुपमा म बस्दिनँ भनेर भनेँ । ‘म यहाँ बस्नु नै छैन, बरु हजुरआमाकहाँ जान्छु ।’ यो सुनेर मेरी आमालाई दुःख त लाग्यो तर त्यो बेलादेखि आजसम्म नजाने कति पटक मैले उहाँलाई दुःख दिएँ तर म पनि के गर्न सक्छु ? असहाय थिएँ । परिस्थिति नै यस्तो कि वर्षौंसम्म स्वतन्त्र, शान्ति र खुला आकाशमा मुक्त जीवन बिताएपछि यस्तो वातावरणमा बस्न सक्तिन थिएँ । हजुरबाको घरमा त मेरै मात्र आवाज सुनिन्थ्यो । हजुरबा दिनभरि चुपचाप मन्त्र जप गर्नुहुन्थ्यो । हजुरआमासँग कुरा गर्ने अर्को कोही थिएन । त्यसैले त्यो घरमा सधैँ शान्ति हुन्थ्यो । त्यहाँ बोल्ने त म मात्र थिएँ । वर्षौंसम्म म यति सुन्दर जीवन बिताएपछि म त्यो तथाकथित परिवारमा बस्नु असम्भव थियो । यो परिवारमा संख्य अपरिचित अनुहार थिए, काका, तिनका छोराहरु, फुपाजू, फुपाजूका ससुरा । म त कसको के नाता पर्छ, बुझ्दा पनि बुझ्दिन थिएँ । पछि मलाई के विचार आयो भने मेरो परिवारका बारेमा एउटा सानो पुस्तिका लेखिनुपर्छ र नाता केलाउने त्यो सबैभन्दा राम्रो पुस्तिका हुनेछ ।
जब म पछि कलेजमा पढाउन थालेँ, मानिसहरु मकहाँ आएर भन्थे, ‘लौ तिमीले मलाई चिनेनौ ? म तिम्री आमाको भाइ हुँ ।’
त्यो मानिसको अनुहार हेर्दै भन्थेँ, ‘अरु नै केही नाता भनेको भए राम्रो हुन्थ्यो । मेरी आमाका त कोही पनि भाइ थिएनन् । यति त म आफ्नो परिवारका बारेमा जान्दछु नि !’ अनि त्यो मानिसले भन्थ्यो, ‘ठीक भन्यौ । म तिम्रो काकीको दाइ हुँ । मामा नै पर्छु नि !’
म भन्थेँ, ‘ल ठीक छ । तपाईंलाई के चाहिएको छ ? मतलब कति पैसा चाहिएको छ ? तपाईं पक्कै पनि पैसा माग्नु आउनु भएको होला ?’
यो सुनेपछि उसले भन्यो, ‘तिमीले त मेरो मनकै कुरा भन्यौ । कसरी थाहा पायौ ?’
मैले भनेँ, ‘यो त सजिलो छ नि ! भन्नुस्, कति चाहिएको हो ।’
उसले मसँग बीस रुपैयाँ ऋण लियो । मैले मनमनै भगवानलाई धन्यवाद दिएँ । एक जना नातेदारसँग पिण्ड त छुट्यो ! अब यो मानिसले दोहो-याएर मेरो अनुहार देखाउने छैन ।’
र, साँच्चै त्यस्तै भयो । मैले उनको अनुहार त्यसपछि कहिल्यै देखिनँ । सयौँ मानिसहरुले मसँग पैसा ऋण लिए र कहिले पनि तिरेनन् । मलाई ज्यादै खुसी लाग्छ किनभने उनीहरुले त्यो फर्काए भने अर्को पटक ठूलो रकम माग्न आउँछन् ।
म गाउँ फर्कन चाहन्थेँ तर जान सकिनँ । मैले मेरी आमासँग सम्झौता गरेँ ताकि उहाँलाई चित्त नदुखोस् । तर मलाई थाहा थियो, म उहाँलाई दुःख दिइरहन्छु । उहाँले जे पनि चाहनुभयो, मैले त्यसको ठीक उल्टो गरेँ । त्यसैले बिस्तारै उहाँले छोरा गुमाइसकेँ भन्ने स्वीकार गर्नुभयो ।
कयौँ पटक यतो भएको छ, म उहाँको सामु बस्थेँ र उहाँले मलाई सोध्नुहुन्थ्यो, ‘तिमीले यहाँ कसैलाई देख्यौ ? तरकारी लिन कसैलाई बजार पठाउनु प-यो ।’
बजार टाढा थिएन । सानो गाउँ थियो । बजार पुग्न दुई मिनेट लाग्थ्यो, उहाँले मलाई सोध्नुहुन्थ्यो, ‘तिमीले कसैलाई देख्यौ ?’
म भन्थेँ, ‘अहँ, मैले त कसैलाई पनि देखिनँ । घर त बिल्कुल खाली छ । यी नातेदारहरु कहाँ गायब भए ? जब कुनै काम हुन्छ, किन देखिदैनन् ?’ तर उहाँ मलाई तरकारी ल्याऊ भन्न सक्नुहुन्थेन। एक दुई पटक त उहाँले भनेर पछुताउनु पनि भयो । त्यसपछि उहाँले मलाई दोहो-याएर भन्नु भएन ।
एक पटक उहाँले मलाई केरा किनेर ल्याऊ भन्नुभयो । मैले बाटामै के किन्ने भनेर बिर्सिएँ र टमाटर किनेर ल्याएँ । मैले सम्झने निकै प्रयास गरेँ र बाटामा पटक-पटक ‘केरा’ ‘केरा’ भन्दै हिँडेको पनि हुँ । त्यही बेला एउटा कुकुर भुक्न थाल्यो । कसैले मलाई त्यही बेला सोध्यो, ‘कहाँ हिँडेको ?’ म उत्तर दिन छाडेर ‘केरा’ ‘केरा’ भन्दै हिँडेँ । सोध्नेले भन्यो, ‘पागल भइस् कि क्या हो ?’ मेले भनेँ, ‘म हैन, तँ पागल । अरुको काममा गडबड गर्दोरहेछ ।’ तर त्यतिञ्जेल मैले के किन्ने भन्ने बिर्सिसकेको थिएँ ।
त्यसपछि मैले दिमागमा जे आयो, त्यही किनेँ । म टमाटर लिएर आएँ । अब जैनको घरमा टमाटर कहिल्यै ल्याइन्न । आमाले त्यो देख्नेबित्तिकै टाउकोमा हात राख्नुभयो, भन्नुभयो, ‘केरा यही हो ? तेरो बुद्धि कहिले आउला हँ ?’
मैले भनेँ, ‘ओहो, तपाईंले केरा पो भन्नुभएको थियो त । मैले त बिर्सिएँ । मेरो गल्ती भयो ।’
आमाले भन्नुभयो, ‘बिर्सिए पनि टमाटरबाहेक अरु जे ल्याएको भए पनि हुन्यो नि । थाहा छैन, यो घरमा टमाटर ल्याउन प्रतिबन्धित छ ।’ यसको कारण यत्ति एउटा थियो, टमाटरको रङ रातो हुन्छ र यो मासुजस्तै देखिन्छ । त्यसैले जैन मानिसहरु टमाटर देख्नेबित्तिकै परेशान हुन्छन् ।
विचरो टमाटर ! मैले ती टमाटर भिखारीलाई दिनुप-यो । उनीहरु मलाई देखेर खुसी भए । भिखारी मात्रै मलाई देखेर सधैँ खुसी हुन्थे किनभने जब मलाई घरबाट केही फ्याँक्नका लागि अह्राइन्थ्यो, म फ्याँक्दिन थिएँ, म भिखारीलाई दिन्थेँ ।
म परिवारमा उनीहरुले चाहेजस्तो बस्न सक्तिन थिएँ । सबै जना सन्तान जन्माइरहेका थिए । हरेक महिला सधैँ गर्भवती भइरहेका हुन्थे । जब मलाई आफ्नो परिवारको याद आउँथ्यो, मेरो दिमाग खराब हुन थाल्थ्यो । साँच्चै त होइन तर खराब होलाहोला जस्तो हुन्थ्यो । सबै महिलाको पेट सधैँ बढिरहेको हुन्थ्यो । एउटा सन्तान जन्मेर तेल लगाउन थालेको हुँदैन, अर्को गर्भमा आइसक्थ्यो । त्यति धेरै बच्चा थिए !
‘बस्दिनँ,’ मैले आमालाई भनेँ, ‘तपाईंलाई नराम्रो लाग्छ भन्ने थाहा छ । मलाई यसमा अफसोस छ तर म यहाँ बस्न सक्तिनँ । म त हजुरआमासँगै बस्छु । एक त उहाँले मलाई राम्रोसँग बुझ्नु हुन्छ । अर्को उहाँले मलाई प्रेम पनि गर्नुहुन्छ । मलाई स्वतन्त्रता पनि दिनुहुन्छ ।’
एकपटक मैले हजुरआमालाई सोधेँ, ‘तपाईंले मेरी आमालाई मात्र किन जन्माउनुभयो ?’
उहाँले भन्नुभयो, ‘यो पनि कुनै प्रश्न हो ?’
मैले भनेँ, ‘हाम्रो घरमा त हर महिला सधैँ गर्भवती भएको मात्र देख्छु । तपाईंले मेरी आमालाई मात्र किन जन्माउनुभयो । उहाँका लागि कम्तीमा एउटा भाइ त जन्माउनु पर्थ्यो नि !’
यसको उत्तरमा हजुरआमाले जे भन्नुभयो, म त्यो कहिल्यै बिर्सन्नँ, ‘तिम्रो हजुरबालाई बच्चा चाहिएको थियो । त्यसैले मैले उहाँलाई एउटा मात्र पाउँछु भनेकी थिएँ । त्यो चाहे छोरी होस् या छोरा, यो तपाईंको भाग्यमा भर पर्छ । उहाँलाई छोरा चाहिएको थियो तर राम्रो भयो, छोरी भई । नत्र त तिमीलाई मैले कसरी पाउँथे होला ? मैले अरु बच्चा नजन्माएर ठीक गरेँ, नत्र त तिमीलाई यो ठाउँ मन पर्थेन, यहाँ पनि निकै भिडभाड हुन्थ्यो ।’
म ११ वर्षसम्म मेरो पिताको गाउँमा बसे र मलाई जबरजस्ती स्कुल पठाइयो । र, यो कुनै एक दिनको कुरा थिएन । हरेक दिनको कुरा थियो । हरेक बिहान मलाई जबरजस्ती स्कुल पठाइन्थ्यो । कुनै एउटा काका स्कुल लिएर जान्थे र स्कुलबाहिरसम्म त्यतिञ्जेल उभिन्थे, जबसम्म मलाई कुनै मास्टरले जिम्मा लिँदैनथे । हरेक दिन यो दोहोरिन्थ्यो । मलाई च्याप्प पक्डेर स्कुल पु-याइन्थ्यो । स्कुल पुगेर मलाई कुनै सम्पतिजस्तै या कुनै कैदीजस्तै कसैलाई जिम्मा लगाइन्थ्यो ।
शिक्षाको तरिका त आज पनि त्यस्तै छ, हिंसात्मक र जोरजबरजस्तीको । हरेक पिँढीले अर्को पिँढीलाई भ्रष्ट बनाइरहेको छ । यो त एक प्रकारको बलात्कार हो, आध्यात्मिक बलात्कार ! सानो बालक आफूभन्दा बढी बलशाली आमाबुवाका सामु असाय हुन्छ । उसले तिनको इच्छाअनुसार हिँड्नै र्छ । मैले त पहिलो दिनबाट नै विद्रोह गरेँ, जबरजस्ती स्कुल लगेका दिन । स्कुलको ढोकाबाट छिर्नेबित्तिकै मैले बुवालाई भनेँ, ‘यो स्कल हो कि जेल हो ?’ बुवाले भन्नुभयो, ‘यो के पश्न हो ? स्कुल हो, नडरा ।’ मैले भनेँ, ‘म डराएको होइन । मैले त जान्न चाहेको हो । अब मेरो आफ्नो व्यवहार कस्तो हुनुपर्छ, त्यो जान्न चाहेको । यत्रो ठूलो ढोका किन चाहिएको हो ?’
जब सबै विद्यार्थी कैदीजस्तै भित्र जान्छन्, ठूलो ढोका बन्द गरिन्थ्यो । जब साँझ बच्चालाई बाहिर निकालिन्थ्यो, त्यो बेला यो ढोका खोलिन्थ्यो । म अहिले पनि त्यो ठूलो ढोका देख्छु । अहिले पनि स्पष्ट देख्छु, त्यो भद्दा स्कुलअगाडि म मोरा बुवाका साथ कसरी उभिएको थिएँ, आफ्नो नाउँ दर्ता गराउन । स्कुल त जस्तो थियो, क्यै फरक परेन तर त्यसको ढोका निकै कुरुप थियो । त्यो ढोकालाई हात्तीद्वार भनिन्थ्यो । यति ठूलो थियो कि त्यसबाट एउटा हात्ती ओहोरदोहोर गर्न सक्थ्यो । सानो बच्चाका लागि त यो विशाल थियो ।
ती नौ वर्षका बारेमा तिमीहरुलाई धेरै कुरा बताउनु छ ।
+++
२०.ओशोको आत्मकथाः स्वर्णिम बालापन (सत्र २० : कानो शिक्षक)
मेरो ओ.के.को प्रतीक्षा गर…
म आफ्नो प्राथमिक विद्यालयको हात्तीद्वारसामु उभिएको थिएँ… र त्यसको ढोकाले मेरो जीवनमा धेरै कुरालाई शुरू गर्यो । म त्यहाँ एक्लै उभिएको थिइनँ । मेरा बुवा पनि सँगै हुनुहुन्थ्यो । उहाँ मलाई स्कुलमा भर्ना गर्न आउनु भएको थियो । त्यो ठूलो ढोकालाई देख्नेबित्तिकै उहाँलाई भनेँः नाइँ ।
म अहिले पनि त्यो शब्द सुनिरहेको छु । एउटा सानो बच्चो, जसले सबैथोक गुमाएको छ, म अहिले पनि त्यो सानो बच्चोको अनुहारमा अंकित प्रश्नचिह्न देख्न सक्छु । ऊ सोचिरहेको छ, अब के हुने हो !
म उभिई उभिई ढोकातिर हेरिरहेँ र मेरा बुवाले सोध्नुभयो, ‘यो ठूलो ढोकाबाट ज्यादै प्रभावित भइस् कि क्या हो ?’
अब यो कथालाई म आफ्नै शैलीले सुनाउँछु । मैले बुवालाई भनेँ, ‘नाइँ ।’
प्राथमिक स्कुलमा भर्ती हुनुअघि मेरो प्रथम शब्द यही थियो, ‘नाइँ’ र तिमीहरूलाई आश्चर्य लाग्ला, विश्वविद्यालयबाट बिदा लिँदा पनि मेरो अन्तिम शब्द त्यही थियो, नाइँ । पहिलो घटनाको बेला मेरा बुवा मसँग हुनुहुन्थ्यो । त्यो बेला उहाँ त्यति धेरै उमेरको हुनुहुन्न थियो । तर मजस्तो सानो बालकका लागि उहाँ ज्यादै वृद्ध देखिनुहुन्थ्यो । दोस्रो घटनाका बेला पनि ढोकामा एक जना वयोवृद्ध सज्जनका साथ म उभिएको थिएँ ।
विश्वविद्यालयको त्यो पुरानो ढोका सधैँका लागि ढालियो तर त्यो मेरो स्मृतिमा ताजै छ । म अहिले पनि त्यसलाई देख्न सक्छुः पुरानो ढोका, नयाँ म देख्दिनँ । नयाँसँग मेरो कुनै सम्बन्ध छैन । नयाँ ढोका देखेर त मलाई रूनै मन लाग्यो किनभने पुरानो ढोका साँच्चिकै भव्य र शानदार थियो । सामान्य तर निकै भव्य । नयाँ ढोका त निकै भद्दा र कुरूप छ । उहिलेको जमानामा कुरूपतालाई स्वीकार गरिएको थिएन । शायद कुरूपतालाई अपनाउनु क्रान्तिकारी मानिएको होला । तर यदि क्रान्ति कुरूप हुन्छ भने त्यो क्रान्ति होइन, प्रतिक्रिया हो । नयाँ ढोकालाई मैले केवल एक पटक देखेको थिएँ र त्यसपछि म त्यो सडकबाट धेरै पटक हिँडेँ तर सधैँ आँखा चिम्म गरेँ । बन्द आँखाले मैले पुरानो ढोकालाई पुनः देख्न सक्थेँ ।
विश्वविद्यालयको पुरानो ढोका ज्यादै साधारणजस्तो थियो । विश्वविद्यालय भर्खरै बन्न थाल्दा बनाइएको थियो र उनीहरूले कुनै गज्जबको भवन बनाउन सकेका थिएनन् । सबै मानिसहरू मिलिटरी ब्यारेकमा बस्थे किनभने विश्वविद्यालय हतारोमा बनाइउन थालिएको थियो । होस्टल या पुस्तकालय बनाउने समय पनि थिएन । यो सेनाले खाली गरेको ठाउँ थियो । तर त्यो ठाउँ आफैँमा निकै सुन्दर थियो र यो एउटा सानो थुम्कोमा उभिएको थियो । दोस्रो विश्वयुद्धको बेला त्यहाँ सेनाले, शत्रुमाथि निगरानी राख्न राडार राखेको थियो । तर युद्धपछि यो ठाउँको कुनै उपयोग थिएन । त्यसैले सेनाले यसलाई छाडिदियो । सानो पहाडमा बनाइएका ती संरचना सुन्दर थिए । मलाई त त्यो निकै मन पर्थ्यो । सेनाले छाडिदियो, उनीहरूको अब त्यहाँ काम थिएन । उनीहरूले त्यो ठाउँ छाडिदिनु मेरालागि वरदान बन्यो । म यसबाहेक शायदै कुनै अरू विश्वविद्यालय पढ्न सक्थेँ होला ।
यसको नाम थियो, सागर विश्वविद्यालय । सागरको अर्थ होः समुद्र । सागरमा अतिसुन्दर तलाउ छ, त्यो यति ठूलो छ कि त्यसलाई तलाउ नभनी सागर नै भनिन्छ । साँच्चै, यो सागरजस्तै देखिन्छ । यसमा यति ठूला लहर निस्कन्छन् कि यो तलाउ होला भन्ने विश्वासै लाग्दैन । यति ठूला लहर निस्कने मैले दुई वटा मात्र तलाउ देखेको छु । मैले जीवनमा दुई वटा मात्र तलाउ देखेको छु भन्ने होइन । मैले यो भन्दा धेरै नै सुन्दर तलाउ देखेको छु, कश्मिरमा, दार्जिलिङमा, नैनीतालमा, दक्षिण भारतमा पनि, नन्दी हिल्समा । तर यति ठूलो समुद्रजस्तो लहर भएका त मैले दुई वटा मात्र तलाउ देखेको छु, सागरको तलाउ र भोपालको तलाउ । भोपालको तुलनामा सागरको त सानै छ । भोपालको तलाउ त शायद संसारकै ठूला मध्येको छ । त्यसमा मैले बाह्रदेखि पन्ध्र फिट अग्लो लहर देखेको छु । अन्य कुनै तलाउमा यस्तो हुँदेन । त्यो निकै ठूलो छ । एक पटक मैले नाउमा चढेर घुम्ने प्रयास गरेँ । पूरै घुम्न सत्र दिन लाग्यो । म त्यति नै तीव्र गतिमा घुमेँ, जति तिमीहरूले कल्पना गर्न सक्छौ । त्यहाँ कुनै प्रहरी थिएनन् न त कुनै गतिको सीमा मापक । यो यात्रा सकिँदा मैले आफैँलाई भनेँ, ‘हे भगवान्, कति सुन्दर तलाउ !’ यो सयौँ फिट गहिरो थियो ।
सागरको तलाउ पनि यस्तै छ तर यो अलि सानो छ । तर अन्य अर्थहरूमा, यसमा जुन सौन्दर्य छ, त्यो भोपालको तलाउमा छैन । सागरको तलाउमा चारैतिर पहाड छ, ठूलो त हैन तर निकै सुन्दर । खासगरी बिहानी सूर्योदयका बेला र साँझको सूर्यास्तका बेला अत्यन्त आकर्षक र मनमोहक देखिन्छ । र, पूर्णिमाको रातमा आयौ भने तिमीहरूले सुन्दरता केलाई भन्छन् भन्ने बुझ्नेछौ । पूर्णिमाको रात डुङ्गायानमा डुल्दा यस्तो लाग्छः मलाई अब केही चाहिन्न, पुग्यो भन्ने भाव जाग्छ ।
यो ज्यादै सुन्दर ठाउँ छ तर त्यहाँ त्यो पुरानो ढोका नभएकामा भने ज्यादै अफसोस लाग्छ । थाहा छ, एक न एक दिन त्यसलाई हटाइनेछ किनभने विश्वविद्यालय उद्घाटन गर्न त्यसलाई हतारोमा अस्थायी बनाइएको थियो ।
अर्को ढोका मलाई याद आउने यही हो । विश्वविद्यालय छाड्दा मैले यो ढोकामा आफ्ना प्राध्यापक श्रीकृष्ण सक्सेनासँग उभिएको थियो । केही वर्षअघि मात्र उहाँको निधन भयो । उहाँले मलाई भेट्ने इच्छा छ भनी सन्देश पठाउनु भएको थियो । मलाई पनि उहाँसित भेट्न मन थियो तर अब के गर्नु ? अँ, उहाँ चाँडै नै कुनै संन्यासिनीको गर्भबाट जन्म लिनुहोस् । त्यस्तो भयो भने मैले उहाँलाई चिन्नेछु, यति त म भन्न सक्छु ।
प्राध्यापक सक्सेना अनौठो गुणहरू भएका व्यक्ति हुनुहुन्थ्यो । मैले अनेकन् प्राध्यापक, अध्यापक र रिडरलाई चिन्दछु तर ती सबैमध्ये उहाँले नै मलाई चिन्न सक्नुभयो । उहाँलाई लाग्थ्यो, यो शिष्य नभई गुरू हुनुपर्थ्यो ।
उहाँ त्यो ढोकामा उभिएर मलाई सम्झाउने प्रयास गरिरहनु भएको थियो, विश्वविद्यालय नछाड । भन्दै हुनुहुन्थ्यो, ‘यो बेला तिमी यहाँबाट जानु उचित छैन । खासगरी विश्वविद्यालयले तिमीलाई पिएचड स्कलरसिप दिइरहेका बेला । तिमीले यो अवसर गुमाउनु हुँदैन ।’
उहाँले म सबैभन्दा प्रिय छात्र हुँ पटक पटक भन्दै हुनुहुन्थ्यो । उहाँले भन्नु भयो, ‘सारा संसारमा मेरा छात्रहरू छन्, खासगरी अमेरिकामा (अमेरिकामा उहाँले धेरै समयसम्म पढाउनु भएको थियो ।) तर तीमध्ये कसैलाई पनि रोक्ने प्रयास गर्दिन थिएँ । म उनीहरूको चिन्ता म किन गरूँ ? उनीहरूको भविष्यसँग मेरो कुनै सम्बन्ध छैन । उनीहरूको भविष्य, उनीहरूको हो ।’
आँखाभरि आँशु पार्दै उहाँले भन्नुभयो, ‘जहाँसम्म तिम्रो कुरा छ, तिमी मेरो भविष्य हौ ।’
म यी शब्दलाई कहिल्यै बिर्सन सक्दिनँ । मलाई ती शब्द दोहोर्याउन देऊ । उहाँले भन्नुभयो, ‘ती अन्य विद्यार्थीहरूको भविष्य उनीहरूको आफ्नो भविष्य थियो, तिमी चाहिँ मेरो भविष्य हौ ।’
मैले उहाँलाई सोधेँ, ‘मेरो भविष्य तपाइँको भविष्य कसरी ?’
उहाँले भन्नुभयो, ‘मलाई थाहा छैन, म तिमीलाई यही हो भनेर भन्न सक्दिनँ ।’
त्यसपछि उहाँ रून थाल्नुभयो ।
मैले भनेँ, ‘कृपया तपाइँ नरूनुहोस् । मेरा इच्छाविरूद्ध जे सुकै गरे पनि मलाई मनाउन गाह्रो छ । मेरो मन बेग्लै आयाममा हिँड्ने गर्छ । तपाइँलाई निराश बनाउँदा मलाई दुःख लागिरहेक छ । मलाई पनि राम्रोसँग थाहा छ, तपाइँलाई मबाट ठूलो आशा थियो । विश्वविद्यालय भरिमै प्रथम भएका कारण मैले गोल्डमेडल पाएको थिएँ, (जुन तपाइँले पनि पाउनु भएको थिएन), त्यो बेला एउटा सानो बच्चोजस्तो कसरी खुसी हुनुभएको थियो । म बुझ्छु ।’
त्यो गोल्ड मेडल मेरालागि कुनै महत्त्वको थिएन । मैले त डाक्टर श्रीकृष्ण सक्सेनाका सामु नै त्यो मेडललाई यति गहिरो पानीमा फ्याँकिदिएँ कि अब कसैले पनि त्यसलाई दोहोर्याएर खोज्न सक्दैन ।
उहाँले भन्नुभएको थियो, ‘के गरेको तिमीले ?’
मैले त मेडललाई फ्याँकिसकेको थिएँ । मैले स्कलरसिप पाउँदा उहाँ ज्यादै खुसी हुनुभएको थियो । त्यसको अवधि दुईदेखि पाँच वर्षसम्मको थियो ।
उहाँले पटक पटक भन्नुभयो,’फेरि एक पटक सोच । केही बुझ्ने प्रयास गर ।’
पहिलो ढोका हात्तीद्वार थियो, जहाँ म मेरा पितासँगै उभिएको थिएँ । म त्यो भित्र जान चाहन्न थिएँ र अन्तिम ढोका पनि हात्तीद्वार थियो, जसका सामु म आफ्नो वृद्ध प्रोफेसरसँगै उभिएको थिएँ । त्यहाँ पनि म पुनः छिर्न चाहन्न थिएँ । एक पटक नै पर्याप्त थियो, दोहोर्याएर जानु अलि बढी नै हुने थियो ।
पहिलो ढोकाबाट जुन बहस शुरू भयो, त्यो दोस्रोसम्म चलिरह्यो । जुन नाइँ मैले मेरा बुवालाई भने त्यही नाइँ मैले मेरा प्राध्यापकलाई पनि भनेँ । उहाँ मेरा लागि बुवा जत्तिकै हुनुहुन्थ्यो । उहाँले मेरो हेरचाह बुवाभन्दा बढी गर्नुभयो । जब म बिरामी हुन्थेँ, उहाँले रातभरि नसुती मेरो ओछ्यानछेउ बसेर रेखदेख गर्नु हुन्थ्यो । म उहाँलाइ भन्थेँ, ‘तपाइँ बूढो हुनुहुन्छ डाक्टर । म उहाँलाई डाक्टर भन्थेँ । म भन्थेँ,’प्लिज तपाइँ जानुहोस्, सुत्नोस् ।’
उहाँ भन्नुहुन्थ्यो, ‘म त तिमी भोलिसम्म निको हुन्छु भन्ने वचन नदिउञ्जेल सुत्दिनँ ।’
मैले उहाँलाई वचन दिनुपर्थ्यो, मानौँ म बिरामी हुनु वा निको हुनु मेरै हातमा भएजस्तो तर एक पटक मैले उहाँलाई यो वचन दिएँ र म भोलिपल्टै निको भएँ । त्यसैले त म भन्छु, यो संसारमा चमत्कारजस्तो केही त छ ।
त्यो नाइँ शब्द मेरो अस्तित्वको विशेषता नै बनेको थियो । मैले पितालाई भनेको थिएँ, नाइँ म यो ढोकाभित्र जान चाहन्नँ । यो स्कुल होइन, जेल हो । कारागार हो । म यो ढोका र भवनको रङ… ।
उदेक छ, भारतमा जेल र स्कुल दुवैको रङ एउटै हुन्छ । दुवै रातो इँटाले बनेका हुन्छन् । त्यसैले यो स्कुल हो कि जेल भन्ने थाहा हुँदैन । यस्तो लाग्छ, कसैले निकै मिठो ठट्टा गरेको होला ।
मैले भनेँ, ‘यो स्कुल त हेर्नु ! तपाइँ यसलाई स्कुल भन्नुहुन्छ ? यो कस्तो ढोका हो ! अनि, म योभित्र चार वर्षका लागि भर्ती होऊँ भन्ने चाहनुहुन्छ !’
यो बेला जुन वार्तालाप शुरू भयो, त्यो कयौँ वर्षसम्म चलिरह्यो र तिमीहरूले कयौँ पटक सुन्नेछौ, किनभने कथामा यो कहीँ न कहीँ आइहाल्छ ।
मेरा बुवाले भन्नुभयो, ‘मलाई सधैँ यही कुराको डर थियो ।’
हामी ढोकाबाहिर थियौँ किनभने म अहिलेसम्म उहाँसँग भित्र जान तयार थिइनँ । उहाँले भन्नुभयो, ‘तेरा हजुरबा र खासगरी हजुरआमाको मायाले तँ बिग्रन्छस् भन्ने मलाई सधैँ डर थियो ।’
मैले भनेँ, ‘तपाइँको यो शंका र डर ठीक थियो । अब त म बिग्रिसकेको छु । अब यसमा म केही गर्न सक्दिनँ । त्यसैले घर फर्किऔँ ।’
बुवाले भन्नुभयो, ‘के भनिस् ? तँ शिक्षित हुनै पर्छ ।’
मैले भनेँ, ‘शिक्षाको यो कस्तो शुरूवात हो ? म आफूले हुन्छ या हुन्न भन्ने स्वतन्त्रता पनि छैन ? यसलाई शिक्षा भन्नुहुन्छ ? तपाइँ यही चाहनुहुन्छ भने मलाई सोध्ने काम नगर्नुस् । लिनुस् मेरो हात र घिसार्दै भित्र लैजानुस् । यो भद्दा संस्थामा म आफ्नै इच्छाले छिरेको त होइन भनेर यसबाट मलाई सन्तोष नै हुनेछ । यति कृपा त तपाइँले ममाथि गर्न सक्नु नै हुनेछ ।’
मेरा बुवा हैरान भएर मलाई भित्र घिसार्दै लैजानु भयो । उहाँ त सिधा मानिस हुनुहुन्थ्यो तर उहाँले तुरून्तै बुझ्नु भयो, यस्तो गर्नु ठीक होइन । उहाँले भन्नुभयो, ‘म तेरो बाउ हुँ, तर तँलाई घिसार्दै भित्र लैजानु उचित लागेन ।’
मैले भनेँ, ‘यसमा नराम्रो मान्ने कुनै कुरा छैन । तपाईंले जे गर्नुभयो, ठीक गर्नुभयो । किनभने जबसम्म कसैले मलाई घिसार्दै लैजाँदैन, म आफैँ त जान्नँ । मेरो निर्णय नै नाइँ हो । तपाइँले ममाथि आफ्नो निर्णय थोपर्न सक्नुहुन्छ किनभने म तपाइँमाथि आश्रित छु । तपाइँले खुवाउनु हुन्छ, कपडा र बस्ने ठाउँका लागि तपाइँमा निर्भर छु । तपाइँले ममाथि जबरजस्ती गर्न सक्नुहुन्छ ।’
वाह, कस्तो प्रवेश थियो स्कुलको ! घिसार्दै लैजाने ! यसका लागि मेरा पिताले आफैँलाई कहिल्यै माफ गर्न सक्नुभएन । जुन दिन उहाँले संन्यास लिनुभयो, त्यो बेला उहाँले पहिलो कुरा त्यही भन्नु भएको थियो, ‘मलाई माफ गर । मैले कयौँ पटक जानी नजानी तिमीलाई नराम्रो व्यवहार गरेँ । ती सबैका लागि म माफी माग्छु ।’
त्यो स्कुलमा प्रवेश गरेपछि नै मेरो नयाँ जीवन शुरू भयो । यसअघि त वर्षौंसम्म जंगली पशुजस्तै स्वच्छन्द र मुक्त भएर घुमिरहन्थेँ । म जंगली मानिसजस्तै भन्न सक्दिनँ किनभने कुनै जंगली मानिस हुँदैन । कहिलेकाहीँ कुनै मानिस जंगली मानिसजस्तै मुक्त हुन्छ, जस्तो म अहिले भएको छु, बुद्ध थिए, जरथ्रुस्त्र थिए, जिसस थिए । तर त्यो बेला म कयौँ वर्षसम्म जंगली पशुजस्तै थिएँ भन्नु सत्य हुन्छ । तर त्यो जीवन एडल्फ हिटलर, बेनिटो मुसोलिनी, नेपोलियन, अलेक्जेन्डर महानभन्दा उच्च थियो । म सबैभन्दा खराबहरूको नाम लिइरहेको छु, खराब यस अर्थमा कि उनीहरूले आफूलाई सबैभन्दा सभ्य ठान्थे ।
अलेक्जेन्डर महान् आफ्नो समयकै सबैभन्दा सभ्य मानिस हुँ भन्ने ठान्थ्यो । एडल्फ हिटलरले आफ्नो आत्मकथा माई स्ट्रगल… जर्मनहरूले यो शीर्षक कसरी उच्चारण गर्छन्, मलाई त याद भएको भनेको मेन क्याफ नै हो । शायद यो गलत हो । होला नै किनभने यो जर्मन भाषामा छ । उच्चारण के र कस्तो भन्ने कुराले त केही फरक पर्दैन । पुस्तकमा हिटलरले जुन अतिमानवको स्थिति प्राप्त गर्न हजारौँ वर्षदेखि प्रयास गरिरहेको छ, उसले त्यो अवस्था प्राप्त गरिसकेको सिद्ध गर्ने प्रयास गरेको छ । र, हिटलरको पार्टी, नाजी र हिटलरको जाति, नर्डिक आर्यले सारा संसारमा शासन गर्नेछन् र यो शासन एक हजार वर्षसम्म चल्नेछ भन्थ्यो ।
यो त पागल मानिसको कुरा भयो तर यो पागल निकै शक्तिशाली थियो । जब ऊ बोल्थ्यो, चाहे त्यो बकवास नै किन नहोस्, मानिसहरूले सुन्नै पर्थ्यो । वास्तविक आर्य र नर्डिक जाति शुद्ध रगत भएका जाति हुन् भन्थ्यो तर उसले त सपना देखिरहेको थियो ।
मनुष्य त शायदै कहिले अतिमानव बन्ला । अति या परा शब्दको अर्थ उच्च होइन । वास्तविक अतिमानव त त्यसलाई भनिन्छ, जसले आफ्ना कामहरू, विचार, भावप्रति सजग रहन्छ । जसले आफ्नो जीवन र मृत्यु र प्रेमलाई होशपूर्वक हेर्छ ।
त्यो दिनदेखि जुन वार्तालाप मेरा र बुवाबीच शुरू भयो र बीचबीचमा पनि चलिरहेको छ र त्यसको अन्त्य त्यो बेला मात्र भयो, जब उहाँ संन्यासी बन्नुभयो । त्यसपछि त तर्कको कुनै प्रश्नै उठेन । उहाँले समर्पण गर्नुभयो । जुन दिन उहाँले संन्यास लिनु भयो, उहाँ मेरो गोडा पक्डेर रोइरहनु भएको थियो । म उभिएको थिएँ । तिमीहरूलाई विश्वास नलाग्ला, उहाँ रूँदै गर्दा के कारणले रूनुभयो भन्ने मैले जानेँ । मेरा सामु बालापनको दृश्य, स्कुल, हात्तीद्वार र त्यसका सामु उभिएको त्यो सानो बालक, जो भित्र जान चाहिरहेको थिएन र मेरा पिताले जबरजस्ती तानिरहनु भएको दृश्य कुद्यो । त्यो दृश्य याद आउनेबित्तिकै म मुस्कुराएँ ।
बुवाले सोध्नुभयो, ‘किन मुस्कुराएको ?’
मैले भनेँ, ‘त्यो संघर्ष अन्तत सकियो, त्यो देखेर खुसी लागिरहेको छ ।’
र, यही त आश्चर्य भइरहेको थियो ।
मेरा बुवाले मलाई घिसार्नुभयो । म आफ्नो इच्छाले कहिले पनि स्कुल गइनँ ।
देवगीत, मेरा ओठलाई भिजाइदेऊ…
मलाई जबरजस्ती तानेर भित्र लगिएकामा खुसी छ । म आफ्नो इच्छाले कहिले पनि गइनँ । त्यो स्कुल ज्यादै भद्दा थियो । वास्तवमा सबै स्कुल त्यस्तै हुन्छन् । परिस्थिति त यस्तो हुनुपर्छ कि बालबालिका आफैँले केही सिकून्, उनीहरूलाई शिक्षित गर्नु ठीक होइन । शिक्षा त कुरूप हुन्छ नै !
र, स्कुलमा पहिलो कुरा मैले के देखेँ ? मेरो कक्षाको शिक्षक । मैले सुन्दर मानिसहरू पनि देखेको छु र कुरूप पनि देखेको छु । तर त्यस्तो ‘चिज’ मैले दोहोर्याएर कतै पनि देखिनँ । ‘चिज’लाई जोड देऊ । म त्यो चिजलाई कोही भन्न सक्दिनँ र ? त्यो मानिसजस्तो देखिदैनथ्यो । मैले बुवालाई हेर्दै भनेँ, ‘यसका लागि तपाइँले मलाई घिसार्दै ल्याउनु भएको ?’
मेरा बुवाले भन्नुभयो, ‘चुप लाग् ।’
उहाँ यति सुस्तरी बोल्नु भयो कि कतै त्यो चिजले नसुनोस् । यो शिक्षकले मलाई पढाउने थियो । म त त्यो मानिसलाई हेर्न पनि सक्दिन थिएँ । परमात्माले उसको अनुहार निकै नै हतारोमा बनाएको होला । यस्तो लाग्छ, परमात्मालाई पाइखाना जाने हतारो थियो । त्यसैले हतारोमा तिनलाई बनाइदिए । कस्तो अद्भुत मानिस बनाए ! उसको एउटा मात्र आँखा थियो र नाक टेढो थियो । उसको एउटै मात्र आँखा पनि गज्जबको थियो र उसलाई कुरूप बनाउन टेढो नाकको भूमिका थियो । ऊ अजंगको थियो । चार सय पाउन्ड वजनको र पनि ज्यादै स्वस्थ थियो । उसले कहिल्यै छुट्टी लिएन, न त कुनै डाक्टरकहाँ गयो । शहरका सबैले भन्थे, यो त फलामले बनेको छ । उसलाई फलाम होइन, काँडेदार फलामको तारले बनेको भन्नुपर्छ ।
ऊ मेरो प्रथम अध्यापक थियो । पहिलो मास्टर । किनभने भारतमा स्कुल अध्यापकलाई मास्टर नै भनिन्छ । त्यसैले ऊ मेरो पहिलो मास्टर थियो । आज पनि मैले त्यो मानिसलाई देखेँ भने म काम्न थालूँला । उसलाई त मानिस होइन, घोडा नै भन्नु पर्ला ।
मैले बुवालाई भनेँ, तपाइँले स्कुलमा मेरो नाउँ लेखाउन हस्ताक्षर गर्नुअघि त्यो मानिसलाई त हेर्नुस् ।
उहाँले भन्नुभयो, ‘के भयो र यसलाई ? यसैले मलाई पनि पढायो । वर्षौंदेखि पढाइरहेको छ । अब तँलाई पढाउँछ ।’
उहाँको कुरा सत्य थियो । त्यसैले त कसैले उसका बारे गुनासो गर्न सक्दैनथ्यो । कसैले उसका बारेमा आफ्नो बुवालाई गुनासो गर्यो भने जवाफमा भन्थे, ‘म यसका बारेमा केही गर्न सक्दिनँ । ऊ मेरो पनि शिक्षक थियो । म ऊकहाँ गुनासो लिएर गएँ भने उसले मलाई नै पिटेर पठाउन बेर छैन ।’
त्यसैले मेरा बुवाले भन्नुभयो, ‘ऊ ठीकै छ त । केही त्यस्तो नराम्रो त देख्दिनँ त !’
त्यसपछि उहाँले भर्ना गर्ने कागजातमा हस्ताक्षर गर्नुभयो ।
त्यसपछि मैले बुवालाई भनेँ, तपाइँले आफ्नै आपतमा हस्ताक्षर गर्दै हुनुहुन्छ । त्यसैले पछि मलाई दोष दिन पाउनु हुन्न ।
बुवाले भन्नुभयो, ‘तँ त कहीँ नभएको रैछस् !’
मैले भनेँ, ‘हामी एकअर्काका लागि अनौठै र नचिनिने नै छौँ । तपाइँबाट म वर्षौं टाढा बसेँ । मेरो मित्रता त आँप र देवदारका रूखसँग थिए, पहाड र नदीसँग थिए । म व्यापारी होइन, तपाइँ व्यापारी हो । तपाइँका लागि पैसा नै सबैथोक र म त त्यो गन्न पनि सक्दिनँ ।’
आज पनि… मैले कयौँ वर्षदेखि पैसालाई छोएको छैन । यस्तो आवश्यक नै परेन । यो मेरा लागि राम्रै भयो किनभने यो संसारको गणितलाई म जान्दिनँ । म त आफ्नै ढंगले हिँड्ने हुँ, म आर्थिक नियमअनुसार चल्दिनँ, हिँड्दिनँ । हिँड्नै सक्दिनँ । तिनले चाहिँ मेरो अनुशरण गर्नुपर्छ । हाम्रो भाषा बेग्लाबेग्लै छन् ।
मैले बुवालाइ भनेँ, ‘मलाई गाउँ (मावली गाउँ) फर्कन रोक्नु भएको हो । यहाँ कुनै रस्साकस्सी भयो भने मलाई दोष नदिनू । म जे बुझ्छु, तपाइँ बुझ्नुहुन्न र तपाइँ जे बुझ्नुहुन्छ, म बुझ्दिनँ र बुझ्न पनि चाहन्नँ । दद्दा ! हामी एकअर्कालाई बनेका होइनौँ । हामी दुवैबीच तालमेल हुन सक्दैन ।’
हामी दुई जनाका बीच जुन दुरी थियो, त्यसलाई मेट्न उहाँलाई जीवनभरको समय लाग्यो तर त्यो यात्रा उहाँले नै गर्नुपर्यो । त्यसैले म भन्छु, म ज्यादै जिद्दी छु । म त एक इन्च पनि यताबाट उता सर्दिनँ । यो सारा बखेडा त्यही हात्तीद्वारबाट शुरू भएको थियो ।
मेरा पहिलो अध्यापक, म त उसको वास्तविक नाउँ पनि जान्दिनँ । स्कुलका कुनै पनि विद्याथीलाई त्यो कानो मास्टरको वास्तविक नाउँ थाहा थिएन । सबैले उसलाई काना मास्टर भन्थे । कानो अर्थात् एउटा आँखा भएको । हिन्दीमा कानाको अर्थ एउटा आँखा भएको त हुन्छ नै साथै कसैलाई सराप्न पनि यो शब्द प्रयोग गरिन्छ । हामी उसका अगाडि मास्टरजी भन्थ्यौँ, उसका पछाडि चाहिँ काना भन्थ्यौँ ।
ऊ आफैँमा कुरूप त थियो नै, उसले जे गर्थ्यो त्यो पनि कुरूप नै हुन्थ्यो ।
स्कुलमा मेरो पहिलो दिन केही न केही घट्नु नै थियो, कुनै न कुनै बखेडा हुनु नै थियो । त्यो मास्टरले नराम्रोसँग बच्चाहरूलाई सजाय दिन्थ्यो । विद्यार्थीसँग यस्तो व्यवहार गरेको न मैले देखेको छु, न सुनेको छु । कयौँ यस्ता बच्चालाई मैले देखेको छु, यस्तै व्यवहारका कारण स्कुल छाडेका थिए र अशिक्षित नै बस्न रूचाएका थिए । उसले निकै ज्यादती गर्थ्यो । पहिलो दिन नै ममाथि जे घट्यो र त्यसपछि त धेरै कुरा हुने नै थियो भन्ने कुरा बताउँछु ।
उसले गणित पढाइरहेको थियो । म अलि बढी गणित जान्दथेँ किनभने मेरी हजुरआमाले मलाई घरैमा केही केही गणित र भाषा सिकाउनु भएको थियो । म त झ्यालबाट बाहिर सूर्यको प्रकाशमा चम्कदै गरेको सुन्दर पीपलको रूख हेरिरहेको थिएँ । सूर्यको प्रकाशमा यसरी चम्कने अर्को कुनै रूख पाइँदैन । हरेक पातले बेग्लाबेग्लै तरिकाले नृत्य गर्छ र अन्य हजारौँ चम्किरहेका पत्ता एकसाथ नाच्छन् र गाउँछन्, जसका कारण सारा रूख वाद्ययन्त्र बन्न पुग्छ, बेग्लाबेग्लै स्वरको सामूहिक संगीत बन्न पुग्छ ।
पीपलको रूख बडो विचित्रको रूख हुन्छ । अरू सबै रूखले दिउँसो कार्बन डाइअक्साइड आफूभित्र तान्छन् र अक्सिजन बाहिर छाड्छन्… जे होस्, यसलाई तिमीहरूले सच्याउनू, किनभने न त म रूख हुँ, न वैज्ञानिक र न त केमिस्ट नै । तर पीपलको रूखले भने चौबीसै घण्टा अक्सिजन छोड्छ । पीपलको रूखमुनि तिमी सुत्न सक्छौ, अन्य रूखमुनि सक्दैनौ किनभने स्वास्थ्यका लागि ती खतरा हुनसक्छन् । मैले हावामा नाच्दै गरेका पीपलका पात देखेँ, हरेक पात सूर्यको प्रकाशमा चम्किरहेका थिए र सयौँ सुँगा एउटा हाँगाबाट अर्को हाँगा दौडिरहेका थिए र ती अकारण नै खुसी भइरहेका थिए । किन नहोऊन् त ? उनीहरूलाई कुनै स्कुल जानु थिएन !
म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । ममाथि त्यो कानो मास्टर गर्जियो । उसले मलाई भन्यो, ‘शुरूमै कुरा प्रस्ट हुनुपर्छ ।’
मैले भनेँ, ‘हो नि, तपाइँले बिल्कुल ठीक भन्दै हुनुहुन्छ । म पनि यसमा सहमत छु । शुरूदेखि नै कुरा प्रस्ट हुनुपर्छ । सबै कुरा सही र ठीक तरिकाले हुनुपर्छ ।’
उसले सोध्यो, ‘गणित पढाइरहेका बेला, झ्यालबाट बाहिर के हेरिरा ?’
मैले भनेँ, ‘गणितका लागि तपाइँलाई हेर्न पर्दैन, सुने पुग्छ । मलाई तपाइँको सुन्दर अनुहार हेर्नु छैन । त्यसैबाट बच्न म झ्यालबाट बाहिर हेरिरहेको थिएँ । जहाँसम्म गणितको प्रश्न छ, मैले सुनिसकेँ र त्यसको उत्तर मलाई थाहा छ । तपाइँ सोध्न सक्नुहुन्छ ।’
उसले मलाई सोध्यो र यहीँबाट लामो समस्या शुरू भयो, समस्या मेरा लागि होइन, उसका लागि । समस्या नै सही उत्तर दिनु थियो । उसलाई त विश्वासै लागेन र उसले भन्यो, ‘तिमीले उत्तर सही दिए पनि गलत दिए पनि, सजाय त दिन्छु किनभने शिक्षकले पढाइरहेका बेला झ्यालबाहिर हेर्नु ठीक होइन । उसले मलाई अगाडि बोलायो । मैले उसको सजाय दिने तरिकाहरूका बारेमा सुनेको थिएँ, ऊ त ‘मार्क्विवस दि सादे’ जस्तो मानिस थियो । उसले आफ्नो डेस्कबाट पेन्सिलहरूको डब्बा निकाल्यो । मैले उसको त्यो पेन्सिलहरूका बारेमा सुनिसकेको थिएँ । उसले पेन्सिलहरूलाई हातका औँलाहरूबीचमा घुसाएर हातलाई जोडले थिचेर सोध्थ्यो, ‘अझै दबाउँ ? अझै जोडले च्यापौँ ?’
साना बालबालिकाका साथ ऊ यस्तो गर्थ्यो ! ऊ त तानाशाह नै थियो । मेरो यो कुरालाइ रेकर्ड गरिनुपर्छ । जो मानिस शिक्षक बन्छन्, ‘उनीहरूमा केही कमजोरी हुन्छ, केही गलत हुन्छ भित्र । शायद उनीहरूमा अरूमाथि शासन गर्ने इच्छा हुँदो हो अथवा शक्ति पाउने लालसा हुन्छ होला । शायद उनीहरू पनि थोरबहुत तानाशाह हुन्छन् ।’
मैले ती पेन्सिलहरू हेर्दै भनेँ, ‘मैले यी पेन्सिलहरूका बारेमा सुनेको छु । तर यिनलाई मेरो औँलामा हाल्नुभन्दा पहिला यति चाहिँ सम्झनुस्, यसो गर्नु तपाइँका लागि निकै महँगो हुनेछ । शायद तपाइँले जागिरै त्याग्नु पर्ला ।’
ऊ हाँस्यो, राक्षस हाँसेजस्तै हाँस्यो । उसले भन्यो, ‘कसले खान्छ मेरो जागिर ?’
मैले भनेँ, ‘प्रश्न त्यो होइन । गणित पढाउँदै गर्दा झ्यालबाट बाहिर हेर्नु अपराध हो ? गैरकानुनी हो ? जे पढाइँदैछ, त्यसका विषयमा प्रश्नको उत्तर मैले दिइसकेको छु, सुनाइएका हरेक शब्द जस्ताको त्यस्तै सुनाइसकेको छु भने झ्यालबाट बाहिर हेर्नु कुनै अपराध हो र ? कक्षामा यो झ्याल किन बनाएको त ? दिनभरि यो कक्षामा कसैले केही न केही पढाइरहन्छ । राति त झ्याल चाहिँदैन किनभने त्यो बेला यसबाट हेर्ने कोही हुँदैन भने किन चाहियो यो ?’
उसले भन्यो, ‘तँ त समस्याको जडै होस् ।’
मैले भनेँ, ‘ठीक भन्नुभयो । म अहिले नै हेडसरलाई सोध्न जाँदैछु, तपाइँलाई सही उत्तर दिँदादिँदै पनि सजाय दिनु कत्तिको सही हो ? न्यायसंगत हो ?’
यो सुन्नेबित्तिकै ऊ नरम भयो । म त छक्कै परेँ । ऊ कसैसँग नरम भएको थाहा थिएन, कसैसँग पनि ऊ झुक्दैन भन्ने सुनेको थिएँ ।
मैले थपेँ, ‘त्यसपछि म नगर सभापतिकहाँ जान्छु । स्कुलको सभापति ऊ नै हो । भोलि म प्रहरी कमिस्नरलाई यहाँ लिएर आउँछु ताकि यहाँ कसरी गलत व्यवहार गरिन्छ भन्ने उसले आफ्नै आँखाले देखोस् ।’
यो सुन्नेबित्तिकै ऊ त काँप्यो । अरूले यो देखेनन् तर अरूको ध्यान नजाने कुराहरू सबैमा मेरो ध्यान जान्छ । मैले उसलाई भनेँ, ‘पुलिसको नाउँ लिनेबित्तिकै काँप्नु भयो । तपाइँ काँपेको कुरा नमान्नु होला तर मैले देखेँ । खैर, अहिले त म हेडमास्टरकहाँ जाँदैछु ।’
म हेडमास्टरकहाँ गएँ र घटना सुनाएँ । उसले भन्यो, ‘यो मान्छेले बालबालिकालाई यातना दिन्छ र त्यो गैरकानुनी छ भन्ने मलाई थाहा छ तर म यसमा केही गर्न सक्दिनँ किनभने यो सहरको सबैभन्दा पुरानो शिक्षक ऊ नै हो । प्रायः सबैका बुवा र हजुरबुवा उसैका शिष्य भएकाले कसैले पनि उसमाथि औँलो उठाउँदैन ।’
मैले भनेँ, ‘मलाई यसको कुनै मतलब छैन ।’
मेरा बुवा र हजुरबुवा पनि यसका शिष्य थिए तर मलाई आफ्ना पिता या हजुरबुवाको पनि चिन्ता थिएन । म त त्यो परिवारको होइन नै । म त उनीहरूभन्दा टाढै थिएँ । म त यहाँ एउटा विदेशी जस्तै छु ।
हेडमास्टरले भने, ‘यहाँ तिमी नयाँ हौ भन्ने त मैले थाहा पाइहालेँ तर बाबु, यो समस्यामा नपरेकै राम्रो । भोलि उसले तिमीलाइ निकै सताउनेछ ।’
मैले भनेँ, ‘यो त्यति सजिलो छैन । सबै किसिमका अत्याचारविरूद्ध मेरो संघर्षको शुरूवात यहीँबाट हुनेछ । म पनि पूरा शक्तिले उसविरूद्ध भिड्नेछु ।’
मैले उसको टेबुलमा सानो मुठ्ठीले ड्याङ्ग हान्दै भनेँ, ‘मलाई पढाइको कुनै चिन्ता छैन । मलाई मेरो स्वतन्त्रताको चिन्ता छ । मलाई कसैले बिनाकारण दुःख दिन पाउँदैन । मैले झ्यालबाट हेर्नु हुँदैन भनेर कहाँ लेखिएको छ, त्यो देखाउनुस् । भलै मैले पढ्न नसकूँला तर लेखेको देखाउनुस् । सबै प्रश्नको उत्तर ठीक दिँदादिँदै पनि झ्यालबाट बाहिर किन हेर्न पाउँदिन म ?’
उसले भन्यो, ‘तिमीले सही उत्तर दिएका छौ भने तिमीले जतासुकै हेरे पनि फरक पर्दैन ।’
मैले भनेँ, ‘उसो भए मसँग आउनुस् ।’
हेडमास्टरले शिक्षा नियमावलीको पुरानो देखिने किताब लिएर आए, शायदै कसैले त्यो किताब पढेको हुँदो हो । हेडमास्टरले कानो मास्टरलाइ भन्यो, ‘यो बालकलाई धेरै दुःख दिने हैन । यो यति चाँडै हार मान्ने छैन । तिम्रा लागि समस्या हुनसक्छ ।’
कानो मास्टर डरायो र यही कारण ऊ अझ बढी आक्रामक भयो । उसले भन्यो, ‘तपाइँ चिन्ता नगर्नुस् सर । म यो बालकलाई राम्रोसँग पढाउँछु । त्यो नियामवलीको चिन्ता कसले गर्छ ? म जीवनभर यहाँ पढाइरहेको छु । अब यो फुच्चेले मलाई नियम सिकाउने ?’
मैले भनेँ, ‘भोलि या त म यो स्कुलमा हुन्छु कि त तपाइँ । हामी दुवै जना एकसाथ यो स्कुलमा अट्न सक्दैनौँ । भोलिसम्म पर्खिनोस् ।’
म चाँडै घर गएँ र बुवालाई बताएँ । उहाँले भन्नुभयो, ‘मलाई त पहिलेदेखि नै यस्तै केही हुन्छ भन्ने डर थियो । अरूलाई र आफूलाई पनि समस्यामा पार्छस् भन्ने त थाहा थियो । अब मलाई पनि त्यसैमा घिसार्ने भइस् ।’
मैले भनेँ, ‘म त तपाइँलाई स्कुलमा के भयो भन्ने सुनाउँदैछु ताकि पछि तपाइँले केही नसुनाएर के गरेको नभन्नुहोस् ।’
म प्रहरी कमिस्नरकहाँ गएँ। ऊ असल मानिस थियो । प्रहरी यति असल होलान् भन्ने त मैले सोचेको पनि थिइनँ । मेरा कुरा सुनिसकेपछि उसले भन्यो, ‘मैले त्यो मानिसका बारेमा सुनेको छु । मेरो छोरोलाई पनि उसले दुःख दिएको थियो । तर कसैले पनि गुनासो गरेको थिएन । बालबालिकालाई सताउनु या यातना दिनु गैरकानुनी हो । तर जबसम्म कसैले गुनासो गर्दैन, केही गर्न सकिँदैन । म आफैँ गुनासो दर्ता गर्न सक्दिनँ । गुनासो गरे, मेरै छोरो फेल गरिदेला ! त्यसैले जे गर्छ, गर्न देऊ । केही महिनाको कुरा हो । त्यसपछि त छोरो अर्को कक्षामा गइहाल्छ, ढुक्कै ।’
मैले भनेँ, ‘म यहाँ गुनासो लेखाउन आएको हुँ । मलाई अर्को कक्षामा जाने कुनै चिन्ता छैन । म त यो कक्षामा जीवनभर बस्न तयार छु ।’
उसले मतिर हेर्यो । मेरो ढाड थप्थपायो र भन्यो, ‘तिमीले जे गरिरहेका छौ, ठीक गरिरहेका छौ । म भोलि आउँछु ।’
यसपछि म म्युनिसिपल कमिटीको सभापतिकहाँ गए । त्यो त गोबरगणेश पो रहेछ ! उसले भन्यो, ‘मलाई सबैकुरा थाहा छ तर केही गर्न सकिँदैन । तिमीले उसलाई सहनुको कुनै विकल्प छैन । ऊसँगै बाँच्न सिक्नु पर्छ ।’
मैले उसलाई जे भनेँ, त्यो अहिलेसम्म मलाई याद छ । मैले भनेँ, ‘मेरो अन्तःकरणलाई जे गलत लाग्छ, म त्यसलाई कहिल्यै सहन्नँ ।’
उसले भन्यो, ‘म केही गर्न सक्दिनँ । तिमी उपसभापतिकहाँ जाऊ । शायद उसले तिमीलाई केही सहयोग गर्न सक्ला !’
सुझावका लागि म त्यो गोबरगणेशप्रति आभारी छु किनभने त्यो गाउँको उपसभापति शम्भु दुबे, मेरो अनुभवमा पूरै गाउँमा एक्ला मूल्यवान् व्यक्ति सिद्ध भए । जब मैले उनको ढोका ढक्ढक्याएँ, त्यो बेला म आठ वा नौ वर्षको थिएँ र उनी उपसभापति थिए । उनले भने, ‘आउनुस्, भित्रै आउनुस् ।’
उनले कुनै वयस्क मानिस उनीसित भेट्न आएको ठाने । मलाई देखेर उनी केही अकमक्क परे ।
मैले भनेँ, ‘माफ गर्नुहोला । म ठूलो छैन । पढेलेखेको पनि छैन तर म कानो मास्टरका बारेमा गुनासो गर्न आएको हुँ ।’
एक कक्षाका विद्यार्थीलाई कानोले गर्ने व्यवहार सुन्दा उनलाई विश्वासै लागेन । औँलाका कापमा पेन्सिल घुसाउनु र हातले दबाउनु, नङभित्र पिनले घोचिदिनुजस्ता काम यो सात फिट अग्लो र चार सय पाउन्डको व्यक्तिले गर्ला भनेर उनले सोचेकै थिएनन् ।
उनले भने, ‘मैले ती व्यक्तिका चमत्कारका बारेमा सुनेको छु तर कसैले आजसम्म किन गुनासो गरेनन् ?’
मैले भनेँ, ‘मानिसले गुनासो नगर्नुको कारण चाहिँ गुनासोपछि बालबालिकालाई अझ बढी उसले नसताओस् भनेर नै हो।’
उनले सोधे, ‘तिमीलाई डर लाग्दैन ?’
मैले भनेँ, ‘अँहँ, म फेल हुन तयार छु । उसले बढीभन्दा बढी त्यही त गर्ने हो ! म फेल हुन तयार छु । मलाई सफल हुने कुनै चिन्ता छैन । तर म अन्तिम दमसम्म यो अन्यायविरूद्ध लड्छु । कि त ऊ छैन, कि त म । त्यो भवनभित्र हामी दुवै जना एकसाथ अट्न सक्दैनौँ ।’
शम्भु दुबेले नजिक बोलाए र मेरो हात समाउँदै भने, मलाई सधैँ विद्रोही मानिस मन पर्छन् । तर मैले तिम्रो उमेरको मानिस पनि विद्रोही हुनसक्छ भन्ने सोचेकै रहेनछु । म तिमीलाई बधाइ दिन्छु ।’
यसै क्षणदेखि हामी साथी बन्यौँ । यो मित्रता उनको मृत्युसम्म रहिरह्यो । त्यो गाउँको जनसंख्या बीस हजार थियो । तर भारतमा यसलाई गाउँ नै मानिन्छ । भारतमा जबसम्म कुनै ठाउँको जनसंख्या एक लाख पुग्दैन, त्यसलाई नगर मानिदैन । जब जनसंख्या पन्ध्र लाख पुग्छ, बल्ल त्यसलाई शहर मानिन्छ । मेरो जीवनमा मैले त्यो गाउँमा शम्भु दुबेजस्तो गुण भएको र योग्यता भएको अर्को मानिस देखिनँ । यसो भन्नु तिमीहरूलाई अतिशयोक्ति लाग्ला तर सत्य त यही हो, सारा भारतमा मैले अर्को शम्भु दुबे पाइनँ । उनी अनौठा थिए, दुर्लभ थिए ।
म सारा भारतमा यात्रा गरिरहँदा गाउँमा म कहिले फर्कुँला भनेर उनी पर्खिरहेका हुथे । जसै म त्यो गाउँ हुँदै कुनै रेलयात्रा गरिरहेको हुन्थेँ, उनी मलाई भेट्न रेल बिसौनीसम्म आउँथे । भेट्न त मेरा आमाबुवा पनि आउँथे । मैले उहाँहरूलाई यसमा समावेश गरिनँ किनभने उहाँहरू त आउनु नै पर्थ्यो तर शम्भु दुबे मेरा आफन्त थिएनन् । उनी मलाई प्रेम गर्थे । र, त्यो प्रेम त्यसै दिन शुरू भएको थियो, जुन दिन मैले कानो मास्टरको गुनासो गर्न गएको थिएँ ।
शम्भु दुबे म्युनिसिपल कमिटीका उपसभापति थिए । उनले मलाई भने, ‘तिमी चिन्ता नगर । त्यो मानिसले सजाय पाउनै पर्छ । उसको अवकाश हुने बेला पनि भइसकेको छ । उसले समय बढाउन निवेदन दिएको त छ तर हामी समय बढाउँदैनौँ । भोलदेखि तिमीले उसलाई स्कुलमा देख्ने छैनौ ।’
मैले उनलाई भनेँ, ‘के साँच्चै हो ? वचन पक्का ?’
हामीले एकअर्काको आँखामा हेर्यौं । उनले हाँस्दै भने, ‘पक्का । वचन नै भयो ।’
अर्को दिनदेखि कानो स्कुल आउन छाड्यो । यसपछि त ऊ मतिर हेर्न पनि सक्दैनथ्यो । मैले कयौँ पटक उसलाई भेट्ने प्रयास गरेँ, उसलाई बिदाइको कार्यक्रमका लागि बोलाउन ढोका ढक्ढक्याएँ तर ऊ त कायर थियो, सिंहको खोलमा भेडो !
स्कुलको त्यो पहिलो दिनले धेरै कुराको शुरूवात गरिदियो ।
+++
२१. ओशोको आत्मकथाः मेरो स्वर्णिम बालापन (शृङ्खला २१ बुद्धत्व नजिकको मानिस)
ठीक छ… म जो भद्र व्यक्तिका बारेमा कुुरा गरिरहेको थिएँ, उनको पूरा नाम पण्डित शम्भुुरत्न दुुबे थियो । उनी कवि थिए, बडो अनौठा थिए किनभने उनी आफ्ना कविता प्रकाशित गर्न चाहँदैन थिए । कुनै पनि कविमा त्यस्तो गुण ज्यादै दुुर्लभ हुन्छ । सयौँ कविहरूलाई मैले भेटेको छुु । उनीहरू आफ्ना कविता प्रकाशन गर्नका लागि यति उत्सुक हुन्छन् कि तिनका लागि काव्यरचना गौण हुन पुुग्छ । जस्तासुकै विषयमा महत्त्वांक्षी होऊन्, त्यस्ता मानिसलाई म राजनीतिज्ञ भन्छुु । र, शम्भुु दुुबे महत्त्वाकांक्षी व्यक्ति थिएनन् ।
उनी निर्वाचित उपसभापति पनि थिएनन् किनभने निर्वाचित हुनका लागि कम्तीमा चुुनावमा उभिनुपर्छ । उनी सभापतिले मनोनित गरिएका व्यक्ति थिए । त्यो सभापति आफैँमा गोबरगणेश थियो, मैले पहिल्यै भनिसकेँ । उसलाई केही आउँदैनथ्यो । त्यसैले उसलाई एक जना यस्तो बुद्धिमान व्यक्ति चाहिएको थियो, जसले उसका सबै काम गरिदियोस् । सभापति एकदमै गोबरगणेश थियो र ऊ त्यो पदमा निकै लामो समयदेखि थियो । ऊजस्तै अन्य गोबरगणेशहरूले उसैर्लाइ पटक पटक चयन गरेका थिए ।
भारतमा गोबरगणेश हुनुु ज्यादै ठूलो कुरा हो । यस्तै गोबरगणेश महात्मा बन्न पुुछन् । यो सभापति पनि अन्य बोगस महात्माहरूजस्तै थियो । कुनै पनि प्रतिभाशाली र सृजनशील व्यक्तिलाई त्यस्तो महात्मा बन्न मन पर्दैन । ऊ कसैलाई पूजा गर्न पनि जान्दैन । म त त्यो गोबरगणेशको नाम पनि उल्लेख गर्न चाहन्नँ । आफ्नो जीवनमा उसले केवल एउटै मात्र गतिलो काम गरेको थियो र उसले शम्भुबाबुलाई उपसभापति बनाएको थियो । शायद उसले के गरेँ भन्ने नै थाहा नपाएर त्यसो गरेको हुनुपर्छ । गोबरगणेश मानिसहरू सजग हुँदैनन् ।
जुन क्षण शम्भुबाबु र मैले एकअर्कालाई देख्यौँ, केही भयो । त्यसै क्षण हामी दुवैको हृदय एक भयो, विचित्र मिलन भयो । कार्ल गुस्ताभ जङले यसैलाई ‘सिंक्रोनिसिटी’ भनेका हुन् । म सानो जंगली बालक, अशिक्षित र अनुुशासनहीन, हामी दुवैमा कुनै साम्य थिएन । उनी अति शक्तिशाली र अत्यन्त सम्मानित व्यक्ति थिए । मानिसहरू उनीसँग डराउँथे । उनी अत्यन्त सम्मानित व्यक्ति थिए । मानिसहरू उनीसँग डराउँथे किनभने उनीप्रति आदर देखाएन भने यसका लागि कुनै न कुनै दिन अवश्य पनि पछुताउनु पर्छ । किनभने उनको स्मरणशक्ति निकै तेज थियो । म त एउटा बालक थिएँ । त्यसमाथि हामी दुुईका बीच केही पनि समानता थिएनन् । उनी सारा गाउँका उपसभापति थिए । वकिलहरूको एसोसिएसन र रोटरी क्लब आदिका पनि सभापति थिए । उनी कयौँ समितिका सभापति अथवा उपसभापति थिए । उनी प्रायः सबै ठाउँ या पदमा आसिन थिए । उनी अत्यन्त शिक्षित थिए । उनले कानुनको उच्चतम डिग्री प्राप्त गरेका थिए । तर उनी त्यो गाउँमा वकालत गर्दैनथे ।
बाहिर काम गर्दै हल्ला गर्ने राक्षसका बारेमा चिन्ता नगर । ती मेरा नै शिष्य हुन् । जब म यस्ता शैतानहरूलाई संन्यासको दीक्षा दिइरहेको छु भने अरु त के होला ? बिल्जबबका सबै शिष्यलाई मैले लिएर आएको छु । म भनूूँ ? बिल्जबबले दैनिक सयौँ शिष्य गुमाइरहेका छन् । गुर्जियफले शैतानलाई बिल्जबब भन्थे । तर ती बिल्जबबसँग यति धेरै समयसम्म संगत गरे कि उनीहरूले उसको प्रविधिलाई सिकिसके । म प्रविधिका विरुद्धमा छैन । मलाई त यो निकै मन पर्छ । त्यसैले बिल्जबबका शिष्यहरू बडो सहज तरिकाले मेरा शिष्य बन्छन् । जुन काम उनीहरू बिल्जबबका लागि गर्थे, त्यसलाई उनीहरू मकहाँ पनि गरिरहन्छन् ।
म यसका बारेमा चिन्तित छैन भने तिमीहरु पनि यसका बारेमा चिन्ता नगर । म जे भनिरहेको छु, त्यसका लागि उनीहरूको यो होहल्ला ज्यादै राम्रो पार्श्वस्वरका लागि काम गरिरहेको छ । एक किसिमले पिकासोको पृष्ठभूमि, अलिक डरलाग्दो । डरलाग्दो दुःस्वप्न पनि कहिलेकाहीँ सुन्दर हुनसक्छ र जब त्यो सकिन्छ, अफसोच हुनसक्छ । र, उनीहरू जे गरिरहेका छन्, त्यो सुन्दा भलै त्यो राम्रो नलाग्ला तर उनीहरूले मेरो काम गरिरहेका छन् । त्यसैले बिल्जबब रिसाउनु स्वाभाविक छ । उनीहरू उसको शिष्य हुन् र मेरा लागि उनीहरू उसको प्रविधि उपयोग गरिरहेका छन् ।
विज्ञान धेरथोर शैतानको नै रुप हो । तिमीहरूले मेडिकल तालिम पाएका छौ, त्यो पनि एक किसिमले बिल्जबबको प्रविधिको हिस्सा हो । ती विचरा मानिसहरूलाई माफ गरिदिनू। उनीहरू आफ्ना तर्फबाट पुरापुर कोसिस गरिरहेका छन् । जहाँसम्म मेरो प्रश्न छ, म बोल्न थालेँ भने कसैले पनि रोक्न र बाधा पुु-याउन सक्दैनन् ।
अँ म भन्दै थिएँ– यो पृष्ठभूमिलाई हेर र यो मौनलाई । यदि यसलाई कसैले बुुझ्न सक्यो भने बिल्जबबलाई नोकरजस्तै प्रयोग गर्न सकिन्छ ।
म शम्भु दुबे अर्थात शम्भुुबाबुुका बारेमा भन्दै थिएँ । त्यो के भने, उनी कवि थिए । तर उनी जतिञ्जेल बाँचे, आफ्ना कविता प्रकाशित गरेनन् । उनी राम्रा कथाकार पनि थिए । संयोगले एक जना फिल्म निर्देशकले उनको कथाका बारेमा थाहा पायो । अहिले त शम्भुुबाबुुको मृत्यु भइसक्यो । उनको एउटा कथामा आधारित जुन महान् फिल्म बनेको छः त्यसको नाम हो, झाँसी की रानी । यो फिल्मले अनेक राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । तर अफसोस, उनी यो संसारमा छैनन् । उनी त्यहाँ मेरा एक मात्र मित्र थिए ।
एक पटक जब म त्यहीँ बस्छु भनेर निर्णय गर्छुु– त्यहीँ बस्छुु । म त्यहाँ सात वर्षसम्म बस्छुु भन्ने योजना बनाएको थिएँ तर एघार वर्षसम्म बसेँ । शायद मलाई त्यहाँ बस्न मनाउनका लागि कसैले सात वर्षसम्म भनेका थिए होलान् । अथवा, शुरुदेखि नै उनीहरूको त्यही आशय थियो होला ।
त्यो बेला भारतमा शिक्षाको ढाँचा प्राथमिक शिक्षाको चार वर्ष थियो। स्थानीय अधिकारीहरूले यसलाइ बेग्लै किसिमले व्यवस्थापन गरेका थिए । त्यसपछि अझ बढी पढ्न चाहेको खण्डमा तीन वर्ष थपिन्थ्यो । यसरी सात वर्ष पढेपछि सर्टिफिकेट पाइन्थ्यो ।
शायद उनीहरूको इच्छा पनि त्यही थियो होला, झुटो त बोलेका नहोलान् । तर एउटा अर्को तरिका पनि थियो र त्यही भयो । चार वर्षपछि तिमीले जुन पद्धतिमा शिक्षा लियौ, त्यसपछिको पढाइका लागि मिडिल स्कुलमा भर्ति हुनुपर्थ्यो । पहिलो पद्धतिमा अंग्रेजी सिक्न सकिन्नथ्यो । प्राथमिक शिक्षाको सात वर्षपछि सकिन्थ्यो र स्थानीय भाषामा थप कक्षा पढेर शिक्षित भइन्थ्यो । भारतमा तीस भाषाहरूले मान्यता पाएका छन् । तर चौथो वर्षपछि विद्यार्थीका लागि विकल्प थियो, अंग्रेजी स्कुलमा भर्ति हुनु र मिडिल स्कुलमा जान सकिन्थ्यो । यो पनि चार वर्षे पाठ्यक्रम थियो । र, सोही क्रममा पढ्दै गर्दा थप तीन वर्षपछि म्याट्रिकको परीक्षा पास गरिन्थ्यो ।
हे भगवान् ! जीवनका त्यति सुन्दर वर्षहरू त्यति निर्दयी र त्यति क्रुरताले नष्ट गरिन्छ ! म्याट्रिक परीक्षा पास गरेपछि विश्वविद्यालय पढ्न सकिन्छ । विश्वविद्यालयमा छ वर्षको पाठ्यक्रम हुन्थ्यो । यसरी मैले चार वर्ष प्राइमरी स्कुलमा, चार वर्ष मिडिल स्कुलमा, तीन वर्ष हाई स्कुल र छ वर्ष विश्वविद्यालयमा गरी मेरो जीवनका १७ वर्ष बर्बाद गर्नुप-यो । यो कस्तो व्यवस्था हो ? अबुुझ्झकी र मूूर्खताको कुनै सीमा छैन । सत्र वर्ष ! यो मूर्खता शुरु गर्दा म आठ कि नौ वर्षको थिएँ ।
विश्वविद्यालय छोड्दा म २६ वर्षको थिएँ । र, म निकै खुसी थिएँ । म गोल्ड मेडलिस्ट भएकामा खुसी थिइनँ, बरु अन्ततः म मुक्त भएकामा खुसी थिएँ । अब म पुनः स्वतन्त्र थिएँ । त्यहाँबाट टाप कस्न म उत्ताउलिइरहेको थिएँ । मेरा प्राध्यापकलाई मैले भनेँ, ‘तपाईं मेरो समय बर्बाद नगर्नुस् । यो ढोकाभित्र पुनः प्रवेश गर्न कसैले पनि मलाई मनाउन सक्तैन । म नौ वर्षको थिएँ, मेरा पिताले मलाई घिसार्दै भित्र लानुपरेको थियो र अब त मलाई कसैले पनि घिसार्न सक्तैन । कसैले कोसिस ग-यो भने पनि म उसैलाई घिसार्दै बाहिर ल्याउँछु। र, वास्तवमै मैले ती वृद्ध सज्जनलाई घिसारेँ नै ! उनी मलाई त्यहाँ रोक्ने पूरापूर प्रयास गरिरहेका थिए । उनी मलाई पिएचडीका लागि यस्तो छात्रवृत्ति पाउनु गाह्रो छ भनी सम्झाउँदै थिए । उनले पिएचडीपछि डि.लिट. पनि पाउनसक्छु भन्दै थिए ।
मैले भनेँ, ‘मेरो समय बर्बाद नगर्नुस् । मेरो गाडी छुट्न लाग्यो । बस त्यही ढोकाछेउ उभिइरहेको थियो । मैले दौडेर गाडी चढ्नुथियो । गाडी छुुट्न दिनु हुन्थेन । मलाई दुःख लागेको छ, मैले उहाँलाई धन्यवाद पनि भन्न सकिनँ । मसँग समय नै थिएन । बस हिँड्न लागेको थियो र मेरा सामान बसमाथि हालिसकिएको थियो । जसरी प्रायः सबै बसका ड्राइभर बजाउने गर्छन्, मेरो बसको ड्राइभर पनि बेस्कन हर्न बजाइरहेको थियो ।
म मात्रै एउटा यात्रुथिएँ, जो बस बाहिर थिएँ र मेरा वृद्ध प्रोफेसर म नजाऊँ भनी बिन्ती गरिरहेका थिए ।
जब शम्भुुबाबुसँग मेरो मित्रता शुरु भयो, उहाँ अत्यन्त शिक्षित र म ज्यादै अशिक्षित थिएँ । उहाँको विगत ज्यादै सुनौलो थियो र मेरो त कुनै विगत नै थिएन । सारा गाउँ हामी दुुईबीचको मित्रता देखेर छक्क पर्थ्यो तर शम्भुुबाबुुलाई कुनै संकोच लाग्दैनथ्यो । उहाँको त्यो विशेषतालाई म आदर व्यक्त गर्छु । हामी दुवै जना हात पक्डेर घुुम्न निस्कन्थ्यौँ । उहाँ मेरो बुवाकै उमेरका हुनुहुन्थ्यो र उहाँका सन्तान पनि मभन्दा ठूला थिए । मेरा पिताको मृत्युु हुनुुभन्दा १० वर्षअघि उहाँको निधन भयो । त्यो बेला उनको उमेर ५० वर्षको थियो होला । यो बेला बरु हाम्रो मित्रताको उपयुक्त हुन्थ्यो होला । त्यो बेला मलाई राम्रोसँग चिन्ने व्यक्ति शम्भुुबाबुु मात्र हुनुहुन्थ्यो । त्यो गाउँमा उहाँको दबदबा थियो र उहाँसँगको मेरो मित्रताले ठूलो काम ग-यो ।
कानो मास्टर त त्यसपछि स्कुलमा कहिल्यै देखिएन । सेवा निवृत्त हुनुुभन्दा पहिले नै उसलाई बिदा दिइयो । सेवा अवधि बढाउने उसको निवेदन अस्वीकृत गरियो । त्यसैले गाउँमा एक किसिमको उत्सव मनाइयो । कानो मास्टर त्यो गाउँमा निकै प्रभावशाली मानिन्थ्यो तर मैले एकै दिनमा उसको धागो काटिदिएँ । यो निकै ठूलो कुरा थियो । मानिसहरूले मलाई सम्मानको नजरले हेर्न थाले । मैले उनीहरूलाई भनेँ, मैले त केही गरिनँ, मात्र उसको गलत काम उजागर गरेको हुँ । म छक्क पर्छु, जीवनभर त्यो मानिसले ससाना बालबालिकालाई कसरी जीवनभर सताएको होला !
त्यो बेला कुटपिट नगरी, दुुईचार झापड नहानी बालबालिकालाई पढाउन सकिन्न भन्ने धारणा थियो । अहिले पनि धेरै भारतीय यस्तै सोच्छन्, उनीहरूले यो कुरा मानून् कि नमानूून् ।
मैले मानिसहरूलाई भनेँ, ‘मेराप्रति आदर गर्न पर्दैन । शम्भुुबाबुुसँग मेरो जुन मित्रता छ, त्यसमा उमेरको अन्तरले केही फरक पर्दैन । वास्तवमा उहाँ मेरा बुवाको साथी हुनुुहुन्छ ।’
मेरा पिता यो मित्रता देखेर छक्क पर्नुहुन्थ्यो । उहाँले शम्भुबाबुसँग सोध्नु पनि भयो, ‘यो बदमास केटोसँग तपाईंको यति दोस्ती किन नि ?’
शम्भुबाबुले हाँस्दै भन्नुभयो, ‘यसका बारेमा त अहिले म केही भन्न सक्तिनँ तर एक न एक दिन तपाईंले अवश्य बुझ्नु हुनेछ ।’
उहाँको सौन्दर्यमा म सधैँ आश्चर्य पर्थे । यो उहाँको सौन्दर्यको अंश नै थियो– भन्नुभयो, म अहिले केही भन्न सक्तिनँ तर एक दिन आफैँ बुझ्नु हुनेछ । एक दिन उहाँले मेरा पितालाई भन्नुभयो, ‘यो केटोसँग मेरो मित्रता होइन, बरु उसप्रतिको आदर हो ।’
उहाँका यी शब्द सुनेर म आफैँ पनि चकित परेँ । हामी एक्लै हुँदा मैले सोधेँ, ‘शम्भुबाबु, तपाईंले बुवालाई के भन्दै हुनुहुन्थ्यो ? तपाईंले मलाई सम्मान गर्नुपर्छ भनेको के हो ?’
उहाँले भन्नुभयो, ‘म तिमीलाई आदर गर्छु । एउटा धमिलो पर्दा पछाडिजस्तै एक दिन तिमी के बन्छौ भन्ने म प्रस्टै देखिरहेको छु ।
मैले अपत्यारिलो भावमा भनेँ, ‘म के बनौँला र ? म त अहिले पनि त्यही हुँ ।’
उहाँले भन्नुभयो, ‘यही तिम्रो कुराले मलाई छक्क पार्छ । तिमी बालक हौ । सारा गाउँ हाम्रो मित्रतामा हाँस्छ । उनीहरुले हाम्रो यो मित्रता बुझ्न सकेका छैनन् । हामी के कुरा गर्छौं होला भनेर ती छक्क पर्छन् । तर उनीहरु के गल्ती गरिरहेका छन् भनेर थाहा छैन ।’
‘मलाई थाहा छ,’ उहाँले जोड दिँदै भन्नुभयो, ‘मलाई थाहा छ, म केही केही महसुस गरिरहको छु, मैले के गल्ती गरिरहेको छु । तर म त्यसलाई प्रस्ट देख्न सकिरहेको छैन । धमिलोझैँ केही देखिरहेको छु । शाद एक दिन तिमी ठूलो मान्छे हुनेछौ, त्यो बेला राम्रोसँग देख्न सकूँला ।’
आज म यहाँ स्वीकार गर्छु, मग्गाबाबापछि शम्भुबाबु अर्का एक जना व्यक्ति थिए, जसले मेरो जीवनमा केही अवर्णनीय घटेको छ । उहाँ रहस्यदर्शी त हुनुहुन्थेन तर ज्यादै राम्रो कवि हुनुहुन्थ्यो । किनभने उहाँले आफ्ना कविता प्रकाशित गर्ने कहिले पनि प्रयास गर्नु भएन । उहाँले कुनै कवि सम्मेलनमा पनि भाग लिनु भएन । अनौठो कुरा त, मजस्तो ९ वर्षको बालकलाई ती कविता सुनाउनु हुन्थ्यो । मलाई सोध्नुहुन्थ्यो, कविता राम्रो छ कि छैन, राम्रो लाग्यो कि लागेन ? बल्ल यतिबेला उहाँका कविता प्रकाशित भएका छन् तर उहाँ यो संसारमा हुनुहुन्न । उहाँको सम्झनामा ती कविता प्रकाशित गरियो तर तिनमा उहाँका सुन्दरतम कवितालाई संकलित गरिएन । उहाँका कविताको छनोट त कुनै रहस्यदर्शीले मात्र गर्न सक्छ र ती कविता संकलन गर्ने व्यक्ति पनि कुनै कवि थिएन । उहाँले जे जति लेख्नु भएको थियो, ती सबै मैले देखेको छु । धेरै त होइन, केही लेख थिए, केही कविता थिए, केही कथा थिए तर अनौठो कुरा, ती सबैको एउटै विषय ‘जीवन’ थियो । दार्शनिक जीवन होइन, काल्पनिक जीवन होइन, जीवन जस्तो छ त्यस्तै, क्षण क्षणमा जे बाँचिन्छ, त्यही जीवन । अंग्रेजी शब्द ‘लाइफ’ (जीवन)लाई ठूलो एल होइन, सानो एल लेख्नुहुन्थ्यो किनभने उहाँ अंग्रेजीमा क्यापिटल अक्षरका विरुद्धमा हुनुहुन्थ्यो । अंग्रेजीको वाक्यको शुरुमा सानो अक्षर नै लेख्नुहुन्थ्यो । कतिसम्म भने आफ्नो नामको पहिलो अक्षर पनि सानो अक्षरमा लेख्नुहुन्थ्यो ।
एक दिन मैले सोधेँ, ‘ठूलो अक्षरमा किन लेख्नु हुन्न ? यसमा नराम्रो के छ र ? ठूलो अक्षरविरुद्ध नै लाग्नु भएको छ त ?’
उहाँले भन्नुभयो, ‘म यसका विरुद्ध छैन । मलाई सुदूर भविष्य होइन, वर्तमानसँग प्रेम छ । मलाई साना साना चिजहरूमा प्रेम छ । जस्तो चियाको प्याला, नदीमा पौडनु, आरामले पल्टेर घाम ताप्नु, यस्ता साना-साना कुरा मलाई ज्यादै प्रिय लाग्छन् । म ती कुरालाई ठूलो अक्षरमा लेखिँदैन । लेख्न सकिँदैन ।’
म उहाँलाई राम्रोसँग बुझ्छु । यद्यपि उहाँ सम्बुद्ध अथवा जाग्रत गुरु हुनुहुन्थेन । उहाँलाई कुनै पनि किसिमको गुरु भन्न नसकिएला र पनि म उहाँलाई मग्गाबाबापछिको दोस्रो महत्त्वपूर्ण व्यक्ति मान्छु । किनभने उहाँले नचिनिने बेलामा पनि मलाई चिन्नुभएको थियो । चिन्नु बिल्कुलै असम्भव थियो । त्यो बेला शायद मैले आफूलाई चिनेको थिइनँ । तर शम्भुबाबुले चिन्नुभएको थियो ।
पहिलो पटक उहाँको उपसभापतिको कार्यालयमा छिर्दा हामी दुवैको आँखा जुधे, एक क्षणका लागि त मौन अवस्था छायो । त्यसपछि उहाँ उभिनु भयो र उहाँले मलाई भन्नुभयो, ‘कृपया बस्नुहोस् ।’
मैले भने, ‘तर तपाईं किनु उभिनु भएको ? उभिनुपर्ने आवश्यकता छैन ।’
उहाँले भन्नुभयो, ‘आवश्यकताको प्रश्न होइन, तिमीलाई देखेर उभिन मन लाग्यो । मलाई खुसी लाग्यो ! यस्तो पहिले कहिल्यै भएको थिएन । म गभर्नरजस्ता अन्य शक्तिशाली मानिसहरूका सामु पनि उभिएको छु । नयाँ दिल्लीमा मैले भाइसरायलाई पनि देखेको छु तर तिनलाई देखेर कहिल्यै पनि विस्मय भएन तर अहिले तिमीलाई देखेर भएको छु । यो कुरा कसैलाई नभन्नू ।’
मैले चालीस वर्षसम्म यो कुरालाई गोप्य नै राखेँ । आज पहिलो पटक यो कुरा भनिरहेको छु । यसलाई यहाँ सुनाउँदा सन्तोष लागिरहेको छ ।
आज बिहान गुडियाले मलाई भनी, म निकै अबेरसम्म सुतेँ अरे । होला पनि, धेरै वर्षपछि हिजो राति म राम्रोसँग सुतेँ । म चाहन्छु, हरेक रात त्यसरी नै सुतूँ । मेरो सारा रात एक क्षणका लागि पनि निद्रा टुटेन । प्रायः एक पटक त उठेर आफ्नो घडी हेर्छु नै, उठ्ने समय भयो कि भएन भनेर । तर हिजो राति यतिका वर्षपछि एक पटक पनि घडी हेरिनँ । मैले देवराजको मिश्रण पनि लिन सकिनँ । उसले मेरो बिहानको खाजाका लागि तयार गर्थ्यो । यो एक प्रकारको गाढा छ तर निकै राम्रो छ । यसलाई खानु गाह्रो छ किनभने यसलाई चबाउन आधा घण्टा लाग्छ तर स्वास्थ्यका लागि निकै राम्रो छ, ज्यादै पौष्टिक छ । बिहान नास्ताका लागि देवराजले बनाएको यो मिश्रण सबैले खानु पर्छ । तर यसलाई बिस्तारै बिस्तारै खानुपर्छ । बिहानको खाजालाई अंग्रेजीमा ब्रेक फास्ट भन्छन् तर यसलाई त ब्रेक स्लो भन्नुपर्छ किनभने ज्यादै सुस्तरी खानुपर्छ । र, ब्रेक स्लो शब्द सुन्न मलाई त्यति मन पर्दैन ।
आज दुई कारणले ब्रेक फास्ट छोड्नु प-यो । एक त मैले देवगीतकहाँ समयमै पुग्नु थियो । तै पनि पाँच मिनेट त ढिला भएँ नै । ढिला पुग्नु मलाई मन पर्दैन । म त्यो मिश्रण खान थालेको भए त्यसमा यति समय लाग्थ्यो कि त्यसलाई खाइसक्दा लञ्च गर्ने समय भइसक्थ्यो । ब्रेक फास्ट र लञ्चका बीच कुनै समय नै बाँकी हुँदैनथ्यो, जबकि त्यो आवश्यक छ । त्यसैले सोचेँ, यसलाई छोडूँ क्यार । तर मलाई यो निकै मन पर्छ । नखाएकै कारण अहिले मलाई यसको सम्झना आइरहेको छ ।
गएको रात ज्यादै अनौठो थियो किनभने हिजो तिमीहरूले शम्भुबाबुको कुरा ग-यौ र मेरो मनबाट बोझ उत्रियो । मैले आफ्ना पिता र उहाँसँग हुने संघर्षको कुरा भनेँ र त्यो कसरी अन्त्य भयो भन्ने पनि सुनाएँ । यसपछि मेरो सारा बोझ उत्रियो ।
शम्भुबाबु सम्बुद्ध हुनसक्ने व्यक्ति थिए तर उहाँ चुक्नुभयो । आफ्नो अति बौद्धिकताका कारण उहाँ चुक्नुभयो । उहाँ महामनीषी हुनुहुन्थ्यो । उहाँ एक क्षणका लागि पनि चुप रहन सक्नु हुन्थेन । उहाँको मृत्युका बेला म सँगै थिएँ । यो विचित्र संयोग, मैले ती सबै मानिसको मृत्यु देख्नुप-यो, जसलाई म प्रेम गर्थें । मर्नुभन्दा पहिले उहाँले मलाई टेलिफोन गरेर चाँडै आऊ भनी बोलाउनुभयो । म शायद केही दिन बाँचूला भन्दै हुनुहुन्थ्यो । जबलपुर त्यो गाउँभन्दा ८० माइल टाढा थियो । म तुरुन्तै हिँडे र दुई घण्टामा त्यहाँ पुगेँ । उहाँ मलाई देखेर ज्यादै खुसी हुनुभयो । मलाई त्यही दृष्टिले हेर्नुभयो, जुन दृष्टिले पहिलो पटक म नौ वर्षको छँदा हेर्नुभएको थियो । त्यहाँ केही भनिएन, तर सबैकुरा सुनियो, त्यो बेलाको मौन, ज्यादै मुखर थियो ।
उहाँको हात पक्डिदै मैले भनेँ, ‘तपाईं आँखा बन्द गर्नुस्, खुला नराख्नुस् ।’
उहाँले भन्नुभयो, ‘आँखा त चाँडै नै आफैँ बन्द हुँदैछन् । त्यसपछि त म खोल्न पनि सक्तिनँ । मलाई आँखा बन्द गर्न नभन । म यो बेला तिमीलाई हेर्न चाहन्छु । यसपछि शायदै तिमीलाई दोहो-याएर हेर्न सकूँला । किनभने तिमी यसपछि जन्म लिने छैनौ । मैले तिम्रो कुरा मानेको भए, तिमीसँग मौन हुने कयौँ अवसर गुमाउनु पर्थेन । मैले सधैँ टारिरहेँ । अब त टार्ने समय पनि रहेन ।’
उहाँका आँखा आँसुले भरिए । म चुपचाप उहाँछेउ बसिरहेँ । उहाँले आँखा बन्द गर्नुभयो र प्राण निस्कियो । उहाँका आँखा ज्यादै सुन्दर थिए र अनुहार पनि प्रतिभापूर्ण थियो । म धेरै सुन्दर मानिसलाई देखेको छु तर उहाँजस्तो सुन्दर देखिनँ । उहाँको सौन्दर्य दिव्य थियो । उहाँ मेरा प्रिय हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । अहिलेसम्म उहाँले शरीर नै धारण गर्नुभएको छैन र म उहाँलाई प्रतीक्षा गरिरहेको छु ।
यो कम्युनका केही उद्देश्य छन् । केही उद्देश्यहरू तिमीहरूलाई थाहै छ र केही मलाई मात्र थाहा छ । कम्युनका व्यवस्थापकहरूलाई मैले केही आत्मा पर्खिरहेको छु भन्ने थाहा छैन । म केही यस्ता दम्पति पनि तयार गरिरहेको छु, जो ती आत्मालाई ग्रहण गर्न सक्लान् । शम्भुबाबु चाँडै नै यहाँ आउनु हुनेछ । उहाँसँग सम्बन्धित यति स्मृति छन् कि मैले बारम्बार उहाँको बारेमा उल्लेख गर्नुपर्नेछ । तर आज म उहाँको मृत्युका बारेमा नै भन्न चाहन्छु ।
अनौठो कुरा, मैले उहाँको मृत्युको चर्चा गरिहेको छु र अन्य कुरा पछि गर्नेछु । मलाई चाहिँ यो अचम्म लाग्दैन किनभने मलाई थाहा छ, मृत्युको क्षणमा व्यक्ति पूर्ण रुपमा फक्रन्छ, प्रस्फुटित हुन्छ । प्रेममा पनि यस्तो चमत्कार हुँदैन । हुनसक्छ तर प्रेमीहरुले यसलाई रोक्छन्, बाधा पु-याउँछन् । प्रेममा दुई व्यक्तिको आवश्यकता हुन्छ । मृत्युमा त व्यक्ति एक्लै पर्याप्त हुन्छ । मृत्युमा अरु कसैले कुनै अड्चन, बाधा पु-याउन सक्तैन । मैले शम्भुबाबु यति आनन्द र यति शान्तिपूर्वक मरिरहेको देखेँ कि उहाँको अनुहारलाई कहिल्यै बिर्सन सक्तिनँ ।
तिमीहरूलाई आश्चर्य लाग्ला, उहाँको अनुहार अमेरिकाका भूतपूर्व राष्ट्रपति रिचर्ड निक्सनसँग मिल्दोजुल्दो थियो । निक्सनको कुरुपता उहाँमा थिएन नत्र त शम्भुबाबु पनि भारतको राष्ट्रपति बन्नुहुन्थ्यो । यसमा कुनै सन्देह छैन, भारतका राष्ट्रपति सञ्जीव रेड्डीभन्दा धेरै प्रतिभाशाली हुनुहुन्थ्यो । भन्नुको मतलब, हेर्दा उहाँ निक्सनजस्तै हेर्दाका कम उमेरका देखिनुहुन्थ्यो । सत्य त के भने, जब आत्मा भित्र हुन्छ वाह्य रुपका बाबजुद अनुहारको आभामण्डल बेग्लै नै हुन्छ । त्यसैले मलाई गलत नबुझ्नू । तिमीहरू सबै रिचर्ड निक्सनलाई जान्दछौ र म मात्र शम्भुबाबुलाई चिन्दछु । त्यसैले यहाँ भ्रम उत्पन्न हुनसक्छ ।
मैले उस्तै देखिन्थे भनेको कुरा अब बिर्सिदेऊ । बिर्स । राम्रो छ, शम्भुबाबुको अनुहारतिर नजाओ, बरु रिचर्ड निस्कनझेझैँ सोच्न थाले । निक्सनका लागि मेरो हृदयमा थोरै ठाउँ छ किनभने उनी केही शम्भुबाबुजस्तै देखिन्छन् । यसका लागि मलाई माफ गर । मलाई थाहा छ, उनी यसका लागि योग्य छैनन् तर म विवश छु । जब म निक्सनको फोटो देख्छु, म शम्भुबाबु नै देख्छु, निक्सन देख्दिनँ ।
जब निस्कन अमेरिकाको राष्ट्रपति बने, मैले मनमनै सोचेँ, ‘वाह ! कम्तीमा शम्भुबाबुजस्तै देखिने मानिस अमेरिकाको राष्ट्रपति त बन्यो ! शम्भुबाबु अमेरिकाको राष्ट्रपति बन्नु मलाई राम्रो लाग्थ्यो तर अब यो सम्भव थिएन । अँ, यी दुई अनुहारबीचको साम्यताले मलाई सन्तोष भयो । जब निक्सनले त्यो काण्ड गरे, मलाई लाज लाग्यो किनभने ऊ शम्भुबाबुजस्तै देखिन्थ्यो । जब उसले राष्ट्रपति पदबाट राजिनामा दियो, म उदास भएँ । उसका कारण होइन । ऊसित त मेरो कुनै सम्बन्ध नै थिएन । अब म अखबारहरूमा शम्भुबाबुको अनुहार हेर्न पाउने छैन भनेर मात्र उदास भएँ ।
अब त त्यो पनि समस्या रहेन किनभने अखबार पढ्न छाडिसकेँ । कयौँ वर्षयता मैले पढेको छैन । एक समय थियो, म समाचारपत्रलाई एकै मिनेटमा पढिसिध्याउँथे । दुई वर्षयता मैले कुनै अखबार हेरेको छैन । अब त किताब पनि पढ्न छाडिसकेँ । म केही पढ्दिनँ । म अब पुनः अशिक्षित भएको छु । म जसरी सधैँ अशिक्षित हुने सपना देख्थेँ । मेरा बुवाले घिसार्दै नलग्नु होस् भन्ने चाहेको थिएँ… तर उहाँले घिसार्नु भयो । ती सबै स्कुल, कलेज र विश्वविद्यालयले मलाई जे सिकाए, त्यसलार्य बिर्सन, त्यसलार्य मेटाउन मेरो धेरै ऊर्जा निकै ठूलो शक्ति खर्च भयो । तर यस्तो गर्न म सफल भएँ । समाजले मलार्य जे पनि सिकाएको थियो, मैले त्यसलाई मेटाएँ । अब म दोहो-याएर अशिक्षित गवाँर केटो बनेको छु ।
अंग्रेजीमा यससका लागि कुनै शब्द छैन तर हिन्दीमा गाउँको मानिसलाई गँवार भन्छन् । गाउँ (देहात)लाई गाँव भन्छन् र देहातीलाई गँवार । तर गँवारको अर्थ मूर्ख पनि हुन्छ । र, यी दुई अर्थ यति घुलमिल भएका छन् कि कसैले पनि गँवारको अर्थ देहाती हुन्छ भन्दैनन् । हामी सबै गँवारको अर्थ गाउँको भन्दैनाँै, मूर्ख नै ठान्छौँ ।
म गाउँबाट जस्तो खाली कागज, कोरा कागजजस्तो आएको थिएँ, जसमा केही पनि लेखिएको थिएन, गाउँबाट टाढा हुँदा म जस्तो जंगलीजस्तै भइरहेँ । मैले कहिल्यै कसैलाई पनि ममाथि केही लेख्न दिइनँ । मानिसहरु त लेखिनका लागि सधैँ तयार हुन्छन् । तयार मात्र होइन, उनीहरु त आग्रह नै गर्छन्, केही न केही लेखियोस् भन्ने चाहन्छन् । म चाहिँ गाउँबाट बिल्कुलै खली आएको थिएँ । अब म भन्न सक्छु, यसबीचमा जे लेखिएको थियो त्यो सबै मैले मेटाएको छु । पूरै मेटाएको छु । सत्य त, मैले त्यो भित्तोलाई नै भत्काएको छु, जसमा दोहो-याएर केही लेख्न नसकियोस् ।
शम्भुबाबुले पनि त्यस्तो गर्न सक्नुहुन्थ्यो । मलाई थाहा छ, उहाँ बुद्ध हुन योग्य हुनुहुन्थ्यो तर हुनु भएन । शायद उहाँको पेशा, उहाँ वकिल हुनुहुन्थ्यो र त्यही पेशा बाधा बन्यो । मैले अनेक प्रकारका मानिसहरु बुद्ध भएको सुनेको छु तर आजसम्म कुनै पनि वकिल बुद्ध भएको सुनेको छैन । यो पेशाको मानिस त्यतिञ्जेलसम्म बुद्ध हुनसक्तैन, जबसम्म उसले आफूले पाएको समस्त शिक्षा परित्याग गर्दैन । शम्भुबाबुले त्यो साहस गर्न सक्नु भएन । उहाँप्रति मलाई यही अफसोस छ । अरुका प्रति मलाई कहिल्यै यति अफसोस भएन । किनभने मैले अर्को कोही फेला पारेको छैन कि त्यति योग्यता होस् र पनि उसले छलाङ मार्न नसकेको होस् ।
उहाँलाई पटक पटक सोध्थेँ, ‘शम्भुबाबु, किन यो असहज, अप्ठेरोपन किन ?’
उहाँले सधैँ एउटै उत्तर दिनुभयो, ‘के भनूँ ? कसरी भनूँ ? म आफैँलाई थाहा छैन । यो बाधा, यो अड्चन के हो बुझ्नै सकिरहेको छैन । केही न केहीले मलाई रोकिरहेको छ ।’
मलाई थाहा छ, त्यो अड्चन के थियो । उनलाई पनि यो थाहा थियो तर उहाँले कहिल्यै पनि थाहा भएको कुरा मान्नु भएन । म उहाँको अड्चनका बारेमा जान्दछु भन्ने चाहिँ उहाँलाई थाहा थियो । जसै म उहाँलाई यो प्रश्न सोध्थेँ, उहाँ सधैँ आँखा बन्द गर्नुहुन्थ्यो । तर म पनि कम जिद्दी चाहिँ थिइनँ । उहाँलाई पटक पटक सोध्थेँ, ‘भन्नुस्, त्यो बाधा के हो ?’ उहाँ आँखा बन्द गर्नुहुन्थ्यो र मेरो आँखासँग जुधाउन चाहनु हुन्न थियो । किनभने त्यो बेला उहाँले मसँग झुटो बोल्न सक्नुहुन्न् थियो । त्यो बेला उहाँले वकिलले बोल्ने झूटो बोल्न सक्नुहुन्न थियो ।
अब त उहाँ जीवित हुनुहुन्न । अब म उहाँका बारेमा भन्न सक्छु, उहाँ बुद्ध हुनुहुन्थेन र पनि उहाँ बुद्धत्वको निकट चाहिँ हुनुहुन्थ्यो । म अरु कसैका बारेमा यस्तो भन्न सक्तिनँ तर उहाँका बारेमा भन्छु । ‘बुद्धत्वको निकट’ हुनुको विशेष वर्ग मैले शम्भुबाबुका लागि मात्र राखेको छु ।
+++
२२. ओशोको आत्मकथाः स्वर्णिम बालापन (शृङ्खला २२: सिंक्रोनिसिटी)
मैले यत्तिकै ओके भन्न लागेको थिएँ तर भनिनँ । एक दिन मैले यत्तिकै शिष्टाचारपूर्वक ओके भनेको थिएँ र यसका कारण मलाई निकै पीडा भयो । त्यो बेला सबै कुरा गलत भएको थियो । त्यसैले अब म त्यो बेला मात्र ओके भन्छु, जब साँच्चिकै ओके हुन्छ नत्र त चुप लाग्नु नै ठीक हुन्छ…
ओके ।
फेरि मलाई विचरो सिग्मन्ड फ्रायडको सम्झना आयो । ऊ एक दिन अफिसमा एक जना धनी र पक्कै यहुदी रोगीलाई प्रतीक्षा गरिरहेको थियो । यहुदी नबनी कोही धनी हुन सक्छ र ? र, मनोविश्लेषण त झन् सबैभन्दा ठूलो व्यवसाय हो, जसलाई कुनै यहुदीले आधारशीला राखेको थियो । उनीहरु जिससलाई चिन्न त चुके नै तर अब सिग्मन्ड फ्राइडलाई चिन्नबाट चुक्न चाहँदैन थिए । हुन त जिसससँग उनको तुलना गर्न सकिँदैन ।
फ्रायड आफ्नो कोठामा यताउति गरिरहेका थिए र अधैर्य भएर ती बिरामीलाई कुरिरहेका थिए । बिरामी निकै धनी थियो र मनोविश्लेषण त यस्तो उपचार हो कि त्यो वर्षौंसम्म चलिरहन्छ । अँ, बीचमा अझ बढी मुखर यहुदी फेला पारे भने कुरा बेग्लै । तर ऊ मनोविश्लेषणको चक्करबाट बाहिर निस्कन सक्तैन ।
फ्रायडले पटक-पटक आफ्नो घडी हेरिरहेका थिए । निकैपछि अब ऊ आउँदैन होला भन्ने उनले ठाने । परबाट त्यो बिरामी चाल पाए । फ्रायड निकै रिसाएका थिए । अन्ततः ती रोगीको ठूलो कार कार्यालय छेउमै आएर रोकियो । यहुदी कारबाहिर निस्कियो । जब ऊ फ्रायडको अफिसमा पुग्यो, फ्रायडलाई निकै रिसाइरहेको देख्यो, किनभने ऊ पचास सेकेन्ड ढिलागरी आएको थियो ।
फ्रायडले भने, ‘मैले तिम्रो कारको आवाज सुनेर ठीक भयो । ठीक समयमा तिम्रो कारको आवाज नसुनेको भए म एक्लै नै थेरापीको सेसन शुरु गर्न लागेको थिएँ ।’
यो एउटा व्यावसायिक चुटकिला हो । यसलाई तिनले मात्र बुझ्न सक्छन् जो मनोविश्लेषणको व्यवसायमा छन् । तर तिमीहरु कोही पनि मनोविश्लेषक होइनौ, त्यसैले मैले यो चुटकिलालाई बुझाउनु पर्छ ।
चुटकिला के भने फ्रायडले भने, ‘तिमी बिना नै, अर्थात् रोगी बिना नै म शुरु गर्न लागेको थिएँ ।’ अब बुझ्यौ ?
अच्छा ! अब चुटकिलालाई एकातिर राख । एउटा खास बिन्दुबाट मैले शुरु गर्नुपर्ने हुन्छ । जब ओके भन्नुपर्ने हुन्छ, त्यो बेला मात्र भन्छु, र, सिग्मन्ड फ्रायडजसरी होइन, चुटकिलालाई राम्रोसँग बुझेर मात्र । म तिमीहरुलाई निराश गर्न सक्तिनँ । यो त केवल परिचय नोट हो । अब हामी नसकिने कथालाई शुरु गर्छौं ।
हो नि, यो समाप्त हुँदैन । सकिँदै सकिँदैन । यो कसरी सकिएला ? सकियो भने त अरु कसैले नै उपसंहारका ‘दुई शब्द’ लेख्नुपर्छ । म त्यसलाई लेख्न सक्तिनँ । त्यसका लागि मलाई माफ गर । तर त्यसका लागि म आफ्ना मानिसहरुलाई तयार गरिरहेको छु । देवगीत, देवराज, आशु… यी त्रिमूर्तिले त्यो गर्नेछन् । र, सम्झ– मेरो त्रिमूर्तिमा एक जना स्त्री छ, जो दुई जना पुरुषहरुलाई सधैँ आपसमा भिडाउँछे । र, पनि यिनीहरु उपसंहारका ‘दुई शब्द’ लेख्न सक्छन् । यदि यिनले लेख्न सकेनन् भने आशु यी दुईलाई आपसमा भिडाउँछे र आफैँ लेख्नेछे ।
आज बिहान मैले कार्ल गुस्ताभ जङको शब्द ‘क्रिङ्क्रोनिसिटी’ उल्लेख गरेको थिएँ । मलाई ऊ राम्रो मान्छे लाग्दैन । तर उसले जुन नयाँ शब्दलाई प्रचलित ग-यो, त्यो मलाई निकै मन पर्छ । यसका लागि हरेक सम्भव श्रेय उसले पाउनुपर्छ । र, कुनै पनि भाषामा सिङ्क्रोनिसिटीजस्तो शब्द छैन । किनभने यो कार्ल गुस्ताभ जङले उकेरेको बिल्कुलै नयाँ शब्द हो । शब्द कसै न कसैले बनाएकै हुन्छ, बनाएकै हो । त्यसैले कुनै शब्द बनाउनुमा कुनै नराम्रो होइन । खासगरी त्यो शब्द जसले कुनै यस्तो अनुभवलाई अभिव्यक्त गर्छ, जसलाई सदियौँदेखि कुनै नाम नदिएको होस्, त्यो केवल एउटा शब्द ‘सिङ्क्रोनिसिटी’का लागि जङले नोबेल पुरस्कार पाउनु पर्थ्यो । हुन त त्यो अति साधारण शब्द थियो तर पनि जब यति सारा साधारण मानिसहरुले नोबेल पुरस्कार पाएका छन् भने अर्को एक जनाले पाएको भए के चाहिँ गलत हुन्थ्यो हुन्थ्यो ! र, ती नोबेल पुरस्कार त मरणोपरान्त पनि दिने गरेका छन् । विचरो यो जङलाई पनि नोबेल पुरस्कार दिए हुन्थ्यो । मैले ठट्टा गरेको होइन । यो शब्दका लागि म साँच्चिकै आभारी छु किनभने मानिसको बुद्धिले यसलाई कहिले पनि राम्रोसँग बुझ्न, पक्डन सकेनन् । यो सधैँ मानिसको बुझाइभन्दा टाढै रह्यो ।
म तिमीहरुलाई शम्भुबाबुका साथ मेरो अनौठो मित्रताका बारेमा चर्चा गरिरहेको थिएँ । यो मित्रता कयौँ अर्थमा अनौठो नै थियो । पहिलो कुरा त, उहाँ मेरा पिताभन्दा पनि बढी उमेरका हुनुहुन्थ्यो । अथवा, उही उमेरका हुनुहुन्थ्यो तर मलाई उहाँ अझ बढी बूढो देखिनुहुन्थ्यो जस्तो लाग्छ । म त नौ वर्षको थिएँ । अब तिमीहरु नै भन, यो कस्तो दोस्ती थियो होला ? उहाँ कानुनका सफल विशेषज्ञ हुनुहुन्थ्यो । त्यो गाउँमा मात्र होइन, हाई कोर्ट र सुप्रिम कोर्टमा पनि उहाँले वकालत गर्नुहुन्थ्यो । उहाँ कानुनका उच्च अधिकारीमध्ये एक हुनुहुन्थ्यो ।
उहाँ एक अशिक्षित, अनुशासनहीन, जंगली र ग्रामीण बालकको साथी हुनुहुन्थ्यो ! पहिलो भेटमा नै जब उहाँले मलाई बस्नुहोस् भन्नुभयो, म त छक्क परेँ । मैले यो त सोच्नै सकिनँ कि यो मान्छे बसिरहेको कुर्सीबाट उठेर मलाई बस्नुहोस् भनिरहेको छ । उहाँ स्वयं उठेर मलाई स्वागत गर्नुहोला र बस्नुहोस् भन्नुहोला भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।
मैले उहाँलाई भनेँ, ‘पहिले तपाईं बस्नुहोस् । तपाईं मभन्दा ठूलो हुनुहुन्छ । शायद मेरो बुवाभन्दा पनि ठूलो । तपाईंभन्दा पहिले म बस्नु अप्ठेरो लाग्छ ।’
उहाँले भन्नुभयो, ‘त्यसको चिन्ता नगर । म तिम्रो बुवाको साथी हुँ । आरामले बस र भन, यहाँ किन आयौ !’
मैले भनेँ, ‘म यहाँ किन आएँ भनेर पछि भनौँला तर पहिले…’, उहाँले मतिर हेर्नुभयो र मैले उहाँलाई हेरेँ, हामी दुई जनाकै आँखा जुधे र त्यस क्षण जे घट्यो, त्यो मेरो पहिलो प्रश्न भयो । मैले उहाँलाई सोधेँ, ‘शुरुमा मलाई भर्खरै हाम्रो आँखा जुध्दा के भयो त्यो बताउनुस् ।’
उहाँले आफ्नो आँखा बन्द गर्नुभयो र शायद दस मिनेट बित्यो । अनि, बल्ल उहाँले आँखा खोल्नुभयो । उहाँले भन्नुभयो, ‘माफ गर । के भयो, के घट्यो, मैले बुझ्न सकिनँ तर केही त अवश्य भयो !’
त्यसै समयबाट हामी मित्र बन्यौँ । यो सन् १९४० को कुरा हो । सन् १९६० मा उहाँको मृत्यु भयो । हाम्रो मित्रताको बीस वर्षपछि उहाँको मृत्यु भयो । अनौठो मित्रता थियो । म त्यसलाई शब्दमा बताउन सकेँ, जुन कुरा उहाँले वर्षौं खोज्नु भएको थियो । र, यो शब्द कार्ल गुस्ताभ जङले अंग्रेजीको शब्द ‘सिंक्रोनिसिटी’ थियो । हामी दुईबीच यही भएको थियो । उहाँलाई पनि थाहा थियो, के भयो र मलाई पनि के भयो भन्ने थाहा थियो तर यसलाई अभिव्यक्त गर्न उपयुक्त शब्द फेला परेको थिएन ।
सिंक्रोनिसिटी शब्दका कयौँ अर्थ छ । यो बहुआयामी शब्द हो । यसको अर्थ, एउटा खास लयबद्ध भाव हुनसक्छ । जसलाई मानिसले उहिलेदेखि प्रेम गरिरहेको भन्ने अर्थमा पनि यो प्रयोग हुनसक्छ । मित्रता पनि अर्थ हुनसक्छ । दुई हृदयहरुको अकारण एकसाथ ढुकढुकिनु पनि हुनसक्छ । यो एउटा रहस्य हो । संयोगवश कहिलेकाहीँ यस्तो व्यक्ति फेला पर्छ, जोसँग राम्रोसँग लय बस्छ । सारा पजल हल हुन पुग्छ । पजलको अंश सही ठाउँमा थिएनन्, तर अब स्वयं ठीक भएको छ भने त्यो सिंक्रोनिसिटी हो ।
जब मैले उपसभापतिसँग मित्रता भयो भनेर हजुरआमालाई बताएँ, उहाँले सोध्नुभयो, ‘शम्भुरत्न दुबेसँग ?’
मैले भनेँ, ‘अँ, तर किन तपाईंलाई आश्चर्य लाग्यो ?’
उहाँको आँखाबाट आँशु आए । उहाँले भन्नुभयो, ‘उसो भए यो संसारमा तिम्रा धेरै साथी हुने छैनन् । त्यति मात्र होइन, तिमीले त साथी पाउला पनि, तिमी अहिले निकै साना छौ । तर शम्भुबाबुले यो संसारमा कोही साथी पाउने छैनन् । उमेरमा उनी निकै ठूला छन् ।’
मेरो कथामा मेरी हजुरामाको उल्लेख उहाँको अनौठो अन्तरदृष्टिका साथ पटक-पटक आउने छ । उहाँले के देख्नुभयो र उहाँ किन रुनुभयो भन्ने म बुझ्दिनँ । अहिले बल्ल बुझ्छु, शम्भुबाबुको मबाहेक अरु कोही पनि साथी थिएनन् ।
म गाउँमा एक या दुई पटक जान्थेँ । जसै म आफ्नो काममा, जसलाई तिमी निष्क्रियता पनि भन्न सक्छौ– संन्यास आन्दोलन र ध्यान शिविरहरुमा व्यस्त हुन थालेँ, गाउँ जाने कुरा कम हुँदै जान थाल्यो । सत्य त उनी मर्नुभन्दा केही वर्षसम्म मात्र गाउँमा पुग्ने गर्थें ।
स्टेसनमा गाडी रोकिन्थ्यो । स्टेसन मास्टर मेरो संन्यासी थियो । त्यसैले मैले चाहुञ्जेल गाडीलाई रोक्न सक्थेँ । किनभने अर्को गाडी स्टेसनबाहिर पर्खिरहेको हुन्थ्यो । त्यहीँ मेरो उहाँसँग भेट हुन्थ्यो । दस, बीस, बढीभन्दा बढी तीस मिनेट रोकिन्थ्यो । त्योभन्दा बढी मेरो गाडी रोक्न सकिन्न थियो । मेरा आमाबुवा, शम्भुबाबु तथा अन्य धेरै जना जो मलाई प्रेम गर्थे, मलाई भेट्न भनेर स्टेसनसम्म आउँथे ।
म उहाँको एकाकीपनलाई बुझ्छु । उहाँका कोही साथी थिएनन् । प्रायः हरेक दिन उहाँले मलाई पत्र लेख्नुहुन्थ्यो । यस्तो निकै कम हुन्छ । लेख्ने कुरा धेरै थिएन । कहिलेकाहीँ उहाँले खाली कागज मात्र पठाउनुहुन्थ्यो । म त्यो पनि बुझ्थेँ । उहाँ एक्लो महसुस गर्नुहुन्थ्यो, उहाँ मसँगै आउँ भन्ने चाहनुहुन्थ्यो । म सकेसम्म, मिलेसम्म, गाउँ पुग्ने प्रयास गर्थें । पुग्न नसक्दा रेल स्टेसनसम्म केहीबेर भेट्थेँ । गाउँ जाँदा पनि म उहाँका लागि मात्र जाने गर्थें । नत्र त त्यहाँ मेरो कुनै रुचि थिएन । उहाँकै कारण म त्यहाँ जाने कष्ट गर्थें । उहाँको मृत्युपछि म त्यहाँ निकै कम गएको छु । म खासमा शम्भुबाबुको याद आउने भएकाले म आउन मन लाग्दैन भन्दिन्छु । सत्य त अब त्यहाँ जाने कुनै अर्थ थिएन । उहाँ नहुँदा म त्यहाँ जानुको कुनै तुक थिएन । उहाँ मरुभूमिमा हरियालीजस्तै हुनुहुन्थ्यो ।
मेरा कारण शम्भुबाबुले जुन निन्दा र आलोचना झेल्नुभयो, त्यसलाई उहाँले केही पनि ठान्नु भएन । उहाँ कसैसँग पनि डराउनु हुन्थेन । त्यो बेला मसँगको दोस्ती उहाँका लागि राम्रो कुरा थिएन । यो त खतरनाक थियो । मानिसहरु यो केटोसँगको दोस्तीका कारण कसैले पनि आदर गर्दैन भनेर सुनाउँथे । उहाँ उपसभापति हुनुहुन्थ्यो, अब सभापति चुनिनबाट यही केटोका कारण पाउनु हुन्न भन्थे । पछि मैले उहाँलाई भनेँ, ‘शम्भुबाबु, अब कि त तपाईंले मलाई छनोट गर्नुप-यो कि त सभापति । किनभने अब मसँग दोस्ती रहिरह्यो भने तपाईंलाई घाटा हुन्छ ।’
उहाँ पछि सभापति हुनुभयो र त्यो बेला मेरै कारण पदबाट राजिनामा दिनुभयो । उहाँले मलाई एक शब्द पनि केही भन्नु भएन । मेरा सामु नै उहाँले राजिनामा लेखिदिनुभयो । मलाई उहाँले भन्नुभयो, ‘तिमीभित्र जुन अपरिभाषित कुरा छ, मलाई त्यसप्रति प्रेम छ । म यो गाउँको सभापति हुनुको कुनै अर्थ छैन । म त तिम्रा लागि सबै कुरा छाड्न तयार छु । हो, सबै कुरा !’
उहाँले दिएको राजिनामा फिर्ता गराउन मानिसले धेरै प्रयास गरे तर उहाँले फिर्ता लिनु भएन । मैले उहाँलाई भनेँ, ‘शम्भुबाबु, तपाईंलाई थाहा छ, मलाई यो सभापति, उपसभापति आदि पदप्रति निकै घृणा छ । चाहे त्यो नगरको होस् या चाहे राष्ट्रकै । म तपाईंलाई राजिनामा फिर्ता लिनुस् भन्न सक्तिनँ । म त त्यो अपराध गर्न सकिनँ तर तपाईं यसलाई फिर्ता लिन चाहनुहुन्छ भने तपाईं स्वतन्त्र हुनुहुन्छ ।’
उहाँले भन्नुभयो, ‘अब त फिर्ता लिन सक्तिनँ । जे हुनु थियो, त्यो भइसक्यो । मलाई दबाब नदिएर तिमीले राम्रो ग-यौ ।’
उहाँ सधैँ एकाकी नै रहनुभयो । उहाँसँग आरामसँग बाँच्नका लागि निकै पैसा थियो । उहाँले सभापति पदबाट राजिनामा दिनु त भयो नै वकालत पनि छाड्नुभयो । उहाँले भन्नुभयो, ‘मसँग धेरै पैसा छ । म किन चिन्तित भइरहूँ ? वकालत तथा सत्यका नाममा किन म निरन्तर झूट बोलिरहूँ ?’ त्यसपछि उहाँले आफ्नो धन्दा बन्द गर्नुभयो ।
उहाँका तिनै विशेषताप्रति मलाई प्रेम थियो । केही सोच विचार नगरी नै उहाँले एक क्षणमा नै राजिनामा लेख्नुभयो र अर्को दिनदेखि उहाँले वकालत पनि छाड्नुभयो । उहाँका कारणले नै म कहिलेकाहीँ गाउँ जानु पर्थ्यो अथवा उहाँलाई आफूसँग बस्न बीचबीचमा बोलाउनु पर्थ्यो । उहाँ कहिलेकाहीँ मकहाँ पनि आउनुहुन्थ्यो ।
उहाँ ज्यादै प्रामाणिक व्यक्ति हुनुहुन्थ्यो । उहाँ कुनै परिणामसँग पनि डराउनु हुन्न थियो । एक पटक उहाँले मलाई सोध्नुभयो, ‘तिमी गर्लाऊ ! तिमी विश्वविद्यालयमा त धेरै समय टिक्लाऊ जस्तो लागेन ।’
मैले भनेँ, ‘शम्भुबाबु, म कहिले पनि योजना बनाउँदिनँ । मैले यो काम छाडेँ भने अर्को कुनै काम तयार हुन्छ भन्ने मलाई विश्वास छ । यदि परमात्मा…’ र यस्तो ‘यदि’लाई बुझ्नू किनभने उहाँ आस्तिक हुनुहुन्थेन । उहाँको यो विशेषता पनि मलाई ज्यादै मन पर्थ्यो । उहाँ भन्नुहुन्थ्यो, ‘जबसम्म म आफैँलाई जान्दिनँ, भगवान्लाई कसरी विश्वास गर्न सक्छु ? पहिले आफूलाई चिन्यो भने अरुलाई चिन्न सकिएला ।’
मैले भनेँ, ‘यदि परमात्माले सबै किसिमका मानिसहरुका लागि काम खोजिदिन सक्छ, पशु र रुखविरुवाका लागि पनि काम खोजिदिन सक्छ भने उसले मेरा लागि पनि कुनै न कुनै काम खोजिदेला नै । उसले खोज्न सकेन भने पनि त्यो उसको समस्या हो, मेरो होइन ।’
उहाँले हाँस्दै भन्नुभयो, ‘अँ, यो कुरा ठीक हो । यदि ऊ कहीँ छ भने उसको समस्या हो । तर प्रश्न के हो भने ऊ छैन भने चाहिँ के होला त तिम्रो भविष्य ?’
मैले भनेँ, ‘त्यो बेला पनि मेरा लागि कुनै समस्या हुँदैन । मेरा लागि कुनै काम छैन भने एउटा लामो श्वास तानेर अस्तित्वबाट बिदा लिनेछु । मेरो आवश्यकता यो संसारमा रहेनछ भन्ने त्यो प्रमाण हुनेछ । मेरो आवश्यकता छैन भने म जबरजस्ती अस्तित्वलाई म थोपर्न चाहन्नँ ।’
हाम्रो कुराकानी र हामीबीचको तर्कलाई दोहो-याएर त्यसरी नै प्रस्तुत गरियो भने प्लेटोका वार्तालापभन्दा निकै राम्रो सिद्ध हुनेछन् ।
शम्भुबाबु जयदै तर्कयुक्त व्यक्ति हुनुहुन्थ्यो । म जति तर्कहीन छु, उहाँ उति नै तर्कसंगत हुनुहुन्थ्यो र यही सबैभन्दा आश्चर्यजनक कुरा हो, गाउँमा हामी दुई जना नै एकअर्काका साथी थियौँ । सबै जनाले सोध्थे, ‘ऊ त तार्किक व्यक्ति हुन् र तिमी तर्कहीन । र, पनि तिमीहरु दुई जनाबीचको सम्बन्धसूत्र चाहिँ के हो क्या ?’
मैले भनेँ, ‘तपाईंहरुले यो बुझ्न गाह्रै छ । किनभने तपाईंहरु हामी दुईमध्ये केही पनि हुनुहुन्न । उहाँको तर्कले उहाँलाई तर्कको अन्तिम छेउसम्म पु-याउँछ । म त तर्कहीन छु । म जन्मबाट तर्कहीन होइन, कोही पनि जन्मैबाट तर्कहीन हुनसक्तैन । म तर्कहीन यस कारणले छु किनभने मैले तर्कको व्यर्थथा देखिसकेको छु । तर्क कति अर्थहीन छ भन्ने मैले देखेको छु । म उहाँको तर्कअनुसार आफूलाई निकै टाढासम्म पुग्छु र फेरि एउटा बिन्दुमा म उहाँभन्दा निकै अघि बढ्छु । त्यसपछि उहाँ डराएर रोकिनुहुन्छ । यही कुरा हाम्रो मित्रता जोगिएको छ । किनभने उहाँलाई थाहा छ, उहाँले त्यो बिन्दुभन्दा पर जानुछ र उहाँलाई त्यहाँ पु-याउने अर्को कुनै साथी छैन । त्यो गाउँको कुनै साथीले पनि त्यहाँ पु-याउन सहयोग गर्न सक्तैन । गाउँका सबैले उहाँले मलाई सहयोग गरिरहनु भएको भनेर सोच्छन् तर खासमा तपाईंहरु गलत हुनुहुन्छ । तपाईंले उहाँलाई सोधे हुन्छ, सहयोग त मैले उहाँलाई गरिरहेको छु ।’
आश्चर्य लाग्ला, एक दिन मानिसहरु यही कुरा सोध्न, उहाँको घर पुगे । सोधे, ‘त्यो सानो केटो तपाईंको पथप्रदर्शक हो ? ऊ कस्तो सहयोगी हो तपाईंको ?’
उहाँले भन्नुभयो, ‘अवश्य । यसमा कुनै सन्देह नै छैन । तपाईं मलाई किन सोध्न आउनु भएको ? तपाईंहरुले उसैलाई सोधेको भए भइहाल्थ्यो । तपाईंहरुको नजिकै त ऊ नै बस्छ नि !’
त्यस्तो गुण दुर्लभ नै छ । र, मेरी हजुरआमाले ठीक भन्नुभएको थियो, ‘शम्भुबाबुले कोही साथी पाउनुहुन्न भन्ने मलाई डर छ । यो डर मलाई तिम्रा बारेमा पनि छ । तर तिमी अहिले सानो छौ । शायद बरु तिमीले केही साथी पाउला ।’
उहाँको अन्तरदृष्टि ज्यादै प्रस्ट थियो । तिमीहरुलाई आश्चर्य लाग्ला, शम्भुबाबुबाहेक मैले कुनै पनि साथी पाइनँ । उहाँ हुनुहुन्थेन भने मित्रताको अर्थ के हो भन्ने मैले थाहा पाउने थिइनँ । परिचित व्यक्ति धेरै थिए । स्कुल, कलेज र विश्वविद्यालयमा सयौँ मानिससँग मेरो परिचय भयो । तिमीहरुले र अरुले पनि शायद त्यही बुझे होलान्, उनीहरु मेरा मित्र होलान् भन्ने सोचे होलान् । तर शम्भुबाबुबाहेक मैले मित्र भन्ने कोही फेला पारिनँ । कसैसँग परिचित हुनु ज्यादै सजिलो छ । परिचय त ज्यादै साधारण कुरा हो तर मित्रता साधारण जगतको कुरा होइन । तिमीहरुलाई आश्चर्य लाग्ला, म बिरामी हुनेबित्तिकै, म त्यो गाउँभन्दा ८० माइल पर बस्थेँ, त्यो बेला शम्भुबाबुको फोन आउँथ्यो र उहाँ ज्यादै चिन्तित हुँदै मेरो हालखबर सोध्नुहुन्थ्यो । उहाँ चिन्तित हुँदै सोध्नुहुन्थ्यो, ‘तिमीलाई ठीक छ ?’
म भन्थेँ, ‘तपाईं यति चिन्तित किन हुनु भएको ? बरु तपाईंको आवाज सुन्दा तपाईं बिरामी हो कि जस्तो लाग्छ ।’
उहाँ भन्नुहुन्थ्यो, ‘होइन, म बिरामी छैन । मलाई तिमी बिरामी भयौ कि जस्तो लागेर फोन गरेको । तिमीले मलाई लुकाउन सक्तैनौ । मैले बल्ल थाहा पाएँ, तिमीलाई सञ्चो छैन रैछ ।’
यस्तो कयौँ पटक भएको छ । विश्वास नलाग्ला, उहाँकै कारण मैले निजी टेलिफोन राख्नुप-यो । एउटा टेलिफोन मेरो सेक्रेटरीका लागि थियो, जो देशभरिमा मेरो कामलाई व्यवस्था गर्थ्यो । अर्को एउटा निजी गोप्य टेलिफोन पनि थियो मेरो, जुन शम्भुबाबुका लगि मात्र थियो । ताकि उहाँ जुन बेला मन लाग्यो, फोन गर्न सक्नुहोस्, आधारात पनि ! देशभरिमा म यात्रा गर्दा यदि बिरामी भएँ भने म आफैँ उहाँलाई फोन गरेर स्वास्थ्य ठीक भएन भनेर सुनाउँथेँ । तपाईंले चिन्ता गर्नुस् भन्थेँ । नत्र उहाँले फोन गरेर बिरामी भयौ कि भनेर सोधिहाल्नुहुन्थ्यो । यसलाई भन्छः सिंक्रोनिसिटी ।
कतै भित्री तहमा हामी एकअर्कासँग जोडिएका थियौँ । जुन दिन उहाँको मृत्यु हुँदै थियो, म यत्तिकै उहाँको घर पुगेको थिएँ । म कार लिएर गाउँतिर लागेँ । मलाई त्यो सडक कहिल्यै मन परेन, न त कार चलाउन नै मन प-यो । तर जबलपुरदेखि गाडरवारा जाने त्यो सडक निकै खराब थियो । त्योजस्तो खराब सडक त तिमीले कहीँ पनि फेला पार्दैनौ । त्यसको तुलनामा त एन्टीलोपबाट रेन्च जोड्ने हाम्रो सडक सुपर हाइवे नै हो । जर्मनीमा यसलाई के भन्छन् ? अटोबान ?
‘हजुर ओशो ।’
देवगीतले भनेको हो भने त्यो ठीकै होला ।
युनिभर्सिटीबाट शम्भुबाबुको घरसम्मको सडकको तुलनामा हाम्रो यो सडक अटोबान हो । म तीव्र गतिमा गएँ… भित्र मलाई आशंका भइरहेको थियो । म सधैँ नै गाडी तीव्र चलाउँछु । तीव्र गति मलाई निकै मन पर्छ । तर त्यो सडकमा त एक घण्टामा बीस माइलभन्दा बढी तीव्र गतिमा चलाउन सकिन्न । योभन्दा बढी सम्भव नै छैन । अब तिमीहरु अनुमान गर्न सक्छौ, त्यो सडक कस्तो थियो होला । जब तिमीहरु निश्चित ठाउँमा पुग्छौ, यदि मरेनौ भने हत्तु त पक्कै हुन्छौ । तर एउटा कुरा चाहिँ राम्रो छ । शहरभित्र छिरेलगत्तै एउटा नदी फेला पर्छ । त्यहाँ तिमी नुहाउन सक्छौ, आफूलाई ताजा गर्न आधा घण्टा पौडन सक्छौ । आफ्नो कारलाई पनि राम्रोसँग नुहाइदिन सक्छौ । यसपछि जब शहर पुग्छौ, तिमी भूतजस्तो देखिने छैनौ ।
म दौडदै गएँ । म जीवनमा त्यति हतारोमा कहिले पनि थिइनँ । अहिले पनि छैन । जबकि यतिबेला मैले हतारो गर्नुपर्छ । समय तीव्रसँग बितिरहेको छ र जब मैले बिदा लिनुपर्ने दिन धेरै टाढा छैन । हुन त शायद म केही दिन अझै रोकिऊँला । मेरो हातमा त केही पनि छैन । यो कुर्सीका दुई हात हेर त, मैले दुवै हात कसरी पक्डिएको छु । म अझै पनि शरीरमा छु भनी महसुस गर्न चाहन्छु । चिन्ता नगर, अझै पनि केही समय छ ।
त्यो दिन मैले हतारो गर्नुप-यो । मेरो आशंका सत्य थियो । मैले केही मिनेट अझै ढिला गरेको भए, शम्भुबाबुका आँखालाई म फेरि हेर्न पाउने थिइनँ । मेरो अर्थ, उहाँकालाई ज्यूँदै हेर्न पाउने थिइनँ । उहाँले मलाई त्यसरी नै हेर्नुभएको थियो, जुन दिन पहिलो पटक मलाई हेर्नु भएको थियो । म उहाँको त्यो प्रथम दृष्टिलाई अन्तिम पटक हेर्न चाहन्थेँ । म त्यो सिंक्रोनिसिटी हेर्न चाहन्थेँ। र, उहाँको मृत्युभन्दा आधा घण्टा हामी दुई जना शुद्ध कम्युनियन संवाद भयो । मैले उहाँलाई भनेँ, ‘उहाँ जे भन्न चाहनुहुन्छ, भन्नुहोस् ।’
उहाँले सबैलाई बाहिर पठाउनु भयो । बाहिर जानेलाई पक्कै नराम्रो लाग्यो । उहाँका भाइहरु, छोराहरु र पत्नीलाई नराम्रो लाग्यो । तर उहाँले प्रस्ट भन्नुभयो, ‘तिमीहरुलाई मन परोस् कि नपरोस्, तिमीहरु चाँडै यो कोठाबाट बाहिर निस्क । किनभने मसँग समय नष्ट गर्ने फुर्सद छैन ।’
स्वभावतः उनीहरु सबै जना डराएर बाहिर गए । हामी दुवै हाँस्यौँ । मैले भनेँ, ‘तपाईं मलाई जे भन्न चाहनुहुन्छ, भन्नुस् ।’
उहाँले भन्नुभयो, ‘हुन त तिमीलाई भन्नुपर्ने मसँग केही छैन । तिमी मेरो हात आफनो हातमा लिऊ । म तिमीलाई महसुस गर्न चाहन्छु । मलाई आफ्नो उपस्थितिले मलाई पूर्ण गरिदेऊ, भरिदेऊ ।’
उहाँले भन्नुभयो, ‘म घुँडा टेकेर तिम्रो गोडा छुन सक्तिनँ । गोडा छुन नचाहेर त्यसो भनेको होइन । मेरो शरीर ओछ्यानबाट उठ्न स्थितिमा छैन । म हल्लिन पनि सक्तिनँ । मसँग केही मिनेट मात्र बाँकी छ ।’
मैले मृत्युद्वारमा उहाँ पुग्नुभएको देखिरहेको थिएँ । मैले उहाँको हातलाई आफ्नो हातमा लिएँ र केही कुरा भनेँ, त्यसलाई बडो ध्यानपूर्वक सुन्नुभयो ।
मेरो बालापनमा मैले दुई जना मात्र यस्ता व्यक्तिलाई पाए, जसले मलाई एकाग्रता के हो भनी बुझाए । पहिलो त मेरी हजुरआमा । अर्को, शम्भुबाबु । शम्भुबाबुसँग उहाँलाई मिसाउँदा मलाई अफसोस लागिरहेको छ जबकि उहाँको एकाग्रता शम्भुबाबुजस्तै थियो र पनि उहाँमा कयौँ अन्य आयाम पनि थिए । सत्य त के भने, मैले दुई जना थिए भन्न हुन्थेन तर भनिहालेँ । अब मैले यसलाई जति राम्रोसँग हुनसक्छ, त्यति राम्रोसँग बुझाउन देऊ ।
हरेक रात, मेरी हजुरआमाका लागि यो एउटा धार्मिक कृत्य बराबर थियो । ठीक त्यसरी नै जसरी तिमीहरु हरेक रात र बिहान प्रतीक्षा गर्छौ ।
हरेक बिहान उठ्नेबित्तिकै म चाँडै बाथरुम गएर तयार हुन्छु किनभने मलाई थाहा छ, सबै जना मेरो प्रतीक्षा गरिरहेका छन् । आज बिहान मैले खाजा पनि खाइनँ किनभने तिमीहरुलाई ढिला होस् भन्ने म चाहन्नँ । आज म अलि बढी सुतेँ । हरेक साँझ मलाई थाहा हुन्छ, तिमीहरु सबै तयार भइरहेका छौ । नुहाइरहेका छौ । जसै म तिमीहरुको सानो कोठामा बत्ती बलेको देख्छु, सबै सैतान पुगिसके र अब मैले चाँडो गर्नुपर्छ भन्ने म बुझ्छु ।
तिमीहरु दिनभरि व्यस्त हुन्छौ । तिमीहरुले रत्ति समय पाउँदैनौ । तिमीहरु भन्न सक्छौ, म त एकदमै रिटायर्ड, सेवानिवृत्त छु । अरुले मलाई रिटायर्ड गरेको होइन । मेरो बाँच्ने ढंग नै यही हो । आरामले बाँच्नु । बिहान र बेलुका केही नगर्नु र साँझदेखि बिहानसम्म आराम गर्नु । मेरो काम नै कुनै काम नगरी अरुलाई व्यस्त राख्नु हो । यो संसारमा शायदै यस्तो अर्को व्यक्ति होला या हुनेछ, जो मजस्तै कुनै काम नगरी नै आफूलाई जीवित राख्न हजारौँ संन्यासी चाहिएला जो लगातार काम गरिरहन्छन् । योभन्दा बढी ठट्टा के होला ?
आजै मैले चेतनालाई भनिरहेको थिएँ, विवेक छुट्टीमा गएकी छ । दस वर्षपछि उसले त छुट्टी पाउनु नै पर्छ । दस वर्षमा छुट्टीमा जानु कुनै ठूलो कुरा होइन । हिसाब गर्ने हो भने दुई वर्षमा एक दिनको छुट्टी भयो ।
मैले उसलाई भनेँ, ‘तिमी खुसीखुसी जान सक्छ्यौ ।’
ऊ क्यालिफोर्निया गई । मैले उसलाई भनेँ, ‘यी केही दिन तिमी हाँसीखुसीमा बिताउनू, मलाई खुसी लाग्नेछ ।’
म चेतनालाई भनिरहेको थिएँ, ‘अको वर्ष शायद म पनि केही दिन छुट्टीमा जान सकूँला ।’ तर समस्या के छ भने म एक्लै जान सक्तिनँ । मलाई त आफ्ना पूरा स्टाफ चाहिन्छ । म एक जनालाई पनि छाड्न सक्तिनँ । मेरा स्टाफ त अमेरिकाका राष्ट्रपतिका स्टाफभन्दा वृहद् छन् । यी त गरिब मानिसका स्टाफ हुन् । त्यसैले ठूलो हुनु नै पर्छ । मेरो स्टाफमा नोकर छैनन्, सबै प्रेमी छन् । त्यसैले म कसैलाई पनि छोड्न सक्तिनँ ।
समस्या यही हो, मैले चेतनालाई भनेँ तर ऊ ज्यादै खुसी भई । ऊ यति खुसी भई कि उसले मेरो समस्यामा ध्यान नै दिइन । ऊ खुसी हुनु स्वाभाविक थियो । किनभने यदि मेरा स्टाफ मसँगै छुट्टीमा जान्छन् भने ऊ पनि त स्टाफमा परी नि ! र चेतना… एक समय थियो, जब म आफ्ना सारा धुन्थेँ । ऊ अहिले मेरा कपडा धुन्छे । पहिला ती मैले धुँदा त्यति राम्रोसँग धोइन्न थिए । तिमी राम्रोसँग धुन्छेऊ । म तिम्रो योभन्दा राम्रो अझ के गरौँ ? हुन त म राम्रोसँग धोऊँ भन्ने चाहन्थेँ तर यो मात्र एउटा काम थियो, यो कामलाई चाँडो गर्ने प्रयास गर्थें । तिम्रा लागि त यो काम प्रार्थना हो, एउटा प्रेमपूर्ण काम हो । चाँडै सक्नुपर्ने काम होइन । संसारमा शायदै यस्तो मानिस होला, जसको कपडा मभन्दा राम्रोसँग धोइएको होस् ।
चेतना त खुसी भई, ‘हामी सबै छुट्टीमा जाँदैछौँ ।’ तर मैले त ती सबैलाई आफूसँगै लैजानुपर्छ। विवेकले ठीकै भन्थी । जब हामी पुना छाड्दै थियौँ, त्यसको धेरै तयारी गर्नुप-यो किनभने उसले मेरो शरीरको रेखदेख गर्नुपर्छ । मेरो खाना र अन्य कुरालाई ध्यान दिनुपर्छ । उसलाई यो कुराको चिन्ता थियो र कुनै पनि चिज नछुटोस् र यात्रामा सबै कुरा आफूसँगै होस् ताकि आवश्यक पर्दा सबै कुरा खोजेकै बेला पाइयोस् । यही चिन्ताका कारण ऊ शायद ठीकसँग सुत्दिन पनि । विवेकले मलाई ठीकै भनेकी थिई, ‘ओशो, तपाईं त सुनको ठूलो पहाडजस्तै हुनुहुन्छ, जसलाई एक ठाउँबाट अर्को ठाउँ लैजान महाभारत पर्छ ।’
मैले उसलाई भनेँ, ‘यो सत्य हो । सोह्रै आना सत्य । तर एउटा कुरा याद राख, यो पहाड सुनको त हो तर पनि जीवित र चेतन छ । त्यसैले सचेत भएर काम गर्नू ।’
तिमी मेरो कठिनाई देख्छौ चेतना ? एक साताका लागि या दुई दिनका लागि बिदामा गएँ भने पनि तिमीले कति तयारी गर्नुपर्छ ! हामी सबै कुरा ठीक त्यस्तै तयार गर्नुपर्छ, जस्तो लाओत्सु हाउसमा छ । यो ठूलो काम हो । तर तिमी यति खुसी भयौ कि यस्तो गर्नु उचित नै होला भन्ने सोचेँ । एक जना व्यक्तिलाई खुसी पार्नका लागि म जे पनि गर्न सक्छु । मेरो सारा जीवनको सारांश नै यही हो ।
00000000
No comments:
Post a Comment