कविता– कोसी
मेरी प्रिय,
अचेल तिमी खुशी छैनौ;
कारण छिचोल्न नसकेर
मस्वयमं बिलखबन्दमा छु
यद्यपि म नियालिरहेछु–
तिमीले घाँटी भिजाएको
सुकेको आँत हरहर बनाएको
मरेको आश बिउँझाएको
र; फुलाई, फलाई, पकाएको
बैभवले सबलाई सम्पन्न तुल्याएको ।
यत्तिबेला म ठम्याइरहेछु–
गर्मीमा एयरकुलर तिमी
जाडोको न्यानो ऊन तिमी
अँध्याराको शीतल जून तिमी
उज्यालाको शक्तिशाली सबथोक तिमी ।
तिमीलाई देखेर र भेटेर मैले–
निरस समयमा रस भर्न सिकेँ
शुष्क मनमा प्रेम उमार्न सकेँ
आलस्य उल्टाउन सकेँ
‘अभाव’ को ‘अ’ हटाएर
जीवनलाई उत्तम भावले सिंगार्न सकेँ ।
पीडालाई पचाउन जानेँ
सुखलाई बचाउन सकेँ ।
अर्थात्,
आँशुमा आत्तिने
हाँसोमा मात्तिने
यस महारोगबाट सदाको लागि मुक्ति पाएँ ।
गाँस, बास, कपास अपहरण गर्न सक्थ्यौ
अहिलेसम्म जोगाएर हाम्रो पोल्टो भरिदियौ
त्राहीमाम पारी नाम र दाम कमाउन सक्थ्यौ
तर काम देखाएर मात्रै कौशिका नाम लियौ
माछाको व्यापार गरेर
सिंचाइको उद्योग खोलेर
बन्दी जम्प, ¥याफ्टिङ कारखानाको
श्रीगणेश गरेर
धेरैको अनिकाल स्वात्तै निल्यौ
चिस्यान कायम गरेर
रुखोसुखो भगाएर
मल र जलले भरिपूर्ण पारेर
जलचरको सुरक्षित बासस्थल भएर
फोहर शुद्धिकरण अभियान थालेर
अमृत पिलाउँदा पिलाउँदै
संसारलाई नै अजम्बरी पार्ने सामथ्र्य राख्यौ ।
तिम्रो दैलो ढक्ढक्याउनेलाई
रोजगारले नुहाइदियौ
आस्तिकहरूको
आस्थाकी महारानी बनेर विष पिइदियौ
नास्तिकको विचारलाई समेत
सम्मानको दोसल्ला ओडाउँदै
उसैको अभाव मेटिदियौ ।
तिम्रो वक्षस्थलमा खेलाची गर्ने अनेक छन्
तिम्रो ध्यान र जपनाबाट बैतरणी तर्ने उत्तिकै छन्
बाँचेकालाई दीर्घजीवन दिने
मरेकालाई स्वर्गमा उतार्ने
यस्तै आस्था र विश्वासकी सबैकी प्रिय,
अचेल तिमी खुशी छैनौ;
कारण छिचोल्न नसकेर
मस्वयमं बिलखबन्दमा छु ।
तिम्रो वजन मुठ्ठिभरले नबुझे पनि
तिम्रो अनुकम्पाको लेखाजोखा नगरे पनि
तिमी हामीमाथि कृपा बर्साई राख
हामी सदासदा तिम्रै वक्षस्थलमा
प्रेमिल क्रीडा गर्न आतुर छौँ
तिम्रा पछिपछि बेथिति संहार गर्न
सामलखाजा लिएर लाग्ने कसम खान्छौँ ।
०००
२०८०.०३.१५ बेलका २, उदयपुर
No comments:
Post a Comment