Sunday, October 3, 2021

५०. लघुकथा– मच्छडदानी –नन्दलाल आचार्य

५०. लघुकथा–  मच्छडदानी
–नन्दलाल आचार्य

‘हजुर ! यत्ति धेरै पीडा नदिनुस् न । झिपिक्कै आँखा लगाउन पाएको छैन । हत्तु हैरान छु ।’
चकमन्न रातमा अरू सदस्य मस्त निद्रामा घुरिरहेका थिए तर छोरी गरिमा भने पीडा ओकलिरहेकी थिइन् । सायद स्कुलमा बढता होमवर्क दिएकोले गुनासो पोखेकी होलिन् भन्ठानेर म चुप थिएँ ।
मेरो र उनीहरूको सुत्ने कोठा अलग भएकाले बोलेको आवाज प्रष्ट सुनिन्थ्यो तर दृष्य देखिन्नथ्यो । आफसमा बातचित गर्न सकिन्थ्यो तर केही कुरा लेनदेन गर्न भौतिक रूपमै आमनेसामने हुनुपथ्र्यो ।
‘यो गोलबजार नगरपालिकाले दया गर्नाले हजुरहरूले दशैँ मनाउन पाउनुभएको छ । हामीजस्ता निरीह प्राणीले दिनरात बेचैनमा फँस्नु परेको छ ।’
गरिमाको एकलापले बन्द हुने नामै लिएको थिएन । सायद सपनामा नै बरबराएकी होलिन् भन्ठान्न पुगेको थिएँ ।
‘यो सब हैरानीको अपजस बाबाको टाउकोमा जान्छु । उहाँ महाकन्जुस हुनुहुन्छ । दशतिर भ्वाङ परिसक्यो; चाँडो एउटा गतिलो झुल किन्दिनुस् भनेको आज वर्ष दिन लाग्न आँटिसक्यो । उहाँको तलव कहिले आउने हो । खालि तलब आएसी फेरिदिऊँला मात्र भन्नुहुन्छ । टालटुल पारेर काम चलाऊ भन्नुहुन्छ । टाल्दाटाल्दा अब टाल्ने ठाउँ नै देखिन्न ।’ 
एकैछिन पछि फेरिएको उनको अझ आक्रोशपूर्ण बोलीले म तर्सिएको थिएँ । उनी जागै अवस्थामा बर्बराएकी रहिछन् भन्ने एकिन भयो । 
‘यस्ता मास्टरे बाबाको चार महिने तलब घर आउँदा नआउँदै उधारो तिर्दातिर्दै तुरिँदो रहेछ । मैले चयनको स्वास कहिले फेर्ने ?’ गरिमाको कटुयथार्थले मेरो मुटु कुटुकुटु खाइरहेको अनुभूत भइरहेको थियो । 
आफ्नै कोठाबाटै मायालु लवजमा भनेँ, ‘छोरी, भो अब गुनासो नगर । अर्थोक त उधारो आएको छ भने तिम्रो रात हराम गर्ने ओखती पनि उधारो आउँछ । त्यो पनि भोलि नै स्कुल छुट्टी भएपछि लिएर घर आउँछु । 
१०÷०४÷२०२१ उदयपुर, सिद्धार्थटोल । 

५१. लघुकथा–  महाचोर
–नन्दलाल आचार्य
‘मिल्न सके सबै मिल्छ; नसके झगडाको बीउ बन्छ । तिमरू के गर्दा  रछौ; म हेर्दै छु ।’
यसखाले खबरदारीका साथ मैले पोलेको मुसाका पुच्छरहरू आफ्ना बच्चाहरूलाई दिएको थिएँ । उनीहरूले पनि रमाईरमाई नुनसँग चोबेर खाएका थिए ।
‘मुसाको पुच्छर त यत्ति मिठो हुन्छ । झन् पोलेको मुसाको शरीर खान पाए कति काइदा हुन्थ्यो !’
कान्छी छोरीको इच्छालाई थुम्थुम्याउँदै जेठो बोलेको थियो; ‘सप्पै खान पाइन्छ । बाबा मुसाको मासु सफा गर्दै हुनुहुन्छ । यसरी हैन पकाएर रस हालेको मुसाको मासु र एक थाल भात मज्जाले खान भेटिन्छ ।’
‘दाजु; हिजो घरमै मुसा मारेको थियो । किन नखाएर फ्याकेको ?’
बहिनीको सवालको जवाफमा जेठाको स्वर सुनिएको थियो; ‘घरायसी मुसाहरू गन्हाउँछन् । वनका मुसा गन्हाउँदैनन् । स्वादिला हुन्छन् ।’
‘यत्ति स्वादिष्ट हुँदा पनि अरू जातका मान्छेहरू आफूले परै जाओस् हामीले मुसा खाँदा पनि किन घिनाउँछन् ?’
कान्छो छोराको जिज्ञासाको मुख बन्द पार्न जेठाले जवाफ दिएको थियो; त्यो त सानैदेखि लागेको बानी र पारिवारिक सोचमा भर पर्छ ।’
कुरा सुनिरहेकी आमाले मसला पिस्दै भनेकी थिइन्, ‘हाम्रो जात मुसा खाने हो । हामी प्रकृति पुज्छौँ । प्रकृतिको उपहार निःशुल्क लिन्छौँ । प्राकृतिक जीवनशैली जिउँछौँ ।’
मुसाको मासु परपरी भुट्दै मैले पनि थपेको थिएँ; ‘किसान मरेर काम गर्छ; खेतमालिक बसेर फाइदा लुट्छ । उसभन्दा पहिले मुसाले लुट्छ । त्यही मुसालाई म लुट्छु ।’
‘किसानको पसिनाबाट बसीबसी लाभ खाने खेतमालिक हो; किसानको मेहनत सित्तैमा चोर्ने र आफ्नो भकारी भर्ने मुसा हो । उसो भा मुसाहरूलाई उठिबास लाउने हजुर चाहिँ के हुनु भो बाबा ?’
जेठाको प्रश्नले मलाई नाजवाफ परेको थियो । हजुरलाई कस्तो पार्यो कुन्नि ?
(उराँवटोल प्रदक्षिणपश्चात्)
१०÷०४÷२०२१ उदयपुर, सिद्धार्थटोल । 


Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...