Tuesday, October 5, 2021

लघुकथा– बाङ्गो औँला – लक्ष्मी रिजाल


‘शिक्षक÷गुरु’ विषयक लघुकथा मात्र नमस्ते लघुकथामा प्रेषित–

लघुकथा– बाङ्गो औँला
– लक्ष्मी रिजाल

‘सधैँ रातोदिन घोटिएर खट्ने र दिलोज्यानले डट्ने म्यामहरू बैशाख लाग्यो कि नुन खाएको कुखुराझैँ किन झोक्रिन्छन् हँ ?’
प्रश्नको उत्तर आफैँसँग थियो तापनि मनले मनैसँग सोधी टोपल्यो । अर्कातिर काम निजी स्कुलमा गरेर गुनासो सडकभरि ओछ्याउन पाइन्छ त ? मेरो मन अरू पनि भनिरहेको थियो–
–इमान्दार मान्छेले पैसासँग इमान साट्न हुन्न ।
–संस्थाको सदस्यका रूपमा जुटेपछि त्यसकै वृहत्तर हितमा तन, मन र कर्मले समर्पित रहनुपर्छ ।
–विद्यार्थी निर्दोष हुन्छन्; ज्ञानको भोकतिर्खाले आलसतालस हुन्छन् । आफूलाई जे होस् उनीहरूको भोकतिर्खा शान्त पार्नु शिक्षण पेशाको मूलधर्म हो ।
–हामीले नुन खाएका हुन्छौँ तर त्यसको सोझो गर्न यदाकदा भुल्छौँ ।
–निर्दोषलाई ठगेर पाप कमाउने काम नगरौँ ।
मनमा यस्तै भावनाहरू तँछाडमछाड गर्दै आइरहेका थिए । त्यो पनि एक निजी विद्यालयको संस्थापक÷प्रिन्सिपलको हैसियतले हैन विद्यार्थीको शिक्षकका हैसियतले ।
तीन घन्टी लाग्यो । जानुका म्याम अफिसतिर आउनुभयो । एकान्त मिल्नासाथ भनिहाले; ‘मैले बुझेको छु म्याम;  नयाँ सेसन लागेपछि शिक्षकको गुनासो मसँग हुन्छ भनेर । म एकएक गरी बोलाएर चित्तबुझ्दो तलबसुबिधा बढाइदिन्छु । ढुक्कले विद्यार्थीलाई शिक्षा दिऔँ । कन्जुस्याइँ फिटिक्कै नगरौँ है ?’
मेरो मुखबाट तलब बढ्ने कुरा सुनेर जानुका म्यामको अनुहारमा अर्कै आभा देखिएको थियो । चौथो घन्टीमा उहाँ पढाइराख्नुभएको थियो । एक विद्यार्थीले सोध्यो; ‘म्याम, हजुर एकदमै जाति शिक्षक हुनुहुन्छ । सधैँ हिजोको जस्तो हैन; आजको जस्तो पढाउनुस् है ?’
मप्रति नै कटाक्ष गर्दै म्यामको मुखबाट ध्वनि निस्केको थियो; ‘के गर्नु महंगीले मारेको छ । पेटको सवाल छ । काम गर्ने ठाउँमा सोझो औँलाले घिउ आएन र पो त !’
२०७८–०६–२०       कञ्चनरूप– १२, रूपनगर, सप्तरी ।







Laxmi Rijal

No comments:

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) By Nanda Lal Acharya

सम्पूर्ण हालखबर- लघुकथा प्रतिष्ठान, नेपालको चौथो वार्षिकोत्सव (०८२ कार्तिक ०३ गते) (शब्दाङ्कुर साहित्य समाचार) स्रष्टा-द्रष्टाको उत्सवका रूप...