-नन्दलाल आचार्य
'म खुल्लमखुल्ला छु । जाँजाँ र जेजे चेक गर्नुछ बिनासोधखोज गर्न सक्नुहुन्छ । तर बिनासित्ती दु:ख देको जोखिम भने मोल्नुपर्नेछ ।'
यात्रारत् एक माक्सधारी ठिटोलाई सोधेको प्रश्नको जवाफमा मैले यस्तो कुरो सुन्नुपरेको थियो । मैले उसलाई झोलाभित्र के छ भनेर सोधेको मात्र थिएँ ।
त्यसबेला म दशगजा क्षेत्रमा सशस्त्र प्रहरी ड्युटीमा थिएँ । मेरो काम मूलबाटामा ढाट तेर्साएर रुङ्नु थियो । अवैध मालसमान ओसारपसार हुन नदिनु र सीमा सुरक्षा गर्नुथियो ।
ठिटोले झोलामा नयाँपुराना साडी, ओड्नेओछ्याउने साथै थरीथरीका खानेकुरा बोकेको थियो । ऊ बाइकमा थियो । अनुहारमा कालो माक्स थियो । उसको जिउडाल चिनेचिनेजस्तो र आवाज सुनेसुनेजस्तो लागेको थियो ।
उसको बोली सम्झँदा झनक्क रिस उठिहाल्थ्यो । कुनै यात्रुसँग बहस नगर्ने र यात्रुको ज्याजती समेत सहने शिक्षा घोकाएर हामीलाई ड्युटीमा पठाएको हुन्थ्यो ।
प्राय: गाउँका सोझासीधा मानिस भनेको खुरुक्क मान्थे । टाठाबाठाहरूले नै हामीलाई सताउने गर्थे । कारबाही गर्न खोज्दा माथिल्लो निकायबाटै चेतावनी खेप्नुपर्थ्यो । सम्झेर ल्याउँदा सीमा सुरक्षाको जागिर निल्नु न ओकल्नु हुन्थ्यो ।
म मनोगन्थनमा व्यस्त रहेकै वखत ठिटो मेरो नजरबाट ओझेल परिसकेको थियो । उसको हेय र तुच्छ व्यवहार अनि कर्कश बोली मनमा बिझाइरहेकै थियो ।
नजिकै उभिएर विवाद सुनिरहेका पसलेले भनेका कुराले पो म झसङ्ग भएको थिएँ । उनको कथन थियो; 'ठिटो यही गाउँकै जनक हो । माक्स खोलेको भए तपैँ पनि चिन्नुहुन्थ्यो । ऊ प्रसुति व्यथा लागेकी आफ्नी दिदीका निम्ति बन्दोबस्तीका सामान लिएर अस्पताल जाँदै थियो ।'
कार्तिक ०२, २०७८ सिद्धार्थटोल, उदयपुर ।